कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एकै नाममा देवकोटाका दुई कृति

इतिहास
लीला लुइटेल

नेपाली साहित्यका अनेक विधामा शीर्षकको पुनरावृत्ति प्रशस्त मात्रामा भएको देखिन्छ । यसरी कुनै पनि लेखकका कृतिको शीर्षक अर्काे लेखकका कृतिको शीर्षकसँग मिल्नु अधिकांश स्थितिमा संयोग मान्न सकिन्छ, तर एउटै लेखकले एउटै शीर्षकमा दुईवटा कृति लेखेको स्थिति विरलै पाइन्छ । कसै–कसैले एउटै शीर्षकका दुई बेग्लाबेग्लै कृति लेखेको पाए पनि त्यो क्रमिक लेखन अर्थात् सिक्वेलका रूपमा आएको पाइन्छ ।

एकै नाममा देवकोटाका दुई कृति

नेपाली कवितामा स्वच्छन्दतावादी धाराको संस्थापन र विकास गरी त्यसलाई उत्कर्षमा पुर्‍याउने सुप्रसिद्ध साहित्यकार लक्ष्मीप्रसाद देवकोटाले ‘वसन्ती’ शीर्षक दिई दुईवटा काव्य सिर्जना गरेका छन् । यीमध्ये पहिलो ‘वसन्ती’ २००९ सालमा पं. टीकादत्त धितालद्वारा बनारसबाट प्रकाशन भएको हो र यसलाई नेपाली झ्याउरे गीतिकाव्य भनिएको छ । दोस्रो ‘वसन्ती’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा २०३९ सालमा प्रकाशित ‘मैना’ शीर्षक कृतिमा समावेश गरिएको छ र यसलाई लघुकाव्य भनी उल्लेख गरिएको छ । एउटै शीर्षक भएको, एउटैजस्तो लाग्ने कथावस्तु र पात्रहरू पनि लगभग उही रहेका यी दुवै काव्यमा अनेक भिन्नताहरू पनि रहेका छन् ।
यीमध्ये पहिलोमा वनवीर र वसन्ती प्रेममा परेका बेला दोस्रो विश्वयुद्धमा जान तयार भएको वनवीरलाई नजान वसन्ती अनुरोध गर्छे । ऊ देशको नाम राख्नका लागि वसन्तीलाई सम्झाईबुझाई युद्धमा जान्छ । यता वसन्ती वनवीरको विरहमा रहेका बेला उसकी आमा जुईले कुसुमसँग वसन्तीलाई दरबार पठाउने इच्छा व्यक्त गर्छे । कुसुमले दरबारको महिमा वर्णन गर्दै वसन्तीका लागि राजकुमारसँग कुरा गर्छे र कुसुमका कुरा सुनेपछि राजकुमार स्वयं वसन्तीलाई हेर्न जाने कुरा बताउँछ । उता वनवीर बर्मामा जापानको विरुद्ध युद्धमा लडी वीरताको प्रदर्शन गर्छ र सुबेदारी पाउँछ । तर ओमवीर नामक कप्तानले आफ्नो बेइज्जत भएको ठानी वनवीरमाथि गोली प्रहार गर्छ । बर्मिनी बिहे गरेर बसेको म्याङदाजु नामक एउटा नेपाली गोठालोले घाइते वनवीरलाई भेटेर उद्धार गर्छ । भूतलाई वनवीरको बलि दिने बर्मिनीको इच्छा थाहा पाएपछि म्याङदाजुले वनवीरलाई भगाइदिन्छ र अनेक दु:खकष्टका साथ वनवीर घर आइपुग्छ ।


