१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आफ्नै छायाका आलोचक

व्यक्ति
जर्मनीमा महेशले दुइटा काम गरे, पढाउने र लेख्ने । संस्कृत पढाए, कौटल्यको अर्थशास्त्र पनि । फ्रान्समा बसेर नेपालका १९९० सालअघिका भुइँचालोबारे अध्ययन गरे ।

काठमाडौँ — इतिहासका थुप्रै भ्रम र गल्ती औंल्याउने स्रोतसंस्था संशोधन–मण्डलका उत्पादन हुन् महेशराज पन्त । विद्यालय र विश्वविद्यालयका औपचारिक कक्षा–सोपानका तल्ला तहहरूलाई सोझै नाघेर एकैचोटि विद्यावारिधि गरेका यी अध्येता मोटामोटी १२ भाषा जान्दछन् ।

आफ्नै छायाका आलोचक
इतिहासका थुप्रै भ्रम र गल्ती औंल्याउने स्रोतसंस्था संशोधन–मण्डलका उत्पादन हुन् महेशराज पन्त । विद्यालय र विश्वविद्यालयका औपचारिक कक्षा–सोपानका तल्ला तहहरूलाई सोझै नाघेर एकैचोटि विद्यावारिधि गरेका यी अध्येता मोटामोटी १२ भाषा जान्दछन् ।


बृहस्पति विद्यासदन नक्सालमा ‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’ को विमोचन थियो मंसिर ९ गते । प्रकाशक खिल शर्मा–राजीवलोचन जोशी स्मारक प्रतिष्ठानलाई पहिल्यै थाहा थियो, लेखक महेशराज पन्त आउँदैनन् । लेखक महोदय कति अलौकिक छन् भने आफ्नो किताबको विमोचनसमेत बहिष्कार गरिदिन्छन् । बाह्रौं पुस्तकको विमोचन कार्यक्रममा भने उनले जासुस खटाएका रहेछन् । ‘विमोचनमा के हुन्छ ? तारिफै तारिफ ! मेरो कमीकमजोरी त आफैंलाई थाहा छ,’ यी ७४ वर्षीय लुकुवा–लेखक हाँसेरै टारिदिन्छन्, ‘मलाई कुनै विज्ञापन वा तामझाम गर्नु छैन । किताबलाई क्यामरा चाहिँदैन ।’

खासमा उनले सभा–सोसाइटी–गोष्ठीमा जान छाडेको ३० वर्ष नाघिसक्यो । यस्ता कर्मकाण्डको भारी अनुभव पनि छ । आफूभन्दा कम ज्ञान भएकाहरू उच्चासनमा बसेर अन्टसन्ट उग्राउँछन् । समय कटाउनै सकस । च्यान्टे–च्यान्टे, अल्पपठित र कुपठितहरूका पाखण्ड देखेर राँको सल्किन्छ उनमा । आवेशमा आउँछन् र ठाडै झम्टन्छन् (शारीरिक रूपमा होइन) पनि । पछि आत्मबोध भयो, आक्रोशमा आउनुभन्दा बरु त्यस्ता कार्यक्रममा जाँदै नजाने ।

हल्यान्डका संस्कृत विद्वान् यान गोन्डा र महेशराज पन्तको स्वभाव मिल्दोजुल्दो छ । गोन्डालाई कुनै संस्थाले सम्मानस्वरूप तक्मा लिन डाकेछ । उनले सहजै भनिदिए, ‘धन्यवाद ! त्यहाँसम्म आउजाउ गर्दा समय लाग्छ । मेरो तक्मा पोस्ट अफिसबाट पठाइदिनू ।’ बब डिलनले निकै पछि नोबेल पुरस्कार स्विकारे र भाषण पनि बल्लबल्ल पठाए । ‘म अर्कै किसिमको मानिस हुँ, अप्ठ्यारो पनि छु,’ महेश स्विकार्छन्, ‘सामान्य मान्छेलाई जेले आनन्द दिन्छ, त्यसले मलाई आनन्द दिँदैन ।’ जनसम्पर्क, गुटबन्दी र जनवाद (हल्लाखल्ला) को कित्तामा उनी छँदै छैनन् ।

यही लुकुवा छविका कारण उनलाई धुरन्धर विद्वान् नयराज पन्तका जेठा छोरा भनेर नचिन्ने थुप्रै छन् । दुई वर्षअघि प्रज्ञा–पुस्तक प्रदर्शनीमा गएर पिताजीका भएभरका किताब उठाएछन् । उनलाई सोधिएछ, ‘हजुरले यति धेरै किताब किन्नुभयो ?’ उनले भनेछन्, ‘मेरो बुबाको किताब हो ।’ ती सज्जनले छक्क परेर भनेछन्, ‘दिनेश (प्राज्ञ दिनेशराज पन्त) सर मात्र होइन र ?’ उनलाई थाहा छ, दीर्घ–एकान्तबासको नतिजा ।

उनलाई यति एकोहोरो, अप्ठ्यारो र एकलकाँटे बनाइदिने पाठशाला हो, संशोधन–मण्डल । यो पाठशालाको चर्चाबिना उनको व्यक्तिचित्र नै बक्यौता रहन्छ । संशोधन–मण्डलको अभूतपूर्व सफलता भनेको कमसेकम इतिहास–खोजीको क्षेत्रमा भने पनि नेपालले गुरुकिल्ली (अथोरिटी) पाएको छ । ‘देश जुन रूपमा गरिब छ, बौद्धिक रूपमा पनि गरिब छ । हामी आगमनअघि इतिहासमा सिल्भा लेभीले यसो भने, सेसिल बेन्डलले उसो भने भनिन्थ्यो,’ उनी गर्व गर्छन्, ‘कम्तीमा विद्याको सानो शाखाबाट बाहिरियाको गुरुकिल्ली गुम्यो ।’

राणाकाल (१९९७) मै चलनचल्तीको शिक्षा पद्धतिविरुद्ध संस्कृत भाषाका आधारमा प्रयोगात्मक शिक्षा दिने अभियानमा उनका पिता नयराज पन्तले आफ्नै घरमा खोलेका थिए, बेनामे पाठशाला । पछि त्यो इतिहासका थुप्रै भ्रम र गल्ती औंल्याउने स्रोतसंस्था बन्यो र ०१८ सालमा न्वारान भयो, संशोधन–मण्डल । बनारसमा पढ्दा प्रश्नपत्रमै गल्ती र त्रिखण्डी (तीन खण्डको एक खण्ड मात्र पढेर पास हुने) विद्यामा चित्त नबुझेपछि उनले शिक्षामा समानान्तर धार दिएका थिए । कक्षा भनिन्थेन, पाठ भनिन्थ्यो । सहपाठीलाई ‘पाठे’ भनिन्थ्यो । माथिल्ला पाठेले तल्ला पाठेलाई पढाउँथे ।

पाठशालाका एक्ला स्वयंसेवी शिक्षक थिए नयराज । उनले आफ्ना र नजिकका साथीभाइका छोरा बटुलेर पढाए । उनका ४१ चेलामध्ये धनबज्र बज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्तसहित २४ जना त लेखकै भए । उनीहरू प्राचीन, मध्यकालिक र आधुनिक इतिहास अध्ययनका स्तम्भ मानिन्छन् । तर, त्यो शक्तिलाई नै कमजोरीका रूपमा व्याख्या गरिएको उनको टिप्पणी छ । अझ एक कक्षा पनि नपढेको अपठितका रूपमा उट्पट्याङ प्रचार गरिँदा उदेक लाग्छ महेशलाई । ‘डोरबहादुर विष्ट बीए मात्र पढेर प्रोफेसर भए होला । उनले एमए नपढ्नुमा आर्थिक वा अन्य कारण होलान्,’ महेशको नोट अफ डिसेन्ट छ, ‘हामीले किन एक कक्षा पनि पढेनौं भनेर कसैले खोतल्दैन । हामीले परम्परागत मार्ग छाडेका हौइनौं र ?’

आफ्नो पाठशालालाई ‘गुरुकुल’ भनिएकोमा पनि दु:ख मनाउ छ उनको । ‘गुरुको घरमा बस्ने, त्यहीँ काम गर्ने, गौसेवा गर्ने, भिक्षा मागेर गुरुआमालाई बुझाउने, गुरुको उमेरकी गुरुआमाको खुट्टामा ढोग्ने, तरुनी भए नमस्कार गर्ने आदि गुरुकुलको धार्मिक स्वरूप हुन्छ,’ उनी भन्छन्, ‘हामी त बिहान १० बजे पाठशाला जान्थ्यौं, दिउँसो ४ बजे फर्कन्थ्यौं । संशोधन–मण्डलमा गुरुकुलीय विधिविधानको दुम्सो पनि थिएन । हल्लाका भरमा हामीलाई जोकर बनाइएको छ ।’

त्यतिखेर संशोधन–मण्डलका तर्फबाट बाटोमा एक–दुईपाने उत्तेजक पर्चा छपाएको बालसम्झना छ महेशलाई । ‘बालचन्द्र शर्मा स्वास्नीलाई आमा भन्नुहुन्छ’ शीर्षकको पर्चा बाँडेका थिए उनले । शर्माले जयस्थिति मल्लकी पत्नी राजल्लदेवीलाई आमा भनेर इतिहास लेखेको व्यंग्यस्वरूप । एक सज्जनले सम्झाएछन्, ‘स्वास्नी भनेको आमाबराबर त हो नि बाबू । पकाउने, खुवाउने, सेवाशुश्रूषा गर्ने आमा नभए के हो ?’

खासमा महेशको पुख्र्यौली थलो हो, गोरखाको धुवाँकोट । तर, उनी जन्मिए वटु सवल बहाल, काठमाडौंमा । बनारसमै पढेका उनका बाजे दरबार हाइस्कुलमा व्याकरणका अध्यापक थिए । महेशका दाजुभाइले सम्पूर्ण शिक्षा लिए पिताकै पाठशालामा । १४ वर्षको उमेरमा बल्ल एबीसीडी चिनेका हुन् महेशले । २२ वर्षको हुँदा अमेरिकी सांस्कृतिक केन्द्रको इङ्लिस ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ती भए । त्यहाँ टेस्ट लिँदा महेश पहिलो भए गौतमबज्र बज्राचार्य (धनबज्रको भतिजा) दोस्रो हुन्थे, गौतम पहिलो भए महेश दोस्रा । बच्चैदेखि अंग्रेजी पढेका सधैं पछाडि परेपछि उनी झल्याँस्स भए, सरकारी शिक्षा कति निकम्मा रहेछ । पछि उनले अमेरिकी सांस्कृतिक केन्द्रको पत्रिकाका लागि अनुवादक भएर काम गरे । संस्कृत र अंग्रेजीमा उत्तिकै अब्बल महेशका आधा दर्जन पुस्तक अंग्रेजी भाषामै छन् ।

सन् १९७६ मा नेपाल–जर्मन मनुस्क्रिप्ट प्रिजर्भेसन प्रोजेक्टमा काम थालेका थिए उनले । नेपालमा भएका हस्तलिखित पुस्तकहरूको माइक्रोफिल्म बनाउने परियोजना थियो त्यो । अरू अह्राएको मात्र गर्थे, महेश आफ्नै ढंगले पनि काम गर्थे । जर्मन नजर उनमा परिहाल्यो । यस अर्थमा जर्मनकै आविष्कार हुन् महेशराज पन्त ।

जीवनका २३ वर्ष युरोपमा बिताए महेशले । २० वर्ष जर्मनी बसे, तीन वर्ष फ्रान्समा । जर्मनीका विभिन्न विश्वविद्यालयमा ‘साइन्टिफिक कोलाबोरेटर’ थिए भने फ्रान्सको द फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च (सीएनआरएस) मा डाइरेक्टर अफ रिसर्च । त्यसले उनलाई पर्याप्त एक्सपोजर दियो ।

जर्मनीमा उनले दुइटा काम गरे, पढाउने र लेख्ने । संस्कृत पढाए, कौटल्यको अर्थशास्त्र पनि । फ्रान्समा बसेर नेपालका ऐतिहासिककालदेखि १९९० सालअघिसम्मका भुइँचालोबारे अध्ययन गरे । पुराना अभिलेखका आधारमा कुन मितिमा कस्तो भुइँचालो गएको थियो भन्ने पत्ता लगाए । ‘नेपालका भुइँचालोको इतिहास मेरै खोजिमेली हो,’ उनलाई खेद छ, ‘कति रेक्टर स्केलको गयो मात्रै मैले

भन्न सकिनँ ।’

एक दिन कामबाट रेलमा फर्कंदै गर्दा अलिअलि मातेका फ्रेन्चले झपारेको उनी कहिल्यै बिर्संदैनन्, ‘त्यो काम तँ तेरै देशमा गएर गर् । मेरो देशमा पैसा खान किन आएको ?’ उसलाई महेशले विनम्रताका साथ बताउनुपर्‍यो, ‘म आफैं आएको होइन, तिम्रै देशले बोलाएर आएको हुँ ।’ क्यान्सरको उपचारदेखि ज्यापू संस्कृतिको अनुसन्धानसम्म संलग्न सीएनआरएसलाई त्यतिबेला ‘१० हजार सेता हात्ती पालेको’ भनेर आलोचना गरिन्थ्यो ।

जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट जातरूपको अमरकोशबारे पीएचडी गरे सन् १९८७ मा । खासमा त्यो शब्दकोश हो । त्यसमा थुप्रै भाष्य र टीका लेखिए । जातरूपले लेखेको किताब हराए पनि त्यसपछिका लेखकहरूले उनको नाम लिन छाडेका थिएनन् । जर्मन प्रोजेक्टअन्तर्गत हस्तलिखित किताबको क्याटलग बनाउँदा संयोगवश बाह्रौं शताब्दीताका ताडपत्रमा सारिएको जातरूपको त्यो किताब केशर पुस्तकालयमा फेला पारे उनले । र, मूल किताबसहित ९ सय ८० पृष्ठको उपोद्घातसहित पुस्तक दुई भागमा छापियो दिल्लीबाट, ‘जातरूपज् कमेन्ट्री अन द अमरकोश’ । हार्वर्ड युनिभर्सिटीका संस्कृत अध्यापकको समीक्षा आयो, ‘संस्कृत क्षेत्रको ९० वर्षयताको इतिहासमा दोस्रो राम्रो योगदान ।’

महेशराजका शब्दमा अनुकूल हावापानी र बाहिरिया अतिक्रमण नभएकाले त्यस्ता किताब नेपालमा अझै सुरक्षित छन् । शाक्य, बज्राचार्य आदि कलाकारहरूले क्यालिग्राफिक अक्षरमा सारेका वेद र रामायणका सबभन्दा प्राचीन किताब पनि छन् । ‘गोर्खाली राजा आउनुअघि विश्वलाई देखाउन लायक गतिलो किताब एउटै लेखिएन तर कलाकृति प्रशस्तै छन्,’ उनी भन्छन्, ‘मैले बंगाली लेखक जातरूपले एघारौं शताब्दीमा रचिएको निष्कर्ष पनि दिएँ ।’ उनलाई जीवनमा सन्तोष लागेको काम नै जातरूपको अमरकोशमा हो जसका लागि ११ वर्ष खर्चिएका थिए ।

अक्सफोर्ड विश्वविद्यालयका नेपाली प्राध्यापक दिवाकर आचार्य महेशकै चेला हुन् । दिवाकरलाई उनले नै जर्मनी लगे र आठ वर्ष निकट राखे । ‘दिवाकर वाल्मीकिमा पढाएको भए ठूला मानिन्थेनन्, अक्सफोर्डमा काम गरेकाले महान् भए,’ उनको भद्र असहमति छ, ‘दिवाकरको मूल्यांकन अक्सफोर्डको पदभन्दा लेखका आधारमा गर्नुपर्छ । अक्सफोर्ड त हामीले यहाँ पनि बनाउन सक्छौं । अक्सफोर्डको समकक्षी संशोधन–मण्डल हामीकहाँ नै छ ।’

युरोपमा उनको तलब थियो, पाँच हजार युरो । छुट्टीमा आएका बेला बाटोमा भेटिएछन् स्वामी प्रपन्नाचार्य । उनले सोधेछन्, ‘तलब कति छ ?’ उनले भनेछन्, ‘खानलाई पुग्छ ।’ ‘भन्नुस् न भन्नुस्’ भनेर कर गरेपछि सुनाएछन्, ‘राजाको भन्दा थोरै, युवराजधिराजको भन्दा धेरै ।’ त्यतिबेला त्यतिसारो बैंक खुलेका थिएनन्, लाख–लाख तलब खाने सीईओ पनि थिएनन् । ‘सेन्टिफ्ल्याट’ भएका स्वामीजीले फेरि सोधेछन्, ‘डेरा बहालचाहिँ कति छ नि ?’ ६०, ७० हजार भन्ने सुनेपछि भनेछन्, ‘त्यसो भए त ठीकै रहेछ ।’

त्यहाँ ६५ वर्षसम्म जागिर खान पाइन्थ्यो । तर, ५९ वर्ष चानचुनमै फर्किए महेश । ‘हो, युरोपमा बसिरहेको भए म धनी हुन्थें । कारिन्दाभन्दा हाकिम जान्ने हुनुपर्छ भन्ने धारणाको म आफूलाई अद्वितीय सम्झिन्थें,’ उनी भन्छन्, ‘उनीहरूले मलाई जुन पदमा लगेको हो, त्यही पदमा अल्झाएर राखे ।’ अझ उनलाई जहिल्यै ‘यू आर द बेस्ट एमोङ द साउथ एसियन स्कलर्स’ भन्थे । दक्षिण एसियाको मात्रै सर्वश्रेष्ठ विद्वान् हौ भनेर आफूलाई ‘बाइपास’ गरेपछि उनले हुंकार गरेछन्, ‘म तिमीहरूभन्दा म के कम छु ?’

पिताजीको देहान्त भएको पाँचौं दिन काठमाडौं आइपुगेका महेशराज त्यसयता युरोप फर्केका छैनन् । युरोप छाडेको अफसोस एउटा मात्रै छ— यहाँ चाहिएको किताब पाइँदैन । विश्वविद्यालयको पुस्तकालयले आफूसँग किताब नभए जर्मनीभरिका विश्वविद्यालयबाट अर्डर गरिदिन्थ्यो । ‘संशोधन–मण्डलका धनबज्र, ज्ञानमणि, दिनेशराज यतै बसे । यता बस्नुमा अंग्रेजी ज्ञानको कमी पनि होला,’ उनी भन्छन्, ‘युरोपबाट फर्किएकाले एकेडेमी र विश्वविद्यालयसँग झुत्ती खेल्नुपरेको छैन ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानको इतिहास विभाग संशोधन–मण्डलकै कब्जामा छ । उनका पिता नयराज पन्तदेखि चेला ज्ञानमणि नेपाल र भाइ दिनेशराज पन्तसम्म प्राज्ञ भए तर उनी बाहिरै छन् । ‘त्यहाँ जाने हो भने चोरडाँकासँग संगत गर्नुपर्छ । मेरो आयु पाँच वर्ष घट्छ,’ उनी व्यंग्य गर्छन्, ‘मेरा निम्ति यहाँका पद र पुरस्कार विषको प्यालाजस्तो हुन्छ ।’

उनको डीएनएमै पद र पुरस्कार छैन । लाग्छ, यी ‘मोस्ट वान्टेड’ जिनिसबाट टाढा भएकाले उनको विशाल परिचय नवीकरण हुनै पाएन । एकपटक उनलाई संस्कृति मन्त्रालयका कर्मचारीले फोन गरेछन्, ‘राष्ट्रिय प्रतिभा पुरस्कारका लागि बायोडाटा भरेर दिनुस् ।’ उनले ठाडै नकारे, ‘६० वर्ष नाघेको मान्छेलाई किन प्रतिभा पुरस्कार दिने ? दिने भए त २१–२२ वर्षको उमेरमै दिनुपथ्र्यो । बायोडाटामा म राम्रा–राम्रा कुरा पो हाल्छु । मन्त्रालय आफैंले खोज्नुपर्छ ।’

अर्को रोचक घटना– नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘साहित्यकार कोश’ निकाल्ने भएछ । उनलाई फेरि भनियो, ‘ल तपाईंको बायोडाटा पठाउनुस्, कोशमा राख्नुपर्‍यो ।’ उनल फेरि पनि भनिदिए, ‘मेरो यस्तो चलन छैन । तपाईं आफैं अनुसन्धान गर्नुस् ।’ कर्मचारीले ढ्याम्म फोन राखे । साहित्यकार कोशमा उनको नामनिसाना छैन ।

एकदमै ‘क्रिटिकल माइन्ड’ का महेश जस्तै मै हुँ भन्नेका किताब पनि शब्द–शब्द केलाएर एकै छिनमा रंगाइदिन्छन् । अनौठो त के भने, उनी कसैलाई राम्रो भन्दैनन् । आफैंलाई समेत राम्रो भन्दैनन् । एक जना साथी उनलाई भन्छन्, ‘तँ आफ्नै छायाको पनि आलोचना गर्छस् ।’ ‘मलाई न नयराज पन्तजस्तो हुँ भन्ने छ, न बाबुराम आचार्यजस्तो,’ उनी स्विकार्छन्, ‘म आफैंसँग पनि सन्तुष्ट छैन ।’

युरोपपछि उनको मुकाम भयो, काठमाडौं । डल्लु आवासमार्गस्थित घर नं २७ मा चार कर्मचारी राखेर संशोधन–मण्डलको ६५ वर्षे विरासत सम्हालिरहेका छन् । आफ्नै गोजीबाट महिनावारी ६० हजार रुपैयाँ हाल्न थालेको दशकौं भयो । दुई कर्मचारी थप्ने इच्छा बजेटकै कारण रोकिएको छ । ‘सरकारले दुई लाख रुपैयाँ दिएको छ । यसपालिदेखि हो कि यसपालि मात्रै हो मलाई थाहा छैन,’ उनी लुकाउँदैनन्, ‘यो पनि मेरो प्रयत्नले भएको होइन । भाइले जुटाएको हो ।’


संशोधन–मण्डललाई सम्झाउने काम हो, इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ । यतिखेर उनी १ सय ४३ अंकको धपेडीमा छन् । यसका लेखक पनि उनै हुन्, सम्पादक पनि उनै हुन् । एक हिसाबले पूर्णिमालाई उनकै किताब भने हुन्छ । लेखका लागि कहिलेकाहीँ भाइसँग अनुरोध गर्छन् । ‘लेख त मेरो पनि अपूर्ण नै होला तर सकेसम्म अशुद्ध नहोस् भन्ने चाहन्छु,’ उनी भन्छन्, ‘एकदमै सावधान भएर काम गर्छु तैपनि एकाध महिनापछि खुस्किएको चाल पाउँछु ।’ फुटनोटमाथि फुटनोटले हाँगा हाल्दै जाने उनको लेखनशैलीका कारण गणितशास्त्रका एक प्राध्यापकले भनेछन्— तिम्रो लेख सिध्याउन्जेल मलाई राँची लग्नुपर्छ । म त्यो दुस्साहस गर्दिनँ ।

महँगो छपाइ खर्चका कारण एक प्रति ‘पूर्णिमा’ कै चार सयजति पर्छ । जिज्ञासु र मर्मज्ञ भेटिँदैनन् । आखिर किन त यस्तो धामा ? ‘रक्सी–चुरोटमा मेरो सोख छैन । योबाहेक मैले के गर्ने भन्नुस् त ?’ उनी प्रतिप्रश्न गर्छन्, ‘मभन्दा ज्ञानी मान्छे अझै बाँकी छन् । तर, उनीहरू आफ्नो फ्याकल्टी प्रयोग गर्दैनन् ।’ उनको आरोप त के छ भने विद्वान्हरूका लागि ज्ञान साधन मात्र भयो । करोड रुपैयाँ दिएर अनुसन्धानमा लाग भने पनि भागवत् भन्न बोलाए त्यतै कुद्छन् ।’

उनकी जहान भनिरहन्छिन्— यो काम नगरे तपाईं बहुलाउनुहुन्छ । ज्ञानसञ्चय नै एक मात्र मार्ग भयो उनको । उनले लेखेपछि अकाट्य हुन्छ । उनी प्रमाण र तथ्यसँग मात्रै झुक्छन् । ज्ञानमणि नेपाललाई धनबज्रले भनेका थिए रे, ‘महेशले जस्तो हामी लेख्न सक्दैनौं । बाबुले पनि किताब जम्मा गरिदिएका छन् । आफूले पनि जम्मा गरेका छन् । यता पल्टाउँछन्, उता पल्टाउँछन् ।’

रुचिका हिसाबले भुइँचालोदेखि कोशविज्ञानसम्मका बहुविधामा छरिएका छन् महेश । अनुसन्धानको करिअर लिच्छविकालीन इतिहासबाट थाले । नेपाल र अंग्रेजको लडाइँ हुँदै नेवार राज्यमा अंशबन्डा, सुक्रीबिक्री र कानुनी कागजको अध्ययनमा पुगे । शाहकाल र राणाकालका प्रशासनसम्बन्धी अभिलेख पढे । प्राचीन ढंगको नक्सासम्बन्धी कामका साथै खस मल्ल राजाहरूका अभिलेखको सम्पादन गरे ।

११ हजारजति किताबको सानदार संकलन छ । साढे चार तलाको घरमा अढाई तलामा किताबै छन् । ‘जस्तो कर्मीसँग औजार हुन्छ, म लेखक भएकाले किताब जम्मा गरेको हुँ,’ उनी भन्छन्, ‘पुस्तकालय त जसको पनि हुन सक्छ, मेरो मूल्यांकन दिमाग या लेख हेरेर गरे हुन्छ ।’

गरिबको छोरा भएर जन्मे पनि मर्ने बेलामा चाहिँ जसरी पनि धनीको बाउ हुने ध्याउन्नमै छन् सबै । तर, महेशराज पन्त जावलाखेल, एकान्तकुनाको घर बेचेर खर्च चलाइरहेका छन् । दिनैपिच्छे नेपाली, नेवारी र अंग्रेजी भाषाका सबै अखबार नपढी हुन्न उनलाई । बजारमा नयाँ किताब देख्यो कि उनीकहाँ हाजिर भइहाल्छ । कहिलेकाहीँ १४–१५ वटा किताबसम्म एकैचोटि किन्छन् । ठमेलको बज्र बुक्समा ५०–६० हजार रुपैयाँसम्म उधारो हुन्छ । किनेका किताब गह्रुँगो हुँदा किस्ताबन्दीमा घर लैजान्छन् । इन्जिनियर छोरा मेधावी र इन्जिनियर कान्छी छोरी मीमांसाले जर्मनी अनि जेठी छोरी मनीषाले क्यानडामै घरसंसार बसाएकाले धनसञ्चय जरुरी भएन उनलाई ।

आफ्नै शुक्लकर्मले चिनिएका महेशलाई मोटामोटी १२ वटा भाषा आउँछ । नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, नेवारीका साथै पाली/प्राकृत, बंगाली, मराठी, गुजराती, जर्मन र फ्रेन्च भाषा । घुम्नकै लागि अहिलेसम्म कतै गएका छैनन् महेश । तालनगरी पोखरासमेत कल्पनाबाटै चलाइदिएका छन् । प्यारिसमा बस्दा शनिबार र आइतबार छुट्टी हुन्थ्यो । सोमबार अफिस गएपछि उनले ‘यो हप्ता म यहाँ गएँ’ भन्दा कसैले पत्याउँदैनथ्यो । त्यो ठाउँमा के छ, लौ भन् भनेर केरकार गर्थे । पन्त पढेरै बस्छ भन्ने विश्वास थियो सबैलाई । ‘घुम्नु पनि खर्चालु सोख हो । किताब पनि खर्चालु,’ उनी भन्छन्, ‘दुवै खर्चालु काम म धान्न सक्दिनँ ।’

पृथ्वीनारायण शाह र पिता नयराज पन्तको राष्ट्रिय दृष्टिकोणका प्रशंसक हुन् महेश । राज्य अंशबन्डा गर्ने जमानामा राज्यविस्तारमा लागेका पृथ्वीनारायणको ‘दिव्योपदेश’ पाण्डे र बस्नेतलाई कहाँ राख्ने भन्ने छाडेर पाठ्यपुस्तक बनाउनुपर्ने उनको मत छ । चेलाहरूलाई आफूभन्दा विद्वान् देख्न चाहने नयराजका सच्चा उत्तराधिकारी उनै देखिन्छन् । उनका चार थान पुस्तक नयराजमाथि नै छन्, ‘नयराज पन्तलाई चिनाउनका लागि,’ ‘नयराज पन्तको दृष्टिमा श्री ३ जंगबहादुर राणा,’ ‘को हुन् त नयराज पन्त’ र ‘नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह ।’

उनलाई एउटै कुराले भयभीत तुल्याउँछ— इतिहास, संस्कृति र पुरातत्त्व क्षेत्रको गुरुकिल्ली बाहिरियाकै हातमा जाने त होइन ? किनभने संशोधन–मण्डलको निश्चित पाठ्यक्रमअनुसार वर्षौं साधना गरी निष्णात भएका कतिपय व्यक्ति बितिसके । बाँकी पनि ७०–८० को हाराहारीमा पुगिसके । त्रिभुवन विश्वविद्यालयले यतिका वर्षसम्म पनि अभिलेख र प्रतिमालक्षण विशेषज्ञ जन्माएन । कथित विद्वान्हरू ‘हार्ड–वर्क’ भन्दा ‘हार्डली वर्किङ’ मै कहलिएका छन् । ‘प्रश्न सोध्दा कतिपय महिला क्वाँक्वाँ रोइदिन्छन्,’ नेपाल संस्कृत विश्वविद्यालयमा पीएचडीको वाक्परीक्षक भएर जाँदा उनको अनुभव छ, ‘एक्लै भए त अरू नै बात लाग्ला भन्ने डर ।’

अनन्त ज्ञानमा एक थोपा नै सही, १९९७ देखि २०७४ सम्म इतिहास, संस्कृति र पुरातत्त्वमा थुप्रै काम भएका छन् । २०९७ सम्म यो काम चल्दैन भन्ने हेक्का छ महेशलाई । त्यतिबेला उनै ९६ वर्षका पुग्छन् । ‘भूगोलदेखि भाषाशास्त्रसम्म बाहिरियालाई नै प्रामाणिक मान्ने र आफूलाई हीन ठान्ने परिपाटी छ,’ उनी धिक्कार्छन्, ‘भाषाशास्त्रीहरू नोम चोम्स्कीको गुरुकुलमा तीन महिना बस्नुलाई नै सबभन्दा ठूलो योग्यता ठान्छन् ।’ त्रिभुवन विश्वविद्यालयले संशोधन–मण्डलका केही अंश पछ्याए नेपाली, संस्कृत, नेवारी, भूगोल, राजनीतिशास्त्रमा पनि गुरुकिल्ली बन्नेमा उनी विश्वस्त छन् । ‘हामी भौतिकशास्त्र या रसायनशास्त्रमा अगाडि जान नसकौंला,’ उनी भन्छन्, ‘कमसेकम मानविकीमा त सक्छौं नि ।’

बिहान अखबार हात पर्नासाथ उनकी जहान राशिफल हेर्छिन्, महेशराज ‘कति बाँकी छ मेरो’ भनेर समवेदना–विज्ञापन हेर्छन् । बाँकी काम सम्झेर अत्यास लाग्छ उनलाई । त्यसैले त शरीर नचले पनि दिमाग चलिरहे हुन्थ्यो भन्ने कामना मनमनै गरिरहन्छन् । गुरुकिल्लीको जय होस् !


प्रकाशित : पुस ८, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?