रानीपोखरीको पानीचक्र 

सम्पदा
दामोदर न्यौपाने

काठमाडौँ — यो महिना रानीपोखरी चर्चाको विषय बन्यो । कारण थियो यसको पुनिर्माणमा महानगरको खेलाँची । तीन सय पचास वर्ष पुरानो यो सम्पदालाई महानगरले सम्पदाको मूल्यविपरीत आधुनिक निर्माण सामग्री प्रयोग गरेर निर्माण सुरु गर्‍यो ।

रानीपोखरीको पानीचक्र 

त्यति मात्रै होइन, यसलाई साँघुरो बनाउने गरी पोखरीको छेउबाट कंक्रिट पर्खाल लगायो । रानीपोखरीलाई पानीपोखरीमा परिणत गर्ने गरी डिजाइन गर्‍यो महानगरले । सम्पदाप्रेमीले यसको विरोध गरे । सञ्चार माध्यमले निरन्तर खबरदारी गरे । यसको आधुनिक तरिकाले ‘ब्युटिफिकेसन’ गरेरै छाड्छु भनेर लागेका थिए मेयर विद्यासुन्दर शाक्य । तीव्र दबाबपछि मेयर पछि हटे । अब पुरानै शैलीमा बनाउँछु भनेर निर्माण रोकिदिएका छन् । कसरी बनाउने भनेर सुझाव दिन विज्ञ टोलीसमेत बनेको छ । यसलाई प्राचीन शैलीमा निर्माण गर्न के–के प्रमाण छ, भए दिनुस् भनेर मेयर शाक्यले सामाजिक सञ्जालमार्फत आग्रहसमेत गरिसकेका छन् ।

रानीपोखरी मास्न लाग्दा किन यति धेरै विरोध जनाए ? किनभने यो पोखरी मात्रै होइन, यहाँ थुप्रै संस्कृति जोडिएका छन् । पानी पानी मात्रै होइन, हाम्रो जीवनशैली हो । पोखरी पानी थुनेर राखिएको संरचना मात्रै होइन । यसको निर्माण किन भयो ? कारण छ । त्यसको गहिराइमा पुग्न नसक्दा महानगरका मेयरले समस्या झेल्नुपर्‍यो । रानीपोखरी त झन् शोकको प्रतीक पनि हो । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युको शोकमा डुबेकी रानीलाई भुलाउन बनाएका हुन् यो पोखरी ।

अनेक दृष्टिकोणले महत्त्व छ यो पोखरीको । रानीपोखरी मासिँदा धेरैले सम्पदा नासिन्छ भन्ने आवाज उठाए । ‘रानीपोखरीमा सम्पदा मात्रै मासिँदैन,’ पानीविज्ञ प्रयागराज जोशी भन्छन्, ‘रानीपोखरीलाई तलमाथि गर्दा यहाँका सांस्कृतिक मूल्य–मान्यता मासिन्छन् । यहाँको पर्यावरणीय चक्रमै असर गर्छ ।’

जोशीका अनुसार रानीपोखरीको अनेक काम थिए । पहिलो बर्खाको पानी जमाउने र जलभण्डार रिचार्ज गर्ने । दोस्रो इकोसिस्टम जोगाउने । तेस्रो आगलागी रोक्ने । चौथो पोखरीको पानी ढुंगेधारासम्म लैजाने ।

पोखरीको पानीको मुख्य स्रोत राजकुलो र बर्खाको पानी नै थिए ।

पहिले विष्णुमती नदीबाट राजकुलोमार्फत लैनचौरस्थित पोखरीमा पानी झारिन्थ्यो । त्यो पोखरी समयक्रममा नासियो । त्यहाँ स्काउटको भवन छ अहिले । राजकुलो लिच्छवीकालमै बनेका हुन् । उपत्यकाका ढुंगेधारामा राजकुलो र माटोको पाइपबाट पानी ल्याइएका थिए । लिच्छवीकालमा बनेका राजकुलोबाट ल्याइएका पानीको वितरण प्रणालीलाई मल्लकालमा अझ व्यापक बनाइयो ।

