खाली प्यारापिटको अर्थ

फुटबल
राजु घिसिङ

काठमाडौं — साफ च्याम्पियनसिप (सन् २०१३) । दशरथ रंगशाला । रोहित चन्दको ‘पेनाल्टी मिस’ । गोलकिपर किरण चेम्जोङको गल्तीमा गोलसँगै सेमिफाइनलमा नेपालको हार । युद्धबाट फर्किएको अफगानिस्तान फाइनलमा भारतलाई हराएर पहिलोपल्ट साफ च्याम्पियन ।

खाली प्यारापिटको अर्थ


यत्तिका लागि नेपालले चार वर्षअघि आयोजना गरेको दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितालाई सम्झिइने गरिन्छ । नेपाली टिम साफमा कहिल्यै फाइन पुगेको छैन तैपनि हामी दक्षिण एसियाकै राम्रो टिम भनेर दाबी गरिरहेका छौं । अंश केलाएर हेर्दा त्यो साफ च्याम्पियनसिपलाई नेपालको नजरबाट हेर्ने एउटा सकारात्मक पक्ष पनि छ र त्यो हो खचाखच दर्शक ।
बेलुकी फ्लडलाइट बलेपछि सुरु हुने खेल हेर्नका लागि दर्शकहरू बिहानैदेखि त्रिपुरेश्वरका टिकट खरिद गर्नलाई लस्कर लागिसकेका हुन्थे । करिब १८ हजार दर्शक अटाउने रंगशालामा खेल हेर्नलाई जतिले टिकट पाउँथे, त्योभन्दा बढी नै टिकट नपाएर फर्कनेहरू भेटिन्थे । त्यसबेला टिकटको कालोबजारी पनि चर्कै मूल्यमा भएको थियो । साफमा नेपाली टिमको खेल हेर्न मोफसलबाट ठूलै संख्यामा फुटबलप्रेमीहरू राजधानी ओइरिएका थिए ।
आफ्नो टिम च्याम्पियन नभए पनि त्यो साफका पलहरू नेपाली फुटबलप्रेमीले झट्टै बिर्सने छैनन् । अहिले त्यसको चार वर्ष मात्र बितेको छ । तर नेपाली फुटबलमा अहिलेको अवस्थालाई नियाल्ने हो भने ती सम्झना कथाजस्तै लाग्छ । राष्ट्रिय टिमले चौध वर्षयता पहिलोपल्ट महादेशीय फुटबलको सबभन्दा प्रतिष्ठित प्रतियोगिता ‘एसियन कप’ को छनोट खेलिरहेको छ । यसबाट समूहका शीर्ष दुई टिम यूएईमा सन् २०१९ मा हुने एसियन कपमा प्रवेश पाउनेछन् । त्यहाँसम्म पुग्ने नेपालले लक्ष्य बनाएको त थिएन तर यत्तिका कमजोर तयारी र प्रदर्शन पनि कल्पना गरिएको थिएन ।
वैशाख २०७२ को महाभूकम्पले दशरथ रंगशालालाई जीर्ण बनायो । त्यसैले यसमा खेल आयोजना गर्न सक्ने अवस्था छैन । यसैलाई बहाना बनाएर खेलकुदका अगुवाहरू जिम्मेवारीबाट भाग्ने प्रयास गरिरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) सम्हाल्नेले फुटबलकै आफ्नै रंगशाला बनाउने घोषणा गरेको दुई दशक बित्न लागिसक्यो तर काम गर्ने जाँगर देखाएको छैन । त्यसैले नेपाली टिम सशस्त्र प्रहरी बलको हलचोक मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल टर्फमा अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न बाध्य छ ।
हलचोकमा १ हजार र एन्फा कम्प्लेक्समा १५ सय दर्शक अटाउने क्षमता छन् । अठार हजारले हेर्न पाउने अवस्था छँदा दर्शक दशरथ रंगशाला प्रवेश गर्ने टिकट पाउँदा आफूलाई भाग्यमानी ठान्थे । त्यसअनुसार विचार गर्ने हो भने हलचोक र एन्फा कम्प्लेक्समा खेल हेर्न त दर्शकका लागि चिट्ठा नै सञ्चालन गरेर टिकट बेच्नुपर्ने अवस्था आउनुपर्ने थियो तर त्यसो भएन । जेठमा हलचोकमा यमनसँग गोलरहित टुंगिएको नेपालको खेल हेर्न ७ सय दर्शक मात्र पुगेका थिए । त्यसयता छनोटका दुवै खेल एन्फा कम्प्लेक्समा भए ।
ताजिकिस्तानविरुद्ध २–१ ले हारेको खेल १२ सय दर्शकले हेरेका थिए । अझ समूहकै सबभन्दा बलियो टिम फिलिपिन्सविरुद्ध नेपालले गोलरहित टुंग्याएको मंगलबारको खेलमा त १,०२३ दर्शक मात्र एन्फा कम्प्लेक्सभित्र पुगेका थिए । प्यारापिट खाली–खाली देखिएको थियो । फिफा वरीयतामा ५९ स्थानमाथिको टिमविरुद्ध अंक खोस्नु नेपालका लागि ठूलै सफलता थियो । ठीक यही दिन मलेसियामा नेपाली यू–१९ टिमले युथ एसिया कप क्रिकेटमा सेमिफाइनल यात्रा तय गर्दै इतिहास रचेको थियो ।
सामाजिक सञ्जालहरूको ट्रेन्डिङमा पनि राष्ट्रिय फुटबल टिमको एसियन कप छनोटका खेलभन्दा युवा क्रिकेट टिमको एसिया कपको प्रतिस्पर्धा अगाडि थियो । ह्यासट्यागमा फुटबलभन्दा क्रिकेट नै जोडिएको थियो । प्यारापिट खाली हुनु र सोसल मिडियामा पनि चर्चा कमै हुनुले नेपाली फुटबलमा धेरैथोक राम्रो छैन भन्ने संकेत गरेको छ । किनभने १८ वर्षअघि काठमाडौंमा भएको आठौं साफ गेम्सको खेलमा पनि नेपाली फुटबलको अवस्था यस्तो दयनीय थिएन । घरेलु लिगमा २ सय रुपैयाँ तिर्ने दर्शकले राष्ट्रिय टिमको खेल हेर्न ५ सय र १ हजारको टिकट किन्नै नसक्ने पनि होइन ।
फुटबल विश्वमा व्यापारका लागि ठूलै उद्योग भइसकेको छ तर नेपालमा एन्फाले यसलाई मार्केटिङ गरेकै छैन । उसले सञ्चालन गर्ने प्रतियोगिता र व्यवस्थापन पद्धति सूक्ष्म तवरले नियाल्दा त एन्फाले फुटबलको मार्केटिङ गर्न जानेकै छैन भने पनि हुन्छ । उसको कुनै पनि अंग व्यावसायिक हिसाबले चलेका छैनन् ।
राजधानीका क्लबहरूको प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग एन्फाले सञ्चालन गर्न नसकेको चार वर्ष बित्न लागेको छ । राष्ट्रिय लिग पनि २०७१ को संस्करणपछि गरेकै छैन । एन्फाले खुकुरी कप, ब्रिटिस गोर्खा कप र एनसेल कपजस्ता अब्बल प्रतियोगितालाई पनि निरन्तरता दिएन । नेपालको फुटबल मोफसलका क्लबहरूले आयोजना गर्ने नकआउट प्रतियोगिताले धानेको छ तर एन्फाले कहिले राष्ट्रिय खेलाडी उपलब्ध नगराएर त कहिले समय नै नतोकिदिएर तिनै आयेजकहरूमाथि सौतेनी व्यवहार गर्छ ।
फिलिपन्सविरुद्धको खेलमा ५० क्याप पूरा गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका कप्तान अनिल गुरुङले क्लबबाट खेलाडीले तलब नपाएको तीन वर्ष भइसकेको बताए । क्लबहरूले खेल्ने सबभन्दा महत्त्वपूर्ण लिग हो र यो नै देशको फुटबलको मेरुदण्ड पनि हो । तर एन्फाले लिग नै सञ्चालन नगरेपछि क्लबलाई हाइसन्चो भइरहेको छ किनभने क्लबहरूले खेलाडीलाई तलब दिनुपरेको छैन । नकआउट प्रतियोगिता खेल्न केही सातालाई खेलाडीको एक हूल जम्मा गरे पनि पुग्छ ।
लिग नहुँदा राष्ट्रिय टिमबाट यतिबेला खेलिरहेको हुनुपर्ने शिव श्रेष्ठलगायत केही उत्कृष्ट खेलाडीहरू पनि विदेश पलायन भए । यदि स्वदेशमै नियमित लिग सञ्चालन हुँदो हो त मासिक ५० हजार बढी तलब लिएरै फुटबल खेल्नेहरू दर्जनौं हुने थिए । तर अचेल उनीहरू खाजा खर्च पनि अभिभावकसँग माग्नुपरेको बाध्यता सुनाउँछन् । राष्ट्रिय टिमका २३ सदस्यसम्मलाई एन्फाले मासिक १५ हजार तलब दिन्छ । तर यत्ति तलब काठमाडौंको ‘सेलिब्रिटी लाइफस्टाइल’ लाई कायम राख्न एक सातालाई पनि पुग्दैन । केही स्टार खेलाडीहरू ठमेल, झम्सीखेल, दरबारमार्गका बारहरूमा मध्यरातसम्म खेलाडीलाई भेटिन्छ । यसले पनि नेपालको प्रदर्शन क्षमताभन्दा फितलो भएको हो ।
अघिल्लो वर्ष ११ महिनाभित्र नेपाली टिमले तीन उपाधि जितेको थियो । राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप र सोलिडारिटी कप तथा यू–२३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक कब्जा गरेको थियो । यी तीनै सफलता लगभग एउटै टिमले दिएको हो, प्रतियोगिता फेरिदा एक–दुई खेलाडी मात्र हेरफेर भएका थिए । त्यसैले मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बलियो टिम बनाउन खेलाडी अभाव रहेको धेरैपल्ट दोहोर्‍याएका छन् ।
‘लिग हुन्न । नयाँ खेलाडी आउँदैन । यही २५–३० खेलाडीबाटै टिम तयार गर्नुको विकल्प छैन,’ जापानी प्रशिक्षक कोजीले भने । लिग नहुँदाको अवधिमा आएका एक्लो खेलाडी हुन्, आर्मीका जर्ज प्रिन्स कार्की । खासमा उमेर समूहबाट स्तर बढाएर लिग खेल्दै क्लबबाट निखारिए राष्ट्रिय टिमसम्म पुग्नुपर्ने हो तर यस विश्वव्यापी फुटबलको पिरामिड नेपालमा भने उल्टिएको छ । गोलकिपर किरण चेम्जोङले माल्दिभ्स र मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको लिग खेलिरहेका छन् । त्यसैले पनि यी दुईसँग समान रूपमा दाँज्न सकिने प्रदर्शन राष्ट्रिय टिमका अरू खेलाडीले गर्न सकेका छैनन् ।
एसियन कप छनोटमा नेपालको ताजिकिस्तान र फिलिपिन्सविरुद्धका ‘अवे’ खेलको प्रदर्शन सम्झनलायक छैनन् । तर यिनै टिमविरुद्ध घरेलु मैदानमा बलियो चुनौती पस्किएको थियो । ताजिकिस्तानसँग हारे पनि यमन र फिलिपिन्ससँग नेपालले बराबरी नतिजा निकाल्यो । यी तिनैमा नेपाली खेलाडीहरू क्रमश: विमल घर्तीमगर, किरण चेम्जोङ र अञ्जन विष्ट म्यान अफ द म्याच चुनिए । त्यसैले नेपाली टिमको क्षमता योभन्दा माथिल्लै स्तरको हो भन्ने प्रस्ट्याउँछ । तर यू–१९ बाट आएका विमल, अञ्जन, अनन्त तामाङलगायत अरू खेलाडीको करिअरले फड्को मार्न सकेको छैन ।
लिग भइरहेको भए रंगशाला धाउने क्लबका समर्थकहरूको रुटिन नै बन्ने थियो । यिनै क्लबका समर्थकहरू नै राष्ट्रिय टिमको खेल हेर्ने ठूलो संख्यामा पर्छन् । त्यसैले उनीहरू लिग हुँदै राष्ट्रिय टिमको खेलतर्फ डोरिने परिस्थिति बन्न सक्थ्यो । अनि एन्फा आफैं पनि व्यवस्थापनमा व्यावहारिक रूपमै भए पनि अलि चुस्त हुन सक्थ्यो । त्यसले उसलाई फुटबल मार्केटिङमा अभ्यस्त गराउँदै लान सक्थ्यो । र, त्यस अवस्थामा राष्ट्रिय गान गुन्जाएर नेपाली टिम मैदानमा ओर्लंदा प्यारापिट खाली हुने थिएन । चिया गफमा पनि फेरि फुटबल फर्कन सक्थ्यो ।
Twitter: @rghising

प्रकाशित : मंसिर २, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?