कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाहुरेको रोडरेस   

खेलाडी
सन् २०१५ मा हाफ म्याराथनतर्फ सिंगापुरको राष्ट्रिय च्याम्पियन बने निमेष ।
विद्या राई

काठमाडौँ — संखुवासभाको मादी मूलखर्कमा जन्मेका २९ वर्षीय निमेष गुरुङ सिंगापुर पुलिसमा भर्ती भएको ८ वर्ष लाग्यो । परिवारको आर्थिक अवस्था उकास्नै २०६२ मा कक्षा १२ को पढाइसकेलगत्तै लाहुर लागेका थिए उनी । 

लाहुरेको रोडरेस   

त्यसो त जागिरका लागि उनीभन्दा पहिला उनका बुबा बिदेसिएका थिए । पिता दुर्गाबहादुर गुरुङ साहुसँग ऋण काढेर कमाउन साउदी गएका थिए । दुर्भाग्य उनी दुर्घटनामा परे । जसोतसो जोगिएको ज्यान लिएर उनी नेपाल फर्किए । यता ऋण उस्तै थियो । रित्तो हात फर्केका दुर्गाबहादुरले घर र जायजेथा साहुलाई जिम्मा लगाउन पर्‍यो । निमेषलगायत छोराछोरी मामाघरमा छाडेर दुर्गाबहादुर र पत्नि मनमाया गुरुङ तेह्रथुम जिल्लाको वसन्तपुर बसाइ सरे ।

वैदेशिक रोजगारीले बसाइ नै सर्नुपरेको यही पीडाले निमेषले पढाइ बीचमै छोडे । आफू अनि बाआमा, तीन बहिनी एक भाइका लागि उनी जागिरको खोजीमा लागे । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीदेखि बेलायती सेनासम्ममा भर्ती हुन खोजे । तर ती सबै प्रयास सफल हुन सकेनन् । जागिरको आशा मारिसकेका उनले अन्तत: सिंगापुर पुलिस फोर्समा भर्ती हुने निधो गरे । यसमा पनि दुईपटक त असफल नै भए । तेस्रोपटकको प्रयासमा सन् २००८ को अन्त्यतिर सिंगापुर पुलिसमा भर्ती भईकन छाडे । गरिबीविरुद्ध संघर्षको प्रतिफल थियो उनको यो सफलता ।

यही सफलता उनको जीवनको एउटा ‘टर्निङ पोइन्ट’ बन्यो । जागिर जिन्दगीका क्रममा उनी एउटा अब्बल धावक बनेर निस्किए ।

अहिले निमेष अन्तर्राष्ट्रिय स्तरका रोड रेसका धावकका रूपमा चिनिन्छिन् । सिंगापुरमा उनको परिचय नै छ— दोस्रो नम्बरका धावक । बिनाप्रशिक्षण यस क्षेत्रमा प्रवेश गरेका उनको रोड रेस यात्रा ६ वर्ष पुग्दै छ । अहिलेसम्म जति पनि उपाधि हात पारेका छन्, ती सबै उनीसँग भएका मौजुदा अनुभव र अभ्यासबाट हुन् ।

यसलाई लाहुर यात्राको उपज मान्छन् उनी । उनी नेपालमा हुँदा बाल्यकालमा होस् या त युवाअवस्थामा होस् कुनै खेलमा रुचि थिएन । ‘म गाउँको दु:खमा जन्मिएँ, हुर्किएँ, लाहुर लागेपछि साथीहरू दौडिएको देखें, जित्नेको वाहवाही हुन्थ्यो, खेलकुदबाट पनि नाम कमाउन सकिँदो रहेछ भन्ने थाहा पाएँ, यता लागें,’ उनी सुनाउँछन् । त्यतिबेला गोरखा रेजिमेन्टका अन्य सदस्यहरूले दौडमा पदक र पुरस्कार लिएर आउँदा जसरी नै आफूले पनि वाहवाही कमाउने हुटहुटी पलाएपछि उनी यात्रामा निक्लिएका हुन् ।

जागिरे भएपछि उनी मोटाउन थालेका थिए । साथीहरूले ‘मोटे’ उपनाम दिएपछि घटाउने उपाय रचे । तर पल्टनमा नियमित दौडन पनि उनलाई समस्या लाग्थ्यो । आखिर ईखैले दौडन के थालेका थिए, जीवनमा पदक र पुरस्कार एकपछि अर्को हात पार्दै गए ।

