आधुनिक चेतनाका प्रतिनिधि

बीपीले गरेका काम, बोलेका कुरा, अन्तर्राष्ट्रिय घटनाक्रमप्रतिका टिप्पणी सुरुदेखि नै अन्तर्राष्ट्रिय स्तरका हुन्थे । उनी लिबरल बौद्धिक थिए ।
विष्णु सापकोटा

प्रत्येक युग र देशका आ–आफ्नै आधुनिकता हुन्छन् वा हुन सक्छन् । नेपालको आधुनिकता ईस्वी संवत् १९३० र ४० को दशकमा सुरु भएको थियो, जसको राजनीतिक उत्कर्ष २००७ सालमा प्राप्त प्रजातन्त्र थियो । लोकतन्त्र भनेको फगत एउटा राजनीतिशास्त्रले दिएको शासकीय स्वरूप हैन ।

लोकतन्त्रको अवधारणा आधुनिक मानव सभ्यताको विकाससँग जोडिएको बृहद् बौद्धिक र सांस्कृतिक परम्पराहरूको एउटा राजनीतिक अभिव्यक्ति हो । तसर्थ, लोकतन्त्र आधुनिकताको एउटा आधारभूत सर्त हो ।

नेपाली आधुनिक चेतनाको निर्माण कसरी, कहाँबाट सुरु भयो भनेर नेपालको बौद्धिक इतिहास त लेखिएकै छैन । सायद लेखिने कुरा धेरै नभएर पनि होला । कोरा इतिहासले केवल घटनाक्रमको विवरण लेख्छ । तर ‘बौद्धिक इतिहास’ ले प्रत्येक समयचक्रका मुख्य विचार–चिन्तन, सांस्कृतिक/धार्मिक प्रभाव, त्यतिबेलाको कला–साहित्यको स्थिति, आर्थिक अवस्थिति र तत्कालीन समयमा विद्यमान राजनीतिक प्रणालीलाई एकै ठाउँमा राखेर हेर्छ । किनभने यी सबै राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक र बौद्धिक धारहरूको निर्माण र विनिर्माण हुने प्रक्रिया एउटाले अर्कोलाई पार्ने प्रभावबाट निर्धारित हुन्छ ।
नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालालाई देशमा प्रजातन्त्रको स्थापना गर्ने २००७ सालको क्रान्तिका नायकका रूपमा त सबैले सधैं चर्चा गरेकै छन् । त्यसभन्दा विस्तारमा, बौद्धिक इतिहासको दृष्टिकोणले हेर्दा नेपालको २००७ साल नै आखिर के थियो त ? २००७ सालको राजनीतिक आन्दोलन आधुनिकतातर्फ प्रवेश गर्न उकुसमुकुस तत्कालीन समाजको एउटा बौद्धिक र सांस्कृतिक चेतनासँग मिसिएको नेपाली पुनर्जागरणको सुरुआत थियो, जुन अध्याय अझै पनि जारी छ । यसलाई जागरण नभनेर पुनर्जागरण नै भन्नुपर्छ । किनभने १९औं शताब्दीमा एकीकृत भएको नेपालको भूभागभित्र पर्ने विभिन्न क्षेत्रको कुनै कालखण्डमा सशक्त सांस्कृतिक र बौद्धिक इतिहास थियो । २५०० वर्षअगाडि नै पुग्दा त सिद्धार्थ गौतम र बुद्ध दर्शनको प्रसंग आइहाल्छ ।
युवा अवस्थामा प्रजातन्त्रको लडाइँको नेतृत्व गरेर २००७ साललाई सफल पार्ने कुरा एउटा थियो । तर त्यो राजनीतिक क्रान्तिका लागि चाहिने बौद्धिक र सांस्कृतिक पृष्ठभूमि के थियो भनेर बुझ्नका लागि बीपीले प्रतिनिधित्व गरेको नेपाली आधुनिकताका बृहद् आयामलाई बुझ्नैपर्ने हुन्छ । त्यसपछि अहिलेको नेपालमा बुझिने राष्ट्रियताको चरित्रमा बीपीले प्रतिनिधित्व गर्ने आयामहरूको प्रभाव र भूमिकाबारे चर्चा गर्दा आधुनिक नेपालका निर्माताका प्रतिनिधि पात्रका रूपमा उनलाई एउटा फराकिलो बौद्धिक इतिहासको सन्दर्भमा बुझ्न सकिन्छ ।
लेखलाई अघि बढाउनुभन्दा पहिले एक–दुईवटा प्रसंग प्रस्ट पार्नु जरुरी होला । नेपालको प्रजातान्त्रिक इतिहासको कुरा गर्दा बीपीबारे यति धेरै लेखिएको र बोलिएको छ कि उनको बारेमा कुनै बढाइचढाइ गर्नु आवश्यक नै छैन । अर्को कुरा, उनी अहिलेको नेपाली कांग्रेसका संस्थापक जरुर थिए, तर आधुनिक नेपालका निर्मातामध्येका पात्र भनेर बीपीको कुरा गर्दा हालको कांग्रेस पार्टीले त्यसमा मख्ख पर्नुपर्ने धेरै कारण छैनन् । बीपीले लोकतन्त्र स्थापना गर्ने आन्दोलनलाई संरचना दिनका लागि कांग्रेस पार्टी खोलेका थिए । अहिले उक्त पार्टीका नेताहरूले प्रतिनिधित्व गर्ने सबै कुरा गर्नका लागि उनले यो पार्टी खोलिदिएका थिएनन् । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई त जीवित छँदै उक्त पार्टीमा अट्न सकेका थिएनन् भने कल्पना गरौं— बीपीले के गर्थे होलान् ? तसर्थ बीपीबारेको यो विमर्श नेपालको निकट इतिहासका महत्त्वपूर्ण आयाम बोक्ने ती पात्रको हो, जो संयोगले अहिलेको कांग्रेसका संस्थापक पनि थिए । 

Yamaha

के थियो आधुनिक चेतना ?
इतिहासमा, दुई–चार जना राजनीतिशास्त्री बसेर ‘शासन गर्ने प्रणालीमध्ये लोकतन्त्र ठीक हो, त्यसकारण यो पद्धतिलाई अंगालौं’ भनेर प्रजातन्त्रको सुरुआत भएको होइन । ‘भगवान्को यो सृष्टिमा जे हुन्छ उनैको इच्छाले हुन्छ’ भनेर मानिने युग धेरै लामो समयसम्म चल्यो । त्यस्तो युगमा वैचारिक संक्रमण सुरु भएपछि प्रजातन्त्रको अवधारणाको सुरु भएको हो । यसो भनेर लोकतन्त्रलाई सोझै नास्तिकतासँग जोड्न खोजिएको होइन । आफ्नो अस्तित्वको बारेमा मान्छे आफैंले स्वतन्त्र रूपमा सोच्न सम्भव छ भन्ने ठम्याउन थालिएपछि लोकतान्त्रिक चिन्तनले जरा गाड्न थालेको हो । मान्छेले भगवान्–निरपेक्ष आफ्नो व्यक्तिगत ‘मानवीय सम्मान’ खोज्न थालेपछि लोकतन्त्र खोज्न थालिएको हो । आकाशबाट पानी किन पर्छ भन्दा इन्द्रदेवले पठाइदिएर हो भनेर मान्नु त्यतिन्जेल जरुरी थियो जति बेलासम्म ज्ञान भनेकै ‘ईश्वरीय’ कुरा थिए । त्यो ज्ञानलाई धर्मशास्त्रले सीमित ग्रन्थमा सीमित व्यक्तिको पहुँच र नियन्त्रणमा राखेका थिए । ठीक छ, पानी इन्द्रदेवले नै पठाएका हुन सक्छन् तर यो पानी कुन–कुन अवस्थामा के–के मिलेर पर्दोरहेछ भनेर जान्नका लागि भगवान्को ग्रन्थ चाहिँदैन, मान्छेको दिमाग नै काफी छ भन्ने युगको सुरुआत लोकतान्त्रिक बौद्धिक परम्पराको जग थियो ।
यसलाई राजनीतिक लोकतन्त्रसँग सोझै जोडौं । कुनै दैवीशक्तिका आधारमा शासन गर्ने अधिकारको दाबा लिएर आउने राजतन्त्र नभएर आम मानिसले आफ्ना शासक आफैं रोज्ने विवेक राख्छन्/राख्न पाउनुपर्छ भन्ने चिन्तन लोकतन्त्रको जग थियो । यहाँनेर एउटा अति नै रोचक सन्दर्भ आउँछ । बौद्धिक इतिहासको फ्रेममा हेर्दा मानिसले लोकतन्त्र प्राप्त गर्ने पहिलो लडाइँ कुनै तानाशाहको विरुद्ध लड्नुपरेको थिएन । यो लडाइँ ‘ईश्वरीय’ (अर्थात् त्यो नाममा आउने राजतन्त्र अथवा त्यसका अरू ठालु–शोषणकर्ताका रूप) नियन्त्रणमा राखिएको ज्ञानलाई मानिसले आफ्नो ‘मानवीय’ नियन्त्रणमा ल्याउने लडाइँबाट सुरु भएको थियो । मान्छेको आफ्नो स्वभाव ऊ आफैंले जान्न सक्छ, मान्छे स्वयं आफ्नै अध्ययनको विषय हुन सक्छ भनेर जब मान्छेले नै लेखेका कुराहरूको पढाइ सुरु हुन थाल्यो, त्यसलाई मानविकी वा अंग्रेजीमा ‘ह्युमानिटिज’ भनिएको इतिहास लोकतन्त्र वा आधुनिकताको अर्को बौद्धिक जग थियो । उदाहरणका लागि संसारकै इतिहासमा त्यत्रो फरक धार ल्याउन सक्ने ‘फ्रेन्च रिभोलुसन’ को दार्शनिक आधार रुस्सोको मानवीय व्यक्तिगत सम्मान र समताको चिन्तन थियो । ईश्वरले नै बनाएका होलान्, तर मान्छे आफैंमा आफ्नो कुरा बुझ्न सक्ने प्राणी हो । त्यस आधारमा सबै मान्छे बराबर आत्मसम्मानका हकदार हुन्छन् भन्ने चिन्तन अहिले लोकतन्त्र भनिने कुराको दार्शनिक जग थियो । 
तसर्थ, बीपीले प्रतिनिधित्व गर्ने नेपालको चिन्तनमाथि उल्लेख गरिएका विषयको सापेक्षमा तत्कालीन इतिहास र परम्परासँग सम्बन्धविच्छेद गरेर आधुनिक अध्यायको सुरुआत थियो । त्यो आधुनिकता भनेको स्वदेशी सांस्कृतिक चेतना र भूमण्डलीय बौद्धिक परम्पराका धारसँग नेपाललाई जोड्ने एउटा अभियान थियो, जसको प्रमुख राजनीतिक यन्त्र प्रजातन्त्र हुन जरुरी थियो । माथि उल्लेख गरेजस्तो ईश्वरीकरणमा अल्झिएको ज्ञानको ‘मानवीकरण’, आफ्ना काम र तिनको असर वा प्रतिफलका लागि मानिस आफैं जिम्मेवार हुनुपर्छ, अर्को नदेखिएको कोही ईश्वरीय तत्त्वले तिम्रा पृथ्वीका कामको जिम्मा लिइदिनेवाला छैन भन्ने चिन्तनको प्रभुत्व र मानिस आफूलाई शासन गर्न आफैं सक्षम छ भन्ने दर्शन आधुनिकताका खम्बा थिए । यिनै चिन्तनधारका खम्बाहरू नै लोकतान्त्रिक चिन्तनका जगहरू थिए, जसलाई बीपीले नेपालको राजनीतिक आन्दोलनमार्फत भित्र्याए । पछि उनले यिनै मान्यताहरूलाई आफ्ना राजनीतिक दस्तावेजमा राखे, साहित्यमा कोरे र नेपालको राष्ट्रियतासम्बन्धी विभिन्न अभिभाषणमा बोले । बुझ्न सजिलोका लागि, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कवितामा सोधिने ‘कुन मन्दिरमा जान्छौ यात्री’ भन्ने प्रश्नभित्रको अर्थ पनि ‘ईश्वरीयता’ लाई ‘मानवीयता’ मा ल्याउने त्यही समयको सशक्त काव्यिक अभिव्यक्ति हो । 
आधुनिकता र ज्ञानको ईश्वरीय नियन्त्रणबाट मुक्तिको प्रसंगले यो अर्थ नलागोस् कि धार्मिकता र लोकतन्त्र सँगै जान सक्दैनन् । धार्मिक/आध्यात्मिक मानिसहरू लोकतान्त्रिक आन्दोलनका धरोहर नै छन् । जस्तो भारतमा महात्मा गान्धी र नेपालमा कृष्णप्रसाद भट्टराई । तर यसभित्रको चुरो कुरा के हो भने धार्मिक हुँदाहँुदै पनि मानवीय स्वतन्त्रता मान्छेले आफैं प्राप्त गर्ने हो । आफ्नो शासक मानिस आफैंले छान्ने हो, देवताले दिने होइन । ज्ञान–विवेक मान्छेकै गुण हुन्, जो ईश्वर–नियन्त्रित छैन भन्नेमा आध्यात्मिक प्रकृतिका व्यक्तित्व पनि एकै ठाउँमा उभिन्छन् । तसर्थ यी सबैका लागि धर्मनिरपेक्षता पनि लोकतन्त्र या आधुनिकताको एउटा आयाम थियो । अर्को प्रश्न उठ्ला— यी सबै कुराको बाबजुद भगवान् विष्णुको अवतार ठान्ने राजा भएको राजतन्त्र बीपीले किन स्विकारेका थिए ? पंक्तिकारको दृष्टिकोणमा बीपीले राजतन्त्र स्विकारेको कुनै बौद्धिक–दार्शनिक स्वीकार्यतामा आधारित कुरा थिएन । तत्कालीन नेपालको आन्तरिक र बाह्य शक्ति सन्तुलन र राष्ट्रियताका लागी त्यतिबेला आवश्यक खम्बा भएर उनले त्यो स्विकारेका थिए । त्यो कुनै आस्थाको आधारमा स्विकारिएको विषय थिएन भन्ने त उनले लेखेका र बोलेका धेरै प्रसंगबाट सजिलै बुझ्न सकिन्छ ।

बीपीको राजनीतिक ‘लिगेसी’
नेपालमा विसं १९९० को दशकमै राणाको कठोर तानाशाहीबाट मुक्तिका लागि आवाज उठ्न थालिसकेको मात्र हैन, चार–चार जना सपूतले त शहादत प्राप्त गरिसकेका थिए । तर त्यसको बाबजुद स्वतन्त्रताको त्यो प्रजातान्त्रिक आकांक्षाले अन्तर्राष्ट्रिय स्तरको राजनीतिक कथ्य र भाष्य पाएको थिएन । ठीक त्यही बेला बीपीको राजनीतिक व्यक्तित्वको उदयले नेपालमा धेरै कुरा ल्याउन सक्नुमा केही प्रमुख पृष्ठभूमिहरू छन् ।
नेपालको राजनीतिबारे सोच्नुभन्दा अघि भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएर जेल नै बसेका बीपीका लागि प्रजातन्त्र विश्व–इतिहासमा कसरी विकास भएको थियो वा हँुदै थियो भन्नेबारे राम्रो ज्ञान थियो, अन्य नेताको तुलनामा । भारतकै स्वतन्त्रता आन्दोलनमा चिनिने र सुनिने तहको सहभागिताले उनको व्यक्तित्वलाई राजनीतिक वैधानिकता मिलिसकेको थियो । गान्धीको सत्याग्रह, जवाहरलाल नेहरूलगायत भारतका अरू धेरै प्रतिष्ठित नेताहरूको बौद्धिक विमर्शबारे पनि उनी त्यत्तिकै परिचित मात्रै होइन, त्यही धारका एउटा प्रवाह बन्दै गरेका थिए । यहाँनेर, एउटा ऐतिहासिक सन्दर्भका लागि यो पनि उल्लेख गरिहालौं : नेहरूका प्रख्यात ‘ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री’ सन् १९३० को दशकमै र ‘डिस्कभरी अफ इन्डिया’ ४० को पूर्वाद्र्धमै प्रकाशित थिए । प्रसिद्ध दार्शनिक र विद्वान् सर्वोपल्ली राधाकृष्णन ’३० को दशककै अन्त्यमा काशी हिन्दु विश्वविद्यालयका उपकुलपति भएका थिए । दोस्रो विश्वयुद्धको बेला त यो छँदै थियो, पश्चिममा आधुनिकताको युग उत्कर्षमा थियो (जो पछि उत्तरआधुनिकतातिर विकसित भयो) । मनोविज्ञानमा सिगमन्ड फ्रायड त छँदै थिए, अस्तित्ववादीहरूको दार्शनिक प्रभुत्व जमेको पनि १९३० र ४० को दशकमै थियो । समयचक्रलाई जोडौं : बीपीको पहिलो नेपाली कथा ‘चन्द्रवदन’ उनी २१ वर्षको हुँदा ‘शारदा’ पत्रिकामा छापिएको थियो । २००७ सालको क्रान्तिको नेतृत्व गर्दा उनी ३७ वर्षका थिए ।
बीपीले नेपालका लागि प्रतिनिधित्व गर्ने राजनीतिक र बौद्धिक परम्परा बुझ्नका लागि माथिका तत्कालीन सन्दर्भतर्फ फर्कनैपर्छ । किनभने उनका राजनितिक मूल्य–मान्यता हेर्दा, कृति पढ्दा, विचार सुन्दा र व्यक्तित्वलाई गम्दा यो ‘लिगेसी’ प्रस्ट देखिन्छ । त्यससँगै उनका पिता कृष्णप्रसाद कोइरालाको आफ्नै जुझारु पृष्ठभूमिले गर्दा नेपालमा आएर प्रजातन्त्रको आन्दोलन गर्छु भन्दा उनको सामाजिक स्वीकार्यता पनि त्यत्तिकै सजिलो थियो । जसरी नेपालको आधुनिक यात्राका लागि २००७ साल एउटा ढोका मात्र थियो, त्यसरी नै बीपीले प्रतिनिधित्व गर्ने आधुनिक नेपालका आयामहरू पनि २००७ सालमा त सुरु मात्र भएका हुन् । तिनको व्याख्या–विस्तार त पछिका दशकमा भएको हो, जुन २०३९ सालमा उनको देहावसान हुन्जेल उनैले जारी राखे ।
बीपीले जति पनि आफ्ना राजनीतिक र सांस्कृतिक (साहित्यिक र बौद्धिकको अर्थमा) योगदानहरू नेपाली समाजलाई दिएका छन्, त्यो उनले ‘रेडिमेड’ रूपमा २००६ र ००७ सालमा लिएर आएका थिएनन् । हरेकको जस्तो उनको बौद्धिक विकास पनि एउटा ‘इभोलुसन’ कै मोडमा भएको छ । समाजको विकासक्रममा मानिसको बदलिँदो स्वरूप, मानवीय नाता सम्बन्धको प्रकृति, राजनीतिक सिद्धान्त आदिको विकासक्रमलाई हेर्ने उनको दृष्टिकोण समयसँगै अद्यावधिक भई नै रहेको थियो । उनी बौद्धिक रूपमा तर्कमा भिड्न रुचाउने परम्परका एक हस्ती नै थिए । जसरी माक्र्सवादी चिन्तनधारासँग उनी आफ्नो प्रजातान्त्रिक समाजवाद ल्याएर वैचारिक रूपमा भिड्थे, त्यसरी नै राजतन्त्रसँग किन सहकार्य गर्नुपर्‍यो भनेर पनि नथाकी व्याख्या गर्ने गर्थे । आफूले विश्वास गरेका तर राजनीतिक रूपमा ‘धोका’ दिएर गएका पात्रलाई पनि उसको मनोवैज्ञानिक आकांक्षा र व्यक्तित्वको खोटको चस्माबाट बताउन सक्थे । तसर्थ, बीपीले नेतृत्व गरुन्जेल नेपाली कांग्रेस वास्तवमै नेपाली समाजको आधुनिकतातर्फको ‘लिबरल’ यात्राको एउटा आन्दोलन नै थियो । र त्यो पार्टीलाई पार्टीकै रूपमा जोगाएको त्यही आन्दोलनको भरमा थियो । उक्त बेला पार्टी नै त्यसमा लाग्नेहरूको जीवनपद्धति पनि थियो ।

इतिहासलाई हेर्ने वर्तमान
