गुआर्डिओलाको नयाँ अध्याय

फुटबल
सुवास हुमागाईं

काठमाडौं — खेल सुरु भएको ३ मिनेट, टोलीका सबै ११ खेलाडीको सहयोगमा ५२ पास, विपक्षी खेलाडीले बल छुँदै नछोएको अवस्था अनि गोलरक्षकले छेकेर फर्केको बलमा लेरोय सानेको सुरुआती गोल । म्यानचेस्टर सिटीले लिग कपको खेलमा वेस्ट ब्रमलाई पराजित गर्दा सुरुको तीन मिनेट आकर्षक थियो ।

म्यानचेस्टर सिटीले यस सिजनका सबै खेलमा सुरुआत यति सुन्दर नपाए पनि नतिजा भने आफूअनुकूल पाएको छ, लिगमा अपराजित रहँदै शीर्ष स्थान, च्याम्पियन्स लिगमा शतप्रतिशत जितसँगै दुई खेल बाँकी छँदै दोस्रो चरण प्रवेश अनि लिग कपमा क्वार्टरफाइनलको यात्रा तय गर्दै । म्यानचेस्टर सिटीका समर्थकले पेप गुआर्डिओला प्रशिक्षक नियुक्त हुँदा सपना यस्तै देखेका थिए होलान् ।

ती समर्थकका लागि तीतो सत्य भनौं, गत वर्ष म्यानचेस्टर सिटीको प्रशिक्षकका रूपमा पहिलो सिजन पेप गुआर्डिओलाको लागि सुखद रहेन । स्पेनमा बार्सिलोना र जर्मनीमा बायर्न म्युनिखको प्रशिक्षक रहँदा उपाधिको वर्षात् गराएका गुआर्डिओला सिटीमा पहिलो सिजन उपाधिविहीन बन्नुपर्‍यो । सिजनको समाप्तिसँगै गुआर्डिओलाले ट्रान्सफर विन्डोमा टोलीको संरचना बदले । उनले पछिल्लो दुई सिजनमा पहिलो टोलीमा खेलिरहेका १६ खेलाडीलाई अन्य क्लबमा बेचिदिए । उक्त कदमका कारण निकै आलोचना खेपका उनले आफ्नो योजनामा सुहाउँदा विश्वस्तरीय खेलाडी भित्र्याउन मोटो रकम खर्चे । त्यसको बदलामा उनले सिटीलाई विश्व फुटबलमा अब्बल क्लबको रूपमा उभ्याए ।
सिजनको सुरुआतदेखि अहिलेसम्म कुनै पनि प्रतियोगितामा खेल नहार्ने सिटी प्रिमियर लिगको एक्लो क्लब हो । पछिल्लो सिजनदेखि जारी रहेको अपराजित यात्रा त छँदै छ, सिटीले यस सिजन खेलिरहेको फुटबल छुट्टै दर्जामा राख्न सुहाउँदो छ । गुआर्डिओलाले गत सिजन टोलीमा निकै समस्या देखिएको गोलरक्षण र साइड डिफेन्समा केही विश्वस्तरीय खेलाडी भित्र्याएसँगै टोलीको प्रदर्शनमा निकै सुधार आएको छ ।


डिफेन्डिङ च्याम्पियन चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेका अनुसार प्रिमियर लिगको शीर्ष टोलीका लागि म्यानचेस्टर सिटी ठूलो समस्याको रूपमा उदाएको छ । उपाधिको आकांक्षा राखेका क्लबलाई फराकिलो हारको बाटो देखाएको सिटीलाई अन्य क्लबले तर्साउने आँट पनि गर्न सकेका छैनन् । प्रिमियर लिगको ११ खेलमा सिटीले ३८ गोल गरेको छ, जुन प्रतिखेल साढे तीन गोल बराबर हुन आउँछ ।
सिटीले लिगको पहिलो चरणमा शीर्ष क्लबमध्य छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र टोटेनहमको मात्र सामना गर्न बाँकी छ । सिजनअगाडि बढ्दै जाँदा टोली झनै बलियो हुँदै गइरहेको छ । चोटका कारण विश्राममा रहेका खेलाडी पनि मैदानमा फर्किरहेको अवस्था छ । सिजनको सुरुआतमा नयाँ खेलाडीहरू टोलीमा समन्वय गर्न कठिन भए पनि अहिले त्यो निर्मूल भइसकेको छ । यस्तोमा सिटीलाई रोक्न कठिन देखिन्छ ।
यी सबैका बाबजुद प्रशिक्षक गुआर्डिओला अहिले नै सिटीलाई आफ्ना पछिल्ला दुई टोलीसँग दाँज्न उचित नरहेको मान्छन् । आर्सनलविरुद्ध गत शनिबार जित दर्ता गरेलगत्तै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘पछिल्लो दुई महिना सिटीको लागि निकै राम्रो रह्यो । हामीले प्रिमियर लिग, च्याम्पियन्स लिग र लिग कपका सबै खेलमा जित हात पार्यौं, जुन हासिल निकै कठिन थियो,’ उनले भने, ‘म निकै खुसी पनि छु । तर बायर्न र बार्सिलोनामा यस्तो प्रदर्शनसँगै उपाधि पनि थिए । जुन सिटीमा अहिलेसम्म हासिल गर्न नसकेको अवस्था छ ।’ उनले थपे, ‘जबसम्म हामीले केही उपाधि जित्दैनौं, हामीले अन्य टोलीसँग दाँज्न उचित हुन्न । यसको मतलब हामीले पछिल्लो दुई महिना खेलेको फुटबल राम्रो थिएन भन्ने आशय पक्कै होइन ।’
गुआर्डिओला टिकी—टाका फुटबलका लागि प्रसिद्ध छन् । पोसेसन फुटबल खेलेर विपक्षीलाई आजित बनाउने उनको शैली प्रिमियर लिगमा भने अझै परिस्कृत भएर आएको छ । स्पेनको बार्सिलोनामा मेसी, इनिएस्टा र जाभीसँग सफलता हासिल गरेका गुआर्डिओलाले बायर्नमा त्यसलाई थोरै परिवर्तन गरे । आफ्नो योजनाअनुसार खेलाउन उनले फिलिप लाह्मलाई सेन्टर मिडफिल्डमा ल्याए । जर्मनीमा बढी शारीरिक संघर्ष गर्नुपर्ने हुँदा उनले लेवान्डोस्की र भिडालजस्तो खेलाडीलाई पनि उत्कृष्ट ढंगले व्यवस्थापन गरे, जुन बार्सिलोनामा रहँदा सायदै देखिन्थ्यो । उनले बार्सिलोनामा ज्लाटन इब्राहिमोभिच, डीमिट्रो चिग्रिन्स्की, एल्क्जेन्डर ह्लेबजस्ता खेलाडीलाई खासै अवसर दिएनन् ।
प्रिमियर लिगमा पनि पहिलो सिजन उनले लिगको मागअनुसारको खेल प्रदर्शन गर्न सकेनन् । अघिल्ला दुई लिगको तुलनामा निकै छिटोछरितो प्रिमियर लिगमा उनले आफूले चाहेअनुसारको खेल अन्त्यतिर मात्र पाए । यस सिजनको सुरुआतमा त्यसैअनुसार खेलाडी उपयोग गरेर उनले अपराजित यात्राको सुरुआत गरेका छन् । अहिलेको प्रदर्शन हेर्दा, यो यात्रा रोक्न विपक्षी टोलीले ठूलै कसरत गर्नुपर्ने देखिन्छ । ब्रिटिस पत्रिका द इन्डिपेन्डेन्टका पत्रकार जोनाथन लिउका अनुसार सिटीको विपक्षी टोलीले ‘पर्फेक्ट फुटबल’ खेलेको खण्डमा मात्र सिटीसँग कुनै टोलीले प्रतिस्पर्धा गर्न सक्नेछ । अन्यथा विपक्षी टोलीले नतिजाको आशा गर्नु बेकार हुनेछ । उनको भनाइमा असहमति जनाउने सायदै कोही भेटिएला ।
अहिलेको म्यानचेस्टर सिटीको टोली प्रतिभाशाली युवा खेलाडी र विश्वस्तरीय प्रशिक्षकको तालमेल मिल्नुको उपज हो । सिटीले सामान्यतया ४–३–३ को रणनीतिमा अपनाएर खेलिरहेको छ । केभिन डे ब्रुएन र लेरोय साने खेल अवधिभर सायदै अडिएर बसेका हुन्छन् । एक समय विपक्षीको बल खोस्न कुदेका उनीहरू आफ्नो टोलीको खुट्टामा बल पुग्दा विपक्षीको भागमा पुगिसकेका हुन्छन् । फर्नान्डिन्होको रूपमा सिटीले पेपलाई सुहाउँदो अलराउन्ड मिडफिल्डर पाएको छ । सर्जियो अगुइरो र ग्याब्रिएल जेससमध्य धेरैजसो एक फरवार्डले सुरुआत गर्ने भए पनि बेन्चमा बसेकाले पनि वैकल्पिकको रूपमा आएर खेलमा आफ्नो उपस्थिति देखाएका हुन्छन् । डिफेन्समा पछिल्लो सिजनभन्दा सुदृढ देखिएको सिटीले एडरसनको रूपमा राम्रो गोलरक्षक पाएको छ । आक्रामक रूपमा अब्बल ठहरिंदा पनि पेपले गोलरक्षककै प्रशंसा गरेका हुन्छन् ।
११ खेलमा ३१ अंक जोडेको अपराजित सिटीले लिगको दोस्रो खेलमा एभरटनसँग बराबरी खेलेको थियो । त्यसयता सबै खेलमा जित हासिल गरेको सिटीलाई अन्य टालीले रोक्न नसके प्रिमियर लिगको उपाधि त जित्छ नै, सँगसँगै अनेकौं कीर्तिमान पनि तोडिने सम्भावना छ । च्याम्पियन्स लिगमा इटालियन लिगको शीर्षस्थानमा रहेको नेपोलीलाई दुवै लेगमा पाखा लगाएर शीर्षस्थानमा रहँदै दोस्रो चरणको टिकट पक्का गरिसकेको छ । लिग कपको क्वार्टर फाइनल पुगेको सिटीको सुरुआती योजना पेपको प्रशिक्षकत्वमा रहेर उपाधि जित्ने हुनेछ । यसका लागि उसले लगातार हालको प्रदर्शनलाई निरन्तरता दिनुपर्ने हुन्छ । नयाँ अध्याय सुरु गरेका गुआर्डिओलाले सिजनको अन्त्यसम्म नयाँ कीर्तिमानको ठेली नबनाउलान् भन्न सकिन्न ।
Twitter @SubasTheOne

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्