फराकिलो आख्यान

समीक्षा
राजकुमार बानियाँ

काठमाडौं — उद्भट समालोचक कृष्ण गौतमले जीवनमा कति आख्यान पढे, कति आख्यानलाई उत्तरआधुनिक चस्माले हेरे । पढ्ने र हेर्ने लामै सिलसिला चल्यो । तर, आख्यानमा रानीवन कतै देखिएन । कसैले रानीवन नदेखेपछि आफैं अघि सरे र ल्याए एउटा रमणीय आख्यान, ‘रानीवन ।’

फराकिलो आख्यान

पुगनपुग एक शताब्दीभित्र कथा या उपन्यासका नाममा एक ट्रक पुस्तक आइसकेका छन् । कुनै समाचार, कुनै पाठक प्रतिक्रिया, कुनै सूचना, कुनै संवाद, कुनै कुन जीवनी या आत्मकथाका रूपमा । आख्यानको असली स्वाद दिने गरी आएनन् । समाज र जीवनपद्धति अहिले निकै जटिल छ । जटिल समाज र जीवनपद्धतिका निम्ति उपन्यासै खुराक हुँदो रहेछ क्यार । एकलकाँटे समालोचकलाई समेत उपन्यास लेखाइदियो । 
साहित्यको एउटा हाँगो हो, आख्यान । आख्यानका उपविधा हुन्, कथा र उपन्यास । यति जटिल समयमा विशुद्ध उपन्यास लेखिन सक्छ कि सक्दैन ? त्यसैले यी पारखी लेखकले उपन्यासमा भन्दा आख्यानमै ताकत देखे । उन्नाइसौं र बीसौं शताब्दीमै थोत्रिसकेका सूत्रहरूमा कति उपन्यास लेख्नु ? त्यसैले उनले धेरै विषय र शिल्प मिसाएका छन् यसमा । यस अर्थमा ‘रानीवन’ कथा पनि हो, उपन्यास पनि । समग्रमा बेजोड आख्यान । 
भेट भयो ।
दुई युवायुवतीको रोमाञ्चकारी भेट ।
आख्यानको आरम्भ यसरी नै हुन्छ । अर्थात् डेटिङ नै ‘रानीवन’ को ओपनिङ हो र इन्डिङ पनि । यसका मुख्य पात्रहरू यकिन ठेगाना तोकेर निस्कन्नन् । उनीहरूका निम्ति घुम्नु भनेको मुक्तयात्रा हो । दुईपांग्रे स्कुटीको यात्रा कडा तान्त्रिक छ । चालक सिटमा तारा, खलासी सिटमा उत्तम । अब विवाद हुन्छ, महिला र पुरुषबीच को अगाडि र को पछाडि बस्ने ? जसले चलाए पनि एक जना त पछाडि बस्नैपर्छ । तैपनि पुरुष अहंमा चोट लाग्छ । बीचमै उत्तम भन्छ, ‘म हाँकूँ ?’ तारा नियमापत्ति गर्छे, ‘तिमीहरूलाई महिला अगाडि आएको चित्त बुझेको छैन । तिमी अब महिलाको उत्साहलाई बुझ ।’ स्कुटी बेसरी बत्ताएर पुरुषको परीक्षा लिइरहन्छे । 
तारा स्वतन्त्रता र समानताको आकांक्षा राख्ने फुक्काफाल नारी हो भने उत्तम पुंसत्व हावी भएको पुरुष । शीतयुद्धकालीन सिपाहीजस्ता तारा र उत्तम वादविवाद र तर्कवितर्कको घमासानबीचमा पनि डेटिङमै छन् । सामाजिक सञ्जालमा भेटिएका दुई पूर्वसहपाठी पहिलो डेटिङमै झुक्किछन्, के तिमी उही तारा हौ ? के तिमी उही उत्तम हौ ? गधापच्चीसे नाघेका दुई पात्र एकअर्कालाई सोध्छन्, तिमीले मलाई कस्तो पायौ ? मलाई तिमीले कस्तो पायौ ? दुवैका आ–आफ्ना मूल्यांकन छन्, चोकमा राखेको चनाचटपटे या मदारीको टोकरीबाट टुँडो निकालेर नाचेको सर्पजस्तो ।
विस्फोटक उमेरका दुई पात्र स्नातकोत्तर हुन् । गैरसरकारी संस्थाकी कर्मचारी तारा, सपिङ मलको कर्मचारी उत्तम । यी दुवै एअकआपसमा शंकालु छन्, एकआपसमा विश्वस्त पनि । शंका र विश्वासको दोभानमै आख्यान प्रभावोत्पादक भएको छ । यी दुवैको जीवन किन सामान्य छैन भने आमाबाबु छैनन् । चैनपुरे उत्तम माओवादी द्वन्द्वमा दाजु र बाबुलाई बेपत्ता सूचीमा पाएको युवक हो । तारा तीन जोडी आमाबाबुकी छोरी हो । उसका जन्म दिने आमाबाबु अज्ञात छन् । दोस्रो जोडी आमाबुबा वरपीपल हुन्, जसले एक रात राखे चौतारामा । तेस्रो जोडी आमाबाबुले उसलाई हुर्काए, बढाए, पढाए । तारा अर्थात् तीनपटक जन्मेकी त्रिजा । 
सीधै बजार ताकिने जमानामा उनीहरू लहडैलहडमा रानीवन पुग्छन् । रूख काट्न नहुने, बुटा लुछ्न नहुने, पशुपक्षी र जीवजन्तुलाई हत्या गर्नु नहुने लोकविश्वास भएको ठाउँ । त्यहाँ गाइनेले गाइरहेको हुन्छ, ‘आउँदिनन् रानी अब रानीवन डुल्न, आउँदैनन् राजा अब रानीवन डुल्न... ।’ दरबार हत्याकाण्ड र राजतन्त्र अवसानको संकेत गरिरहेको हुन्छ गीतले । 
‘रानीवन’ नामक सीडीले के बताउँछ भने त्यो ठाउँ नारीप्रधानताको, मातृप्रधानताको र मातृसत्ताको अतीत हो जहाँ महिला सर्वेसर्वा हुन्थी, पुरुष र सम्पत्तिमाथि स्वामित्व राख्थी । यौन स्वतन्त्रता भएकाले बाबुको उस्तो भूमिका थिएन । उत्तराधिकार आमाबाट छोरीतर्फ जान्थ्यो । शासनको दुई आधार थिए, प्रेम र शान्ति । देवी, मायादेवी, जनदेवी, महारानी कहलिन्थी महिला । त्यसैले रानीबारी, रानीटार, रानीघाट अस्तित्वमा थिए । लडाकु पुरुषले सत्तापलट गरिदिए । सम्पत्ति र महिलामाथि प्रभुत्व जमाए । यौन स्वतन्त्रता पुरुषको भयो र महिलाका निम्ति निषिद्ध । उत्तराधिकार छोरातर्फ गयो । चान्द्र पञ्चांगलाई सौर पञ्चांगले विस्थापित गरियो । 
परम्परागत नारी होइन तारा । न विवाहको स्थायी बन्धनमा बाँधिने चाहना छ, न त आमा बन्ने रहर । उसको विचारमा आफैंले आफूलाई साङ्लो लाउन खोज्नु हो विवाह । दीर्घकालीन सम्झौता गरेर जिन्दगीको साङ्लाले बाँध्नु स्वतन्त्रताको हत्या हो । उसलाई त्यही साङ्लो तोड्ने युवक चाहिएको छ । उत्तम त्यो हुन सक्छ कि सक्दैन, त्यो जाँच्नु डेटिङ एउटा अवसर हो । अझ उसमा दुलहालाई घर भित्राउने रहर पनि छ । बरु उसका लागि अल्पकालीन तमसुक अर्थात् लिभिङ टुगेदर मन्जुर छ । उसले भन्छे पनि, ‘म न केटीसित गर्छु, न त केटासित नै । मैले रुचाएको प्रेमी स्वतन्त्रता हो ।’ 
आख्यानमा नारी अधिकारवादी पुरुषका नामहरू नै महिलाविरोधी ठान्छन् । श्रीमतीप्रसाद, नारीप्रसाद, महिलाप्रसाद, माताप्रसाद, वनिताप्रसाद, देवीप्रसाद आदि मैत्रीपूर्ण नाम हुन सक्ने दलिल पेस गर्छन् । परिवार नियोजनका साधनलाई उनीहरू ‘रक्षाबन्धन’ ठान्छन् । वास्तवमा नारीको सर्वोच्चता जाहेर गर्छ यो आख्यानले । मातृसत्ता सबभन्दा पुरानो मानेको छ । पुरुषभन्दा पहिले महिला नै अस्तित्वमा आएको तर्क पनि छ । महिला जति आदिम छ, उति नै आधुनिक । उसको अस्तित्व विरोधमा छ । उसको तिरमिरे पहिचानमा पुरुष अल्झँदै गयो, जसरी उत्तम अल्झेको छ, न छाड्नु, न अँगाल्नु । पितृसत्ताले सुख, शान्ति र समृद्धिको साटो युद्ध र पराधीनता मात्र दिएको भन्ने ताराको जिकिर बदलिँदो समयको 
तस्बिर हो । 
नारी र पुरुष सम्बन्धबिना उभिन पनि सक्दैनन् । र, पनि हार्न कोही पनि सहजै तयार देखिँदैन । आख्यानमा नरनारीको युग्मकमा ठूलो वा सानो, अग्लो वा होचोको रेखांकन तोड्ने र उपेक्षित, किनारीकृत, विलिंगी, समलिंगी, तृतीय लिंगीलगायत आकृष्ट हुन्छन् । नारी र पुरुष दुवै बराबर, दुवै समान, उत्तम तारा नरनारी दुवै बराबर । न यो केन्द्र, न त्यो केन्द्र । विनिर्माणिक औचित्यको अभिनन्दन गर्नु पनि आख्यानकारको उद्देश्य देखिन्छ ।
समाज र समयको फराकिलो आख्यान हो, ‘रानीवन’ । यसले धेरै डिस्कोर्स दिएको छ । राजनीतिक सिमानाभन्दा पर विश्व व्यवस्थाको परिकल्पनासमेत गरेको छ । विषयवस्तु मात्र नभएर शैली पनि नूतन र सामयिक छ । युवक र युवतीको एकदिने डेटिङको झीनो कथानक समाएर भाषा, संवाद र बहावको साथमा बलियोसँग उभिएको छ । कथाभित्र उपकथा, घटना र चरित्र तथा मिथकहरू गाँसिएका छन् ।
खासमा ‘रानीवन’ नयाँ पुस्ताको समाजदृष्टि हो । परिवर्तित चाख, रुचि र आकांक्षाको प्रतिध्वनि हो । नयाँ ज्ञानको बोध, सम्प्रेषण र विस्तार हो । यसमा प्रविधि र अर्थराजनीतिको जबर्जस्त प्रभाव छ । प्राकृतिक र मानवीय वृत्तिको उपेक्षा गर्न नहुने पाठ छ । नेपाली समाजका अनेक घटना, विम्ब र रङ यसमा कोलाज भएर मिसिएका छन् । नेपाली समाज कति उत्तरआधुनिक हो कि कति होइन ? विमर्शका लागि पनि यसले स्पेस दिएको छ । यसमा उत्तरआधुनिक रौनक, उत्तरआधुनिक जिज्ञासा र उत्तरआधुनिक दीप्तिको झलक छ । माओवादी विद्रोह, भुइँचालो, नाकाबन्दी, वैदेशिक रोजगारीले निम्त्याएको समस्या अनि लिंग रूपान्तरण आदि सामयिक विषयसमेत उठाएको यो आख्यान कतै रुमानी, कतै स्वप्निल औजार भएको बहुरंगी छटा हो ।
समाज वाक्कलाग्दो बुद्धिचालमा सुक्दै गएको छ । काममा सम्भव नभए कमसेकम फेन्टासीमै उडेर भए पनि कठोर हुँदै गएको जीवनलाई जिउँदो बनाउने कोसिस छ आख्यानकारको । त्यसैले उनी ठाउँ–ठाउँमा स्वप्निल या रुमानी भाव ल्याइदिन्छन् । पुँजीवाद वा बजारवादको पक्ष र विपक्षमा पनि भरभार तर्क गर्छन् । प्रेमको विकास किनमेलबाटै हुन्छ, जहाँ बराबरीको सम्भावना छैन, त्यहाँ हार्दिकताले बरोबरी मिलाउने काम गर्छ । पुँजीवाद लामखुट्टे हो, उडुस हो । यसले नराम्ररी हामीलाई चुस्दछ । पुँजीवाद बन्चरो हो । यसको प्रमुख लक्ष्य जंगल सिद्धाउनु हो र आखिर आफैं पनि सिद्धिनु हो । आदि इत्यादि ।
जीवन के हो ? मालसामान ।
जीवनको लक्ष्य के हो ? उपभोग ।
जीवनको गन्तव्य कता छ ? पुरानिँदै जानुमा । 
यथार्थ कहाँ भेटिन्छ ? शौचालयमा, मसानमा, अस्पतालमा, प्रसूतिगृहमा ।
प्राध्यापनको लामो अनुभव र साहित्यिक चिन्तक भएकाले शब्दहरूको सरगर्मी छ कृष्ण गौतमको आख्यानमा । हरेक अभिव्यक्ति सूक्तिमय छन् । जीवनदर्शन छ्यालब्याल छ आख्यानभरि । 
राजाको सिंहासनभन्दा गरिमामय आसन कुन हो ? आमाको काख । 
सबैभन्दा मीठो माया कसले दिन्छ ? आमाले । 
जीवन कर्म हो । जीवन पसिना हो । जीवन स्वहितका लागि पनि हो । जीवन परहितका लागि 
पनि हो । 
आख्यान थुप्रै ठाउँमा निबन्धात्मक पनि भएको छ । उनी के भन्छन् भने सेना र सत्ताको आवरण नभिरेका छेउ र कुनाहरू नै हामीलाई उपेक्षित र दमित सत्यको साँचो उपलब्ध गराउँछन् । मान्छे न आफूलाई बुझ्छ, न त अर्कालाई बुझ्न सक्छ । न आफूलाई चिन्छ, न त अर्कालाई । आफूलाई नबुझ्नुमा, निचिन्नुमा पनि एउटा विचित्रको तागत छ र त्यही तागतले मान्छे बाँच्छ । यदि सब कुरा जान्दो हो त ऊ यस धर्तीको जीवन हुन लायक हुने थिएन । नियतिले मान्छेलाई ठोस ठोस कुराको साँचो दिएको छैन । त्यही साँचो खोस्नका लागि कलाकारहरू, दार्शनिकहरू, साहित्यकारहरू, वैज्ञानिकहरू, धर्मविद्हरूले पसिना झार्दै आए । हात लाग्यो फुस्सा ।
नारी र पुरुषबीच संवाद संस्कृति चाहेको छ ‘रानीवन’ ले । संवादबिना न लोकतन्त्र फस्टाउँछ, न त स्वतन्त्रता । आजका जे जति समस्या छन्, ती सर्वथा संवादकै संकट हुन् । समाजका सबै घटक तब आश्वस्त हुन्छन्, जब सबै लिंग, वर्ग, रङ, अल्पसंख्यकका अस्तित्व स्वीकृत हुन्छ । त्यति बेला 
मात्र कसैले बन्दुक उठाउने दुस्साहस गर्न सक्दैन । लिंगीय अर्थमा उत्तम पुरुष हो, संस्कृतिमा झुकाव भएको पितृसत्ताको प्रतिनिधि । तारा नारीको स्वगत पहिचानको पक्षधर । यसले न तारापथ लिएको छ, न त उत्तमपथ । कम्तीमा दुईबीच डेटिङका नाममा गफगाफ गराएको छ । 
अहिले नेपाली साहित्यमा उपलब्ध उम्दा आख्यानमा ‘रानीवन’ पर्छ नै । यसमा कमजोरी नै नभएको चाहिँ होइन । कमजोरी धेरै नभएका मात्र हुन् । यसको प्रयोग या असावधानी के भने प्रत्यक्ष कथनमा सिंगल वा डबल उद्धहरण चिह्न प्रयोग नै भएका छैनन् । त्यसले पठनमा व्यवधान प्रशस्त पुर्‍याउँछ । कम्तीमा दुई जनाको संवाद इन्टर हानेर छुट्याइदिएको भए पनि यस्तो असुविधा हुँदैनथ्यो । विवाहका बारेमा, सत्यको बारेमा वा अरू प्रसंग पटकपटक दोहोरिएका छन् । आख्यान रिड्र्ली टेक्स्ट् (पाठ्य) भन्दा राइट्र्ली टेक्ट् (लेख्य) भएकाले सामान्य पाठकलाई सुगम नहुन पनि छ । कथावाचक बेग्लाबेग्लै भएको र विषय पनि बहुप्रकारको भएकाले कसैकसैलाई अनाकर्षक लाग्न सक्छ । कलेज छुटेको पाँच वर्षमै नचिनिने कसरी हुन्छ भन्ने पनि प्रश्न उठ्न सक्छ । पुरुष र नारी दुवै पात्रमा लेखक हावी भएजस्तो नलाग्ने पनि होइन । 
यसको शक्ति भनेकै कौतुकमय भाषा हो । यति धेरै विचारको बिस्कुनलाई पनि काव्यात्मक बनाउन सक्नु लेखकको असाधारण खुबी हो । उनको कला, लाक्षणिकता र रूपकको प्रयोग जादूमय छ । यस अर्थमा गद्यको महाकाव्य भने पनि हुन्छ । यो लेखकले जानबुझमा पाठकलाई दिएको काव्यात्मक आख्यान हो । नेपाली आख्यानमा आएको विशेष उल्लास हो । र, नेपाली साहित्यका निम्ति नवीनतम भेट पनि । शैली र विचारको हिसाबमा ‘रानीवन’ दुईचोटि होइन, दसचोटि पढे पनि हुन्छ । 

प्रकाशित : मंसिर ९, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?