२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

धूवाँ जिन्दगी 

स्वास्थ्य
मधु शाही

काठमाडौँ — चिसो टिनको छाप्रो । ओसिएका दाउरा । माटोले पोतिएको चुल्होमा आयुष्मा श्रेष्ठ चिसा दाउरा तताउने कोसिस गर्छिन् । ‘जाडोमा दाउरामा पकाउनै गाह्रो,’ चुल्होमा दाउराका ठुटा ठट्याक ठुटुक् पार्दै ४४ वर्षीया आयुष्मा थप्छिन्, ‘नपकाउँm खान पाइँदैन ।’ 

धूवाँ जिन्दगी 

आधुनिक चुल्हो नभएको उनको भान्छा नभएको होइन । तर, भएर पनि नभएजस्तै छ उनका लागि । आगोमा पकाउँदा परिकारको स्वाद मिठो हुने भन्दै परिवारले आगोमै पकाउन जोड दिन्छ । संयुक्त परिवारमा बसेकी आयुष्मालाई दुई छोरा, सासूससुरा र श्रीमान्लाई समेत परम्परागत चुल्होमा पकाएर खुवाउनुपर्ने बाध्यता छ । परिवारमा धेरैको ध्यान ग्यास जोगाएर राख्नुपर्छ भन्नेतिर छ । खर्चबाट बच्नका लागि ग्यास कहिलेकाहीं धेरै पाहुना आउँदा मात्रै प्रयोग हुन्छ । आयुष्माको दिन भने भने त्यही चिसो दाउरा बाल्दैमा बित्छ । तर मुख्य समस्या के भने परम्परागत चुलोमा पकाउँदा निस्किएको धूवाँले भान्छाकोठा मात्र होइन, उनको स्वास्थ्यमा पनि प्रभाव पारिरहेको हुन्छ, जुन उनलाई पत्तो नै छैन ।

घरमा खाना पकाउने जिम्मा महिलाको हुन्छ । सहरिया समाजसमेत यस्तो संस्कृतिबाट अछुतो छैन । भान्छामा अहिले पनि महिलाले पूर्ण अधिकार प्राप्त गर्न नसकेको लैंगिक र ऊर्जाविज्ञ इन्दिरा श्रेष्ठ बताउँछिन् । उनका अनुसार अझै पनि ७७ प्रतिशत घरधुरीमा दाउरा बालेर खाना पकाउने गर्छन् । धूवाँका कारण महिलाको छाती, श्वासप्रश्वासमा समस्या, आँखा रातो हुने, टाउको दुख्ने, मुटुसम्बन्धी रोग र दाउरा खोज्न जाँदा भोग्नुपर्ने कठिनाइका कारण पाठेघर खस्नेसम्मका समस्या देखिएको इन्दिराले बताइन् ।

भक्तपुरकी आयुष्माले जस्तै दाउरामा खाना पकाउने नियति भोग्दै आएकी छन्, ललितपुरकी संगीता तण्डुकार पनि । पेसाले उनी शिक्षिका हुन् । नजिकैको सामुदायिक विद्यालयमा प्राथमिक तहमा पढाउने गर्छिन् । उनी आफैं पनि शिक्षिका भएकाले धूवाँ र धूलोले स्वास्थ्यमा कति धेरै असर गर्छ भन्ने जानकारी छ । घरमा भने उनी दाउरामै पकाउन बाध्य छिन् । परम्परागत सोचमा बाँधिएकी उनको परिवारले ग्यासमा सकेसम्म नपकाउने सल्लाह दिन्छन् । ग्यास किनेर ल्याएकी संगीताले चिया र नास्ता बनाउन मात्रै ग्यास बाल्ने गर्छिन् । ‘धेरैजसो त दाउरामै पकाउँछौँ,’ उनी थप्छिन् । ३५ वर्षीया संगीता एक्लैले ७ जनाको परिवार सदस्यलाई खाना पकाएर खुवाउँछिन् । उनी बिहान १० बजेसम्म नजिकैको स्कुल पढाउन जानुपर्छ । साथै उनीसँग परिवारको जिम्मेवारी पनि छ । बिहान पकाउनका लागि उनी बेलुका नै दाउराको जोहो गर्छिन्, काठ कारखानामा पाइने काठका टुक्राहरू । हुन त उनी आम्दानी गर्ने महिला हुन् । ग्यास सजिलै घरमा उपलब्ध गराउन सक्छिन् । तर दाउरामै पकाउँदा मिठो हुन्छ भन्ने परिवारको परम्परागत सोचले गर्दा संगीता चाहेर पनि ग्यासको उपयोग गर्न नपाएको बताउँछिन् । झन्डै तीन घण्टा लगाएर दाउरा जोर्नुपर्ने उनको बाध्यता छ । यति समय ट्युसन पढाउन खर्चिन पाए संगीताले थप आम्दानी गर्न सहज हुन्थ्यो । एक घण्टामा भान्छा सकाउनुपर्ने काम उनले दाउरामा पकाउँदा तीन घण्टा अनावश्यक समय खर्च गर्नुपरेको हुन्छ ।

ललितपुरकै ४० वर्षीया कोकिला महर्जनको घरमा ग्यास चुल्हो त छ तर उनी त्यसमा पकाउन आँट गर्न सक्दिनन् । ‘आफ्नो आम्दानी छैन, घरमा सकेसम्म दाउरामै पकाए हुन्थ्यो भन्नेमा जोड दिन्छन्,’ कोकिला थप्छिन्, ‘एउटा ग्यास झण्डै पाँच महिना पुगेकै हुनुपर्छ ।’

घरमा खासगरी चुल्हो सम्हाल्नुपर्ने जिम्मेवारी अझै पनि हाम्रो समाजमा महिलाकै हो भन्ने संकोचित मान्यता छ । जसको मर्कामा महिलाहरू परेका छन् । दैनिक चुल्हो सल्काउन समय खर्चने कोकिला, संगीता र आयुष्माजस्ता थुप्रै महिला छन् । चुल्होकै कारण उनीहरूको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुगेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार ऊर्जाको ७७ प्रतिशत हिस्सा परम्परागत जैविक ऊर्जाले ओगटेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले नेपालमा ५४ लाख घरपरिवारमध्ये, अझै पनि ४० लाख घरपरिवार दाउराबाटै खाना पकाउने गर्छन् । एलपी ग्यास प्रयोग गर्ने परिवारको संख्या २१ प्रतिशत मात्र छ ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनको २०१२ मा प्रकाशित प्रतिवेदनले गरिब तथा अल्पविकसित राष्ट्रमा मुत्युको विभिन्न कारणमध्ये चौथो पंक्तिमा घरभित्रको वायु प्रदूषणले हुने गरेको उल्लेख छ । जनसख्या तथा वातावरण मन्त्रालयले वार्षिक ७ हजार ५ सय व्यक्ति घरभित्रको वायु प्रदूषणले गर्दा लाग्ने विभिन्न रोगबाट हुने गरेको बताएको छ । त्यसमध्ये, अधिकांश महिला र बालबालिकाको संख्या बढी देखिएको छ । त्यसो त परम्परागत इन्धन प्रयोग मानव स्वास्थ्यमा हानिकारक भएकै कारण यसलाई व्यवस्थित गर्न सरकारले कदम चालेको छ । महिला र बालबालिकाको स्वास्थ्यमा यसको प्रत्यक्ष असर पर्ने र महिलाको समय अनावश्यक खर्च हुने हँुदा परम्परागत खाना पकाउने तरिका सुधार गर्न जरुरी छ । नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सुधारिएको चुल्हो, बायोग्यास, सौर्य कुकर ड्रायरजस्ता खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिहरूको प्रवद्र्धन र विस्तारमा जोड दिंदै आएको छ ।

भान्छामा महिलाले काम गर्ने भए पनि किनमेलको अधिकार उनीहरूमध्ये कतिपयमा नहुँदा, परिवारमा चेतनाको अभाव र आगोमा मिठो पाक्छ भन्ने केही परम्परागत मान्यताले गर्दा इन्धन प्रयोगमा महिलाको अधिकार खुम्चिएको छ । यसले एकातिर उनीहरूको स्वास्थ्यमा सबैभन्दा बढी असर परेको छ भने अर्कोतिर समय पनि अनुत्पादित काममा खर्च भएको छ । राष्ट्रिय जीवनस्तर निर्धारण सर्वेक्षण प्रतिवेदनअनुसार करिब ३० लाख घरधुरीको पहुँच सुधारिएको चुलोमा मात्रै देखिन्छ । यद्यपि २०६५ र २०६६ को अध्ययनमा भने सुधारिएको चुलो प्रयोगले सरदर ६२ प्रतिशतले घरभित्रको प्रदूषण कमी आएको तथ्यांक छ ।

प्रकाशित : पुस २२, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?