साहित्यमा त्यो हस्तक्षेप

अझै त महिलाका कृतिलाई भयानक शंकाको नजरले हेरिन्छ, उसको नामसँग कुनै पुरुषको नाम नजोडी किताबको एक्लो समीक्षा गर्न नसक्ने ‘हिप्पोक्रेसी’ यहाँ जिउँदै छ, २०२२ सालताका ‘शिरीषको फूल’ र पारिजातको सहज स्वागत भयो होला भनी कल्पना गर्न पनि हम्मे पर्छ ।
सरिता तिवारी

नेपाली साहित्यका पाठक पारिजातको लेखनबाट अपरिचित र अप्रभावित छैनन् । सबै खाले पाठकलाई पारिजातको साहित्य रुचाउने सुविधा छ । यस्तो सुविधा कमै मात्र लेखक पढ्नुमा हुँदो हो ।

दार्जिलिङमा जन्मे–हुर्केर काठमाडौंलाई कर्मथलो बनाउने सिर्जनशील प्रतिभाहरूमध्ये एक पारिजात पनि हुन् । यो सूचीमा अरू अनेक स्रष्टा छन्, जसले पूर्वी सीमापारिबाट आएर ठूलो समर्पणले नेपालको साहित्य, कला र सङ्गीतमा विशिष्ट प्रभावहरू छोडेका छन् । 

पारिजातले सानै छँदा आमा गुमाइन् र हुर्कंदै गर्दा मायालु दाजु पनि दन्त्यकथाका अभागी नायकझैं अल्पिए । पिता घोर नास्तिक, घोर पढक्कु र आफ्नो संकल्पका पक्का थिए । अवचेतनमा पिताको सुषुप्त अनुशीलन पनि बसेको हुँदो हो, पारिजात स्कुलकै दिनमा साहित्यप्रेमी बनिन् । लोक प्रचलित लहरी काव्य र भारतीय साहित्यका नामूद लेखनीसँग परिचित भइन् । जीवनका प्रकोप र साहित्यको तादात्म्य कतै मिल्न पुग्यो । भावुकता र रुमानियत उनको व्यक्तित्वसँगै गाँसिन आइपुगे । उनी कविताप्रेमी मात्र होइन, स्वयं कवि बनिन् । शरीरमा कहिल्यै निको नहुने रोगका सङ्क्रमणहरू देखिनु र बिस्तारै आफूभित्र पलाउन लागेको प्रेमको पालुवा आफ्नै हातले किचिमिची पार्दै बाँच्न सिक्नु— यी दुइटै कुरा क्रमागत भएर उनको जीवनमा आए ।
रुमानी भाव र अति कल्पनाशीलताकी धनी पारिजात कलकलाउँदो बैंसकै दिनमा काठमाडौं आइपुगिन् । प्रेमको गहिरो विषाद र आफन्तका शोकको शृङ्खलाबद्ध पीडा उनका मानस–मित्र थिए । र, सम्भवत: साहित्यलेखनका उत्प्रेरक पनि । उनीभित्र घरी–घरी बौरिइरहने प्रेम सुषुप्त रहन सकेन । अवसादमय प्रेमका वर्णनातीत घाउ उनका आरम्भिक कविता लेखाइका विषय बने । पहिलो कविता २०१३ सालमा ‘धरती’ मा छापियो । त्यसपछि २०१४ सालमा कवितासंग्रह नै प्रकाशित भयो, ‘आकांक्षा’ ।

