आन्दोलनका पर्याय

कल्याण ओझा

काठमाडौं — कित जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै जनताका घरदैलोमा क्रान्तिको स्वर घन्काउँदै जाने भीमदत्त पन्तको जन्म १९८३ साल मंसिर १० गते भएको हो, साँझ अँध्यारो छिप्पिइसकेपछि ।

उनका बुवा तारानाथ पन्त थिए । भीमदत्त तारानाथका एक्ला छोरा थिए । भीमदत्त बालकै हुँदा उनकी आमा सरस्वतीदेवीको मृत्यु भयो । सौतेनी आमा तुलसीदेवीले नै उनकी आमाको भूमिका निर्वाह गरिन् ।

उमेर बढेसँगै भीमदत्त घर तथा समाजमा विभिन्न समस्यासँग जुझ्दै गए । गाउँका ठालु र सामन्तहरूले उनलाई दबाउने प्रयास गर्दै गए । तर सिंहको झैं स्वभाव भएका उनी जीवनको अन्तिम घडीसम्म पनि कसैसँग झुकेनन्, बरु वीर पुरुषको पहिचान दिइरहे । भारतको सिङाहीबाट शिक्षा प्राप्त गरेका उनी देश र समाजको भलाइका निम्ति लागिरहे । नेपाली जनतालाई ढाकेको अँध्यारो हटाउन जीवनभर आन्दोलन गरिरहे । त्यो योगदानको कदर गर्दै राष्ट्रले पनि उनलाई सहिदका रूपमा सम्मान गरेको छ । 
 
तमसुक च्यात आन्दोलन 
२००७ सालको आन्दोलनले देशमा राणाशासनको अन्त भयो । तर, समाजमा ठूला ठालुको हैकम तथा सामन्ती प्रथा कायमै रह्यो । समाजका ठालुहरूले गरिबलाई दिएको धान र तोरीको ब्याज लिने, त्यो पनि दोब्बर–तेब्बर ब्याज बनाई तमसुक लेख्ने चलन थियो । भीमदत्त स्वयं पनि तमसुक काण्डको सिकार भए । उनलाई यस्तो सामाजिक कुप्रथा कत्ति मन परेन । उनी यसलाई बन्द गराउने सोचमा पुगे । विद्रोह गर्ने मौकाको खोजीमा लागे । मौका पाउनेबित्तिकै उनले गाउँभरि हल्ला फिँजाए, ‘मैले सर्वप्रथम अब आफ्नै घरको तमसुक पोल्छु । त्यसपछि सबैका घरको तमसुक पोल्छु ।’ नभन्दै एक दिन आफ्नै करेसाबारीमा गाउँलेहरू जम्मा पारी आफ्नै घरभित्र रहेको बाकसबाट तमसुकका पोकाहरू निकाल्दै उनले जलाइदिए । उनले आफ्नै तमसुक जलाएको खबर गाउँ–गाउँ फैलियो । सँगसँगै उनले हरेक घरमा खोजतलास गर्दै छन् र जसको घरमा तमसुक देख्यो उसलाई सजाय गर्दै छन् भन्ने हल्ला पनि फैलियो । हल्लाकै भरमा धेरै ठालु तथा सामन्तहरूले उनको डरले जाली तमसुकहरू आफैं च्यात्दै जलाउँदै गरे । यसरी जाली तमसुक लेख्नु हुँदैन भन्ने सन्देशका कारण जनता भीमदत्तका पक्षमा हुँदै गए । राष्ट्रका निम्ति यो उनको महत्त्वपूर्ण योगदान थियो । 

Yamaha

ओल्को बन्द आन्दोलन 
तत्कालीन समयमा किसानहरूलाई निकै दु:ख थियो । किसानका दु:ख–पीडा कोही–कसैले सुन्दैनथ्यो । मोहीले जग्गाधनी (तल्सिङ) लाई अनेक कर तिर्नुपथ्र्यो । ओल्को प्रथा पनि तिनैमध्येको एक थियो । ओल्को नतिरे मोहीले कमाइरहेको खेतपाखो, जग्गाजमिन सबै खोसिन्थ्यो । त्यही डरले गर्दा पनि समाजमा ओल्को प्रथाकै रूपमा कायम थियो । भीमदत्तकै बुवा पनि तल्सिङ थिए । भीमदत्तलाई यो कुरा सबै थाहा थियो । उनले आफ्ना बुवालाई करको रूपमा अब कहिल्यै ओल्को नल्याउनू भनेर मनाए । यसबाट उनका भाइबन्धुहरू निकै रिसाए । सामन्ती समाजले त्यतिखेर नबुझे पनि भीमदत्तले देश र समाजको निम्ति यो राम्रै काम गरेका थिए । 


महिला जागरण आन्दोलन 
जहिलेसम्म नारी जागरुक हुँदैनन्, त्यस बेलासम्म समाजमा पछौटेपन रहिरहन्छ भनेमा भीमदत्त सचेत थिए । त्यसैले उनले आफू डडेल्धुरामा गभर्नर भएपछि नारी जागरणको अभियानलाई अगाडि बढाउन थाले । केही जनजाति र केही देउकी भनिने महिलाहरूलाई उनले एकत्रित गरी लेखपढ गराउन थाले, ती महिलाहरूलाई आफ्नै संरक्षणमा राखेर बन्दुक तथा अन्य हतियार चलाउन पनि सिकाउन थाले । उनी भन्ने गर्थे— नारी पनि पुरुषसरह जुनसुकै काम गर्न सक्छन्, उनीहरूलाई संरक्षण र निर्देशनको आवश्यकताचाहिँ पर्छ । अहिले नारी आन्दोलन जुन उचाइमा पुगेको छ, त्यसमा भीमदत्तले गरेको सुरुआती पहलले इँटाको काम गरेको छ । उनी आफ्नो भाषण तथा प्रवचनका क्रममा ‘नारी है नरकी खान’ समेत भन्ने गर्थे । यो उनको नारीप्रतिको सम्मान थियो । 

शैक्षिक आन्दोलन 
जुन समाजमा शिक्षाको अभाव रहन्छ, त्यो समाज सधैं अन्धकारमा रुमलिरहेको हुन्छ । समाज र राष्ट्रलाई प्रगतिको पथमा अगाडि बढाउने हो भने हरेक मानिस शिक्षित हुनु जरुरी हुन्छ भन्ने बोध भीमदत्तलाई थियो । हुन पनि शिक्षाको अभावमा कुनै पनि देश विकासको बाटोतिर लम्केको इतिहास कहीं–कतै पाइँदैन । भीमदत्तले डडेल्धुराका अनेक ठाउँ र बैतडी तल्लो स्वराड क्षेत्रमा आफैंले विद्यालयहरू खोल्ने काम गरे । उनी आफैंले स्थानीय युवायुवतीलाई शिक्षकको रूपमा पढाउने तथा क्रान्तिका गीतहरू गाउन सिकाउने पनि गर्न थाले । यसबाट समाजमा शिक्षाको प्रचार–प्रसार हुन थाल्यो, स्थानीय बासिन्दा जागरुक हुन थाले । युवा पुस्ता उनीप्रति आकर्षित हुन थाल्यो । 

छुवाछूतविरोधी आन्दोलन 
भीमदत्तको उदय हुने बेला समाजमा अनेक किसिमका छुवाछूतको जगजगी थियो । तल्लो जात भनिने मानिसको भातभान्सा तथा चियापानी माथ्लो जात भनिने मानिसले छुन तथा खान वर्जित थियो । यस्तो चलनले समाजलाई प्रगतिको मार्गमा बढ्न अवरोध पुर्‍याइरहेको थियो । 
तल्लो जातका भनिने ठूला ठालुहरूलाई भने यस्तो छोइछिटोले कुनै असर गरेको थिएन । छोइछिटो गरिबहरूका लागि मात्र थियो । भीमदत्तलाई यो कुरा मन परिरहेको थिएन । त्यसैले उनी छोइछिटो तथा जातिपातीविरुद्ध पनि मुखर हुन थाले । उनी दलित भनिने साथीहरूका घर–घर गई उनीहरूसँगै बसेर दाल–भात खान थाले, पानी पिउन थाले । पानी नचल्ने भनिने जातजातिका भनिएका आफ्ना साथीहरूलाई आफ्नो घर ल्याएर आफूसँगै खानपिन गराउन थाले । उनको यस्तो काम समाज सुधारका लागि निकै प्रेरणादायी थियो । तर, तत्कालीन ठालु र सामन्तहरू भीमदत्तप्रति क्रोधित हुन थाले र उनको विरोध गर्न थाले । 

नुन आन्दोलन 
पश्चिम महाकाली किनार, ब्रह्मदेवमा नेपालको बजार तथा भन्सार अड्डा थियो । महाकालीपारि टनकपुरमा भारतको बजार थियो, जहाँबाट नेपालले पाउने कोटाको नुन, गुड तथा लत्ताकपडा आउँथ्यो । बैतडी, डडेल्धुरा, अछाम, बझाङ र डोटीका अधिकांश बासिन्दा नुन, गुड तथा लत्ताकपडा किन्न ब्रह्मदेव बजारमा ओइरिन्थे । ग्राहकहरू यसरी ओइरो लागेका बेला ब्रह्मदेवका व्यापारीहरूले नुनको कृत्रिम अभाव सिर्जना गर्थे र दोब्बर–तेब्बर मूल्यमा नुन तथा अन्य सामान बेच्ने गर्थे । 
यो कुरा थाहा पाएपछि भीमदत्तले विरोधस्वरूप ब्रह्मदेव बजारमा हटारुहरूको जुलुस निकाले । ‘रोजीरोटी कपडा दे, नत्र गद्दी छाडिदे’ भन्ने नारा लगाउँदै त्यो जुलुस ब्रह्मदेवबाट टनकपुर पुग्यो । व्यापारीहरू डराए, चल्तीको मोलमा नुन बेच्न थाले । भीमदत्तले आलटाल गर्ने व्यापारीहरूको गोदामै फोडी नुन बाँडिदिए । निश्चय नै यो आन्दोलन देश र जनताको हितमा थियो । अर्को कुरा, यस आन्दोलनले अन्यायको विरुद्धमा जनतालाई जुट्न सिकाएको थियो । यसबाट भीमदत्तको लोकप्रियताको दायरा झन् फराकिलो हुन थाल्यो । 


किसानमुक्ति आन्दोलन 
नुन आन्दोलनपछि भीमदत्तले ‘किसान राज, जिन्दावाद’ को नारा लगाउँदै जनतालाई संगठित गर्न थाले । उनले समाजमा व्याप्त कुरीतिहरूलाई हटाउँदै ‘जय जनता’ को अभिवादनसहित किसानहरूका घर–घर पुग्न थाले । यसले किसानहरूलाई एकसूत्रमा बाँध्यो । अनि आफ्नो हकहितका लागि उनको अगुवाइमा आन्दोलन गर्न थाले । किसान मुक्ति आन्दोलनले व्यापकता पाउँदै गर्‍यो । उनीहरूले डडेल्धुरादेखि जोगबुढा हँदै ब्रह्मदेव र ब्रह्मदेवबाट कञ्चनपुर हँुदै बेलौरी कब्जा गरे । राज्य डरायो । भीमदत्तको पछाडि सेना लगायो । किसानराजको परिकल्पना गरेका भीमदत्तलाई नेपालका सैनिकहरूले पक्रन नसकेपछि भारतको समेत सहयोग लिनुपर्‍यो । २७० भन्दा बढी भीमदत्त समर्थकहरूलाई सरकारले पक्रेर थुनामा राख्यो । 
भीमदत्त आफ्नै साथीहरूको धोकामा परे । डोटीको वुडरको गल्लेक भन्ने ठाउँमा आफ्नै मीत लालबहादुर थापा र भम्वा दियालले उनको हत्या गरे । उनको टाउको काटेर डडेल्धुरा लगियो र त्यहाँ तीन दिनसम्म बाँसको लिंगोमा प्रदर्शित गरियो । यसरी एउटा देशभक्तको पाशविक हत्या भयो । भीमदत्तले देश निर्माणमा विभिन्न किसिमका आन्दोलन गरेर महत्त्वपूर्ण योगदान दिए । महिला शिक्षा, जातीय छुवाछूत, धनी–गरिब भेदभाव हटाउन उनैले अगुवाइ गरे । ‘गरिब बासमती खान्ना, ठालु खान्ना आलु’ भन्ने लोकभाका बनाएर उनले गरिबहरूको मन जित्ने काम गरे । उनी जम्मा २७ वर्ष बाँचे, तर जनतामा जागरण ल्याउने मामिलामा अन्य वीर पुरुषको भन्दा कम योगदान दिएनन् । यसैले भीमदत्तको योगदानलाई समाजको हरेक पक्षबाट कदर गरिनु आवश्यक छ, मूल्यांकन गरिनु जरुरी छ । 
(ओझा ‘भीमदत्त पन्तको राजनीतिक जीवन एक अध्ययन’ का लेखक हुन् ।)

Esewa Pasal

प्रकाशित : आश्विन ७, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT