कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिनेमाको समाजशास्त्र

विमर्श
डिसेम्बर २८ मा विश्व सिनेमा १२० वर्ष पुगेको छ । यसै सन्दर्भमा संसारका र नेपालका प्रशंसित केही फिल्मका खट्कँदो पक्षबारे यहाँ चर्चा गरिएको छ । 
अभय श्रेष्ठ

काठमाडौँ — सन् १८९५ को डिसेम्बर २८ मा लुमिएर दाजुभाइका छोटा फिल्म प्रदर्शन हुँदा विश्वभरि हलचल मच्चिएको थियो । तर, यही माध्यम पछि कलाक्षेत्रको सबैभन्दा प्रभावशाली विधा बन्छ भनेर कसैले सोचेको थिएन ।

सिनेमाको समाजशास्त्र

लुमिएर दाजुभाइका फिल्ममा स्टेसनतर्फ आइरहेको रेल, बगैँचामा पानी हालिरहेको माली, कारखानाबाट बाहिर निस्किरहेका मजदुरका सट अर्थात् दृश्यांश थिए । दृश्यांशहरू जोडेर दृश्य र दृश्यहरू जोडेर सिंगो फिल्म बनाउने सम्भावनाबारे त्यतिबेला कसैले अनुमान गरेको थिएन । आज विश्व सिनेमा १२० वर्षको हुँदा संसारमा प्रविधिका दृष्टिले मात्र होइन, प्रयोगका दृष्टिले पनि अचम्भित पार्ने फिल्म बनिरहेका छन् । यस आलेखको उद्देश्य त्यसको लेखा उतार्ने नभई संसारका र हाम्रै देशका प्रशंसित केही फिल्मका नउक्काइएका पक्षबारे चर्चा गर्नु हो ।


‘पशुपतिप्रसाद’ को गलत कास्टिङ

दीपेन्द्र के खनालको चर्चित फिल्म ‘पशुपतिप्रसाद’ बारे यत्रतत्र प्रशंसा सुनिन्छ । इटालीको नियोरियलिस्ट फिल्मले झैँ यस फिल्मले पनि नयाँ घटना अर्थात् २०७२ वैशाख १२ को भूकम्पपछि उत्पन्न नयाँ परिस्थितिको मार्मिक चित्रण गर्छ । यो, सिन्धुपाल्चोकबाट स्वर्गीय बाबुको ऋण तिर्ने पैसा कमाउन काठमाडौँ आएर संघर्ष गर्ने भूकम्पपीडित युवकको हृदयविदारक कथा हो । उसका बाबुआमा भुइँचालोले घर भत्काउँदा थिचिएर मरेका हुन्छन् । शव जलाउँदा फालिने सिक्का, चाँदी र सुनका औँठी पाइने आसमा ऊ आर्यघाटवरिपरि भौंतारिरहन्छ । यही चुत्थो काम गर्दा पनि गुन्डा र अपराधी समूहसँग उसले संघर्ष गरिरहनुपर्छ । एक दिन उसका हातमा शवको औँलाबाट निकालेर वाग्मतीमा फालिएको सुनको दामी औँठी पर्छ । तर, त्यही औँठीका कारण भीडद्वारा क्रूरतापूर्वक कुटिएर उसले ज्यान गुमाउनुपर्छ । यसरी दर्शकलाई शोकाकुल बनाएर फिल्म सकिन्छ ।

कथा र अभिनयकलाका हिसाबले यसलाई राम्रो फिल्म मान्न सकिन्छ । यसका निर्देशक, कलाकार र फिल्म स्वयंले अनेक पुरस्कार पाएका छन् । समीक्षकबाट पनि पर्याप्त प्रशंसा पाएको यस फिल्मको एउटा गम्भीर गडबडीले चाहिँ पूरै फिल्मलाई खल्लो बनाइदिन्छ । फिल्ममा एक जना सुन व्यापारी छ जसको भूमिका कीर्तिपुरे नाट्यकर्मी कृष्णभक्त महर्जनले गरेका छन् । आफूले खोजेको कौडीको मूल्यमा पशुपतिप्रसादले औँठी बेच्न नमान्दा भीडसामु उनले ‘यसले मेरो सुनको औँठी चोर्‍यो’ भन्दै लखेट्छन् । यो सुनेर उत्तेजित भीडले कुटेरै उसलाई मारिदिन्छ । अनि उनी मृत पशुपतिप्रसादको मुठीबाट सुनको औँठी थुतेर बाटो तताउँछन् । यसले के प्रस्ट हुन्छ भने निर्देशक खनालले कथाको लोकेसनवरिपरिको समाज र जनजीवन नबुझी, त्यसको अध्ययन नगरी कास्टिङ गरेका छन् । कथामा देखाइएजस्तो काठमाडौँका भव्य सुन पसलका व्यापारी ज्यापू होइन, मारवाडीहरू छन् । काठमाडौँका रैथाने सुनकर्मी व्यापारीहरू मूलत: वज्राचार्यहरू हुन् । तिनका पसल पनि मूल सडकमा होइन, गल्लीभित्र कतै अँध्यारो कुनामा थन्किएका छन् । ज्यापूहरूले सुन व्यापार गरेको त सायदै पाइएला । भए त्यो अपवाद मात्र हो ।

कृष्णभक्त महर्जन जातले मात्र होइन, स्वरूप र चालढालले पनि पक्का ज्यापू देखिन्छन् । यसरी फिल्ममार्फत प्रस्ट सन्देश के जान्छ भने पहाडबाट आएका सोझा ब्राह्मणहरू काठमाडौँमा ‘दुष्ट’ ज्यापूहरूद्वारा ठगिन्छन् र ज्यान गुमाउन बाध्य हुन्छन् । अनि ‘दुष्ट ज्यापू’ हरू सोझा र इमानदार मृत ब्राह्मणको मुठीबाट समेत सुनको औँठी खोसेर लान्छन् । तर, सत्य उल्टो छ । काठमाडौँका ज्यापू समुदाय श्रममा विश्वास गर्ने, आफ्नो भाषा, संस्कृति, रीतिरिवाजमा गर्व गर्ने र त्यसलाई जोगाउन सबैभन्दा प्रतिबद्ध नेवार समुदाय हो । चाडपर्व, रीतिरिवाज चलाउने क्रममा बिस्तारै यति सोझा, इमानदार र परिश्रमी ज्यापू समुदायलाई यति क्रूर र दुष्ट देखाउन निर्देशक खनाललाई कुन घटनाले प्रेरित गर्‍यो होला ? अपवाद स्तरमा यस्ता घटना नहोलान् भन्न सकिन्न । अपवादमा त कुकुर वा बाँदरले पनि कार दौडाउँछन्, गोली चलाउँछन् । तर, त्यो सामान्य प्रवृत्ति होइन । लेखक, नाट्यकर्मी र फिल्मकर्मीहरू अक्सर यसरी अपवादलाई सामान्य प्रवृत्तिको रूपमा व्याख्या गर्ने गल्ती गरिरहन्छन् । त्यो स्विकार्न भने तयार हुँदैनन् । यस्तो तर्क सुन्दा पक्कै उनीहरूले ‘फिल्म सत्यकथा नभई फिक्सन भएकाले काल्पनिक कुरा राख्न सकिने’ तर्क दिनेछन् । त्यसो भन्दैमा कुखुराले पाडो पाएको देखाउन त मिल्दैन होला !


‘बाइसाइकल थिभ्स’ र ‘उम्बर्टो डी’

यता, इटालीको प्रख्यात फिल्म ‘द बाइसाइकल थिभ्स’ मा भने यस्तै प्रसंग अत्यन्त मिहिन र विश्वसनीय तरिकाले आएको छ । फिल्ममा व्यवस्थाविरुद्ध विद्रोहको सुषुप्त तर प्रस्ट संकेत पाइन्छ । सिनेमा सुरु हुँदा निर्देशक भित्तोरियो डेसिकाको क्यामेरा कुनै कार्यालयअगाडि जम्मा भएका बेरोजगारहरूको भीडबाट नायक आन्तोनियोमा केन्द्रित हुन्छ । आफूसँग साइकल भए रोमको ठाउँठाउँमा पोस्टर टाँस्ने काम दिइने जानकारी उसलाई गराइन्छ । साइकलको व्यवस्था गरेर आउँछु भनेर ऊ तुरुन्त घरतिर दौडन्छ । उसकी श्रीमती मलमलका तन्ना र केही कपडा बेचेर साहुकहाँ बन्दकी रहेको साइकल फिर्ता ल्याउँछे । त्यसपछि साँच्चै आन्तोनियोले त्यो काम पाउँछ । एक दिन बाटोछेउमा साइकल अड्याएर आन्तोनियो पोस्टर टाँसिरहेको हुन्छ, त्यसै बेला एउटा युवक उसको साइकलमा कुलेलम ठोक्छ । त्यसपछि हराएको साइकलको खोजीमा उसले के कति हन्डर झेल्नुपर्छ ? पूरै सिनेमा त्यसैवरिपरि घुम्छ ।