२०१२ कै अन्त्यतिर आफ्नो युनिटभित्र साथीहरू दौडेको देखेर अचानक लोभिएका थिए । त्यो देखेर लगत्तै युनिटभित्र भएको दौड प्रतियोगितामा सहभागी भए । पहिलो सहभागितामै स्पर्धाको च्याम्पियन भए । जुन दिन उनलाई शरीर निकै हलुका भएको महसुस भएको थियो । सुरुआती त्यस समयमा जागिर र दौडलाई एकैसाथ अघि बढाउन सहज थिएन ।

तैपनि पहिलो सहभागितामै हात पारेको सफलताले उनलाई दौडमा आकर्षित बनायो । सन् २०१३ मा सिंगापुर ट्रयाक एन्ड फिल्डको ५ र १० हजार मिटर दुवै दौडमा भाग लिए । त्यसमा च्याम्पियन भएर १७ वर्षकै पुरानो कीर्तिमान तोडेर सनसनी मच्चाएका थिए । उनी झनै हौसिए । ‘म पनि धावक बन्न सक्छु भन्ने आत्मबल जागेको थियो,’ उनी भन्छन् । उनले जागिरका अतिरिक्त दौडमा पनि भविष्य खोज्ने निधो गरे । ६ महिनामा उनले आफ्नो शरीरको १५ किलो तौल घटाएका थिए ।

युनिटभित्र हुने प्रतिस्पर्धामा उनलाई उछिन्ने प्रतिस्पर्धी भएनन् । सिंगापुरमा भइरहने सबैजसो दौड प्रतिस्पर्धामा सहभागी हुन थाले उनी । सबैजसो प्रतिस्पर्धामा पहिलो भएर पदक र पुरस्कार राशि पाउँथे । प्रतियोगितामा सहभागी हुन थालेको वर्ष दिन नपुग्दै उनी सिंगापुरको राष्ट्रिय धावक भैसकेका थिए । उनले सिंगापुरमा हुने गरेका ठूला प्रतियोगिता र देशबाहिर हुने अन्य प्रतियोगितामा समेत सहभागिताको अवसर पाउन थाले । सन् २०१४ मा सिंगापुरबाट छनोट भएर मलेसियामा भएको माउन्ट किनाबलु अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागी भए । तीन केन्याली धावकलाई पछि पार्दै दोस्रो स्थान हात पारेका थिए । सोही वर्ष सिंगापुरमा भएको २१ किमिको द स्ट्रेट्स टाइम्स रनमा स्वर्ण जितेका थिए । जति बेला त्यहाँको दैनिक पत्रिका ‘द स्ट्रेट्स टाइम्स’ ले उनको स्वर्णले नेपाली खेलकुदलाई गर्व गर्ने क्षण बनेको लेखेको थियो ।

सन् २०१५ मा हाफ म्याराथनतर्फ सिंगापुरको राष्ट्रिय च्याम्पियन बने निमेष । सन् २०१६ मा सिंगापुरमा भएको ७ किमिको न्यू ब्लान्स रन, १२ किमिको पुमा नाइट रन, १० किमिका पोकारी स्विट रन, सालोमोन एक्स क्रस कन्ट्री रन, द पर्फमेन्स सिरिज र ४२ किमिको सिंगापुर सिटी रेसमा पनि च्याम्पियन भए । ५० किलोमिटरको क्रस कन्ट्री रन र १९ किलोमिटरको द स्ट्रेट्स टाइम्समा रेसमा दोस्रो भए । सन् २०१७ को अगस्टमा अमेरिकामा भएको वल्र्ड पुलिस फायर गेम्सको १० किलोमिटर र २१ किमि (हाल्फ म्याराथन) मा पनि स्वर्ण पदक नै जिते । जुन बेला अमेरिका, बेलायत, रूसलगायत विश्वका ६१ भन्दा बढी देशका सुरक्षा निकायका धावक सहभागी भएका थिए । सुरुआतमा मध्यम दूरीका स्पर्धामा सहभागी गराउँदै आएका उनी हाफ म्याराथन र १० हजार मिटरका दौडमा निखार्दै लगेका छन् ।

