१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हसन र अलीसँग जंगमको संगम

संगीत
गोकर्ण गौतम

काठमाडौं — हमारे दिल से मत खेलो
खेलौना टुट जायगा
जरा भी ठेस पहुँचे गी
ए सिसा टुट जायगा

हसन र अलीसँग जंगमको संगम

गजल दुनियाँका दुई विख्यात हस्ती मेहदी हसन र गुलाम अलीका लागि गीत कम्पोज गर्ने अवसर जुरेको थियो, दीपक जंगमलाई, त्यो पनि युवावयमै । कसरी ? तीनै रोचक क्षणहरूको स्मरण :

हमारे दिल से मत खेलो

खेलौना टुट जायगा
जरा भी ठेस पहुँचे गी
ए सिसा टुट जायगा

नेपाली सांस्कृतिक टोलीसहित पाकिस्तानको कराँची पुगेका दीपक जंगमले यो गीत गाएर वाहवाही बटुले । त्यसको भोलिपल्ट त्यहाँका सांस्कृतिक विभागका निर्देशकले जंगमलाई भनेछन्, ‘खान साहेब तपाईंलाई भेट्न चाहिरहनुभएको छ ।’ जंगमले पत्याएनन् । पत्याइहाल्नु कसरी, ती खान साहेब अरू कोही नभएर ‘संहशा–ए–गजल’ (गजलका राजा) को उपमा पाएका मेहदी हसन खान थिए । जंगम अक्मकाएपछि निर्देशकले बेलिविस्तार लगाए । कुनै नेपाली कलाकारले मेहदीका गजल गाएर कराँचीवासीको मन जितेको खबर त्यहाँको चर्चित अखबार ‘डन’ ले छापेछ । त्यही पढेपछि मेहदीले भेट्न खोजेका छन् । जंगमले ‘नाइनास्ती’ गर्ने कुरै थिएन । आखिर पाकिस्तान जानुको एउटा मुख्य कारण मेहदीलाई भेट्नु नै त थियो । त्यही भएर उनका एक दर्जन गीत रियाज गरेका थिए । तर उनले मेहदीलाई भेट्न कष्टै गर्नु परेन, गायिकीको जादूले मेहदी आफैं खोज्दै आइपुगे । ३७ वर्षअगाडिको उक्त पल सम्झँदा जंगमको मुहारमा मुस्कान नाच्छ अझै पनि ।
गजलको लोकप्रियता विश्वव्यापी गरेको पहिलो श्रेय मेहदीलाई जान्छ ।
आफ्नो जमानामा पाकिस्तानी फिल्मको पाश्र्व गायनमा उनको प्रतिस्पर्धी कोही थिएन । जे गाउँथे, त्यही सर्वप्रिय हुन्थ्यो । आफ्नै पिता उस्ताद अजिम खानबाट संगीत सिकेका मेहदी नि:सन्देह ‘लिजेन्ड’ थिए । हो, त्यस्तो महान् कलाकार आफैंले भेटेका थिए, भर्खर २८ वर्ष टेक्दै गरेको ठिटो जंगमलाई । तर सामीप्यता संगीतले मात्र बढाएको रहेनछ । जंगम ‘नेपाली’ भएकाले मेहदीलाई अझ उत्साही बनाएको रहेछ । त्यसको आफ्नै गज्जबको कारण छ ।
यो प्रसंगचाहिँ भारत–पाक विभाजन हुनुअगावैको हो ।

मेहदी हसन

मेहदीका पिता राणा प्रधानमन्त्री जुद्धशमशेरको निमन्त्रणामा नेपाल आएका रहेछन्, गजल गाउन । पिताको साथमा फुच्चे मेहदी पनि थिए । चित्लाङसम्म जसोतसो आइपुगे । त्यहाँबाट फिटिक्कै हिँड्न सकेनन् । त्यही भएर उनलाई डोकोमा बोकेर काठमाडौं ल्याइएको रहेछ । भेटको केही मिनेटमै यही रिमरिम तर स्वर्णिम याद सुनाएका थिए मेहदीले । जंगम भन्छन्, ‘उहाँहरूलाई दरबारमा भव्य स्वागत गरिएको रहेछ । त्यही भएर खान साहेबलाई नेपाल भनेको संगीतको उच्च कदर हुने देश हो भन्ने छाप बसेको रहेछ ।’ पछि मेहदी गजल दुनियाँको बादशाह बने तर नेपाल आउने संयोग जुरेको थिएन । त्यति मिठो सम्झना बोकेको देशको कलाकारले आफ्नै गीत गाएपछि मेहदीलाई दोब्बर खुसी मिलेको थियो । जंगमको त झ्न के कुरा गर्नु ! कार्यक्रम सकिएपछि अरू कराँची घुम्न निस्किए, उनीचाहिं मेहदीकै साथ । त्यो पल यसरी सम्झछन्, ‘म संगीतको प्यासी थिएँ, उहाँ महासागर । त्यसैले एकाग्र भएर उहाँको अनुभव सुनें ।’ रियाज कसरी गर्ने, कति घण्टा गर्ने, आवाजको लेभल कति राख्ने ? जस्ता प्रश्नको ओइरो लगाएका थिए जंगमले । मेहदी मुस्कुराउँदै जवाफ दिन्थे ।
तर यो कुनै दुई संगीतकर्मीको सामान्य भेटझैं सीमित भएन । यसले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक सम्बन्ध अझ सुमधुर बनाएन मात्र, त्यति अग्लो कदका गायकले नेपाली गीत गाए, त्यो पनि राजा महेन्द्रद्वारा रचित ।
यसरी जुरेको थियो त्यो अवसर :
जंगम कराँचीबाट फर्किएको तीन वर्षपछि अर्थात् ०४० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘साम–ए–गजल’ आयोजना गरियो, आकर्षणको केन्द्रमा थिए, मेहदी । उनले नेपाली गजल पनि गाउने इच्छा व्यक्त गरे । गीत छानियो, मविवि शाहको ‘कसरी बुझाउँm यो दिल...’ । सुरुमा यो गीतमा मेहदी आफैंले ट्युन भर्न खोजे तर उनलाई चित्त बुझेनछ । गीतको खास भाव पनि त बुझेका थिएनन् । त्यही भएर संगीतबद्ध गर्न मेहदी आफैंले छाने, जंगमलाई । भन्छन्, ‘मेहदीजस्तो महान् हस्तीका लागि एक–दुई दिनमै गीत तयार पार्नुपर्ने भएकाले डर लागेको थियो । धन्न ! उहाँले मेरो ट्युन रुचाउनु भयो ।’ यो गीत त्यसअगावै कोइलीदेवी, लिली सिंह र निर्मला देवीको स्वरमा रेकर्ड भइसकेको थियो फरक–फरक धुनमा । विडम्बनाचाहिँ ! मेहदीको आवाजमा स्टुडियो रेकर्डचाहिँ हुन सकेन । अहिले युट्युबमा भेटिने मेहदीको आवाज प्रज्ञा भवनमा भएको लाइभ कार्यक्रमको ‘रेकर्डेड भर्सन’ हो । जहाँ हार्मोनियम र तबला मात्र बजाइएको छ । मेहदीको नेपाल बसाइ ज्यादै छोटो र उनी आबद्ध म्युजिक कम्पनीसँग सम्पर्क हुन नसक्दा रेकर्ड गर्ने अवसर नजुरेको जंगमको भनाइ छ ।

मेहदी हसन, नारायणगोपाल, जंगमलगायत ।

तर मेहदी र नेपाली संगीतको सम्बन्धमा यही पूर्णविराम लागेन ।
‘साम–ए–गजल’ सकिएपछि मेहदीलाई गोरखा दक्षिण बाहु पहिलो दर्जा प्रदान गरियो । यत्रो सम्मान दरबारमा कुनै पनि विदेशी कलाकारले पाएको पहिलो अवसर थियो । राजा वीरेन्द्र र मेहदीको मित्रता कति गाढा भयो भने वीरेन्द्र पाकिस्तान जाँदा विमानस्थलमा स्वागत गर्न तत्कालीन पाकिस्तानी राष्ट्रपतिसँग मेहदी पनि पुगेका थिए । एक बसाइका क्रममा वीरेन्द्रले भनेछन्, ‘मेरी मिसेस (चाँदनी शाह) पनि शायरी लेख्छिन् । हजुरले गाउनुपर्‍यो ।’ जंगम सुनाउँछन्, ‘मेहदी साबले ‘हुन्छ’ भन्नुभएछ अनि संगीतकारमा चाहिं मेरो नाम लिनुभएछ । त्यतिबेलासम्म मलाई दरबारले चिनेको थिएन । उहाँले नै चिनाउनुभयो ।’ त्यसपछि चाँदनी शाहको १० वटा गीत छानियो । सुरुमा हिन्दी अनि उर्दूमा अनुवाद गरियो । गीत बोकेर जंगम कराँची नै गए, मेहदीको घरमा । ६ वटा गीत उतै रेकर्ड भयो तर अहिलेसम्म बाहिर आएको छैन । जंगमका अनुसार यी गीत रेडियो नेपाल र रेडियो पाकिस्तानसँग छ । नेपाल टेलिभिजनले भिडियो बनाउने वाचा गरेको थियो तर सबै कुरैमा सीमित भयो । तैपनि जंगमको आशा मरिसकेको छैन । भन्छन्, ‘ती गीत पब्लिकसम्म पुर्‍याउनु मेरो ‘ड्रिम प्रोजेक्ट’ हो ।’
एकातिर मेहदीको स्वरमा मविवि शाहको गीत स्टुडियो रेकर्ड गर्ने मेसो मिलेन, अर्कातिर रेकर्ड भएका चाँदनी शाहका गीत श्रोतासम्म पुगेनन् । यसको पीडा त छँदै छ । तर पनि संगीतकार जंगमलाई मन बुझाउने अर्को गतिलो कारण पनि छ । त्यो हो, मेहदीकै कारण उनले अर्का विख्यात गजल गायक गुलाम अलीसँग संगत गर्ने अवसर पाए । गुलाम अलीका लागि चार गीतमा संगीत दिए, सबै सदावहार लोकप्रिय छन् ।
यो प्रसंग हो, २०४१ सालमा गुलाम अली नेपाल आउँदाको । जतिबेला ‘चुपके चुपके रात दिन...’, ‘हंगामा...’ लगायतका गजलबाट उनले हंगामा मच्चाइरहेका थिए । हिन्दुस्तानी शास्त्रीय संगीत र गजलको सम्मिश्रण गरेर वाहवाही कमाएका गुलाम अली आफ्नो चमत्कारयुक्त स्वरले जोकोहीलाई लठ्ठै बनाउँथे । उनका धेरै हिट गजल भारतीय फिल्ममा समेत प्रयोग गरिएका छन् । मेहदीपछि गजलको दुनियाँमा ठूलो नाम छ, अलीको । यिनै गायक नेपाल आउँदा नेपाली गीत रेकर्ड गर्ने योजनामा थिएनन् मात्र, उतैबाट रचनाकार र संगीतकारको नामसमेत तय गरिसकेका थिए । रचनाकार मविवि शाह, संगीतकारचाहिँ दीपक जंगम । पाकिस्तानमै मेहदीले यी नाम सुझाएका रहेछन् उनलाई । त्यसैले त नेपालस्थित पाकिस्तानी दूतावासमा भेट्दा जंगमले आफ्नो परिचय दिनै परेन । बरु अली आफैंले सीधै सोधेछन्, ‘चार दिनमा चारवटा गीत बनाउन सक्नुहुन्छ ?’ जंगम हाँस्दै भन्छन्, “मैले ‘सक्छु’ भनें तर कुन–कुन गीत संगीतबद्ध गर्ने भनेर छानिएको समेत थिएन । त्यसैले घर पुगेपछि अलमलमा परें ।’
तैपनि पछि हट्ने गुञ्जायस थिएन । मविवि शाहको गीतिसंग्रह ‘फेरि उसैको लागि’ पल्टाएँ । चार गीत छानें । ‘लोलाएका ती ठूला तिम्रा दुई नजरले...’ कम्पोजिसन गर्न हार्मोनियम समाउँदा रातको ११ बजेको थियो । बिहान ३ बजे पूरा भयो । ६ बजे पद्मकन्या क्याम्पस पढाउन पुग्नुपर्ने । तर दिउँसोसम्म गुलाम अलीलाई कम्तीमा दुईवटा गीत सुनाउनुपर्ने । क्या फसाद ! त्यसैले त कलेज गए, विद्यार्थीलाई गृहकार्य दिए अनि कक्षा कोठामै कम्पोज गर्न थाले । २ घण्टामा त्यो पनि विद्यार्थीमाझ कम्पोज गरेको गीत अरू कुनै नभएर ‘किन–किन तिम्रो तस्बिर मलाई निको लाग्छ...’ थियो, जुन आज पनि हरेक उमेर समूहका श्रोताले उत्तिकै रुचाउँछन् । तेस्रो गीत थियो, ‘गाजलु ती ठूलाठूला आँखा...’ अनि चौथोचाहिँ ‘के छ र दिऊँ...’ ।
रेकर्ड गर्न जाँदा रेडियो नेपालमा गुलाम अलीको भव्य स्वागत गरिएको दृश्य जंगमले अझ बिर्सिएका छैनन् । हरेक गीत दुई घण्टा रियाज गरेपछि रेकर्ड गरिएको थियो, १ वैशाख २०४२ मा । जतिबेला जंगम ३२ वर्ष पुग्दै थिए । यी गीतले गुलाम अलीको नेपाली गायन अमर मात्र बनाएन, जंगम आमभन्दा अलग संगीतकारका रूपमा स्थापितसमेत भए । त्यति छोटो समयमा त्यति दिग्गज कलाकारका लागि त्यति सुमधुर गीत कम्पोज गर्नु चानचुने क्षमता हो र ?
जंगम आफैंलाई लाग्दोरहेछ, ‘संगीत यात्राको सुरुआततिरै मेहदी र गुलाम अलीजस्ता ठूला हस्तीसँग सहकार्य गर्न पाउनु र सफल हुनु साँच्चै भाग्यको खेल हो ।’

प्रकाशित : मंसिर ९, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?