हात्तीपोलो ‘क्रेज’    

केमिका भण्डारी अमेरिका गएको १६ वर्ष भयो तर हात्तीपोलो खेल्न बर्सेनि नेपाल आउँछिन् 
विमल खतिवडा

काठमाडौँ — हात्तीपोलो हात्तीमाथि बसेर खेल्ने खेल हो । भीमकाय हात्तीमाथि बसेर लामो लठ्ठीले बललाई तँछाडमाड गर्दै हानेर गोल गर्नु पक्कै सामान्य कुरा होइन । त्यसो त यो खेलमा नेपालीको तुलनामा विदेशी बढी ‘क्रेजी’ हुन्छन् ।

हात्तीपोलो ‘क्रेज’    

पहिला/पहिला अन्तर्राष्ट्रिय हात्तीपोलोको रूपमा यो खेल आयोजना गरिन्थ्यो । खेलको सुरुआत टाइगर टप्सले सन् १९८२ मा चितवनको मेघौलीबाट गरेको थियो । हात्तीपोलो खेल्नकै लागि विभिन्न देशबाट खेलाडीहरू आउँथे । टाइगर टप्सको आयोजनामा यो खेल २०१६ सम्म जारी रह्यो । पहिले खेल सरेर बर्दिया पुग्यो । पछि नवलपरासीमा लगातार २ वर्ष भयो । त्यसपछि बन्द हुन पुग्यो । तर चितवनको सौराहामा भने २ वर्षदेखि यो खेलले निरन्तरता पाइरहेको छ । हात्ती महोत्सवको अवसर पारेर यो खेलाइन्छ ।

यो खेल खेल्न बलिया र साहसी खेलाडी चाहिन्छ । हतपत कसैले पनि हात्तीपोलो खेल्ने चाहना राख्दैनन् । खेलमा प्राय: पुरुषकै दबदबा हुने गर्छ । यो खेल खेल्ने महिला भने विरलै भेटिन्छन् । तिनै विरलैमध्येकी एक हुन्, ५२ वर्षीया केमिका भण्डारी । उनी अमेरिका गएको १६ वर्ष भयो । तर हात्तीपोलो खेल्नकै लागि बर्सेनि नेपाल आउँछिन् । अमेरिकाको बाल्टिमोरमा परिवारसहित बस्दै आएकी उनलाई मन पर्ने खेलमध्येको एक हो हात्तीपोलो । ‘मलाई खेलमा एकदम रुचि छ, उमेरअनुसार अहिले पनि खेलिरहेको छु,’ उनी भन्छिन्, ‘कुनै पनि नेपाली महिला यो उमेरमा यसरी खेलेका छैनन् होला ।’ उनले गत वर्ष सौराहामा आयोजित हात्तीपोलोमा भाग लिइन् । ब्लू प्लानेट जर्मनीको नामबाट खेलेकी उनी उपाधि विजेता बनिन् ।

टिममा उनी क्याप्टेनको जिम्मेवारी लिएर मैदान पस्छिन् । ‘पोलोमा टुरिस्ट आकर्षण छ, यो थोरै देशमा खेलिनेमध्ये नेपाल पर्छ,’ उनी भन्छिन्, ‘खेल्नलाई गाह्रो पनि होइन, सजिलै लाग्छ ।’ योभन्दा अघि सन् २०१३ मा वल्र्ड इलाफेन्ट पोलो एसोसिएसनले आयोजना गरेको ३२ औं हात्तीपोलो बर्दियाको टाइगर टप्समा भएको थियो । विश्वका ८ वटा टिमले भाग लिएका थिए । उनले नेतृत्व गरेको सिलन एलिफेन्ट पोलो एसोसिएसन दोस्रो भयो, जुन श्रीलंकाको नाममा बनेको टिम थियो । ‘पहिलोपटक खेलेको थिएँ, मभन्दा च्याम्पियन टिम थिए, मेरो टिममा खेल्ने खेलाडी राम्रा थिए,’ उनी भन्छिन्, ‘जसले गर्दा मेरो टिम सेकेन्ड भयो, ईएफजी स्विजरल्यान्ड बैंक फस्ट भयो ।’

उनी आफू आँटिली भएको ठान्छिन् । ‘मलाई जे कुरा गर्न पनि आँट आउँछ,’ उनी भन्छिन्, ‘महिलाले हात्तीपोलो कमै खेलेको जस्तो लाग्छ ।’ उनका अनुसार सुरुमा अलिअलि कठिन हुन्छ । सिक्नलाई टाइम लाग्छ । सिकिसकेपछि सजिलो लाग्छ । ‘जति सजिलो भए पनि म पुरुषसँग बसेर खेलेको छु, इनर्जी नपुगे नि मन र इच्छाले खेलिरहेको हुन्छु,’ उनी भन्छिन्, ‘सुरुमा यो खेल बुझिँदैन, गाह्रै हुन्छ, ठूलो जनावर देख्दा मान्छे यत्तिकै डराउँछन्, मलाई मेरो रुचिले साहस ल्यायो ।’

हात्ती चढ्न डराउन नपर्ने उनी बताउँछिन् । ‘इच्छा भए उपाय आउँछ,’ उनी भन्छिन्, ‘हात्ती चढ्दैमा त लडिँदैन, त्यहाँ बस्ने सिट हुन्छ, बाँध्ने कुरा हुन्छ, सबै सेफ्टी नै हुन्छ, डराउनुपर्ने देख्दिनँ ।’

सन् २०१३ मा टाइगर टप्समा हात्तीपोलो खेलेपछि उनलाई सौराहामा पनि यस्तो प्रतियोगिता भइदिए हुन्थ्यो भन्ने भएको थियो । ‘सौराहामा धेरै हात्ती छन्, यस्तो खेल किन नगरेको होला भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘एक जना साथीमार्फत सौराहा आएर कुरा राखें, उहाँहरू आफैं पनि सोच बनाएर बस्नुभएको रहेछ, नभन्दै मेरो कुरालाई सकारात्मक रूपमा लिनुभयो ।’ अहिले सौराहामा हात्तीपोलो सुरु भएकाले उनी दंग छिन् ।

उनले ज्यानले सक्दासम्म पोलो खेल्न बर्सेनि नेपाल आइरहने अठोट गरेकी छन । ‘नेपाली महिलाले खेलेका छन्/छैनन् वास्तवमा थाहा छैन,’ उनी भन्छिन्, ‘साहस गरे यो खेल सबैले खेल्न सक्छन् ।’ योपटक पुस ८ गते आइपुगिन् । ११ गतेदेखि १५ गतेसम्म सौराहा नै बसिन् । उनी क्याप्टेन रहेको नेपाल स्पोट्र्स कल्चर इन्टरनेसनल तेस्रो भयो । फेब्रुअरी अन्तिममा हात्तीपोलो गर्न सकिए धेरै विदेशी दर्शक आउने उनको ठम्याइ छ । चितवन पार्वतीपुरमा उनको घर पर्छ । जहाँ आफन्तको बसोबास छ । ‘अमेरिकाको कागजपत्र भइसक्यो, परिवारमा २ छोरा र छोरी छन्,’ उनी भन्छिन्, ‘श्रीमान्सँग भिन्न भएको करिब ९ वर्ष भयो ।’

उनको सोच यो वर्ष हर्सपोलो खेल्ने थियो । त्यहीअनुसार बाल्टिमोरमा प्राक्टिससमेत गरिन् । ‘कहिलेकाहीं गल्फ खेल्छु, पोलो र गल्फमा बढी रुचि छ,’ उनी भन्छिन्, ‘तर पोलो खेल्न हात्ती, लामो लठ्ठी, बल, ड्रेस चाहिन्छ ।’ बुट, पाइन्ट, टिसर्ट, ग्लोब र हातमा ब्यान्डेज लगाएर पोलो खेलिन्छ । ब्यान्डेज हातको सुरक्षाका लागि हो ।

उनी अन्तर्राष्ट्रिय हात्तीपोलो खेल बन्द भएको सुन्दा निराश छिन् । ‘बन्द गर्नुपर्ने सायद कारण त थिएन, कतिपय विदेशी पोलो खेल्नकै लागि नेपाल आउँथे । खेलिने भूमि र खेलाइने हात्ती त नेपालकै थियो,’ उनी भन्छिन्, ‘खेल नेपालको नयाँ चिनारी थियो, नेपाल गयो भने एलिफेन्ट पोलो खेल्न पाइन्छ भन्ने थियो, यो खेल्न वर्षको १२ वटासम्म विदेशी टिम आउँथे । खेल्न आउने एउटा टिमले १२ हजार डलरसम्म रोयल्टी तिर्ने गथ्र्यो ।’ उक्त खेलकै कारण पर्यटक बढ्थे । हेरेर जानेले आफ्नो देशमा सन्देश लान्थे । नेपाल आउन प्रेरित गर्थे । अब सौराहाले यसलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ । ‘ सुरुमा समस्या हो,’ उनी भन्छिन्, ‘एकदुई वर्षभित्र सायद सौराहाको हात्तीपोलोले पनि माइलेज लिनेछ, त्यसपछि आफैं ब्रान्ड बन्नेछ ।’

प्रकाशित : पुस २२, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?