अफ्रिकी पुनर्जागरणको बेर्ना

अनुभूति
युग पाठक

प्रशान्त महासागरलाई छोयो–छोयोझैं गर्दै विमान डकार विमानस्थलमा ओर्लियो । अफ्रिका महादेशमै पहिलोचोटि पाइला टेक्न लागेको, पाइला नै मानौं भिन्नै छापमा टेकिने हो कि जस्तो लाग्ने । आखिर जमिन त जमिन नै हो, मान्छेले रचेको इतिहास र जीवनको नि:श्वास न हो भिन्न हुने ।

 अफ्रिकी पुनर्जागरणको बेर्ना

सेनेगलको नाममा हामीले त्यतिबेला खुब हाईहाई गरेका थियौं जब उसले सन् २००२ को विश्वकप फुटबल क्वार्टर फाइनलमा फ्रान्सलाई हराएको थियो । लामो समय आफैंमाथि शासन गर्ने साम्राज्यवादी मुलुक फ्रान्सलाई हराएको सेनेगल हामी अर्को महादेशको एउटा शक्तिहीन मुलुकवासीका निम्ति बडो प्रिय नाम थियो ।

अचानक सेनेगलको राजधानी डकार पुग्दा एकप्रकारको आश्चर्यजस्तो महसुस भैरहेको थियो । न कुनै रहस्य, न कुनै चमत्कार, तैपनि यसैउसै आश्चर्य लाग्नुचाहिँ आश्चर्यकै भिन्न रूप हो क्या हो ? यो प्रश्न मैले सहयात्री पत्रकार नरेश ज्ञवालीलाई सोधेँ । मेरो प्रश्नको जवाफमा भने यिनी फगत मुस्कुराए । ३२ घण्टाको एकोहोरो यात्रापछि डकार पुगियो । हामीलाई स्वागत गर्न डकारका युवा कवि आमादु लामिन बा खडा थिए । 

स्मारक पहेली
२१ मे को दिन, डकारको मौसम सफा र नरम थियो । प्रशान्त महासागरमा ओर्लन ओर्लन लागेको साँझको दोछायामा हामी अफ्रिकी पुनर्जागरण स्मारक हुँदै गुज्रियौं । यो स्मारकका बारेमा नेपाल छँदै गुगलसँग सोधखोज गरेको थिएँ । समग्र अफ्रिकाकै पुनर्जागरणलाई विम्बित गर्ने यो स्मारक सन् २०१० मा उद्घाटन भएको थियो । भोलिपल्टदेखि होटल र कार्यक्रमस्थल जाने–आउने क्रममा हामीले यो स्मारकका विभिन्न रूप देखिरह्यौं । बिहानको कलिलो घाममा टल्किँदा यसको एउटा रूप देखिन्थ्यो भने दिउँसो अर्कै, अनि साँझ फर्कंदा झन् अर्कै रूप देखिन्थ्यो । प्रशान्त महासागरको छेवैमा, त्यहाँको एक अग्लो पहाडमा टक्क ठडिएको विशाल मूर्ति छ । मूर्तिमा एक अफ्रिकी परिवारको चलायमानजस्तो अनुभूत हुने दृश्य छ । बीचमा पुरुष काया, उसको दायाँपट्टि नारी काया र बायाँ काँधमा औंलाले सुदूर देखाइरहेको बच्चा ।
साँझ डिनर सकेर फर्कंदा यो मूर्तिको झलकले सधैं मलाई लोभ्याउँथ्यो । अन्धकारको पृष्ठभूमिमा यो मूर्ति तुफानमा तैरिँदै उडिरहेको उज्यालोको छायाछविजस्तो लाग्थ्यो । अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको वार्षिक बैठक चलिरहेको थियो डकारमा । सेनेगलकै अब्दुल्लाई यो संगठनका अध्यक्ष छन् । उद्घाटन, कविगोष्ठीदेखि केही ऐतिहासिक स्थलहरूको अवलोकन गर्नेसम्मका कार्यक्रम थिए । कार्यतालिकाको अन्तिम दिन हाम्रा आँखाले सबैभन्दा धेरै पर्खिरहेका थिए उही स्मारकलाई । पुगेपछि थाहा भयो, यो विशाल मूर्तिभित्र त सिंगै संग्रहालय नै रहेछ । एउटा लिफ्ट पुरुष आकृतिको भित्रभित्रै ११ तलामाथि पुग्दोरहेछ । त्यो आकृतिको टाउकोमा रहेको सिसाको झ्यालबाट डकार सहरको दृश्य एक पहेलीजस्तो लाग्ने ।
पहेली त यो विशालकाय मूर्ति स्वयम् पनि थियो । युगान्डाकी लेखक हिल्डा तोइन्गेरीले मूर्तितिर इंगित गर्दै मलाई भनिन्— युग, यो मूर्ति पनि त पुरुष हैकमकै एक प्रतीक हो नि, होइन र ? यो प्रश्न हाम्रो युगकै एक अहम् प्रश्न हो, मान्नैपर्छ । अनि फेरि, इतिहासमा अफ्रिकाले भोगेको उपनिवेशवादको पीडा अझै अहम् छँदै छ । त्यस अर्थमा अफ्रिकाले यो स्मारकमार्फत भनिरहेछ— हामी पुनर्जागरणको चरणमा छौं, अफ्रिकी महानता स्थापित गरिछाड्नेछौं ।
जुन कुनै पहेलीले भन्छ— मलाई सुल्झाउ ! अफ्रिकी पुनर्जागरण स्मारकको पहेली सुल्झाउने क्रममा हाम्रो यात्राकै पहेली सुल्झाउनु जरुरी छ । के हामी अफ्रिका फगत घुम्न आएका थियौं ? अथवा केवल अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको बैठक एवं सेमिनारमा उपस्थिति जनाउन आएका थियौं ? दक्षिण एसियाकै एउटा गरिब मुलुकबाट हाम्रो प्रतिनिधित्वको अर्थ के हो ?

हैकमहरूको राग
लामो समय फ्रान्सको उपनिवेश रहेको सेनेगलको कामकाजको भाषा फ्रेन्च हो । हामी अंग्रेजीले काम चलाउन खोज्नेलाई यहाँ केही अप्ठ्यारो अवश्य छ । तर एक चीज साझा छ— फ्रेन्च होस् वा अंग्रेजी दुवै भाषा साम्राज्यवादी हैकमले हाम्रा मनमस्तिष्कमा छाडेर गएको छाप हो । कवि लामिन बाले आफ्ना कविता बुझाउने खुब प्रयत्न गरेकै हुन्, तर उनको कविता बुझ्न हामी सक्दैनौं । अंग्रेजी र फ्रेन्च मात्र होइन अरबी, पस्तो, उर्दु, नेपाली आदि भाषामा लेख्नेहरू हामी एकै थलोमा भेला भएका छौं । सबैले नजर–नजरमै बुझ्ने साझा कुरा पनि छ । शक्तिशाली देशहरूको दबदबाबीच आफ्नै अस्तित्वको खोज गर्न हामी साझा मञ्चमा भेला भएका छौं ।
यो अस्तित्वको खोज के हो ? संसारका सीमान्तकृत देशका हामी लेखकका निम्ति यो खोज एउटा यस्तो भाषाको खोज हो जसले संसारसँग संवाद गर्नेछ । हाम्रा कथाहरू, हाम्रो काव्यचेत पनि संसारको एक भिन्नै मानक बन्न सक्छ कि सक्दैन ? के शक्तिशाली देशका अनुभव र अनुभूति मात्र मानक चेतनाका अभिव्यक्ति हुन् ? हामी यहाँ भिन्नै एक साझा चौतारी बनाउन खोज्दै छौं जहाँ सिमान्तका जीवन जाज्वल्यमान हुनेछन् । आम नेपाली जनताले निर्माण गरेको इतिहास पनि संसारको मानक इतिहास बन्न सक्छ । नेपाली जीवनको संघर्षगाथा पनि महागाथा हुन सक्छ । अफगानिस्तानको एक कुनामा रचिएको गीत पनि मानक धुन बन्न सक्छ । सेनेगलका समुद्री किनारमा गुनगुनाइएको कविता पनि मानक कविता बनेर स्टेजहरूमा गुन्जन सक्छ ।
नाइजेरियाका लेखक चिनुवा अचिबीले भनेझैं अंग्रेजी वा फ्रेन्चजस्ता साम्राज्यवादीहरूका भाषालाई अब हामी हाम्रै मानक कथा सुनाउन प्रयोग गर्नेछौं । हाम्रा जीवनमा रोमाञ्चकता, दलन वा चमत्कारहरू हामी आपसमा बाँड्ने एउटा फोरम बनाउँदै छौं । जब हामीहरू आफैंले हाम्रा विविध धुनहरू सुन्न र त्यसमा रमाउन सिक्नेछौं, सीमान्तको हाम्रो शक्तिले एक नयाँ मूलधार बनाउनेछ । त्यसका निम्ति आफ्नै देशभित्रका विविध कथा, अनुभूति र धुनहरू टिप्न अनि सजाउन सिकेका छौं त ? मेरो यो प्रश्न प्रशान्त महासागरमा हानिएको एक ढुंगा मानौं ।
यस्ता प्रश्न सुन्नु मात्रै पर्छ नरेशका आँखामा चार सय भोल्टको चमक आउन थाल्छ । दिक्दारलाग्दो यात्राका क्रममा विमानभित्रै ऊ पटक–पटक भनिरहेथ्यो, ‘दाइ, नेपाली समाजमा भैरहेको नयाँ प्रयोगको कुरा सेनेगलमा गर्नैपर्छ ।’ जब हिल्डाले साहित्यमा गढेर रहेको पुरुष हैकमको बारेमा प्रश्न उठाइन्, सेनेगलका नारी लेखकहरूका आँखा पनि चम्कन थाले । उनले ‘माचो लिटरेचर’ अर्थात् पुरुष हैकमले डामेको साहित्यको कुरा उठाएकी थिइन् ।
अफ्रिकी पुनर्जागरण स्मारक देखेपछि हिल्डाको मनमा फेरि पनि त्यही प्रश्न उब्जियो । कुरो सही हो । स्मारकको मूर्तिमा पुरुष आकृति सबैभन्दा ठूलो मात्र छैन, नारी आकृतिलाई कम्मरमा च्यापिरहेको र बच्चालाई काँधमा बोकिरहेको छ । यानी कि पुरुषको ‘पुरुषार्थ’ त्यहाँ झल्किन्छ । तथ्य के भने पुरुषार्थ कहिल्यै ‘स्त्रीआर्थ’ हुन सकेन । यो इतिहासको कुरा मात्र होइन, वर्तमानको राग पनि हो । हुन त ‘माचो स्ट्याचु’ भनेर त्यतिबेलै मूर्तिको आलोचना सेनेगलमै व्यापक रूपमा भएको थियो जब यो निर्माण हुँदै थियो । आलोचकले अफ्रिकी तानाशाहहरूको छायाछविका रूपमा यो मूर्तिको डिजाइन गरिएको आरोप पनि लगाएका थिए । 

आँखामा केन सारो–विवा
मोबाइलको स्क्रिनमा कवि विनोदविक्रम केसीको फोटो प्रदर्शन गर्दै मैले उनको कविता ‘आई एम हियर टू क्वेस्चन ह्वाई’ सुनाएँ । गोष्ठीमा खुब ताली बज्यो । ताली बजाउनेमा सेनेगलका संस्कृतिमन्त्री पनि थिए । अनि सेल्फी खिचाउन चाहने प्रशंसकहरूले मलाई घेरे । धेरै कविता फ्रेन्चमा वाचन गरिएका थिए । हाम्रा महासचिव मोहमद साल्मावी फ्रेन्च, अरबी र अंग्रेजी तीनवटै भाषामा पकड राख्छन् । औपचारिक कार्यक्रममा उनले भाषाहरूको पुलको काम गरेका थिए, यहाँ उल्था कसले गरिदिने ! 
कविताले वाहवाही पायो, अर्को कविताको पालो आयो । तर मेरो मनमा अझै विनोदविक्रमकै प्रश्न ‘किन’ छ ? आइफोन किन्न युवाहरू किड्नी बेचिरहेका छन् भने आइफोनलाई मानवअधिकारविरोधी अपराधमा मुद्दा किन लाग्दैन ? फोब्र्सको खर्बपति–लिस्टमा जो चढ्छ त्यो करोडौं गरिब र कुपोषित बच्चाहरूका दारुण आँखालाई सिँढीमा बिछ्याएर चढिरहेको छैन ? अनि अर्को प्रश्न थपियो । ओगनिल्यान्डको वातावरण नष्ट गर्ने बहुराष्ट्रिय कम्पनीहरूको अपराधविरुद्ध आवाज उठाउने केन सारो–विवालाई किन फाँसी दिइयो ?
घरबाट हिँड्नुभन्दा अघिदेखि नै नरेश केन सारो–विवाको कुरा गरिरहेको थियो । खोजबिन गर्दा थाहा भयो, यी नाइजेरियाका लेखक रहेछन् । टेलिभिजन कार्यक्रम निर्माता र वातावरण अभियन्ता पनि । बहुराष्ट्रिय पेट्रोलियम कम्पनीहरूले पेट्रोलियमको फोहोर जथाभावी डम्पिङ गर्दा उनको गृहनगर ओगनिल्यान्डमा बडो खराब असर परेको थियो । त्यसैले उनले ती बहुराष्ट्रिय कम्पनी र तिनलाई जथाभावी गर्ने छुट दिने सरकारका विरुद्ध ओगनीका जनताको अस्तित्व रक्षाका निम्ति आन्दोलन नै निर्माण गरे । उनले नाटक लेखे, टीभी सिरियल बनाए, अरू किताब लेखे । ओगनिल्यान्ड बचाउ आन्दोलनलाई बौद्धिक र सामाजिक आन्दोलनको विषय बनाए । अन्तत: सन् १९९५ मा उनलाई नाइजेरियाको सैनिक शासनले फाँसी दियो ।
नरेश धुइँधुइँती खोजिरहेछ । कोही त भेटियोस् जो केन सारो–विवालाई नजिकबाट चिन्दथ्यो वा उसको आन्दोलनमा सहकार्य गरेको होस् । केन सारो–विवाको बारेमा अन्तर्वार्ता गर्ने उत्साहमा ऊ लोटपोट छ । नभन्दै सेनेगली लेखक संघका अध्यक्ष ‘केन सारो–विवाको जीवन रक्षा अभियान’ का सशक्त अभियन्ता रहेछन् । उनी फ्रेन्च बोल्छन्, त्यसैले म नरेशलाई सघाउन नसक्ने भएँ । औपचारिक कार्यक्रममा हाम्रो कानमा जडित माइक्रोफोनमा बोल्ने एक युवक थिए । फ्रेन्चलाई अंग्रेजी र अंग्रेजीलाई फ्रेन्चमा तुरुन्तै उल्था गर्ने यी युवकले मेरो भाषणलाई पनि उल्था गरेका थिए । अनि नेपालले पस्किएको कुराको खुराकले जिब्रो चट्काउँदै हामीसँग बात मार्न आएका थिए । हामीले उनकै सहयोग लिने भयौं । तर नरेशको लाख कोसिसका बाबजुद अन्तर्वार्ताका निम्ति अध्यक्षको समय मिलाउन सकिएन । सामूहिक फोटो खिचाएर चित्त बुझाउनुपर्‍यो ।

आँपको बेर्ना
फ्रेन्च भाषाको जतिसुकै दबदबा किन नहोस्, सेनेगलका मातृभाषी चुपचाप चित्त बुझाएका छैनन् । फ्रेन्चमै चलिरहेको भव्य उद्घाटन सत्रमा कवि एवम् गायिका फताउ एली फेईले ओलफ भाषामा गीत गाएर भिन्नै माहोल बनाइदिइन् । अस्तित्वको यस्तो दाबी हामीले नेपालमै देखे–भोगेको कुरा थियो । हलमा पनि गडगडाहट ताली बज्यो जब फेईले ओलफ भाषा बिर्सन नसकिने गरी रगतमा बसेको बुलन्द घोषणा गरिन् ।
यो अफ्रिकी पुनर्जागरणकै घोषणा थियो । उपनिवेशवादको अन्त्यसँगै धमाधम स्वतन्त्र भएका अफ्रिकी देशहरूमा अनेकौं वज्रपात परेको इतिहास हामीलाई थाहा छ । कैयौं सैनिक तानाशाह जन्मिए, जातीय सफाया (इथ्निक क्लिन्जिङ) का कैयौं घटना भए । लाखौं मारिए, लाखौं शरणार्थी भए । आज रोहिंग्या मुसलमानहरूले म्यानमारमा यस्तै दुर्दशा भोगिरहेछन् र कुनै बेलाकी क्रान्तिकारी नेता आङ सान सुकी यसमा मुछिएकी छन् । यही बेला अफ्रिका भने पुनर्जागरणको दाबी पेस गरिरहेछ ।
अफ्रिकी देशहरू धमाधम आर्थिक वृद्धिको रेकर्ड हिसाब गर्न लागेका छन् । हामी मुम्बईदेखि इथियोपियन एयरलाइनमा अदिस अबाबा हुँदै डकार आएका थियौं, त्यही बाटो फर्कंदै छौं । विमानमा चिनियाँहरूको भीडभाड छ । अदिस अबाबा विमानस्थलमा पनि हरेकजसो स्टलमा चिनियाँ अक्षरहरू टल्किरहेछन् । इथियोपियाको आर्थिक वृद्धिदर करिब १४ प्रतिशत छ । यो वृद्धिदरमा चिनियाँ लगानीको पाइन लागेको छ । अफ्रिकामा चिनियाँ लगानी व्यापक भैरहेको दृश्य जताततै देखिन्छ । अहिले अफ्रिका भन्दै छ— हामीलाई ‘एड’ चाहिँदैन, ‘बिजनेस’ देऊ ।
डकारबाट फर्कंदै गर्दा झल्याँस्स याद आयो— हत्तेरीका ! अफ्रिकी आँपको बेर्ना त ल्याउनै बिर्सेछ । लन्चमा हामीले बडाबडा आँप र लसुन देखेका थियौं । त्यसमा थप बाउबाउ जुस । आँपको स्वाद त हाम्रोतिर पाइनेजस्तै छ, तर तिख्खर । हामीले कुरा गर्‍यौं— लैजाऊँ भो यो बडाबडा आँपको बेर्ना । आखिर अफ्रिकाको ऊर्जालाई एसियाको भूमिमा रोप्नु पनि त आफैंमा दुई महादेशबीचको जोर्नी रच्नु नै त हो । हुन त समग्र अफ्रिका पुनर्जागरणको तहमा पुगेको छैन । तैपनि बच्चाको औंलामार्फत न्युयोर्कतिर हेरिरहेको डकारको पुनर्जागरण स्मारकले एउटा अहम् सवाल हामीलाई पनि दिएको छ । के हामी नेपालमा पुनर्जागरण वा नवजागरणको बहस गर्न तयार छौं ?
आँपको बेर्ना र शब्दहरूको बेर्ना उस्तै–उस्तै त हो । यसो भनेर चित्त बुझाउन सकिन्छ । आँपको बेर्ना उतै छुटयो, पछि ल्याउन पनि सकिन्छ । इतिहासमा शब्द र स्वर थप्ने जिम्मेवारीचाहिँ बिर्सन मिल्दैन । इतिहास जनताले नै निर्माण गर्छन्, तर त्यसलाई पुनर्निर्माण नगर्ने हो भने इतिहासको भेलमै त्यो हराउँछ । हामीले अफ्रिकी पुनर्जागरणको बेर्ना बोकेर ल्याएका छौं । अञ्जुलीभरि उत्साह र धेरै महत्त्वाकांक्षा पनि । काठमाडौं विमानस्थलमा ओर्लन अब पैताला नयाँ हुनुपर्‍यो कि परेन त ?
[email protected]

प्रकाशित : आश्विन २८, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?