कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केमिस्ट्री

कथा
फातिमाले जति गाली गरे पनि रिसाउँदैन किसन । तर, कुनै पुरुषको प्रसंग ल्याई भने खुब चित्त दुखाउँछ ।
राजेन्द्र पराजुली

काठमाडौं — जोडजोडले साइकलको पाउदानी घुमाइरहेको किसनले गोडाको रफ्तार कम गर्‍यो । सडकको बीचमा फालिएको गाडीको बम्पट र त्यसमा लेखिएको उक्त हरफ बिस्तारै पढ्यो उसले । साइकल पछिल्तिर क्यारिजमा बसिरहेकी फातिमालाई पनि उसले इसारा गर्दै ओर्लन भन्यो ।

केमिस्ट्री

गाडी नम्बर ४२० पोखराको रुट

आजै माया लाउनेलाई ५० प्रतिशत छुट

फलामे बम्पट कम्तीमा पनि १५ किलोको थियो । किसनले साइकल सडक किनारमा ठड्याउँदै बोराबाट घन निकाल्यो । लाम्चो बम्पटलाई केही मिनेटमै उसले बोरामा राख्न मिल्ने स्वरूप दियो । र, त्यस काममा साथ दिई फातिमाले । बम्पटमा लेखिएको हरफ उसले कण्ठ पार्ने प्रयास गर्‍यो । दोहोर्‍याई–तेहर्‍याई भनिरह्यो । फातिमाले त्यसको अर्थ बुझिन । बुझाइदिन किसनलाई अनुरोध गरी ।
उसले थोरै प्राकृतिक पोखराको बयान गर्‍यो र ड्राइभरले प्रेमका निम्ति आफ्नो बसको बम्पटमार्फत् गरेको आह्वानबारे पनि बतायो । ‘बिचरो ड्राइभर † माया गर्नेलाई आधा भाडा छुट दिने सोच्दासोच्दै बस नै खरानी भयो ।’ जलिरहेको बसतिर हेर्दै किसनले भन्यो ।
केही पर जलिरहेको त्यही बम्पट खुस्किएको बसबाट धूवाँका अन्तिम मुस्लाहरू आकाशतिर हान्निँदै थिए । अन्तिम मुस्लो निकै बाक्लो थियो, निभ्न लागेको दियोजस्तै । धूवाँलाई देखाउँदै किसनले भन्यो, ‘ए फातिमा हेर् त धूवाँमा हात्ती पो छ त । अहिले त हात्ती होइन, ठूलो भुँडी भएका गणेश पो देखियो नि †’
फातिमाले पनि धूवाँ हेर्न मुन्टो आकाशतिर बटारी । उसले अर्थोकै देखी । ऊ पनि के कम आफूले देखेको कुरा भन्न थाली, ‘तेरो आँखा कमजोर भएछ किसन, मोतीबिन्दु लाग्योजस्तो छ तँलाई । त्यहाँ त ऊँट छ है । लौ अब त्यो ऊँटको अनुहार बदलिएर अल्लाह बनेको पो देखेँ मैले त †’
परतिरबाट बन्दुक पड्केको आवाज आयो । किसन र फातिमा आकाशतिर बग्दै गरेको धूवाँ हेर्न छाड्दै केही पर गए र खाली सिसी, पुराना कागज अनि फलामका टुक्रा खोज्न थाले ।
त्यस दिन वीरगन्ज–रक्सौल सीमामा आन्दोलन सुरु भएको सय दिन पुगेको थियो । सीमावारि र पारि दुवैतिर आन्दोलनकारी थिए । दुवैतिरका चोकचोक, सडक र मितेरी पुलमा भाषण चलिरहेको थियो । राता, नीला, हरिया झन्डा जताततै फहराइरहेका थिए । सबै जना राजधानी काठमाडौँलाई तथानाम गाली गरिहेका थिए । साथै, पारिबाट वारिका सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा हान्ने काम भइरहेको थियो ।
आन्दोलनकारीहरू पत्रिका खुबै पढ्थे । आन्दोलनको समाचार नभएका पत्रिका तुरुन्तै च्यात्थे र कोहीकोही त त्यसमा थुक्थे पनि । सडकपेटीमा एक अर्धबैँसे उपरखुट्टी लगाएर पत्रिका पढ्दै चुरोटको धूवाँ आकाशतिर फाल्दै थियो । ‘यत्रो आन्दोलन भइरहेको छ, एउटै सम्चार छाप्दैन त भाइ † यस्तो पनि पत्रिका हुन्छ ?’ उसले खाइरहेको चुरोट कच्याककुचुक पार्‍यो पत्रिकाको मुखपृष्ठमा । पत्रिकाबाट केहीबेर पुतपुत धूवाँ आइरह्यो ।
आन्दोलनबारे समाचार प्रकाशित भएको पत्रिका तिनले साँझसम्म राख्थे र घर फर्कने बेलामा पर्खाल वा कसैका घरका भित्तामा टाँसिदिन्थे । आन्दोलनलाई गलत भनी लेखिएका पत्रिकामा तीमध्ये कोहीकोही त पिसाबै फेरिदिन्थे । आन्दोलन भएको स्थानवरपर एकाबिहानै पुग्थे किसन र फातिमा । रक्सीका बोतल र पत्रपत्रिका त्यहाँ थुप्रिएका हुन्थे ।
‘आज त चाँडै नै तेरो र मेरा बोरा भरिएलाजस्तो छ बुझिस् फातिमा,’ किसनले बम्पटतिर देखाउँदै खुसी हुँदै भन्यो, ‘त्यसो भयो भने त आज तेरोमा गएर मस्त सुत्छु म, खुब थकाइ लाग्या छ मलाई । तँसँग केही अरू कुरा पनि गर्नु छ ।’
फातिमाले स्वीकृतिको टाउको हल्लाई ।
‘बिहारमा रक्सी बन्द गरिदिएर नीतीशकुमारले तेरो देशमा खुबै नाम कमायो नि फातिमा अनि यता हामीलाई पनि निकै फाइदा भयो,’ किसन साइकल डोर्‍याउँदै बोल्न थाल्यो, ‘तेरो देशका जँड्याहा सबै नेपाल आएर रक्सी खाने थाले । नेपालको रक्सी व्यापार त बढ्यो अनि तिनले बोतल लिएर जाने होइन क्यारे, यतै फाल्छन् । तेरो र मेरा व्यापार पनि बढ्यो ।’
वीरगन्जका सबैजसो पसल बन्द थिए । साँझपख भने गोप्य रूपमा होटल र भट्टी खुल्थे । उज्यालोमा त कसैले पसल खोल्यो भने सबै सामान सडक मिल्काइदिने, सिसा फोरिदिने गर्थे आन्दोलनकारी ।
सडकमा जताततै टायर बालिएका छन् । जबर्जस्ती चलाउन खोजिएका गाडी जलाइएका छन् । ज्याला–मजदुरी गर्नेहरू विलखबन्दमा परेका छन् । तीमध्ये अधिकांश आन्दोलनका तमासे बनेका छन् ।
एउटा होटलको कुनामा बोतलको थुप्रो देखी फातिमाले । किसनलाई इसारा गर्दै त्यो देखाई उसले । दुवै मिलेर ती बोतल बोरामा हाले । र, साइकल मोड्दै ती सीमापारिको सहदेवा टोलतिर लागे ।
साइकलको पछाडि दुईवटा भरिभराउ बोरा झुन्डिएको छ । अगाडि बसेकी छ फातिमा, बोरा खाली हुँदा मात्रै ऊ क्यारिजमा बस्न पाउँछे । साइकलको अगाडिको डन्डीमा बस्न उसलाई पटक्कै मन पर्दैन । ‘चाक दुख्छ’ भन्छे ।
किसन जोडतोडले पाउदानीको फन्को मारिरहेको छ । सायद ऊ जतिसक्यो चाँडो फतिमालाई आफ्ना कुरा सुनाउन चाहन्छ, अनि आराम पनि मागेको छ उसको शरीरले ।
किसनले आफ्नो मनको कुरा फातिमालाई सुनाउन यसअघि पनि प्रयत्न नगरेको होइन । केही त सुनाएको हो, पूरा सुनाउने मौका भने पाएको थिएन । फालिएका सामान खोज, साइकलमा हालेर त्यसलाई पारिपट्टिको कवाडखानामा पुर्‍याउ, कवाडी ठेकेदारसँग मोलमोलाई गर्न फुर्सदै कहाँ पाएको छ र किसनले † पहिलापहिला त उसले नेपालमै बेच्थ्यो सामान । तर, यता ठेकेदारले ठगेको उसले थाहा पायो । भारतपट्टि बढी पैसामा बिक्री हुने फातिमाले बताएपछि उतै बेच्न थालेको हो उसले खाली सिसी, पुराना कागज र फलामका टुक्रा ।
फातिमाले कतिपय आफ्ना कुरा किसनलाई सुनाउन भ्याइसकेकी थिई । उसलाई सबैभन्दा बिझेको कुरा बाबुको दैनिक रक्सी खाने बानी नै थियो । ऊ काम गर्दैनथ्यो । साँझपख फातिमाले रक्सी खाने पैसा दिइन भने कुट्थ्यो ऊ छोरीलाई निर्मम ढंगमा । रक्सी खाएर ऊ कहिलेकाहीँ त घर नै फर्कंदैनथ्यो । कतै सडकछेऊ वा पाटीमा रात बिताइदिन्थ्यो ।
फातिमाको बाबुलाई किसन घरमा आएको पटक्कै मन पर्दैन । आफूलाई ‘किसन’ नामसँगै ‘नफरत’ छ भन्छ ऊ । फातिमाले धेरैपटक बाबुलाई सम्झाएपछि अहिले ऊ किसन आए–गएको वास्ता नगर्नेसम्म भएको छ । किसन आफूसँग घरमा आएको दिन बाबुलाई रक्सी खाने पैसा अलि बढी नै दिन्छे फातिमा । बढी पैसाले बढी नै रक्सी खाओस् र त्यो दिन घर नफर्कोस् भन्ने चाहना राख्छे ऊ । उसलाई किसनको बढी विश्वास लाग्छ, बाबुको भन्दा बढी । किसनलाई अभिभावक मान्छे ऊ ।
बिहान झिसमिसेमै फातिमालाई लिन मट्टिहर्वाबाट साइकल लिएर निस्कन्छ किसन । तर, सधैँ जान भ्याउँदैन । कहिलेकाहीँ ऊ बिहान सात बजेसम्मै सुतिदिन्छ । अघिल्लो दिन अलि बढी आम्दानी भएको छ भने पनि भोलिपल्ट कम काम गर्न खोज्छ ऊ । किसन आफूलाई लिन नआएको दिन फातिमा निकै ठुस्किन्छे । घुर्की लगाउँछे किसनँसग । अबदेखि तँसँग हिँड्दिनँ भन्छे । ‘तँजस्ता त कति पाउँछु कति’ भनिदिन्छे ।
फातिमाले जति गाली गरे पनि रिसाउँदैन किसन । तर, कुनै पुरुषको प्रसंग ल्याई भने खुब चित्त दुखाउँछ । किसन फातिमालाई विश्वास गर्छ । फातिमासँग छुट्ने कल्पनासम्म पनि गर्दैन ।
तर, जबदेखि सिमानामा चलेको आन्दोलनले उग्ररूप लियो तबदेखि भने किसन नआउँदा फातिमालाई अर्कै किसिमको पिरलो हुन्छ । कतै प्रहरीको गोली पो लाग्यो कि वा आन्दोलनकारीले कुटेर मारी पो दिए कि † यस्तैयस्तै सोच्छे फातिमा । र, जसरी भए पनि आफूलाई लिन बिहानै आउन आग्रह गर्छे ऊ । किसन लिन जान नसकेको दिन उनीहरू मितेरी पुलआसपास भेट्छन् । उनीहरूको अघोषित तालिका नै बनेको छ यस्तो ।
सहदेवा टोलमा एउटा खपरैल छाप्रो छ फातिमाको । त्यही छाप्रोमा ऊ र उसका बाबु बस्छन् । छाप्रोनजिकै मस्जिद छ । सार्वजनिक जग्गामा तिनको छाप्रो भएकाले धेरैपटक पुलिस आएर लखेटेको छ । यता मट्टिहर्वामा रहेको मन्दिरमा बस्छ किसन । दुवैको बीचमा मानव मलमूत्र बोकेर बहिरहेछ सदियौँदेखि सिर्सिया नदी ।
किसन हिन्दी राम्ररी बोल्न सक्छ, फातिमा नेपाली बुझ्छे र बोल्छे पनि । यी दुईले कहिल्यै पनि आफ्नो देशको कुरा गरेनन् । तिनलाई आफूहरू फरक देशका नागरिक भएको महसुस नै हुन पाएन ।

त्यस दिन चाँडो बोरा भरिएपछि उनीहरू खुसीसाथ कवाडखानातिर फर्किरहेका थिए । बाटोमा किसनले थुप्रैपटक बम्पटमा लेखिएको सायरी फातिमालाई सुनायो ।
सिमानामा प्रहरी र आन्दोलनकारीबीच ढुंगा हानाहान चलिरहेको थियो । किसनले साइकल रोक्यो । र, भीड छिचोल्दै बिस्तारै साइकल डोर्‍याएर अघि बढ्न खोज्यो । पछाडिबाट साइकल फातिमाले घँचेडिरहेकी थिई । सडक किनारामा ठूल्ठूला मालबाहक ट्रकका ताँती लागेका थिए । तिनै ट्रकहरूको छेको लाग्दै किसन साइकल डोर्‍याइरहेको थियो ।
‘ओए रोक् साइकल,’ नेपाली प्रहरीले किसनको साइकलमा च्याप्प समात्यो र भन्यो, ‘के छ यो बोरामा निकाल् र देखा । ढुंगा छ कि, बम पो छ कि वा भाला–तरबारै पो ल्याएको छस् कि हाम्लाई हान्न †’
केही दिनअघि आन्दोलनकारीले धारिला घरेलु हतियार प्रयोग गरेर एक जना प्रहरी मारिदिएका थिए । त्यसलगत्तै प्रहरीले गोली हानेर तीन जना आन्दोलनकारी मारिदिएको थियो ।
फातिमा डरले काम्न थाली । ऊ अलि पर गएर प्रहरीतर्फ हेर्न थाली ।
‘केही छैन हजुर । म त खाली सिसी पुराना कागज र फलामका टुक्रा खोजेर बाँच्ने मान्छे हजुर के हुनु र मसँग † तपाईं सबै हेर्न सक्नुहुन्छ ।’
प्रहरीले किसनको साइकल लात्ताले हानेर पल्टाइदियो । बोरा खोल्न आदेश पनि दियो, बन्दुक तेस्याउँदै । किसनको जीउबाट पसिना बग्न थाल्यो । ‘हे भगवान्’ किसनको मुखबाट अनायासै निस्कियो । उता फातिमा पनि अल्लाह पुकार्न थाली ।
कुन्नि कताबाट आएको ढुंगा प्रहरीको टाउकोमा लाग्यो त्यही बखत । प्रहरी त्यहीँ थुचुक्कै बस्यो । प्रहरीको टाउकोबाट रगत बगिरहेको थियो ।
फातिमा र किसनले मिलेर ढलेको साइकल उठाए र त्यहाँबाट सुइँकुच्चा ठोके । फातिमा साइकलको डन्डीमा बसेकी थिई । किसनले कहिल्यै नकुदाएको रफ्तारमा साइकल कुदायो । यस्तो लाग्थ्यो, पाउदानी किसनको गोडाले होइन कुनै मेसिनले घुमाइरहेको थियो ।
सीमापारिको दशा झन् के कम थियो र † दुई जना भारतीय प्रहरीले साइकल रोक्दै सोध्न थाले । घर कहाँ ? जाने कहाँ ? तेरो साइकलमा राखेर ल्याएको यो केटी को हो ? तेरी स्वास्नी हो ? कि लवर ? अथवा नेपालबाट केटी बेच्न लग्दै छस् भारतको कुनै कोठीतिर ? अनेकथरीका प्रश्न किसनमाथि बर्सन थाल्यो । तिनले फातिमाले आफ्नो अनुहार छोप्न प्रयोग गरेकी मैलो सल हटाउन आदेश दिए— अनुहार देखा भन्दै । सल हटाउँदा फातिमा निकै राम्ररी देखिई । केही मिनेट प्रहरीले फातिमाको अनुहार हेर्‍यो । छेउको अर्को प्रहरीले मुख मिठ्यायो र भन्यो, ‘केमिस्ट्री’ चाहिँ खुब मिलेको छ तिमेरू दुईको । त्यो प्रहरीले फातिमाको नजिक गएर उसको हात समाउन खोज्यो, तर, फातिमा परतिर भागी ।
फातिमाले अघि सरेर यथार्थ बताई । तर, तिनले पटक्कै पत्याएनन् । साइकलमा लठ्ठीले हान्दै एउटा प्रहरीले भन्यो, ‘साँचो कुरा के हो बता, नत्र तेरो साइकल जफत हुन्छ । तिमेरू दुवै जनालाई जेलको हावा खुवाउँछु । आन्दोलनकारीले दु:ख दिइरहेको बेला साइकलमा के–के राखेर ल्याउँछ के–के †’
फातिमा अलि बढी नै डराउन थाली । उसले किसनलाई कानमा भनी, ‘तेरो खल्तीमा जति पैसा छ सबै यसलाई दे किसन ।’
किसनले त्यसै गर्‍यो ।
अलिकति कुनातिर लाग्दै प्रहरी हातमा थुक लगाएर पैसा गन्न थाल्यो ।
‘थुक्क साला † जाबो ५० रुपैयाँ, त्यो पनि चानचुन पैसा । सय–पचासको नोट दिन सक्दैनस् तँ गरिबमारा, नमकहराम ?’ प्रहरी कड्क्यो ।
‘हामी गरिब मान्छे हजुर ।’ फातिमा र किसनले एकै स्वरमा याचना गर्दै भने ।
अर्को प्रहरीले साइकलमा लठ्ठीले ठोक्दै जाने इसारा गर्‍यो ।
किसनले लामो सुस्केरा हाल्दै केहीबेर साइकल डोर्‍याइरह्यो, पछिल्तिरबाट फातिमाले ठेलिरही ।
कवाडी सामान किन्ने ठेकेदारको अड्डामा पुग्दा साँझ पर्न लागिसकेको थियो । किसनले सामान बोराबाट खन्यायो र पाएको पैसा फातिमालाई राख्न दियो ।
‘कुनै दिन म पनि कवाडी ठेकेदार बन्नेछु बुझिस् फातिमा ।’ किसनले भन्यो । फातिमा मुस्कुराई मात्रै ।
साइकल रित्तो थियो । तर पनि किसन त्यसलाई डोर्‍याइरहेको थियो । फातिमा क्यारिजमा बसेकी थिई । साँझको सडक, निकै व्यस्त थियो । तर, त्यहाँ कुनै आन्दोलन थिएन । प्रहरीले चेकजाँच गर्ने सम्भावना पनि थिएन । दुवै जना निर्धक्क थिए । फातिमाको घर त्यहाँबाट दुई किलोमिटरजति टाढा थियो ।
‘यो सडकसँग मेरो ठूलो दुश्मनी छ बुझिस् फातिमा †’ भारतदेखि नेपालसम्मै लमतन्न फैलिएको सडकलाई परसम्म चोर औँलाले देखाउँदै किसनले भन्यो ।
‘यही सडकले निर्दोष मेरा बाबुलाई हत्यारा बनाइदियो । मेरा बाबुलाई प्रहरीले १० वर्ष जेल सजाय तोकिदिएपछि मेरी माई अर्कैसँग हिँडिन् । म एक्लो भएँ । मेरो पढाइ छुट्यो । त्यसबेला म ८ कक्षामा पढ्दै थिएँ । मलाई पढाएर ठूलो मान्छे बनाउँछु भन्थे मेरा बाबु । मेरो पढाइ पनि राम्रै थियो ।’
किसन फातिमातिर हेर्दा पनि नहेरी एकोहोरो बोलिरहेको थियो ।
‘तेरो बाबु किन जेल परेको किसन ?’ फातिमाले जिज्ञासु नजरले किसनतिर हेर्दै सोधी ।
‘मेरा बाबु एक जना ठूलो साहुको कार चलाउँथे । तर, त्यस दिन साहु आफैंले गाडी चलाएको थियो । यही सडकको कुनै भागमा एउटा बच्चा कुदिरहेको गाडीमा आएर ठोक्किएछ । बच्चा सडकमै मरेछ । साहुले मेरा बाबुलाई अनेक लोभ देखाएर कार आफूले चलाएको भन्न लगाएछ । सोझा मेरा बाबुले सजिलै साहुको प्रस्ताव स्विकारेछन् र प्रहरीसामु त्यस्तै बयान दिएछन् । साहुले बच्चा किचेको जिम्मा लिएबापत मेरा बाबुलाई धेरैथोक दिने कबुल गरेको थियो । मलाई राम्ररी पढाइदिने, मेरो परिवारको पूरै रेखदेख गरिदिने अनि मेरा बाबु जेलबाट छुटेर आएपछि १० लाख रुपैयाँ दिने । तर, मेरा बाबु जेल गएको भोलिपल्टैदेखि बेपत्ता भयो साहु । मेरी माईले थुप्रैपटक उसलाई भेट्ने प्रयास गरिन् तर उसले कहिल्यै भेट दिएन । त्यसको केही महिनापछि उनी अर्कै पुरुषसँग हिँडिन्, मलाई एक्लै छाडेर । हाम्रो आफ्नो घर थिएन, जमिन त झन् हुने कुरै भएन । भाडाको कोठामा बस्थ्यौँ । आमा हिँडेको पर्सिपल्ट मलाई घरवालाले निकालिदियो । त्यसपछि त म पूरै सडकछाप भइगएँ फातिमा । बाँच्नका लागि यही खाली सिसी, पुराना कागज र फलामका टुक्रा खोज्नु र कवाडीखाना पुर्‍याउनु मेरा लागि सबैभन्दा सजिलो काम थियो । म यही सजिलो काम गरेर बाँचिरहेको छु । यही कारण यो सडकसँग मेरो दुश्मनी छ फातिमा ।’
‘अहिले तेरो बाबु कहाँ छन् त किसन ?’ फातिमाले सोधी ।
‘मलाई थाहा छैन । उनी जेल पर्दा म १४ वर्षजतिको थिएँ । अब त उनी जेल परेको पनि ७ वर्ष हुन लाग्यो । उनी जेलमै छन् कि छुटिसके केही थाहा छैन । यतैकतै बाटोमा भेटेँ भने पनि उनलाई म चिन्छु कि चिन्दिनँ भन्न सक्दिनँ । उनैले पनि मलाई चिन्ने हुन् कि होइनन् †’
‘तेरो र मेरो भेट कहाँ, कसरी र कहिले भयो थाहा छ तँलाई किसन ?’ फातिमाले चञ्चलताका साथ विषयान्तर गर्ने मनसायमा सोधी ।
‘मलाई राम्ररी नै थाहा छ फातिमा तँलाई भेट्दाका घटना र दिन पनि । आज ठीक सय दिन भएको छ तेरो र मेरो भेट भएको । त्यही दिनदेखि वीरगन्ज–रक्सौल सीमामा आन्दोलन सुरु भएको थियो । म त्यस दिन सामान लिएर रक्सौलतिर जाँदै थिएँ, आन्दोलनकारीले मेरो साइकलको दुईवटै पांग्राका हावा फुस्काइदिए । म सकीनसकी साइकल डोर्‍याउँदै थिएँ, तैँले आफूले बोरामा जम्मा पारेको खाली सिसी, पुराना कागज र फलामका टुक्रा मेरो साइकलमाथि राखिदिइस् । सुरुमा त मलाई साह्रै रिस उठेको थियो । तर, मेरो रिस मिनेट पनि टिक्न पाएन । तैँले साइकल घँचेड्न थालिस् । मलाई साइकल अघि बढाउन पहिलाको भन्दा पनि सजिलो भयो । त्यस दिन तैँले र मैले सँगै समोसा खाएको पनि बिर्सेको छैन । हामी समोसा खाएकै ठाउँबाट छुट्टिएका थियौँ । मैले त तँलाई सहदेवा टोलसम्मै पुर्‍याइदिन्छु भनेको थिएँ, तर तैँले बाबुको डर लाग्छ भनेकी थिइस् । तेरो घरसम्म जाने अवसर पाउन मलाई झन्डै महिना दिन लागेको थियो ।’
‘किसन घर आयो ।’ फातिमाले किसनको हातमा बेस्सरी समाउँदै भनी । तिनलाई सहदेवा टोल पुगेको पत्तै थिएन ।
फातिमाको छाप्रोमा बत्ती बलेको थियो ।
सधैँ अँध्यारो हुने छाप्रोमा आज अचानक कसरी बत्ती बल्यो † फातिमा छक्क परी । ऊ भित्र गई । किसन बाहिरपट्टि साइकल समातेर बसिरह्यो । भित्र उसको बाबु पनि थिएन । तर, बत्ती भने बलिरहेको थियो । फातिमाले छाप्रोको वरपर सबै हेरी तर कोही पनि त्यहाँ थिएन । नजिकका छाप्राहरू अँध्यारै थिए सदाझैँ ।
फातिमाको छाप्रोमा मात्र बत्ती कसरी बल्यो ? यो साँँच्चै नै अनौठो घटना थियो । बस्तीमा सरकारी बिजुली पुगेको थिएन वा सरकारले तिनलाई बत्ती दिनुपर्छ भन्ने सोचेको थिएन ।
फातिमाले किसनलाई भित्र डाकी । उसले साइकलमा ताल्चा मार्‍यो र भित्र पस्यो ।
किसन आज निकै भावुक थियो । ‘बुझिस् फातिमा मैले हिजो राति सपना देखेको— सपनामा मैले धेरै पैसा कमाएको थिएँ । तँसँग बिहा गरेर सुखी जीवन बिताउन थालेको थिएँ ।’ किसनले थप भावुक हुँदै भन्यो ।
उसको भावुकता थप बढ्दै थियो । उसले भन्यो, ‘तँ फातिमा म किसन, हाम्रो पहिलो सन्तानको नाम फातिसन राख्ने है ।’
फातिमाले किसनको टाउको मुसारिदिई । ऊ फातिमाको काखमा सुतिरहेको थियो । किसनलाई अर्कै पुरुषसँग गएको भए पनि आफ्नी माईको याद आयो । माईले गरेको जस्तै स्नेह फातिमाले गरेको महसुुस भयो उसलाई । सोच्यो, प्रेमका मामिलामा आमा र प्रेमिकामा खासै फरक नहुने रहेछ ।
छाप्रोमा बलिरहेको बत्ती आफैं निभ्यो । रहस्यमय ढंगमा बलेको बत्ती थप रहस्यमै निभ्यो ।
तर, त्यो खपरैल छाप्रोमा बत्तीले भन्दा पनि बढी उज्यालो फातिमा र किसनको प्रेमले उत्पन्न गरिरहेको थियो ।

प्रकाशित : मंसिर २३, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?