इतिहासका विपरीत धार

रेग्मीको इतिहास लेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् ।
युग पाठक

इतिहासका पुराना भाष्यमाथि प्रश्न उठेपछि हिजोआज चलेको एउटा रैथाने प्रतिप्रश्न छ— पुराना चिहान खोतलेर के पाइन्छ ? यो प्रतिप्रश्नले पुराना कागजपत्रको धूलोमा पुरिंदै नेपालको आर्थिक इतिहास उत्खनन् गरिरहेका महेशचन्द्र रेग्मीको घुर्मैलो आकृति सम्झाउँछ ।

साढे चार दशक (सन् १९५९–२००३) सम्म अठारौं र उन्नाइसौं शताब्दीको चिहान खोतल्न उनलाई किन मन लाग्यो ? त्यो चिहानभित्र उनले के पाए र हामीले के पाइरहेका छौं ? पछिल्लो समय ‘चर्चा धेरै गरिने तर कम पढिने’ ठानिएका रेग्मीले फेला पारेको इतिहास के थियो ?

इतिहास भनेको शिलालेख, ताम्रपत्र, ताडपत्र, लालमोहर वा स्याहामोहरमा लेखिएका तथ्यहरूको संकलन मात्र होइन, सही अर्थमा इतिहास कसै न कसैको दृष्टिकोणबाट गरिएको तथ्यहरूको विश्लेषण हो । रेग्मीले आफ्ना पुस्तकमा उद्धृत गर्ने गरेका इतिहास सिद्धान्तकारहरू इ.एच.कार हुन् वा आर.जी. कलिङवुड, विद्वान्हरू यो कुरामा सहमत छन् । भारतीय इतिहासकार रोमिला थापरले पनि ‘इतिहास तथ्यहरूको कोष’ होइन भनेकी छन् । आफ्नो पुस्तक ‘पास्ट एज् प्रेजेन्ट’ (वर्तमानको रूपमा भूतकाल) मा थापरले भनेकी छन्— इतिहासको चलनचल्तीको व्याख्या वर्तमानमा शासन गर्ने एक औजारको रूपमा प्रयोग भइरहेको छ । भारतमा अहिले नरेन्द्र मोदीको नेतृत्वमा चलेको ‘हिन्दु अन्ध–राष्ट्रवाद’ इतिहासको त्यस्तै व्याख्याको मलजलमा फले–फुलेको हो ।
इतिहास भूतकालमा मात्र टुकुटुकु हिँड्दैन, वर्तमानमा पनि मस्तिष्कहरूको राजमार्ग हुँदै उडान गर्छ । त्यसैले आज अनिवार्य रूपमा हिजोको जगमा टेकेर उभिएको हुन्छ । समाज, देश वा सभ्यताहरूले आज जे–जस्ता समस्याको सामना गरिरहेका छन् वा विकासको जस्तो पाइला छापिरहेका छन्, ती सबैमा हिजोको प्रभाव प्रकट भइरहेको हुन्छ । त्यसैले आज समाजमा देखिएका अन्तरविरोधहरू बुझ्न र बदल्न इतिहासको चिहान खोतल्नैपर्ने हुन्छ । २००७ सालमा राणाशासन ढलेपछि नेपालमा इतिहास लेखनको उर्वर समय सुरु भयो । मूलत: शासक खान्दानहरूको वंशावली र जितबाजीको कहानीलाई इतिहास ठान्ने निरपेक्ष इतिहास–चिन्तनले गाँजेको समय थियो त्यो । त्यही मेहेरोमा ६० वर्षपहिले महेशचन्द्र रेग्मीमा अर्थतन्त्रको इतिहास खोतल्ने अभिरुचि पैदा भयो । आम रुचिभन्दा भिन्न रुचि राख्नु आफैंमा जोखिमको कुरा हो ।
व्यक्तिगत पहलमा ‘रेग्मी रिसर्च सेन्टर’ खोलेर उनले त्यो जोखिम उठाए । सरकारी अड्डाहरूमा थुप्रेर रहेका पुराना कागजपत्रका पोकाहरूसम्म उनको पहुँच थियो । अठारौं र उन्नाइसौं शताब्दीका इतिहासका धड्कन ती पोकाहरूमा थिए, उनले एक–एक गर्दै ती धड्कनहरू टिप्दै गए । उनको एउटा सानो टोली थियो, जो ती कागजपत्र उतार्ने र अंग्रेजीमा उल्था गर्ने काममा खटिन्थे । रेग्मी रिसर्च सेन्टरले प्रकाशन गर्ने ‘नेपाल प्रेस डाइजेस्ट’ र ‘नेपाल प्रेस रिपोर्ट’ दुई यस्ता प्रकाशन थिए, जो नेपालका पत्रपत्रिकाका कुरा अंग्रेजीमा उल्था गरेर तयार गरिन्थ्यो र बिक्री गरिन्थ्यो । त्यसैगरी नेपाली कानुन उल्था गरेर तयार गरिने ‘नेपाल रेकर्डर’ पनि बिक्रीमा हुन्थ्यो । सेन्टरका अरू महत्त्वपूर्ण प्रकाशन थिए— ‘नेपाल मिसेलेनियस सिरिज’ र ‘रेग्मी रिसर्च सिरिज’— जो मूलत: पुराना सरकारी कागजपत्र उल्था गरेर छाप्ने प्रकाशन थिए । यी प्रकाशनबाट हुने आम्दानीले रिसर्च सेन्टर चल्न कति पुग्थ्यो भन्न कठिन छ । जब रेग्मीका मित्र लियो ई. रोजले अमेरिकी क्यालिफोर्निया विश्वविद्यालयबाट आर्थिक सहायता दिलाइदिए, आफ्नो अनुसन्धानमा लाग्न उनलाई पक्कै सजिलो भएको हुनुपर्छ । यद्यपि त्यो सहायताले उनलाई विवादमा पनि तान्यो ।
रेग्मीले उठाएको जोखिम आजसम्म पनि कायम छ । राज्यले लगानी गरेर स्कुल–स्कुल र क्याम्पस–क्याम्पसमा पुर्‍याएको इतिहास रेग्मीले खोज गरेको इतिहास थिएन । औंलामा गन्न सकिने अनुसन्धानकर्ताले उनका प्रकाशनबाट फाइदा अवश्य उठाए, तर इतिहासको मूलधारे पाठ्यपुस्तकको चाङमुनि रेग्मीका खोज गुमनाम भइरहे । त्यसैले इतिहासको मूलधारे भाष्यमा प्रश्न उठाउने जो कोहीले आज पनि खतरासँग खेल्नैपर्छ । रेग्मीले आखिर के पत्ता लगाएका थिए, जो आज पनि खतरनाक छ ?
राज्यको जगमा साबेल
सरकारी कागजपत्र नै हुन् रेग्मीका स्रोत । राज्यले जनतासँग गरेको आर्थिक व्यवहार खोज्न उनले तिनै कागजपत्रको उपयोग गरेका थिए । ‘ल्यान्ड टेन्योर एन्ड ट्याक्सेसन इन नेपाल’ उनको आधारभूत ग्रन्थ हो । ‘अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री : १७६८–१८४७’ र ‘एन इकोनोमिक हिस्ट्री अफ नेपाल : १८४६–१९०१’ नामका दुई आर्थिक इतिहासका पुस्तकमार्फत उनले राज्यको जगमा साबेल चलाएका छन् । ‘ल्यान्ड ओनरसिप इन नेपाल’ उनको त्यस्तो पुस्तक हो, जसले नेपालको भूमि–सम्बन्धलाई उजागर गर्छ । रेग्मीको लामो अध्ययनको निष्कर्षजस्तो लाग्ने पुस्तकचाहिं ‘थ्याच्ड हट्स एन्ड स्टुको प्यालेसेज’ हो, जसले किसानलाई इतिहासभरि गरिब तुल्याइराख्ने शासक वर्गको पोल खोल्छ ।
कार्ल माक्र्सलाई सन्दर्भित गर्ने हो भने अर्थतन्त्रले निर्माण गर्ने परिस्थिति नै त्यो पोखरी हो, जहाँ समाज नामको माछा जीवित रहन्छ । अर्थतन्त्रको लय समात्ने हो भने समाजको गति सजिलै बुझिन्छ । नेपाली अर्थतन्त्रको इतिहास खोतल्ने क्रममा रेग्मी त्यस्ता निष्कर्षहरूमा पुग्छन्, जसले नेपाली समाजको आजको हविगत बुझ्न सघाउँछ । रेग्मीका पुस्तकहरू पढिरहँदा यो पंक्तिकार धेरैपटक झस्केको छ र नेपाली समाजको लय एवम् गति थाहा पाएर चकित भएको छ । राज्यले जनतासँग बनाएको सम्बन्ध इतिहासमा के रहेछ भन्ने थाहा पाउनेबित्तिकै आम जनताले भोगेको कष्टकर समय र त्यही समयलाई मथ्ने क्रममा बनेको वर्तमानका बारेमा थाहा पाइन्छ ।
रेग्मीको अनुसन्धानले प्रस्ट बताउँछ— नेपालको राज्य जनतासँग अलगथलग बसेको थियो । वास्तवमा राज्य र जनताको बीचमा आदानप्रदानको सम्बन्ध र पुँजी निर्माणमा सहकार्य नभएसम्म आर्थिक प्रणालीले सुदृढ रूप नै लिँदो रहेनछ । सात सालको क्रान्ति सम्पन्न भइन्जेल अस्तित्वमा रहेको राज्य, बिर्ता र किपट प्रणालीले स्पष्ट भाषामा के भन्छन् भने नेपालको राज्यसत्ता नेपालखाल्डोभित्र साँघुरिएर, खुम्चिएर दुई शताब्दीसम्म बसेको थियो । कर उठाउने, सलामी उठाउने, जनतालाई सित्तैमा काम लगाएर झारा पनि तिराउने, तर जनतासँग आदानप्रदानको सम्बन्ध नबनाउने । राज्य ठालुजस्तो छ, मुम्बइया फिल्ममा डनलाई ‘हफ्ता’ तिरेझैं जनता राज्यलाई कर तिरिरहेछन् । जनताको राज्यप्रति न त अपनत्व छ, न अपेक्षा नै । राज्य नै मानौं दरबार र त्यसका आसेपासेको बिर्ता हो ।
बेला–बेला कर उठाउने प्रणालीमा फेरबदल आउँछ । कहिले इजारादार, कहिले ठेकदार, कहिले जिम्दार त कहिले सुब्बा, थरी–थरीका सरकारी एजेन्ट कर उठाउन आउँछन् र किसानले दु:खजिलो गरेर उब्जाएको उब्जनीको ठूलो हिस्सा बेचेर लैजान्छन् । मुस्ताङको बाज होस् वा मधेसको सुगा, हात्ती होस् वा जंगलका काठ, सबका सबको आम्दानी राज्यको ढुकुटीमा जान्छ । तर त्यो ढुकुटी राइँदाइँ चल्छ उसैको, जो शक्तिमा छ । सयौं, हजारौं बिघा उर्बर जग्गा पनि शक्तिशालीकै बिर्ता छ । धेरैजसो बिर्तावाल कर तिर्दैनन् । जो वास्तविक किसान हुन्, उनीहरू या त राज्यको कर दोहनबाट टाक्सिएका छन्, या त शक्तिशालीको बिर्ता जोत्ने खेतीहर मजदुरजस्ता छन् । वर्षभरिको मिहिनेत गर्ने किसानको हातमा बचत आम्दानी नै नरहेपछि पुँजी निर्माण कसरी हुन्छ ?
नेपालखाल्डोमा एकसेएक भव्य दरबार बने । दरबारियाको मस्तीका निम्ति युरोपबाट सजावटका सामान आए । रैथाने बाह्रसिंगाको टाउको र बाघको छालाले मात्र सोख पूरा नभएपछि बेल्जियमका कार्पेट, एथेन्समा बनेका मूर्ति र बेलायतबाट महँगा झल्लरहरू मगाइए । नेपालखाल्डो युरोपेली देश, जापान आदिबाट आएका सामान उपभोग गर्ने एक ‘हट् स्पट’ बन्यो । घरेलु उद्योगहरू धराशायी भए । राज्य र त्यसका एजेन्टहरूको अत्याचारबाट बच्न हजारौं मानिस बसाइँ सरेर सीमापार पुगे । राज्यले समाजलाई चाहिने विभिन्न संस्थागत संरचनाहरू निर्माण गर्नेबारे कहिल्यै सोचेन । जनता अलगथलग, राज्य मुठ्ठीभर कुलीनहरूले आर्जेको र उनीहरूले नै भोगचलन गर्ने एक एकाइ बन्यो । पश्चिमका रजौटाहरू, पूर्वका किपटिया, मधेसका किसान, सबै नै राज्यसँग अलगथलग अवस्थामा रहे । एक त भाषिक, सांस्कृतिक भिन्नताले विविध समुदाय र राज्यको बीचमा चिनियाँ पर्खाल हालेको छ, अर्कोतिर शासकहरू केवल करको धागोले मानिसहरूलाई उन्न खोजिरहेछन् । 
राज्यको जगमा साबेल चलाएर रेग्मीले यस्ता तमाम् तथ्य उत्खनन् गरेका छन् । राजा–महाराजाको कहानीबाट इतिहासलाई झिकेर जनताको धड्कन नाप्ने कलाको रूपमा विकसित गर्न रेग्मी प्रतिबद्ध देखिन्छन् । नेपालको इतिहासलेखन परम्परामा यो बिल्कुल नौलो आयाम थियो । गोर्खा साम्राज्यको सैनिक अभियान, दरबारिया षड्यन्त्र र सत्ताको दाउपेचलाई नै इतिहासको रूपमा अतिरञ्जित भाषामा अभिव्यक्त गर्ने प्रवृत्तिका विरुद्धमा उनी खडा मात्र छैनन्, रचनात्मक ढंगले जवाफ पनि दिएका छन् ।
जंगबहादुर जन्माउने दरबार
एकीकरणको भाष्य पढेर नेपालका केही पुस्ता हुर्के । रेग्मी भने पुराना कागजपत्रबाट गोर्खा साम्राज्य निकाल्छन् । संसारका विशाल साम्राज्यको कथा सुनेका हामीलाई ‘गोर्खा साम्राज्य पनि हुन्छ र’ भन्ने लाग्छ । गोर्खाली राज्यविस्तार अभियानलाई छाडेर इतिहासकार अघि बढ्न सक्दैन । तर रेग्मीले त्यहाँ हामीलाई टक्क अड्याइदिन्छन् । उनी भन्छन्— सैनिक विजयले राज्य त ठूलो बन्यो, तर राष्ट्र निर्माण हुन सकेन । कतै राजा–रजौटासँग सम्झौता गरिएको छ त कतै लिम्बुवानजस्तो समुदायलाई किपट र आन्तरिक स्वायत्तता दिइएको छ । राज्यसत्तामा केवल पहाडी क्षत्री–बाहुन गठबन्धन हुनु र अरू समुदाय शासनप्रणालीबाट बाहिरै पर्नु पनि राष्ट्र निर्माणको तगारो हो ।
नेपाल एकिकरणको कहानी रेग्मीमा आइपुग्दा ३६० डिग्रीमा घुमिसक्छ । ‘किङ्स एन्ड पोलिटिकल लिडर्स अफ दी गोर्खाली एम्पायर’ र ‘इम्पेरियल गोर्खा’ दुई यस्ता पुस्तक हुन्, जसले एकीकरणको भाष्यलाई विश्राम दिन्छन् । रेग्मीका अनुसार ‘राष्ट्रवादी’ इतिहासकारहरू या त पृथ्वीनारायणको महान् इच्छा या बेलायती उपनिवेशबाट देश जोगाउने महान् उद्देश्यसँग एकीकरणलाई जोड्छन् । वास्तवमा गोर्खाली शासक र भाइभारदारका निम्ति तराईको उर्वरभूमि, भारत र तिब्बत जाने व्यापारिक रुट र नेपालखाल्डोको धनधान्य मुख्य प्रेरक तत्त्व थिए । रेग्मीकै तर्क पछ्याउँदै अर्का इतिहासकार लुड्विग स्टिलरले पनि आफ्नो पुस्तक ‘नेपाल : ग्रोथ अफ अ नेसन’ मा जग्गाको मोहले गोर्खाली शासकदेखि सिपाहीसम्मलाई लडाइँमा डट्न प्रेरित गरेको उल्लेख गरेका छन् ।
मूलधारे इतिहासले धेरैजसो नेपालखाल्डोमा जमेर बस्न पुगेको गोर्खाली दरबारभित्रको षड्यन्त्रको कथा भन्छ । पृथ्वीनारायणको मृत्युपछि दरबारभित्र षड्यन्त्रको खेल सुरु भएको र त्यस्ता खेलमा खास–खास पात्रको चारित्रिक कमजोरी वा दाउपेच नै कारक तत्त्व रहेको त्यस्ता इतिहासकारको ठहर छ । तर राजनीतिको व्याख्या यस्तो भावुकतामा स्वत: पिलन्धरे हुन पुग्छ । प्रश्न छ— जंगबहादुर जन्माउने दरबार केले जन्मायो ? जंगबहादुर त्यसै जन्मिएको त होइन । जंगबहादुर जन्माउने दरबारभित्र कुनै न कुनै रहस्य हुनैपर्छ । रेग्मीले सोझै यो प्रश्नको उत्तर त दिएका छैनन्, तर उनका रचनामा प्रकारान्तरले जवाफ पाइन्छ ।
पृथ्वीनारायणका आँखा नेपालखाल्डोको समृद्ध सभ्यता र अर्थतन्त्रमा परेको तथ्य स्पष्टै छ । ‘पकेटमनी’ पनि स्थानीय साहुसँग सापटी लिनुपर्ने हैसियत थियो गोर्खा दरबारको । त्यसैले नेपालखाल्डो जित्ने महत्त्वाकांक्षाले २५ वर्षको अग्निपरीक्षा पार गर्‍यो ! युद्धको बेला युद्धकै राग बलियो हुन्छ । जब युद्ध सकियो, दरबारभित्र शक्तिको छिनाझपटी सुरु भयो । किन नहोस्, जबकि जो शक्तिशाली हुन्थ्यो उसले मधेसमा हजारौं बिघा जमिन बिर्ता पाउँथ्यो । अरू सलामी, असुली र राज्यको ढुकुटीको रजाइँ त छँदैछ । मुलुक ठूलो भएको थियो, आम्दानी पनि धेरै हुन्थ्यो । दरबारको न्यानो पाउनु भनेको धनधान्यले पूर्ण हुनु पनि हो । आफ्नो मात्र होइन, आफ्ना आफन्तलाई समेत मालामाल बनाउन सकिने शक्ति भर्खरै जितिएको साम्राज्यले दिन्थ्यो ।
ठीक यही भट्टीबाट जंगबहादुरको जन्म भएको थियो । शक्ति हातमा आउनासाथ धन, ऐश्वर्य, वैभव, हुकुम सबै प्राप्त हुन्छ भने जंगबहादुरले कोतपर्वको जोखिम किन नउठाउने ? गोर्खा र वरपरका पहाडी राज्यबाट आएका गोर्खाली कुलीनहरूका निम्ति यो सुनौलो अवसर थियो, किनभने यस्तो अवसर उनीहरूले पहिला कल्पना पनि गरेका थिएनन् । नभन्दै जंगबहादुर र उनीपछिका राणाशासकहरूले श्री ३ को शक्ति अभ्यास मात्र गरेनन्, प्रशस्त पैसा पनि कमाए । जनताप्रति उत्तरदायी नहुने र जनताको उत्पादनबाट पुँजी खिंचेर मोजमस्तीमा लगाउने शासक इतिहासभरि भए । गोर्खाली शासन आफैंमा साम्राज्यवादी चरित्रको भएको हुनाले यसले विविध समुदायमाथि आन्तरिक उपनिवेशको अभ्यास गर्‍यो । 
उपसंहार
विश्वविद्यालयहरूमा इतिहासप्रति रुचि कम भइरहे पनि हिजोआज आमजनतामा इतिहासको पुरानो भाष्यप्रति आलोचनात्मक चेत विकास भइरहेको छ । मूलधारे इतिहास समाजको चरित्र बुझ्न र बदल्न मद्दत गर्ने खालको छैन । यसमा रेग्मीले पनि रोष प्रकट गरेका छन् । वीरताको पगरी र अतिरञ्जित व्याख्याले इतिहासका पात्रहरू मिथकीय पात्रझैं लाग्छन् । इतिहासलेखनको यो प्रवृत्ति बदल्न रेग्मी प्रतिबद्ध थिए ।
जब उनी कुमाउँमा गोर्खालीले थोपरेको अत्याचारको कुरा गर्छन्, इतिहासले साँच्चै नयाँ लय पक्रिन्छ । बलभद्र, अमरसिंह र भक्ति थापाहरूका वीरगाथा सुनेर हुर्किएको हाम्रो पुस्ता एकपटक नराम्रोसँग झस्कने निश्चित छ । आर्थिक इतिहास लेख्दालेख्दै अन्ततिर ‘इम्पेरियल गोर्खा’ लेख्न पुगेका रेग्मीले कुमाउँमा गोर्खाली शासनको २५ वर्षलाई मूल्यांकन गरेका छन् । गोर्खाली राज्यविस्तारको मूल चरित्र उपनिवेशवादी थियो । गोर्खाली प्रशासकले कुमाउँमा गरेको अत्याचारको कथा त्यहाँको लोकगीतमा अझै सुरक्षित छ । अंग्रेजसँग लडाइँ हार्नुको मुख्य कारण नै त्यहाँ खेलिएको अत्याचारको होली थियो ।
रेग्मीको इतिहासलेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । चाहे नेपाल राष्ट्र बन्नै बाँकी रहेको दलिल होस् वा पृथ्वीनारायणले आर्थिक हिसाबले एकीकरण गर्न नसकेको स्पष्टोक्ति होस्, उनले वर्तमानका समस्या पहिल्याउनका निम्ति नै इतिहास लेखेको छाँट मिल्छ । नेपाल–अध्ययनमा लाग्ने अनुसन्धाताहरू रेग्मीको पुस्तक नछिचोली कहीं पुग्दैनन् । वर्णव्यवस्था र विविध समुदायको सीमान्तकरण बुझ्ने सन्दर्भमा पनि उनका पुस्तक उपयोगी छन् । राष्ट्र र सभ्यता दुवै बन्नका लागि रेग्मीजस्ता इतिहासकारका खोज मनन गरिनुपर्छ । आखिर मान्छे चिन्तन र इतिहासको कथाबिना बाँच्न सक्दैन । रेग्मीका पुस्तक हामीलाई बचाउन तम्तयार छन् ।

Yamaha

प्रकाशित : आश्विन ७, २०७४ ११:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT