कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ईपीएलको ओज

विवादले गाँजिएकाले नेपालमा घरेलु क्रिकेट शून्यजस्तै छ । यही समयमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट सञ्चालन भएको छ । 
विनोद पाण्डे

काठमाडौँ — २००७ को विश्वकप अगाडि भारत बलियो टोली थियो । क्यारेबियन विश्वकपमा बंगलादेशजस्तो कमजोर मानिएको टोलीसँग पराजयपछि भारत विश्वकपको समूह चरणबाटै बाहिरियो । यसमा भारतीय क्रिकेटको चर्को आलोचना सहनुपर्‍यो र देशभित्र ठूलो उथुलपुथल ल्यायो । सबैभन्दा ठूलो घरेलु क्रिकेटमा क्रान्ति आयो ट्वान्टी–२० संरचनाको क्रिकेटबाट । 

ईपीएलको ओज

यसको फाइदा उठाउँदै सञ्चारमाध्यम जी इन्टरटेनमेन्टले भारतको क्रिकेट उकास्न भन्दै इन्डियन क्रिकेट लिग (आईसीएल) को घोषणा गर्‍यो । यो भारतीय क्रिकेटको आधिकारिक निकाय बीसीसीआईको विपरीत खेमा थियो । अर्थात् आईसीएललाई बीसीसीआईको मान्यता थिएन । बीसीसीआईले आईसीएल खेल्ने खेलाडीलाई निलम्बन गर्ने जनाउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को घोषणा गर्‍यो । यी दुईको होडले भारतको घरेलु क्रिकेटमा प्रतियोगिताको ओइरो लागिसकेको थियो ।

आईसीएलको तीन संस्करण मात्र हुन सक्यो । भारतीय क्रिकेटको सर्वोच्च निकाय भएकाले बीसीसीआईले आईसीएलमा संलग्न व्यवस्थापनमा रहेका कपिल देवसहित भारतीय खेलाडीहरूलाई निलम्बन गर्‍यो । आईपीएल निरन्तर चलिरहेको छ । खेलाडीसहित यसका अधिकारीका लागि पारिश्रमिकका हिसाबमा आईपीएल विश्वको उत्कृष्ट क्रिकेट प्रतियोगिता भएको छ । त्यसयता विश्वका प्रमुख राष्ट्रमा यस खाले

ट्वान्टी–२० प्रतियोगिता हुँदै आएको छ । आईपीएलको सबैभन्दा ठूलो प्रभाव यसले भारतीय क्रिकेटको प्रदर्शनमा ठूलो परिवर्तन ल्याइदियो । मैदानमा देखाएको प्रदर्शनका कारण पनि अहिले भारत विश्वको महाशक्ति बनेको छ ।

विवादले गाँजिएकाले नेपालमा घरेलु क्रिकेट शून्यजस्तै छ । यही समयमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट सञ्चालन भएको छ । विवादका कारण ईपीएलले आयोजनाका लागि र यसको औचित्यका लागि विभिन्न आरोह पार गरेको थियो । त्यसैले ईपीएलको यात्रालाई साहसिक बनाएको थियो । यस्तो घरेलु प्रतियोगिताले नेपाली क्रिकेटलाई माथि लगाउन ठूलो सहयोग गर्ने देखिन्छ । नेपाली राष्ट्रिय टोलीको संरचनामा रहेका खेलाडीले थोर बहुत सुविधा पाउँछन् । ईपीएलले ट्यालेन्ट हन्टबाट आएका खेलाडीलाई दुई साताका लागि २५ हजार प्रदान गरेको थियो । अक्सनमा १ लाख ७५ हजारसम्म खेलाडीको भाउ लागेको थियो । मार्की र विदेशी खेलाडीको पारिश्रमिक रकम त्योभन्दा माथि थियो ।

व्यावसायिक क्रिकेटको संरचनाले युवा खेलाडीलाई पनि राम्रो खेल्न प्रेरित गथ्र्यो । मैदानबाहिर ईपीएलको फ्रेन्चाइजले फरक वातावरण सिर्जना गरेको थियो । सबै टोलीले अनिवार्य समाजिक कार्य गर्नुपथ्र्यो । त्यसबाहेक यसले भोलिको भविष्य पनि संकेत गरेको थियो । विराटनगर वारियर्सका सहमालिक अनुज अग्रवाल आफ्नै एकेडेमी खोल्ने योजना सुनाउँछन् । उनका अनुसार वारियर्सको योजनामा विराटनगर महानगरपालिकाले बैजनाथपुर क्रिकेट मैदानलाई स्तरीय बनाउन २ करोड रुपैयाँ बजेट छुट्याउन पहल गरेको छ ।

ईपीएलको प्रमुख विशेषता विदेशी खेलाडीको उपस्थिति र प्रदर्शनमा थियो । भैरहवा ग्लाडिटियर्सका कप्तान शरद भेषावकरले विदेशी खेलाडीको उपस्थितिले विगतको तुलनमा यस प्रतियोगिताले नयाँ आयाम थपेको बताउन पछाडि पर्दैनन् । हङकङका ब्याट्सम्यानद्वय बाबर हायत र अंशुमन रथको साथ पाउँदा पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स सजिलै फाइनल पुगेको थियो । शरदलाई पनि भारतीय खेलाडीहरू पुनित विष्ट, पुनित मेहरा र प्रथम सालुन्केको साथ थियो । विष्ट बीचैमा भारत फर्किंदा भैरहवाको ब्याटिङमा केही कमजोर देखिएको थियो । विराटनगरले फाइनलमा बाजी मार्दा विष्टको अभाव भैरहवाको टोलीमा कति छ भनेर स्पष्ट देखिन्थ्यो ।

पोखरा राइनोजले पहिलो तीनमध्येको दुई खेल जित्दा टोलीलाई उपाधिको दाबेदारको रूपमा हेरिएको थियो । पाकिस्तानी खेलाडी इसार उल्लाह, ताज वाली, असिफ अलीको प्रदर्शनले पोखरालाई त्यो स्थितिमा पुर्‍याएको थियो । दुर्भाग्य त्यसपछि यी तीन खेलाडी चल्न नसक्दा पोखरा इलिमिनेटरबाटै बाहिरियो । नेपाली खेलाडीको मात्र प्रदर्शनले शक्ति गौचनको कप्तानीमा रहेको पोखरालाई धान्न सकेन । चितवन टाइगर्सको हालत पनि त्यही थियो ।

ललितपुर प्याट्रियट्स पनि विदेशी खेलाडीले नै धानेको टोली थियो । टोलीमा इन्डियन प्रिमियर लिग खेलिसकेका योगेश नागरसहित सुबोथ भाटी, जयकिसन कोल्सावालालगायतका खेलाडी थिए । नागर र भाटी सुरुको केही म्याच खेली भारत फर्किएका थिए । उनीहरूको उपस्थिति नै नेपाली खेलाडीका लागि ठूलो अनुभव बनेको थियो । नागर र भाटीको स्थान लिन आएका सन्नी पटेल, दीपेश भण्डारी पनि उस्तै थिए । काठमाडौं किंग्स ११ सँगको खेलमा तीव्र गतिका बलर भाटीको पहिलो बल सागर पुनले भेउ पाउनै सकेनन् । दोस्रो बलमा सागरले विकेटको पछाडि क्याच दिन पुगे । सागर निरन्तर नेपाली टोलीमा ब्याटिङ अलराउन्डरको रूपमा खेल्दै आएका छन् । तर घरेलु क्रिकेटमा भाटीजस्ता तीव्र गतिका बलर देखिएका थिएनन् । त्यस हिसाबमा सागर आउट हुनु स्वाभाविक नै थियो ।


केहीअघिको प्रसङ्ग हो । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले नेपाली ब्याट्सम्यानलाई तयार गर्न श्रीलंकाबाट तीव्र बलरहरूलाई ल्याएका थिए । त्यसको प्रभाव दूरगामी रूपमा देखिएको थियो । कम्तीमा २०१५ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा पाएको सफलतामा ती श्रीलंकाली बलरहरूको भूमिका के थियो भन्ने बुझ्न सकिन्छ । डिभिजन २ मा नेपालले नेदरल्यान्ड्स, नामिबिया र क्यानाडालाई पराजित गरेको थियो । तत्कालीन समयमा नेपालभन्दा यी राष्ट्रको स्तर माथि थियो । अफ्रिकाको तीव्र गतिको पिचमा नेपालले यी तीन राष्ट्रमाथि पहिलो विजय दर्ता गरेको थियो ।

संयोग के छ भने नेपाल अर्को महिना नामिबिया नै गएर डिभिजन २ खेल्दै छ । नामिबिया र क्यानाडा ५ मध्येका २ नेपालका अहिलका पनि प्रतिद्वन्द्वी हुन् । ४ वर्षअघि श्रीलंकाबाट ल्याइएका ती तीव्र बलर नेपाली टोलीका बन्द प्रशिक्षणमा रहेका झन्डै दुई दर्जन खेलाडीका लागि मात्र थिए । तर ईपीएलमा आएका भाटीसहितका खेलाडी राष्ट्रिय संरचनामा आइरहेका सबै नेपाली खेलाडीका लागि थियो । यसको प्रभाव आगामी डिभिजन २ सहित अन्यमा देखिन सक्छ ।

विदेशीमा फरवेज महारुफ सबैभन्दा हाइप्रोफाइल खेलाडी थिए । श्रीलंकाबाट टेस्ट र एकदिवसीय खेलिसकेका महारुफलाई काठमाडौं किंग्सले ल्याएको थियो । उनी आफैं चोटले सताइएका थिए । उनले औसत प्रदर्शन मात्र गर्न सके । काठमाडौं किंग्समा सागर पुन, नरेश बुढाएर, राजु रिजाल, सिद्धान्त लोहनीजस्ता नाम चलेका खेलाडी थिए । उनीहरूको प्रदर्शन फिका रहयो । यस्तोमा काठमाडौं किंग्स लिग चरणबाटै बाहिरिनु स्वाभाविक नै थियो । काठमाडौं किंग्सको नेतृत्व गरेका महारुफको भनाइ थियो घरेलु खेलाडीले नखेलेसम्म विदेशी खेलाडीले गरेर मात्र केही हुँदैन । राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका सागरले ईपीएलको कमजोर प्रदर्शनपछि उनले नेपाली टोलीबाट आफ्नो स्थान गुमाएका छन् । नरेश, राजु र सिद्धान्त नेपाल टोलीमा पुन: आफ्नो स्थान खोजिरहेका छन् । यस्तोमा उनीहरूले ईपीएलबाट पक्कै पनि माथिल्लो स्तरमा खेल्दाको गल्ती पत्ता लगाएको हुनुपर्छ ।

ईपीएलका फ्रेन्चाइज टोलीका मालिकहरूको भनाइ मान्ने हो भने भाटीभन्दा अझ गतिला खेलाडी पनि ल्याउन सकिन्थ्यो । ईपीएललाई अन्तिम समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता थिएन । ईपीएलको नियममा एक टोलीमा तीन जना विदेशी खेलाडी अनिवार्य थियो । केही टोलीको नाम कहलिएका विदेशी खेलाडीसँग जोडिएको थियो । आईसीसीको मान्यता नहुँदा उनीहरूले आफ्नो नाम फिर्ता लिएका थिए । ईपीएल सुरु हुुनु चार दिनअघि आईसीसीको मान्यता आएको थियो । यस्तोमा टोलीहरूले हतारहतार गरेर भारत र श्रीलंकाका स्थानीयस्तरका खेलाडी ल्याउन सुरु गरिसकेका थिए । त्यो नै घरेलु क्रिकेटको ठूलो प्रतियोगिता तताउन काफी भइसकेको थियो ।

आईसीसीको मान्यता लिन कतिको कसरत गर्नुपर्‍यो भन्ने आयोजक ईपीएल लिमिटेडका संस्थापक आमीर अख्तरले बाहेक अरूले यसको वर्णन गर्न नसक्लान् । उनी आफैं क्रिकेट अस्ट्रेलिया र भारतीय क्रिकेट बोर्डसम्म पुगेका थिए । आईसीसीको मान्यता नहुँदा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीले पनि खेल्ने–नखेल्ने अनिश्चित थियो । नेपाल क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेको डेढ वर्षभन्दा बढी भइसकेको छ । विश्व क्रिकेटको सर्वोच्च संस्थाले नै त्यसयता नेपालको क्रिकेट नियन्त्रणमा राखेको छ । नेपाली क्रिकेटलाई संरचनागत हिसाबमा ब्युँताउन आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाएको छ । यस्तोमा आईसीसीले सल्लाहकार समितिका सबैलाई ईपीएलको औचित्यबारे लेखेर पठाउन अनुरोध गरेको थियो । सल्लाहकार समितिका सदस्यले पठाएको त्यही पत्र ईपीएललाई मान्यता दिने एउटा प्रमुख आधार बनेको थियो ।

नेपाली क्रिकेटको अहिलेको विषम परिस्थिति भन्दै आईसीसीले यसपटकलाई मान्यता दिंदा २० हजार डलर ईपीएलबाट लिएको थियो, जुन रकम आईसीसीले नेपालको क्रिकेट विकासमा खर्च गर्ने जनाएको छ । आईसीसीको मापदण्डअनुरूप स्वीकृति पाएपछि ईपीएलले प्रतियोगिताका लागि भ्रष्टाचार नियन्त्रण निकाय बनाएको थियो । नेपाली क्रिकेटमा यो पहिलोपटक राखिएको थियो, जसको अर्थ क्रिकेटलाई खेल मिलोमतोबाट टाढा राख्नु थियो । नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधि राखी भ्रष्टाचार नियन्त्रण आयोग बनाइएको थियो ।

सल्लाहकार समितिमै फरकमत छ, जसको कारण नेपाली क्रिकेटको विवादले अझै निकास पाउन सकेको छैन् । ईपीएलले सल्लाहकार समितिका प्रमुख फरक मत रहेकाहरूलाई कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा उभ्याउन सफल भएको थियो । नेपाली क्रिकेटलाई एउटा दिशा दिइरहेको ईपीएल सकारात्मक कदमका लागि विवाद टुंगो लगाउने एउटा राम्रो प्लेटफर्म हुन सक्थ्यो । सल्लाहकर समितिले त्यो प्लेटफर्मको सदुपयोग गर्न सकेन । यसले नेपाली क्रिकेटको विवाद कुन सतहमा छ स्पष्ट हुन्छ । नेपाली क्रिकेटको विवादलाई किनारा लगाउन मात्र होइन ईपीएलजस्तो प्रतियोगितालाई एसोसिएटकै उत्कृष्ट बनाउन पनि नेपाली क्रिकेटका पदाधिकारी एक हुन जरुरी छ ।

ट्वान्टी–२० क्रिकेट भनेको ‘कलरफुल’ हो । ईपीएलमा त्यो रंगीचंगी सबै थियो । नेपालले २०१३ मा घरेलु मैदानमा पछिल्लोपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यसयता घरेलु क्रिकेट नै संकटमा परेको अवस्थामा ईपीएललगायतका प्रतियोगिता अगाडि आएका छन् । पारसको भनाइ मान्ने हो भने ईपीएल खेल्दा खेलाडीहरूलाई नेपालबाट एसीसीको प्रतियोगिता नै खेलेको जस्तो अनुभव भएको थियो ।

twitter: @dearbinod

प्रकाशित : पुस २२, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?