२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘अनुवाद काठमाडौंका लागि मात्रै भएको छ’

काठमाडौं — नेपाली तथा हिमालयन अध्यन विषयमा केन्द्रित डा. माइकल हट युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक हुन् । हिजो र आजको नेपाली साहित्य, समाज तथा बदलिंदो समयमाथि अध्ययन–अनुसन्धान उनका रुचिका विषय हुन् ।

 ‘अनुवाद काठमाडौंका लागि मात्रै भएको छ’

३० वर्षयता नेपाली भाषा–साहित्यका निरन्तरका अध्येता बनेका ६० वर्षीय हटले नेपाली साहित्यका केही प्रतिनिधि रचनाहरूको अनूदित कृतिसमेत निकालेका छन् । उनका ‘मोर्डन लिटरेरी नेपाली’ (१९९७), ‘द लाइफ अफ भूपी शेरचन’ (२०१०), ‘अनबिकमिङ सिटिजन्स’ (२००३), ‘टिच युवरसेल्फ नेपाली’ (२००३), ‘मुनामदन’ र ‘बसाइँ’ (अंग्रेजी अनुवाद) लगायतका कृति प्रकाशित छन् । पछिल्ला दिनमा काठमाडौंमा व्यस्त दैनिकी बिताइरहेका हट अहिले नेपालमा भूकम्प आएपछिको स्थितिलाई लिएर ‘आफ्टर द अर्थ भायोलेन्ट स्व’ नामको परियोजनामा सामूहिक अध्ययन–अनुसन्धानमा जुटेका छन् । 

नेपालमा भूकम्प आएपछिको साहित्यिक–सांस्कृतिक र सामाजिक यथास्थितिमा अध्यन थाल्नुभएको रहेछ । यो अध्यनको विशेषता के हो ?

हो, यो योजनामा मसहित जोन ह्वेप्टन, योगेश राज, राघवकिशोर, स्टेफिन लोटर, जीवन बानियासहितका व्यक्ति अध्ययनमा लागेका छौं । यसमा भूकम्पपछिको सांस्कृतिक र साहित्यिक सम्पदाको क्षतिमाथि विशेष अध्ययन हुनेछ । १९९० सालको भूकम्प क्षतिदेखिको अर्काइभ खोज्ने काम हुनेछ । जुन देशमा राजनीतिक संकट कायम छ र समाज आफैंमा निम्न आर्थिक स्थितिले गाँजिएको छ— त्यहाँ प्राकृतिक विपत्तिले अरूतिरभन्दा बढी असर पुर्‍याउँछ । त्यसको प्रमाणमा नेपाल उभिएको छ । नेपालको महाभूकम्प १९९० लाई लिएर ब्रह्मशमशेरले लेखेको पुस्तकबाहेक अरू संगठित तवरमा त्यस्तो सामग्री पाइएन । कवि सिद्धिचरण श्रेष्ठ, बालकृष्ण समका केही फुटकर कविता पाइएका छन् । हो, साहित्यमा कविता वा निबन्ध पछिल्लो समयमा प्रशस्तै लेखिएका छन् । तर, यही विपत्तिले ल्याएको विचलन र सांस्कृतिक पक्षमाथि अध्ययन हुनै बाँकी छ । म अहिले भूकम्पपछिको साहित्य, साहित्यिक विशेषांक, अर्काइभसहितको संग्रहमा लागेको छु । 

विशेषत: कुनै घटनापछि रिसर्चरहरू अलिकति पैसा र योजना लिएर अनुसन्धानमा लागिहाल्ने यो फेसन हो कि साँच्चिकै अध्ययन हो ?
कतिपयका कतिपय काम फेसन पनि होला । तर, हाम्रो हकमा भने भिन्न कुरा छ । सन् २००१ को गुजरातमा गएको महाभूकम्पमाथि एडवार्ड सिम्पसन नामका बेलायती लेखकले ‘द पोलिटिकल बायोग्राफी अफ एन अर्थक्वेक’ नामको कृति लेखेका थिए । मैंले त्यो पढेर पनि भूकम्पजस्तो विपत्तिमाथि फरक दृष्टिकोण बनाउन सकें । गुजरातमा भूकम्प विपत्तिपछिको सामाजिक र राजनीतिक संकटमाझ नरेन्द्र मोदीजस्ता नेताको उदय भएको थियो भन्ने व्याख्यान यो पुस्तकमा छ । म भने भूकम्पपछिको नेपाली साहित्य र विशेषत: कवितात्मक प्रतिक्रियालाई बढी हेर्दै छु । विभिन्न साहित्यिक पत्रिकाको भूकम्प विशेषांक पनि अध्ययनमा लागेको छु । नेपालका सन्दर्भमा धरहरा ढलेपछि नेपाली जनसाधारणको भावनात्मक संवेग र आवेग पनि अरू ‘सिम्बोल’ का तुलनामा निकै गहिरो थियो । भूकम्पलगत्तै ‘ढल्यो रे नि धरहरा’ शीर्षकमा सरला गौतमले खलंगा डेटलाइनमा ‘कान्तिपुर’ को ‘कोसेली’ मा लेखेको लेखमा त्यो ‘सिम्बोल’ दूरदराजबाट पहिलोपटक गतिलो गरी उत्रिएको थियो । गाउँघरबाट काठमाडौं आउने भनेकै धरहरा हेर्न जाने भन्ने सोचाइ हुन्थ्यो । हो, यहाँ काष्ठमण्डप, रानीपोखरी सबै क्षतविक्षत थिए तर मानिसहरू धरहरा मात्रै सम्झिरहेका थिए । जस्तो, लेखनको कुरा गर्दा ‘केही निश्चित समयसम्म भूकम्पले हामीलाई साम्यवादी बनाएको छ । थाहा छैन, पछि के होला’ भन्ने थिममा कविता–साहित्य लेखिने क्रम बढेको थियो । यो विषयमा अध्ययन र अभिलेखीकरण महत्त्वपूर्ण हुने ठानेर हामी लागेका छौं । 

तपाईंले बेलायतको प्रतिष्ठित प्राज्ञिक निकायमा बसेर नेपाली भाषा–साहित्यको प्रवद्र्धन गर्ने काम गरिरहनुभएको छ । यसको पहिचान र नाम आत्मसन्तुष्टिका लागि मात्रै हो कि यही आधारमा तपाईंलाई बाहिरी दुनियाँमा समेत चिन्नेहरू छन् ?
यसरी सबैतिर एकोहोरो हातलागी (अथवा उपलब्धि) मात्रै खोजेर पनि हुँदैन । विश्वविद्यालयमा पढाउने भएपछि अध्ययन–अनुसन्धान गर्ने स्वभाव हुर्काउनैपर्छ । यो कर्तव्य पनि हो । त्यसअन्तर्गत निश्चित विषय, क्षेत्र र प्राथमिकता मैंले रोजेको हुँ । यस क्रममा ३० वर्षयता नेपाल आइरहेको र यहाँको मिलिजुली स्वभाव, आत्मीयता र साहित्यकारहरूसँगको निकटताले मलाई नेपाल–नेपालीबाट कहिल्यै टाढा हुनै दिएन । मलाई खुबै माया लाग्छ नेपालको, नेपाली भाषा र नेपाली मिजासको पनि । नेपाली भाषा–साहित्यको विद्यार्थी बनेर र अध्येता बन्न खोजेर मलाई बाहिरी दुनियाँमा कसले, कति चिन्छ भन्ने मलाई मतलब रहन्न । म आफ्नो खुसीको र रुचिको काम गरिरहेको छु । 

अहिले भूकम्पपछिको यो योजनाबाहेक अरू के काममा लाग्नुभएको छ ?
हो, म आफ्नै रुचिमा बुद्धिसागरको ‘कर्नाली ब्लुज’ लाई अंग्रेजीमा अनुवाद गर्दै छु । यसको आधाजति पहिलो ड्राफ्ट सकिसकेको छु । तर, उपन्यासमा अलिक फरक लवज र भाषा भएकाले लेखकसँग परामर्श गर्न बाँकी छ । यसअघि, पारिजात, लेखनाथ, देवकोटा, मोहन कोइराला, बैरागी काइँला, गुरुप्रसाद मैनाली, भवानी भिक्षु, बीपी कोइराला, प्रेमा शाह, राजव, लीलबहादुर क्षत्रीलगायतका स्रष्टाको रचनाकृति अनुवादमा ल्याइसकेको हुनाले पनि नेपाली भाषा–साहित्य, लेखनमा रस बसेको छ । 

हो, झन्डै तीन दशकयताको अनुभवमा के फरक आयो त नेपाली साहित्यमा ? ‘बसाइँ’, ‘नासो’ अथवा आजको लेखाइका कुरामा ?
यो त एकदमैं टड्कारो देख्न सकिने कुरा हो । अहिलेको साहित्यले बाहिरी संसार हेर्न थालेको छ, स्टाइल अथवा विषय ग्लोबल बन्दै छ, डिजिटल र ‘भर्चुअल वल्र्ड’ को प्रवेश भएको छ । आज भिन्न विधाहरू संयोजन पनि हुन थालेको छ, जस्तो— पत्रकारिता, साहित्य, अनलाइन मिडिया आदि । म आफ्नो कक्षाकोठामा सधैंजसो दुईवटा नेपाली कथाको ‘रिफर’ गरिरहेको हुन्छु । एउटा गुरुप्रसाद मैनालीको ‘परालको आगो’ र अर्को राजवको ‘घरदेखि सडकसम्म’ । एउटामा नेपाली गाउँको र घरसमाजको चित्र–चरित्र उत्रन्छ भने अर्कोमा सहरको समाज देखिन्छ । गाउँको समाजमा सबैले एकअर्कालाई चिन्छन्, सबै एकअर्कामा आत्मीय लाग्छन् । तर, सहरको समाजमा सबै जना एकअर्कोसँग बिरानोझैं छन्, पूरै अपरिचित । हो, हिजो र आजको मूलभूत हेरफेर भनेकै यही हो । समय जसरी बदलिएको छ, साहित्य–सिर्जना र रचना उसैगरी फेरिएको छ । 

ठीक छ, यो बिषयगत परिवर्तन त बोध गर्नुभयो । तर, साहित्यिक स्तर र गुणवत्तामा के हेरफेर छ ? 
यसरी तुलना गर्न मिल्छ पनि, मिल्दैन पनि । मदन पुरस्कार पाएकै पारिजातको ‘शिरीषको फूल’ (२०२२) र नारायण वाग्लेको ‘पल्पसा क्याफे’ (२०६१) लाई कसरी एउटै तराजुमा राख्ने ? ‘शिरीषको फूल’ को तुलना (साहित्यिक स्तर) मा ‘पल्पसा क्याफे’ लाई राख्नै मिल्दैन । तर, ‘पल्पसा क्याफे’ ले नेपाली साहित्यमा व्यावसायिक बिक्री–वितरण र बजारको विस्तार गर्नमा पुर्‍याएको योगदान भुल्नै मिल्दैन । धेरैजसो बूढाबूढी–पाठकमा सीमित नेपाली साहित्य युवायुवती–पाठकमाझ उतार्ने काम यही ‘पल्पसा क्याफे’ ले गरेको हो । अर्कातिर अनौठो कृति हो ‘शिरीषको फूल’ जहाँ विषयवस्तु र दर्शन पनि गजबको छ । तर, एउटा कुरा मैले ‘फिल’ गरेको छु नेपालमा लेखकभन्दा पत्रकारको आयआर्जन र आर्थिक स्तर राम्रो हो कि जस्तो लाग्छ । यो गलत पनि हुन सक्छ । तुलनाको कुरा गर्ने हो भने पहिलेको नेपाली साहित्य लेखन वा प्रकाशन स्वान्त सुखाय: भनेजस्तै थियो, आफ्नै सानो सर्कलका लागि । अहिले त सिकारु लेखकले पनि अनेक ग्लोबल/डिजिटल विषय, प्लेटफर्म पाउने अवस्था छ । अर्को कुरा, धेरैले चर्चामा ल्याउने ‘विशुद्ध लेखक’ को परिभाषा पनि मैंले बुझ्न सकेको छैन । एउटा मोहन कोइराला अथवा अर्को भूपी शेरचन ‘लेखक मात्रै भए’ भन्दैमा आम रूप र समग्रमा ‘विशुद्ध लेखक’ को आयाम कसरी पहिल्याउने र ?

तपाईंले नेपाली भाषा–साहित्यको अध्येता भएर के पाउनुभयो अथवा यो पनि स्वान्त सुखाय मात्रै हो ?
हेर्नुहोस्, म सन् १९७८ मा पहिलोपटक नेपाल आएको थिए । साहित्यिक सोखमा भने १९८७ देखि यहाँका कविलेखक भेट्न थालेको हुँ । त्यसबेला पारिजात, मोहन कोइराला, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, वानीरा गिरी, विश्वविमोहन श्रेष्ठ, बैरागी काइँला आदिलाई भेटेको थिएँ । तर मलाई माइकल हट भनेर साहित्यिक सोखिनका रूपमा कसले चिन्थ्यो र ? त्यसबेला त्यही एउटा ‘कुहिरे माइकल’ मात्रै भन्थे । आज म कम्तीमा नेपाली साहित्यिक र भाषिक सर्कलमाझ अलिअलि चिनिन थालेको छु । हो, नेपालमा विदेशी अनुसन्धानकर्ताको कमी छैन । तर, नेपाली साहित्यमा लगातार अध्ययन–अध्यापनमा लागिरहेको भने म मात्रै हो कि जस्तो लाग्छ । यसरी मैंले संगत गर्न र आफूमा थोरबहुत निखार खोज्न पनि उपयुक्त समय पाएँ । मेरो पालामा युनिभर्सिटी फन्डिङ पनि राम्रो थियो । अहिले भने यस्तो फन्डिङ पाउनै गाह्रो छ । यसकारण, के पाएँ र के गुमाएँ भनेर लेखाजोखा गरिरहनुभन्दा पनि अहिले नेपाल–नेपाली मेरो सोख र अभिरुचिको विषय बनिसकेको छ । 

तपाईं लगातारजसो नेपाली कविता, कथा, उपन्यासको अंग्रेजी अनुवादमा पनि लाग्नुभएको छ । नेपाली मूल कृति र अनुवादमा उत्तिकै राम्रो कुन लागेको छ ? 
अनुवादका काममा मञ्जुश्री थापाकै काम राम्रो लाग्छ । ‘द कन्ट्री इज युवर्स’ सँगालो निकै राम्रो छ । यस्तो बिरलै उदाहरणबाहेक अरू धेरैका हकमा ‘नेपाली पाठककै लागि मात्रै अनुवादको काम गरिएको हो कि’ जस्तो लाग्छ । अरू भन्नाले अंग्रेजीमा पढ्न चाहने वा बाहिर बस्ने अरू नेपालीका लागि गरिएको अनुवाद भन्न खोजेको हुँ अर्थात् अंग्रेजी पढ्न सक्ने नेपालीका लागि गरिएको अनुवाद । अथवा अझ भनौं, अनुवाद काठमाडौंका लागि मात्रै भएको छ । अन्तर्राष्ट्रिय तहमा गएर बाहिरी पाठकका लागि गरिएको अनुवाद रियल सेन्समा एकदमै कमै छ । उदाहरणमा ‘मुनामदन’ नै हेरौं न । कति धेरै जनाबाट यसको अनुवाद भैसकेको छ । मैले गरेको ‘मुनामदन’ अनुवाद साझा प्रकाशनबाटै आएको छ । तर, एउटा राम्रो अनुवाद निस्किएको छ भने किन त्यही कृतिको अर्को अनुवाद गरिरहने ? यो बुझिनसक्नु छ । अब ‘शिरीषको फूल’ कै अनुवाद हेरौं न । कहाँको अनुवाद हो— ‘शिरिषको फूल’ भनेको ‘ब्लु मिमोसा’ भनेर ? यो फूल ‘ज्याकरन्डा’ हो । यसरी अनर्थ त गर्नुभएन नि । 
जहाँसम्म भर्खरै आएको ‘आज रमिता छ’ उपन्यासको अनुवादको कुरा छ, आईबी राईको साहित्य आफैंमा धेरै उच्च कोटीको छ । यो साहित्य कतिसम्म अंग्रेजी अनुवादमा उत्रन सक्छ भन्न धेरै गाह्रो छ । यो उपन्यास नेपाली पाठकका लागि लेखिएको हो, यसभित्रको प्रयोगको अंश र सांस्कृतिक सन्दर्भहरू निकै अर्थपूर्ण छन् । अनुवादक मञ्जुश्रीले यो सन्दर्भमा अनुवादमा केही कुरा थप्नुपर्छ जस्तो लाग्छ, अन्तर्राष्ट्रिय पाठकलाई बुझाउन । ग्लोसरी, अथवा छुट्टै ‘इन्ट्रोडक्सन’ जरुरी देखिएको छ । हो, राम्रो नेपाली उपन्यासको अंग्रेजी अनुवाद भएको छ तर, राम्रो नेपाली उपन्यासको ‘राम्रो अंग्रेजी अनुवाद’ भएको छ अथवा छैन, म भन्न सक्दिनँ । ‘फेथफुल ट्रान्सलेसन’ ले मात्रै यो कृति बाहिरी संसारमा बुझाउन सकिन्न भन्ने लाग्छ ।

गरिरहेको कामबाहेक नेपालमा हुन नसकिरहेको शोध–अनुसन्धानको क्षेत्र अथवा विषय के हुन सक्छ ? 
हो, यही विषयमा मञ्जुश्री थापाले ‘ललित’ पत्रिकामार्फत उठाएको सरोकार पनि चाखलाग्दो थियो । नेपालको अरू भाषाको साहित्यमा कसैले अध्ययन–अनुसन्धान गरेको छैन । मञ्जुश्रीको जस्तै मेरो रुचि पनि त्यतातिर छ । लिम्बु, तामाङ, मैथिली, भोजपुरी आदिमा के–के लेखिंदै छ, त्यो पनि खोजीको विषय हुनुपर्ने हो । यो हुन सकेको छैन । यो विषय सरोकारमा राख्दा केही साथी नेपाली समाज संक्रमणमा गुज्रिएको र केही समयपछिको सामाजिक–राजनीतिक स्थिरताले यस्तो विविध अध्ययन–अनुसन्धानलाई सघाउ पुग्ने मलाई बताइरहेका हुन्छन् । तर, मेरा बुझाइमा सधैंको संक्रमण यस्तै हो । हरेक दिन संक्रमणमा बित्छ । मेरो बेलायती समाज पनि सधैंसधैं यस्तै संक्रमणमाझ गुज्रिएको छ । बरु एउटा सकारात्मक कुरा गरौं— संक्रमण र बन्देजको । जस्तो, वाक स्वतन्त्रता नरहेको घडीमा लेखनको स्तर र गतिशीलता बढ्दो रहेछ भन्ने लाग्न थालेको छ । त्यस्तो बेलामा लेख्नै परेमा पनि धेरै सोचेर र प्रतीक–उपमाको पनि ख्याल गरेर उपयोग गर्नुपर्ने हुँदोरहेछ । यसो भनेर वाक स्वतन्त्रता ठीक होइन भन्न खोजेको अर्थ नलागोस् । 

हट लागि उत्कृष्ट कृति

कविता
‘हामी’ र ‘मेरो चोक’ (भूपी), ‘पागल’ र ‘माघको खुलेको बिहानको जप’
(देवकोटा), ‘मातेको मान्छेको भाषण’ (बैरागी काइँला), ‘म तिम्रो छोरीलाई प्रेम गर्छु’ (मोहन कोइराला), ‘जाडो’ (श्रवण मुकारूङ), साला पहाड मे क्या है ? (मीनबहादुर विष्ट), ‘देवीमाया’ र ‘भैरवहामा हिउँ’ (श्यामल)
कथा
‘परालको आगो’ (गुरूप्रसाद मैनाली), ‘मैंले नजन्माएको छोरो’ (पारिजात), ‘एक दिनको सामान्यता’ (आईबी राई), ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ (शंकर लामिछाने) ‘घरदेखि सडकसम्म’ (राजव) 
उपन्यास
‘शिरीषको फूल’ (पारिजात), ‘तीन घुम्ती’ (बीपी कोइराला), ‘कर्नाली ब्लुज’ (बुद्धिसागर) 

—देवेन्द्र भट्टराई

प्रकाशित : मंसिर १६, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?