१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संवाददातासँग आक्रोशित एउटी वेश्या

कविता
सङ्गीत श्रोता

काठमाडौं — मैले होइन
तिमीहरुले गरिरहेका छौ
घिनलाग्दो वेश्यावृत्ति
असत्तीहरूरु... !

मैले होइन

तिमीहरुले गरिरहेका छौ
घिनलाग्दो वेश्यावृत्ति
असत्तीहरूरु... !

मैले त आफ्ना लागि
केवल आफ्नै दुई छाकका लागि
प्रयोग गरेकी थिएँ एउटा हतियार
तिमीले जस्तो
साहुहरुको नाफाका लागि
आफ्नो बुद्धि लिलाम गर्दै हिंडेकी थिइनँ ।

मैले त आफ्ना केटाकेटीका लागि
केवल आफ्नै केटाकेटीको
नानाचाचा र औषधिमुलोका लागि
प्रयोग गरेकी थिएँ आफ्नो देह
(यो व्यवस्थाले मलाई
यही त दिएको छ एक मात्र विकल्प)

तर, तिमीले जस्तो
सत्ताधारी हत्याराहरुलाई
सूचना बेच्दै हिंडेकी थिइनँ
र क्यामेरा बोकेर गल्लीगल्लीमा
गरिखाने मान्छेको सुराक गर्दै पनि हिंडेकी थिइनँ ।

कुर्चीमा बसेर डकारिरहेका
सुकिला अनुहारका अपराधीहरुलाई
मेरो ठेगाना बुझाएर,
सरकारी कागजको कारोबार गर्ने
झेली तस्करहरुलाई
मेरो अनुहार बुझाएर,
जब तिमीले मलाई
यो जाली व्यवस्थाको पन्जामा पार्‍यौ
तिमीले गर्‍यौ भाइ, तिमीले
मलाई बलात्कार
तिमीले लुट्यौ
जबर्जस्ती मेरो इज्जत ।

यो देशमा
छ एउटा सर्वोच्च नामधारी अदालत
जसले बेचिरहेछ व्यापारीहरुलाई
न्यायका पुलिन्दै–पुलिन्दा,
छ एउटा लोकतान्त्रिक सरकार
जसले बेचिरहेछ ठेकेदारहरुलाई
जनताका मुटु–कलेजा,
छ एउटा जननिर्वाचित व्यवस्थापिका
जसले बेचिरहेछ विदेशी कम्पनीलाई
आफ्नै जोरआँखा

र, तिमीहरु छौ
तिमी संवाददाताहरू
जसले निर्लज्ज बेचिरहेका छौ
हत्याराहरुलाई विवेक
दिनभरि–भरि
निर्दोष लासमाथि मोलमोलाई गरिरहेका छौ
र रातभरि–भरि
हत्यारासँगै रात्रिभोजमा डिस्को नाचिरहेका छौ ।

(पर्ख,
एक दिन लाग्नेछ
तिमीलाई यी चेलीबेटीको आँसुको श्राप
एक दिन पक्कै लिनेछ युगले तिमीसँग बदला)

मैले होइन
यो देशमा
तिमीहरुले गरिरहेका छौ
घिनलाग्दो वेश्यावृत्ति
असत्तीहरु... !

प्रकाशित : कार्तिक ११, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?