सांगीतिक सेतु

लोचन रिजाल

काठमाडौं — संगीत भनौं वा कलाको कुनै पनि विधा, यी राष्ट्रियता पहिचान बोक्ने विषय हुन् । त्यसैले संगीतकर्मी, कलाकर्मी भनेका सम्पदा बराबर हुन्छन् । विकसित देशहरूले यस्तै विषयलाई प्रोत्साहन गरेर आफ्नो राष्ट्रियतालाई बलियो बनाएका हुन्छन् ।

हाम्रो देशमा पनि नारायणगोपाल जस्ता प्रतिभा राष्ट्रिय पहिचानका एउटा प्रतिविम्ब हुन् । त्यो किनभने, मानौँ हाम्रो देशको कुनै भागमा कुनै विषयलाई लिएर द्वेष अथवा झगडा भइरहेको छ, त्यहाँ नारायणगोपालको कुरा कोट्टयाइदियो भने, ती झगडालुहरू एक छिन शान्त हुन्छन् । तिनले एक छिन आपसी द्वेष बिर्सिन्छन् । नारायणगोपाल हुनुको शक्ति हो यो । 

यसको अर्थ हो— गायक नारायणगोपाललाई नरुचाउने नेपाली भेट्न सकिँदैन । जुन नेपालीले उनलाई मन पराउँदैन, त्यसले संगीत मन पराउँदैन । नारायण गोपालको स्वरमा त्यस्तो विशिष्टता छ, जुन अरू नेपाली गायकमा पाउन सकिँदैन । उनको गायकीमा अलि भिन्न खालका मेलोडिक स्ट्रक्चर, मेलोडी लाइनहरू पाइन्छन् । प्रविधिको सीमितता रहेको त्यो बेला पनि उनले साउन्ड प्रोडक्सनमा एकदम राम्रो काम गरेका छन् । उनको भ्वाइस टेक्स्चर पनि त्यत्तिकै मीठो छ । सुन्दा श्रोताका कानमा कुनै मीठो चीज हालिदिए जस्तो छ अनुभूति हुने, त्यति राम्रो । नारायणगोपालपछि हामीले मान्छेलाई एक्कासि छुने त्यो खालको स्वर सुन्न पाएका छैनौँ । हामी दिनहुँ कति गीत सुनिरहेका हुन्छौँ, तर एकदुईमा बाहेक अरूमा नारायणगोपालका गीतहरूमा जस्तो आत्मीयता भेटिन्न । उनका गीत सुन्दा हामी नोस्टाल्जिक हुन्छौँ, त्यो ‘रिलेटिभिटी’ अरूका गीतमा हम्मेसि पाउन सकिन्न । 
सुविचारित साउन्ड प्रोडक्सन, भ्वाइस टेक्स्चरको विशिष्टता र गीतको चयनमा सचेतता ... यी तीन कुराले नारायणगोपाललाई अरुभन्दा विशिष्ट तुल्याएका हुन् । उनले गाएका शब्दहरू सबै उमेर समूहका श्रोतालाई छुने खालका छन् । त्यही कारण २००७ सालपछि, रेडियो नेपालको स्थापनापछि, विशेषत: आधुनिक गीतको लहर आएपछिको सांगीतिक आकाशमा नारायणगोपाल एउटा मानक बनेका हुन् । अर्को कुरा, कोही किन लोकप्रिय भयो भन्ने कुरा त्यो देशको तात्कालिक परिस्थितिमा पनि भर पर्छ । रेडियो नेपालको स्थापना हुनु, संगीतका प्राय: विधामा राम्ररी प्रशिक्षित भएको हुनु, आफूले गाउन लागेका शब्दको सामथ्र्य बुझ्न सक्नु, उपयुक्त बाजाहरूको छनोट गर्न सक्नु जस्ता कारणले नारायणगोपाल आफ्ना समकालीनहरूभन्दा फरक भएका हुन् । त्यसैले नेपाली जनमानसमा अहिलेसम्म उनको गहिरो छाप छ र पछिसम्म रहिरहनेछ ।
नारायणगोपाल यति लोकप्रिय हुनुमा गोपाल योञ्जनसँगको उनको सुरुआती सहकार्यले पनि काम गरेको हो । गोपाल योञ्जनसँग संगीतको बलियो सैद्धान्तिक ज्ञान थियो । उनीहरूले पश्चिमा बाजाहरूको प्रयोग पनि नेपाली तरिकाले गरेका छन् । उनीहरूका गीतमा पनि स्याक्सोफोन, ड्रम जस्ता बाजा बजेका छन्, तर नेपाली मेलोडीमा । उनीहरू कानलाई मुख्य प्राथमिकता दिएर साउन्ड प्रोड्युस गरे । अनि त्यसले नेपाली मन छोयो । नारायणगोपालका गीतहरूले संगीतका तीनटै पक्षलाई समातिदिए— त्यो बेलाको जनमानसको भावना, मिठास त्यो कारुणिक र नेपाली मौलिकता । नारायणगोपालका गीतमा वेस्टर्न क्लासिकल म्युजिकका सिम्फोनिक इलिमेन्टहरू भेटिए पनि ती नेपाली मौलिकतामै छन् । उनले तिनमा आफ्नो सिर्जनात्मकता देखाइदिएका छन् । त्यही भएर उनका पछिल्लो चरणका गीतहरू फरक छन् ।
नारायणगोपाललाई धेरैले मुडी वा सनकी थिए भन्छन्, मलाईचाहिँ त्यस्तो लाग्दैन । राम्रो काम गर्न चाहने मान्छे मुडी नै हुन्छ । उनलाई पनि आफ्नो संगीतसँग मात्रै मतलब थियो । नारायणगोपाल कलाकारका रूपमा जत्रो ठूलो ब्रान्ड बने, त्यो उनी आफैँले चाहेर भएको होइन । त्यो त नेपाली जनमानसले मन पराएर बनाइदिएको हो । उनलाई यसमा खासै सरोकार थिएन सायद । उनलाई कलाकार भएर बाँच्नु थियो । नेपाली उनलाई आफुनो सांगीतिक जीवनबाट आनन्द उठाउनु मात्रै थियो । त्यति बेला उनको सांगीतिक कर्मको उचित व्यवस्थापन हुन सकेको भए अहिले नेपाली संगीतको भविष्य नै अर्को हुन्थ्यो, उद्योगका रूपमा अघि बढिरहेको हुन्थ्यो । 
हाम्रो गीतसंगीतको क्षेत्रबाट नारायणगोपाललाई झिकिदियो भने रेडियो नेपाल स्थापनायता नेपाली श्रोताहरूले मीठामीठा सुन्न पाउँदैनथे । अरू केही कुरा पक्कै निस्किन्थ्यो । तर, आम नेपालीमा संगीतकर्मी बनेर बाँचौं भन्ने खालको सोचाइचाहिँ अहिलेको जस्तो अचाक्ली किसिमले आउँदैनथ्यो होला । 
नारायण गोपालले गाउन सुरु गर्नुभन्दा अगाडि पनि सांगीतिक चहलपहल त थियो नि, भारतबाट उस्तादहरू बोलाउँदै कार्यक्रम गराइन्थ्यो, धर्मराज थापा रेडियो र टेपरेकर्डर बोकेर गीत संकलन गर्दै हिँड्थे । प्रज्ञा प्रतिष्ठानमा केही गरौँ भन्ने सोच भएका मानिस पनि थिए, तर नारायणगोपाल जस्तै ‘प्योर पर्फर्मर, रेकर्डिङ आर्टिस्ट’ चाहिँ थिएनन् । 
नारायणगोपालका गीतमा सबै नेपाली जोडिए । उनले सबैलाई मन पर्ने खालको संगीत उत्पादन गरे । कला भनेकै यही हो । उनी एकदमकै गजबको कलाकार । रेकर्डमा उनको जति भ्वाइस टेक्स्चर मैले संसारमा कसैको सुनेको छैन । नारायणगोपालको श्रोता हुन पाएकामा मलाई अति गर्व लाग्छ । 
हामीले संगीतलाई क्लासिफाई गर्न सकेका छैनौं । संगीत भनेको सुन्ने–सुनाउने, मनोरञ्जन लिने–दिने विषय त हुँदै हो, त्यसभन्दा बढी देशको शान, देशको गौरव अथवा देशको अखण्डताको विषय पनि हो । विदेशतिर बसेका नेपाली दाजुभाइ, दिदीबहिनीलाई नेपाली गीतले कस्तो तानिरहेको हुन्छ । त्यसैले हामीले नेपालको हरेक क्षेत्र र समुदायको संगीतलाई प्रोत्साहन गर्नुपर्छ, गाउँठाउँमा रहेका संगीतकर्मीहरूका लागि यसैलाई आजीविकाको स्रोत बनाउने अवसर मिलाइदिनुपर्छ । जबसम्म संगीतकर्मीहरू यही पेसाबाट जीविका आर्जनका लागि योग्य हुँदैनन्, तबसम्म आममान्छेले यसलाई गम्भीरतापूर्वक लिँदैन । कुनै पनि विषयको ‘नेसनल आइडिन्टिटी’ जीविकासँग पनि जोडिएको हुन्छ । यस्तो हुन सके नेपाल बलियो हुने थियो । संगीत ‘ओरल हिस्ट्री’ पनि हो । गन्धर्व र हुड्केलीहरूले वंशावली नै गाइदिने परम्परा छ । यी सबै चीजहरूलाई हामीले लोकप्रिय बनाउन सक्यौं र संगीतकारका रूपमा तिनलाई ठाउँ दिन सक्यौं भने गज्जब हुन्छ । हरेक तह र तप्काका संगीतकर्मीलाई एक ठाउँमा ल्याउन सक्ने हो भने, आपसी समझदारी पनि सुदृढ हुँदै जान्छ । हाम्रो देशमा पनि म्युजिक टुरिजम फस्टाउँछ ।
नेपालीहरूलाई संसारभरि चिनाउने भनेको संगीतले पनि हो, भारतको पहिचान बनेको छ । भारतले संगीतको आफ्नो सीमालाई विश्वव्यापी बनाइसकेको छ । फिल्मी गीतहरू रिलिज हुन पाउँदैनन्, संसारभरि छाइसक्छन् । एक हिसाबले भारत भनेकै भनेकै बलिउड जस्तै भइसकेको छ । 
त्यस्तै, हाम्रा लागि त्यस्तो काम नारायणगोपालले गरिरहेका छन्, उनी भौतिक रूपमा नरहे पनि, सिर्जनाका माध्यमले । अहिलेको समयमा नारायणगोपाल जीवितै रहेका भए नेपाल कस्तो हुन्थ्यो होला ! नेपाली संगीतको स्तर कति माथि पुग्थ्यो होला ! अहिलेका गीत नराम्रा छन् भन्न खोजेको होइन मैले, राम्रै छन् । नेपाली गीतहरू संसारभरिका अन्य गीतभन्दा राम्रा हुन् भन्ने मेरो अपेक्षामा चाहिँ खरो उत्रेका छैनन् । नेपाली गीतले नेपालको पहिचान पो विस्तार गर्नुपर्‍यो, नेपाली मौलिकतालाई समृद्ध बनाउनुपर्‍यो । बलिउडका नक्कल त हामीले किन मन सुन्नुपर्‍यो ! त्यसका लागि त बलिउडकै ओरिजिनल गीत सुने सुविधा छँदै छ नि !
अहिलेका धेरैजसो नेपाली गीत हल्का छन् । बरु सल्यानमा बादी गन्धर्वले गाएका गीतहरूमा ‘वेट’ हुन्छ । हुन त म पनि एक जमानामा पप–रक म्युजिक भन्दै हिँडें । अहिले मात्रै संगीतबारे चिन्तन–मनन गर्दै, आफूलाई ऐनामा हेर्दै जाँदै यसको गम्भीरताबारे बुझ्दै छु । नेपालमा प्रतिभाको कमीका कारण यस्तो भएको होइन । एक से एक प्रतिभाशाली व्यक्ति छन् हाम्रै वरिपरि । तर प्रतिभाको समयोचित प्रयोगमा हामी पछाडि छौँ । अन्यत्र प्रयोगमा आइसकेका कुरा मात्रै नेपालमा आउनुको कारण यही हो । प्रविधि पुरानो भएपछि गुणवत्ताप्रति सचेतता अपनाउन सकिन्न । नारायणगोपालले चाहिँ आफ्नो प्रतिभाको बेलैमा उपयोग गरेका हुन् । नारायण गोपालले यस्तो प्रविधि पाएको भए ! यस्तो कल्पना मात्रैले पनि म रोमाञ्चित हुने गर्छु ।
अहिले नेपाली संगीत हल्का हुनुको एउटा कारण राज्यको संरक्षणको अभाव पनि हो । उस बेला संरक्षकहरू थिए । मैले राजनीतिक कुरा गर्न चाहेको होइन, तर के सत्य हो भने, प्रजातन्त्र र लोकतन्त्रका दुस्मन भनिएकाहरू कलाका संरक्षक थिए । दरबारले कलाकारहरूलाई आफ्नो गौरवका रूपमा लिन्थ्यो । नेपालको अँध्यारो युगका प्रवर्तक मानिने राणा शासकहरू कलाका बडा पारखी थिए । वीरशमशेरले आफू सत्तामा पुगेपछि वीरगन्जमा पहिलो सांगीतिक महोत्सव गरेका थिए । भारतबाट ताज खान, रुनी खान जस्ता उस्तादहरूलाई निम्त्याएका थिए । 
त्यसले संगीतको एक किसिमको माहौल बनाएको थियो । त्यस्तै, चन्द्रशमशेरले मेलवादेवीलाई दरबारमै राखेका थिए ।
नेपालका शासकहरूले यो युरोपेली सिको गरेका थिए । युरोपका सम्राट्हरूले दरबारिया कलाकारहरू पालेका हुन्थे । मोजार्ट, बिथोवन, बाख, सफिन आदि त्यस्तै प्रतिभा थिए । आफ्नो दरबारमा धेरै कलाकार छन् भन्ने देखाएर उनीहरू अरू देशका राजा–महाराजको सेखी झार्न खोज्थे । कलाकार देशका शान हुन्छन् भन्ने एउटा प्रमाण हो यो । उनीहरूले त्यसो गरेर राष्ट्रियताको संरक्षण गरेका हुन् ।
नारायणगोपालको समयमा दरबारको त्यस्तो प्रचलन अलि कम भए पनि अहिले जस्तो निमिट्यान्न भएको थिएन । नेपाल राज्य चलाउने व्यक्तिहरूले कला–संस्कृतिलाई सम्मान गरी नै रहे । महाकवि देवकोटा शिक्षामन्त्रीसम्म हुन पाए । राष्ट्रिय विभूति भनेर कतिलाई सम्मान गरिन्थ्यो । त्यो बेला सम्मान गरिएका कुनै व्यक्ति अयोग्य थिएनन् । अहिले कलाका संरक्षकहरूको अभाव देखिन्छ । अलिअलि भए पनि राजनीतिले त्यसलाई पूरै गाँजेको छ । राष्ट्रिय पहिचान नै समाजवाद र साम्यवादमा रूपान्तरित भइसक्यो ।
गीत गाएर चर्चित भएर मात्रै अहिलेको नेपाली संगीतको समाधान निस्किँदैन । नयाँ पुस्ता यस्तो बौद्धिक भइसक्यो, उसले राष्ट्रिय पहिचानको परिभाषा नै त्यो बेलाभन्दा फरक किसिमले गर्न सक्छ । मौलिकताचाहिँ चाहियो । मौलिकता पनि अरू विकसित मुलुकहरूको भन्दा हाम्रो प्रभावकारी भयो भने मात्रै ‘नोटिस’ हुने हो । हाम्रा गाउँगाउँमा जति पनि सांगीतिक परम्पराहरू छन्, तिनलाई आर्ट म्युजिकमा रुपान्तरण गर्नुपर्छ अनि विश्वले मन पराउँछ । हरेक नेपालीलाई त्यसप्रति गर्व हुन्छ । उदाहरणका लागि दौरा–सुरुवाललाई नै लिऔँ । समग्र नेपाली जातिले यो पहिरनप्रति गौरव गर्छ । यसको कारण हो— त्यो पहिरनको मौलिकता । नेपाली संगीत त्यसै गरी परैबाट चिनिने, अलग्गै देखिने हुनुपर्छ । त्यसका हाम्रा लोक धुनहरूलाई सैद्धान्तिक हिसाबले सम्पन्न बनाउनुपर्छ । त्यस्तो हुन सके नेपाली संगीत परैबाट चिनिन थाल्छ, हाम्रा संगीतकर्मीहरूले विदेशीहरूबाट ‘यो त भारतको संगीत भयो, नेपाली संगीत चाहिँ कस्तो हुन्छ ?’ भन्ने प्रश्नको सामना फेरिफेरि गर्नुपर्दैन । 
अहिलेका नेपाली संगीतकर्मीहरूले नारायणगोपालझैँ आफैँतिर फर्किनु जरुरी छ । आफ्नो आत्मालाई मन परेको संगीतले अरूलाई पनि अवश्य छुन्छ । त्यसैले यसमा समर्पण अपेक्षित हुन्छ । संगीतमा लागेको युवा पुस्ताले यसमा बढी चनाखो, उत्साहित हुनु आवश्यक छ । 
(काठमाडौँ विश्वविद्यालयको संगीत विभागका कोअर्डिनेटर रिजालसँग गरिएको कुराकानीमा आधारित ।) 

Yamaha

Esewa Pasal

प्रकाशित : आश्विन ७, २०७४ ११:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT