१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘एन्टी डट’

फिल्म
सुशील पौडेल

काठमाडौं — आमीर खान दशकयता सामाजिक कुरीति, अन्धविश्वास र लैंगिक विभेदविरुद्धको अभियानमा छन् । सन् २००७ मा ‘तारे जमिन पर’ मार्फत् सन्तानको इच्छाविपरीत अभिभावकले पढाइप्रति दिने एकोहोरो दबाबलाई एउटा स्कुले बालकको दृष्टिकोणबाट कथा भनेका आमीरले त्यसको ठीक १० वर्षपछि ‘सेक्रेट सुपरस्टार’ ल्याएका छन् ।

 ‘एन्टी डट’

यसपटक उनी आफूलाई निर्माण र छोटो भूमिकामा मात्रै सीमित राखी १५ वर्षिया मुस्लिम युवती इन्सिया (जायरा वसिम) मार्फत् कथा भनेका छन् । गत वर्ष रेकर्डतोड व्यापार मात्रै नभई समीक्षात्मक दृष्टिबाट समेत उत्कृष्ट फिल्म ‘दंगल’ पस्केका थिए आमीरले । एमेच्योर रेस्लर महावीर सिंह फोगटले देशका लागि गोल्ड मेडल जित्ने सपना साकार नभएपछि
आफ्ना दुई छोरीमार्फत् सपना साकार पार्ने अभियानमा लागेका थिए । महावीरको जीवनीमा आधारित ‘दंगल’ मा आमीर नै लिड रोलमा रहेर कथा भनेका थिए । ठीकविपरीत यसपटक ‘सेक्रेट सुपरस्टार’ मा छोरीको गायिका बन्ने सपनामा बाबु तगारो बनेका छन् ।
वरोडाकी इन्सियाले ५ वर्षकी छँदा नै आमाबाट गिटार गिफ्ट पाएकी हुन्छे । गिटारसँगको लगावले इन्सियालाई संगीततर्फ तान्छ । पढाइलाई नै सर्वोपरि ठान्ने क्रूर स्वभावको बाबु इन्सियाको सपना पूरा गर्ने बाटोमा भिलेन बनेर उभिन्छन् । सिंगिङ कम्पिटिसनमा सहभागी हुने चाहना बाबुको अत्याचारका अघि घुँडा त टेक्छ तर सपना ज्युँदै छ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं इन्सिया आमाले दिएको ल्यापटपमार्फत् गीत गाएर भिडियो मात्रै बनाउँदिन, युट्युबमा सेक्रेट सुपरस्टारको आइडीमा भिडियो अपलोड गर्छे । बाबुकै डरका कारण इन्सियाले बुर्का लगाएर गाएको भिडियो रातारात भाइरल बनिदिन्छ । मिडियादेखि म्युजिक डाइरेक्टरसम्मको ध्यान तान्छ । इन्सियाको म्युजिक करिअर, बाबुको विरोध र आमाको सहयोगबीचको संघर्षबीच फिल्म अघि बढ्छ ।
‘दंगल’ गर्ल जायराले दोस्रो फिल्मबाटै आफ्नो अभिनय कौशल प्रमाणित गरिदिएकी छन् । शतप्रतिशत समीक्षकले उनको कामको तारिफ त गरेका छन् नै, आमाको भूमिकामा रहेकी मेहेर भिजले पनि मन जितेकी छन् । यति क्षमतावान उनी यतिका समय कहाँ हराइरहेकी थिइन् ? सन्काहा स्वभावको संगीतकार शक्तिकुमारको भूमिकामा देखिएका आमीर सरप्राइज प्याकेज बनेर देखिएका छन् । गम्भीर कथा र प्रस्तुतिमा श्वास दबाएर हेरिरहेका दर्शकका लागि आमीरको भूमिका राहत पनि हो । २५ करोड भारुको सानो बजेटमा बनेको फिल्मले तीन दिनमा लगानी उठाएको छ ।
अद्वैत चन्दनको लेखन तथा निर्देशन रहेको ‘सेक्रेट सुपरस्टार’ लाई आमीर आफैंले निर्माण गरेका हुन् । अद्वैतको डेब्यु निर्देशन रहेको फिल्मको विषय सत्यमेव जयतेको पहिलो सिजनबाट निस्केको थियो । उक्त सिजनको एक भागका लागि घरेलु हिंसाको बारेमा गरिएको अनुसन्धानमा अद्वैतले घरेलु हिंसा भोग्न विवश एक एकल महिला जो पतिको मृत्युपछि ड्राइभिङ सिक्न चाहन्छे । छोरीले अरूका घरमा काम गरेर घर खर्च जुटाइदिएपछि ती आमाको ड्राइभरको सपना पूरा भएको थियो । अद्वैतले यही घटनालाई आधार बनाएर फिल्मको जग खनेका थिए । पछि उनले केही सबप्लटका लागि अन्य घटनालाई पनि सन्दर्भका रूपमा लिए । जसमा एक किसानका दसवर्षीय छोरा शुभम जग्लानले युट्युब भिडियो हेरेर गल्फ सिकेको किस्सा पनि रहेको बताएका छन् । निर्देशक अद्वैतलाई यिनै घटनापछि हिरोको नयाँ परिभाषा पाएको अनुभव भएको थियो । ‘यी घटनाहरूको अध्ययनपछि मलाई आफूले बुझेको हिरोको परिभाषा नै संकुचित लाग्यो । खासमा त ती चालक बन्न चाहने महिलाको छोरी पो हिरो रहिछन् । मैले यही थिममा फिल्म लेख्न थालें’ अद्वैतले भनेका छन् । फिल्मको अन्तिममा फिल्मकी हिरो मानिएकी इन्सियाले भाषणमा पनि यही कुरालाई उल्लेख गरेकी छन्, खास हिरोको उपाधि आफ्नी आमालाई दिएर ।
‘सेक्रेट सुपरस्टार’ लाई केही समीक्षकले मेलोड्रामा बढी भएकोमा आरोप लगाइरहेका बेला द गार्जियनका समीक्षक माइक म्याक्काइलले चार स्टार दिंदै भनेका छन्, ‘फस्टक्लासको इन्टरटेनमेन्ट । हिजोआज पश्चिमा फिल्महरूले फैलाइरहेको बिषविरुद्धको एन्डी डट हो, ‘सेक्रेट सुपरस्टार’ ।’

प्रकाशित : कार्तिक ११, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?