स्मृति–ग्रहण

कुमारजी उवाच
कुमार नगरकोटी

काठमाडौं — नमस्ते तथा शुभ सन्ध्या ।
न्युजरुमको सिलिङमा जडित मोन्स्टर क्लकमा अहिले पाँच बजेर पाँच मिनेट गएको छ । यो सन्ध्याकालीन न्युज बुलेटिन प्रसारण गर्नका निम्ति म तपाईंसमक्ष प्रस्तुत भइसकेकी छु । तपाईंको रेडियोले यदि भर्खर मात्र हाम्रो सिग्नल टिपेको छ भने तपाईं सही मेघाहर्जसित कनेक्ट हुनुभएको छ ।

स्मृति–ग्रहण

नमस्ते तथा शुभ सन्ध्या ।

न्युजरुमको सिलिङमा जडित मोन्स्टर क्लकमा अहिले पाँच बजेर पाँच मिनेट गएको छ । यो सन्ध्याकालीन न्युज बुलेटिन प्रसारण गर्नका निम्ति म तपाईंसमक्ष प्रस्तुत भइसकेकी छु । तपाईंको रेडियोले यदि भर्खर मात्र हाम्रो सिग्नल टिपेको छ भने तपाईं सही मेघाहर्जसित कनेक्ट हुनुभएको छ ।
प्रस्तुत छ आज सहरमा देखा परेको अनौठो घटनाको विस्तृत रिपोर्ट ।
अपराह्नको बाह्रदेखि एक बजेको समयावधिमा केही सेलेक्टेड मानिसहरूको जीवनबाट एक घण्टाको आयु गायब भएको अनौठो जानकारी हामीलाई प्राप्त भएको छ । ताजा जानकारीअनुसार अमूल्य एक घण्टाको आयु गुमाउनेहरूमा अधिकांश मिथुन राशि भएका महिला भएको कुरा घटनाका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
बाह्रदेखि एक बजेको अवधिमा मिथुन राशि भएका महिलाहरू सहरभरि विचित्र मनोदशामा फेला पारिएका थिए । एकोहोरो टोलाउने, वाकशून्य तथा आफ्नो भौतिक उपस्थितिबारे पूर्ण रूपले अनभिज्ञ हुने विचित्रको लक्षण ती सम्पूर्ण महिलाहरूमा पाइएको थियो ।
‘वुमेन्स वेलफेर सोसाइटी’ को फेसबुक वालमा पोस्ट गरिएको पछिल्लो अपडेटअनुसार ती मिथुन महिलाका नाडीघडी र सेलफोनमा एक घण्टा स्थगित भएको थियो । हामीले सम्पर्क गरेका कुनै पनि महिलाले गुमेको एक घण्टाबारे कुनै पनि तथ्यपरक जानकारी उपलब्ध गराउन असमर्थ रहे ।
हाम्रा संवाददाताले ती महिलाहरूसित गरेका भलाकुसारी अनुसार ती कसैलाई पनि एक घण्टाबारे केही सम्झना नरहेको खुलासा भएको छ । त्यो विलुप्त समयावधि स्मृतिको इनबक्सभित्र स्टोर नै नभएको अपूर्व घटनाले पीडित महिलाहरू स्वयम् आश्चर्यचकित तथा नि:शब्दप्राय: बनेका छन् ।
खगोलशास्त्री आचार्यश्री निर्वाणानन्द राजोपाध्यायसित भएको संक्षिप्त टेलिफोन वार्तामा उहाँले यो अनौठो प्रकोप स्मृति ग्रहणका कारण भएको रोचक जानकारी चुहाउनुभयो । स्मृति ग्रहणबारे उहाँले व्यक्त गरेको सूचना यस्तो थियो– नक्षत्र चक्रको निहारिका दोखले स्मृति ग्रहण लाग्ने गर्छ । कालगणनाको कुण्डलिनी प्रभाव मिथुन राशि आत्मसात गर्ने महिलामा पर्न गएको योग देखिन्छ । आश्चर्यजनक संयोग त के छ भने रजस्वलाको मासिक चक्रमा आबद्ध मिथुन राशिका स्वामिनीहरूमा मात्र स्मृति ग्रहणको प्रकोप परेको छ ।
यस विषयमा थप जानकारी दिन परामनोचिकित्सक सुस्केरा चेमजोङ टेलिफोन सम्पर्कमा आइसक्नुभएको छ । उहाँसित अवश्य पनि कुराकानी गर्ने नै छौं । तर समय भएको छ छोटो विज्ञापन विश्रामको । विज्ञापनपश्चात् हामी तपाईंसित पुन: जोडिइनेछौं । कृपया हामीसितै रहनुहोला ।
विज्ञापन
१)
भैलिनी आई आँगन
स्यानिटरी न्याप्किन माँगन
हे औंसी बारो गाईतिहार भैलो

आयो !
आयो !!
आयो !!!

स्वदेशमै आधुनिक प्रविधिद्वारा निर्मित ‘भैलिनी’ स्यानिटरी न्याप्किन आयो । ‘भैलिनी’ लगाउनुस् र भैली खेल्नुस् । स्फूर्ति र ताजगीको अर्को नाम–भैलिनी । तपाईंको एक मात्र चाहना –भैलिनी ।
बजारमा सर्वत्र उपलब्ध छ ।
के गृहिणी के दिदी के बहिनी सबैको रोजाइ भैलिनी ।
२)
–करिश्माज्यू ! तपाईंको सदावहार सौन्दर्यको राज के हो ?
–लालिगुराँस ।
–तपाईंको फ्रेसनेसको रहस्य के हो ?
–लालिगुराँस
–तपाईंको जवानीको सेक्रेट के हो ?
–लालिगुराँस

पतञ्जली टोबाको इन्डस्ट्रिज प्रस्तुत गर्दछ हरेक महिलाहरूको निम्ति गुलाबजल, केशरी र बदामयुक्त सौन्दर्य साबुन– लालिगुराँस । मनको राग र तनको दाग पखाल्ने एक मात्र साबुन –लालिगुराँस ।
स्मुथ छ । बिझाउँदै बिझाउँदैन । सौन्दर्य र ताजगीको एक मात्र विश्वास– लालिगुराँस ।
३)
मेनका : ओहो बैनी ! स्वर्गबाट धर्तीमा किन झर्‍यौ ?

उर्वशी : ल ! तिमीलाई थाहा छैन ? न्युरोड, पाकोमा भर्खरै मात्र प्याराडाइज कस्मेटिक हाउस खुलेको छ नि त ! हामीजस्ता अप्सराहरूलाई चाहिने सम्पूर्ण कस्मेटिकका सामानहरू त्यहाँ उपलब्ध छन् । फेसियल, थ्रेडिङ, बडी मसाज सबैको व्यवस्था छ । स्वर्गबाट झरेर म त्यतै जान लागेकी– साउना बाथ लिन ।
मेनका र उर्वशी टुगेदर : के तपाईं पनि हामी अप्सराझैं सुन्दर बन्न चाहनुहुन्छ ? के तपाईं पनि आफ्नो सौन्दर्यमा निखार ल्याउन चाहनुहुन्छ ? त्यसो भए पाल्नुस् प्याराडाइज कस्मेटिक हाउस । भर्जिनहरूलाई विशेष छुट । ढिलो गरे बूढी भइन्छ चाँडो गरे अप्सरा हुन पाइन्छ ।

न्युज बुलेटिनमा तपाईंलाई पुन: स्वागत छ । तपाईंको रेडियोले हाम्रो सिग्नल टिपिरहेको त छ नि ! सुस्केरा चेमजोङ टेलिफोनमार्फत हामीसित सम्पर्कमा हुनुहुन्छ । आउनुस् उहाँसित अपराह्नको उदेकलाग्दो घटनाको बान्कीबारे छोटो कुराकानी गरौं ।
स्टुडियो : चेमजोङजी ! तपाईंलाई स्वागत छ ।
सुस्केरा : धन्यवाद ।
स्टुडियो : आराम हुनुहुन्छ ?
सुस्केरा : आराम छैन । एक साताअघि मिसक्यारिज भएको थियो । मानसिक र शारीरिक रूपमा थकान महसुस गरिरहेकी छु ।
स्टुडियो : यो मिसक्यारिज तपाईंको प्रथम अनुभव हो ?
सुस्केरा : होइन । यो तेस्रोपटक हो ।
स्टुडियो : तपाईंको मानसिकता तथा शारीरिक क्षतिप्रति म दु:खी छु । अब हामी आजको मूल विषयतिर आकर्षित होऔं कि !
सुस्केरा : हुन्छ ।
स्टुडियो : आज दिउँसो घटेको अप्रत्याशित घटनालाई खगोलशास्त्री आचार्यश्री निर्वाणानन्द राजोपाध्यायले स्मृति ग्रहणको संज्ञा दिनुभयो । यो ग्रहणको प्रभाव मूलत: रजस्वलारत् मिथुन राशिका स्वामिनीहरूमा परेको कुरा उहाँले बताउनुभयो । एउटा परामनोचिकित्सकका नाताले यो घटना विशेषलाई तपाईंले कसरी अध्ययन गरिरहनुभएको छ ?
सुस्केरा : घटना निकै ताजा भएकाले आजै नै यसको अनुसन्धानात्मक निचोड निकाल्नु हतार हुनेछ । तर केही पेसेन्टहरूको केस स्टडी गर्दा मैले आश्चर्यजनक कुरा फेला पारेँ ।
स्टुडियो : कस्तो आश्चर्यजनक कुरा ? विस्तारमा बताइदिनुहुन्छ कि !
सुस्केरा : जस्तो कि ती पेसेन्टहरू जब एक घण्टाको निम्ति मूच्र्छा परे तब तिनको स्थूल शरीर त वर्तमानमा थियो तर चैतन्य शरीर अर्थात् सूक्ष्म शरीर त्यहाँ उपस्थित थिएन । त्यो सूक्ष्म शरीर अर्कै टाइम एन्ड स्पेसमा यात्रा गरिरहेको थियो । हामी यसलाई टेलिपोर्टेसन भन्छौं । ती मिथुन महिला अर्कै दिक कालमा टेलिपोर्ट भएका थिए । जब पेसेन्ट टेलिपोर्टेसनमा कनेक्ट हुन्छ त्यस बेला उसलाई आफ्नो भौतिक अवस्थितिबारे केही पनि थाहा/हेक्का रहँदैन ।
यो एक प्रकारको भर्चुअल मृत्यु हो । आज सहरमा पाइएका ति सम्पूर्ण रजस्वलारत् मिथुन महिलाहरू मृत थिए । तर यो मृत्यु केवल एक घण्टाको निम्ति मात्र थियो । तपाईंलाई के पनि बताइदिऊँ भनेँ भर्चुअल डेथको निश्चित टाइम फ्रेम हुन्छ । टेलिपोर्टेसनको निश्चित साइकिडेलिक जर्नीपश्चात् पेसेन्ट पुन: आफ्नो स्थूल शरीरसित कनेक्ट भइहाल्छ ।
स्टुडियो : यस्तो घटना अरू कतै पनि यस अघि घटेको कुनै उदाहरण छ ?
सुस्केरा : अवश्य छ । निकारागुआको एउटा आदिवासी गाउँमा पनि केही वर्षअघि यस्तै घटना घटेको थियो । स्मृति ग्रहणको समयसीमाचाहिँ जम्मा तीस
मिनेट देखिएको थियो । बिहान सातदेखि साढे सात बजेसम्म । सम्पूर्ण गाउँलेहरूको भर्चुअल मृत्यु भएको थियो र टेलिपोर्टेसनमार्फत् ती आदिवासीहरू ग्वाटेमालाको एउटा सिगार फ्याक्ट्रीमा फेला पारिएका थिए । यो इन्सिडेन्ट ग्वाटेमाला सिन्ड्रोमको नामले चर्चित छ ।
भर्चुअल मृत्यु, टेलिपोर्टेसन तथा ग्वाटेमाला सिन्ड्रोमबारे परामनोचिकित्सक सुस्केरा चेमजोङ हामीलाई केही बताउँदै हुनुहुन्थ्यो । अकस्मात उहाँसितको टेलिफोन सम्पर्क विच्छेद भएकोमा हामी खेद प्रकट गर्दछौं ।
तपाईं सुन्दै हुनुहुन्छ सन्ध्याकालीन न्युज बुलेटिन ।
तपाईंको रेडियोमा भर्खरै मात्र हाम्रो सिग्नल कनेक्ट भएको छ भने तपाईंलाई स्वागत छ । म हुँ स्मृति । यो न्युज बुलेटिनको अतिथि होस्ट । आजको अदभुत दिवा घटनाबारे सूचना चुहाइरहेकी छु । त्यस्तो घटना जसले सहरमा बबन्डर मच्चाएको छ ।
त्यस्तो घटना जसको म स्वयम् भिक्टिम हुँ ।
यो प्रसारणको म अतिथि खबरवाचिका भएको जानकारी मैले तपाईंसमक्ष दिइसकेकी छु । वास्तवमा म एक स्क्रिप्टराइटर हुँ । फिल्मको स्क्रिनप्ले लेख्छु । एउटा अनटाइटल्ड फिल्मको छायाङ्कनमा आज मलाई अकस्मात बोलाइयो । अन्तिम समयमा आएर फिल्मकी अभिनेत्रीलाई आफूले बोल्ने संवाद मन परेन छ । निर्देशकले अभिनेत्रीको निम्ति अर्को फेयरवेल डाइलग लेखिदिन आग्रह गरे ।
डिभोर्स दिने पतिको घर छाड्दा नायिकाले बोल्ने सिचुवेसनल संवाद लेखेँ– म संग्रहालयको त्यो एन्टिक पिस हुँ जसको महत्त्व तिमीलाई म गएपछि हुनेछ ।
उक्त संवाद अभिनेत्रीलाई मन पर्‍यो र उसले त्यही बोल्ने भई । त्यस पछि म सुटिङ स्थलबाट निस्केँ । म उदास भएकी थिएँ । डाइलगमा परेको संग्रहालय शब्दले मलाई व्यथित तुल्याएको थियो । झोँछेको डेजाभु क्याफेभित्र छिरेँ जसको म प्राचीन ग्राहक हुँ ।
एउटा शान्त क्याबिनमा चुपचाप बसेँ । र, कफी पिउँदै ग्रहणलाई सम्झेँ ।
म नोस्टाल्जिक हुँदै गएँ । मलाई युगौंपश्चात् ग्रहणको अनायास याद आइरहेको थियो । कुनै समय हामी प्रेमी थियौं । हाम्रो प्रेम संग्रहालयबाट सुरु भएको थियो र अन्त्य पनि संग्रहालयमै । हामीलाई लाग्थ्यो हाम्रो प्रेम अमर हुनेछ । तर जिन्दगीको भागदौडले मलाई कहाँ–कहाँ पुर्‍यायो ! ऊ भने संग्रहालयमै छुट्यो ।
ऊ एकलकाँटे स्वभावको एकान्तप्रिय प्रेमी थियो ।
उसको अनुहार सदा गम्भीर हुन्थ्यो । ग्रहण लागेजस्तो । त्यसैले मैले उसको नाम राखिदिएकी थिएँ– ग्रहण । मलाई ऊ सधैं स्मृतिमा सजाएर राख्छु भन्थ्यो । एक दिन भन्यो— आजदेखि तिमी स्मृति भयौ । तिम्रो नाम मैले स्मृति राखिदिएँ ।
त्यसरी हाम्रो प्रेमको व्याप्टिजम भएको थियो— स्मृति ग्रहण ।
लैला–मजनुजस्तो । मुना–मदनजस्तो । हीर–राँझाजस्तो । स्मृति ग्रहण ।
मैले आफ्नो पुरानो नाम बिर्सेँ । उसले आफ्नो पुरानो नाम बिर्सियो । हाम्रो प्रेमिल नाम रहन गयो स्मृति ग्रहण । तर अस्तित्वले हाम्रो निम्ति बेग्लाबेग्लै नियतिको रचना गरिदियो । कालान्तरमा म केवल स्मृति मात्र बनेँ उसको सुनसान जीवनमा । धेरै वर्षपछि जब आज फिल्मकी नायिकाको निम्ति त्यो एक टुक्रा फेयरवेल डाइलग लेखेँ, मलाई संग्रहालयमा छुटेको त्यो अतीतको खुब याद आयो ।
मलाई ग्रहणको याद आयो । संग्रहालयबाट एक दिन ऊ मलाई आफ्नो घर लिएर जान चाहन्थ्यो । तर त्यो साइत कहिल्यै आएन । मैले अर्कै घर रोजेँ । त्यसलाई छाडेँ । त्यसपछि अर्कै घर रोजेँ । त्यसलाई पनि छाडेँ । म सायद घरमा बस्न लायककी प्रेमिका नै होइन ।
दिउँसो डेजाभु क्याफेको क्याबिनमा एक्लै कफी पिउँदै गर्दा मलाई लाग्यो त्यो कफी मैले ग्रहणको घरमा ऊसितै मौन बसी पिउँदो हुँ त कस्तो हुँदो हो !
त्यो एक स्वर्णिम कल्पना थियो । त्यसपछि त म ब्ल्याङ्क भइगएँ ।
एक घण्टासम्म चेतनाशून्य भएछु । होसमा आउँदा वेट्रेसले भनी— तपाईं ढुंगाको मूर्तिझैं जड्, निर्जीव हुनुहुन्थ्यो ।
त्यसरी विस्मृतिको अन्धकार सुरुङमा फसेको म मात्र एक्ली महिला होइन रहेछु । अरू पनि थुप्रै रहेछन् । थाहा पाउँदा उदेक लाग्यो । त्यस्ता अनेक युवतीहरूबारे सुनेँ जो अकस्मात लल्याकलुलुक भई ढलेका थिए पार्कमा, फुटपाथमा, मन्दिरमा, लिफ्टमा, स्कालेटरमा, सपिङ मलमा अनि कुन्नि कहाँ कहाँ !
अब पालो भएको छ एउटा अन्तिम कल लिने । कोही टेलिफोन सम्पर्कमा आइसक्नुभएको छ । मैले फोन रिसिभ गरेँ, है त !
–हेलो ! कहाँबाट को बोल्दै हुनुहुन्छ ?
–हेलो ! हेलो !
–आई रिपिट । हेलो ! कहाँबाट को बोल्दै हुनुहुन्छ ?
–संग्रहालयबाट । ग्रहण । बोल्दै । छु ।
–हेलो ? तपाईंको आवाज म केही पनि सुन्न सकिरहेकी छैन । तपाईंको बोली पज्मा आइरहेको छ । केही नबुझिने । कृपया स्पष्टसित आफ्नो कुरा राख्नुस् ।
–संग्रहालयबाट । ग्रहण । बोल्दै । छु । तिमी । दिउँसो । घर । आएकी । थियौ । हामीले । साथसाथ । कफी । खायौं । चुप । चाप । तिमी । एक । घण्टा । बस्यौ । तिमी । जाँदा मैले भनेँ । म । संग्रहालयको । त्यो । एन्टिक । पिस । हँु । जसको । महत्त्व । तिमीलाई । वर्षौंपश्चात् । हुनेछ । तिमी उदास थियौ । म उजाड थिएँ । स्मृति म तिम्रो ग्रहण बोल्दै छु । संग्रहालयबाट ।
कोही टेलिफोन सम्पर्कमा आउनुभएको थियो । उहाँ हामीलाई केही बताउन खोजिरहनुभएको थियो । तर दुर्भाग्यवश उहाँको अस्पष्ट बोलीका कारण छेउटुप्पा केही बुझ्न सकिएन । उहाँसितको कुराकानीलाई बीचैमा काट्नुपरेकोमा खेद छ । सायद हाम्रो निर्धारित समय अब समाप्त भएको छ ।
यतिन्जेल तपाईंको रेडियोले हाम्रो सिग्नल टिपेकोमा तपाईंलाई बधाई तथा धन्यवाद दिँदै यो स्मृति अब बिदा चाहन्छे । अर्को न्युज बुलेटिनको निम्ति हाम्रो सिग्नलको प्रतीक्षा गर्नुहोला ।
नमस्ते तथा शुभ सन्ध्या ।

प्रकाशित : कार्तिक ११, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?