अर्काे प्रणाली हो बर्खामा जमिनमुनि बगेको पानीबाट पोखरी रिचार्ज गर्ने । यसका लागि प्राचीन प्रविधि प्रयोग गरिएको शर्मा बताउँछन् । पोखरी निर्माण गर्ने आफ्नो प्रविधि छ ।

पोखरीमा सबैभन्दा माथि कालोमाटोको सतह बनाइन्छ । त्यहाँमुनि बालुवा हुन्छ । पोखरीमा पानी आउने र पानी जाने फरकफरक इनार हुन्छन् । पुरातत्त्वविद् सुदर्शनराज तिवारीका अनुसार पोखरीमा विभिन्न सातवटा इनार छन् । पानी आउने इनार पनि छन् । पोखरी सफा गर्ने इनार पनि छन् । पोखरीबाट पानी वितरण गर्ने पनि इनार छन् । तीनधारा संस्कृत छात्रावास, सुन्धारा र भोटाहिटीमा यहाँबाट पानी जाने गथ्र्यो ।

इनारबाट कसरीमाथि आउँछ पानी ?

उपत्यकाको पानी वितरणको प्राचीन प्रविधि अध्ययन गरेका जोशीका अनुसार पोखरीको सतहभन्दा तल बग्ने पानीलाई कालोमाटोले थुनिन्छ । माटोले थुनेको छेउमा इनार खनिन्छ । कालोमाटोले थुनेपछि पानी माथितिर जान्छ । अनि पोखरी भरिन्छ । कालोमाटो थलथले हुन्छ । थलथले माटो पानी परेपछि ढाडिन्छ । ढाडिएपछि पानी कतै जाँदैन । रोक्छ । ‘पानी भएन भने पटपटी फुट्छ,’ पुल्चोक इन्जिनियरिङ कलेजमा हिस्ट्रिकल आर्किटेक्टका प्रोफेसरसमेत रहेका तिवारी भन्छन्, ‘पानी हाल्यो भने फुल्छ । यही बुझेर ढुंगेधारा, पोखरी, इनार बनाउँदा कालोमाटो प्रयोग गरिएको हो ।’

पुरातत्त्वविद् तिवारीका अनुसार रानीपाखरीको डिलमा कालोमाटो राखिएको छ । त्यो पानी अड्याउनका लागि हो । ‘पोखरीको वालको एकातिर माटो, अर्काेतिर पानी हुन्छ,’ तिवारी भन्छन्, ‘यो कुरा नबुझेर वा बुझ्न नचाहेर रानीपोखरीमा आधुनिक प्रविधि प्रयोग गरियो । आधुनिक निर्माण सामग्री राखियो । अब संरक्षणको नियमअनुसार जानुपर्छ । संरक्षणको नियम भनेको प्राचीन प्रविधि भए प्राचीन प्रविधि प्रयोग गर्नुपर्छ । प्राचीन निर्माण सामग्री प्रयोग भएको छ भने प्राचीन निर्माण सामग्री प्रयोग गर्नुपर्छ । र, प्राचीन आकारकोलाई प्राचीन आकारमै बनाउनुपर्छ ।’

तिवारीका अनुसार पोखरी प्राचीन वास्तुशास्त्रअनुसार निर्माण गरिएको छ । पोखरीमा पानी आउने इशान (उत्तरपूर्व) र पानी बाहिर जाने आग्नेय (दक्षिण पूर्व) दिशामा इनार हुनुपर्ने उनको अनुमान छ । पानीविज्ञ जोशी पनि धेरै पछिसम्म दक्षिण दिशामा इनार देखिएको बताउँछन् । ‘अहिले महानगरीय प्रहरी महाशाखा भवन भएको ठाउँमा रानीपोखरीको इनार थियो,’ उनी भन्छन्, ‘त्यहाँ तातो पानी आएको देखिन्थ्यो ।’ पानी वितरण गर्ने प्राचीन प्रविधिमा इनारबाट इनारमै लैजाने व्यवस्था मिलाइएको हुन्छ ।

