संवेदनाको गोदावरी

समीक्षा
कुमारी लामा

फरक दृष्टिकोण खोजिरहेको छ समय । लेखनमा पनि भिन्न शैली, प्रस्तुतिसाथै नवीन विषय पर्खिरहेका छन् पाठक । छरपस्टै छन् लेख्नुपर्ने कुराहरू । टिप्नुपर्ने विषयहरू अलपत्रै परिबसेका छन् आँखा डिलमै । हामी फेरि पनि लेख्ने कुरा या भनौँ अभिव्यक्तिको सकसमा पर्छौं । लाग्छ अब त लेख्ने कुरै पो सकिएछन् कि ।

डरलाग्दो हुँकार र उचो आवाजमा चिच्याइरहेका छन् कविहरू । आईएनजीओको विशेष नजर परेको विषय मोहमा लहसिएको भेटिन्छन् निकै उपन्यासकारहरू । किन नजरअन्दाज भइरहेको छ इतिहासको गर्तमा लुकेको फरक इतिहासका कुरा ? किन अझै लेखिन बाँकी भएका होलान् कल्पनाको उच्चतम उडानले भरिएका साइन्स फिक्सनहरू ? या किन अझै कोसौं टाढा बसिरहेका छन् लेखकहरू मानिसभित्रका अनेकन मनोभावका कुराहरूबाट ? हामी वरपरको परिवेशमा पनि हिमाल या मधेसका कुरा अझै गहिरिएर हेर्न बाँकी नै छ । अझ कति हो कति बाँकी छन् नजिकिन फरक यौनिकता भएकाहरूसँग पनि । सायद यस्तै–यस्तै केही नयाँ विषयहरू पर्खिबसेका हुन सक्छन् धेरै पाठकहरू ।
पछिल्लो समय यस्तै नयाँ विषय खट्केको बखत श्याम शाह झुल्किए मधेसका मुद्दा र त्यहाँका दारुण कथाहरू बोकी कथासंग्रह ‘अब्बा’ मार्फत । थोरै राहत पाए प्रतीक्षारत साहित्य पारखीले । लगत्तै आयो राजनीतिक सामाजिक विसंगतिको उबडखाबडलाई व्यंग्यात्मक शैलीमा राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’ नामक कथासंग्रह । पाठकहरूको उत्साहमा साथ दिन फरक विषय र भिन्न शैलीका साथ कथासंग्रह ‘कठपुतला’ लिएर आएकी छन् अर्चना थापा । पछिल्ला समय आएका सशक्त कथासंग्रहहरूले अब नेपाली साहित्यमा फेरि कथाको समय फर्किआएको संकेत दिन्छ । यही आशा भरिएको मीठो समयमा आइपुगेका छन् महेश पौड्याल ‘फुलेन गोदावरी’ कथासंग्रहका साथ ।
एक दर्शक दृष्टि पक्कै निरीह हुन्छ भर्खरै आफ्नो सन्तान गुमाएको एक पिताको मनोदशा बुझ्न । एक रमिते न हो दर्शक भन्नु त । बाहिरी आवरण मात्र त देखिन्छ रमितामा तर खाँटी कुरा त भित्र लुकेको हुन्छ, मनभित्र । महेश पौड्यालको ‘त्यसपछि फुलेन गोदावरी’ संग्रहभित्रका प्राय: कथा मानवीय संवेदनाका भित्री तहहरू छाम्न सफल छन् । यस अर्थमा उनका कथा मनका नजिक छन् । हामीलाई संवेदित पार्ने विषयहरू टिपेका छन् उनले । ती विषयहरूभित्र परेका छन् मानवीय सम्बन्ध, संवेदना, मनोविज्ञान, प्रेम, निराशा, मृत्यु साथै विस्थापनका अनेक पाटाहरू ।
