कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेहाल एउटा इतिहास

फोटो

काठमाडौं — झट्ट पसेर हेर्दा लाग्छ— यो कुनै ऐतिहासिक संग्रहालय हो । निकै पुराना अनि अनौठा उपकरण र मेसिन हेर्दा कुनै बेलाको युद्धमा प्रयोग गरिएका सामान सुरक्षित गरेर राखिएको थलो पो हो कि जस्तो लाग्छ ।

बेहाल एउटा इतिहास

तर विराटनगरको रानीक्षेत्रस्थित यो स्थान न संग्रहालय हो न त कुनै युद्ध सम्झाउने स्मारक नै । पुरानो ढाँचाका तर बलिया घर, धेरै पुराना लाग्ने मेसिनरीसहितको यो के हो त ? यतिसाह्रो बयान गर्नुपर्ने कुनै विशेषता छ यसको ?

अवश्य ।
...
उद्योग दर्ता नम्बर : १
स्थापना : विक्रम संवत् १९९३ असार ३०
यी दुईवटा बुँदाबाट विराटनगरस्थित मुलुककै जेठो 
ऐतिहासिक जुट मिलको ‘प्राविधिक महत्त्व’ बुझ्न सहज हुन्छ ।
यतिमा मात्र यस मिलको परिचय र महत्त्व सीमित भने छैन । यो उद्योग खुलेपछि अरू उद्योगहरू बिस्तारै स्थापना हुँदै गए । सयौं उद्योग सञ्चालनमा आएपछि ‘सुनसरी–मोरङ औद्योगिक कोरिडोर’ नै बनेको छ । त्यसपछि नै मुलुकका अन्य स्थानमा पनि उद्योग सञ्चालन भएका हुन् । यही जुट मिलका कारण ठूलो संख्यामा मजदुर र तिनका परिवारको बसोबास आसपास क्षेत्रमा बाक्लिएपछि ठाउँको नामै ‘मिल्स एरिया’ बनेको छ । पूर्ण क्षमतामा सञ्चालन भएका बेला मिलमा ३५ सयभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगारी पाएका थिए । 
यो पहिलो उद्योग भएर मात्र महत्त्वपूर्ण बनेको होइन । मुलुकले लिएको आधुनिक औद्योगिक बाटो यसैबाट सुरु भएकाले यस मिलको बेग्लै ओज छ । यसबाहेक राजनीतिक क्रान्तिको उद्गमस्थल पनि यही स्थान हो । यस्तो पनि भन्ने गरिन्छ— जुन कुरा विराटनगरले आज गर्छ, भोलि त्यसको अनुसरण सिंगो मुलुकले गर्ने गरेको छ । साँच्चै औद्योगिक विकासको सुरुआत र आधुनिक राजनीतितिर मुलुकलाई डोर्‍याउने महत्त्वपूर्ण ऐतिहासिक घटना यहीँबाट सुरु भएर देशव्यापी बनेको इतिहास छ । 
विसं २००३ मा यही उद्योग परिसरबाट आधुनिक नेपाली राजनीतिको औपचारिक संघर्ष थालनी भएको मानिन्छ । त्यसबेला राणाशासनविरोधी क्रान्तिलाई सहयोग पुर्‍याउन यहीँबाट ‘मजदुर हडताल’ गर्दै आन्दोलनको उद्घोष भएको थियो ।
त्यसबेला मजदुर आन्दोलनबाट क्रान्तिको उद्घोष गर्ने उद्देश्यले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलगायत उद्योगमा सहभागी भएका थिए । पार्टीका अग्रजहरूको सल्लाहमा उनीहरूले विभिन्न माग राखेर मजदुर आन्दोलन उठाएका थिए । यही आन्दोलनको प्रभावले मोरङ र पूर्वका आसपास क्षेत्रमा राणाशासनविरोधी जनमत विस्तार भएको थियो ।
अहिले भने राजनीतिक हस्तक्षेपको सिकार बन्नुपर्दा उद्योगको अवस्था कचल्टिँदै आएको छ । पर्याप्त बिजुली सुविधा नदिँदा पनि पटक–पटक खुल्दै बन्द हुँदै आउनुपरेको हो । पछिल्लोपटक फेरि यो उद्योग सञ्चालन गर्ने आँट गरिएको छ । मिल राम्ररी सञ्चालन हुन नदिन निजी क्षेत्रका केही उद्योगीको भूमिका हुने गरेको चर्चाका बीच २०७४ भदौ १९ गतेदेखि उद्योग पूरै बन्द थियो । यसपालि तीन साताअघिबाट नयाँ व्यवस्थापनले सञ्चालन गर्न थालेको छ । 
प्रबन्ध निर्देशक नीलहरि काफ्लेका अनुसार उद्योगमा रहेका ६० प्रतिशतभन्दा बढी मेसिन करिब ८ दशकअघिकै उपयोग गरिएको छ । अधिकांश मर्मत गरेर काम चलाइएको छ भने केही नयाँ जडान गर्नुपर्ने अवस्था रहेको उद्योग प्रशासनले जनाएको छ । करिब ६० बिघा जमिन रहेको मिलले मुख्यगरी जुटका बोरा र सुतलीलगायत सामग्री उत्पादन गर्छ । उत्पादित सामग्री भारत निकासी गरिन्छ । तत्कालका लागि करिब सय जनाले रोजगारी पाएको उद्योगमा केही महिनापछि हजारभन्दा बढीले रोजगारी पाउनेछन् ।
भारत, कोलकाताका उद्योगी राधाकृष्ण चिमोरिया र उनका सहकर्मीको यो उद्योग स्थापनामा महत्त्वपूर्ण भूमिका थियो । जानकारहरूका अनुसार त्यसबेला ६२ लाख ७० हजार ५ सय रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको थियो । यसमा सरकारको १२ प्रतिशत अनि चिमोरियालगायत उद्योगीको अरू सेयर थियो । 
औद्योगिक क्षेत्रमा नयाँ–नयाँ विकास भएका छन् । तर यति पुरानो उद्योगको त्यसबेला स्थापना गरिएको संरचना ‘चाखलाग्दो’ भएको भन्दै विभिन्न मुलुकबाट अध्ययन गर्ने समूहहरू पनि आउने गरेका छन् । पूर्व वा विराटनगर आइपुग्ने विद्यार्थी, कर्मचारीलगायतका भ्रमण समूहहरूको पुग्नुपर्ने सूचीमा यो क्षेत्र पनि पर्ने गरेको छ । तर सरकारले भने यसलाई उति महत्त्व दिएको लाग्दैन ।
अरू सुधारको कुरा त परै जाओस् सुरु दर्ताको अभिलेखसमेत बदनियतपूर्ण तरिकाले जानाजान ‘बेपत्ता’ पारिएको सञ्चालक समितिका पदाधिकारीको गुनासो छ । यही कारणपछि २०७२ असोज २९ मा पुन: दर्ता गर्दा यसको दर्ता नम्बर ९७८३४ हुन पुगेको छ । कम्पनी दर्ता र कर भुक्तानी गर्दाको अन्य पुराना अभिलेख खोजी गरी दर्ता नम्बर १ नै कायम गर्ने पहल भइरहेको प्रबन्ध निर्देशक काफ्लेले बताए ।
बेवास्ता होइन संरक्षण गर्दै यसलाई एउटा औद्योगिक अनुसन्धान केन्द्र बनाउन पनि माग उठ्दै आएको छ । राजनीतिक हस्तक्षेप नगरी सहज रूपमा सञ्चालन हुन दिनुपर्ने आवाज उठेको लामो समय भइसक्यो । यो ऐतिहासिक धरोहरको स्याहारसँगसँगै औद्योगिक विकासमा केन्द्रित हुन राज्यको ध्यान भने कहिले जाला ?

माधव घिमिरे (शब्द)

 

प्रकाशित : पुस १, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?