१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

२०१७: ध्रुवीकरणको वर्ष

विश्व
विजय तिमल्सिना

काठमाडौँ — अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएको विषय सन् २०१६ को सबैभन्दा ठूलो चर्चाको विषय थियो, सायद । त्यही चर्चा २०१७ को सुरुआतमा पनि सेलाएन । उनले अमेरिकी राष्ट्रपति पदको शपथग्रहण गरेयताको विश्व राजनीति धेरै हदसम्म उनीसँगै ठोक्किन पुगेको छ ।

२०१७: ध्रुवीकरणको वर्ष

जनवरीमा ट्रम्पले कार्यभार सम्हालेयताको विश्व राजनीतिबाटै कुरा सुरु गरौं । उनले राष्ट्रपति पद सम्हालेयता विश्व राजनीतिमा अमेरिकाको स्थान कसरी अघि बढ्ला भन्ने बहस धेरै भयो । धेरै हदसम्म यो बहस ट्रम्पको व्यक्तिगत स्वभावसँग सम्बन्धित थियो ।

राष्ट्रपति सम्हालेको करिब एक वर्ष पुग्नै लाग्दा पनि ट्रम्पले आफ्ना विरोधीलाई गलत सावित गरेका छैनन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्ले कसरी जिते भन्ने अड्कलबाजीमै धेरै समय बिते । उनको रूससँगको सम्बन्धका कारण रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बहसको केन्द्रमा आइरहे ।

आरोपहरूलाई मान्ने हो भने ट्रम्पको विजयमा पुटिनको हात थियो । दशकौंदेखिको शक्ति संघर्षमा रहेका एक देशले अर्को देशको प्रमुख पदमा आफूले चाहेको व्यक्ति जिताउनु राजनीतिमा चानचुने उपलब्धि होइन । यसको चर्चा विश्वभर हुनु अस्वाभाविक थिएन ।

भलैं, ट्रम्प निर्वाचित भएपछि अमेरिकी सहरमा एकै दिन महिलाहरूका ४ सयभन्दा बढी प्रदर्शन भए । यो विरोध संख्यात्मक हिसाबले पछिल्ला वर्षको संसारकै सबैभन्दा ठूलो आन्दोलन मानिए पनि यसको प्रभाव खासै रहेन ।

एक दशकअघिदेखि विश्वभरका मानिसहरूलाई एकै प्लेटफर्ममा जोड्ने ‘उद्देश्य’ राखेको सामाजिक सञ्जाल फेसबुक अमेरिकी राष्ट्रपति निर्वाचनको विषयलाई लिएर अहिलेसम्मकै ठूलो विवादमा मुछियो । यही कारणले उसको प्रभावकारितामा ह्रास आउने विश्लेषण हुन थालेको छ ।

यो वर्ष अक्सफोर्ड डिक्सनरीले ‘युथक्वेक’ लाई वर्ष शब्द घोषणा गरे पनि योभन्दा बढी ‘फेक न्युज’ को चर्चा भयो । अमेरिकी निर्वाचनमा रूसी एजेन्सीले फेसबुकको प्रयोग गरी ट्रम्पका विपक्षी हिलारी क्लिन्टनको विपक्षमा जनमत सिर्जना गरेको विषय सम्बोधन गर्ने यो शब्द वर्षभरि चर्चामा रह्यो । भलै यो शब्द ट्रम्पले अमेरिकी मिडियालाई सम्बोधन गर्न प्रयोग गरेका थिए ।

२०१७ को विश्व राजनीतिको घटनाक्रम नियाल्ने हो भने अधिकांश घटना अमेरिका, रूस, चीन, बेलायत, म्यानमार, ईयू, उत्तर कोरिया र सिरियामा केन्द्रित रहे, अघिल्ला वर्षहरूजस्तै । तर, अमेरिकी राजनीतिको सर्वोच्च पदमा आसीन व्यक्ति फरक रहँदा यो वर्षको विश्व राजनीति बढी ध्रुवीकृत भयो ।

आफूप्रति आक्रामक नीति लिने अमेरिकी संकेतपछि उत्तर कोरियाको मिसाइल परीक्षणले विश्व तरंगित मात्रै गरेन, यो वर्षभरि आणविक हतियारको जोखिमको बहसमेत छेडियो । फेब्रुअरीमा जापानी आकाशमा उत्तर कोरियाको आणविक परीक्षणले अमेरिकी मित्र राष्ट्र नाजवाफ बनेको थियो ।

सिरियाली सहर खान सेखुनको उत्तरपश्चिम भागमा आतंकवादीलाई लक्षित गर्दै झारिएको रासायनिक बमको कारण ८६ भन्दा धेरै सर्वसाधारण मारिए भने सयौं व्यक्ति प्रभावित भए । रूसी सहायतामा सिरियाली सरकारले झारेको भन्दै निन्दा गरेको अमेरिकाले सिरियास्थित रूसको एयरबेस मिसाइल प्रहार गरी ध्वस्त बनायो ।

मार्चमा भएको यो घटनाको एक साता नबित्दै अमेरिकी सेनाले मदर अफ अल बम नामक आफ्नो ठूलो मिसाइल अफगानीस्तानमा झारेर आफ्नो आक्रामक नीतिको संकेत गर्‍यो ।

जुलाईमा उत्तर कोरियाले पुन: लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेपछि उसको सहयोगी मानिने रूस र चीनले उसलाई आणविक हतियारको उत्पादन बन्द गर्न आग्रह गरेर केही कठोर बन्ने संकेत दिए ।

लगत्तै अर्को महिना उत्तर कोरियामाथि व्यापार र लगानीमा नाकाबन्दी गरेर संयुक्त राष्ट्रसंघले दबाब दिने नीति लिए पनि यो त्यति सफल भएको मानिएन किनकि सेप्टेम्बरमा उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेर आफू अन्य राष्ट्रको चेतावनीबाट नडराएको सन्देश दियो । लगत्तै, संयुक्त राष्ट्र संघले वर्षको अन्त्यतिर उत्तर कोरियाली पेट्रोलियमको निर्यातमा कटौती गर्ने गरी अर्को नाकाबन्दीको निर्णय गरेको छ ।

यता, अमेरिकी कंग्रेसले रूसमाथि नाकाबन्दीको नीति पारित गरेपछि भ्लादिमिर पुटिनले करिब ८ सय अमेरिकीलाई आफ्नो देश निकाला गरेर अमेरिका–रूस सम्बन्धमा दरार आएको संकेत दिए ।

अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशनले वर्तमान राष्ट्रपति सी चिनफिङलाई नै दोस्रो कार्यकालका लागि महासचिव पदमा आसीन गर्दै उनको विचारलाई आधिकारिकता दिएको छ । योसँगै चिनफिङ माओपछि चीनका सर्वाधिक शक्तिशाली नेता बन्न पुगेका छन् । यसले विश्व राजनीतिमा चीनलाई प्रमुख शक्तिको स्थापित गर्न चिनफिङलाई सजिलोसमेत बनाउनेछ ।

यो वर्षको नोभेम्बरमा जिम्बाबेको राष्ट्रपति रोबार्टलाई अपदस्थ गर्दै सैनिक नेतृत्वले सरकार कब्जामा लिएको घटना पनि रोचक बन्यो । रोचक किनभने राष्ट्रपतिलाई बर्खास्त गर्दै सेनाले नियन्त्रणमा लिएकोमा जनताले खुसियाली मनाए ।

साउदी अरबसहित मध्यपूर्वी ६ देशले कतारमाथि नाकाबन्दी लगाए । नाकाबन्दी यति कठोर भइदियो कि उनीहरूले कतारसँगको हवाई, स्थल र सडक सम्पर्कसमेत विच्छेद गरेका छन् र यो कदम अहिले पनि जारी छ । विशेषत: कतारले गल्फ कोअपरेसनको नीतिविपरीत आफ्नो परराष्ट्र नीति अवलम्बन गर्नु र कतारी स्वामित्वको सञ्चार संस्था अलजजिराले मध्यपूर्वी देशमा दुई वर्षअघि सुरु भएको अरब आन्दोलनको पक्षमा बोल्नुलाई नाकाबन्दीको कारण भनिएको छ । भलै, नाकाबन्दी गर्ने देशहरूले भने कतारले आतंकवादलाई पक्षपोषण गरेको आरोप लगाएका छन् । यो आरोप कतारको इरानसँगको सम्बन्धतर्फ पनि केन्द्रित थियो ।

साउदी अरबले कतारमाथि नाकाबन्दी गरेर मध्यपूर्वी देशमा अझै आफ्नो प्रभाव कायम भएको सन्देश मात्रै दिएन यो वर्षको अन्त्यतिर आफ्नै परिवारका राजकुमार, उच्च सरकारी अधिकारी र व्यापारीहरूलाई भ्रष्टाचार आरोपमा पाँचतारे होटलमा कैदी बनाएर विश्वकै ध्यान खिच्यो । यसमा विश्वकै धनाढ्य सूचीमा पर्ने साउदी राजकुमार बिन तलाल पनि छन् । जससँग रिहाइ रकमबापत ६ अर्ब डलर मागिएको छ ।


एक्लिँदो अमेरिका

गरिब मुलुकमा परिवार नियोजनका लागि अमेरिकी सरकारले दिंदै आएको सहायता कटौती गर्दा ठूलो आलोचना बेहोरोका ट्रम्पले पेरिस सम्झौताबाट बाहिरिने निर्णय गर्दै अमेरिकालाई अन्य राष्ट्रहरूसँग एक्ल्याउने कदम चाले ।

यहीदेखि हो, अबको विश्व राजनीति अमेरिकी मातहतमा नरहने विश्लेषण हुन थालेको । अमेरिका एक्लिँदा उसको ‘सफ्टपावर’ कमजोर हुने र रिक्त स्थान चीनले परिपूर्ति गर्न सक्ने अनुमान हुँदै आएको छ । यही अनुमानका बीच अमेरिकाले युनेस्कोसमेत छाडेको घोषणा गरेको छ ।

यसबाहेक ट्रान्स–प्यासिफिक पार्टनरसिप (टीपीपी) बाट बाहिरिने अमेरिकी निर्णय र मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने निर्णयले अमेरिकालाई अन्य देशसँगबाट टाढा लगेको भान हुन्छ । साथै, यो वर्षको अन्त्यमा ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णय गरेपछि मध्यपूर्वी देशमा यसले आक्रोश निम्त्यायो र संयुक्त राष्ट्र संघले अमेरिकाको विपक्षमा भोटिङ गर्दै यसलाई मान्यता दिन अस्वीकार गर्‍यो ।


रोहिङ्ग्या संकट

केही वर्षयता सुरु भएको सिरियाली शरणार्थीको समस्याजस्तै विकराल रूप यो वर्ष म्यानमारमा देखियो । शान्तिप्रेमी भन्दै नोबेल पुरस्कार पाएकी आङ सान सुचीको देश म्यानमारमा मानवीयताको निकृष्ट रूप विश्वले थाहा पायो । संयुक्त राष्ट्र संघको मानवधिकार आयोगले समेत यसलाई जातीय नरसंहारको संज्ञा दियो ।

२५ अगस्टमा म्यानमारको अल्पसंख्यक रोहिंग्या समुदायका विद्रोहीहरूले सरकारी सुरक्षाकर्मीको पोस्टमा आक्रमण गरेपछि सुरु भएको हिंसाले लाखौं रोहिंग्यालाई घरबारविहीन बनाएको छ ।

सरकारी सेनाले अल्पसंख्यक रोहिंग्याको बासस्थानमा आगजनी गर्ने, मार्ने र बलात्कार गर्ने र यातना दिने गरेपछि विश्व समुदायले यसको आलोचना गरे पनि सुकीले भने त्यसलाई अस्वीकार गरेकी छन् र लाखौं रोहिंग्या बंगलादेशसहित भारत, पाकिस्तान, यूएईजस्ता देशमा शरणार्थी बन्न बाध्य छन् ।आफ्नो देशका अल्पसंख्यकमाथि भएको यो ज्यादती सम्भवत: पछिल्ला दशकको सबैभन्दा ठूलो ‘जातीय सफाया’ हो ।


बलियो चीन–रूस सम्बन्ध

कुनै बेला चिनियाँहरू रूससँगको सम्बन्धलाई लिएर भन्ने गर्थे— नो हग अन्ली ह्यान्डसेक । अर्थात्, अंगालो हाल्ने होइन, हात मात्रै मिलाउने हो । २०१७ को जुलाईमा रूसको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले रूस र चीनको सम्बन्ध इतिहासकै सबैभन्दा उत्कृष्ट चरणमा रहेको बताए । चिनियाँ राष्ट्रपतिबाट आएको यो टिप्पणीलाई पुष्टि गर्ने आधार चीन र रूसको उत्तर कोरियाप्रतिको समान दृष्टिकोण पनि हो, जुन अमेरिकाभन्दा समानस्तरमा भिन्न छ । रूस भ्रमणको क्रममा ११ बिलियन डलरको सम्झौता गर्दै चिनियाँ राष्ट्रपति र रूसी राष्ट्रपति जी २० समिटमा भाग लिनका लागि जर्मनी पुगेका थिए ।

