३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाली पुरस्कारको अभिलेखन

पुस्तक
ज्ञानु अधिकारी

काठमाडौं — इतिहास लेख्नु भनेको अतीतका घटनाहरूको लेखा राख्नु मात्र होइन ती घटनाहरूबाट ज्ञान लिएर विगतमा भएका गल्ती कमजोरीहरूलाई वर्तमानमा नदोहोर्‍याउनु हो । इतिहास लेखन जटिल कार्य हो ।

नेपाली पुरस्कारको अभिलेखन

लेखकमा यसप्रति गहिरो रुचि र इच्छाशक्ति भएन भने आधिकारिक र प्रामाणिक इतिहास लेखन सम्भव नै हुँदैन । यस्तै एउटा अदम्य साहस र इच्छाशक्तिद्वारा प्रेरित भएर लेखिएको भीमकाय कृति प्रकाशन भएको छ र यसले नेपाली कला साहित्य जगत्को सुखद पाटोलाई अनावरण गरेको छ । ‘नेपाली पुरस्कारको इतिहास’ शीर्षकको यस ऐतिहासिक कृतिले आफ्नो महत्तालाई स्थापित त गरेको छ नै यसका साथसाथै लेखक डिल्लीराम मिश्रको लेखकीय लगन, परिश्रम र धैर्यको नमुनालाई पनि प्रस्तुत गरेको छ । डिल्लीराम मिश्र यस्ता खोज, अनुसन्धानात्मक क्षेत्रमा सक्रिय स्रष्टाका रूपमा परिचित भए पनि यस १२४६ पृष्ठको विशाल कृतिले उनको उचाइ बढाएको छ ।

पुरस्कारको इतिहास लेखनजस्तो झन्झटिलो शुष्क विषयलाई पनि अत्यन्त रोचक र आकर्षक शैलीमा लेखिएको यस कृतिमा लेखकका मौलिक दृष्टिकोणहरू पनि मिसिएका छन् । तथ्य र प्रमाणका साथै विभिन्न ऐतिहासिक सन्दर्भहरूलाई प्रस्तुत गर्ने क्रममा लेखकले विभिन्न सन्दर्भ स्रोतहरूको पनि उल्लेख गरेका छन् । यस कृतिमा गरिएको खोज र अनुसन्धानबाट के देखिन्छ भने नेपाली पुरस्कारको इतिहासलाई तुलनात्मक रूपमा हेर्दा २०५० पछिका दुई दशकमा सङ्ख्यात्मक रूपले पुरस्कारहरूको स्थापना गर्ने लहर बाढीकै रूपमा बढेको देखिन्छ । साहित्य, कला, सङ्गीत, ज्ञानविज्ञान, चलचित्र, पत्रकारितालगायत खेलकुद क्षेत्रमा स्थापना भएका यस्ता पुरस्कारहरूको स्थापनाबाट तत्क्षेत्रमा साधनारत साधकहरूलाई सम्मान गर्ने परम्परालाई प्रशंसनीय कार्य मान्न सकिए पनि यसमा पछिल्लो समय विकृति र विसङ्गति देखा पर्नु यसको ठूलो चुनौतीका रूपमा यस कृतिमा औँल्याइएको छ । साथै, उनले जबसम्म नातावाद, गोतावाद, कृपावाद र चाकडीको प्रभुत्व रहन्छ तबसम्म सही व्यक्तिको मनोनयन सम्भव हुँदैन र एकैपटक सयौँका सङ्ख्यामा पदक वितरण गरिनुले पनि यसको महत्त्व घट्न गएको व्यक्त गरेका छन् ।
नेपालका साहित्यलगायत अन्य विविध क्षेत्रमा करिब जारभन्दा बढी पुरस्कार स्थापना भएको देखिन्छ । यी सबै पुरस्कारदाता संस्थाको ऐतिहासिक दस्तावेजलाई प्रस्तुत गरेर तिनको योगदानको समेत मूल्याङ्कन गरिएको यस कृतिले आजसम्म नगरिएको महत्त्वपूर्ण विषयको इतिहासलाई जीवन्त राख्ने काम गरेको छ । करिब पच्चीस वर्ष परिश्रमबाट यो पुस्तक लेखेका हुन् मिश्रले । 
पुस्तकमा नेपाली पुरस्कारको इतिहासमा सबैभन्दा पहिले स्थापना भएको पुरस्कारदेखि २०७२ सम्म स्थापना भएका र निरन्तर रूपमा दिँदै आएका पुरस्कारहरूको इतिहासलाई परिचयात्मक रूपमा प्रस्तुत गरिएको छ । यस क्रममा नेवारी भाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएबापत दिइने ‘श्रेष्ठ सिरपा पुरस्कार’ नै संस्थागत रूपमा स्थापना भएको पहिलो गैरसरकारी साहित्यिक पुरस्कार हो । यो २०१० बाट प्रारम्भ भएको हो र यही विन्दुबाट सुरु भएको पुरस्कारको इतिहासलाई २०७२ सम्म स्थापना भएको र प्रदान गर्ने गरिएको पुरस्कारसम्म ल्याएर नेपाली पुरस्कारको छ दशकभन्दा बढीको इतिहासलाई यस कृतिमा समेटिएको छ । यसरी छ दशकभन्दा बढी समयावधिमा स्थापना भई प्रदान गरिँदै आएका नेपाली पुरस्कारको सङ्क्षिप्त परिचयसहितको अभिरेखाङ्कन यस कृतिमा गरिएको छ ।
नेपालमा प्रदान गरिँदै आएको विविध क्षेत्रका पुरस्कारहरूको विवरण मात्र नभई यसमा पुरस्कारको महत्त्व र भूमिकाका बारेमा पनि सङ्क्षिप्त रूपमा प्रकाश पारिएको छ । श्रेष्ठ सिरपा, मदन पुरस्कार गुठी, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली भाषा प्रकाशिनी समिति, मोफसलका विभिन्न पुरस्कारहरू, शैक्षिक क्षेत्रका पुरस्कारहरू, साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने पुरस्कारहरू, मानवअधिकार क्षेत्रका पुरस्कारहरू, राष्ट्रिय युवा कोषद्वारा दिइने पुरस्कारहरू, विज्ञान तथा प्रविधि क्षेत्रका पुरस्कारहरू, युवा तथा खेलकुद मन्त्रालय, चिकित्सा विज्ञान तथा स्वास्थ्यसेवा क्षेत्रका पुरस्कार, नेपाल पुस्तकालय सङ्घ, साल्ट ट्रेडिङ कर्पोरेसन, बालसाहित्य समाज, लेखनाथ पुस्तकालय, 
गीतसङ्गीत, लोकसंस्कृति क्षेत्रका पुरस्कारलगायत विभिन्न व्यक्तिका नाममा स्थापना भएका विभिन्न किसिमका पुरस्कार तथा अन्य पुरस्कारहरूलाई एक सय एकचालीस अध्याध/शीर्षकमा राखेर चर्चा गरिएको छ । यसरी चर्चा गर्ने क्रममा पुरस्कारदाता संस्था, तिनले प्रदान गर्ने पुरस्कार र पुरस्कृत व्यक्तिको समेत सङ्क्षिप्त परिचय दिइएको यस कृतिलाई इतिहासकार डिल्लीराम मिश्रले कोरा विवरण हुनबाट जोगाएका छन् । यस कृति पढ्दा कृतिबाट पाठकले पुरस्कारसम्बन्धी जानकारी मात्र प्राप्त नगरी त्यससँग जोडिएर आएका अन्य धेरै ऐतिहासिक प्रसङ्ग र घटनालाई पनि पढ्न पाउनेछन्, यसले गर्दा कृति अझ रोचक पठनीय बन्न पुगेको देखिन्छ ।
नेपालमा प्रारम्भदेखि हालसम्म स्थापना भएका सम्पूर्ण पुरस्कारहरूलाई एउटै कृतिभित्र समेट्नु, व्यवस्थित र प्रामाणिक बनाएर मौलिक शैलीमा लेख्नु, पुरस्कारहरूलाई परिचयात्मक रूपमा प्रस्तुत गर्नु, केही महत्त्वपूर्ण तस्बिरहरूलाई समावेश गर्नु र आजसम्म नलेखिएको पुरस्कारजस्तो गौरवमय विषयको समग्र पक्षलाई इतिहासबद्ध गर्नुजस्ता महत्त्वपूर्ण कुरा यस कृतिका प्राप्ति हुन् भने यसमा केही सीमा पनि छन् । केही पुरस्कारहरू छुट्नु, सबैका तस्बिर नसमेटिनु, केही तिथिमितिमा तलबितल पर्नुजस्ता कमजोरी रहे पनि ती क्रमश: सुधार गर्दै लैजाने कुरा हुन् । इतिहास कहिल्यै पनि पूर्ण हुँदैन, यसलाई समयानुसार थप्दै र परिमार्जन गर्दै लैजानुपर्छ । इतिहास लेखन ज्यादै महत्त्वपूर्ण कुरा हो । यस प्रसङ्गलाई लिएर महाभारतमा कतै भनिएको छ— इतिहासलाई प्रयत्नपूर्वक रक्षा गर्नुपर्छ किनकि, धनको नष्ट भए केही हुँदैन तर इतिहास नष्ट भयो भने सबै कुरा नष्ट हुन्छ । यो भनाइले मानव सभ्यताको विकासमा इतिहासले कति महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ । मिश्रको प्रस्तुत कृतिले पनि पुरस्कारजस्तो एउटा गम्भीर विषयलाई ऐतिहासिक अभिलेखन गरेर नेपाली वाङ्मयका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।
[email protected]

प्रकाशित : पुस १, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?