काठमाडौं — भोको मान्छेको जिन्दगी
प्रयोगशालाको कच्चापदार्थजस्तो
बित्दोरहेछ परीक्षण अवधिमै
एउटा सिंगो जिन्दगी
भोको मान्छेको जिन्दगी
प्रयोगशालाको कच्चापदार्थजस्तो
बित्दोरहेछ परीक्षण अवधिमै
एउटा सिंगो जिन्दगी
उसले मेरो मुटु लियो
गुलाबका केही तिखा काँडाहरु
मुटुको वरिपरि सिउरिदियो
अनि मैमाथि परीक्षण गर्यो
उसले मबाट सपना लियो
बदलामा ठूलो झन्डा बोकायो
अनि मैमाथि परीक्षण गर्यो
उसले कोकाकोला खुवाएर
मेरो नसा–नसाबाट रगत लियो
अनि मैमाथि परीक्षण गर्यो
चिरफार गर्यो
टुक्रा–टुक्रा पार्यो
अनि गरिरह्यो
भोको पेटमाथि परीक्षण
त्यो अमेरिकाले बम हान्न
मैबाट परीक्षण गरेको हो
उसले प्रहार गरेको पहिलो बम
मजस्तै भोको मान्छेको
छातीमा ठोक्किएको हो
मार्गरेट थ्याचर र रोनाल्ड रेगनले
प्लास्टिकको मान्छे बनाउन
मैबाट थालनी गरेका हुन्
पृथ्वीनारायणको चोर औँला भन्नुस् या
जंगबहादुरको मुलुकी ऐन
सबै मैमाथि परीक्षण गरिएको हो
हुँदाहुँदा
अब त यस्तो लाग्न थालेको छ
यो जिन्दगी कुनै खेल मैदान हो
जहाँ कहिल्यै खेल्न नपाउने
आजीवन ‘जगेडा’ खेलाडी हुँ म
परीक्षण गर्न बाँकी
अब केही छैन जीवनमा
मात्र बाँकी छ अब
चाल्नोजस्तो छातीमाथि
बग्रेल्ती टाँसिएका
बहुराष्ट्रिय कम्पनीका लोगोहरु
अब बाँकी छ त केवल
आफ्नै करङले बेरेको
झुपडीको ठीक मुनि
पड्किन बाँकी
आधा बमजस्तो जिन्दगी
यो खेल मैदानबाट उठेर
अब खेल्न मन छ एउटा
जीवनकै सबभन्दा ‘रफ’ खेल ।