कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पूर्वलाई एक फन्को

यात्रा
गंगा बीसी

काठमाडौं — यात्रा आफैंमा रमाइलो हुन्छ । अप्ठ्याराहरू हुन्छन्, आउँछन् तर पनि यात्रालाई रमाइलो बनाउनुपर्छ । यात्रामा जे आउँछ मजाले पचाउनुपर्छ । त्यसमै रमाउन सक्नुपर्छ ।

पूर्वलाई एक फन्को


प्रतिनिधि र प्रदेशसभाका निर्वाचनको मिति तय भएपछि पूर्व जाने मौका मिल्यो । २०७० को निर्वाचनमा पनि पूर्व जाने मौका मिलेको थियो । त्यसको छाप नमिटिँदै र संघ र प्रदेशको रिपोर्टिङमा अझ ताजा बनायो । विराटनगर ओर्लेपछि पूर्वको ढोका खुल्छ । त्यहींबाट सुरु भयो हाम्रो एक नम्बर प्रदेशको यात्रा ।
पूर्वको रिपोर्टिङको पहिलो दिन इलामको फिक्कल गएर रोकिन्छ । स्थानीय तहको निर्वाचनका पार्टीका चिह्न र झन्डा कतैकतै बाँकी नै थिए । स्थानीय जनप्रतिनिधिले काम थाले पनि खास देखिएको छैन । जनप्रतिनिधिहरू बढीजसो दैनिक सिफारिस काममा व्यस्त छन् । मतदाताको अपेक्षा भने धेरै । ‘निर्वाचित गरेर पठायौ, खै त के गरे’ कात्तिकको तेस्रो साता फिक्कलमा भेटिएका एक मतदाताले भन्दै थिए, ‘फेरि निर्वाचन आउँदै छ, मत माग्न आउँदै छन् ।’
फिक्कलको सूर्योदय कुनै पार्टीप्रति लक्षित थिएन । फिक्कलमा सूर्य पनि थियो, रूख पनि र हँसिया, हथौडा र मसाल पनि थियो । तर ती सबैलाई त्यहाँको प्रकृतिले छोपेको थियो । झापाको चारआलीबाट अलि माथि उक्लेपछि सुरु हुन्छ, इलामको सुन्दरता । प्राकृतिक रूपमा सुन्दर इलामलाई राजनीतिक दलका झन्डा र चुनाव चिह्नले थप सिंगारेजस्तो भइरहेको थियो । झन्डाले सिंगारेपछि ‘लोकतान्त्रिक सुन्दरी’ भन्दा पनि फरक नपर्ने ।
...
कान्तिपुर दैनिक, काठमान्डु पोस्ट, कान्तिपुर टेलिभिजन र फोटोग्राफीको टिम थियो यात्रामा । एक जना चालक दलका सदस्य जसले यात्रामा गति थपेका थिए । घुम्ती सडकलाई पूर्वमा गोलाइ भन्दा रहेछन् । सडकको गोलाइ आएपछि मलाई, कान्तिपुर टीभीका क्यामेराम्यान सञ्जय लुइँटेल र सहकर्मी डीपी उपाध्यायलाई चक्कर लागिहाल्ने । विराटनगरबाट फिक्कल पुग्दाको पहिलो दिनमै चक्करको स्वादले हैरान बनाउन सुरु गर्‍यो । चालक भाइ भन्दै थिए, गोलाइमा चक्कर आउन रोक्न नाइटोमा टेप टास्नुपर्छ । त्यो नयाँ उपाय सुनेर एक क्षण रमाइलो भए पनि फिक्कल गएर गाडी होटलमा रोकिएपछि मात्र सहज भयो ।
फिक्कलको पहिलो दिनको बास सकिएपछि ताप्लेजुङ गन्तव्य थियो । सडकका सडकका दर्जनौं गोलाइ आउन बाँकी नै छन् भन्दै थिए, चालक भाइ । हामी गोलाइ पीडितलाई सयौं सडक गोलाइ पार गर्ने दु:ख छँदै थियो, बेलुका पुगेर समाचार सामग्री पठाउने समय पनि कम थियो । यात्रामै उपाय निस्कियो, बाटोमा मतदातासँग कुरा गर्दै हिँड्ने । ताप्लेजुङ पुग्नुअघि तमोर नदीभन्दा केही माथि बाटोमा भएका कुराकानी रोचक । कुराकानी गरिसकेपछि स्थानीयले चियाको अफर गरिहाल्ने । कतिपयले पकाइसकेपछि चिया खाऔं भनेर ल्याइहाल्ने । तर चिया मीठो भए पनि हामीलाई स्थानीय मतदाताका कुरा अझ मीठा लाग्ने । ती कुरा टिपेर लेख्नेको मजा झन् बेग्लै । अहिले अग्र्यानिक कुरा धेरै हुन्छ, ती मतदाताका कुरा पनि अग्र्यानिक थिए । चासो एउटै थिए, उम्मेदवारका मीठा कुरा तीतोमा बदलिने त होइनन् । ‘मीठा कुरा पूरा नभए झन् तीतो हुन्छ, होइन ?’ ताप्लेजुङ फुङलिङ पुग्नुअघि एक वृद्धले प्रश्नको उत्तर हामीसँग थिएन । 
...
ठाउँका आ–आफ्ना विशेषता हुन्छन्, त्यहीअनुसार बोलीचाली हुन्छ । पूर्व पहाडका लिम्बु समुदायमा एउटा चर्चित थेगो छ । तर त्यहाँ पुरुष, महिलाले फ्याट्ट बोल्दिहाल्ने । युवाहरू युवती पनि त्यसमा अभ्यस्त । हामीलाई त्यो थेगो सुन्दा पानीपानी हुनुपर्ने कुरा के छ र ? सहज रूपमा लियौं । निर्वाचनमै केन्द्रित हुने भएको हुनाले ‘भोट हाल्ने’ भन्ने शब्दलाई त्यहाँ ‘भोट लगाउने’ भनिदो रहेछ । यात्राको अर्को स्वाद नै बेग्लै भाषाको स्वाद चाख्न पाइन्छ । पश्चिमको मान्छेलाई पूर्वी पहाडको भाषाको नौलो स्वाद रमाइलो हुनु स्वाभाविक हो ।
सडकको दर्जनौं गोलाइ खाइसकेका हामीहरू ताप्लेजुङ फुङलिङ पुग्दा फुकीढलजस्तो भइसकेका थियौं, चक्कर लागेर । तैपनि ‘हतारमा लेखेको समाचार फुर्सदमा पढ्ने’ पाठकका लागि समाचार कथा लेख्नैपर्ने थियो । नुन हालेको तातो कागतीपानी खाएर काम सुरु भयो । स्थलगत रिपोर्टिङमा जाँदा इन्टरनेट राम्रो भएन भने दु:ख हुन्छ । मिहिनेत गरी तयार गरेका सामग्री पठाउन नपाए अर्थ हुँदैन । फुङलिङमा बस्ने राम्रो होटल र राम्रो इन्टरनेटले कान्तिपुर टेलिभिजनका साथीहरू अलि बढी खुसी भए, दृश्य पठाउन र प्रत्यक्ष प्रसारण सफल भयो । फुङलिङको साँझमा साथीहरूको ‘तोङ्बा फर्माइस’ पूरा भयो ।
...
फुङलिङको शिरमा पाथीभराले तलतिर चियाएजस्तो थियो मौसम । मौसम यति खुलेको थियो कि पखेटा हुने हो भने जता पनि उडूँउडूँ लाग्ने । फुङलिङभन्दा केही माथि सुकेटार विमानस्थल कालोपत्रे भएपछि कहिलकाहीँ चार्टर गरेर जाने जहाजले ब्युँझाउँछ, अरू बेला सुत्छ । ओलाङचुङगोलाबाट सुकेटार झरेका शेर्पा बाजे भन्दै थिए, ‘हामीलाई विकास चाहियो, बनेका विमानस्थल चल्नुपर्‍यो । ओलाङचुङगोला बाटो पुग्नुपर्‍यो । कुरा यत्ति हो ।’ उनी केही झर्किए पनि । चीनसँग सीमा जोडिएको ओलाङचुङगोलामा तिब्बतबाट बाटो आइसक्यो, यताबाट पुगेको छैन ।
‘गुरुङगाउँको होमस्टेको खाना नखाई कसरी फर्कनू ?’ ताप्लेजुङ सहकर्मी आनन्द गौतम भन्दै थिए । ‘लौ त जाऔं,’ सबै साथीहरूको एकमत भयो । सुकेटारमुनि सानो चिटिक्क गुरुङ गाउँमा होमस्टे छ । सहुलियत दरमा खाना बस्न राम्रो सत्कार । गुरुङसेनी दिदीले स्थानीय सामल जोडेर तयार गरेको खान्की हालसम्म पनि यादगर छ । लोकल कुखुरा, रायोको साग, चामल, गुन्द्रुक, गोलेभेंडाको अचार र सिमीको दालको स्वाद सायद अर्को चुनावसम्म याद आइरहला कि ? होमस्टेमा एक कोठा पाहुनाका लागि सफा चट् कोठा र घरवरिपरि हरियाली अनि वरिपरि फूलबारी बनाइएको थियो ।