इतिहासले आफूले आफैंलाई त लेख्दैन । तसर्थ इतिहास भनेको त्यस बेलाका घटना वा भएका कुरा मात्र होइनन् । इतिहास भनेको घटना र प्रवृत्तिको संवाद र त्यसको अनुवाद हो— एउटा व्यक्तिले वा धेरै व्यक्तिले धेरै तरिकाबाट गरेको संवाद । बीपीमाथिको यो दृष्टिकोण उनलाई अहिलेको नेपालबाट हेर्दा देखिएको कुरा हो । पंक्तिकारको तर्क के छ भने विगत १५ वर्षमा नेपालमा बीपी कोइरालाको व्यापक पुनर्लेखन भएको छ । यो पुनर्लेखन २०४६ पछि सुरु भएको राजनीतिक परिवर्तनहरूले सम्भव बनाएको हो । भूमिगत कालमा वास्तविक वा काल्पनिक दुश्मन बनाउनुपथ्र्यो । तसर्थ पुष्पलाल स्कुलका नेताले बाहेक धेरै वामतर्फका नेता र बौद्धिकले बीपीलाई स्वतन्त्र रूपमा पढ्ने–बुझ्ने गरेनन् । सबैले बीपीको राजनीतिक दर्शन मान्नुपर्छ भन्ने थिएन र छैन । तर पनि पछि आफैं सत्तामा आएपछिका आफ्नै अनुभवले गर्दा धेरै वामपक्षका नेताले पनि बीपीलाई स्वतन्त्र रूपमा बुझ्न खोजे र उनीप्रतिका त्यति बेलाका धारणा गलत रहेछन् भनेर अहिले खुलेआम भन्छन् । मृत्युको दुई दशकभन्दा पछि प्रकाशित बीपीका ‘आत्मवृत्तान्त’ र ‘जेल जर्नल’ ले पनि उनका त्यति बेलाका कतिपय राजनीतिक अडानलाई अहिलेको पुस्ताले बुझ्न सहयोग पुर्‍यायो ।
अब प्रश्न आउँछ : अहिले नेपाल जहाँ आइपुगेको छ, त्यो बीपीले नेतृत्व गर्न खोजेको लोकतान्त्रिक आधुनिकताको ‘भिजन’ सँग तुलना गर्दा कस्तो तस्बिर देखिन्छ ? पहिले राजतन्त्रकै बारेमा कुरा गरौं । माथि पनि अलिकति चर्चा गरियो, बीपीका लागि राजतन्त्र एउटा अवधारणा थियो, जो संवैधानिक परिधिमा एउटा सांस्कृतिक संस्थाको रूपमा रहिरहन सक्थ्यो । त्यो पनि दक्षिणी छिमेकबाट देखिने सार्वभौमिकतामाथिको चुनौतीलाई कम गर्न एउटा उपयोगी स्वदेशी संस्थाका रूपमा । उनको त्यो भिजनमा महेन्द्र, वीरेन्द्र वा ज्ञानेन्द्रजस्ता राजा भएको लोकतन्त्र त पर्ने कुरै थिएन । मरिसकेका मान्छेले जीवित भएको भए के गर्थे होला भन्नु त तर्कसंगत कुरा होइन, तर बीपी स्वाभाविक रूपमा राजतन्त्र स्विकार्दाताका त विचारमा गणतन्त्रवादी थिए भने पछि ज्ञानेन्द्रजस्ता राजा आएपछि उनले के गर्थे भन्ने कुरा जसले पनि अनुमान गर्न सक्छ ।
बीपीका कतिपय सामाजिक र नैतिक मान्यता त्यति बेलाका पढे–लेखेका अन्य कांग्रेस नेताले समेत पचाउन सक्दैनथे । धार्मिक आस्था एउटा कुरा, रुढीवादका लागि त उनको परिवारमा ००७ साल अघिदेखि नै ठाउँ रहेनछ । बीपीको आगमन र नेतृत्व एउटा अर्को मूलभूत प्रश्नसँग पनि जोडिएको छ । जुन समाज जस्तो स्तरको छ, त्यहीअनुसारको नेता पाइने हो कि दूरदृष्टि राख्ने उच्चस्तरको नेता जस्तो समाजमा पनि आउन सक्छ र उसले समाजलाई नै डोर्‍याउन सक्छ ? यस लेखकको विचारमा त्योमध्ये जे पनि हुन सक्छ वा त्यसको बीचको कुरा पनि हुन सक्छ । यदि समाजअनुसारको मात्र नेतृत्व हुन्थ्यो भने भारत पनि कहाँ गान्धीलाई पाउने स्तरको थियो होला त त्यो बेला ? (जबकि आखिर २१औं शताब्दीको धर्मनिरपेक्ष, आधुनिक भारतमा पनि उनीहरूले पाएका त हिन्दुत्वको नाममा राज गर्छु भन्ने नरेन्द्र मोदी नै हुन्) ।
बीपीको सन्दर्भमा राजनीतिक र बौद्धिक रूपमा बाँकी विश्वका तरंग र धार बुझ्ने क्षमता उनी आफैंसँग थियो । प्रजातन्त्र र देशका लागि समर्पण हुने प्रतिबद्धता र नैतिक साहस थियो । नेपाली समाजको चेतनाको स्तर समग्रमा त्यति माथि नउठेको भए पनि गान्धी, नेहरू र अन्य भारतीय नेता र विद्वान्को संगतले उनलाई समयमै विश्व राजनीति र बौद्धिक/दार्शनिक धारसँग जोडेको थियो । तसर्थ बीपीले गरेका काम, बोलेका कुरा, अन्तर्राष्ट्रिय घटनाक्रमप्रतिका टिप्पणी सुरुदेखि नै अन्तर्राष्ट्रिय स्तरका हुन्थे । उनी एउटा लिबरल बौद्धिक थिए, धर्म–संस्कृतिलाई हेर्ने आफ्नै दृष्टिकोण थियो । र सबभन्दा महत्त्वपूर्ण रूपमा उनी पूर्वीय ज्ञान परम्परा र समकालीन पाश्चात्य बौद्धिक विकासक्रमप्रति उत्तिकै दख्खल राख्थे, जुन कुरा अन्य समकालीन नेतृत्व तहमा थिएन । तर उनलाई ‘महामानव’ भन्नु फेरि उनैको मानवीय समताको जीवन दर्शनको खिलाफको कुरा हो । इतिहासमा उनको भूमिका महत्त्वपूर्ण थियो र नेपालको त्यो समयलाई उनले परिभाषित गरेका थिए भन्ने मात्र हो ।

निष्कर्ष
राजनीतिक परिवर्तनको अगुवाइ त मुख्य छँदै थियो, बीपीले नेपाली समाजलाई बौद्धिक र सांस्कृतिक रूपमा ‘सेप’ गरेका छन् । आफ्नो बौद्धिक क्षमता, प्रखर विश्वदृष्टि र राजनीतिक नैतिकताको आत्मविश्वासको आधारमा उनी नेहरू हुन् कि माओ, आफ्नो देश र समाजको लागि मौलिक दृष्टिकोण बनाउन सक्थे । त्यही आधारमा उनी अरू कुनै ठूलो देशको नेतासँग आफू सानो देशको भए पनि आफूलाई सानो मान्ने लघुताभास राख्दैनथे । आफ्नो देश सानो होला, तर राजनीतिक दृष्टिकोण र बौद्धिक क्षमतामा तिमीभन्दा कम छैन भन्ने आधारमा उनी ‘ठूला’ देशका नेतासँग सजिलै त्यही स्तरमा अन्तरक्रिया गर्न सक्थे । बीपीका यिनै भूमिकाका वरिपरि पुरानो नेपालले नयाँ नेपालमा प्रवेशको ढोका खोलेको थियो : देशमा प्रजातन्त्र संस्थागत गर्ने, आधुनिक समयमा राज्य र जनताको सम्बन्धको प्रकृतिको बारेमा विमर्श थाल्ने, राष्ट्रियता के हो र के होइन भनेर सार्वजनिक बहस गर्ने र नेपाली समाजलाई आधुनिकतातर्फ डोर्‍याउने । व्यक्तिले एक्लै इतिहास बनाउने हो कि इतिहासको प्रक्रियामा व्यक्तित्व बन्ने हुन् भन्नेबारेमा त माथि नै अलिकति चर्चा गरियो । तर केसम्म सजिलै भन्न सकिन्छ भने समकालीन नेपालका लोकतन्त्र, राष्ट्रियता र बौद्धिक आधुनिकताका आयामहरू बीपीले डोर्‍याएको राष्ट्रिय समयका विस्तारित अध्याय हुन् ।

प्रकाशित : आश्विन ७, २०७४ ११:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT