१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देखेको मुलुक

यात्रा
धेरैपटक स्रोत व्यक्तिका रूपमा र कतिपय अवस्थामा आफैंले तोकेको ठाउँ पहाड–मधेसका जिल्ला पुगेको छु । यसपटक जुम्ला, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धनकुटा र नुवाकोट पुग्ने मौका मिल्यो । यी भ्रमणबाट धेरै जाने नजानेका कुरा थाहा पाइयो ।
लोकराज बराल

काठमाडौं — धेरैको विदेश भ्रमण गर्ने (समुद्रपार) इच्छा हुन्छ । मलाई पनि युरोप, अमेरिका, जापान आदि देश नपुगुुन्जेल अनेक कल्पना र भावना आउनु स्वाभाविकै थियो । पहिलो भ्रमण भारतपछि जर्मनी र बेलायत सन् १९६९ मा भयो र आधुनिक कहलिएका देशको आधुनिकीकरण र विकासको मेसो पाइयो ।

 देखेको मुलुक

अमेरिका पुग्न भने सन् १९८२ सम्म कुर्नुपर्‍यो किनभने अमेरिकी सरकारको कतिपय निम्तो त्यस बेलाको शाही सरकारले स्वीकृत नगरेकाले समय लागेको थियो । मलाई जनमतसंग्रहको घोषणाले अमेरिका जाने बाटो खुलायो । त्यसपछि एकपछि अर्को गर्दै विदेश जाने वातावरण बन्दै गयो । 

तर यतिखेरको सन्दर्भ भने देश भ्रमणको हो । सरकारी कर्मचारी या पहिले त्रिभुवन विश्वविद्यालयले चलाएको राष्ट्रिय विकास सेवामा संलग्न व्यक्तिले नेपालका केही भाग पुग्दा रहेछन् । अरू कोही आफैं उत्साहित भई नेपालका विभिन्न क्षेत्रमा पुगेको वर्णन गर्छन् । तर मैले आफ्नै सुरमा यसरी देश भ्रमण गरेको छैन । धेरैपटक स्रोत व्यक्तिका रूपमा र कतिपय अवस्थामा आफैंले तोकेको ठाउँ पहाड–मधेसका जिल्ला पुगेको छु । यसपटक जुम्ला, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धनकुटा र नुवाकोट पुग्ने मौका मिल्यो । यी भ्रमणबाट धेरै जाने नजानेका कुरा थाहा पाइयो । जुम्लामा बाटो पुगेकाले स्थानीय जनताले पहिले जसरी नुन बोक्न नेपालगन्ज पुग्नु नपर्ने भएकाले र हिँडडुल गर्न पनि सजिलो भएकाले धेरै राहत मिलेको रहेछ । गाउँघरमा भने अझै सामाजिक चेतना नआई जात र वर्ग विभेद कायम रहेछ । दलितको अवस्था अझै परिवर्तन भएको छैन र छुवाछुतको चलन कायम छ । सार्वजनिक कार्यक्रमका सहभागीहरूबीच पनि खाना खाँदा अझै सहवास नगर्ने चलन यथावत् छ । तर बिस्तारै सामाजिक चेतना बढाउन राजनीतिक दलका नेता र कार्यकर्ताले पहल गर्दा पूर्वका जिल्लामा देखिएको चेतना अरू ठाउँमा पनि पुग्न सक्ने अवस्था छ । नेपालको समाज परिवर्तन अरू देशका दाँजोमा धेरै अघि छ र सरकारी र गैरसरकारी प्रयास भए यस्तो विषमताको चाँडै अत्य हुनेछ । शिक्षामा सबैको पहुँच र गुणात्मक शिक्षा दिन सके नेपालको विकास हुने बाटो अझ सहज हुनेछ । 
जुम्लाबाट गाडीमा मुगुको रारा ताल र अन्य रमणीय स्थानमा पुग्न सकिने र धेरै पर्यटक यो बाटोको प्रयोग गर्दा रहेछन् । जडीबुटी, फलफूल र अन्य नगदेबालीको सम्भावना यथेष्ठ भएकाले भोलि यस क्षेत्रले अरूसित आश्रित हुनु नपर्ने सम्भावना धेरै रहेछन् । जुम्लाको भ्रमणका सन्दर्भमा एउटा अति खट्किएको कुरा भने सम्बन्धित निकायको ध्यान भने कहिल्यै नपुग्दो रहेछ । त्यो हो नेपालगन्ज र जुम्लाको हवाइजहाजको टिकट र सञ्चालनको अराजक अवस्था । कुनै समय यकीन छैन र व्यवस्थापन पनि अराजक छ । दिनभरि कुर्दा कहिले जहाज जाने र कहिले नजाने हुँदो रहेछ । यसका कारण दुवै छन् । एक, सरकार या व्यवस्थापन भन्ने नै छैन । दोस्रो कारण हुम्ला गई मानसरोवरतिर लाग्ने भारतीय यात्रीको भीड र हवाई कम्पनीलाई ती यात्रीको चाप कम गर्ने समस्या । तर यस्तो यात्रुको चाप केही महिनाका लागि मात्र हुुन्छ किनभने जाडो याममा यात्रु जान सक्ने अवस्था रहँदैन । मैले यस्तो अवस्था केही वर्षपहिले पनि देखेको र भोगेको थिएँ । तर अराजक अवस्थाका साथै यतिका यात्रुले नेपालको पर्यटनलाई टेवा दिएकाले खुसी पनि लागेको छ । 
नेपालको व्यवस्थापनमा किन यस्तो लापरबाही हुन्छ ? राजनीति फितलो हुँदा सम्बन्धित निकाय पनि गैरउत्तरदायी र अराजक हुन्छन् । काठमाडौंको एयरपोर्टको अवस्था त्यस्तै छ । एकैपटक तीन–चार हवाइजहाज उत्रिए भने सामान लिने ठाउँ अराजक हुँदो रहेछ । त्यसमा पनि केही वर्षअघि मात्र सञ्चालनमा आएको देशीय एयरपोर्टको सामान लिने ठाउँको अवस्था देख्दा लाग्छ हवाई अड्डाको टर्मिनल बनाउँदा पाँच वर्षसम्मको सोच पनि रहेनछ । निर्बलले त आफ्ना सामान उठाउन एक घण्टाभन्दा बढी लाग्ने रहेछ । सामानको बेल्टसम्म बनाइदिएको भए कति फरक पर्ने थियो । मारामार गर्दै आफ्ना सामान खोज्ने अवस्था आउने थिएन । विदेशी यात्रु त यो अवस्था देखेर छक्क पर्ने नै भए । के यसले पर्यटन विकासका लागि वातावरण बनाउन सक्छ ?
यसपल्टको ओखलढुंगा र सिन्धुलीको भ्रमण शिक्षाप्रद रह्यो । ओखलढुंगाको खास पर्यटकीय आकर्षण गर्ने वातावरण रहेनछ । त्यहाँ कवि सिद्धिचरणको प्रतिमा र ठूलो ढुंगाको ओखलजस्तो रहेछ । सायद यही ओखलबाट ओखलढुंगा भएको हुनुपर्छ । अर्को हेर्ने भनेको रमणीय रुम्जाटार रहेछ जहाँ पक्की एयरपोर्ट रहेछ तर सर्वसाधारण जनताका लागि हवाई सेवा बन्द रहेछ । यसको एक प्रमुख कारण यात्रुको कमीले हो । यो ठाउँ अति रमणीय भएकाले मानिस जान रुचाउने रहेछन् । तर अति अप्ठयारो बाटामा पनि बस सेवा रहेछ र मानिस जोखिम उठाई यहाँ आउने–जाने गर्दा रहेछन् । ओखलढुंगा, सोलु जाने बाटो पर्ने भएकाले धेरै ट्रक र बस चल्दारहेछन् । खुर्कोट–घुर्मी सडक सुनकोसीको किनारैकिनार बनाइएकाले यहाँका बेसी अति राम्रा र मलिला रहेछन् । मैले विद्यालय स्तरमा भूगोल कसरी सिक्ने (हाउ टु लर्न जोग्राफी) भन्ने निबन्ध पढेकाले हिँड्दा देशको विविधता र प्राकृतिक बनावट आदिप्रति अति चाख राख्दै सिक्ने अवसर पाउँछु । मलाई खोला–नाला कहाँ कसरी मिल्छन् र कहाँंबाट कुन दिशा लाग्छन् भन्ने चाख लाग्छ । घुर्मीसम्ममा तामाकोसी, लिखु सुनकोसीमा मिल्दा रहेछन् र सुनकोसी पूर्वतिर हानिदो रहेछ । यस्तो अन्तिम मिलनविन्दु बाराहक्षेत्रमाथि अरुणसित मिल्ने र सप्तकोसी भई दक्षिण लाग्ने हो ।
नेपालको विकास र चेतना आदिको झलक त्यहाँका युवायुवतीको रहनसहन र बोलीचाली आदिबाट पाइने रहेछ । उनीहरू फरासिला र हँसिला छन् । ओखलढुंगा पहाडी जिल्ला भए पनि चेतनाको विकास भएको पाइन्छ । घुर्मी पहाड र मधेस जोड्ने केन्द्र पनि रहेछ किनभने यहींबाट उदयपुरको कटारी हुँदै पूर्व पश्चिम राजमार्ग जोडिने रहेछ । यसका अतिरिक्त खोटाङको हलेसी जाने बाटो पनि पर्ने भएकाले भोलिका दिनमा घुर्मीको महत्त्व झन् बढ्ने सम्भावना रहेछ ।
धनकुटाको विकास उल्लेख गर्ने खालको छ । गाउँ–गाउँ बाटा पुगेका र जनताको आर्थिक अवस्था बढाउन सकिने अनेक सम्भावना छन् । तरकारी, फलफूल, दूध र कृषिका अनेक सम्भावना भएकाले जनताले गरी खाएका छन् । पाख्रिवास कृषिका लागि महत्त्वपूर्ण स्थान मानिए पनि सम्पूर्ण जिल्लामा यसको कति प्रभाव परेको छ त्यसको अध्ययन भए नभएको यकीन गर्न नसकिएकाले यहाँ उल्लेख गर्न उचित हुँदैन । पर्यटनका सम्भावना पनि निकै रहेछ । भेडेटार अब आकर्षण केन्द्र भएकै छ । ८० प्रतिशत राई जातिको बाहुल्य भएको यो र संखुवासभा जिल्लाले प्रशस्त विकासका सम्भावना बोकेका रहेछन् । अरुण परियोजना सफल भए यी र अन्य जिल्लाको विकास गति अझ तीव्र होला । अब आउने राजनीति कस्तो होला त्यसले धेरै निर्धारण गर्नेछ । अति दलीयकरणले मुलुक ग्रस्त छ र राजनीति झन् पेचिलो हुन थालेकाले देश विकासका धेरै पक्षमा यसको असर पर्छ । 
सिन्धुली ऐतिहासिक रूपमा पनि उल्लेख गर्ने जिल्ला हो । यो नेपालको राजधानीको एक किल्ला हो जहाँबाट नेपालीले अंग्रेजको राज्यविस्तार गर्ने अभियान असफल पारेका थिए । सिन्धुलीगढी विशेषगरी यसैले महत्त्वका साथ हेरिन्छ । आज सिन्धुली यातायातको केन्द्र भएको र काठमाडौंलाई देशका पूर्वी र दक्षिण भाग जोड्ने ठाउंँ हो । तर जापानी सहयोगमा बनेको भकुन्डेबेसीदेखि धुलिखेलसम्मको बाटो हेर्न नहुने गरी बिग्रिएको छ । नेपालमा एकपल्ट बनेपछि मर्मत गरिने चलन छैन । यो पनि राजनीतिक र प्रशासकीय नेतृत्वको लापरबाहीले हो । उत्तरदायित्वको भावना नहुनाले संस्थागत रूपमा कुनै काम हुन सक्दैनन् । राजधानीकै जीवनरेखाका रूपमा मानिएको कलंंकी नागढुंगा र अन्य सडक कुन अवस्थामा छन् कसैको चासो छैन । जन दबाबको कमीले पनि यस्तो अवस्थाको अन्त्य देखिंदैन । 
नेपालका अरू जिल्लामा पुग्दा पनि धेरै परिवर्तन भएको आभास पाइन्छ । यस्तो परिवर्तनको लहर पूर्वपश्चिम र पहाड र मधेस सबैतिर छरिएको छ । तर संस्थाहरू धराशायी हुँदा भएका उपलब्धि जोगाउन कठिन भएको छ । स्थानीय निकायको गठनले धेरैको आसा जागेको तर केही महिनाभित्रै यस्ता आशा निराशामा बदलिन थालेको पाइन्छ । ठूला नारा र वाचाले मात्र देश नबन्ने तथ्य सबैका अगाडि छर्लंग भएको छ । समय परिस्थितिसितै समस्या पनि जटिल हुँदै जाने भएकाले राजनीति स्थिर, दरिलो र भरपर्दो हुन सक्दा मात्र देशको विकास सम्भव भएकाले राजनीति अब कसरी बढ्छ, त्यसमा धेरै कुरा भर पर्छ । 

प्रकाशित : कार्तिक ११, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?