Yamaha

विवाद र संक्रमण
बहुचर्चित ‘शिरीषको फूल’ ले नेपाली साहित्यमा पृथक् स्वादको तरङ्ग ल्याउनुअघि उनका चार उपन्यास जन्मिनुपूर्व नै जलाइए । विश्वसाहित्य पढ्दै गर्दा भित्रभित्र ‘बेजोड उपन्यास लेख्ने महत्त्वाकांक्षाको राक्षस’ ले शिर उठाउन थालेपछि उपन्यास लेख्न बस्दा उनलाई आफैंले लेखेका चीज झुर लागे । र, आफैंले जलाइदिइन् । ती चार उपन्यासको दहनबिना ‘शिरीषको फूल’ जस्तो किताब लेखिन सम्भव पनि नहँुदो हो ।
‘शिरीषको फूल’ नेपाली साहित्यमाथि पारिजातको विस्फोटक हस्तक्षेप थियो । मानौं सबका आँखा खुलाका खुलै रहेजस्तो क्षण ! त्यो विस्फोट अहिलेको जस्तो स्टन्टबाट थालिएर फास्सफुस्स भई बिर्सिइने खाले थिएन । नेपाली साहित्यमा यो जति प्रशंसित वा आलोचित किताब कमै होलान् । यसबाट पारिजात एकाएक प्रसिद्धिको शिखरमा पुगिन् । दार्जिलिङबाट छिरेकी एउटी महिला ! अझै त महिलाका कृतिलाई भयानक शंकाको नजरले हेरिन्छ, उसको नामसँग कुनै पुरुषको नाम नजोडी किताबको एक्लो समीक्षा गर्न नसक्ने ‘हिप्पोक्रेसी’ यहाँ जिउँदै छ, त्यो बेला यो किताब र लेखक पारिजातको सहज स्वागत भयो होला भनी कल्पना गर्न पनि हम्मे पर्छ । 
उपन्यास लेखनमा भाषा र भावको बुनोटबारे आज पनि जब–जब गम्भीर छलफल हुन्छ, ‘शिरीषको फूल’ बहसको केन्द्रमै आइपुग्छ । यद्यपि शून्यवादी–विचलनवादी वैचारिक अपिलका कारण यो कृतिलाई आदर्श मान्न नसकिने तर्क पनि प्रकाशनकालदेखि आजसम्म उत्तिकै बलियो छ, तथापि पछिबाट विचारसचेत र जिम्मेवार लेखक पारिजातको निर्माण गर्ने आधार यही किताबको प्रतिक्रियापछि तय भएका हुन् । यो स्मरणीय कुरा हो ।
‘शिरीषको फूल’ प्रकाशनपछिका दिन उनका लागि भयावह रूपले कठोर र तनावपूर्ण थिए । तिनै तनावदेय दिनमा उनी राल्फा जेनेरेसनको सक्रिय अभियन्ता बनिन् । वैचारिक संक्रमणमय चरणपछि उनको चिन्तन बिस्तारै माक्र्सवादतर्फ ‘सिफ्ट’ भयो । त्यो समय सम्झँदै पारिजातले भनेकी छन्, ‘व्यवहारवाद र उग्रवादबाट आउँदा म प्रगतिवादको हाराहारीमा बाटो बिराएको यात्रीजस्तो भइरहेकी थिएँ । ऐन–मौकामा कोही सहृदयी प्रगतिवादी मार्गदर्शीले यो बाटो हो भनी सही अध्ययनतर्फ सङ्केत गरिदिए । ...यसरी म प्रगतिवादतर्फ प्रतिबद्ध भएँ ।’ 
राल्फा जेनेरेसनको सहकर्मीका रूपमा उनले पार गरेको वैचारिक सङ्क्रमणले देखाउँछ, एउटा लेखक आफैंमाथि प्रयोग र परीक्षण गर्ने जोखिमबाट कसरी अवतरण गर्न सक्छ ! यही अवतरणको साक्ष्य हो— ‘बैंसको मान्छे’ उपन्यास (२०२९) । यसअघिको ‘महत्ताहीन’ राल्फा मेनिफेस्टोकै एक प्रयोग थियो । ‘आदिम देश’ का धेरैजसो कथा राल्फा चिन्तनकै वरिपरि रिँगेका छन् ।

यु टर्नपछि
तीसको दशक थालिँदा पारिजात प्रखर माक्र्सवादी भएर उभिइसकेकी थिइन् । अब उनी आन्दोलनमा थिइन्, ‘एक्टिभिजम्’ मा थिइन् । त्यो पनि नेतृत्वकै तहमा ! उमेरको फेरो घुमाएर हेर्ने हो भने पारिजातको जीवनका वैचारिक आयामलाई असामान्य र विस्मयकारी भन्नुपर्छ । चालीस वर्ष पुगुन्जेल उनको विचार गर्ने तरिका, व्यक्ति र समाजलाई विश्लेषण गर्ने शैलीमा आश्चर्यजनक परिवर्तन देखिएको पाइन्छ । पारिजातमा विकास भएको यो विलक्षणतालाई अवस्थाजन्य मान्ने कि प्रयत्नजन्य ? मचाहिँ दोस्रो मान्छु ।
संवत् २०३२ मा लेखिएको र २०३५ मा छापिएको ‘पर्खालभित्र पर्खालबाहिर’ लाई नेपाली आलोचनात्मक यथार्थवादी धारको उम्दा र रोज्जा उपन्यास मानिन्छ । २०२२ (‘शिरीषको फूल’ प्रकाशन) देखि २०३२ (‘पर्खालभित्र पर्खालबाहिर’ को लेखन) बीचका दस वर्षमा पारिजातको वैयक्तिक जीवनमा जेजस्ता ऊहापोह आए, ती कुनै पनि लेखन–जीवनबाट अलग थिएनन् । बरु लेखकीय जीवनका उतारचढावकै कारण निर्मित थिए । अस्थिर र उकुसमुकुसमय मानसका बीचमा पनि प्रतिबद्ध लेखनतर्फ उत्प्रेरित गर्ने चीज अरू केही थिएन, उनले प्राप्त गर्न थालेको राजनीतिक संसर्ग थियो, फेरिँदै गएको मित्रवृत्त र त्यहाँ उपलब्ध वैचारिक अन्तरक्रिया थियो । लेखनलाई ‘मिसन’ मा जोड्न थालेपछि राजनीतिक चरित्रका उपन्यासमा उनको मिहिनेत पूरै गोचर छ । यसलाई घुमाएर भन्नु जरुरी छैन, पारिजात तत्कालीन क्रियाशील कम्युनिस्ट पार्टीको सक्रिय सहकर्मी थिइन् । यसपछिको लेखनले उनको लेखकत्वको दोस्रो इनिङलाई प्रतिनिधित्व गर्छ । ‘पर्खालभित्र पर्खालबाहिर’ (२०३५) र ‘अनिँदो पहाडसँगै’ (२०३९) राजनीतिक साध्यलाई लक्षित गरेर लेखिएका उपन्यास नै हुन् । तत्कालीन पञ्चायती ब्यवस्थाले रचेको प्रपञ्च र दमनको माहोलमा जनपक्षीय प्रतिरोधको आवाज र भूमिगत वाम आन्दोलनलाई मूर्त र स्पृश्य देखाउन यी उपन्यास सफल भएका हुन् भन्नेमा फरक मत नहोला । पक्षधरताको लेखनलाई सामाजिक र राजनीतिक आयामसँग जोडेर पारिजातले यी उपन्यासमा गरेको प्रयास शैलीशिल्पका दृष्टिले त्यस्तो कमजोर लाग्दैन जति उनलाई वाममार्गी भएकामा रोष प्रकट गर्नेहरूले आरोप लगाउँछन् ।
परिजातले बहुत उम्दा र अनेकौँपल्ट दोहोर्‍याएर पढ्न मन लाग्ने कथाहरू लेखिन् । उनका कथाले व्यक्तिको अन्तर्लोक र विसङ्गत विचार हुँदै सामाजिक सरोकार र भुइँ तहका मानिसको संवेदनातर्फको यात्रा गरेका छन् । यस्तो प्रवृत्ति उनका कवितामा पनि भेटिन्छ । तीव्र भावनामय, रोमान्टिक र निस्सारदेखि इतिहासलाई कठघरामा राखेर प्रश्न सोधिएका खरा कवितासम्मको यात्रा ! 
संस्मरणको चर्चा नभई उनको लेखनवृत्त अधुरो हुन्छ । उनका बहुचर्चित तीन संस्मरण छन्, ‘धुपीसल्ला र लालीगुराँसको फेदमा’, ‘एउटा चित्रमय सुरुवात’ र ‘अध्ययन र सङ्घर्ष’ । यिनमा सलसल बगेको रेशमी हावाजस्तो, साँझको मधुरो घामको किरणजस्तो मादक भाषामा उनका बाल्य र तरुणजीवनका उल्लास र कोपका बयानहरू छन् । नेपालीमा यति मोहक र हृदयसंवेद्य संस्मरण दुर्लभ छन् ।
परिजातको छुटाउनै नसकिने महत्त्वपूर्ण पाटो हो— स्तम्भ लेखन । संवत् २०४४ देखि थालिएको महिलाप्रधान म्यागजिन ‘अस्मिता’ का सुरुका अङ्कहरूमा पारिजातले ‘मेरो भागमा परेको अस्मिता’ नामको स्तम्भ लगातार लेखिन् (मार्टिन चौतारी र नेपाली म्यागजिनका २५ वर्ष) । सुसन मास्के र अञ्जु क्षत्रीले थालेको ‘अस्मिता’ लाई व्यावसायिकसँगै प्रगतिशील विचारप्रवाहमूलक बनाउन पारिजातले विशेष भूमिका खेलिन् । महिलाको मुक्ति र स्वतन्त्रता आग्रह नै उनको स्तम्भलेखनको केन्द्र थियो ।
चालीसको दशकको मध्यसम्म आइपुग्दा पारिजात पार्टी राजनीतिबाट अलग तर लेखकीय राजनीतिप्रति सचेत लेखक भइन् । प्रत्यक्ष राजनीतिबाट टाढा रहे पनि वैचारिक प्रतिबद्धता र दायित्वको निर्वाहमा भने उनी कहिल्यै पन्छिइनन् । बरु झन् मुखर रूपले लागिन् । यही समयमा उनले आफैंबारे गम्भीर समीक्षासमेत गरेकी छन्, ‘कन्फेसन’ हरू गरेकी छन् । प्रगतिवादी साथीहरूका आलोचनाबाट आत्तिएर कुनै बेला ‘शिरीषको फूललाई जलाइदिनू’ भनेकोमा क्षोभ प्रकट गर्दै त्यो कृतिको पुनर्मूल्याङ्कन हुनुपर्ने आग्रह राख्नु महत्त्वपूर्ण स्वीकारोक्ति हो । कतिपय समालोचकले यसलाई पारिजातको आत्ममुग्धता र विचलन भनेर आरोपसमेत लगाएका छन् ।
जुन आन्दोलन र पक्षधरताका लागि उनले आफ्नो उत्पादक उमेर र ऊर्जा खर्च गरेर वैचारिक नेतृत्वसमेत गरिन्, त्यही आन्दोलनका जिम्मेवार मानिसहरूले जीवनका पछिल्ला दिनमा उनको खुब आलोचना गरे, उनका पछिल्ला रचना (‘परिभाषित आँखाहरू,’ ‘बोनी’ लगायत) प्रगतिवादी नभएको जिकिरसमेत गरे । फित्ता बोकेर वादको नाप निकाल्ने अमिनहरूले जे भनून्, सामाजिक र सांस्कृतिक आन्दोलनमा उनको हिस्सेदारी अटुट रह्यो । राजनीतिक आन्दोलनमा बौद्धिक हस्तक्षेप र खुला सहयोग गर्ने कुरामा पारिजातको नेतृत्व स्मरणीय छ । प्रजातन्त्र पुन:स्थापनाको आन्दोलन (२०४६) मा कवि लेखकको प्रतिनिधित्व गर्दै कालो पट्टी बाँधेर सत्तासँग जुध्नु, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको खरो विरोध गर्नु, विभिन्न सामाजिक आन्दोलन र अभियानमा खुलेर समर्थन गर्नुलगायतका कुरा सतहमै देखिए । यसले उनलाई बिस्तारै एक साझा लेखकको विम्बसमेत दियो ।
पारिजात लेखक र एक्टिभिस्ट मात्र होइन, एक चिन्तक पनि हुन् । दूरदर्शी र सामाजिक–राजनीतिक अन्तरविरोध चिन्ने स्रष्टा हन् । उनी कुनै एक समूहविशेषकी पेवा मात्र होइनन्, तर लेखक आहूतिले भनेजस्तै (‘मैले चिनेका नौ बहिनी पारिजात’) मृत्युपछि उनका विचारको स्याहार र अनुशीलन गर्ने विशेष जिम्मा भने विशेष समुदाय र संगठनमाथि बढी छ । तर उनीहरू पारिजातको, उनका विचारको सम्मान र जतन गर्न कति प्रतिबद्ध छन् ? त्यो शंकाको घेराबाहिर छैन । 

नारीमुक्ति आन्दोलन र नारीवाद
पारिजात मूल रूपले नारी मुक्ति आन्दोलनकी कर्ता हुन् । यो कुरा उनका केही उपन्यास, स्तम्भ, कविता र संस्मरणहरूमा ठाउँ–ठाउँमा भेटिन्छ । व्यवस्था परिवर्तनको आन्दोलनबिना महिलाका अधिकार सुनिश्चित हुन सक्दैनन् भन्नेमा उनी तीसकै दशकमा पूर्ण रूपले सचेत थिइन् । यो सचेतता माक्र्सवादको गहिरो बोधबाट नि:सृत थियो भन्नेमा दुईमत छैन । रोचक कुरा के छ भने, रूसी कम्युनिस्ट आन्दोलनका नायक लेनिनप्रति उनमा विशेष सम्मान र प्रेम थियो । मृत्यु हुनुभन्दा ठीक अगाडिसमेत उनले मेरो लासमा शिरमाथि लेनिनको तस्बिर राखिदिनू भनेकी थिइन् रे । यो कुरा उनीबारे संस्मरण लेख्नेहरूले भलिभाँती उल्लेख गरेका छन् । उनका लागि लेनिन एक व्यक्ति होइन, राजनीतिक र सांस्कृतिक आन्दोलनका विम्ब थिए, जसले घरभित्र र बाहिरका अतिरिक्त श्रमबाट मुक्त गरेर महिलाहरूको सिर्जनात्मक सहभागितासहितको समाजको पक्षपोषण गर्थे ।
पारिजातमा वामपन्थको जुन प्रभाव पर्‍यो त्यसले उनलाई प्राज्ञिक वा सिर्जनाको तहमा मात्र होइन संगठित आन्दोलनको ‘प्राक्टिकल’ बाटोमा समेत हिँड्न प्रेरित गर्‍यो । शरीर कुँजिने कठोर रोगबाट ग्रस्त भए पनि उनी साङ्गझैं देशका विभिन्न भागमा पुगिन् । त्यहाँका मानिसहरूसँग अन्तरक्रिया गरिन् । महिला संगठनको नेतृत्वकारी भूमिकामा रहँदा नेपाली समाजका वर्गीय र लैंगिक दुवै खाले समस्याको पहिचान गरिन् । महिलाका समस्या र पीडा अरूका भन्दा विशिष्ट प्रकारका हुन् भन्नेमा उनी प्रस्ट थिइन्, तर यो समाजका अरू आन्दोलनभन्दा भिन्दै लडिन्छ वा त्यसरी पार लाग्छ भन्नेमा उनको विश्वास थिएन । राजनीतिसँग समानान्तर महिला आन्दोलनका पक्षमा उभिँदा समाजको सिङ्गो उत्पीडित समुदायसँगसँगै समेटिएर आउँछ भन्ने उनको विचार निरन्तर प्रासंगिक छ । उत्पादक शक्ति र सम्बन्धसँग नगाँसिएको महिला आन्दोलनचाहिँ कर्ताहरूले एक्लाएक्लै आफ्नो करिअर बनाउने कुरामै सीमित हुन्छ र त्यो महिलाको अस्मिताको साझा क्यानभास बन्न सक्दैन भन्ने उनको आग्रह झनै सान्दर्भिक छ ।
अन्तर्राष्ट्रियस्तरमा उठेको महिला मुक्ति आन्दोलन, महिला दशक (१९७५–१९८५) र विश्वभरको समाजका प्रतिरोधी महिला संगठन, विभिन्न रूपले प्रसारित नारीवादका ध्वनिहरूबारे उनी कति ‘अपडेट’ थिइन्, ‘आधी आकाश’ का लेखहरू साक्षी छन् । यसै शृङ्खलामा उनले नेपालीमा अनुवाद (मुरारी अर्यालले) गराई प्रकाशन गरेको अमेरिकी समाजशास्त्री एवलिन रिडको कृति पनि पर्छ । नेपालीमा ‘जीव विज्ञान नारीवादको नियति होइन’ शीर्षक दिइएको यो संकलन अहिले बजारमा दुर्लभ छ । नारीवादलाई अन्योल र अन्तरविरोधको भुमरीमा बेवारिसे नछोडी यसको सही दिशाबोध गराउनु पारिजातको सफलता हो । चालीसको दशकमै उनले नेतृत्व दिएको नारीवादी आन्दोलन नारीमुक्ति आन्दोलनबाट भिन्न थिएन, सँगै थियो । 
महिलामाथि हुने घरेलु हिंसादेखि सामाजिक–सांस्कृतिक शोषणका सबै रूपविरुद्ध उनले गरेको पैरवीको सानो अंश पनि आज कुनै संगठित र पैसाको खोलो बगेका संस्थाले समेत गरेका छैनन् । तत्कालीन सामाजिक मनोविज्ञानदेखि गीतसङ्गीत र मिडियासम्मको दोहोलो काढेर महिलाको गरिमा र सार्वभौम अधिकारका पक्षमा बोल्ने पारिजातका विचार आज नारी मुक्ति र नारीवादी आन्दोलन बाटोमा हिँड्नेका लागि बलियो एक अभिभावक हुन् । यद्यपि, बहसमा थरी–थरीका नारीवादको चर्चा भए पनि नेपालको राजनीतिक र सांस्कृतिक विशिष्टतामा हाम्रै आवश्यकताको मुक्ति आन्दोलन र नारीवादी आन्दोलन गर्नुपर्ने पारिजातको आग्रह मननीय, अनुसरणीय छ ।

Esewa Pasal

प्रकाशित : आश्विन ७, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT