तिम्रो लोग्ने र म

कविता

स्वास्नीलाई खुट्टाको जुत्ता सम्झने
कथित पुरूषार्थी तिम्रो लोग्नेलाई घृणा गर्छु म !

तिम्रो लोग्ने र म

स्वास्नीलाई खुट्टाको जुत्ता सम्झने
कथित पुरूषार्थी तिम्रो लोग्नेलाई घृणा गर्छु म !

र त्योभन्दा बढी घृणा त म तिमीलाई गर्छु
किनकि, त्यही लोग्नेको गोडा धोएको पानी पिएर

तिमी आफूलाई पतिपरायण घोषित गर्दछ्यौ !

मुढे बल अनि चिया गफमा नै जीवनको सार्थकता खोज्दै

मेरो बौद्धिकताको उपहास गर्ने तिम्रो

लोग्नेलाई घृणा गर्छु म

र त्योभन्दा बढी घृणा त म तिमीलाई गर्छु किनकि,

त्यही लोग्नेको मुख्र्याईंलाई महानता सम्झेर

आफूलाई महान् पत्नी मानिरहेकी छौ तिमी ।

एकातिर मख्ख पर्छ ऊ

भर्खर पार्लरबाट आएको तिम्रो सौन्दर्यमा

र घृणा बर्साउन थाल्छ मेरो फुस्रो अनुहार र खुइलिएको तालुप्रति !

अर्कातिर घुटुक्क थुक निल्छ ऊ मेरै सामाजिक प्रतिष्ठामा

अनि एकान्तमा घोत्लिन्छ, तिमीभित्र पनि

त्यही प्रतिष्ठाका झिल्का खोज्दै !

तर कहाँ पाओस् उसले मभित्रको अनुपम आभा तिमीमा ?

किनकि, वर्षौंअघि उसले नै

पत्नीधर्मको पोखरीमा चोपलेर निभाइसकेको थियो

तिमीभित्रको चेतनाको झिल्को !

नारीलाई केवल वासनापूर्तिको साधन ठान्ने

तिम्रो लोग्नेलाई म घृणा गर्छु !

र त्योभन्दा बढी घृणा त म तिमीलाई गर्छु

किनकि, त्यही लोग्नेको अँगालोभन्दा बाहिरको संसारै नदेखी

मेरो स्वतन्त्रताको खिल्ली उढाउँछ्यौ तिमी ।

द्रौपदीको साडी तान्दातान्दै थाकेको

दुशासनजस्तो लाग्छ मलाई तिम्रो लोग्ने ! के गरेन र उसले ?

भरेर सोमरसको साहस रातभरि

छाडिदिन्थ्यो बाँदरे हूल मेरो बगैँचामा ।

बिचरा ! मेरा कलिला बिरूवा–कोपिला–फूल अनि पत्ता

छरिन्थे एकाबिहानै चिया दोकान अनि गल्ली गल्लीहरुमा !

तर हार मानिनँ मैले चट्टान छर्न थालेँ बगैँचामा,

आगो उमार्न थालेँ करेसाबारीमा,

तेजाब रोप्न थालेँ नजरका गमलाहरुमा !

तिम्रो त्यो लोग्ने अचेल बन्दै बोक्रे भलाद्मी

सालीनताका साथ अभिवादन गर्छ मलाई

र अलि पर पुगेपछि पछाडिबाट धारे हात लगाउँछ ।

हुट्टिट्याउँले आकाश हेरेभैँm तम्रो साँघुरो परिधिमा

खोज्न थाल्छ मेरो विशाल आकाश ।

घृणा गर्छु म तिम्रो त्यो बिचरो लोग्नेलाई र

त्योभन्दा बढी घृणा त म तिमीलाई नै गर्छु !

किनकि, त्यही लोग्नेमा पाउन चाहन्छ्यौ तिमी

आफ्नो अस्तित्वको सिंहासन !

रात बिताएर भट्टीमा बिहान पतिव्रता खोज्दै आउने

त्यही पतिको दुर्गन्धित सासले नै

आफ्नो जीवन चलेको ठान्ने तिमीप्रति

दया लाग्छ मलाई !

चढाउँदै बलि प्रत्येक पल आफ्नै अस्मिताको

तिमीले पुज्ने त्यो तिम्रो लोग्नेलाई म घृणा गर्छु !

र त्योभन्दा बढी घृणा त म तिमीलाई गर्छु

किनकि, बलि चढ्नेहरुले विद्रोह नगर्दा नै

निरन्तरता पाइरहेछ बलिप्रथाले !

प्रकाशित : पुस १, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?