निमेषलाई सिंगापुर पुलिसले खेल्नकै लागि भनेर विशेष सेवा भने दिएको छैन । हालसम्म उनले आफ्नै बुद्धि, विवेक र अभ्यासले जित्दै आएका छन् । ‘मैले अन्य धावक दौडिएको हेरेर, राम्रा धावकहरूसँग भेटेर लिएको टिप्स्लाई पछ्याउने प्रयास गर्छु,’ उनी भन्छन्, ‘युट्युबमा हेरेर पनि टेक्निक सिक्छु । प्रशिक्षक नभए पनि समस्या छैन ।’ उनीसँग इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग गर्ने खुबी छ । ड्युटीले गर्दा दौडमा समय मिलाउन हम्मेहम्मे पर्छ । दिनमा कम्तीमा दुई घण्टा दौडन्छन् । ड्युटी सकिनेबित्तिकै दौडिहाल्छन् । अन्य बेला फुर्सद पाए भने अलि बढी दौडन्छन् ।

पैसा कमाउन लाहुर लागेका उनले दौडमा लागेर यति धेरै नाम र दाम कमाउँला भनेर सोचेका पनि थिएनन् । मिहिनेत र लगनशीलताले अहिलेसम्म मलेसियादेखि अमेरिकासम्म पुगी स्वर्ण पदक हात पारे । ३ सयभन्दा बढी पदक जिते, यीमध्ये एक सय ५० जति त स्वर्ण नै छन् । उनलाई सिंगापुरमा ‘हार्न नजानेको नेपाली’ भनेर चिन्छन् । ‘जति प्रतिस्पर्धामा सहभागी भए, खाली हात कहिल्यै फर्कनुपरेको छैन,’ उनले भने । उनले आफ्ना कोठाको भित्ताहरू मेडलले भरेका छन् । सिंगापुरबाट प्रकाशित हुने पत्रपत्रिकाले आफ्ना पृष्ठहरूमा उनको कडा मिहिनेत र उपलब्धिबारे छापिरहेका हुन्छन् ।

कुनै बेला कमजोर आर्थिक अवस्थामा गुज्रिएका उनलाई लाहुरे जीवनले समृद्धितर्फ लग्दै छ । जागिरको तलबबाट परिवारलाई खान–लाउन प्रशस्तै पुग्छ । दौडबाट पनि राम्रै कमाइ गर्छन् । प्रतिस्पर्धाबाटै मासिक औसत दुई देखि तीन लाख नेपाली रुपैयाँ कमाउने गर्छन् । राम्रो दौडन सक्ने धावकलाई सिंगापुरमा पारिश्रमिकको हात पार्न समस्या छैन । नियमित प्रतियोगिता भइरहन्छन् । सानै प्रतियोगिताको पनि पुरस्कार राशि राम्रै हुन्छ ।

दौडलाई जीवनकै एक अभिन्न मानिसकेका उनले कहिल्यै नथाक्ने बताउँछन् । अबको उनको एउटै चाहाना भनेको नेपाल फर्केर देशविदेशमा बटुलेको अनुभवलाई उपयोग गर्ने हो । नेपालको झन्डा लिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल हुने उनको धोको छ । ‘म जति पनि प्रतियोगितामा सहभागी हुन्छु, नेपाल जोडिन्छ, गर्व लाग्छ तर साँच्चिकै नेपालकै टिमबाट दौडन पाएको गर्विलो क्षणको पखाईमा छु,’ उनले सुनाए ।

प्रशिक्षण दिन सके भावी पुस्ताले झनै राम्रो गर्न सक्ने उनको विश्वास छ । यसका लागि आफैंबाट सुरुआत गर्नुपर्ने उनको तर्क छ । लाहुरको अवकाशपछि एथलेटिक्सको प्रशिक्षक बन्ने सपना छ उनको । ‘नेपालको भौगोलिक विविधता दौडका लागि उपयुक्त छ, प्रतिभा र क्षमताहरू कुनाकाप्चामा छन्, अवसरबाट वञ्चित छन्, एक्पोज गर्ने लक्ष्य छ,’ उनले भने ।

twitter:@bidhya_21

प्रकाशित : पुस १५, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?