परदेशमा रित्तिएको जवानी

समाज
जनकराज सापकोटा

काठमाडौं — मलेसियाको ग्यान्टिङ हाइल्यान्डको एक कृषिबारीमा अदुवा गोडिरहेका टोप चलामीको जिन्दगीको कथा उति धेरै घुम्तीहरूले भरिएको छैन । पछिल्ला १५ वर्षयता उनको जिन्दगी सरल रेखामा हिँडिरहेको छ । तर पनि उनको कथा धेरैका निम्ति अनौठो लाग्न सक्छ ।

परदेशमा रित्तिएको जवानी

बागलुङ दगा टुमडाँडाको थातथलो छोडेर परदेसिएको डेढ दशकयता उनी एकपटक पनि स्वदेश फर्किएका छैनन् । तीन वर्षको छोरा र आठ महिनाकी छोरी छोडेर तिनीहरूकै भविष्यका निम्ति मलेसिया हिँडेका चलामी लेखान्तको अनेकन ठक्कर र अक्करमा परेर घर फर्किन पाएका छैनन् । उनले बालकमै छोडेका छोरा विवेक अहिले १९ वर्ष पुगे भने छोरी विनिता १३ वर्ष । उनीहरू दुवै बालाई फोटोमा मात्रै चिन्छन् । टेलिफोनमा हुने तारन्तारको गफले बाको स्वर पनि खुट्याउन सक्छन् । उनीहरूको बाल स्मृतिका पानामा बासँग जोडिएका सम्झनाहरू भने खाली–खाली छन् । विधिको खेलले आफू मलेसियामै बस्नुपरेका ठान्ने टोपसँग पनि छोराछोरी हुर्काउँदाका रमाइला अनुभूतिहरू छैनन् । टोपका बाबुछोराको बेग्लाबेग्लै अनुभूति उनीहरूकै भाषामा :

टोप चलामी 

सन् २००२ मा ६५ हजार रुपैयाँ दलालको हातमा बुझाएर मलेसिया आएँ । त्यसपछि घर फर्किने साइत जुरेको छैन । यहाँ आउनेबित्तिकै कृषि फार्ममा काम सुरु गरेको थिएँ । अहिलेसम्म पनि अनेकन ठाउँ र अनेकन फार्म चहार्दै कृषि काममै घोटिएको छु । जवानीमै मैले गाउँ र देश छोडेको थिएँ । यहाँ आउनुअघि मेरा गाला राता–राता स्याउजस्ता थिए । पाखुरीमा पनि बल थियो । जवानी उमेर थियो र थोरबहुत ह्यान्डसम पनि थिएँ । परदेशमै मेरो जवानी रित्तियो । अहिले त अधबैंसे भएँ । 

२० वर्षमा बिहे गरेको थिएँ । श्रीमतीसँग माया प्रीति गर्दै हिँड्ने दिनमा यता आइयो । चिल्ला–चिल्ला गाला पनि अहिले त चाउरी परिसके । बूढीले नै बूढो नचिन्ला भन्ने पनि लाउँच के मनमा । 

चिचिला छोराछोरी पनि ठूला भइसके । फोटो हेरेर छोराछोरी कति ठूला भएछन् भनेर थाहा पाउँछु । तिनलाई नै सुख होला भनेर परदेश आएको थिएँ । तर तिनैले नचिन्लान् कि भन्ने पो पीर लाग्छ । आफ्नै काखमा खेलेर हुर्केका भए पो, आफैंले गाली गर्दै, माया गर्दै छोराछोरी हुर्काए पो तिनले बिर्संदैनथे । तैपनि छोराछोरी तनमनले पढेका छन् । त्यसैमा खुसी छु । मैले यहाँ पसिना नबगाएको भए तिनको पढाइ खर्च कसरी धान्थें होला म ? छोराछोरीले पढाइ सके भने त सबैभन्दा खुसी हुन्थेें । तिनीहरूै पढाइ खर्च धान्न त म यता बस्या हुम् । तिनीहरूले यति कुरा त बुझेकै होलान् । अब अरूका बाउले जस्तो माया गर्न पाइनँ होला । तर तिनीहरूलाई चाइने र भनेको चीज किन्दिने पैसा त जुटाकै छु । 

वर्षौंसम्म परदेश बसेपछि सबैसँगको चिनाजानी र माया पनि पातलो–पातलो हुँदै जाँदो रहेछ । नातागोता त सबैले बिर्सिसके होलान् । गाउँघरतिरका मेरा दावली पनि कहाँ–कहाँ पो पुगे होलान् । अब मेरो कुरा गर्ने, मलाई सम्झिने मान्छे पनि को पो होला र गाउँमा । अब देश फर्कें भने पनि मलाई कसैले चिन्दैन होला । म फलानो भन्यो भने बूढापाकाले जिब्रो काढेर अचम्म मान्लान् । त्यस्तो हट्टाकट्टा केटो यस्तो बूढो भएछ भन्लान् । 

म यता हुँदा उता गाउँमा के–के भइसक्यो होला । म यतै हुँदा नै बा बित्नुभयो । बाको मृत्युमा शोक मनाउँदा पनि म एक्लै भएँ । मनले बालाई सम्झेर नुन बारें र सकेको कर्म गरें । मृत्युअघि बाले मेरो अनुहार हेर्न त पक्कै खोज्नुभएको थियो होला नि । कुनचाहिँ बाउले खोज्दैन र । तर आफू यता भइयो । आमा पनि पहाडको घामजस्तै भइसक्नुभाछ । आमालाई पनि याद त मेरो आउँदो होला । तर के गर्नु सबै कुरा खोजेजस्तो र भनेजस्तो कहाँ हुन्छ र ।

यता आएपछि यतैको सुर हुँदो रैछ । देशमा क–के भइसको भन्छन् । केही थाहा पत्तो पाउँदैनथें पहिले । अहिले मोबाइल बोक्न थालेपछि र फेसबुक चलाउन थालेपछि देशको खबर थाहा पाउन थालेको छु । देश पनि अर्कै भइसको होला अहिले त । हाम्रा पालामा त जसले ठूलो घाँसको भारी बोक्तो त्यसैलाई ब्या गर्तेम् । तर अहिले त नेपाल पनि कप्युटराइज भइसको रे । जसले पनि फेसबुक चलाउँछ रे गाउँतिर । 

यसो सोच्छु, त्यही डाँडापारि त हो नेपालजस्तो लाग्छ । तर फर्किने कसरी ? आफू परियो गैरकानुनी कामदार । कागज बनाउन कहाँ जाने ? कसरी बनाउने मेलोमेसो छैन । मलेसिया सरकारले बेला–बेलामा गैरकानुनी कामदारलाई घर फिर्ती कार्यक्रम ल्याउँछ । तर कहिले समयमै खबर पाउन्नँ, कहिले मेलोमेसो पाउन्नँ । यस्तै भयो जिन्दगी । नेपालबाट टाइटानिक जहाज मलेसिया आएको थियो । यतै जहाज डुबेछ भन्नुस् ।

विवेक सलामी, १९ स्कुलमा सबैले बाबाको कुरा सुनाउँथे । मेरा बाबाले यसो गरे । मेरो बाबाले उसो गरिदिए भन्थे । म भने चुपचाप सुनिबस्थें । किनकि मलाई बाबाको सम्झनै छैन । म तीन–चार वर्ष हुँदै बाबा मलेसिया जानुभएको थियो रे । बाबा विदेश उडेको मधुरो सम्झना छ । त्योबाहेक फोटो हेरेर मात्रै हो बाबालाई चिन्ने । 

बाबा विदेश गएपछि म र बैनीका लागि बाबा पनि मम्मी नै हुनुभयो । तीन/चार वर्ष ठूलोबाबाको घरमा बसेर पढें । तीन वर्ष मामाघर बसेर पढें । अहिले बुटवलमा अंकल आन्टीसँग बसेर डिप्लोमा पढिरहेको छु । कहिलेकाहीं सोच्छु, बाबा भइदिएको भए घरमै बसेर पढ्थें होला । 

बाबा हुनु र नहुनमा धेरै फरक हुन्छ होला । बाबा नहुँदा कस्तो लाग्छ भनेर कसैले सोध्यो भने मसँग उत्तर नै हुन्न । किनकि बाबा हुँदा कस्तो हुन्छ भन्ने सम्झना नै मलाई छैन । त्यस्तो बेला भन्छु, ‘खै कस्तो लाग्छ भनौं । के भन्ने खै ।’

बाबा विदेश गएको केही वर्षपछि त बाबासँग झन्डै दुई तीन वर्षै सम्र्पक भएन । बाबा कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ केही थाहा पत्तो पनि पाइएन । मैले ठूलो भएपछि मात्रै थाहा पाएँ, मेरो बाबा त मलेसिया पो हुनुहुँदो रहेछ । त्यहाँ खेती गर्नुहुँदो रैछ । 

बेलाबेला बाबा चाँडै नेपाल आइदिए नि हुन्थ्यो भन्ने त लाग्छ नि । तर लागेर मात्रै के गर्नु । बाबाको पनि के–के नमिलेर होला । बाबालाई फोटोमा हेर्छु । बाबाको फेसबुक प्रोफाइल चेक गर्छु । त्यस्तो बेला भने बाबा छिट्टै आइदिए हुन्थ्यो भन्ने लाग्छ । बाबा आफूसँगै भइदिए कस्तो हुन्थ्यो होला भन्ने लाग्छ । मैले पनि अरू साथीहरूले जस्तै बाबाको कुरा गर्न पाए कस्तो होला ? तर अहिले त म संग बाबासंग जोडिएका, बाबासँग हँसीमजाक गरेका, बाबासँग घुम्न गएका केही पनि कुरा छैनन् । बाबाबारे कुरा गर्ने कुनै विषय नै छैनन् । 

प्रकाशित : मंसिर १६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?