ताप्लेजुङवासी अलैंचीलगायत जडीबुटीले धनी जिल्ला हो । वर्षमा लाख आम्दानी नगर्ने किसान कमै होलान् । अर्ब रुपैयाँभन्दा बढी अलैंची निकासी हुन्छ हरेक वर्ष । त्यसैले त उनीहरूको मुहार उज्यालो देखिन्छ । आर्थिक बलियो भयो भने मान्छेको मुहारमा चमक त्यसै आउँछ । 
फेरि गोलाइ बाटो हुँदै पाँचथर फिदिम पुग्दा रात झमक्क परिसकेको थियो । देशका ठूला १० सहर बनाउने सहरमध्ये फिदिम पनि एक हो । पहाडको पेटमा काइदाले कुदेको बिसौनीजस्तो सहर बन्दै छ । २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेता पद्मसुन्दर लावतीले पंक्तिकारसँग भन्दै थिए, ‘यो ठाउँमा राजाको सवारी हुँदा बस्ने एउटा कुर्सी पनि थिएन । २०३५ सालतिर त्यो कुर्सी मैले व्यवस्था गरेको हुँ ।’ उनले राजाको कुर्सी मात्र व्यवस्था गरेनन्, धेरैपटक चुनाव जिते । हाल उनी दिवंगत भइसकेका छन् ।
‘लौ है साथी हो, हेवाखोला पुगेर माझीटार जाऔं’ पाँचथर सहकर्मी शाहीमान राईले कुरा झिके । कारण रहेछ, हेवाखोलाका माछा खाएर पुस्तौंदेखि लालजुर्जाविहीन माझी समुदायको स्टोरी गर्ने । ‘माझी दाइले जुनीभरि डँुगा तारिरहे, अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे...’ भन्ने उदितनारायण झाको गीतजस्तै माझीको कथा रहेछ । हरेक चुनावमा भोट दिने तर लाजपुर्जा कहिलै नपाउने उनीहरूको कथा छ । तमोर नदीको सतह तल झर्दै छ, त्यहाँका अगुवा जसबहादुर माझी (५७ वर्ष) को उमेर बढ्दै छ । उनले तमोरको पानी घटबढ भएको नाप्ने सानो जागिर पनि पाएका छन्, तमोर नाप्दानाप्दै उनले आफ्नो जीवन पनि नापिरहेका छन् । समग्रमा उनले माझीको जीवन पनि नापिरहेका छन् । ‘तमोर जहिले पनि यही रहन्छ, अब हामी माझी भने टिक्न नसक्ने अवस्था आउन लाग्यो’ उनले सुनाए, ‘कुन दिन हामीलाई पूर्वबाट हेवाखोला र पश्चिमबाट तमोर उर्लेर नदीमा मिसाउँछ । हुन त यहाँ हाम्रो घरबास भए पनि लालपुर्जा छ्रैन ।’
...
इलामको प्राकृतिक सुन्दरताको कुरा कति गर्नु । इलामको तस्बिर सबैलाई थाहा छ, सुन्दर चियाबगान । सुन्दर सूर्योदय देखिने ठाउँ । इलाम हरियाली हुँदै हो, त्यसमा थप अर्को विशेषता छ, घरअगाडि फूलको सजावट । फूलबिनाको घर पाउन गाह्रो । सबैलाई मन पर्ने फूलले त्यहाँको हरियालीमा थप सुन्दरता थपेको जो कोहीले देख्न सक्छ ।
चियालगायत नगदेबालीका कारण इलाम आफैंमा सम्पन्न जिल्ला हो । ‘पहाडकी रानी’ नामले चिनिने इलामले पनि यतिबेला सम्पन्नता खोजिरहेको छ । व्यक्ति धनी हुनु एउटा कुरा हो, जिल्ला विकसित हुनु अर्को कुरा हो । त्यसैले ठाउँको विकास हुन मुख्यगरी राज्य नै बढी जिम्मेवार हुनुपर्छ । इलामेलीको त्यही चाहना बढी देखिन्छ ।
अझै पनि इलामबाट तराई झापा, मोरङमा बसाइ सर्ने क्रम जारी छ, दूर्गम क्षेत्र खाली हुने क्रम जारी छ । तर, अबको डेढ दशकपछि तराईबाट इलामतिर बसाइ सर्ने अवस्था आउने आकलन गर्न सकिन्छ । किनकि दार्जिलिङले त्यही सिकाएको छ । इलाम दार्जिलिङ हुन अब धेरैबेर लाग्दैन । 
इलाम जति सुन्दर छ, त्यति पर्यटकलाई स्वागत गर्ने राम्रो संस्कार बसाल्नचाहिँ बाँकी नै छ । पर्यटकका लागि होटल र अरू सेवा सुधार गर्न धेरै बाँकी छ ।
यात्रा झापा झरेपछि सडकको गोलाइ लाग्ने डर टर्‍यो । निर्वाचन माहोल तातेको थियो, जमिन चिसो भइसकेको थिएन, न जाडो न गर्मी । नेपालको सबभन्दा पूर्वी नाका काँकडभिट्टा ‘बाठो सहर’ हो । त्यसैले होला, होटलले खानपिनको बिल दोब्बर बनाउन खोज्यो, पछि सच्यायो । यो कस्तो बाठोपन होला ?
मेची नदीपारिको झापाको भूभाग चन्द्रगढी नगरपालिकमा परे पनि कर्णालीका दुर्गमजस्तै । खानेपानी, शौचालय, सडकबाट वञ्चित । मेचीमा पुल बनेपछि केही हुने आशा भने बाँकी नै छ । आशाले नै मान्छेलाई अघि बढ्ने बाटो दिएको हुन्छ । त्यस्तै छ, त्यहाँको जिन्दगी । राजवंशी बस्तीले आश्वासन पाएको दशकौं भइसक्यो, व्यवस्था परिवर्तन भयो, त्यहाँको जीवनशैली खासै परिवर्तन भएन ।
...
धरानदेखि धनकुटासम्मको सडक कुनै बेला चर्चित 
थियो । ब्रिटिस सरकारले बनाइदिएको त्यो सडक देखाएर 
स्वर्गीय नेता सूर्यबहादुर थापाले धेरैपटक चुनाव जिते । सडकको गोलाइ भने अलि बढी लामो भएकाले चक्कर खानु परेन । 
यात्रा रमाइलो ।
धनकुटा सदरमुकामदेखि तेह्रथुम वसन्तपुरसम्मको सडकले ल्याएको परिवर्तन हेर्न लायक रहेछ । धनकुटाको तरकारी सिक्किमसम्म निर्यात हुँदोरहेछ । धनकुटा छथर गाउँपालिका ६ मा भेटिएका किसान बोधबहादुर घिमिरेले खुुसीको कुरा सुनाए, ‘दसैंको बेलामा प्रतिकिलोग्राम तीन रुपैयाँ बन्दाकोभी बेच्दा असी हजार भयो, बीस रुपैयाँ किलोग्राम पाएको भए राम्रो हुन्थ्यो ।’ बिचौलियाले बन्दाकोभी प्रतिकिलो तीन रुपैयाँमा झारेका रहेछन् । विदेशमा काम गरेर फर्किएका उनले एक वर्षमा कम्तीमा दुई लाख रुपैयाँ बचत गर्ने सुनाए । आकाशेपानीको भरमा पनि राम्रो खेती गर्ने सीप त्यहाँका किसानसँग देखियो ।
धनकुटाको पहाडका किसान चिया, तरकारी, अलैंचीबाट हरेक वर्ष राम्रो आम्दानी गर्छन् । त्यो आम्दानी विराटनगर, इटहरीलगायतका सहरमा खन्याउँदा रहेछन् । अर्थात् घर घडेरी जोड्छन्, बालबालिकाको शिक्षादीक्षामा खर्च गर्छन् ।
तेह्रथुमको सदरमुकाम नयाँ सहरजस्तो लाग्छ । केही वर्षअघि भएको आगलागीबाट आधा जलेको सदरमुकाममा धेरै नयाँ भवन बनेका छन् । त्यहाँ चुनावले होटल पाउन मुस्किल, पाए पनि सामूहिक बाथरुम प्रयोग गर्नुपर्ने अवस्था आयो । प्राय: जिल्ला सदरमुकाममा राम्रा होटल बनिसकेका छन्, त्यहाँ भने बन्न बाँकी रहेछ । वसन्तपुरमा भने राम्रा होटल छन् । त्यहाँभन्दा अघि कालापानीमा गुराँसको जंगलमुनि ट्राउट माछा पालनसहित खुलेको रिसोर्ट काइदाको छ । 
...
हिले, लेगुवा, तुम्लिङटार र लेगुवा भोजपुर सडकको यात्रा सम्भिँmदा भने भाउन्ने भएर आउँछ । हिलेदेखि अघि बढेपछि लेगुवा नपुग्दै गाडीको टायर पन्चर भयो । सहकर्मी फोटो पत्रकार अंगद ढकालले टायर फेर्न चालकलाई सहयोग गरी लुकेको सीप देखाए । त्यो उनको अतिरिक्त काम सीप थियो सायद । गाडी ‘डान्सिङ कार’ जस्तो थियो, खाल्डे सडकमा दायाँबायाँ, उफ्रिनैपर्ने । हामी त्यही तालमा चल्नुपर्ने । 
लेगुवामाथि अक्करे भीर काटेपछि गाडी हिलोमा डुब्यो । गाडीको टायर मात्र घुम्यो, गाडी अघि बढेन । उपाय निस्क्यो, गाडी धकेल्ने । अंगद र म गाडीबाट ओर्लियौं, अनि धकेल्न थाल्यौं । गाडी अघि त बढ्यो, हामी भने धूलोले ढाकेर ‘भूत’ जस्तो भयौं । जे होस्, गाडी अघि बढ्यो, संखुवासभाको खाँदबारी पुग्ने चाहनाले सबै कुरा गौण । धूलोको कुहिरीमण्डलको यात्रामा सम्झनलायक सयौं कुरा लेखिसाध्य पनि छैन ।
राति खाँदबारी पुगेपछि होटल पाउन गाह्रो । कारण रहेछ, रुद्राक्ष खरिद गर्न गएका चिनियाँ व्यापारी र चुनावी नेता तथा कार्यकर्ताले भरिभराउ । त्यहाँका सहकर्मी दीपेन्द्र शाक्यले जसोतसो बास बस्ने व्यवस्था गरे, थकानबीच मचानमै भए पनि बास बस्ने अवस्थामा पुगेका हामीलाई खासै गाह्रो भएन । 
भोजपुर दिङला र संखुवासभालाई रुद्राक्षले राम्रै आम्दानी दिएको छ । भोजपुरको दिङ्लामा एउटै रूखको रुद्राक्ष पचास लाख रुपैयाँसम्म बिकेको स्थानीयले सुनाए । बालगुरु षडानन्दले बनारसबाट ल्याएर धार्मिक प्रयोजनका लागि रोपेको रुद्राक्षले आर्थिक रूपमा पनि राम्रो गरेको छ । चिनियाँ व्यापारी रुद्राक्षको बारीमै गएर किन्छन् । रुद्राक्ष बेच्ने किसानहरू भने ५० प्रतिशत रकम भने फुर्मासीमै खर्च गर्दा रहेछन् । त्यहाँ कि चुनावको चर्चा थियो कि रुद्राक्षको ।
खाँदबारी र दिङ्लाबीच बग्ने अरुण नदीमा मोटर चल्ने पुल सपना त्यहाँका बासिन्दाको पुरानै हो । आधा दशकअघि शिलान्यास भए पनि बनेको छैन । खाँदबारीबाट झोलुङ्गेपुल तरेर दिङ्ला हुँदै भोजपुर सदरमुकाम जान सकिन्छ ।
खाँदबारीको दुई दिन रिपोर्टिङपछि तुम्लिङटारबाट राजधानी फर्केर १४ दिनको पूर्वी यात्रा सकियो । तर मनमा प्रदीप देवानको गीतजस्तै धुन गुन्जिरह्यो,
अरुण तरेर नाना, तमोर तरेर.....
आयौं हामी.................।

प्रकाशित : पुस १, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?