यता राजकुमार गोठालाको भेषमा वसन्तीलाई हेर्न आउँछ र वसन्तीसँग पानी खान माग्छ । वसन्तीको रूप–सौन्दर्यबाट मोहित भई त्यसै दिन राजकुमारले वसन्तीलाई दरबार लैजान्छ । तर वनवीरको प्रेमका कारण वसन्ती दरबारमा ओइलाएर मर्छे । तीन दिनपछि धामीको भेषमा वनवीरले दरबार प्रवेश गरी बर्मामा साधुबाट पाएको सञ्जीवनी खुवाएर वसन्तीलाई पुनर्जीवित गराउँछ । उनीहरूको प्रेमबाट प्रभावित भएका राजाले अनेक सम्पत्तिका साथ उनीहरूलाई बिदा गर्छ । दरबारमा नानी राखिने तत्कालीन प्रचलनको उल्लेखले यसमा युगीन चेतका प्रकटीकरण पनि भएको छ ।
दोस्रोमा वनवीर र वसन्ती प्रणयमा समर्पित भइरहेका बेला कुसुमले वसन्तीकी आमा मालतीलाई दरबारको महिमागान गर्दै वसन्तीलाई दरबार लैजान प्रस्ताव गर्छे । यही बेला गाउँकै धनी असर्फी थापाले वसन्तीसँग बिहे गर्ने प्रस्ताव राख्छ । यसमा वसन्तीका बाबुको समर्थन रहे पनि आमाको समर्थन रहेको छैन । यसले गर्दा असर्फी थापा रिसाएर आफ्ना आसेपासेलाई वसन्तीको अपहरण गर्न लगाउँछ र अपहरण गरेकी वसन्तीलाई बाटैमा उनीहरूको कब्जाबाट वनवीरले छुटाएपछि काव्यको अन्त्य भएको छ ।
मूल नारी सहभागीका नामबाट राखिएको काव्यको शीर्षक एउटै हुनु, मूल कथ्यका रूपमा स्वच्छ एवं आत्मिक प्रेम नै रहनु, वसन्ती, वनवीर, कुसुम, राजकुमारजस्ता सहभागीहरूको नाम एउटै हुनु, दुवै काव्यको परिवेश काठमाडौँवरिपरिकै रानीवन रहनु, स्वच्छन्दतावादी प्रकृति चित्रणको बाहुल्य हुनु, अन्त्यमा आत्मिक प्रेमको विजय देखाइनु, झ्याउरे लयमा संयोजन गरिनुजस्ता अनेक सन्दर्भ यी काव्यमा रहेका समानता हुन् ।
काव्यको संरचना, श्लोक सङ्ख्या, कथावस्तुको विस्तार आदि यी दुई काव्यमा पाइने असमानता हुन् । यसअनुरूप गीतिकाव्य नाम दिइएको पहिलो काव्यमा भूमिकाका रूपमा १२ श्लोक रहेको छ । यसमा ‘प्रस्तावना’ शीर्षकमा ‘नेपाली भाइ ∕ नेपाली बहिनी ∕’ भनी कथाको वनमा डुलाउने इच्छा व्यक्त गरिएको छ । दोस्रो काव्यको भूमिकाका रूपमा २४ हरफको कविता रहेको छ । यसमा सम्बोधन शीर्षकमा ‘हे मेरा भाइ ! हे मेरी बहिनी !’ भनी पाठकलाई सम्बोधन गर्दै एउटा कथा सुन्न अनुरोध गरिएको छ । नेपाली
झ्याउरे गीतिकाव्य भनिएको पहिलो काव्य वसन्ती (२००९) चौध भागमा संरचित छ भने लघु काव्य भनिएको दोस्रो काव्य वसन्ती (२०३९) को विभाजन छ भागमा गरिएको छ ।
पहिलो काव्यमा द्वितीय विश्वयुद्धका बेला नेपाली योद्धाले जापानीका विरुद्ध बर्मामा लडेको युद्धको वर्णनका साथै देशभक्तिका भावहरू अभिव्यञ्जित छन् । यस दृष्टिबाट हेर्दा यस काव्यले देवकोटाकै ‘कुञ्जिनी’ लाई सम्झाएको छ । यसमा नेपाली जनजीवनलगायत बर्मेली जनजीवनको उल्लेख पनि पाइन्छ भने दोस्रो काव्य मुख्य पात्रको प्रणयप्रेम, खलनायकका नकारात्मक क्रियाकलाप एवं बहादुर एवं मायालु प्रेमीको बहादुरीकै सेरोफेरोमा कथावस्तु घुमेको छ । यी दुवै काव्यमा मूल सहभागीका रूपमा वसन्ती र वनवीर रहेका छन् । पहिलो काव्यमा वसन्तीकी आमा जुईले दरबारका बारेमा उत्सुकता देखाएपछि कुसुमले दरबारको वर्णन गरेकी छ भने दोस्रो काव्यमा कुसुमले सोझै वसन्तीलाई दरबार लैजान प्रस्ताव गरेपछि मात्र वसन्तीकी आमा मालतीले कुसुमलाई दरबार बसेको समय कति भयो भनेर सोधपुछ गर्दै वसन्तीलाई दरबार पठाउने चाहना व्यक्त गरेकी छ ।
दुवै काव्यका मूल सहभागी वसन्ती सुन्दर प्राकृतिक बाला हुन् । यसबाट नारीहरू सुन्दर, कोमल हुन्छन् भन्ने दृष्टिकोण देवकोटाको रहेको देखिन्छ । प्राकृतिक सभ्यता र सौन्दर्यमा रमाउने अनुकूल सहभागी वसन्तीको नायकप्रतिको प्रेम शारीरिक एवं वासनामय नभएर प्राकृतिक एवं आत्मिक खालको छ । दुवै काव्यका पुरुष सहभागी वनवीर मायालु प्रकृति प्रेमी एवं सौन्दर्यको पुजारीका रूपमा रहेका छन् । यसरी यी दुवै काव्यमा मूल सहभागीको नाम र चारित्रिक अभिलक्षण उस्तै–उस्तै रहेको देखिन्छ । पहिलो काव्यमा वसन्तीका बाबुको उपस्थिति देखिँदैन अनि आमाको नाम जुई रहेको छ भने दोस्रो काव्यमा उसका बाबुको नाम खड्गवीर र आमाको नाम मालती रहेको छ । राजकुमार नामक सहभागी पहिलो काव्यमा मञ्च पात्रका रूपमा देखापरेको छ भने दोस्रो काव्यमा नेपथ्य पात्रका रूपमा उल्लेख गरिएको छ । यसैगरी पहिलो काव्यमा म्याङ, बर्मिनी, कर्णेल, कप्तान, सिपाहीहरू, डाक्टर, वैद्य, झाँक्रीहरू, साधु, चोर, कोर्काली, पर्वतवीर, जापानीजस्ता सहभागीको उपस्थिति पाइन्छ भने दोस्रो काव्यमा असर्फी थापा र उसका आसेपासेहरूको उपस्थिति पाइन्छ । पहिलो काव्यमा खलपात्रका रूपमा वनवीरले पदवी पाएको ईष्र्या गर्ने ओमवीर नामक कप्तान तथा भूतलाई वनवीरको बलि चढाउन खोज्ने बर्मिनी रहेका छन् भने दोस्रोमा इच्छाविरुद्ध वसन्तीलाई जबर्जस्ती उठाउने असर्फी थापा नामक गाउँकै ठालु रहेको छ ।
मुख्य पात्र वनवीर र वसन्तीबाहेक यी काव्यमा वसन्तीकी आमाको नाम जुई र मालती भनी बेग्लाबेग्लै भए पनि तिनको चरित्रमा सामञ्जस्य रहेको छ । मातृस्नेहले परिपूर्ण यी दुवै आमाले छोरी वसन्तीलाई दरबार पठाउने चाहना राख्नु तत्कालीन परिस्थितिअनुरूप स्वाभाविक नै देखिन्छ । यी दुवै काव्यमा कुसुम नाम गरेकी सहभागीलाई दरबारसँग सम्बन्ध भएकी नारीका रूपमा चित्रण गरिएको छ । राम्रा–राम्रा केटीलाई फकाएर दरबारमा पुर्‍याउनु उसको पेसा रहेको छ ।
कथावस्तुको विस्तार, सहभागीको सहभागिता, परिवेश चित्रणमा व्यापकता, युगचेत, देशभक्तिको प्रस्तुति आदि दृष्टिबाट हेर्दा २०३९ सालमा प्रकाशित दोस्रो ‘वसन्ती’ २००९ सालमा प्रकाशित पहिलो ‘वसन्ती’को पूर्वरूप भएको अनुमान गर्न सकिन्छ । वनारस प्रवासताका देवकोटाले कविताको श्लोक सङ्ख्याका आधारमा कविता बेचेर गुजारा चलाउँथे भन्ने कुरा सुनिएकै हो । यसैले बिक्रीकै लागि उनले ‘वसन्ती’ तयार पारेको र यसलाई प्रकाशकले चित्त नबुझाएको हुँदा देवकोटाले यसलाई बेवास्ता गरी कथावस्तु एवं पात्रको विस्तार गर्दै कथालाई देशबाहिरसमेत घुमाएर अर्काे ‘वसन्ती’ तयार पारेर पुन: प्रकाशकलाई दिएको र प्रकाशकले छापेको अनुमान गर्नु अन्योक्ति हुँदैन ।
मूल कथ्य, प्रमुख सहभागीको चित्रण, वीरताको गाथा वर्णन, आत्मीय प्रेमको प्रस्तुति, प्रकृतिसँग तादात्म्य, इन्द्रियसंवेद्य प्रकृति चित्रणजस्ता स्वच्छन्दतावादी चेत यी दुवै काव्यका साझा विशेषता भए पनि यिनमा अनेक विषमता पनि रहेको पाइन्छ । यस्ता साझा विशेषतायुक्त भए पनि यी काव्यमा कविताका पङ्क्तिमा भने पुनरुक्ति पाइँदैन । यो नै देवकोटाको विराट कवित्व शक्तिको द्योतक हो अनि आफूले लेखेको रचना परिष्कार गर्नेतर्फ नलागी विराट कवित्वको उडान गर्न रमाउने देवकोटाको काव्य वैशिष्ट्यको सशक्त उदाहरण हो ।

प्रकाशित : आश्विन २८, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?