कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०१७ का दस पुस्तक

काठमाडौँ — सन २०१७ मा प्रकाशित भएकामध्ये ‘बीबीसीडटकम’ ले उत्कृष्ट भनेका दस पुस्तक :

२०१७ का दस पुस्तक

१०. जोअन सिल्बरको ‘इम्प्रुभ्मेन्ट’

चर्चित उपन्यासकार सिल्बरको नयाँ उपन्यास ‘इम्प्रुभ्मेन्ट’ मा विभिन्न तहका धेरै रोचक पात्रहरू छन् जो भिन्न पुस्ता र महादेशका हुन् । तीमध्येका एक पात्र किकी सन् १९७० मा इस्तानबुल पुग्छे र ओस्मान नाम गरेका गलैंचा व्यापारीसँग बिहे गर्छे । जब किकी ओस्मानको पछि लागेर उसको दुर्गम गाउँ पुग्छे तब उनीहरूबीच मतभेद हुन थाल्छ र सम्बन्धविच्छेद हुन्छ । त्यहाँ किकीले तीन जना जर्मन केटाहरू भेट्छे । उनीहरू पुरातात्त्विक सामानहरूको स्मग्लर हुन्छन् । ८ वर्षपछि किकी अत्यन्त मूल्यवान कार्पेट बोकेर न्युयोर्क फर्किन्छे । ती रगहरूमध्येको एक उसले आफ्नो दाइकी छोरी रेनालाई दिन्छे । रेना एकल आमा हुन्छे । उसले आफ्नो प्रेमीलाई जेलमा भेट्न जाँदा छोरीलाई किकीसँग छोड्छे । रेनाको प्रेमी र उसको समूह चुरोट घोटाला काण्डका लागि जेल परेका हुन्छन् । उपन्यासको अन्त्यसम्ममा सबै पात्रहरूसँग निकै नजिकबाट परिचित भइन्छ ।


९. मीन जिन लीको ‘पाचिन्को’

‘पाचिन्को’ अमेरिकाको राष्ट्रिय पुस्तक सम्मानको सूचीमा परेको किताब हो । यसमा सन् १९१० ताकाको कोरियाली परिवारको चार पुस्ताको कथा समेटिइएको छ, जति बेला कोरिया माथि जापानको आधिपत्य थियो ।

कथा वृद्ध हुँदै गरेका मछुवारा र उनकी श्रीमतीबाट सुरु हुन्छ । उनीहरूले भन्दरगाहको सहर भुसान नजिकैको एक गाउँमा होस्टल चलाएका हुन्छन् । उनीहरूको एउटा छोरा खुँडे र खुट्टा पनि बांगो भएको हुन्छ । त्यो छोराको अन्तत: बिहे हुन्छ । उनीहरूको सुन्जा नाम गरेकी छोरी पनि हुन्छे । जसलाई एक व्यापारीले गर्भवती बनाएर छोडिदिन्छ । तर उसलाई एक दयालु जापानी पास्चरले बिहे गरेर ओसाका लैजान्छ । जब उक्त पास्चरको मृत्यु हुन्छ तब सुन्जाकै निगाहमा उक्त परिवारले युद्धको सबैभन्दा कठिन समय गुजार्छ । उनीहरूको एउटा छोरा वासेदा विश्वविद्यालयमा प्रवेश पाउँछ । त्यस्तै कान्छो छोराले भने पान्चिको पार्लर चलाउँछ जहाँ पिनबलजस्तै गेम मेसिन हुन्छ । त्यहाँ धेरै जुवाडेहरू त्यो खेल्न आउँछन् । तर उनीहरू सबैका भविष्य भने पहिलाको गोप्य कुरा र धोकाहरूले छायामा परिरहेको हुन्छ ।


८. मार्गरेट विल्केर्सन सेक्सटनको ‘ए काइन्ड अफ फ्रिडम’

यो दमदार उपन्यास सेक्सटनको पहिलो रचना हो । यसले पनि अमेरिकाको राष्ट्रिय पुस्तक सम्मानको लामो सूचीमा आफ्नो ठाउँ बनाएको छ । न्यू ओर्लेन्समा बस्ने काला परिवारको उतारचढावपूर्ण जीवनमा आधारित यो उपन्यासमा दोस्रो विश्व युद्धदेखि समुद्री आँधी क्याट्रिनासम्मको समयलाई वर्णन गरिएको छ ।

कथाको सुरुआत उच्च वर्गकी एभ्लिनको तल्लो वर्गको रेनार्डसँगको प्रेमबाट हुन्छ । परिवारले विरोध गर्दागर्दै पनि दुईबीचको प्रेम चलिरहन्छ । उनीहरूको पछि बिहे नै हुन्छ । १९८० मा उनीहरूको छोरी ज्याकीलाई छोरो हुर्काउन निकै कठिन हुन्छ । त्यस बेला ज्याकीको श्रीमान् टेरी फार्मासिस्टको जागिरबाट निकालिएपछि कोकेन दुव्र्यसनी बनेका हुन्छन् । २०१० सम्ममा ज्याकीको छोरा टीसी पनि लागूऔषध बोकेको आरोपमा जेल परेर छुटेको हुन्छ । यी सबै उतारचढावबीच पनि परिवर्तन र स्वतन्त्रताको केही आशा भने उनीहरूमा हुन्छ ।


७. जर्ज साउन्डर्सको ‘लिंकन इन द बार्डो’

साउन्डर्सले छोटो कथा लेखकका रूपमा आफ्नो पहिचान बनाइसकेका छन् । उनी २०१७ मा आफ्नो पहिलो उपन्यासका लागि ‘म्यान बुकर’ बाट पनि सम्मानित भइसकेका छन् । लिंकन इन द बार्डो अब्राहम लिंकनको छोरा विलीको टाइफाइडका कारण ११ वर्षको उमेरमा १८६२ मा मृत्यु भएपछिको सन्दर्भसँग जोडिएको छ । राष्ट्रपति लिंकन गृहयुद्ध चर्केको बेला त्यसमा मृत्यु भएकाहरू बढ्दो मृतकको संख्यालाई लिएर शोकमग्न भएर बसेका हुन्छन् । साउन्डर्सले यसमा बुद्धिस्टहरूको जीवन र मृत्युको बीचको संसार– ‘द बार्डो’ को सोचलाई यसमा प्रस्तुत गरेका छन् । जसको प्रयोग गरेर उनले विलीलाई गाडिएको ठाउँबाट लिंकनले प्राप्त गरेको आवाजहरूलाई आधार बनाएका छन् ।


६. लुसी एडिर्कको ‘फ्युचर होम अफ द लिभिङ गड’

एडिर्कले निकै चर्चित र सम्मानित किताबको शृंखला (द राउन्ड हाउस, द प्लेग, लारोज) मा न्यायलाई गद्यात्मक तवरबाट प्रस्तुत गरेका थिए । यसमा भने उनले निकै क्रूर पुरातन समाजलाई केन्द्रमा राखेकी छन् । जहाँ उनले समाज पछाडि गइरहेको देखाउँदै सानो कीरा जत्रो आकारका बिरालो र मृत जन्मिएका बच्चाहरूको कल्पना गरेकी छन् । त्यो युगमा जताततै हाहाकार हुन्छ । जहाँ सरकारले गर्भवतीहरूलाई पक्राउ गरिरहेको हुन्छ । त्यसै क्रममा सरकारको आँखा छल्दै जोगिन खोजेकी एक महिला र उसको परिवारको कथा यसमा भनिएको छ ।


५. रोजेन गेको ‘डिफिकल्ट वुमन’

गे निकै सशक्त उपन्यासकार र संस्कृति समीक्षक हुन् । उनको २१ वटा कथाहरूको संग्रह गरिएको किताब निकै दमदार छ । त्यसमा संकलित कथाहरूमा पीडा र डरदेखि जीवन संघर्षसम्म गाथाहरू लेखिएका छन् । ‘इन आइ फलो यू’ कथामा दुई दिदी–बहिनीबारे लेखिएको छ । उनीहरू दुवै जना बाल्कालमा यौन हिंसाको सिकार भएका हुन्छन् र ठूलो भएपछि पनि त्यसको डरले एकअर्काको बचाउ गरिरहेका हुन्छन् । यी कथाहरूका माध्यमबाट उनले महिला सशक्तीकरणलाई बडो रोचक ढंगबाट उठाएकी छन् ।


४. सेरमन एलेक्सीको ‘यू डन्ट ह्याभ टु से यू लभ मी’

वाइल्ड सालमनले आदिवासी अमेरिकी ‘सालिस’ हरूलाई हजारौं वर्षदेखि शारीरिक र आध्यात्मिक स्रोतको रूपमा काम गरेको थियो । १९३८ मा वासिङटनमा ग्य्रान्ड कुली ड्याम बनाएपछि सबै आदिवासी विस्थापित भए । एलेक्सकी आमा र बुबा सालिस बोल्ने र वाल्ड साल्मन बिना बस्ने पहिलो पुस्ताका हुन् । यो किताबमा उनले बाबुआमाको त्यो संस्मरणलाई जीवन्त बनाउने प्रयास गरेका छन् । उनका कविताहरू सशक्त छन् ।


३. क्रिस्टिना ग्रासियाको ‘हियर इन बर्लिन’

ग्रासियाको नयाँ उपन्यास निकै रोचक रूपमा सिर्जना गरिएको छ । उनको उपन्यासको मूलपात्र क्युबन–अमेरिकी हो, जो २०१३ मा बर्लिन पुग्छन् कथाहरूको खोजीमा । उनले कथाहरू निकै अप्रत्याशित ठाउँहरू प्राप्त गर्छिन् ।

त्यसमा हिट्लरको पालामा बर्लिनको चिडियाघरमा ब्रिडिङ कार्यक्रम चलाएका चिडियाघरका सञ्चालकका छोराबाट त्यति बेला त्यहाँ रहेका ३७१५ जनावरबारे थाहा पाउँछिन् । यस्तै बर्लिन निवासीहरूसँग कुराकानी गर्छिन् । उनले त्यस्ता कुराकानीबाट बर्लिनको युद्ध बेलाका रोचक इतिहासहरू पहिल्याउँछिन् ।


२. जेनिफर इगानको ‘मानह्याटन बिच’

१९४० को ब्रुकलिनलाई आधार मानेर लेखिएका धेरै कथाहरूले गुथिएको उपन्यास हो यो ।

जेनिफर पुलित्जर पुरस्कार विजेता लेखिका हुन् । यो किताबमा उनले एना नाम गरेकी केटीलाई मुख्य पात्र बनाएकी छन् ।

एना ब्रुकलिन नेभी यार्डकी समुद्री युद्धपोत गर्ने पहिलो महिला गोताखोर हुन्छिन् । एनाका हाकिमहरूलाई उनको नग्नताले आकर्षित गरेको हुन्छ भने उनलाई काम गर्न पाएकैमा सन्तुष्टि हुन्छ । इगानले यसको अन्त्य बिर्सन गाह्रो हुने खालको बनाएकी छन् ।


१. जेस्मिन वार्डको ‘सिङ, अनबरिड, सिङ’

वार्डले यस उपन्यासका लागि यो वर्षको अमेरिकाको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । यो उपन्यासका मुख्य पात्र १३ वर्षका बालक जोजो हुन् । अन्याय र मृत्युका बारे ज्ञान हुँदै गएपछि उनको हजुरआमा र बुबा तथा तीन वर्षीया बहिनीसँग आत्मीयता बढ्दै जान्छ । हजुरबुवाले मिसिसिपीको निकै खतरनाक जेल पार्चमानमा उनले गरेको खेतीका बारेमा बताउँछन् । जसले जोजोलाई अत्मसम्मानका साथ बाँच्ने प्रेरणा दिन्छ । यस्तै जोजोका जीवन भोगाइ र सिकाइका थुप्रै कथाहरू रोचक ढंगबाट प्रस्तुत गरिएका छन् यसमा । यसको भाषा पनि निकै राम्रो छ ।

प्रकाशित : पुस १५, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?