साइकल चोरी भएको एक साधारण पुरुषको मनोदशामार्फत डेसिकाले यसरी दोस्रो विश्वयुद्धपछिको कंगाल रोम सहरको कहालीलाग्दो चित्र उतारेका छन् । लुई बार्तोलिनीको कथा र सिजर जाभात्तिनीको पटकथामा झट्ट हेर्दा त्यस्तो ठूलो कुरा केही थिएन । तर, यसले सिस्टमले व्यक्तिलाई कसरी निरीह बनाउँछ भन्ने सत्यको बेजोड उद्घाटन गरेको थियो ।

डेसिकाकै अर्को प्रख्यात फिल्म ‘उम्बर्टो डी’ लाई प्रख्यात स्विडिस निर्देशक इंगमार बर्गम्यानले आफ्ना सबैभन्दा फेभरिट फिल्मको सूचीमा राखेका छन् । पचासको दशकमा डेसिकाले खेलाएको क्यामेरा अहिले पनि उत्तिकै अनुपम लाग्छ । सरकारविरुद्ध जुलुस र नाराबाजी गरिरहेका वृद्धहरूको क्याराभानबाट नायकमा केन्द्रित हुने उनको तरिका विछट्टै आकर्षक छ । यो, अत्यन्त न्यून पेन्सनले कठिन जीवन गुजारिरहेको एक वृद्ध उम्बर्टो डेमिनिको फेरारीको मर्मस्पर्शी कथा हो । उम्बर्टो बिरामी छ । फाइक नामक कुकुरबाहेक संसारमै उसको भन्नु कोही छैन । युद्धले क्षतिग्रस्त इटालीेले दिने पेन्सन कति कम र अनियमित छ भने त्यसले जीवन धान्नै मुस्किल छ । घरबेटी महिला उसलाई निकाल्न अनेक निहुँ खोजिरहन्छे । सत्तरी नाघेको बिरामी वृद्ध झिटीगुन्टा बोकेर कहाँ जाने अब ? घरबेटीकी नोकर्नी मारिया ऊसँग स्नेह गर्छे । वर्गीय प्रेम भनेको सायद यही हो । तर, उसको पनि हालत खराब छ । ऊ गर्भवती छे । दुई प्रेमीमध्ये गर्भमा रहेको बच्चाको बाबु को हो, उसलाई थाहा छैन । दुवै जना स्विकार्न तयार छैनन् । घरबेटीले थाहा पाएपछि पक्का छ, मारिया पनि निकालिन्छे र सडकमा पुग्छे । किनभने उसको जाने ठाउँ कतै छैन । घरबेटीको कचकच अति भएपछि उम्बर्टो मारियालाई खबर गरेर एक दिन घरबाट निस्कन्छ । फाइक नभएको भए ऊ सायद संसारबाट उबेलै बिदा भइसक्थ्यो । ऊ फाइकलाई कसैको जिम्मा लगाएर हिँड्न चाहन्छ । कोही नभेटिएपछि ऊ त्यसलाई काखमा लिएरै रेलको लिकमा बसेर आत्महत्या गर्न खोज्छ । तर, फाइकले नै उसलाई बचाउँछ ।

डेसिका आफ्ना फिल्मलाई समाजको वास्तविकतासँग एकाकार गराउन स्थानीय सर्वसाधारणलाई नै अभिनय गर्न लगाउँथे । जस्तो कि यस फिल्ममा नायकको भूमिका गर्ने कार्लो बातिस्ती र ‘बाइसाइकल थिभ्स’ को आन्तोनियोको अभिनय गर्ने ल्याम्बार्टो म्यागारोरानी दुवै अव्यावसायिक कलाकार थिए । नवयथार्थवादी सिनेमाको मूल विषय नयाँ घटनाबाट सिर्जित नयाँ यथार्थ थियो । यसले मुसोलिनीको तानाशाही र युद्धले इटालीवासी जनताको जनजीवनमा ल्याएको विपत्तिको मात्र चित्रण गरेको थिएन, चाँडै नै परिवर्तनको आँधीबेहरी आउने संकेत पनि गरेको थियो ।


‘आक्रोश’, ‘अर्धसत्य’ र ‘वासुदेव’

प्रख्यात भारतीय निर्देशक गोविन्द निहलानीको ‘आक्रोश’ र ‘अर्धसत्य’ ले भने नितान्त वैयक्तिक र प्रतिक्रियात्मक विद्रोहलाई प्रश्रय दिन्छन् । हो, समानान्तर फिल्मका रूपमा धेरैले यी फिल्मको तारिफ गरेका छन् । विशुद्ध सिर्जनाका दृष्टिले यी तारिफयोग्य पनि छन् । तथापि यिनमा व्यवस्थालाई अत्यन्त शक्तिशाली र जनतालाई अत्यन्त निरीह पात्रका रूपमा चित्रण गरिएको छ । ‘आक्रोश’ को आदिवासी किसान लहान्या भिखु फिल्मभरि एकै शब्द बोल्दैन, केबल आक्रोशको स्वरमा चिच्याउँछ । उसकी पत्नीलाई जमिनदारका मान्छेले बलात्कारपछि हत्या गरेका हुन्छन् । त्यसको दोष भिखुमाथि नै लगाएर थुनाइएको हुन्छ । अन्त्यमा, बाबुको चिता जलिरहेकै ठाउँमा लहान्या बन्चरो प्रहार गरी आफ्नी कलिली बहिनीको हत्या गर्छ । अभिभावकको अभावमा जमिनदारका मान्छेबाट बारम्बार बलात्कृत भएर मर्नुभन्दा एकैपटक मर्नु जायज छ भन्ने कुरा दर्शकहरू लहान्याको आक्रोशबाट सजिलै बुझ्छन् ।

‘अर्धसत्य’ मा चाहिँ व्यवस्थाले सही मानिसलाई ‘नपुंसक’ बनाइरहेको मार्मिक कथा एक इमानदार प्रहरी अधिकृत अनन्त वेलाङ्करको त्रासदीमार्फत व्यक्त हुन्छ । राजनीतिमा व्याप्त अपराध नियन्त्रणमा सक्रिय हुँदा ऊ स्वयं बारम्बार सजाय भोग्न बाध्य हुन्छ । अन्तत: ऊ सारा अत्याचारको जड एक जना नेताको हत्या गर्छ र प्रहरीसमक्ष आत्मसमर्पण गर्छ ।

ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेलसरको चोटपटक’ मा आधारित ‘वासुदेव’ को नियति पनि ‘अर्धसत्य’ नायकको जस्तै हुन्छ । प्राध्यापक वासुदेव स्वाभिमानी छ तर गरिब । उसको साथी कुमार दुई नम्बरी धन्दा गरेर चाँडै नै मालामाल हुन्छ । बिस्तारै स्वाभिमान र दुई नम्बरी धन्दाबीच शत्रुता विकसित हुँदै जान्छ । एक दिन वासुदेवकी छोरी, अन्धो बूढो बाबु र पत्नीलाई कुमारले हातपात गरेको खबर पाएर वासुदेव ठीक त्यही शैलीमा घाँटी अँठ्याएर कुमारको हत्या गर्छ जसरी ‘अर्धसत्य’ प्रहरी अधिकृत अनन्तले नेता रामा सेट्टीको हत्या गरेको थियो ।

‘आक्रोश’ र ‘अर्धसत्य’ दुवै भारतमा ट्रेन्डसेटर फिल्म मानिन्छन् । यिनले थुप्रै राष्ट्रिय पुरस्कार पनि पाएका छन् । त्यसैगरी ‘वासुदेव’ नेपालमा उत्कृष्ट यथार्थवादी फिल्म मानिन्छ । खराब व्यवस्थाले सही मानिसलाई कसरी पंगु बनाउँछ भन्ने सत्य पनि यी तीनै फिल्मले मार्मिक भाषामा प्रकट गर्छन् । तर, तीनै फिल्मको समस्या के हो भने यिनका व्यक्तिवादी विद्रोह प्रतिक्रियात्मक मात्र छन् । यिनीहरू समस्याको सतहमा तैरिएर डुबुल्की मार्दै फेरि सतहमै बगेर जान्छन् ।


‘टलकजंग...’ को गडबडी

निश्चल बस्नेतको ‘टलकजंग भर्सेज टुल्के’ को गडबडीचाहिँ गलत कास्टिङ र परिवेशको गाँजेमाजे चित्रणमा छ । टलकजंग... चिनियाँ लेखक लु सुनको मास्टरपिस कथा ‘आह क्युको साँचो कथा’ को नेपालीकरण हो । पटकथाकार खगेन्द्र लामिछानेले यसलाई नेपाली माओवादी जनयुद्धसँग यथाशक्य मिल्नेगरी जोडेका छन् । आह क्यु आफूभन्दा कमजोरलाई हेप्छ, शक्तिशालीको खुसामद गर्छ । उसलाई पनि क्रान्ति गर्ने हुटहुटी छ तर क्रान्तिका लागि गर्नुपर्ने उत्सर्ग, प्रतिबद्धता, साहस र उच्च नैतिकता ऊसँग छैन । चीनमा आह क्युलाई सत्य स्विकार्न नसक्ने र आत्मप्रशंसाबाट नथाक्ने मानसिकताको प्रतीक मानिन्छ । कथामा लु सुनको मूल संकेत भने क्रान्ति गर्नुपर्ने आह क्युजस्तो वर्गका मान्छे नै यति भ्रष्ट र अपरिपक्व भएकैले चीनमा क्रान्ति धकेलिइरहेको छ भन्ने हो । नेपालीकृत कथामा भने आफूलाई हेपेर बोलाइने नाम टुल्केबाट टलकजंग हुन उसले अनेक बितन्डा गर्नुपरेको छ । त्यसकै लागि ऊ युद्धरत माओवादीको पहुँचमा पुग्न चाहन्छ तर कहिल्यै सफल हुँदैन । फिल्मका अन्तिम दृश्यमा, प्रहरीसँगको भिडन्तमा जमिनदारको घरमा काम गर्ने फुली चौधरीबाहेक सबै मारिन्छन् । अन्तत: फुली पनि परिचय फेरेर गाउँ फर्कन्छे । यसरी फिल्मले माओवादी जनयुद्ध राज्यसँग पराजित भएर सकिएको संकेत गर्छ । यथार्थचाहिँ के थियो राजधानी र सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा माओवादीको आक्रमणसामु राज्यको प्रतिनिधि प्रहरी सधैँ रक्षात्मक भइरहेको थियो । बरु, माओवादी स्वयं टुंगो नलाग्ने अनन्त युद्धबाट थाकेर राजतन्त्रविरुद्ध संसद्वादी दलसँग सहकार्य गर्न सहमत भएको थियो ।

फिल्मको सबैभन्दा ठूलो गडबडी के छ भने यसका पात्रहरूले बोल्ने भाषा सुन्दा यो गण्डकी आसपासको पश्चिमाञ्चलको कथा हो भन्ने लाग्छ । अनि जमिनदारको चालचलन हेर्दा थारू समुदायलाई कमैया राख्ने मध्यपश्चिम वा सुदूरपश्चिमको कथाझैँ लाग्छ । अझ थारू कमलरी फुलीको भूमिका गर्ने ऋचा शर्मालाई पश्मिाञ्चलका पहाडियाले जस्तै ‘अर्नु पर्छ’, ‘अर्ने नै त्यही हो’ लवजमा बोल्न लगाउँदा झनै गडबडी भएको छ ।


‘नुमाफुङ’ को दिशाहीन विद्रोह

निर्देशक नवीन सुब्बाको चर्चित फिल्म ‘नुमाफुङ’ स्वरूप जति आकर्षक छ, सेन्स भने त्यतिकै गडबड छ । फिल्ममा केटातर्फबाट रुपैयाँ र सुन लिएर बाबुले छोरी नुमाको बिहे गरिदिएको हुन्छ । नुमा गर्भवती हुँदा उसलाई अति माया गर्ने लोग्नेको निधन हुन्छ । बाबुले फेरि रुपैयाँ र सुन लिएर उसको इच्छाविपरीत दोस्रो बिहे गरिदिन्छ । नारी संवेदनालाई पटक्कै नबुझ्ने झगडिया स्वभावको दोस्रो लोग्ने गिरिहाङलाई पनि छाडेर ऊ रिकुटेसँग पोइल जान्छे । अति भएपछि खति हुन्छ भन्ने त उखानै छ । यो नुमाको त्यही अतिविरुद्ध विद्रोह हो । तर, यसबापत रूपौली सुनौली तिर्नुपर्दा माइतीको उठिवास हुन्छ ।

काजीमान कन्दङवाको कथा ‘कारबार कि घरबार’ मा आधारित फिल्मले रूपौली सुनौलीको विकृतिप्रति आलोचनात्मक दृष्टि राख्छ । एक भाषा, एक भेषकै फिल्म बनिरहँदा नवीन सुब्बाले ताप्लेजुङको नागी पुगेर स्थानीय लिम्बू संस्कृति, जीवनशैली, हावापानी र सुगन्ध फैलाउने पहिलो मौलिक नेपाली फिल्म बनाएका हुन् । सिर्जनात्मकताका दृष्टिले ‘नुमाफुङ’ लाई अहिलेसम्मको सर्वश्रेष्ठ नेपाली फिल्म मान्न सकिन्छ । तर, फिल्ममा सबैभन्दा ठूलो समस्याचाहिँ समस्यालाई हेर्ने दृष्टिकोणमै छ । नुमाको अराजक विद्रोहले अनिश्चित भविष्य नै महिलाको नियति हो भन्ने सन्देश दिन्छ । कला–साहित्यले समस्या खुट्याउने हो, समाधान पहिल्याउने होइन भन्ने यथास्थितिवादी दृष्टिकोण राख्ने हो भने बेग्लै कुरा, नत्र नुमाको अराजक विद्रोहले उसको भविष्य झनै खराब हुने देखिन्छ । उसलाई तेस्रो लोग्ने रिकुटेले धोका दिँदैन भन्ने कुनै आधार छैन । त्यसले नुमालाई मुग्लानमा बेचिदिन सक्छ । अथवा ‘बसाइ’ उपन्यासको रिकुटेले झुमालाई जस्तै गर्भवती बनाएर भाग्न पनि सक्छ । त्यस्तो स्थितिमा ‘बसाइ’ कै मोटे कार्कीजस्तो उदार प्रेमी बिरलै भेटिन्छ । आर्थिक अधिकारबिना नारी मुक्ति सम्भव छैन । नुमाको जीवन माइतीमा बाबु र घरमा लोग्नेमाथि आश्रित हुनुको मुख्य कारण उसलाई आर्थिक अधिकार नहुनु हो । नुमाले यो कुरा बुझेकी भए ऊ अर्को आवारा स्वभावको रिकुटेसँग पोइल जाँदिनथी । बरु, अत्याचारी लोग्नेसँग पारपाचुके गरेर आत्मनिर्भर हुने कुनै उपाय अपनाउँथी । जब ऊ आर्थिक रूपले आत्मनिर्भर हुन्थी, त्यसपछि उसले पाउने श्रीमान् उसको ‘मालिक’ होइन, ‘सहयात्री’ रहन बाध्य हुन्थ्यो । यसरी ‘नुमाफुङ’ ले पीडित नारीलाई अर्को ठाउँमा ‘पोइल जान’ त उत्प्रेरित गर्छ, तर उसको मुक्तिका लागि कुनै योगदान गर्दैन ।


अन्त्यमा

यस्तो तर्क सुनेपछि हाम्रा विद्वान् निर्देशकहरूले एकपल्ट पक्कै अट्टहास गर्नेछन् । अनि भन्नेछन्, ‘त्यसरी त कथानक होइन, बढीमा डकुमेन्ट्री फिल्म बन्न सक्छ ।’ तर, मैले भनेको ‘समाजशास्त्रीय फिल्म’ होइन, ‘समाजशास्त्रीय दृष्टिले उचित फिल्म’ हो । मुख्य चुनौती नै त्यहीँ छ महानुभावहरू, कि समाजशास्त्रीय हिसाबले उचित भएर पनि उत्तिकै रुचिकर फिल्म बनाउनु ।

[email protected]

प्रकाशित : पुस १५, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?