चीन र रूसले पाकिस्तानको विषयमा पनि समान धारणा बनाएका छन् यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले भने पाकिस्तानलाई पन्छाउँदै भारतलाई अफगानिस्तानमा शान्ति कायम गर्नमा सहयोग गर्न आग्रह गरिसकेका छन् ।


प्रभावहीन भारत

प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदीको लोकप्रियता भारतभित्र कायम रहेको भए पनि भारतीय प्रभाव भने विश्व रंगमञ्चमा फिका देखियो । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सदस्य बन्ने उसको इच्छा यो वर्ष पनि पूरा भएन भने चीनसँगको दोक्लम विवादले उसलाई फाइदा पनि गरेन ।

पारस्परिक शत्रु मानिने पाकिस्तानलाई चीन र रूसले साथ दिने संकेत दिइरहँदा भुटानसँगको उसको कूटनीतिक एकाधिकारसमेत कायम नरहेको अड्कल काटिएको छ । साथै, दुई वर्षअघि नेपालमाथि लादिएको भारतीय नाकाबन्दीको मूल्य उसले २०१७ मा पनि चुकाइरहनुपरेको छ ।


क्षेप्यास्त्रजत्तिकै खतरनाक ‘मास सुटिङ’

हरेक वर्षजस्तै विश्वभर हुने हतियारको दुरुपयोगले २०१७ मा उस्तै रह्यो । २०१७ हतियारको अन्धाधुन्द प्रयोगका कारण ५ सयभन्दा बढी मानिसको ज्यान गएको मास सुटिङ ट्र्याकरले जनाएको छ ।

अमेरिकाको नाभाडामा अक्टोबरमा भएको एक मास सुटिङमा मात्रै ५९ जना निहत्थाले ज्यान गुमााए । अक्टोबरको पहिलो दिन २२ हजार मानिस सहभागी कन्सर्टलाई लक्षित गरी होटलको कोठाबाट लगातार गोली प्रहार गरिएको थियो । गोली प्रहार गरेका भनिएका स्टेफेन प्याडोकलाई सुरक्षाकर्मीले तत्काल गोली हानी मारेका थिए । बारम्बार यस्ता मास सुटिङका घटना भइरहने अमेरिकामा यसलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो क्रूर घटनाको रूपमा लिइन्छ । तर, अमेरिकामा बन्दुकमाथि व्यक्तिको अधिकार नियन्त्रित गर्ने प्रयास तत्काल सफल हुने छैन किनकि राष्ट्रपति ट्रम्पको मुख्य चुनावी नारा गन राइट अर्थात् बन्दुक राख्न पाउने अधिकार पनि थियो ।

मे महिनामा म्यान्चेस्टरमा आयोजित अमेरिकी गायिका एरियाना ग्रान्डे सहभागी कन्सर्टमा पनि यस्तै आक्रमण भएको थियो जहाँ गोली लागी २२ जनाको ज्यान गयो भने कन्सर्टमा सहभागी ५ सयभन्दा बढी मानिस घाइते भए ।


फरक महिला आन्दोलन

अक्टोबर पहिलो साता न्युयोर्क टाइम्सले हलिउड निर्माता हार्भे वाइनिस्टिनले दशकौंदेखि फिल्मी क्षेत्रका महिला र पुरुषमाथि यौनहिंसा गर्ने गरेको खुलासा गरेपछि हलिउड उद्योग मात्र होइन, पूरा विश्व नै तरंगित भयो किनकि यसले ल्याएको प्रभाव–विश्वभरका यौनहिंसा पीडित महिलाहरूको फरक आन्दोलनको स्वरूप पायो ।

वाइनिस्टिन काण्डपछि ६० भन्दा बढी महिला तथा पुरुषले आफू पनि वाइनिस्टिनको सिकार भएको सार्वजनिक गरे र विश्वभरका यौनहिंसा पीडितहरूलाई मुख खोल्ने अवसर दिए । जसका कारण सामाजिक सञ्जालमा सुरु भएको मीटू अभियानले यो वर्षको सबैभन्दा महत्त्वपूर्ण घटनाको संज्ञा पायो । यही अभियानले विश्वचर्चित म्यागेजिन टाइमले पर्सन अफ दी इयरको उपाधिसमेत दिएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : पुस १५, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?