नोबेल पुरस्कार र माध्यम भाषा

टिप्पणी
अभय श्रेष्ठ

काठमाडौं — अंग्रेजीको फाइदासन् २०१६ को नोबेल साहित्य पुरस्कार जापानी मूलका बेलायती उपन्यासकार काजुओ इसिगुरोले पाए । यो पुरस्कार पाउनुअघि नै इसिगुरो संसारभरि यसकारण चिनिएका र पढिएका थिए कि उनी अंग्रेजी भाषामा लेख्थे ।

अंग्रेजीको फाइदा
सन् २०१६ को नोबेल साहित्य पुरस्कार जापानी मूलका बेलायती उपन्यासकार काजुओ इसिगुरोले पाए । यो पुरस्कार पाउनुअघि नै इसिगुरो संसारभरि यसकारण चिनिएका र पढिएका थिए कि उनी अंग्रेजी भाषामा लेख्थे । अंग्रेजीमै लेखेका कारण उनको उपन्यास ‘द रिमेन्स अफ द डे’ सन् १९८९ को म्यान बुकर पुरस्कारका लागि सहभागी हुन पायो र पुरस्कृत पनि भयो । पछि यही उपन्यासमाथि जेम्स आइभोरीले सन् १९९४ मा एन्थोनी हप्किन्स र एम्मा थम्पसनलाई लिएर सोही शीर्षकमा चर्चित सिनेमा बनाए । त्यसको पटकथा स्वयं इसिगुरोले लेखेका थिए । त्यस वर्षको ओस्कार पुरस्कारका लागि आठ विधामा मनोनीत भए पनि सिनेमाले कुनै पुरस्कार पाएन । तर, सिनेमा संसारभरि नै असाध्यै चर्चित र प्रशंसित भयो । त्यसले इसिगुरोको परिचय संसारभरका कला, साहित्यप्रेमीसम्म फैलियो ।
यसअघि नै चारपल्ट उनी म्यान बुकर पुरस्कारका लागि मनोनीत भइसकेका थिए । सन् २००५ मा विभिन्न पुरस्कारका लागि मनोनीत विज्ञान उपन्यास ‘नेभर लेट मी गो’ लाई टाइम म्यागाजिनले सोही वर्षको सर्वश्रेष्ठ उपन्यास घोषित गर्‍यो । टाइमले नै सन् १९२३ देखि २००५ सम्म प्रकाशित सर्वश्रेष्ठ १०० उपन्यासमा पनि यस कृतिलाई सूचीकृत गर्‍यो । इसिगुरो यसरी नोबेल पुरस्कार पाउनुअघि नै संसारभरि चिनिइसकेका थिए । यसमा सबैभन्दा बढी योगदान उनले लेख्ने भाषा अंग्रेजीको छ ।

मातृभाषामा साहित्य
मातृभाषा जापानीमा लेखेका भए यही स्तरमा इसिगुरो चर्चित हुन्थे होलान् ? पक्कै हुने थिएनन् । त्यसको प्रत्यक्ष जवाफ गैरअंग्रेजी भाषी नोबेल विजेताहरूलाई हेरे पाउन सकिन्छ । सन् २००४ मा नोबेल पुरस्कार पाउने अस्ट्रियाकी एल्फ्रिड जेलिनेकलाई नोबेल कमिटीले ‘उपन्यास र नाटकमा आवाज र प्रतिआवाजहरूको सांगीतिक प्रवाह’ का लागि पुरस्कृत गरेको थियो । नोबेल घोषणाअघि विश्वका अधिकांश साहित्यप्रेमीलाई थाहा थिएन, जेलिनेक को हुन् । कारण प्रस्ट छ— अस्ट्रियाकी यी प्रख्यात उपन्यासकार जर्मन भाषामा लेख्छिन् ।
यही कुरा इटालीका डोरियो फो, पोर्चुगलका जोसे सारामागो, जर्मनीकी हेर्टा मुलर, स्विडेनका टमस ट्रान्सट्रोयमर, हंगेरीका इम्रे कार्टेजमा लागू हुन्छ जो नोबेल विजेता मातृभाषी लेखक हुन् । उनीहरूलाई चिनाउन कृतिभन्दा बढी नोबेल पुरस्कार सहायक सिद्ध भयो । जेलिनेक, फो वा सारामागाले आफ्नै भाषामा लेखेर पनि अन्तर्राष्ट्रिय प्रसिद्धि नपाएका होइनन् । ‘पियानो टिचर’ को प्रकाशनपछि जेलिनेक लोकप्रिय उपन्यासकारका रूपमा चिनिएकी थिइन् । सारामागोको उपन्यास ‘द गोस्पेल एकोर्डिङ टु जेसस क्राइस्ट’ र फोका नाटकहरूले पनि विश्वका सुधी पाठकबीच हंगामा मच्चाएका थिए । तर, त्यसका लागि पनि उनीहरूले अंग्रेजी अनुवादकै बैसाखी टेक्नुपरेको थियो ।
नोबेल पुरस्कारका लागि बर्सेनिजसो चर्चामा आउने केही नाम हुन् नाइजेरियाका बेन ओकरी, नेदरल्यान्ड्सका सिज नटवुम, ह्युगो क्लाउस, अल्बानियाका इस्माइल कादार, इजरायलका अमोस ओज, सोमालियाका नुरुद्दिन फराह, अमेरिकाका फिलिप रोथ, जोयस क्यारोल, सर्बियाका मिलोराद पाविभ, पूर्वचेकोस्लोभाकियाका मिलान कुन्देरा, जापानका हारुकी मुराकामी आदि । यीमध्ये अंग्रेजीमै लेख्ने हुनाले ओकरी, फराह, फिलिप रोथ र जोयस क्यारोललाई धेरैले पढेका छन् । अंग्रेजीमा नलेखे पनि राजनीतिक रूपले चर्चित र शैलीका हिसाबले बेजोड मानिएका कुन्देरा र मुराकामीबाहेक अन्य लेखक विश्वका पाठकका लागि लगभग अपरिचित छन् ।
नोबेल पुरस्कार नपाए पनि अंग्रेजीमा लेख्नेहरूको चर्चा पुरस्कार पाउनेहरूको भन्दा कम हुँदैन । जस्तो कि सल्मान रुस्दी नयाँ के लेखिरहेका छन् ? विक्रम सेठले नयाँ उपन्यासका लागि प्रकाशकबाट कति करोड एडभान्स लिए । जेके रोलिङको ‘ह्यारी पोर्टर’ को नयाँ भाग कहाँ पुग्यो ? जेएम कुट्सी, नादेन गोर्डिमेर, टोनी मरिसन के गरिरहेका छन् ? आदि इत्यादि ।

Yamaha

नोबाकोभ र नोबेल
अंग्रेजीमा लेख्ने रुसी उपन्यासकार भ्लादिमिर नोबाकोभको कुरा अझ रोचक छ । उनले नोबेल पुरस्कार पाएनन् । तर, उनको बहुचर्चित उपन्यास ‘लोलिता’ लाई धेरै नेपाली र भारतीय पाठकले नोबेल विजेता उपन्यासका रूपमा पढेका छन् । ‘लोलिता’ का अधिकांश हिन्दी संस्करणमा लेखिएको छ, ‘अश्लीलताको आरोपमा पहिला प्रतिबन्धित, पछि अदालतद्वारा प्रतिबन्ध फुकुवा, नोबेल पुरस्कार विजेता बुहचर्चित उपन्यास !’ नोबेल विजेता भनेर प्रचारित भएकै कारण सुरुमा मैले ‘लोलिता’ अंग्रेजीमा पढेको थिएँ । त्यो छिचोल्न मलाई मुस्किल परेको थियो । पछि मैले त्यसको हिन्दी अनुवाद पढेँ । रातो गातामा सुन्दर युवतीको तस्बिरअंकित त्यो किताब भारतको मनोज पब्लिकेसन्सले छापेको थियो । त्यसमा पनि नोबेल विजेता उपन्यास भनिएको छ । बजारिया प्रकाशनहरूले निकालेका हरेक नेपाली संस्करणमा यही उल्लेख छ । भारतीय ज्ञानपीठद्वारा प्रकाशित प्रसिद्ध साहित्यिक मासिक ‘नयाँ ज्ञानोदय’ को बेवफाई सुपर विशेषांक–भाग १ र २ मा पनि यसलाई नोबेल विजेता भनिएको छ ।
नोबेल पाएका भए उनी चर्चित भएको ५० को दशकदेखि उनको निधन सन् १९७७ सम्म हुनुपर्ने हो । लोलिता’ छापिएको वर्ष सन् १९५५ मा आइसल्यान्डका हल्दोर के लाक्सनेस पुरस्कृत भएका छन् । त्यसपछि लगातार पाँच वर्ष क्रमश: स्पेनका जुआन रामोन जिमेनेज, अल्जेरियामा जन्मेका फ्रान्सेली उपन्यासकार अल्बेयर कामु, रुसका बोरिस पास्तरनाक, इटालीका साल्भाटोर क्वासिमोदो र फ्रान्सका सेन्ट जोन पर्सले पुरस्कार पाएका छन् । नोबेल साहित्य विजेताको पूरै सूचीमा नोबाकोभको नाम कतै छैन । चर्चा गरिएजस्तो नोबेल सामान्यतया कुनै कृति विशेषलाई नभई ‘अनुपम उपलब्धि’ बापत दिइन्छ । त्यसो भए ‘लोलिता’ नोबेल विजेताका रूपमा किन प्रचारित भयो ? यो चरम यौन अराजकताको वकालत गर्ने उपन्यास हो । यसमा ३७ वर्षे हम्बर्ट १२ वर्षे सौतेली छोरी लोलिताको बाध्यताको फाइदा उठाउँदै बलात्कार गर्छ । खुला अर्थतन्त्रको युगमा यस्तो कृतिको बजारमूल्य निश्चय पनि माथि हुन्छ । यसलाई नोबेल विजेता भनेर चर्चा गर्नुमा सायद बजारस्वार्थले काम गरेको थियो । तथापि, अंग्रेजीमै लेखिएकाले तुरुन्तै संसारभरि हंगामा मच्चाउन यो उपन्यास सफल भएको थियो ।

राजनीतिको बैसाखी
अंग्रेजी भाषामा नलेखे पनि प्रसिद्धिको अर्को कारण राजनीतिक पनि हुने रहेछ । मूल भाषा अंग्रेजी नभए पनि नोबेल पुरस्कार पाउनुअघि नै रुसी साहित्यकार आलेक्सान्द्र सोल्जेनित्सिन संसार हल्लाउने गरी प्रसिद्ध भइसकेका थिए । विभिन्न घटना केलाएर हेर्ने हो भने भन्न सकिन्छ, राजनीतिक रूपमा चर्चित भएकै कारण उनले नोबेल पुरस्कार पाएका थिए । सोभियत सत्ता, त्यसमाथि जोसेफ स्टालिनको शासन चलिरहेका बेला रुसमा बसेरै उनी खुंखार कम्युनिस्टविरोधी थिए ।
सन् २००८ मा उनको निधन हुँदा विश्वभरिका सञ्चारमा एउटा लेखकले पाउनेभन्दा निकै बढी चर्चा भयो । उनी आफ्ना साहित्यिक सिर्जनाको बलले यति धेरै चर्चित भएका थिए त ? होइन, उनको सिर्जनात्मक मूल्यको खास मापन नै भएन भन्दा पनि हुन्छ । रुसी कम्युनिस्ट शासनप्रति अघोर विग्रह र स्टालिनले देश निकाला गरेका कारण उनी चर्चित भए । सन् १९७० मा उनलाई नोबेल साहित्य पुरस्कार दिइँदा त्यसमा उनको सिर्जनात्मक उचाइले भन्दा कता हो कता बढी यही छविले काम गरेको चर्चा चल्यो । यही कुरा रुसकै अर्का नोबेल विजेता तथा प्रसिद्ध उपन्यास ‘डा. जिभागो’ का लेखक बोरिस पास्तरनाकको हकमा पनि लागू हुन्छ ।
कम्युनिस्ट शासनमा लेखकीय स्वतन्त्रताका दृष्टिले पक्कै केही लेखकमाथि अत्याचार भएकै हो । जस्तो : रुसमै बोरिस पास्तरनाक, मान्देल्सताम, तत्कालीन चेकोस्लोभाकियामा मिलान कुन्देरा र चीनमा थुप्रै लेखक तथा कलाकर्मी । उनीहरूलाई कठोर कारावास वा देश निकालाजस्ता कडा सजाय दिइयो । प्रतिबद्ध साम्यवादी साहित्यकार म्याक्सिम गोर्की र लेनिनबीच विचार द्वन्द्वको राग गोर्कीका ‘बेमौसमी विचार’ मार्फत छताछुल्ल भएकै हो । त्यसो भन्दैमा स्रष्टाको सिर्जनात्मक उचाइ कम्युनिस्टप्रति उसको विग्रहबाट मापन गर्नु शीतयुद्धकालमा नोबेल पुरस्कारको अघोषित राजनीति नै थियो । सोल्जेनित्सिनको मामलामा यही भयो ।
सोल्जेनित्सिनले दोस्रो विश्वयुद्धमा सोभियत लालसेनामा काम गरेका थिए । त्यस क्रममा सन् १९४५ मा उनीमाथि सोभियत सत्ताको विरोध गरेको आरोप लाग्यो र काजाकिस्तानमा उनलाई कारावास सजाय दिइयो । ‘वन डे इन द लाइफ अफ इभान’ मा उनले त्यही अनुभवलाई समेटेका छन् । सन् १९५३ मा उनी क्यान्सरबाट पीडित भए । आफ्नो उपन्यास ‘क्यान्सर वार्ड’ मा उनले त्यही पीडा पोखेका छन् । एक दशक लामो कारावास सजायपछि उनी कम्युनिस्टविरोधी भए । पछि उनलाई देश निकाला गरियो । त्यसपछि उनी पश्चिम जर्मनीको फ्रांकफर्ट गए । त्यसपछि स्विजरल्यान्ड र त्यसपछि अमेरिका । सन् १९७० मा उनलाई साहित्यमा नोबेल पुरस्कार दिइयो । सोभियत संघको भयका कारण स्टकहोममा पुरस्कार लिन उनी गएनन् । चार वर्षपछि उनले यो पुरस्कार ग्रहण गरे ।
साहित्यमा नोबेल पुरस्कार स्रष्टाको असाधारण सिर्जनात्मक प्राप्तिका लागि दिइन्छ । त्यस बेलासम्म सिर्जनात्मक खैलाबैला मच्चाउने त्यस्तो कुनै रचना उनले दिएका थिएनन् । उनको सबैभन्दा प्रसिद्ध किताब ‘गुलाग आर्किपिलागो’ नै उनले पुरस्कार पाएको तीन वर्षपछि सन् १९७३ मा छापियो । यसमा उनले रुसी शासकबाट पाएको कठोर सजाय र सोभियत संघको शासनमा मानवपीडाको चित्र उतारेका छन् ।
सोल्जेनित्सिनको चर्चाले उनी महान् र असाधारण स्रष्टा हुन् भन्ने भान जोकोहीलाई पर्छ । चर्चा र उत्कृष्टता एकै कुरा होइनन् । उनी नोबेल पुरस्कार पाउने उचाइका लेखक थिए, थिएनन्, त्योसमेत त्यतिकै विवादास्पद मानिएको थियो । नोबेल पुरस्कार पाएकै भरमा उनलाई महान् र असाधारण लेखक मान्ने हो भने संसारका सर्वश्रेष्ठ मानिएका कतिपय लेखकले यो पुरस्कार पाएनन् । उदाहरणका लागि लियो टाल्सटाय, म्याक्सिम गोर्की, आन्तोन चेखब, हेनरिक इब्सेन, समरसेट मम, जेम्स ज्वाइस, डीएच लरेन्स, थोमस हार्डी आदि । लुसुन, बाजेन, आई छिङजस्ता चिनिया लेखक पनि यसबाट वञ्चित भए । के उनीहरू सोल्जेनित्सिनभन्दा कमसल लेखक थिए ? पक्कै थिएनन् ।

माध्यम भाषाको दायित्व
सबैभन्दा तिख्खर अभिव्यक्ति दिन सकिने भाषा मातृभाषा नै हो । सायद, त्यसैले संसारका सबैभन्दा प्रभावशाली साहित्य र सिनेमा गैरअंग्रेजी भाषामै छन् । अत: विश्वसाहित्य वा विश्वकलाको वास्तविक रूप हेर्ने हो भने अंग्रेजी भाषाबाहिर पनि पुग्नु अनिवार्य छ भनिन्छ । नेपालभित्र खस नेपाली भाषाजस्तै अंग्रेजी संसारको ऐतिहासिक बाध्यता हो । विश्वका कुनै पनि कृति अंग्रेजीमा अनुवाद नभई संसारभरिका पाठकले पढ्न पाउँदैनन् । नेपाली राष्ट्रिय भाषाकै सामग्री पढ्न पनि त्यसको नेपाली वा अंग्रेजी अनुवाद नभई सम्भव हुँदैन । फ्रान्सका निर्देशक एरिक भालीले उपल्लो डोल्पा भूमिको मनमोहक कथामा बनाएको सिनेमा ‘क्याराभान’ अंग्रेजी सबटाइटलको सुविधा भएकैले हामीले पनि बुझ्न र मज्जा लिन पाएका हौँ । यही कुरा विभिन्न राष्ट्रका माध्यम भाषाका हकमा लागू हुन्छ । त्यसैले अंग्रेजी भाषा, विभिन्न राष्ट्रका माध्यम भाषा र जिम्मेवार निकायले बिनापूर्वाग्रह, बिनास्वार्थ माध्यम भाषाबाहिरका सूचना पनि न्यायपूर्ण तरिकाले प्रवाह गर्नु अनिवार्य छ ।
पर्याप्त मात्रामा नहोला, त्यो दायित्व संसारको माध्यम भाषा अंग्रेजीले यथासक्य निर्वाह गरेकै छ । नत्र, आफ्नै भाषामा लेख्ने रुसका आन्तोन चेखब वा फ्रान्सका मोपासाका महान् कथा पढ्न पाइँदैनथ्यो जसरी अमेरिकाका एडगर एलेन पो वा ओ हेनरीलाई पढ्न पाइन्थ्यो । न त गोर्की, दोस्तोएब्स्की, टाल्सटाय, पुस्किन, इभान तुर्गनेभ, निकोलाई आस्त्रोब्स्की वा सात्र्र, कामु, काफ्का, लुसुन वा इब्सेनलाई पढ्न पाइन्थ्यो । मार्खेज, मिलान कुन्देरा, मारियो भर्गास लोसादेखि ओरान पामुकसम्मलाई संसारभरि सुलभ बनाएको अंग्रेजी भाषाले नै हो । अझ संसारका सर्वश्रेष्ठ सिनेमाहरू त इटाली, फ्रान्स, रुस, जर्मनी, चीन र इरानमा बनेका छन् । भितोरियो डेसिकाको बाइसाइकल थिभ्स वा उम्बर्टो डी, लुसिनो बिस्कोन्टीको लेओपार्ड वा रोको एन्स हिज ब्रदर्स, फेडेरिको फेलिनीको ला डोल्स भिटा वा द नाइट अफ क्याभेरिया, इंगमार बर्गम्यानको वाइल्ड स्ट्रबेरी, जँ रेनुआको रुल्स अफ द गेम, एलेन रनेको हिरोसिमा मोन अमोर, झाङ यिमुको फ्लावर अफ द वार वा बमन घोबाडीको टर्टल क्यान अल्सो फ्लाईजस्ता सिनेमा अंग्रेजी सबटाइटलकै सहायताले संसारभरि सुलभ र लोकप्रिय भएका हुन् ।
यही कुरा नेपालभित्र यहाँको माध्यम भाषा नेपाली र नेपाली भाषाका सञ्चारमाध्यमले किन निर्वाह गरिरहेका छैनन् भन्ने गम्भीर प्रश्न छ । यस्तो हुँदो हो त यहाँ मैथिलीमा लिखित गम्भीर साहित्य सबैले पढ्न पाएका हुन्थे । नेपालभाषाका कविता, कथा र उपन्यासको स्तर पनि सबैलाई थाहा हुन्थ्यो । राई, लिम्बू, मगर, तामाङ, गुरुङ, अवधी, भोजपुरी आदि भाषाका साहित्य वा सिनेमाबारे अत्तापत्तो नहुने स्थिति रहँदैनथ्यो । आफूलाई राम्ररी अभिव्यक्ति गर्न सकिने मातृभाषा छाडेर लेखकहरू जसोतसो नेपालीमै लेख्न बाध्य हुँदैनथे । नेपाल प्रज्ञा प्रतिष्ठानका केही प्रकाशनले यसतर्फ सानोतिनो प्रयास नगरेका होइनन् । हालै मधुपर्क र शारदाजस्ता साहित्यिक पत्रिकाले नेपालभाषा विशेषांक पनि प्रकाशित गरेका छन् । तर, यी प्रयास मरुभूमिमा छिट्ट्याएका बाछिटा मात्र हुन् । अभियानकै रूपमा यी काम नभएसम्म समग्र नेपाली साहित्यको वास्तविक चित्र खुल्दा पनि खुल्दैन ।
avaya.writes@gmail.com

Esewa Pasal

प्रकाशित : कार्तिक ११, २०७४ ०८:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इतिहास : बुद्धका दस विपत्ति

अभय श्रेष्ठ

बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।

‘जहाँ अन्याय छ, त्यहाँ छायाले जस्तै अशान्तिले पछ्याउँछ,’ उनी भन्थे, ‘अन्यायमा शान्तिको खोजी त्यतिकै निरर्थक छ जति निरर्थक सिउँडीको बोटमा सुन्तला फल्ने आशा गर्नु हुन्छ ।’ आज अमेरिका र उत्तर कोरियाबीचको तनावले विश्वशान्ति खलबलिने खतरा छ । तर, २५ सय वर्षअघि जन्मेका बुद्धको शान्ति र न्याय चेत यति उँचो थियो जसलाई एक्काइसौँ शताब्दीका ‘शान्तिवादी’ हरूले अझै बुझ्न सकेका छैनन् । भारतीय विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ का अनुसार शाक्य र कोलिय राज्यबीच रोहिणी नदीको पानी प्रयोग गर्नेबारे झगडामा तत्कालीन राजकुमार सिद्धार्थले आफ्नै राज्यका किसानको पनि गल्ती औँल्याएका थिए । आफन्त, पराई वा राष्ट्रवादभन्दा उनका लागि मानवता, न्याय, सत्य र अहिंसा सर्वथा महत्त्वपूर्ण थिए ।

सतातन धर्मावलम्बीले बुद्धलाई विष्णुको नवौँ अवतार मानेका छन् । सायद बुद्धप्रति यो सद्भाव थियो । तर, उनी भाग्यवाद, अन्धविश्वास, यथास्थिति, पूजापाठ, ईश्वरभक्ति, यज्ञ, प्रार्थना, जात व्यवस्था, पुरोहितवाद आदिको प्रतिकारमै ज्ञानको खोजीमा हिँडेका थिए । उनको संघमा जातिभेद थिएन । कतिसम्म भने उपाली, स्वास्ती, सुनीतजस्ता शूद्रलाई संघमा अग्राधिकारसहित उनले सम्मानित पद दिएका थिए । कुनै पनि कुरालाई उनी अन्तिम सत्य मान्दैनथे । आफ्नै दर्शनलाई पनि सत्य खोजीमा हिँड्ने डुंगा मात्र ठान्थे । ‘म मोक्षदाता होइन, मार्गदर्शक मात्र हुँ, मेरो दर्शन अन्तिम सत्य पनि होइन । यो तत्काल मेरो ब्रह्मले देखेको श्रेष्ठ मार्ग मात्र हो,’ उनी भन्थे, ‘ध्यानको अभ्यास गर्दै मनको अज्ञान हटाउन सके कुनै पनि व्यक्ति बुद्ध बन्न सक्छ । आफ्नो मालिक तिमी आफैँ हौ । पुरोहितहरूले जग्गे थापेर कहिल्यै कसैले नदेखेको ईश्वरका नाममा जीवन धान्ने अमूल्य अन्न र घिउ–तेल स्वाहा गर्नु मूर्खता हो । सम्मानित गुरु, इतिहास वा शास्त्रले भन्दैमा त्यसै नमान । तथागतकै कुरा पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैं जान । आफ्नो दियो आफैं बन ।’ खासमा, बुद्धले मनको अँध्यारो र अज्ञान हटाएर जिउँदै आनन्दित र मुक्त जीवनको स्वर्गीय आनन्द भोग्न पाउने उपाय सुझाए । त्यसैले त आइन्सटाइने बुद्ध दर्शनलाई संसारकै सबैभन्दा उँचो मानवीय दर्शन भनेका छन् । वेद, पुराणको सत्ता चलिरहेको युगमा यस्ता आदिविद्रोही र महात्माको जिन्दगीमा अनेक विपत्ति आइलाग्नु स्वाभाविक थियो । तर, उनले कुनै पनि विपत्तिसँग हार मानेनन् । कहालीलाग्दो भीरको थाप्लामा उभिएझैँ लाग्ने यी विपत्तिलाई उनले निर्भयतापूर्वक सामना गरे । 
१) देश निकाला
शान्ति र सद्भावको पक्ष लिँदा २९ वर्षको उमेरमा उनलाई देश निकाला गरिएको थियो । हरेकजसो बौद्ध साहित्यमा ‘उनले रोगी, वृद्ध र मृतक देखेपछि ज्ञानको खोजीमा मध्यरातमा घर छाडेको’ उल्लेख छ । बौद्ध साहित्यमा यसलाई महाभिनिष्क्रमण भनिन्छ । भारतीय दलित विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ ले यससम्बन्धी उद्घाटन गरेको तथ्य स्तब्ध पार्ने खालको छ । अम्बेडकरका अनुसार रोहिणी नदीको विवादमा अल्पमतमा परेपछि आत्मदण्डस्वरूप उनले देश छाडेका थिए । २९ वर्षको उमेरसम्म आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले रोगी, वृद्ध र मृतक देखेका थिएनन् होला ? धर्मानन्द कौसम्बीले पहिलोपल्ट यस्तो प्रश्न उठाए । ३५ वर्षसम्म गम्भीर अध्ययनपछि अम्बेडकर पनि सोही निष्कर्षमा पुगे । पछि कतिपय राजनीतिक इतिहासकारले पनि यसलाई पुष्टि गरे । छिमेकी राज्य कोलियसँग रोहिणी नदीको पानी प्रयोग गर्नेबारे विवाद भएपछि शाक्य संघले लडाइँको घोषणा गर्‍यो । सिद्धार्थले विरोध गरे । तत्कालीन शाक्य राज्यमा बीस वर्ष पुगेका हरेक युवक सदस्य रहने शाक्य संघ संसद्को भूमिकामा हुन्थ्यो । उनको शान्तिवार्ता प्रस्ताव बहुमतद्वारा अस्वीकृत भयो । बीस वर्ष पुगेका सबै युवाले युद्धमा भाग लिनुपर्ने भयो । सिद्धार्थले आफू युद्धमा सामेल नहुने घोषणा गरे ।

बहुमतको निर्णय नमान्दा संघले उनको परिवारलाई सामाजिक बहिष्कार गर्न सक्थ्यो वा परिवारको जमिन जफत गर्न सक्थ्यो । अथवा उनलाई मृत्युदण्ड दिन वा देशनिकाला गर्न सक्थ्यो । सिद्धार्थले आग्रह गरे, ‘कृपया, मेरो गल्तीको सजाय परिवारलाई नदिनुस् । मेरो दोषको सजाय म एक्लैलाई भोग्न दिनुहोस् । मृत्युदण्ड दिनुस् वा निर्वासनको सजाय, म खुसीसाथ स्विकार्छु ।’ त्यतिखेर भर्खर उनका छोरा राहुलको जन्म भएको थियो । मातापिता वृद्ध भइसकेका थिए । यस्तो स्थितिमा शान्ति र सद्भावका लागि उनले देश छाडे । विलासमा हुर्किएका राजकुमारका लागि यो सजिलो बाटो थिएन । तर, यो उनको सत्याग्रह थियो । पछि, उनकै चाहनाअनुसार दुई देशबीच समझदारी भई शान्ति कायम भयो । शान्ति सम्झौतापछि उनलाई घर फर्कन आग्रह गरियो । तर, उनी स्थायी शान्तिका लागि ज्ञानको खोजीमा लागे ।
२) अंगुलीमालको आतंक र चिञ्चाको नक्कली पेट
बुद्ध त्यतिखेर ५६ वर्षका थिए जब उनको सामना खतरनाक हत्यारा अंगुलीमालसँग भयो । भियतनामी बौद्ध विद्वान् तिक न्यात हन्हको किताब ‘ओल्ड पथ, ह्वाइट क्लाउड’ का अनुसार जालिनी वनबाट ऊ कोसल राज्यको श्रावस्ती प्रवेश गर्दा पूरै बस्ती मसानसरह सुनसान थियो । मानिसहरू दिउँसै ढोका बन्द गरेर बस्थे । हरेक व्यक्तिको हत्यापछि ऊ त्यसको एउटा औँला मालामा उन्थ्यो । सय जनाको हत्या गरेर तिनका औँलाको माला लाएपछि आफ्नो मायावी शक्ति बढ्ने भ्रम उसलाई थियो । एकपल्ट चालीस जनाले घेरा हाले । अद्भुत युद्धकला जानेको अंगुलीमालले छिनभरमै अधिकांशलाई मारिदियो । बाँकीले भागेर ज्यान बचाए । राजा प्रसेनजितले उसलाई पक्रन सशस्त्र सेना तैनाथ गरेका थिए ।

तीमध्ये कतिपयलाई उसले मारिसकेको थियो । यो थाहा पाउनासाथ बुद्ध निडर भएर एक्लै श्राबस्तीमा हिँड्न थाले । अंगुलीमाल हकार्दै, खुँडा ताक्दै आइपुग्यो । एउटा रूखअगाडि उभिएर शान्त स्वरमा बुद्धले भने, ‘अंगुलीमाल, म तिम्रो उद्देश्यका लागि मारिन तयार छु । तर, त्यसका लागि तिमीले मलाई यस रूखका चारवटा पात टिपेर ल्याइदिनुपर्छ ।’ पहिलोपल्ट आफूसँग निडर भएर बोल्ने मान्छे भेट्दा अंगुलीमाल हच्कियो र चारवटा पात टिपेर ल्याइदियो । बुद्धले फेरि भने, ‘अब यो पात जस्ताको तस्तै त्यही हाँगामा लगेर जोडिदेऊ ।’

उसले भन्यो, ‘तिमीले के भन्न खोजेको भिक्षु ? यो कसरी सम्भव छ ?’
‘हो, जसरी टिपिसकेका पात जोड्न सक्दैनौ, त्यसैगरी तिमीले हत्या गरेका मान्छेलाई फेरि बचाउन सक्दैनौ । जब मारिएकालाई बचाउन सकिन्न भने तिनलाई मार्ने अधिकार तिमीलाई कसले दियो ?’ अंगुलीमाल नाजवाफ भयो । 

‘मानिसहरू अज्ञान, घृणा र द्वैषका कारण क्रूर बन्छन् । क्षमा, करुणा, ज्ञान र प्रेमको मार्गमा हिँड्यौ भने तिम्रो जीवनमा पनि स्वर्गीय आनन्द आउनेछ अंगुलीमाल’, बुद्धको कुरा सुनेर उसले खुँडा बिसायो र माफी माग्दै नमन गर्‍यो । बुद्धको शरणमा गएको दुई हप्तामै अंगुलीमाल अहिंस्रक नाम धारण गरेर सौम्य र करुणामय भिक्षु भइसकेको थियो ।

त्यसअघि नै सम्बोधी प्राप्त गरेर देश देशावरमा प्रसिद्ध भइसकेका बुद्धमाथि एउटा गम्भीर आरोप लागेको थियो । चिञ्चा नामकी एक ब्राह्मण युवतीले बुद्धको देशना चलिरहेको सभामै बुद्धले आफूलाई गर्भवती बनाएको आरोप लगाइन् । सुनेर सबै जना स्तब्ध भए । बुद्धले शान्त मुस्कानसहित भने, ‘कुमारी चिञ्चा, तपाईँले बोलेको कति सत्य हो भन्ने तपाईँ र मलाई मात्र थाहा छ, कि कसो ?’ बुद्धको शान्त मुस्कान देखेर चिञ्चा हडबडाइन् । बाहिर निस्किँदा एउटा खम्बामा ठोकिएर उनको पेटमा बाँधिएको काठको गोलाकार खसेर खुट्टामा लाग्यो । घाइते औँला थिचेर उनी रुन थालिन् । उनको पेट अब एकदमै सपाट थियो ।
३) सत्यको त्रासदी
उनी नौ वर्षका राजकुमार हुँदा एक दिन बगैँचामा एउटा चरा खस्यो । त्यसलाई वाण लागेको थियो । उनले त्यसको घाउमा औषधि लगाइदिए । त्यसलाई वाण हान्ने उनकै काकाको छोरा देवदत्त घाइते चरा लिन आइपुग्यो । सिद्धार्थले दिन मानेनन् । उनीहरूबीचको विवाद दरबारसम्मै पुग्यो । दुवैले मन्त्रीगणसँग आ–आफ्ना तर्क राखे । घाइते चरामाथिको स्वामित्व व्याधाको होइन, बचाउनेको हुनुपर्ने तर्क सिद्धार्थको थियो । बहुमत बुद्धको तर्कमाथि हाँस्न थाल्यो र देवदत्तको पक्षमा ढल्कियो । राजा शुद्धोदन एक्कासि खोक्न थाले । यो एक खालको संकेत थियो । मन्त्रीहरूले एकाएक सिद्धार्थको पक्षमा निर्णय गरे । चरा उनलाई दिइयो । मन्त्रीगणले राजालाई खुसामद गर्न मात्र सिद्धार्थलाई जिताइदिएका थिए । यो थाहा पाउँदा उनको आत्मसम्मानमा ठूलो चोट लाग्यो । तर, उनले चराको मुक्तिका लागि यस्तो अपमानजनक स्थितिसँग पनि सम्झौता गरे । यस घटनाबाट उनलाई ज्ञान भयो, सत्य र ठीकका पक्षमा उभिन बहुतै ठूलो साहस चाहिन्छ जुन अधिकांश मान्छेमा हुँदैन । 
४) सुन्दरीको शव
अर्कोपल्ट श्रावस्तीको जेतवन बिहारमा प्रहरीले सुन्दरी नामकी एक युवतीको शव बरामद गर्‍यो । बेलाबेला उनी बिहारमा बुद्धको देशना सुन्न आउँथिन् । शव बुद्धकै कुटीको पछाडिपट्टि खाल्डामा गाडिएको थियो । त्यसै दिन सुन्दरीको सम्प्रदायका मान्छेले शव नगर परिक्रमा गराए । उनीहरू भनिरहेका थिए, ‘शव जेतवन बिहारमा भेटियो । वासनारहित जीवन व्यतीत गरिरहेको दाबी गर्ने बुद्धका शिष्यले नै यसलाई बलात्कार गरेर शव लुकाउने चेष्टा गरे । दया, करुणा, आनन्द र समत्व भावका उनका कुरा झूटा हुन् । लौ हेर्नुस् तिनका करामत !’ श्रावस्तीवासी यस घटनाबाट दिक्क भए । बुद्धका श्रद्धावान् शिष्यको आस्था डगमगाउन थाल्यो । भिक्षाटनका लागि हिँडेका भिक्षुलाई नगरवासी अनेक लाञ्छना लगाउँथे । यसले गर्दा कतिपय भिक्षु भिक्षाटनमा नगई भोकभोकै बस्न थाले । बुद्धले तिनीहरूलाई भने, ‘अनुचित आरोप कसैमाथि पनि, कुनै पनि बेला लाग्न सक्छ । त्यसबाट हीनताबोध र लज्जाबोध गर्नु जरुरी छैन । लज्जित त्यतिखेर हुनुपर्छ जब तपाईँ शुद्ध जीवनयापनबाट विरत हुनुहुन्छ ।’ नभन्दै एकै हप्ताभित्र हत्याराहरू पक्राउ परे । दुई हत्याराले अत्यधिक मद्यपान गर्दा यो रहस्य खोलेका थिए । बुद्धलाई बदनाम गर्न सुन्दरीको सम्प्रदायकै मान्छेले पैसा दिएर उसको हत्या गराएका थिए ।
५) सूत्राचार्य र शीलाचार्यको आत्मस्वीकृति
बुद्धको देशना (उपदेश) कण्ठस्थ पार्ने भिक्षुको समुदायलाई सूत्राचार्य भनिन्थ्यो । श्रामणेर तथा भिक्षुका लागि निर्धारित पञ्चशील र दस शीलका विशेषज्ञलाई शीलाचार्य । एकपल्ट गोशिरा बिहारमा सूत्राचार्य र शीलाचार्यबीच ठूलो विवाद भयो । एक सूत्राचार्यले कर–प्रक्षालन पात्र सफा गर्न बिर्सिए । एक शीलाचार्यले आपत्ति प्रकट गरे । सूत्राचार्य आफूले जानीबुझी यस्तो नगरेकाले दोष स्विकार्न तयार भएनन् । प्रत्येक भिक्षुले आ–आफ्ना अध्यापकको पक्ष लिन थाले । दुवै पक्ष एक अर्काको हदै निन्दा गर्न थाले ।

यसले संघमा विभाजन आउन सक्थ्यो । निष्पक्ष भिक्षु, उपासक र शुभेच्छुकको आग्रहमा बुद्धले दुवै पक्षको भेला बोलाए र विवाद अन्त्य गर्न आग्रह गरे । यस्तैमा एक भिक्षुले आवेशमा भने, ‘यो विवाद हामी आफैँ मिलाउँछौँ । तपाईँ बीचमा नआउनुस् ।’ भिक्षुको अपमानजनक व्यवहारपछि आफ्ना अनुचर तथा सहयोगी आनन्दलाई समेत नभनी बुद्ध एक्लै भ्रमणमा निस्किए । उनी एक वर्ष चार महिनापछि फर्किए । उनलाई थाहा थियो, दुवै पक्षले आफ्ना गल्ती महसुस गर्नेछन् र विवाद समाधान हुन्छ । अन्तत: दुवै पक्षले एक दिन आ–आफ्ना गल्ती स्वीकारे । दोष स्वीकार समारोहमा बुद्ध पनि उपस्थित थिए । सूत्राचार्यले सारा अहंकार बिर्सेर शीलाचार्यलाई नमन गर्दै भने, ‘मान्यवर, म स्विकार्छु, मैले एउटा शील उल्लंघन गरेको छु । मलाई सुधार्न तपाईँले भनेका कुरा ठीक थिए । म संघसमक्ष आफ्नो दोष स्विकार्छु ।’ शीलाचार्यले प्रत्युत्तरमा नमन गर्दै भने, ‘त्यो बेला ममा विनम्रता थिएन । त्यसका लागि कृपया मलाई माफ गर्नुहोला ।’ यसरी त्यो उग्र विवाद समाधान भयो । 
६) देवदत्तको धोकाबाजी
जीवनको उत्तरार्धमा देवदत्तले बुद्धलाई संघको नेतृत्वबाट गलहत्याउन खोजे । बुद्ध ७२ वर्ष भइसकेका थिए । उनीप्रति भिक्षुहरूको अगाध श्रद्धा थियो । केही नलाग्दा देवदत्तले भिक्षुहरूका लागि अर्को कडा पाँच नियमको पासो थापे । १) भिक्षु केवल वनमा रहनुपर्छ । गाउँ वा नगरमा सुत्ने अनुमति नदिइयोस् । २) भिक्षुले भिक्षाटन गर्नुपर्छ । उपासककहाँ भोजन गर्न जानु हुँदैन । ३) भिक्षुले पुराना कपडाबाट चिवर सिलाउनुपर्छ । उपासकले दिएको नयाँ कपडा स्विकार्नु हुँदैन । ४) भिक्षु रूखको फेदमा सुत्नुपर्छ । कुटी वा भवनमा सुत्नु हुँदैन । ५) भिक्षुले केवल शाकाहारी भोजन गर्नुपर्छ । बुद्ध मध्यमार्गी थिए । उनले यी नियमको कडीकडाउलाई स्विकार्न सकेनन् । त्यसपछि देवदत्तले झन्डै ५ सय भिक्षुलाई साथ लिएर अर्कै संघ खोले । 
७) हत्याको तीन दुष्प्रयास
यसपछि तीनपल्ट बुद्धको हत्या प्रयास भयो ।
एक दिन बुद्ध गृद्धकुट शिखरमा साधना गरिरहेका थिए । आँखा खोल्दा रूखपछाडिबाट एउटा मान्छे उनलाई हेरिरहेको थियो । बुद्धको पाउमा तरबार राखेर उसले नमन गर्दै भन्यो, ‘गौतम, मलाई तपाईँको हत्या गर्ने आदेश दिइएको थियो । मैले दुवै हातले दसपल्ट तरबार उठाएँ तर एकै कदम अघि बढ्न सकिनँ । अब के गरूँ ? मेरा मालिकले मलाई जीवित छाड्ने छैनन् ।’

आदेश दिनेको नाम उसले बताउन सकेन । बुद्धले उसलाई कोसलमा नयाँ जिन्दगी बिताउने व्यवस्था गरिदिए । बाटो बिराएका भिक्षुहरूलाई भेट्न जान लागेका सारीपुत्त र मौदगल्यायनले यो थाहा पाएर यात्रा स्थगित गर्न खोजे । बुद्धले भने, ‘चिन्ता नगर्नुस् । तथागत कुनै पनि खतराको सामना गर्न तयार छ । तपाईँहरू निश्चिन्त भएर जानुस् ।’

एक दिन उनी पहाडको चट्टानमा उभिएर सायंकालीन आकाशको सौन्दर्य निहारिरहेका थिए । माथिबाट अजंगको ढुंगा गुड्दै आयो । दुवैतिर चट्टानले घेरिएको साँघुरो बाटोमा दायाँबायाँ गर्नु असम्भव थियो । संयोगले ढुंगा चट्टानको बीचमा अड्कियो । तैपनि फुटेको टुक्रा खुट्टामा लाग्दा उनी रक्ताम्मे भए । माथितिर हेर्दा एक जना भागिरहेको थियो । यो देखेका भिक्षुले राति टोली बनाएर बुद्धलाई सुरक्षा दिने योजना बनाए । तर, बुद्धले आदेश दिए, ‘तथागतलाई सुरक्षाको आवश्यकता छैन । तपाईंहरू आ–आफ्ना कुटीमा गएर आराम गर्नुस् ।’

त्यसको दस दिनपछि नलगिरि नामक क्रोधित हात्ती लगाएर उनलाई मार्न खोजियो । भिक्षाटन गरिरहेका बेला हात्ती सुँढ उचाल्दै बुद्धतिर आयो । उनी शान्त भावले त्यहीँ खडा भइरहे । भिक्षु आनन्द सास रोकेर हात्ती र बुद्धका बीच उभिन आइपुगे । हन्हको पुस्तकअनुसार त्यसै बेला बुद्धले हात्तीको स्वर निकाले । उनको आवाज रानी हात्तीको जस्तै थियो । रक्षितवनमा रानी हात्तीसँग उनले मित्रता गाँसेका थिए । हात्तीको आवाज सुन्नेबित्तिकै नलगिरिले हातपाउ बिसाएर शिर निहुरायो मानौँ ऊ बुद्धलाई नमन गरिरहेको थियो । बुद्धले एक हातले त्यसको सुँढ समाते र अर्को हातले शिर थपथपाए । त्यसलाई हात्तीसाला पुर्‍याएर प्रबन्धकलाई उनले भने, ‘यो हात्ती कसको आदेशले छाडियो भन्ने म जान्न चाहन्नँ । किन्तु, यसले सयौँ व्यक्ति मार्न सक्थ्यो । भविष्यमा यस्तो हुन कहिल्यै नदिनू ।’ प्रबन्धकले माफी माग्दै बुद्धलाई प्रणाम गर्‍यो ।
 ८) अजातशत्रुको बर्बरता
देवदत्त छुट्टिएर गएपछि मगधमा अनेक बितन्डा हुन थाल्यो । उनले राजा बिम्बिसारका छोरा अजातशत्रुलाई हात लिए । चन्द्रगुप्त मौर्यका छोरा बिम्बिसार बुद्धका उपासक थिए । त्यो उनका लागि अत्यन्त खतरा साबित भयो । कुनै मध्यरात राजाको कक्षमा सन्देहास्पद स्थितिमा घुसेका राजकुमारलाई अंगरक्षकले पक्राउ गरे । तलासी लिँदा राजकुमारले लुकाएर ल्याएको खड्ग फेला पर्‍यो । राजाले सोधे, ‘राजकुमार, तिमी खड्ग लिएर किन यहाँ आयौ ?’
‘पिताजी, म तपाईँको हत्या गरेर राजा बन्न चाहन्थेँ ।’

बारम्बारको केरकारपछि अजातशत्रुले स्विकारे, यो कृत्य देवदत्तको दिमागको उपज थियो । मन्त्रीगणले राजकुमार र देवदत्तलाई मृत्युदण्ड दिन सिफारिस गरे । बुद्धका सच्चा शिष्य बिम्बिसारले यो प्रस्ताव स्विकार्न सकेनन् । उनले भने, ‘म यी दुवैलाई म क्षमा गर्न चाहन्छु । भोलि नै घोषणा गरेरै छोरालाई म यो सिंहासन त्याग्छु ।’ राजाले यो घटना गोप्य राख्न आदेश दिए । यो थाहा पाएर देवदत्तले राजकुमारलाई भेटे । त्यसको दुई दिनपछि राजकुमारले राजा र दुई मन्त्रीलाई बन्दी बनाए । राज्याभिषेक समारोहलाई बुद्ध र उनका भिक्षुले बहिष्कार गरे । जनतालाई अनेक शंका भयो । केहीपछि नै उनीहरूलाई थाहा भयो, पूर्वराजा र उनका दुई मन्त्रीलाई देवदत्तको सल्लाहअनुसार बन्दी बनाइएको छ । बिस्तारै उनीहरूले देवदत्त समर्थक भिक्षुलाई भिक्षा दिन छाडे । यो, नयाँ शासकप्रतिको अप्रत्यक्ष निन्दा थियो ।

रानीबाहेक राजासँग कसैलाई भेट गर्न दिइएन । रानी दिनहुँ राजाका लागि भोजन लिएर जान्थिन् । पछि भोजन बन्द गरियो । बिम्बिसार भन्थे, ‘मलाई छोराको यस कार्यप्रति कुनै घृणा छैन । म मर्न चाहन्छु तर देशमा गृहयुद्ध देख्न चाहन्नँ ।’ त्यसपछि रानीले भातका ससाना डल्ला कपालमा लुकाएर राजालाई खुवाउन थालिन् । पूर्वराजा अझै नमरेको देखेपछि फेरि पूर्वरानी विदेहीको तलासी लिइयो । त्यसपछि रानीले दूध, सख्खर र पिठोको लेप शरीरमा दलेर, त्यही लेप माडेर राजालाई खुवाउन थालिन् । बुद्ध बसेको गृद्धकुट पर्वततिर हेरेर बिम्बिसार ध्यान गर्छन् भन्ने थाहा पाएपछि त्यही झ्याल पनि बन्द गरियो । पछि पूर्वरानीलाई पूर्वराजासँग भेट्न पूरै मनाही गरियो । यति गर्दा पनि राजाको मृत्यु नभएको देखेपछि अजातशत्रुले बगरे बोलाएर राजाका दुवै खुट्टा काट्न लगाए । त्यसमा नुन, तातो तेल र भर्भराउँदो आगोको गोल राखियो । यसरी राजाको क्रूरतापूर्वक हत्या गरियो । 

पछि झन्डै यस्तै घटना कोसलमा पनि भयो । राजा प्रेसेनजितको निधन राजगृहको एक धर्मशालामा दीनहीन अवस्थामा भयो । प्रसेनजित एक दिन बुद्धलाई भेट्न शाक्य राज्यको मेदालुम्पा आएका थिए । राजकुमार विडुडाभ र प्रधानसेनापति कारायण पनि साथै थिए । राजाले प्रधानसेनापतिलाई राजकीय खड्ग र मुकुट रथमा राख्न पठाए । बुद्धलाई भेटेर जब राजा बाहिर निस्किँदा चार रथको ठाउँमा एउटै मात्र बाँकी थियो । प्रधानसेनापतिले राजकीय खड्ग र मुकुटसहित जबर्जस्ती सबैलाई श्राबस्ती पुर्‍याए । सेनापतिले राजकुमार विडुडाभलाई भने, ‘राजा बूढा भए । अब तपाईँ सिंहासनमा बस्नुस् ।’ राजकुमारले अस्विकार्दा सेनापतिले आफैँ सिंहासनमा बस्ने चेतावनी दिए । राजकुमार यसरी बाध्य भएर सिंहासनमा बसे । राजा प्रसेनजित मगध नरेश तथा ज्वाइँ अजातशत्रुको सहयोग लिन राजगृह पुगे । राति ढिलो पुगेकाले उनले राजमहलको ढोका ढकढकाउनु उचित ठानेनन् । उनी धर्मशालामा बसे । त्यसै रात राजालाई बेस्सरी ज्वरो आयो । त्यहीँ सारथिको काखमा उनले प्राण त्यागे । यी सबै बुद्धविरुद्ध देवदत्तले खेलेका षड्यन्त्रकारी खेलका परिणाम थिए ।
९) मौदगल्यायनको हत्या
पिता शुद्धोदनको निधन हुँदा दरबार शून्य थियो । सिंहासनमा बस्ने हक बुद्धलाई थियो । उनले सहर्ष त्यो हक ठूला बाका छोरा महानामलाई सुम्पिए । बुद्धको त परिवारै, आमा महाप्रजापति, पत्नी यशोधरा, भाइ नन्द र छोरा राहुल सद्धर्ममा लागेर भिक्षु बनेको थिए । बुद्ध ७८ वर्ष पुग्दा उनका उपासक राजा प्रसेनजित र बिम्बिसारको मृत्यु भइसकेको थियो । बुद्धका प्रथम पाँच शिष्यमध्ये एक कौडन्न अनि काश्यप बन्धु, भिक्षुणी महाप्रजापति, बुद्धका छोरा भिक्षु राहुल र भिक्षुणी यशोधरा पनि बितिसकेका थिए । प्रसेनजितको मृत्युलगत्तै वेणुवनमा विरोधी सन्न्यासीहरूले बुद्धका वरिष्ठ शिष्य मौदगल्यायनको हत्या गरे जो निर्भयता र स्पष्टवादिताका लागि विख्यात थिए । अन्य सम्प्रदायका व्यक्ति उनीसँग क्रुद्ध थिए । एक बिहान दुई भिक्षुसहित भिक्षाटनका लागि निस्कँदा बिहारको बाहिरपट्टि लुकेर बसेका केही व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरे । घटनास्थलमै उनको मृत्यु भयो । 
१०) पेट पीडा र महापरिनिर्वाण 
बौद्ध साहित्यमा बुद्धको निधनलाई महापरिनिर्वाण भनिन्छ । ८० वर्षको उमेरमा बुद्धले वैशाली, भन्डग्राम र पावामा देशना दिए । पावामा कामी समुदायका उपासक चण्डले बुद्ध र उनका ३ सय शिष्यलाई विशेष भोजन गराए । चण्ड स्वयंले बुद्धका लागि भोजन पस्किए जसमा चन्दन वृक्षको काष्ठफूलको विशेष भोजन ‘सुकर माद्दव’ समावेश थियो । 

भोजनपछि बुद्धले चण्डलाई भने, ‘यो भोजन खाल्डो खनेर पुरिदिनू । कसैलाई नखुवाउनू ।’ रातभरि बुद्धको पेटमा असह्य पीडा भयो । यही पीडाबीच पनि कुशीनगर यात्रामा मल्ल वंशका पुक्कुसलाई शिष्य स्विकारी उनले उपदेश दिए । कुकुथ नदीमा स्नानपछि आनन्दलाई भने, ‘मेरो स्वास्थ्य बिग्रिनुमा चण्डको कुनै दोष छैन । त्यो, मेरो जीवनभरिकै सर्वोत्तम दुई भोजनमध्ये एक थियो । सबैले चण्डलाई धन्यवाद दिनू ।’ त्यही पीडाले कुशीनगर नपुग्दै सालवनमा उनी मृत्युशय्यामा पुगे । मृत्युशय्यामै उनले सन्न्यासी सुभद्रको आग्रहमा प्रवचन दिए र उनलाई शिशु स्विकारे । ‘जन्मेपछि मृत्यु अनिवार्य छ । ज्ञान अर्थात् मुक्ति प्राप्त गर्ने बाटोमा सबै जना परिश्रमी भएर अघि बढ्नू’, यति भनेर शान्तिपूर्वक उनले प्राण त्यागे । उनलाई थाहा थियो, त्यसै रात उनको निधन हुनेछ । मृत्युसँग उनी अलिकति पनि भयभीत थिएनन् ।

प्रकाशित : वैशाख २३, २०७४ १६:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्