जीवनको वासना

टिप्पणी
अनन्त वाग्ले

काठमाडौं — सम्पन्न देशहरूमा दूध, ल्याक्टोजिनजस्ता बेबी फुडदेखि बालबालिकाका अन्य सरसामान किन्दा पनि कथाका पुस्तक उपहार दिने प्रचलन छ । जन्मदिन, चाडपर्व या विशेष भेटघाटमा दिइने उपहारमा पनि पुस्तक रोजा विषयमा पर्छ ।

जीवनको वासना

हामी पहिरन, जीवनशैली र खानपानमा अन्धाधुन्ध विदेशी नक्कल गरिरहेका र्छाँै भने यस्ता कुराचाहिँ किन नक्कल नगर्ने ? अन्तराष्ट्रिय बाल दिवसका सन्दर्भमा एक आलेख: 

दृश्य १ : साँझको समय । साना नानी टेलिभिजनमा कार्टुन हेर्दै छन् । पार्टीबाट फर्केर मम्मी भाइबरमा मस्किरहनुभएको छ । बाबा मेसेन्जरमा मस्त । बज्यै बेला–बेला फत्फताउनुहुन्छ । बाजे एकसुरले टोलाइरहनुभएको छ ।

दृश्य २ : उही समय । अँगेनाको वरिपरि सबै जना आगो ताप्दै छन् । आटमा पिलपिल टुकी बलिरहेको छ । बज्यै सुनकेशरी मैयाँको कथा सुनाउँदै हुनुहुन्छ । नानीहरू कौतूहलपूर्वक कथा सुन्दै छन् । बीच–बीचमा नानीहरू विविध जिज्ञासा राख्छन् र बाजेबज्यै खुसी हुँदै जिज्ञासा शान्त गर्छन् । 

औसत नेपाली परिवारका आधुनिक र परम्परागत दृश्य हुन् यी । पहिलो दृश्य सहरिया परिवारको हो । गाउँमा भए बाबु अरबमा हुन सक्छ । दोस्रो केही दशकअगाडिको । आधुनिकीकरण र विज्ञान प्रविधिको विकासले जीवनशैली सहज त बनेको छ । यद्यपि त्यसले थुप्रै जटिलता निम्त्याएको छ । साना नानीको बालापन पनि जटिलतामा जेलिएको छ । घरमा उनीहरू न्यु मिडिया र ग्याजेटमा रुमल्लिछन् । स्कुलमा किताब रटाइन्छ । रट्ने विद्याले तिनको रच्ने क्षमताको विनाश भइरहेछ । धूलो–माटोमा लडिबुडी गर्दै, आफैँ बनाएका भाँडाकुटी खेल्दै अनि स्वैरकल्पनाले भरिएका कथाहरू सुन्दै गर्दा उनीहरू जति कल्पनाशील हुन्थे, सिर्जनशील हुन्थे आज त्यसमा गिरावट आइरहेको छ । सहरमा बस्नेले गाउँ नबुझ्ने, सम्पन्नले विपन्नता बोध नगर्ने, देशको भूगोल, इतिहास, भाषा, संस्कृति र आम जीवनशैलीसँग साक्षात्कार नगर्नाले विभेदका खाडल पनि गहिरिँदा छन् ।
यसको समाधानमा किताब एउटा उपाय हुन सक्छ । पठन संस्कृतिलाई मानिसमा करुणा र विवेक भर्ने माध्यम बनाउन सकिन्छ, जसले बालबालिकालाई सिर्जनशील बनाउँछ । राष्ट्रकवि माधव घिमिरेले पनि बालककालमा कान्छी ज्यामैले सुनाएका दन्त्यकथा र बूढापाकाबाट सुनेका श्लोकले आफ्नो सिर्जनशीलता मुखरित भएको बताएका छन् । अनुसन्धानहरूबाट के पत्ता लागेको छ भने बालबालिकालाई पोषण र सन्तुलित भोजनले शारीरिक विकासमा सघाउ पुर्‍याएजस्तै असल पुस्तकले उसको मानसिक विकासमा त्यत्तिकै महत्त्व राख्छ ।
हामी पहिरन, जीवनशैली र खानपानमा अन्धाधुन्ध विदेशी नक्कल गरिरहेका र्छाँै भने यस्ता कुराचाहिँ किन नक्कल नगर्ने ?
साँच्चै मानिस र किताबको नाता युगौँ पुरानो छ । ईपू ३५ सय वर्षभन्दा अघिदेखि क्ले ट्याब्लेट अर्थात् माटाको खबटामा क्युनिफर्मका रूपमा सुरु भएको पुस्तक प्रकाशन अहिले हल्काफुल्का, विभिन्न कलेवरका वासनादार कागज र आकर्षक साइजमा आइपुग्दासम्म किताबको यात्रा अकल्पनीयझैँ लाग्छ । 
किताब साँच्चै मानिसको नि:स्वार्थ र असल साथी हो । के तपाईं एक्लो महसुस गर्नुहुन्छ वा आफूलाई अस्वीकृत ठान्नुहुन्छ ? या बोर, वितृष्णा र चिडचिडाहटले ग्रस्त हुनुहुन्छ ? यस्तो अवस्थामा प्रिय साथी, सल्लाहकार वा मनोविमर्शदाताको रूपमा किताबले काम गर्न सक्छ । किताब यस्तो विश्वासपात्र हुन्छ, जसले कहिल्यै तपाईंको गोपनीयता भंग गर्दैन । कहिल्यै ब्ल्याक मेल गर्दैन । कुनै माग या आशा अपेक्षा पनि गर्दैन । 
हामी जस्तासुकै दूरदराजमा पुगौँ, भूगोल, मानिस र जीवनशैली अपरिचित हुन् । किताबले सहजै समय बिताउन सघाउँछ । सम्बन्धित विषयकै किताब भए त त्यो नयाँ परिवेशमा घुलमिल हुन पनि 
सिकाउँछ । किताब हाम्रो यात्राको अभिन्न साथी हो, जसले हामीलाई कहिल्यै एक्लो हुन दिँदैन । यो एउटा अनमोल गाडधन पनि हो, जसभित्र हामीलाई मन पर्ने अकल्पनीय खजानाहरू हुन्छन् । सायद किताब नहुँदो हो त संसारमा डिप्रेसन र आत्महत्याको अवस्था सम्हालिनसक्नुको हुन्थ्यो । किताबले डिप्रेसन नियन्त्रणमा चिकित्सा विज्ञानले भन्दा कैयौँ गुना बढी काम गरेको हुनुपर्छ ।
किताबमा हुने आफ्नो रुचिको विषयको विस्तृत ज्ञान त छँदै छ, आख्यानका घटना, परिवेश र पात्रका संघर्षले बालबालिकालाई सधैँ जीवन र जगत्प्रति आशावादी बनाउँछन् । हामीकहाँ अझै पनि किताब या पढाइ भनेपछि विद्यालय/विश्वविद्यालयका कोर्स बुक मात्र सम्झने साँघुरो सोचाइ जीवितै छ । कोर्स बुकले जीवनका आंशिक कुरा मात्र समेटेको हुन्छ । अर्थात् कोर्सको पढाइ अधुरो र अपुरो हुन्छ । त्यसैले जोकोहीले पनि बाहिरी किताबमा विचरण गर्नैपर्छ । अझ हाम्रा सन्ततिलाई त जतिसक्दो चाँडो दुनियाँसँग परिचित गराउन कोर्सभन्दा बाहिर लैजानैपर्छ । नत्र उनीहरूभित्रको असीम उत्साह र अखण्ड प्रतिभा प्रस्फुटन हुनै नपाई मुर्झाउन पनि सक्छ । 
धेरै मानिस घर बनाउँछन् । भित्री सजावटमा पनि खुब ध्यान दिन्छन् । बैठक, भान्सा, सयन कक्ष सबै एक से एक हुन्छ । कतिपयले त बार पनि सजाएका हुन्छन् । ती सानदार घरमा जब एक र्‍याक पुस्तक पनि हुँदैन, ती सबै चमकधमक फिक्काफिक्का र निर्जीव लाग्छन् । बरु झुपडी नै होस्, जहाँ केही किताब छन्, त्यहाँ जीवनको वासना पाइन्छ । बालककाल पनि जीवनमा मगमगाउँदो वासना भर्ने समय हो र किताबले तिनमा त्यो सुवास भर्न सक्छ । अनि जसले आफूमा सुवास भरेको हुन्छ, उसैले समाजलाई सुवासित बनाउने खुबी राख्छ । 
हिजोआज पठन संस्कृति विकासमा विद्युतीय सञ्चार माध्यम एउटा चुनौतीका रूपमा उपस्थित छ । रेडियो, टेलिभिजन, सिनेमा, कम्प्युटर, मोबाइलजस्ता माध्यमबाट ज्ञान र मनोरञ्जनका विभिन्न सामग्री प्राप्त हुनाले कतै किताबको प्रयोजन घट्दै गएको पो हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ । यद्यपि सूचना र सञ्चार प्रविधिमा जतिसुकै विकास भए पनि किताबको बेग्लै महत्त्व छ र यसको प्रभावकारिता घट्ने सम्भावना कमै छ । पुस्तकप्रेमी र असल पाठकहरू भन्छन्— किताबको स्वाद अरू कुनै माध्यमबाट पनि पाइँदैन । त्यसैले त अहिले पनि संसारमा हरेक दिन तीन हजार टाइटलका नयाँ नयाँ पुस्तक दैनिक सार्वजनिक भइरहेका हुन्छन् । 
सानो उमेरमा बालबालिकाले जति धेरै किताब पढे, उनीहरूको भाषा पनि त्यत्तिकै राम्रो हुन्छ । जसको 
भाषा राम्रो छ, त्यसले अध्ययन, रोजगारलगायत हरेक क्षेत्रमा सफलता पाउँछ । भाषामा राम्रो भएका बालबालिकाको अरू सबै विषयमा पनि राम्रो नतिजा पाइन्छ । यी तथ्य अनुसन्धान तथा दृष्टान्तहरूबाट प्रमाणित छन् । 
हाम्रोजस्तो भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता भएको देशमा भने पुस्तक संस्कृति विकासमा बेग्लैखाले समस्या पनि छन् । एकातिर अविकसित र दुर्गमका बालबालिकाको पुस्तकमा पहँुच नै छैन । त्यहाँका विद्यालयहरूमा पुस्तकालय छैनन् र अभिभावक तथा शिक्षकमा समेत पुस्तकको महत्त्व बोध छैन । अर्कातिर सहरिया समुदायमा न्यु मिडिया र ग्याजेटको हावीले बालबालिका त्यतै अल्मलिएका छन् । कार्टुन र भिडियो गेममा उनीहरू खुबै लट्ठिन्छन् भने खुला च्यानलहरूका कारण जुनसुकै कार्यक्रम पनि उनीहरू हेरिदिन्छन् । कतिपय हिंसात्मक र आपराधिक खालका दृश्यले उनीहरूको मानसिक विकासमै नकारात्मक प्रभावसमेत बढ्दै गएको छ । संसारका विकसित देशहरूमै पनि यो एउटा समस्या बनिरहेको छ । कुनै किशोरले अन्धाधुन्ध गोली चलाएर कैयौँको ज्यान लिएका जस्ता समाचार बरोबर आउन थालेका छन् । 
नानीदेखि लागेको बानी नै दिगो र टिकाउ हुन्छ । त्यसैले हाम्रा साना नानीहरूमा पुस्तक पढ्ने बानी बसाल्नका लागि प्रारम्भिक कक्षामै पढ्ने सीप र पढ्ने बानी बसाल्नु जरुरी छ । कक्षा ३ सम्ममा पढ्ने सीप तथा पढ्ने बानीको विकास भइसक्नुपर्छ भन्ने आधुनिक शिक्षाको मान्यता छ । पढ्ने क्षमता जति बढ्यो, उतिउति पढ्नमा रुचि पनि बढ्दै जान्छ । आफूलाई मन परेको किताब आफैँ खोजेर, किनेर, मागेर या टिपेर पढ्ने रहर या उत्साह, जाँगर पैदा हुनु नै पढ्ने बानी हो । यसतर्फ उनीहरूलाई उत्प्रेरित गर्नु आवश्यक छ । यसरी उत्प्रेरित भइसकेका र किताबलाई आफ्नो जीवनशैली बनाइसकेकालाई हामी स्वतन्त्र पाठक भन्छौँ । साक्षरता वृद्धिसँगै हामीले स्वतन्त्र पाठकको सङ्ख्या पनि बढाउनु जरुरी छ । वास्तवमा स्वतन्त्र पाठक नै आफ्ना समस्या हल गर्न र बुद्धि, विवेकसाथ आफ्नो जीवन सरस र सहज बनाउन सक्षम हुन्छन् ।
मुलुकमा जति बढी नागरिकमा पढ्ने बानी हुन्छ, त्यति नै बढी जिम्मेवार र विवेकशील नागरिक तयार हुन्छन् । यसले गर्दा नागरिकको जीवन सहज, समुन्नत हुने त छँदै छ राष्ट्रकै समग्र विकासमा यसले ठूलो भूमिका निर्वाह हुन सक्छ । त्यसैले पनि हाम्रोजस्ता विकासोन्मुख देशको सन्दर्भमा पठन संस्कृतिको अझ महत्त्व छ ।
विख्यात लेखक रस्किन बोन्ड भन्छन्, ‘सक्दो धेरै साथीहरू बनाऊ र सकेसम्म धेरै पुस्तक पढ । यसबाट नै तिम्रो जीवनमा शान्ति र आनन्द सम्भव छ ।’
साँच्चै भन्ने हो भने असली पढाइका लागि चार पर्खालले बन्द कक्षाकोठाको आवश्यक छैन । पढाइ भनेको सूचना र ज्ञान हो । सूचना भएन भने हामी बदलिँदो समाजमा लाटो बन्छौँ । हरेक विषयमा अपडेट भएनौँ भने हामी आउट डेटेड हुन्छौँ । पढाइ भएन भने उत्साह र उमङ्ग हुँदैन । उत्साह र उमङ्ग भएन भने जीवन जिउन कठिन हुन्छ । जीवनमा सकारात्मक रूपान्तरणका लागि पनि पुस्तक अपरिहार्य छ । पढाइ अति आवश्यक छ । अंग्रेजीमा एउटा भनाइ नै छ : ‘गुड रिडर इज द गुड लिडर’ ।
संसारमा नित्य नवीन आविष्कार र विकास भइरहेका हुन्छन् । प्रविधिमा आएको फड्कोले संसारै एउटा गाउँ (ग्लोबल भिलेज) बनेको छ । हामी जहाँ जुनसुकै बेला संसारको कुनै पनि कुनाको मानिससँग अनुहार हेरीहेरी संवाद गर्न सक्छौँ । हत्केलाको सानो स्क्रिनमा जुनसुकै विषय भेट्न सकिन्छ । यो अत्याधुनिक समयमा आफूलाई अपडेट राख्न र आफ्नो विषयगत क्षेत्रमा विकास भइरहेको नयाँ प्रविधि र प्रवृत्तिसँग सहज भइरहनका लागि पनि पुस्तक पठन आवश्यक छ । पढ्नुका फाइदा अनेक छन् । हरेकले यो फाइदा लिनका लागि आफूभित्र निष्क्रिय र मौन बसेको पाठकलाई ब्युँझाउनु र जगाउनु छ । अनि बालबालिकामा असल किताबमार्फत समयमै त्यो ऊर्जाशील पाठकलाई हुर्काउनु जरुरी छ । 
पुस्तक तथा पठन संस्कृतिबाट नै हाम्रो बदलिँदो समाज शान्त र विवेकी बन्नेछ । सभ्य र ज्ञानवान हुनेछ । शक्ति र समृद्धि पनि यसैमा निहित छ । अनि हाम्रा प्रिय कवि भूपी शेरचनले यी हरफ लेखिरहनुपर्ने छैन :
‘हामी वीर छौँ
तर बुद्धू छौँ
हामी बुद्धू छौँ 
र त हामी वीर छौँ.. .. ।’ 

प्रकाशित : मंसिर २, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?