आजको चलायमान समयको उपज हो बसाइसराइ या अर्को शब्दमा विस्थापन । गाउँबाट सहरमा अनि सहरबाट विदेशमा विस्थापित भइरहेका छन् धेरै नेपाली । गाउँहरू रित्तिँदै छन् । साथै खाली–खाली हुँदै छ गाउँघर कुरिबसेका रहलपहल वृद्धवृद्धाका मन पनि । कि त उडिजाने सन्तानकै पछि लाग्नुपर्‍यो नत्र एक्लो एकलासमा बिरानिएर बस्नुको विकल्प छैन उनीहरूसँग । निदाल कथाभित्रका पात्र धर्म बराल छोराकै पछि लाग्ने निधो गर्छन् । नेपालको पूर्वी पहाडी गाउँ सुलुबुडबाट बसाइ सर्दै छ धर्म बरालको परिवार । एउटा लामो पारिवारिक विरासत बोकेको घर भत्काइँदै छ । घरसँगै भत्कँदै छ कुलदेवता थान, एउटा इतिहास, त्यस घरसँग जोडिएका अनेकन सुख–दु:खको पहाड, र भत्कँदै छ मन, सायद एउटा सिङ्गो जीवन पनि । घरको छानो, भित्तो, खाबो, मटानसँगै निदाल ढलेपछि ढल्छ धर्म बरालको मन पनि । उनी अब कहिल्यै उठ्न नसक्ने गरी ढल्छन् । त्यो ढलाई सम्भवत: एउटा विम्ब हो विस्थापनसँगै ढल्ने र मासिने लामो इतिहासको । धर्म जस्तै–जस्तै कैयौँको मन ढलेको छ आजकल । लेखक समयको बहावलाई टपक्कै टिप्न सफल छन् ।
विस्थापन मानिसको मात्र नभई कतिपय पेसाको पनि हुने रहेछ । हुलाकी नामक निकै शक्तिशाली कथामा पौड्यालले औंल्याएका छन् परिवर्तित समय र विज्ञान प्रविधिको विकासले विस्थापित अवस्थामा पुगेको हुलाकीको पीडा । सुलुबुङ गाउँको प्रत्येक घरको राम्रो नराम्रो घटना बोकी ल्याइदिने हुलाकी तीस वर्ष बसेको त्यस गाउँबाट विस्थापित भएको छ आज । हातहातको मोबाइल र इन्टरनेटको एक क्लिकमा सारा संसार थाहा पाइने जमानामा अब हुलाकी केवल एक बुख्याचा भएको छ । आज पनि काठमाडांैका चोकहरूमा कहिले नखोलिने ताल्चा ठोकिएका पत्रमञ्जुषाहरू खडा छन् । ती एक समयका चलायमान बाकस आज मात्र सडकको धूलोले पुरिँदै छ । कुनै दिन अकस्मात ती बाकसहरू गायब भए कुनै आश्चर्य हुने छैन । आजकल धरापमा परेको तर लामो इतिहास बेकेको हुलाक सेवाप्रतिको लेखकको फरक दृष्टि पाठकको मनलाई छुने तरिकाले प्रस्तुत भएको छ । सुलुबुङ छाडेर ओरालो झर्दै गरेको बेनामे हुलाकीले उनीजस्तै अनेकन हुलाकीको प्रतिनिधित्व गर्छ ।
महेशको कथाको परिवेश निकै फैलिएको छ । उनी कहिले सुलुबुङ कहिले काठमाडांै त कहिले मनिपुरतिर पनि पुर्‍याउँछन् । शीर्ष कथा ‘त्यसपछि फुलेन गोदावरी’ ले युद्धको विद्रूपताको पराकाष्ठा पस्केको छ । एक छापामार, मन, भावना र कोमलताभन्दा पर रही मात्र एक योद्धाको धर्म निर्वाह गर्न बाध्य हुन्छ । नचाहँदा नचाहँदै पनि उसले छिनाउँछ एक जोडी निर्दोष गर्धन । आङ सिरिङ्ग बनाउँछ मनिपुरतिरको युद्ध समयको यस कथाले । जातीय, धार्मिक या अन्य बहानामा भएका नरसंहारका यस्ता घटना मानव सभयताकै लागि आज एक चुनौती भएको छ ।
कथाकार बहुतै कुशल छन् बालमनोविज्ञानसँग खेल्न । यस संग्रहमा धेरै छन् बालबालिकाका कथाहरू । ती कथाहरूमा बिल्कुलै नयाँ विषयहरू नभए पनि त्यसप्रतिको उनको ट्रिटमेन्ट भने नौलो छ ।
बालबालिकाका विषयका कथामध्ये ‘भुवन’, ‘कर्णालीको पल्लो किनार’ जस्ता कथाहरूमा कथाकारले निकै मिहिन ढंगमा बाल मनोदशा चित्रण गर्न सफल भए पनि केही कथामा भेटिने नाटकीयतासाथै सरल सपाट वर्णनले ती कथाहरू केटाकेटीहरूकै लागि मात्रै पो लेखिएको हो कि भन्ने लाग्न सक्छ पाठकलाई । ‘अदालतबाहिर’ नामक कथा पढ्दा उनी अझै बालसाहित्यकार प्रभावबाट मुक्त हुन नसकेको भान हुन्छ ।
उनले महिलाको विषयमा उठाउन खोजेको केही कथामा पनि ती महिला पात्रको चित्रणमा न्याय गर्न सकेको देखिँदैन । ‘रश्मि’ नामक कथामा एक शिक्षित स्वावलम्बी एकतीस वर्षीया रश्मिले केही कामबेगरको उन्नाइसवर्षे उरन्ठ्याउले ठिटो कर्णसँग लोग्नेको सुरक्षा खोजेको देखाइन्छ । एक प्रसंगको संवादमा रश्मिले भन्छिन्—
म यहाँ कसैलाई चिन्दिनँ । तिमीले मेरो रक्षा गर्नुपर्छ है । (पृष्ठ १७३)
आसामको घैयाबारी भन्ने गाउँबाट अलि परको बजार डिफुमा आएर आफैंले गरिखाइरहेकी महिलाको यस्तो अस्वाभाविक चित्रणले अझ पनि महिला एक्लै गरिखान सक्दिन, उसलाई पुरुषले नै सुरक्षा दिनुपर्छ भन्ने पुरुषवादी मानसिकता पाइन्छ । खासै ठूलो कारणबेगरै अन्तमा रश्मिले आत्महत्या गरेको पनि देखाइन्छ । सशक्त रूपमा उठाउन सक्ने विषय र पात्र कथा रश्मिमा त्यसै बिलाउँछ ।
महिलाकै विषयको अर्को कथा ‘उनी योगमाया भइन्’ सन्ध्यारानी नामक एक शिक्षित बौद्धिक महिलाको कथा हो जसले आत्महत्या गर्ने घोषणा गर्छिन् । उनी नेपाली मात्र हैन संस्कृत र अंग्रेजीमा पनि दख्खल भएकी एक विदुषी र विद्रोही महिला हुन् । विद्वान्हरूसँग विभिन्न विषयहरूमा धाराप्रवाह बहसमा उत्रन सक्ने ती महिलाले छोराछोरीले उनको चित्त दुखाएको निहुँमा आत्महत्याको बाटो रोज्नु बहुत आश्चर्यजनक लाग्न सक्छ पाठकलाई । त्यसमा पनि अझ असहज त के लाग्न सक्छ भने उनले मरेको लोग्नेको प्रेममा नै कैयौँ जन्मजन्मको अर्थ खोजेकी छन् । उनीजस्ती एक बौद्धिक र विद्रोही पात्रको मनोदशा चित्रणमा लेखकले न्याय गर्न सकेको देखिँदैन । योगमायाको जलसमाधि विद्रोह थियो या अन्य केही, अझै बहसकै विषय छ । योगमायाकै शैलीमा उर्लंदो गंगामा हाम फाल्ने सन्ध्यारानीको निर्णयप्रति पाठक ‘कन्भिन्स’ हुन सक्ने ठाउँ कम छ ।
उनका पात्रहरू निकै भाग्यवादी र रुढीवादी विचारले ग्रस्त हुनुमा कथाले परम्परावादी दृष्टिकोणकै पृष्ठपोषण गरिरहेझैँ लाग्छ । पूर्वजन्मको फल, ठूलो निधार भएको भाग्यमानी, दैवको साथजस्ता कुराहरू कथामा बारम्बार आइरहनाले ती पात्रहरू आफ्नो कर्ममा भन्दा पनि भाग्यमा बढी विश्वास गर्ने देखिन्छन् । ठाउँ–ठाउँमा प्रयोग भएका ‘पोइ टोकुई’, ‘सन्तान टोकुई’ जस्ता शब्द लैंगिक विभेद र महिलाप्रतिको परम्परावादी समाजको विचारलाई बढावा दिने खालका हुनाले त्यस्ता शब्दहरूको प्रयोगमा पनि लेखक सचेत हुन जरुरी देखिन्छ । संग्रहका धेरै कथाहरू विस्थापन, निराशा, मानसिक विक्षिप्तता, मृत्यु या आत्महत्यातिर पुगेर टुंगिन्छन् ।

Yamaha

प्रकाशित : मंसिर २, २०७४ ०९:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रातो आतंक

निबन्ध
कुमारी लामा

प्रत्येक महिना रातो आतंक विस्फोट हुन्छ उनको स्वतन्त्र आकाशमा । त्यसपछि ऊ एउटा कुना, नाघ्न नमिल्ने निश्चित घेरा या एउटा गोठमा थन्किन्छे । भनिन्छ, रातो शुभ, रातो जीवन, रातो ऊर्जा, रातो सपनाको रंग हो ।

रातो रगतको रंग । तर उही रातो बनिदिन्छ संशय, ग्लानि, अभर अनि पीडा । हरपल आफ्नै नसामा दौडिरहने रगतले नै फैल्याउँछ भयंकर आतंक । 

रातो... रगतको यानिकी रजस्वलाको आतंक । 

रातो पीडा
रातो, पीडाको रंग । 
छरपस्ट छन् पत्रिकाका पृष्ट भरि–भरि समाचार बनेका तुलसा शाही र कृष्णकला विकहरू । कारण, प्राकृतिक महिने चक्र, रजस्वला । कोही सास छुटेपछि त कोही सास हुँदै बन्छन् समाचार । केवल समाचार उनीहरू । पुरातन रुढीवादी सोचको तावामा डामिएर कठैबरा बनाइएका समाचारहरू । रजस्वालाजस्तो प्राकृतिक कुराका लागि पनि कलिला किशोरीहरूलाई अपराधीझैँ अलग्ग राखेर अनेकन जोखिमको सामना गर्न बाध्य पारिन्छन् । 
प्रत्येक महिनाले दिने शारीरिक असहजता त छँदै छ त्यसमा पनि थोपरिन्छ मानसिक पीडा । सुदूरपश्चिमतिरका ढल्दै उठ्दै गरेका छाउगोठ व्याप्त गाउँहरूमा मात्र हैन सहरका धेरै घरहरूमा प्रत्येक महिना कोरिन्छ एउटा निश्चित घेरा र थमाइन्छ छुट्टै प्लेट, कचौरा र गिलास । अलग हालिन्छ पानी त्यस ग्लासमा उसको लागि । सुकेपछि मात्र ती भाडाले प्रवेश पाउँछन् फेरि भान्सामा । चार दिन यही प्रक्रिया चलिबस्छ क्रमिक रूपमा । क्या पीडा । यही प्रक्रियाबाट लामो समय गुज्रिसकेपछि बनेको मानसिकता यति जब्बर हँुदो रहेछ कि सबै कुरा बुझ्दाबुझ्दै पनि अब ऊ आफैं ती सीमाहरू पार गर्न मन गर्दिन । 
एउटी मित्र छिन् जसको घरमा उनको रजस्वालाको समयमा पुग्दा निकै निराशा फैलिन्छ मभित्र । पढालेखा, जागिरे, आफ्नो अस्तित्व र स्वतन्त्रताप्रति सजग उनी प्रत्येक महिना केही दिन यसैगरी सीमामा बाँधिन्छिन् । खाएर पखाली ढोकाछेउ घोप्ट्याएको उनको प्लेट र ग्लासले खिसी गरेझैं लाग्छ उनको अस्तित्व चेतको बुलन्द अभिव्यक्तिलाई । एकपटक घरमा पानी सारिदिने कोही नहुँदा पसलबाट किनेर पिएको कुरा उनले सहजै बताउँदै गर्दा ममा भने असहजतापूर्ण औडाहा मडारिएको थियो । आखिर किन ? 
केही नराम्रो हुन्छ कि भन्ने डर लाग्छ । उनी भन्छिन्—
म अवाक हुन्छु । 
डर, त्यसमा पनि धर्मसँग जोडिएको कतिसम्म कडा हुँदो रहेछ, मैले त्यसबखत महसुस गरेकी हुँ । 
छाउगोठमा नबसे देउता रिसाउने कुराले सुदूरपश्चिमा पिरोलिनु कुन ठूलो बात भयो त । 

रातो संशय
रातो, संशयको रंग । 
क्यालेन्डरमा चिनो लाएको मिति नाघेपछि फैलिन्छ कालो शंका । ऊ आफू र समग्र महिलाहरूको स्वतन्त्रता र अस्तित्वको वकालत गरिहिँड्ने एक सजग महिला । तर प्रत्येक महिना बिताइसँगै फरक आतंकले डेरा जमाउँछ ऊभित्र । शंकैशंकाको जातोले पिँधिन्छे, घाइते हुन्छे, रन्थनिन्छे अनि अन्तत: दिनहरू कुर्न थाल्छे । एक दिन, दुई दिन, तीन दिन अनि त्यसपछि उसको शंकाले भयको रूप लिन्छ । किन त्यो देखिनुपर्ने रातो चीज देखिएन ? कतै... अनि केलाउन थाल्छे अघिल्लो महिनाको घटना । कतै त्यो (अ)घोषित प्रेमीसँगको... केही गड्बडी त भएन ? (स्वतन्त्रता र अस्तित्वको पक्षधर धेरै महिलाको भोगाइ यस्तो हुन सक्छ ।)
उनी मधुरो अनुहार लिएर देखा परिन् । समस्या रहेछ हप्ता कटिसक्दा पनि ‘पिरियड’ नहुनु । म उनको शंकाको घाउमा अलिकति मह्लम लाउने डाक्टरी भाषा बोलिदिन्छु । हप्ता–दस दिन त ‘न्याचुरल’ हो नि । उनी अलिकति आश्वस्त भएजस्तो गर्छिन् । तर त्यो हप्तापछिको केही दिन कुर्नु पक्कै दस जुनी हुनेछ उनलाई । 
(प्रत्येक सेकेन्डको ढुक्कुकी छाम्नु, ट्वाइलेट जाँदैपिच्छे भइ पो हाल्छ कि भनी आशाले हेर्नु अनि भोलि बिहान त पक्का हुन्छ भनी मनलाई थप्थपाउँदै निदाउनु उसको केही दिने रुटिन बन्छ । दुई दिनमै उनको पहिलेको मानसिकतामा कायापलट हुन्छ । ऊ सुटुक्कै आफ्नो स्वतन्त्रतामा मख्ख भई विचरण गर्ने आत्मनिर्भर महिलाबाट ग्लानि र शंकाले गलेकी निरीह स्वास्नी मानिस बनिसक्छे )
केही दिनपछि उनी उज्यालो अनुहार बोकेर झुल्किइन् । अनुहारको चमकबाटै बुझिगएँ उनलाई पिरियड भएछ । हो रैछ । अनि सुनाउन थालिन् केही दिनसम्म लगातार उनको मनमा परेको चट्याङको इतिवृत्ति । उनले भ्याएछिन् सोच्न परिवारको इज्जत, नाता–गोताको कुरा कटाइ, साथीभाइको कानेखुसीदेखि आफू पल्टिरहेको मेरिस्टोप्सको एक कुना पनि । (पिरियड केही दिन ढिला हुँदैमा उनीभित्र उर्लिएका तनावका अनगिन्ती छालहरूका पछाडि हाम्रो समाजको समग्र मानसिकता हावी छ ।
धेरै महिलाको हकमा यी र यस्ता मनस्थिति निरन्तर चलिरहने प्रक्रिया हुन् । त्यही मासिकस्राव एकातिर छाउगोठको पीडा भएर उभिदिन्छ सुदूरपश्चिमका प्रत्येक युवतीको मनमा भने अर्कोतिर कहिलेकाहींको गडबडले यातनाको बज्रपात गरिजान्छ कैयौँ ऊर्जाशील युवतीहरूको मस्तिष्कमा । त्यसैले होला उनीहरू बिस्तारै आफू साँच्चै नै कर्मले ठगिएको जातको भएको स्विकार्न थाल्छन् । 

रातो स्वतन्त्रता
रातो, स्वतन्त्रताको रंग । 
रातो विद्रोह र जीवनको रंग । तर अधिकांश नेपाली महिलाहरूको हकमा भने रातो भयको रंग भइदिन्छ । खासमा यही महिने चक्र नै महिला हुनुको विशिष्ट पहिचान र सन्तान उत्पादन गर्ने क्षमताको उद्घोष हो । रजस्वला र पाठेघरको शक्ति महिलाको विशेषता र शक्तिको विम्ब पनि हो । संसारभरका सचेत महिलाहरूको बुलन्द आवाजमा पनि यही प्राकृतिक गुणको भयंकर व्याख्या विश्लेषण समेटिने गरेको छ । 
तर हाम्रो समाजमा त महिनावारी हुनुको पनि एक खाले पीडा छ भने झन् अविवाहितको महिनावारी रोकिनु त सामाजिक मान्यताको जग नै हल्लाइदिने महाभूकम्प भइदिन्छ । अविवाहित छोरी गर्भवती भइन् भने त परिवारको मात्र नभई गाउँकै इज्जतको पनि स्वाहा भइजाने डर हुन्छ । आफ्नो स्वतन्त्रताको उपभोगका कारण मात्र नभई अनेकन अप्रत्यासित घटनाका सिकार भएर पनि गर्भ बोकेका हुन सक्छन् । तर समाजले त्यो देख्दैन । हाम्रो समाजले कति सजिलै पीडितहरूलाई कि त गाउँ निकाला गर्न तम्सिन्छ कि त आत्महत्याका लागि डोरी अघिल्तिर सारिदिन्छ । भोजपुरकी ती बालिकाको पीडाको मूकदर्शक हुने समाजका सदस्य हांै हामी । (बलात्कारका कारण गर्भवती भएकी ती बालिका गाउँबाट लखेटिएकी छन् ।)
राष्ट्रिय दैनिकहरूले लेखेको लेखै छन् बलात्कार र छाउगोठमा भएका घटनाहरू । सरकार प्रमुखसम्मको नजर पुगेको देखिन्छ यी विषयहरूमा । केही सचेत वर्ग पनि पछि परेका छैनन्, यस्ता विषयहरूमा पत्रपत्रिकादेखि सामाजिक सञ्जालमा लेख्न र अनेकन बहसहरूमा उत्रन पनि ।
तर कहाँनिर चुकेका छौँ हामी ? किन हाम्रो समाज निरन्तरता दिइबस्छ यस्तै रुढी मान्यतालाई र साक्षी भइबस्छ अनेकन अमानवीय घटनाहरूको ? 
फेरि पनि किन यतिबिघ्न धारिलो भइबसेको छ यो रातो आतंक ?

रातो बहस
बहस–बहसकै खातिर कि समाज परिवर्तनका निम्ति ?
हाम्रा बौद्धिक विलासले समाजलाई कत्तिको परिवर्तन गरेको छ ?
मैले पत्रिकामा लेख्ने टुक्रे लेखको अर्थ के ? 
यस्तै अनेक प्रश्नहरूको झटारो बेहोरिहेको छु यतिखेर । 
दिनानुदिन केही न केही यस्ता घटनाहरू सम्प्रेषित भएका छन् सञ्चारमाध्यममा । छाउ नबारे देउता रिसाउने ठाउँकै डा. अरुणा उप्रेतीले पहिलोपटक छाउ हुँदा कसैलाई नभनी सबैतिर छोइहिँड्दा पनि केही नभएको प्रसंग बारम्बार आफ्नो लेखमा लेखेकै छिन् । लेखक रामेश्वरी पन्तले लामो समयदेखि परम्परा, धर्म र महिला जोडिएका पेचिला लेखहरू निरन्तर लेखिरहेकै छिन् । तर समाज विशेषत: धर्म र परम्पराका कुराबाट टसमस हुन सकेको स्थिति छैन । ताज्जुब यही छ । 
झलक सुवेदीको समाज विश्लेषण सही लाग्छ । केहीअघिको ‘नयाँ पत्रिका’ को लेखमा उनी भन्छन्, ‘नेपाली समाज परम्परा र धर्मका नाममा महिलाको शरीरमाथि नियन्त्रण चाहन्छ । महिलाको शरीरका नियमित जैविक प्रक्रियालाई समेत पुरुषभन्दा भिन्न र कमजोर या सीमाबद्ध देखाएर उनीहरूमाथि नियन्त्रण गर्ने परिपञ्च युगौँदेखि जारी छ ।’ 
निश्चय नै हाम्रोजस्तो परम्परावादी समाजको ग्रान्ड डिजाइन नै हो परम्परागत मूल्य मान्यताको नाममा महिलामाथिको नियन्त्रण । धर्म र पापको डर देखाएर महिलाहरूलाई एउटा निश्चित परिधिमा बाँधिराखेकै हो । र, उही हतियार प्रयोग गरेर उनीहरूलाई हीनताबोधको खाडलबाट माथि उक्लिन नदिएकै हो । 
पुरातनवादी पितृसत्तात्मक सोचका हिमायतीहरू अझ पनि महिलालाई नै दोषी करार गर्न पछि पर्दैनन् । उनीहरू निर्धक्कै पोखिहिँड्छन्, महिलाहरू नै परिवर्तन हुन सक्दैनन्जस्ता ‘क्लिसे’ भनाइहरू । अनेकन बहानामा महिलामाथि नियन्त्रण गरी आफ्नो शासकीय वर्चस्व कायम गरी बसेकाहरू किन डराउँदा हुन् सिक्काको अर्को पाटो नियाल्न ? किन बुझपचाई बस्दै छन् कि महिलाहरूको समग्र मानसिकताको निर्माणमा सामन्ती पितृसत्तात्मक समाजकै हात छ भन्ने कुरा ?
महिलाहरूलाई धर्म, संस्कृति, परम्परा, सामाजिक मान्यतालगायतका नेलहरू ठोकेर हलचल गर्न नसक्ने स्थितिमा राखेको कुरा के कोरा कल्पना मात्र हुन् ?

सेतो निकास
लामो समयदेखि बोक्दै आएको मानसिकतालाई फुत्तै फाल्न सजिलो नहुन सक्छ ती महिलाहरूलाई । अझै पनि धेरै महिला त्यस्ता केही मानिआएका मान्यताहरूका अदृश्य सिक्रीहरूले कँसिएकै छन् । एकखाले भय उनीहरूभित्र झ्यांगिएको छ । यस्तो जब्बर आम मानसिकतामा परिवर्तन ल्याउने कुरा पत्रिकाले छाप्ने केही खबर या केही लेखहरूको भरमा सम्भव छैन । 
विडम्बना यो छ कि, छउपडीजस्तो संवेदनशील विषयलाई पनि आइमाईका कुरा त हुन् भनी समाजको ठूलो बौद्धिक जमातले खास चासो दिएजस्तो देखिन्न । महिलाहरूले उठाइरहेको बहस र लेखिरहेका लेखहरूलाई पनि कतिले त आइमाईहरूको रोइलो भन्नेसम्म सुनिन्छ । किशोरीहरूको कलिलो मानसिकतामा नकारात्मक असर पार्ने साथै ज्यानकै असुरक्षा बेहोर्नुपर्ने यस्ता रुढीवादी चलनविरुद्ध आवाज उठाउन अब सबै तह–तप्काका बौद्धिक वर्ग, समाज, राज्य संयन्त्र सम्पूर्णको संवेदनशीलता र सहकार्य आवश्यक छ । रातो आतंकको सेतो निकास जरुरी छ ।

प्रकाशित : श्रावण १४, २०७४ १०:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT