आमदीपुरवालीलाई रिस किन उठ्छ ?

निबन्ध
चन्द्रकिशोर

काठमाडौं — आमदीपुरवालीलाई हेरेर एक गाउँले भन्दै थिए, ‘अखिया भइल बाडी भरल गगरी ।’ दु:ख र आक्रोशले आँखा भरिएको गाग्रोजस्तो भएको छ । त्यो समाजलाई के भन्ने जसको सामुन्ने यस्ता मामिला घट्छन् र तत्क्षण बहुसंख्यक मानिस आमदीपुरवालीहरूप्रति निर्विकार भाव राख्छन् ।

आमदीपुरवालीलाई रिस किन उठ्छ ?

साँझ परेपछि त्यो टोलभरि मुरदघटिया (मसानघाट) जस्तो सन्नाटा फैलिन्छ । कुनै–कुनै घरमा सँझबतो (साँझको बत्ती) दिने पनि भेटिँदैन । जुन घरमा सँझबतो देखाइन्छ त्यहाँ पनि हाफ्दै गरेको बत्तिहर 
(सलेदो) को मधुरो रोशनीले अँध्यारो पनि डराउँदैन । उसो त त्यही टोलको अर्को भाग जो मुख्य सडकसँग जोडिएको छ त्यहाँ ढिलो रातिसम्म पनि मोटर साइकलको ओहोरदोहोर भइरहन्छ । बिजुली बत्ती पनि रातभरि पोलमा ठडिएर चौकिदारी गरिरहेको हुन्छ । मधेसमा पछिल्ला वर्षहरूमा गाउँ देहातमा देखिएको बदलाव बिजुली र सडक हो । सडकको सञ्जाल यस्तो बनाइएको छ कि जहाँवाट वर्षातको मौसम छाडेर अरू महिना धूलो उडाउँदै गाडी दौडिरहेको हुन्छ । पहिला गाडा गुडिँदा दुई लिक बनेको हुन्थ्यो र खाल्डाखुल्डी यसरी हुन्थ्यो कि साइकल गुडाउन पनि गार्‍हो । पछिल्ला दुई दशकको स्थानीय जनप्रतिनिधिविहीनताको अवस्थामा सडकमा माटो हाल्ने काम खुब हँुदै गरे । कति माटो बगे, कि कति रकम चट् भए त्यसको लेखाजोखा अहिलेसम्म भएको छैन । तर यसले गाउँमा नयाँ आहान भित्र्याइदिएको छ, ‘माटी जकाँ सर कदेम’ आशय हो यस्तो दमन गर्छौ कि माटोजस्तो नरम भइहाल्छौं । 
गाउँको अनुहार फेरिएको प्रमाण त्यहाँ बन्दै गरेका घरहरूमा झल्किन्छ । जो घरमा बाहिरी पर्खाल लगाइएको छ र पक्की घर छ भने ठान्नुस् त्यो घरधनी सहर पसिसकेको छ । उसका लागि घर भनेको पुर्खाको एउटा निसानी मात्र हुन गएको छ । यस्ताहरू वर्ष–दुई वर्षमा गाउँ छिर्छन् वा त्यस्तै परे छठ पर्वमा आइपुग्छन् । यस्ता कतिपय घरमा बूढापाकाहरू मात्रै छन् जो घर कुरिरहेका छन् । फेरि छोरा नातिहरू कहिले फर्किने हुन त्यो दिनहुँको फोन संवादमार्फत् गिन्ती गरिरहेका हुन्छन् । कथित उच्च जातिहरू बिस्तारै गाउँ जो छाड्दै छन् । रेमिट्यान्स आउने घरको छाना फेरिएको छ । खपडा, फुसको घर जसको पर्खाल बाँसको माटोले लेपिएको हुन्छ वा पर्खाल इँटाको भए तापनि छाना खपडाको हुन्छ । त्यस्ता घरमा गाईबस्तु पनि छ भन्ने ठान्नुस्, यस्ता घर परिवारकाहरू नियमित गाउँमा बस्ने हुन् । 
चुनावी मौसम भएको हुनाले ‘नेताजी’ हरू घरदैलोमा छन् । उनीहरू खोजीखोजी घरहरूमा पुग्ने गरेका छन् । यस्तै नेताजीहरूसँग जम्काभेटमा परेकी आमदीपुरवाली पनि हुन् । तर उनी यस्ता भोटका मगन्तेहरूलाई सोझै भन्ने गरेकी छन्, ‘दुर होखु सोझा से’ मतलब सामुन्नेबाट गइहाल्नुस् । उनको यो कुरा सुनेर भोट माग्न गएका नेता र तिनका नन्दीभृङ्गीहरू तिनका छरछिमेकीहरूसँग सोध्छन्, ‘आमदीपुरवालीलाई किन रिस उठ्छ ?’ 
आमदीपुरवाली ती महिलाको नाम होइन पनि र हो पनि । पारिपट्टि अर्थात् छिमेकी भारतको आमदीपुर भन्ने गाउँ उनको माइती हो । त्यसैले ससुराली यस गाउँमा उनलाई सबैले आमदीपुरवाली नै भनेर चिन्छन् र बोलाउँछन् पनि । उता बिहे भएपछि माइती जाँदा उनलाई सबैले नेपालवाली बेटी/दिदी भनेर सम्बोधन गर्छन् । उनको नाम जे थियो त्यो बिहे भएपछि हरायो । उसो त तिनका पिता माछा मारेर घर फर्किंदा यिनी जन्मिराखेकी थिइन् । त्यसैले त्यो दिन ल्याइएको माछा ‘टेङरी’ को नामबाटै तिनी टेङरी कुमारी भइन् । बार्‍ह नपुग्दै नेपालतिर बिहे भो र उनी ‘नेपालवाली’ भइन् । यसरी उनी कतै आमदीपुरवाली त कतै नेपालवाली परिचयको दोसाँधमा बाँचिरहेकी छन् र त्यो दोसाँध दशगजा हो जो तिनीजस्ता वारिपारि बिहावारी हुने अनेकौं महिलालाई डबल परिचय दिएको छ । स्वाभाविक प्रश्न उठ्छ उनलाई माइतीमा ससुराली गाउँको नाममा ‘वाली’ जोडेर किन बोलाइएन ? जतिखेर यिनको बिहे भयो त्यो बेला नेपालमा बिहे भएर जाने यिनी नै पहिला थिइन् । त्यसैले सबैले नेपालवालीको ‘टैग’ झुन्डयाइदिए । 
आखिर उनलाई किन रिस उठ्छ ? के उनी सधैंदेखि रिसाहा नै थिइन् ? सोधौं न उनलाई नै, बितेका दिनहरू आँखाको पुतलीमा दियोको टेमजस्तै बल्यो । उनी भन्छिन्, ‘बनला के सभ साथी, बिगरल के केहु ना, तले सभ साथ दिही, जले आँखी ठेहुना’ अर्थात् सप्रिएको बेला सबै साथी हुन्छन्, बिग्रेको बेला कोही हुँदैन । जबसम्म हातखुट्टा चलिरहेछ तबसम्म नै कसैले भाउ दिन्छन् । जतिखेर तिनको बिहे भयो तिनका पति ६ दाजुभाइ थिए रे । सबै बनीबुतो गर्थे । गृहस्थ (जसको खेतमा काम गर्थे) को जग्गामा छाप्रो थियो । पारिपट्टिकाहरूले भन्थे, ‘नेपालमा छोरी दिए भोकै मर्दैन ।’ अहिले आएर तिनी बसोबास गरिरहेको घरको चारैतिर अरूहरूले घर बनाइदिए । जसले गर्दा यिनीहरू आफ्नो घरबाट निस्किने निकास पाएनन् । अरूहरूको घरको पर्खालमा चेपिएर ओहोरदोहोर गर्नुपर्छ । कैयौंपटक यिनीहरू छरछिमेकसँग बाटोका लागि गुहार नलगाएका होइनन् । पञ्चायती पनि भएको छ, झगडा पनि भएको छ । सुलहका लागि गाउँको थानामा पनि पुगियो । 
भारतको हरियाणा–पन्जाबबाट कमाएर ल्याएको पैसा पनि गाउँका पञ्च र थानामा खर्चियो । पछिल्लो स्थानीय तहको चुनावमा पनि आमदीपुरवालीले भनेकी थिइन्, ‘हामी त्यसैलाई भोट दिन्छौं जसले हामीलाई निकास दिन्छ ।’ तर हप्तौं बित्दा पनि त्यो सुरसार भएन । किन भएन भने फेरि चुनाव आइहाल्यो । नेताजीहरूलाई जति आमदीपुरवालीको मतको खाँचो छ त्यति नै तिनको घरलाई घेराबन्दी गरेर बसेकाहरूको मतको जरुरी छ । लोकतन्त्रमा चुनाव नै यस्तो बेला हो जहाँ धनी–गरिब, उच्च–नीच सबैको मतको मूल्य बराबर हुन्छ । आम मतदाताले चुनावमार्फत् नै आफू अरूहरूको बराबरीमा रहेको अनुभूति गर्छन् । 
कुरा खोतल्दै जाँदा पो देखियो, ‘साना समस्या, संकट ठूला ।’ भुइँसतहमा चुनावी मनोविज्ञान बुझ्न गाउँ देहात चहार्दै थिए, फूलझरिया भेटिइन् । स्थानीय चुनावमा फलानोलाई मत नदिएको कारण चापाकलमा पानी भर्न अघोषित कफ्र्यु लगाइएको छ । त्यो कसरी त ? तिनकै शब्दमा, ‘कल के लोग ढेबरी निकाल देवेला’ (चापाकलको नटबोल्ट फुकालिदिन्छ) । भूमिहीन, गरिब, पिछडिएको, कमजोर वर्ग, सीमान्तकृत, दलितहरू निर्वाचनका बेलामा विशेष निसानामा पर्छन् । तिनका मतलाई आफू खुसी प्रयोग गर्न अनेकौं खेलहरू खेलिन्छ भुइँसतहमा तर तिनका कथाहरू कुनै अखबारका पानाहरूमा रंगिँदैन न त कुनै समाजशास्त्रीहरू चुनावी पटकथा बुझ्न गाउँमा छिरेका हुन्छन् । चुनावी वर्ष गाउँका प्रहरी चौकीहरूमा बढी उजुरीहरूको खेतीपाती सुरु हुन्छन् । कसलाई फसाउने, कसलाई उम्काउने गोटीचाल खेलिन थालिन्छ । सरकारी संरचनामा घुलमिल भएकाहरूका मतियारहरू चुनावको बेला यसरी गाउँघरमा बल्छी हालेका हुन्छन् । गाउँले राजनीतिमा पारस्परिक कटुता र थिचोमिचोलाई कायम राखिराख्दा आफूवरिपरि ‘भोट बैंक’ देखिन्छ भन्ने एक खालको बुझाइ किन छ भने आजसम्म स्पष्ट हुन सकेन । यिनका अनेक रूप र रङ्ग देखिन्छ । ‘गरिबी’ लाई स्वार्थपूर्तिको अस्त्र बनाइरहेका दलका दलालहरूले यस्ता मतदाताहरूलाई कतिपय अर्थमा ‘दानपात्र’ का रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । गरिबीको दुहाई दिँदै दल वा प्रत्याशीहरूबाट जति बढी पैसा लिएर आउन सक्यो, त्यति नै बढी सक्षम कार्यकर्ता गनिने संस्कार बोकेका मनोवृत्तिवालहरूको फुर्तीफार्ती जो बढेको छ । 
चुनाव शान्तिपूर्ण हुनु आफैंमा महत्त्वपूर्ण होइन । बढी मतदाताले भाग लिएको देखिनु पनि अर्थपूर्ण होइन जबसम्म यो मर्यादित हुँदैन । डर, धाक, धम्की देखाएर जम्मा पारिएको मतदाताको प्रयोग बाहिरबाट शान्तिपूर्ण देखिन सक्छ । त्यसैगरी मतदानको उच्च प्रतिशत पनि देखिन सक्छ । तर मूल कुरो हो चुनाव कसरी भइराखेको छ ? चुनावमा सहभागिता कसरी जुटाइँदै छ ? बाटो थुनिदिने, घरमा प्रयोग हुने पानीको बाहिरी निकास रोकिदिने, सार्वजनिक चापाकलको सहज प्रयोग गर्न नदिने, गाईबस्तु चर्न वा ओहोरदोहोर गर्न अप्ठेरो पार्ने, घाँस–दाउरा गर्न नदिने, पुरानो खिचलोलाई फेरि ब्युँताइदिने, ब्याज असुलीको ताकेता बढाइदिनेजस्ता घटनाहरू जब प्रवृत्तिको रूपमा देखिन थाल्छन् त्यतिखेर आमदीपुरवालीहरूलाई भविष्यप्रति आश्वस्त पार्नु आवश्यक हुन जान्छ । तर यसरी आश्वस्त पार्ने कसरी ? छोटो समयमा बहुतहको निर्वाचनले जहाँ एकातिर तृणतहमा लोकतन्त्रलाई फड्को मार्ने मौका दिएको छ, त्यहींनिर भुइँसतहका यी आवाजहरू चुनावी कोलाहलमा चेपिँदै गएका छन् । अनि आमदीपुरवालीहरूलाई त रिस त उठ्छ नि ! उनलाई सोधियो पनि मत माग्न आउनेहरूलाई किन आफ्नो व्यथा पोख्दैनौं, तिनको जवाफ थियो, ‘भाखा समझेला कि खाली भोटे मागेला’ कथनको आशय हो— यसरी भोट माग्न आउनेहरू हामी पिँधमा बस्नेहरूको कुरा बुझ्न खोज्नेभन्दा पनि भोटको ध्यानमा बढी रहन्छन् । 
आमदीपुरवालीलाई हेरेर एक गाउँले भन्दै थिए, ‘अखिया भइल बाडी भरल गगरी ।’ दु:ख र आक्रोशले आँखा भरिएको गाग्रोजस्तो भएको छ । त्यो समाजलाई के भन्ने जसको सामुन्ने यस्ता मामिलाहरू घटित हुँदै गर्छन् र तत्क्षण बहुसंख्यक मानिस आमदीपुरवालीहरूप्रति निर्विकार भाव राख्छन् । योभन्दा अघि यति संकट कहिल्यै थिएनन् र सम्भावनाहरू पनि योभन्दा अघि यति थिएनन् । नयाँ सम्भावनाको ढोका खुलेको बेला यी दुई पक्षसँगसँगै आउँछन् भनेर कतिपयले व्याख्या गर्ने गरेका छन् ।

प्रकाशित : मंसिर ९, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?