रानीपोखरीको कनेक्सन टुँडिखेलसँग थियो । टुँडिखेलमा जलभण्डार थियो । आउटलेटका लागि मिलाइएको पानी इनारको पिँधमा राखिएको बालुवाबाट जलभण्डारतिर पठाइएको हुन्थ्यो । ‘इनारमा पानी भरिन्छ,’ जोशी भन्छन्, ‘अनि तल बालुवाबाट रसाएर पानी जलभण्डारमा जान्छ ।’

टुँडिखेलभित्र पानी बगिरहने जलभण्डार रहेको जोशी बताउँछन् । तर यो भण्डार सुक्दै गएको छ । ‘टँुडिखेलमा दुई मिटर खन्नासाथ पानी आउँछ,’ जोशी भन्छन्, ‘यहाँ आउने पानीको मुख्य स्रोत रानीपोखरी नै हो ।’

टुँडिखेल, भद्रकालीलगायतको क्षेत्र सिमसार हो । बस्ती बसेपछि यो सिमसार पनि मासिएको छ । टुँडिखेलको जलभण्डार पनि ढल राखेपछि मासिँदै गयो । ‘२०३४ सालतिर यहीँबाट त्रिपुरेश्वरसम्म ढल बिछ्याइयो,’ जोशी भन्छन्, ‘ढल छ्यिाउँदा जलसतह खनियो । सतहभन्दा तलबाट ढल राखियो । ढल राखेको ठाउँबाट पानी रसाउँदै गयो । जलभण्डार घट्यो,’ उनी भन्छन्, ‘जल भण्डार घट्दै गएपछि सुन्धारालगायतका स्थानका पनि सुक्दै गए ।’ बिस्तारै सुक्दै गएको सुन्धारा कर्मचारी सञ्चय कोष भवन बनाउँदा जग गहिरो बनाइयो । सुन्धारामा जाने पानीको बाटो बन्द भयो । सुन्धारा पूरै सुक्यो ।

रानीपोखरीको पानी आपूर्ति कम हुँदै गयो । ‘राजकुलोबाट रेगुलर पानी आउँथ्यो,’ जोशी भन्छन्, ‘अब त्यो सिस्टम छैन । राजकुलो मासियो । लैनचौर पनि सुक्यो । वर्षाको पानीमा मात्रै भर परेको थियो रानी पोखरी । सतह निकै घटेको थियो । त्रिचन्द्र क्याम्पसको छतको पानी यहाँ पठाउने व्यवस्था गरिएको थियो ।’


अब पानीको स्रोत के हुने ?

यसका लागि ललितपुर पिम्बाल पोखरीको सिस्टम हेर्नुपर्छ । यसमा ‘रेन वाटर हार्भेस्टिङ’ गरिएको छ । फिल्टर च्याम्बर राखेर पोखरीमा पानी खसालिएको छ । ११ वटा आउटलेट बनाइएको छ । त्यहाँबाट पानीसमेत वितवरण हुन्छ ।

रानीपोखरीको मुख्य आकषर्ण पानी नै हो । यहाँ पानी कसरी भर्ने ? रानीपोखरीमा पानीको दिगो स्रोतका लागि पिम्बाल पोखरीबाट सिक्न सकिन्छ । जोशी भन्छन्, ‘जमलमा बर्खामा आउने ठूलो भल रानीपोखरीमा पठाउन सकिन्छ । यसका लागि धेरै खर्च पनि लाग्दैन । १०/२० लाख खर्चमा यो काम हुन्छ । पिम्बालबाट केही सिक्नुपर्छ ।’

दिगो स्रोत त छँदै छ, त्योभन्दा पहिला गर्नैपर्ने केही धार्मिक र सांंस्कृतिक विधि छन् । ती विधि असम्भव छैनन् तर अप्ठयारा छन् । विभिन्न ५१ तीर्थस्थलका पानी ल्याएर यो पोखरी बनाइएको हो । बनारसको वैद्यनाथ, गण्डकी, नीलकण्ठ, कौशिकी, विष्णुमती, वाग्मती, बागेश्वरी, सकुनतीर्थ, मुस्ताङको मुक्तिनाथ, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको त्रिशूलीलगायत तीर्थस्थलबाट जल ल्याएर रानीपोखरी निर्माण गरिएको थियो । ‘अब निर्माण गर्दा पनि यी तीर्थस्थलको जल ल्याउनुपर्छ,’ संस्कृतिविद् यज्ञमानपति बज्राचार्य भन्छन्, ‘जस्ताको तस्तै बनेको अनुभूति जनतालाई दिनुपर्छ । यो असम्भव छैन । गाह्रो होला त्यो बेग्लै कुरा ।’

पोखरीको निर्माण तान्त्रिक विधिबाट गरिएको हो । प्रताप मल्ल आफैंमा धार्मिक स्वभावका थिए । उनले हिन्दु र बौद्ध धर्मका तान्त्रिकलाई विशेष सम्मान गर्थे । उनले दरबारमा शैव, हिन्दु, बौद्ध धर्मका तान्त्रिकलाई सम्मानका साथ राखेका थिए । भारतबाट झिकाइएका तान्त्रिकसमेत थिए उनका दरबारमा । शैव तान्त्रिक गुरु ज्ञानानन्द, बौद्ध तान्त्रिक जामुना गुभाजु उनका दरबारमा सम्मानका साथ राखिएका थिए । जामुना गुभाजुले तान्त्रिक चमत्कार गर्ने गरेका लोकोक्ति नेवारी समुदायमा अझै पाइने इतिहासकार बताउँछन् ।

प्रताप मल्लले आफ्नो तान्त्रिक विश्वासअनुसार रानीपाखरीमा संरचना बनाएका छन् । बज्राचार्यका अनुसार त्यति बेला भूतप्रेतमा विश्वास गरिन्थ्यो । प्रतापको छोरालाई भूतले मारेको विश्वास गरियो । छोरा खाने भूतलाई हात्तीले कुल्चेर मारेको विश्वासमा रानीपोखरी छेउमा हात्तीले भूतलाई कुल्चेको प्रतिमा राखिएको छ । पोखरीको पानी पनि तान्त्रिक मन्त्र जपेर देश र विदेशका विभिन्न धार्मिकस्थलबाट ल्याएर भरिएको थियो ।

यहाँ पानी र अध्यात्मको सम्बन्ध पनि रहेको अर्ध संस्कृतिका अनुसन्धानकर्ता सञ्जय अधिकारी बताउँछन् । धार्मिक मान्यताअनुसार पाखरीको बीचमा बालगोपालेश्वर स्थापना गरिएको छ । त्यहाँ हरिहर पनि स्थापना गरिएको छ । अधिकारीका अनुसार हरिहर भनेको महालक्ष्मी र महेश्वरीको मिसिएपछिको रूप हो । एकातिर विष्णुको जस्तो चक्र लिएको अर्काेतिर शिवको जस्तो त्रिशूल लिएको मूर्ति छ मन्दिरमा । ‘यी देवीलाई जीवित बनाइराख्न वरिपरिको पानीले शक्ति दिएको हो,’ अधिकारी भन्छन्, ‘पानीले शक्तिलाई एक ठाउँ बनाउँछ । इनर्जीलाई बाहिर जान दिंदैन भन्ने विश्वासले बनाइएको हो यो ।’

पानीको सम्बन्ध जीवनसँग छ । मान्छेको शरीर नै ६५ प्रतिशत पानी हो । मानव सभ्यताको विकासै नदी किनारमा भएको हो । सिन्धुघाँटीको सभ्यता, मिश्रको सभ्यता, हाम्रै वाग्मती सभ्यता यसैको उदाहरण हो । ‘मान्छेको जीवन पानी र प्रकाशले चलेको छ । आफूलाई जीवन धान्न आवश्यक वस्तुको मान्छेले पूजै गर्न थाल्यो । देउतै मान्न थाल्यो । सूर्यलाई देवता मान्नु त्यसैको उदाहरण हो । पानीलाई पनि देवता मान्न थाल्यो मान्छेले । बरुण देवता र पर्जन्य देवताको रूपमा पूजा गर्न थाल्यो । वेदमा पनि पानीको देवताको उल्लेख गरिएको छ । हरेक सभ्यतामा पानीको देवता परिकल्पना गरिएको छ । पानी सृष्टिको आधार हो । त्यही भएर यसलाई दैवीशक्तिको परिकल्पना गरियो,’ संस्कृतिकर्मी गोविन्द न्यौपाने भन्छन्, ‘जहाँ पानी छ, त्यही मान्छे बस्न थाल्यो । जहाँ पानीको मुहान छैन, त्यहाँ पाखेरी बनाउन थाल्यो । पोखरी मान्छेको लागि मात्रै हैन, जलचरका लागि पनि बनाइयो । पशुपन्छीका लागि बनाइयो । सहरको बीचमै पोखरी बनाउन थालियो । त्यही पोखरी संस्कृतिको नमुना पनि हो रानीपोखरी ।’

उपत्यकाका पोखरीसँग नेवारी जातिका विभिन्न संस्कृति पनि जोडिएको जोशी बताउँछन् । ‘पोखरी पवित्र धार्मिकस्थल हो । कोही बिते पिण्ड यही सेलाइन्छ नेवारी समुदायमा,’ जोशी भन्छन्, ‘पुल्चोकको पोखरी मासियो । त्यहाँ ललितपुर महानगरपालिकाको भवन छ । तर त्यही छेउमा पोखरी सम्झेर पिण्ड दिइन्छ अझै । कुमारी पाटीमा पनि पोखरी सुकेर सानो भयो । तर त्यहाँ पिण्डदान दिन आउने थुप्रै भेटिन्छन् ।’

पोखरीमा संस्कृति देखिन्छन् । नदेखिने तर महत्त्वपूर्ण कामचाहिं पर्यावरणीय चक्र सन्तुलनमा राख्नु हो । जोशीका अनुसार प्राकृतिक तरिकाबाट बनेका पोखरीमा पानी चुहिएर खेर जाँदैन । ‘खेर जाने भनेको वाष्पीकरण भएर मात्रै हो,’ जोशी भन्छन्, ‘वाष्पीकरण भएर त्यसले वातावरण राम्रो बनाउँछ । वरिपरि स्वच्छ हुन्छ । धूवाँ, धूलोबाट हुने प्रदूषण न्यूनीकरण गर्छ । पोखरीको आकार जति ठूलो भयो, उति नै पर्यावरणीय चक्र राम्रो हुन्छ । रानीपोखरी साइज घटाउँदा यहाँबाट जलभण्डारमा जाने पानीको मात्रा घट्छ । त्यति मात्रै होइन धेरै पानीले धेरै वातावरण सफा राख्छ । थोरै पानीले थोरै वातावरण सफा राख्छ । त्यही भएर यसको साइज घटाउनु हुँदैन भन्नुपरेको हो ।’ उनी थप्छन्, ‘रानीपोखरी आफैंमा सुन्दर छ । यसलाई सौन्दर्यकरण गरिराख्नु पर्दैन । छेउमा फूल रोपे भयो । बिरुवा रोपे भयो । बाहिरको फोहोर नहाले भयो । धूलोबाट जोगाए भयो । यसको सौन्दर्य भनेकै पानी हो । पानी जोगाऔं । पानी संस्कृति जोगाऔं । पानीको चक्र जोगाऔं । रानीपोखरी त्यतिकै सुन्दर हुन्छ ।’

यति धेरै महत्त्व छ रानीपोखरीको । यति महत्त्वपूर्ण सम्पदा नास्ने प्रपञ्च रचेपछि जनता चुप लाग्छन् त ?

tweeter : @damodarneuapan

प्रकाशित : पुस २२, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?