बिर्सिइएकी वीरांगना

सुलोचना मानन्धर

देशमा राजनीतिक उथलपुथल धेरै भइसक्यो । कुनै बेला अपरिवर्तनीय लाग्ने राजतन्त्र ढलिसक्यो । हामी संघीय गणतन्त्रका नागरिक बनेका छौं हामी । महिला राष्ट्रप्रमुख पाएका छौं । आधा आकाशका निम्ति ठूलो विजय नै हो यो ! तर यहाँसम्मको यात्रा कसरी तय भयो ?

जति लामो र कठिन भए पनि यात्राको इतिहास धूमिल हुँदै जाँदो रहेछ । बाटो खन्नेहरू, कठिन बाटामा हिँड्ने भरियाहरू, खोला तार्ने माझीहरू बिर्सिइँदा रहेछन् । इतिहासका निर्माताका रूपमा प्राय: पुरुषहरूकै नाम आउँछ । सय वर्षयताको इतिहासका पाना पल्टाउँदा प्रजातन्त्रको निम्ति योगदान दिने महिलाहरूका नाम धमिला अक्षरमै मात्र देखिन्छन् । र औंलामा गन्न मिल्ने नामहरू मात्र भेटिन्छन् । ती केही नामले त्यो बेलाको शून्यतालाई चुनौती दिएर, घरभित्रै थुनिनुपर्ने विवशतालाई चिरेर नयाँ बाटो खनेका थिए । धेरै पुरुषले त्यही बाटो हुँदै अगाडि बढेर सत्तासम्मको यात्रा तय गरे । तर ती वीरांगनाहरू भने विस्मृतिमा पुग्दै छन् ।

यसरी बिर्सिइँदै गएका नामहरूमध्ये एउटा हो— साहना प्रधान । राजनीतिक एवं सामाजिक कार्यकर्ता सुशीला श्रेष्ठको कृति ‘साहना प्रधान : स्मृतिका आँखिझ्यालबाट’ २०६० तिर बल्ल देखा पर्‍यो । साहना प्रधानको जीवनकालमै निस्कन पाएको यो पुस्तक नेपाली महिला क्रान्तिकारीको इतिहासमा महत्त्वपूर्ण उपलब्धि हो । युवावस्थामा अत्यन्त कठिन संघर्षको अनुभव गरेकी महिला लेखकको कलमबाट सृजित यो कृतिले नेपालको राजनीतिमा महिलाको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको छ । साहना प्रधानको योगदानको कुरा आउँदा, उनकै दिदी साधना अधिकारीको योगदानलाई पनि छुटाउन कदापि मिल्दैन । 
२००७ सालदेखि कहिले प्रत्यक्ष रूपमा र कहिले परोक्ष रूपमा प्रजातान्त्रिक आन्दोलनमा निरन्तर लागिरहेकी साहना २०४६ को प्रजातन्त्र पुन:स्थापनाको आन्दोलनमा पूरै होमिएकी थिइन् । पुरुष नेताहरूसँगै काँधमा काँध मिलाएर लडेकी महत्त्वपूर्ण नारी हस्ती थिइन् । प्रजातन्त्रको पुन:स्थापनापछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री बनिन् । त्यसपछि निकै समयपछि देशको निम्ति पहिलो महिला परराष्ट्रमन्त्री बनिन् । सम्भवत: उनको राजनीतिक यात्राका क्रममा पदीय हिसाबको त्यो नै सबभन्दा बढी ‘उचाइ’ थियो । त्यसपछिका दिनहरू भने उनका लागि बिस्तारै धमिलिँदै गए । वार्धक्य, शारीरिक अवस्था यसमा तगारो बन्दै जानु एउटा कुरा, तर उनका हकमा उनको योगदानलाई अनपेक्षित बेवास्ता गरिएकै हो ।
नेपालको महिला आन्दोलनमा २००४ सालदेखि नै साधना र साहनाको सक्रिय उपस्थिति रह्यो । राणाशासनविरुद्धको आन्दोलनमा, खासगरी महिला शिक्षाको आवाज उठाई, सडकमा उत्रिनेहरूमध्ये अग्रिम पंक्तिका महिलाहरूमा यी दिदी–बहिनी पनि थिए । राजनीतिमा महिलाहरूलाई सक्रिय बनाउन पहिलो औपचारिक संगठनका रूपमा नेपाल महिला संघको गठन भयो । यसका लागि त्यति बेला काठमाडौँको म्हैपीमा वनभोजजस्तो गरिएको थियो, जसमा पाँच दर्जनभन्दा बढी महिलाहरूको उपस्थिति थियो । तिनमा अधिकांश त्यो बेलाका सचेत, जागरुक र राणाविरोधी आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष लागेका पुरुष पात्रहरूकै बहिनी, छोरी, बुहारीहरू नै थिए । वनभोज भनिए पनि त्यो जमघटको भित्री उद्देश्य भने महिलाहरूलाई राजनीतिक रूपमा संगठित बनाउनु रहेको थियो । वनभोजका आयोजक मूलत: पुरुष नै थिए । महिलासँग महिलाकै भेट हुन हम्मे पर्ने तत्कालीन परिस्थितिमा भएको त्यो वनभोजमा मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको निर्माण भएको थियो । संघमा साधना प्रधान, साहना प्रधान, स्नेहलता, हीरादेवी तुलाधर, शीलवन्ती, श्रीमाया आदि गरी २४–२५ जना आबद्ध भए । संघ स्थापनामा साहनाको पनि सक्रिय भूमिका थियो । त्यति बेलासम्म कांग्रेस र कम्युनिस्ट धारका बीच ध्रुवीकरण भइसकेको थिएन । प्रजातान्त्रिक आन्दोलन राणाविरुद्धको संघर्षका रूपमा एकताबद्ध नै भएर अगाडि बढेको थियो । साहना त्यही संघर्षकी एउटी योद्धा थिइन ्। २००६ सालमा पुष्पलालको अध्यक्षतामा कम्युनिस्ट पार्टी बनेपछि जब कांग्रेस र कम्युनिस्ट छुट्टिए, साहना कम्युनिस्ट हुनु स्वाभाविक थियो । उनले २००७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिइन् ।
नेपालको वामपन्थी आन्दोलनमा साहना प्रधान एउटा स्थापित नाम हुनुको कारण उनी कम्युनिस्ट पार्टीका नेता तथा संस्थापक पुष्पलालकी पत्नी भएर मात्रै होइन, उनी स्वयंमा सक्षम नेत्री भएर हो । आम महिलाको त के कुरा, कुलीन वा खानदानी घरकै महिलाहरूको पनि कुनै सामाजिक हैसियत नहुने त्यो बेलामा पनि उनी कसरी शिक्षित, प्रगतिशील, सामाजिक योद्धा हुन सक्नुमा चाहिँ निश्चय नै परिवारका केही सदस्यको महत्त्वपूर्ण भूमिका थियो । पुष्पलालसँग विवाह हुनुभन्दा अगाडि नै, माइतीकै वातावरणले उनी उस बेलाका अरू नारी पात्रभन्दा फरक हुन सकिन् । उनका भदा महेश प्रधानका अनुसार, काका गणेशलाल प्रधान र दाजु गौरीभक्त प्रधानको सहयोग नभएको भए साहना र साधना त्यसरी आन्दोलनमा होमिनु त परेको कुरा, शिक्षित हुन पनि सम्भव थिएन ।
नेपालको सामाजिक न्याय तथा लोकतान्त्रिक आन्दोलनमा साहना प्रधानको संलग्नता अनेक भूमिकामा रह्यो । उनी दिदी साधनाभन्दा बढी आँटिली र जोधाहा स्वभावकी थिइन् । काका गणेशलालको जस्तो आँटी र परिवर्तनकामी स्वभाव साहनामा देखिन्थ्यो भने बाबु शंकरलालको जस्तो शान्त स्वभाव साधनाको थियो । दाजु गौरीभक्तले अप्रत्यक्ष हिसाबले, ‘पर्दापछाडि’ रहेझैं गरी बहिनीहरूलाई आन्दोलनमा लाग्न हौस्याएका थिए । साहना आफैंले पनि पञ्चायतकालभरि त्यसैगरी ‘पर्दापछाडि’ रहेर पुष्पलाललाई सघाउनुपर्‍यो । उनले त्यसो नगरेको भए सम्भवत: पुष्पलाल त्यसरी राजनीतिमा होमिन सक्ने थिएनन् । कतिपय बुज्रुकहरू यही कुरा नबुझेर साहनाको योगदानको अवमूल्यन गर्ने पनि गर्छन् र उनको योगदानलाई पाटीमा लेखिएका अक्षरहरूलाई झैं मेटिदिएर पुष्पलालकी पत्नी भएकै कारण मात्र चर्चित भएकी भनिदिन्छन् । विगत यथार्थलाई सूक्ष्म हिसाबले अध्ययनै नगरी सतही किसिमले चर्चा गरिदिने चलनले पनि नेपालको लिखित राजनीतिक इतिहास सस्तो बनिरहेको छ ।
परिवारभित्र भएका स–साना घटनाले पनि व्यक्तित्वको चित्रण गर्न सघाउँछन् । नेपाली समाजलाई नै बुझ्न पनि यस्ता महत्त्वहीन ठानिएका कुराले सघाइरहेका हुन्छन् । सैद्धान्तिक रूपमा अत्यन्त प्रगतिशील, वैज्ञानिक, वस्तुवादी चिन्तन बोकेका मानिसहरू पनि बेला–बेलामा ‘परम्परा’ का नाममा नचाहिँदा चलनको सिकार बनिरहेका हुन्छन् । परिवारका महिला सदस्यहरूबाट त्यस्ता प्रचलन तोड्न कसरी महत्त्वपूर्ण भूमिका निर्वाह हुन सक्छ भन्ने कुराको रमाइलो उदाहरण साहनाका कथामा पनि पाइन्छ । साधना र साहना दुवै दिदी–बहिनीको विवाह कम्युनिस्टसँगै भयो । आफ्नै माइतीको वातावरण पनि त्यस्तै थियो । तर पनि ज्वाइँहरूमा एक जना बाहुन मनमोहन अधिकारी र अर्का भने नेवार भए पनि ‘पाँचथरे’ परेकाले ‘छथरे’ माइतीमा बेला–बेला असहज स्थिति हुन्थ्यो रे, खासगरी भान्साको बेलामा । यस्तो स्थिति चिर्न उनीहरूकी भाउजू (गौरीभक्तकी पत्नी इन्दिरा) को महत्त्वपूर्ण भूमिका रह्यो रे । साहनामाथि दाइ गौरीभक्तको विशेष स्नेह थियो । उनी पनि दाइलाई अति माया गर्थिन् । पछिल्लोचोटि बिरामी हुँदा जब उनी बोल्न सक्दिनथिन्, भेट्न आएका मानिसहरूलाई टुलुटुलु हेरेर मात्रै बस्थिन्, तर जब भदा महेश (गौरीभक्तका छोरा) पुग्थे, उनी रुन थाल्थिन् । अर्को एउटा घटनाले दाजु–बहिनीबीचको स्नेहको अद्भुत चित्रण गर्छ । एक साँझ, बिरामी साहना अचानक चिच्याइन् रे । के भयो भन्दै छोरा उमेशलगायतका परिवारजन उनको ओछ्यानमा पुगे । उनी बोल्न सक्दिनथिन् । कागज र कलम मागेर किरिमिरी किरिमिरी अक्षरमा लेखिन् रे— ‘दाइ बिरामी ।’ उमेशले महेशलाई फोन गरे, ‘मामालाई कस्तो छ’ भनेर । महेशले भने— ‘भर्खरै अस्पतालको इमर्जेन्सीमा ल्यायौं ।’ उमेशको मुखबाट निस्क्यो— ‘ओ माई गड !’
मानिसको जीवनमा घट्ने हरेक कुरा आफ्नै किसिमले महत्त्वपूर्ण हुन्छन् । कति कुराको कार्य–कारणलाई हामी बुझ्छौं, कतिलाई बुझ्दैनौं । कुनै मेसिन, घर, वा कुनै भौतिक संरचनाको नक्साजस्तो हुँदैन मानिसको कथा । त्यो नबुझी लेखिएको इतिहास पूर्ण हुन सक्दैन । अबका दिनहरूमा लेखिने इतिहास पहिलेभन्दा पूर्ण हुन सकोस् भन्ने आशा राख्नु हामीजस्ता पाठकको निम्ति स्वाभाविक हो । महिला आन्दोलनसँगै देशको परिवर्तनको इतिहासमा महिला योद्धाहरूको सत्यकथा अझै आउन बाँकी नै छ । समग्र राजनीतिक इतिहासको यो एउटा महत्त्वपूर्ण र अत्यन्तै सानो अंश मात्र हो ।

Yamaha

Esewa Pasal

प्रकाशित : आश्विन ७, २०७४ ११:३०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT