कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहेंलो गुलाफ

कथा

काठमाडौँ — दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन्झन् बढ्दै गएजस्तो लाग्छ । कस्तो खाली हो, म आफैं पनि जान्दिनँ । म दुब्लाइसकें, थुकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत ।

पहेंलो गुलाफ

मलाई टीबी भएको रहेछ । हुन त कहिलेदेखि भएको हो तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही सेनेटोरियममा छु । धेरै भइसक्यो, मेरो छातीको एक्स–रे गरेको, डाक्टरले भन्थ्यो, मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे । साँच्चै मलाई पनि यस्तै लाग्छ, मेरो फोक्सो अब कुहिएर फतफती झर्न मात्र बाँकी छ ।

मैले उहाँसित मेरो एक्स–रे फोटो हेर्न मागेकी थिएँ तर उहाँले हुन्छ–हुन्छ भन्दै अझसम्म मलाई त्यो देखाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे । ओह, मलाई आश्चर्य लाग्छ, किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ, अब के बाँकी छ र ! छकिनेजति म पहिले नै छकिइसकेकी छु नि !

यो थुकसित लत्पतिएको रगत, यो कुहिएको फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति म छकिऊँ, कति घाटा परूँ ? उहाँले मलाई कति माया देखाउनुहुन्छ, कति स्याहार गर्नुहुन्छ, सधैं मेरा अगाडि आएर घण्टौं–घण्टौं बसिरहनुहुन्छ । मलाई कत्रो भयंकर सरुवा रोगले च्यापेको छ, यो उहाँलाई थाहा छैन र– तैपनि उहाँ डराउनुहुन्न, घिनाउनुहुन्न । झन् एकै पलङमा मसित च्यापिएर बस्नुहुन्छ ।

मलाई उहाँको ज्यादै पीर लाग्छ, कतिचोटि उहाँलाई मैले आफ्नो नजिकबाट हटाइसकें, उहाँ मान्नुहुन्न । म के गरूँ ? हिजै पनि उहाँले कस्तो काम गर्नुभयो, सम्झँदैमा मेरो मुटु अझै थर्रथर्र काम्छ । उहाँ मेरो अगाडि हुनुहुन्थ्यो, बस्दाबस्दै मलाई एकतमासको खोकीले च्याप्यो, मुटु थर्केर बाहिर निस्किएला जस्तो भएको थियो मेरो, अनि उहाँ कति डराउनुभएको थियो त्यसबेला ।

खोक्दाखोक्दै रगतको सानो ढिका थुक र र्‍यालसँग लटपटिएर मेरो चिउँडोभरि पोतियो, मलाई आफ्नै सुर थिएन, पछि पो थाहा पाएँ उहाँले आफ्नै रेसमी रुमालले त्यो थुक र र्‍याल थाप्नुभएछ । म छक्क पर्छु उहाँको लापरबाही देखेर कस्तो केटाकेटीजस्तो मान्छे ? अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमाल निस्कियो, फोहोरले कट्कटिएको ।

त्यही रुमाल किन चलाउनुपथ्र्यो, मेरै मुख पुछ्ने भुवादारी रुमाल पलङ्निरै स्ट्यान्डमा झुन्डिएकै थियो नि । कति राम्रो थियो त्यो रुमाल, प्याजी रङको प्योर सिल्कको, मैले नै एकचोटि उहाँलाई किनेर दिएको, कति खुसी हुनुभएको थियो त्यो रुमाल पाएर । मलाई प्याजी रङ चौपट्टै मन पर्छ, मेरो बाकस र दराजभित्रका सबै लुगा धेरैजसो प्याजी रङकै छन् । प्याजी रङ देख्यो कि मलाई असाध्यै प्रसन्नता लाग्छ, त्यसै उहाँ जिस्क्याउनुहुन्थ्यो— तिमीलाई त प्याजी रङको टबभित्रै पो सधैं डुबाइराखूँ कि ? त्यति मात्रै होइन, उहाँ मेरो प्रसन्नता र रुचिको ज्यादै कदर गर्नुहुन्छ । मेरो ड्रइङरुम अगाडि दुबोको चउरभरि उहाँले प्याजी रङका जर्बेराहरू लगाइदिनुभएको छ, म घण्टौं–घण्टौं ती प्याजी फूलहरूको बीचमा बसेर साँझका रमाइला बादललाई हेरिरहन्थें । कति आनन्द लाग्थ्यो त्यो गर्न मलाई । अहिले आठ महिना भइसकेको छ । म यहाँ छु, ती फूलहरूको स्याहार कसले गरिदिँदो हो ? ती प्याजी जर्बेरा ! प्याजी रुमाल ! ओह ! कसरी फोहोरमा कक्रिएका ।

मेरो फोक्सोका कीराहरू सबै उहाँको कोटभरि सल्बलाइरहेका होलान् । छि: धोएर पनि के गर्नु त्यो रोगी रुमाल, त्यसैले मैले फोहोर मिल्काउने भाँडोमा हालिदिएँ । उहाँ मलाई कति माया गर्नुहुन्छ, म परिलगाउन सक्तिनँ । मलाई थाहा छ— त्यो माया मभित्र व्याप्त छ, मेरो एकएक नसामा त्यसले जरा गाडिसकेको छ, त्यसबाट मुक्त हुन म कहिल्यै सकुँला म खुसी छैन, अझै पनि यो कस्तो माया हो जसमा सन्तोषको सानो लेश पनि म भेट्न सक्दिनँ ।

यतिको माया पाएर पनि म खाली–खाली छु । यो खाली सायद कहिल्यै भरिँदैन । दुई महिनासम्म म ज्यादै थलिएँ, अहिले अलि सन्चो छ, तर टीबीका कीराले खानुसम्म मेरो फोक्सोलाई खाइसकेका छन्, त्यहाँ त खाली भ्वाङप्वाल मात्रै होलान् ।

कहिलेकाहीं मलाई छातीभरि, मुटुभरि बतास छिरेजस्तो लाग्छ, त्यसैले मभित्र हावैहावा मात्र छ, हावा भरिएको बेलुन । मेरो फोक्सोको भवाङ्प्वाल च्यातिएर ठूलो प्वाल भइसक्यो, सिंगै आकाश अटाउन सक्छ यहाँ, एउटा रित्तो आकाश । के गर्नु रित्तिनु मात्र त रहेछ नि, जति भर्‍यो, उति रित्तियो ।


९ असार

उहाँ आउनुभयो । सधैंको जस्तो आज पनि आफैंले अनार छोडाउनुभयो र, रस निचोरेर गिलासमा खन्याउनुभयो । मलाई खान मन थिएन, गिलासतिर मैले हेर्दै हेरिनँ, उहाँको कुरामा पनि साथ दिइनँ । मेरो मन हिजोदेखि उदासउदास थियो, चल्न बोल्न मन थिएन । केही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुल्याइरहनुभयो । मैले सुन्दै सुनिनँ । आखिर उहाँले नै जबरजस्ती मेरो टाउको समातेर गुलाफी झोल मेरो मुखभित्र खन्याइदिनुभयो ।

मुखमा लागेको अनारको च्याप–च्याप झोल मैले राम्ररी पुछ्न पनि पाइनँ, एक्कासि गोहीका तिखा दाह्राले मेरो ओठलाई कर्‍याम्म चपाए, रन्थनिएँ । ओठबाट कति रगत र कीराहरू निस्के मैले थाहा पाइनँ, म बेहोस भइछु । अहिले दुई घण्टाअगाडि मात्रै पो म बिउँझें, खोइ, उहाँ त गइसक्नुभएछ— पानी परेकाले हो कि ! ऊ अझै पानी दर्कंदै छ । यो पानी अब रातभर थामिँदैन ।

ऐया यो मेरो पाखुरा किन यसरी दु:खेको, बेस्सरी बटारेको जस्तो भइरहेको छ । ए, बिहान डाक्टरले पनि यसैमा इन्जेक्सन दिएको थियो क्यारे । त्यहाँ स्ट्यान्डमा के त्यो– मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ ।

यस्तो पानीमा वर्षाती पनि लगाउनभएको थिएन । यो कोट मेरो चोलोमाथि; मेरो सेतो चोलो मेरै रगत हराएको मुखजस्तो सेतो थाङ्नो, तैपनि उहाँ मलाई उत्तिकै माया गर्नुहुन्छ । पहिलेको जस्तै होइन, अझ बढ्ता, पहिलेकोभन्दा पनि बढ्ता । ओह, उहाँको सुम्सुम्याइमा कति तत्परता छ, त्यो चटाइमा कति लोलुपता छ । मेरो ओठभरि अघि उहाँले लगाइदिएर जानुभएको थुक अझै लपक्क भिजेको छ ।


१२ असार

दुई दिनदेखि केही लेख्न सकिनँ । लेख्न सकिनँ के भन्नु, लेख्न पाइनँ, फुर्सतै भएन । यी तीन दिन उहाँले एक मिनेटका लागि पनि मलाई कहीं छोड्नुभएन, म बाँधिएर बसिरहें उहाँको जब्बर अँगोलोभित्र । म रोगी, त्यही पनि क्षयका कीराले ध्वस्त पारिसकेका, त्यति उम्कन सक्ने बल कहाँ पाउनु मैले ।

यो गुलाफको बोट, पातहरू कति चम्केका ! हिजो बिहानभरि र रातभरिको पानीले निखार ल्याइदिएछ । म यहाँ बस्न आएदेखि नै यो गुलाफको बोट यहीं छ, तल पोर्टिकोदेखि पस्रेर आएका यसका दुई लहरा मेरो कोठाको झ्यालमा सधैं यसैगरी लत्रिरहन्छ, मजस्तै रोगी छ यो गुलाफको बोट, पहेंला फूल मात्रै फुल्छन् ।

त्यसैले यसको मलाई माया लाग्छ, म यसको पातमा एउटा झुसिल्कीरा पनि बस्न दिन्नँ, देखेको बेला एकदुईवटा झुसिल्कीरा सधैं टिपेर फ्याँकिदिन्छु । अहिले त धेरै नै पहेंला कोपिलाहरू बोटमा लागेका छन् फक्रेपछि झ्याल पहेंलै हुन्छ । पहेंलो हाम्रो एउटै समवेदना ।

अहिलेसम्म उहाँ आउनुभएन । मेरो झर्काे लाग्ने बानी, अलिकति अबेर भए पनि

पट्याइ लाग्छ । अब त मलाई उहाँकै प्रतीक्षा छ, खालि उहाँकै । उहाँको अत्तरमा भिजेको चिसो बास्ना आउने हात, चिसो ओठ मेरो रोगको एउटै सान्त्वना । त्यसैबाट त उहाँले मलाई सन्तोष दिन खोज्नुहुन्छ । यही यस्तै हात र ओठको सन्तोष चार वर्षदेखि उहाँले मलाई दिँदै आउनुभएको छ ।

म थाकिसकेकी छु, बिल्कुलै थाकिसकेकी छु, यी सन्तोषहरूबाट । उहाँ भने अझै थाक्नुभएको छैन । उहाँभित्रको अर्को पुरुष अझ उहाँभन्दा पनि बलियो र सशक्त छ । उहाँ मलाई माया गर्नुहुन्छ, मेरो हरेक इच्छा र चिन्ताको उहाँलाई फिक्री छ । उहाँ मलाई चाट्नुहुन्छ, बिरालोले बच्चालाई चाटेजत्तिकै, तर उहाँलाई पत्तै हुँदैन ।

उहाँभित्रको सशक्त पुरुष ढाडे बिरोलोजत्तिकै निर्दयी भएर मलाई लछार्छ, पछार्छ, भुत्ल्याउँछ । हाम्रो विवाहको चार वर्षदेखि एकसरह एकनासले विभिन्न तरिकाले उहाँले मलाई माया गर्दै आउनुभएको छ, तर उहाँलाई के पत्तो उहाँको त्यस सुमसुम्याइमा म कति बिथोलिएकी छु, कति नाङ्गिएकी छु । विवाहको पहिलो रातमै आफूलाई उहाँमा समर्पित गरिदिएँ । त्यसबेला मेरो आँखामा कति सपना भरिएका थिए ।

उहाँलाई पाएर मलाई सर्वस्व पाएजस्तो लागेको थियो । उहाँको त्यस निर्लिप्त मायामा मैले बाँध भएर फुट्न होइन, बरु पोखरीझैं आफूभित्रै जमेर बस्न खोजेकी थिएँ । उफ्, उहाँ त बेगवान पुरुष हुनुहुन्थ्यो । एउटै जोसमा बग्नुभयो, मलाई पनि बगाउनुभयो ।

माया गर्दै उहाँले मेरो अन्तर–बाह्य दुवैलाई मथेर पानीजस्तै पातल्याउनुभयो । म बगें । मलाई बग्न कर लाग्यो— बाटो उहाँले खोलिदिनुभएकै थियो । उहाँ लोग्नेमानिस हुुनुहुन्छ, म स्वास्नीमान्छे, योबाहेक अरू सबै उहाँले बिर्सनुभयो, किनभने म एउटी लोभलाग्दी सिंगै मासुको डल्ला त उहाँको अगाडि छँदै थिएँ नि ! त्यत्तिकैमा उहाँ सन्तुष्ट हुनुभयो ।

उहाँ लोभी स्यालजत्तिकै ममाथि खनिनुभयो र, मेरो आदर्शको तहलाई उप्काइदिनुभयो । त्यहाँदेखि म कागतीझैं उहाँको मुठीभित्र बरोबर निचोरिँदै आएकी छु, चुइङगमजत्तिकै उहाँको तातो थुकमा पग्लिएकी छु । अब त के छ र मसित ! खालि राम्रो रबड मात्रै न हो, जति चुसे पनि, टोकेर क्याच–क्याच पारे पनि, एक थोपा रस निस्कने होइन ।

ओह ! गुलाफको पातमा फेरि झुसिल्कीरा आएछ । जति फ्याँके पनि कता कताबाट रगरगाउन आइहाल्छ । यी कोपिलाहरू फक्रन नपाउँदै झुसिल्कीराले पातलाई चलनी पारिदिने हुन् कि ! दुई दिनपछि त फक्रलान् । मेरो औषधि खाने बेला भएछ, डाक्टर आउँछ अब । ऊ

डाक्टर ! छि: कति खानु औषधि पनि एउटा मात्रै हो र तरहतरहका । डाक्टर गयो रित्तो औंस लिएर, अर्काे कोठामा पुगेपछि उसले फेरि त्यो औंसलाई औषधिले भर्छ, फेरि रित्याउँछ ।

म पनि त्यही रित्तो औंस हुँ, खाली, केही नभएको रित्तो । भएको जति सबै उहाँले नै सिध्याउनुभइहाल्यो । यताउता लागेको खारखुर पनि सोहोरिइसकेको छ । साँच्चै यी चार वर्षभित्रमा उहाँ अलिकति पनि घाटामा पर्नुभएको छैन ।

घाटामा म पो परेकी छु, भएको जति सबै सिध्याएर आखिर क्षयका कीरालाई आफ्नो जीवभरि पालेर मृत्युलाई कुरिरहिछु । उहाँलाई त के छ र ! झन् नाफैनाफा छ, लोग्नेभन्दा पनि बढी उहाँ एउटा चतुर घिउपसले सावित हुनुभएको छ, तैपनि उहाँलाई ममाथि दया उठ्दैन । मसित यो झिनो जिउ र कुहिएको फोक्सोबाहेक अरू के छ र, अझै के लिन आउनुहुन्छ यहाँ ?

टीबी भएको सुनेर मलाई दु:ख लागेन, बरु खुसी लाग्यो । मैले सोचेकी थिएँ— कमसेकम यो यातनाबाट छुट्कारा त पाइयो । त्यसै दिन ईश्वरको नाउँमा एउटा धूप सल्काएँ, मेरो मन ढुक्क भयो । एउटा दु:खमा अर्काे दु:खलाई बिर्सने गरें तर यहाँ आएर मलाई उत्तिकै कष्ट खप्नुपरेको छ ।

दुई महिना थला परेको बेलाबाहेक छ महिना मैले नर्कको कीराझैं उहाँको थुकभित्र लटपटिएर काटेकी छु । त्यो थुक कहिल्यै सुक्दैन, घट्दैन । मेरा हातखुट्टा सबै यसैमा टाँस्सिएका छन्, न आँखा उघार्न सक्छु म । मेरा परेला यही प्याच–प्याच परेको थुकमा जमेको छ । कहाँ छ स्वर्ग– त्यही प्याजी जर्बेरामा, अनि नर्क यो थुकमा– कस्तो घिनलाग्दो जीवन ! कहिले त लाग्छ— त्यो प्वाइजन लेखेको सिसी स्वात्तै घाँटीभित्र खन्याइदिउँ, तर नाइँ, म त्यसो गर्न पनि सक्तिनँ । यो तातो भतभती पोल्ने नर्कमा अझ कति यसैगरी जीवनलाई घिच्याइरहनुपर्ने हो । भन्छन्— टीबीले खाएकाहरू झन् धेरै बाँच्छन् रे !

हिजोको एउटा घटना पनि लेखिहालूँ । सम्झन पनि सक्दिनँ, लाज लाग्छ । अहिले औषधि ख्वाउन आउँदा डाक्टरलाई सोझो मुखले हेर्न पनि सकिनँ, उसलाई पनि सबै कुरा थाहा । थाहा किन नहोस् उसलाई, म उसैको हातको प्राइभेट पेसेन्ट ।

हिजो राति पनि त्यसबेलासम्म उहाँ पलङमा मेरै छेउमा पल्टिरहनुभएको थियो । डाक्टर के कामले हो झ्वासझ्वास्ती कोठाभित्र पस्यो, फेरि ठाडै खुट्टाले ऊ फर्कियो । एक छिनपछि उहाँलाई डाक्टरको कल आयो, उहाँ हाँस्तै कोठाबाट निस्कनुभयो र फेरि हाँस्तै फर्कनुभयो ।

सिल्ली डाक्टर ! मेरो मुख रन्न तात्यो, मैले उहाँलाई हेरें । उहाँको अनुहार निर्विकार थियो । मलाई ज्यादै थक्थकी लाग्यो, के गर्नु सबै कुरा बुझेर पनि लाज पचाएर बसें । उहाँ आउनुभयो, ऊ मोटरको आवाज हाम्रै क्याडिलक हो । सेनेटोरियमजस्तो ठाउँमा लाखौं मोटर आउँछन्, तैपनि आफ्नो क्याडिलकलाई म राम्ररी चिन्छु ।


१४ असार

गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फूलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेंलो गुलाफलाई अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ निद्रा, अनन्त शान्ति । यी फक्रेका फूल कठै !

फेरि झुसिल्कीरा लागेछ । मेरो कामै झुसिल्कीरा टिपेर फ्याँक्ने भइसक्यो । सानुचा आयो ऊ ढोकामा, पाँचवर्षे ख्याउटे केटो । चम्पा यसकी आमा काली भए पनि राताराता गाला भएकी । ऊ यहाँ कुचो लाउने काम गर्छे रोगीका कोठा–कोठामा डुलेर फोहोर बेड–प्यानहरू उठाउँछे । उसको आफ्नै जिन्दगी छ ।

सानुचा मेरो बिस्कुटमा पल्किएको छ, अहिले ऊ जंगारमा एउटा खुट्टा बाहिर एउटा खुट्टा भित्र हालेर ङिच्च हाँसिरहेछ । त्यसले दाँत देखायो कि म कुरा बुझिहाल्छु, बिचरो ! छि: कहिले त घिन लाग्छ, त्यसको नमाझेको दाँत र नाकमा कटकटिएको सिंगान देख्ता वाक्कवाक्क आउँछ । अहिले पनि बिस्कुट लिन आएको त्यो । एउटा क्रिमक्रेकर झिकेर ढोकातिर मिल्काइदिएँ, हत्तपत्त टिपेर खुर्र दौड्यो, बुद्धु केटो ।

हिजो केही लेख्न सकिनँ । राति एक बजे लेख्न बसेकी लेख्न मन लागेन । निद्रा पनि परेन । आज पनि के लेखूँ खैं ! ठूलो चट्टान उखेलिएर छातीमा झुन्डिएको छ । एउटा निर्जीव शताब्दीअघिको फसिलसित जोडिन म पुगेकी छु ।

हिजो उहाँले सताउनसम्म सताउनुभयो । चीलले मुसालाई झुन्ड्याएझैं झुन्ड्याएर मलाई माथिमाथि आकाश सबै घुमाउनुभयो । कहिल्यै नसकिने आकाश रहेछ । त्यहाँबाट कति तल देखिन्छ, तर जति गयो उति माथि कहाली लाग्ने पो रहेछ । अहिले भर्खर फेरि डाक्टर मलाई इन्जेक्सन दिन आयो । इन्जेक्सन दिने ठाउँ थिएन, दुवै पाखुरा सियोले छियाछिया पारेको छ, त्यसैले निर्धक्कसँग फिला खोलिदिएँ । डाक्टरले हातमा सिरिन्ज लिएर मेरो फिलालाई हेरि मात्रै रह्यो, त्यहाँ चिमोटेका र बोक्सीले चुसेजस्ता निकै नीला डामहरू रहेछन् । मैले डाक्टरलाई भनें—

सपनामा मलाई आकाश माथिमाथि उडेर घुमेजस्तो लागेको थियो । पछि अकस्मात जमिनमा पछारिएँ । आकाश त के हुन्थ्यो र– निद्रा पलङबाट पो खसेकी रहिछु । डाक्टरले केही भनेन, चुपचाप त्यही नीलो फिलामा इन्जेक्सन दियो र कस्तो–कस्तो आँखाले मलाई हेरेर गयो ।

अस्तिदेखि मेरो छाती दुख्न थालेको छ । पहिले त अलिअलि मात्रै दुखेको थियो, मैले वास्ता पनि गरिनँ । हिजोदेखि त दुखेको झन्झन् बढ्न थाल्यो, मैले उहाँलाई हिजो पनि कति पन्छाएँ, बोलिन पनि । म नबोलेर हुन्छ र ! उहाँ त आफ्नै धुनमा बौलाहाजत्तिकै फतफताइरहनुभयो, सनकीजस्तै हललल हाँसिरहनुभयो । उफ्, आजित पारिसक्यो यो झुसिल्कीराले मलाई ! हेर न, फूलसितै कसरी लपक्क टाँसिएको ।

हिजो आउँदा आउँदै एक गुच्छा प्याजी फूल मेरो हातमा थमाइदिनुभयो उहाँले । मैले त्यसै टेबुलमाथि राखेकी थिएँ त्यो फूलको गुच्छा । उहाँ घर जानुभएपछि त्यसलाई उठाएर हेरें, प्याजी फूल धेरैपछि खेलाउन पाएको, त्यसैले हेरिरहें, खेलाइरहें, एकएकवटा गरी गनें । मेरो हातमा छ्यास्स झुस लाग्यो, त्यति राम्रो फूल, त्यहाँ पनि एउटा झुसिल्कीरा रहेछ ।

हातभरि चिलाउने डाबरहरू उठे अनि कताकता उहाँको हललल हाँसो मेरो बिरामीको प्राइभेट कोठाभरि घन्क्यो । कालो झुसिल्कीराका टल्ल परेका आँखामा दुईवटा चम्किला आँखाले चियाए । म तर्सिएँ, उहाँले मलाई दु:खै दिन खोज्नुभएको रहेछ । त्यो प्याजी फूल मैले परपर मिल्काउन पठाइदिएँ, नत्र त्यो झुसिल्कीरा फेरि मेरो पहेंलो गुलाफको बोटमा उक्लन्थ्यो ।

ओह ! कस्तो खोकीले च्यापेको मलाई । ल, रगत पनि निकै पो आयो । सेतो थुक त पटक्कै देखिन्न । डाक्टरले यसरी बढ्ता रगत आउनु खराबी हो भनेको थियो । छाती झन् चस्किन थाल्यो, तकियाले थिचे पनि दुख्न छोड्दैन । उहाँ पनि आउनुुहुने बेला भयो । हिजोको जस्तै एक गुच्छा प्याजी फूल दिएर मेरो छातीमा अझ दुख्ने थपेर जानुहुनेछ ।

चस्कियोस् यो छाती पनि, कति चस्किन पर्ने हो । यसै गरी छाती चस्कँदाचस्कँदै रगत ओकल्दाओकल्दै म सकिन्छु । मलाई उहाँले सक्नै खोज्नुभएको हो । केही छैन, म सकिइसकेकी छु, फेरि सकिनुमा मलाई के चिन्ता । सम्पूर्णता चाहन्नँ, थाहा छ अब म निको हुन्नँ, हुँदै हुन्नँ । अहिले फेरि अघिको भन्दा बढ्ता रगत आयो । उहाँ अहिले फेरि आउनुहुन्छ, ठट्टैठट्टामा एकै डल्लो पारी मलाई बेसरी निचोरेर जानुहुन्छ ।

रगत झन् चुहिन्छ । झ्यालमा गुलाफको लहरापछाडि त्यो परपरसम्म फैलेको आँखाले नभेट्टाइसक्नु हरियो फाँट सल्लाघारीसित टम्म मिल्न पुगेको छ । दुवै हरिया एकाकार । फाँटमा को होलान् ती एक जोडी । घुम्न आएका हुने क्यारे, त्यत्रो फाँट स्वात्तै चहारिसके । टाढाबाट उनीहरू कति राम्रा देखिन्छन्, आइमाईको जुरोमा गुलाफको रातो फूल छ, त्यो लोग्नेमान्छेचाहिं आइमाईको कुममा हात राखेर हिंडिरहेछ ।

उनीहरू सल्लाघारीसम्म पुगिसके । लौ, त्यो गुलाफको रातो फूल र कुममाथिको हातलाई सल्लाघारीको बाक्लो छायाले घप्लप्पै ढाक्यो । अब अग्लो होचो तरेली परेको रित्तो फाँट मात्रै छ । रातो गुलाफ मेरो आँखाभरि तिर्मिराएर आयो ।

उफ् ! म सहनै सक्दिनँ, मेरो मुटु किन यसरी हल्लिन थालेको ! यो फलामको पलङ पग्लेर मेरो जिउभरि टाँस्सिइसक्यो । कस्तो भत्भत् पोल्ने डाह !

आकाश किन हल्लिन्छ यसरी, हेर आम्मै नि ! सूर्य पनि खस्न लागिसक्यो, हल्लेको हेर ! ओह ! सूर्य पनि टुक्रिन्छ अब मेरो टाउकोमा । एकैचोटि आगो खनिन्छ, म डढ्छु, यी पहेंला गुलाफ पनि डढ्छन् मसित । हेर, झुसिल्कीरा गुलाफको पातमा यति चाँडै कत्रो लाभ्रे भइसकेछ ।

मरोस् यो पनि डढेर, फाल्दै फाल्दिनँ टिपेर अब यसलाई, मरोस् । मेरो छाती चक्र्यो, मुटु हल्लेको कसरी, भित्रभित्रै भुइँचालो छुटेजस्तो छ ।

छाती पनि फुट्छ कि क्या ! छाती फुटेपछि त रगतको मुस्लो निस्कन्छ, रगत त्यहाँ सल्लाघारीभित्र पसेको रातो गुलाफजस्तै । फुट्न लाग्यो मेरो छाती, फुट्न लाग्यो, अब रगतको छेलोखेलो बग्छ । उहाँ पनि आइपुग्नुहुने बेला भयो, आउनुहुन्छ, मेरो छाती....।

म पनि टोकिदिन्छु, म पनि माया गर्न थाल्छु उहाँलाई । म पनि बिरालो हुन्छु, खस्रो काँडा उम्रेको ज्रिब्रोले चाट्छु उहाँको कमलो आङभरि । उहाँको गुलाफी आङ गोडेर एकएक चोक्टा मासु झिक्छु र मेरो फोक्सोका जम्मै कीरा त्यसमा भरिदिन्छु । मलाई माया गर्ने त्यो गुलाफी आङ पनि मेरो आङजस्तै कत्ला परेको साह्रो फसिल हुनुपर्छ । उहाँका ती दूध निस्कलान्जस्ता ओठ कति लोभलाग्दा छन्, खै मेरो त्यस्तो !

उहाँ आइपुग्नुहुने बेला भयो, तयार भएर बस्नुपर्‍यो । ती ओठलाई मुखभरि च्यापेर तनतन पिइदिन्छु । त्यसभित्रको आलो रगतमा मेरो कुहिएको रगत जति सप्पै खन्याइदिन्छु । उहाँको मायाको प्रतिदान मेरो पनि उहाँलाई माया गर्छु, उहाँ मलाई माया गर्नुहुन्छ त्यसैले म पनि उहाँलाई माया गर्छु । यसरी दिनदिनै मलाई घरदेखि भेट्न आउन उहाँलाई कत्रो मुस्किल पर्छ, त्यसैले उहाँलाई पनि यहीं यस्तै सेतो पलङमा बाँधेर राख्न पाए कस्तो हुन्थ्यो !

आज त म उहाँलाई छोड्दै छोड्दिनँ । उहाँको फोक्सोमा पनि मेरो फोक्सोको जस्तै भ्वाङप्वाल; सिंगै आकाश अटाउन सक्ने भ्वाङप्वाल । हाम्रो फोक्सोको भ्वाङप्वाल बढ्दै एकै ठाउँमा गएर मिल्छ, हामी ठूलो शून्य बन्छौं अनि तिनीहरूमाथि दुईवटा कत्ला परेका साह्रा फसिलहरू समयलाई गुमाइसकेका हुनेछन् ।

च्व: मेरो पहेंलो गुलाफ, एउटा एउटा पातमा एउटा एउटा लाभ्रे । सबै फूल खाएर सकिन लागिसके : यी लाभ्रेहरू कति चाँडो–चाँडो पातलाई सक्दा रहेछन् । पानी छिट्यो, ऊ आकाश हल्लिरहेछ, खस्नलाई मात्रै बाँकी छ । गुलाफ ! पहेंलो गुलाफ एकएक पत्र हराउँदै छ ।

(२०२३ सालमा प्रकाशित शाहको कथासङ्ग्रह ‘पहेंलो गुलाफ’ बाट)

प्रकाशित : पुस १५, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?