२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

राज्यधनमा भोग–विलास

इतिहास
हरिबहादुर थापा

काठमाडौँ — जंगबहादुरका उत्तराधिकारी रणोद्वीपको पालासम्म धन बिदेसिएन । तर जब रणोद्वीप र जंग वंशज सिध्याउँदै रोलक्रम भद्रगोल पारी वीरशमशेरले सत्तामा कब्जा जमाए, तब राज्यधनमाथि खेलबाडको दृश्य परिवर्तन हुन थाल्यो ।

राज्यधनमा भोग–विलास

कम्प्युटरमा ‘सर्च’ गर्दै थिएँँ, हाम्रा श्री ३ महाराजको श्रीपेचसहितका प्रधानमन्त्री जंगबहादुर राणासँग जोडिंदै एक विदेशी महिला आइपुगिन्— लाउरा एलिजा बेल । उत्सुकता जाग्यो । बेलायतकै ‘मिथ’ पात्र रहिछन् लाउरा । उनीबारे बेलायतीले कल्पित गाथासमेत कोरेका रहेछन्, सँगै जंगबहादुर राणा ‘कुख्यात’ हिरोमा दर्ज । आयरल्यान्डमा जन्मेकी बेलायतकी बहुचर्चित ‘यौनकर्मी’ लाउरासँग जंगबहादुरको नब्बे दिने सहवास । उनको सहवाससँगै खर्चेको अत्यासलाग्दो रकम ।


त्यसो त, हाम्रै इतिहासका पानाहरूमा कतै–कतै लाउरा बेल भेटिन्छिन्, तर विस्तृत रूपमा होइन । अर्थात्, ‘जंग–लाउरा प्रेम’ को उत्सुकता मात्रै जगाउँदै छाडेका छन्, हाम्रा इतिहासकारहरूले । जंगबहादुर एक सय ६८ वर्षपहिले अर्थात्, विक्रम संवत् १९०६ मा बेलायत यात्रामा निस्केका थिए । तीन वर्षपहिले भारदारलाई कोतपर्वमा पारेपछि धन र शक्तिले उन्मत्त वर्गमा उक्लिएका जंगबहादुर विश्व हेर्ने रहरमा बेलायत पुगेका थिए ।


खोज्दै जाँदा भेटियो, लाउरा त ‘आनन्दीका बहु–बद्नामी’ विश्वका दस महिला सूचीभित्रकी पात्र रहिछन् । जसलाई ‘लन्डन बेश्यालयकी महारानी’ को उपमा मिलेको थियो । उनी सन् १८२९ देखि १८९४ सम्म जीवित रहिन् । जंगबहादुर बेलायत पुग्दा लाउरा एक्काइस वर्षकी जगमगाउँदी सुन्दरी थिइन् । उनी बाठी उस्तै र बुद्धि पनि बढ्तै थियो । त्यही कारण उच्च घरानासँग सम्पर्क कस्न माहिर यौनकर्मी बनिन् । आकर्षक पोसाकमा सेतो घोडा चढेर लन्डनको हाइड–पार्कमा धनी घरानियाँ पात्रको खोजमा निस्किन्थिइन् उनी । त्यही क्रममा जंगबहादुर राणाको आँखामा लाउरा गढ्न पुगिन् । जंगबहादुर बेलायत बासमा रहँदा उनी नब्बे दिनसम्म घनिष्ठ रहिन् । जंगबहादुरलाई बेलायतबाट बिदा गर्दाका बखत उपस्थित ठूला–बडा बेलायतीहरूको लहरमा लाउरा पनि सामेल थिइन् । फर्कने क्रममा औंठी उपहार दिंदै जंगबहादुरले भनेका थिए, ‘कुनै दु:ख परे मलाई सम्झिनू ।’


लाउराप्रति जंगबहादुर यति आकर्षित भएका थिए कि उनले श्री ३ महाराज र प्रधानमन्त्री पदसमेत ‘स्थगन’ राखी लन्डनको ‘राजदूत’ मा सीमित हुन चाहेका थिए । राणा घरानाकै इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार, ‘लन्डन पुगेका नोकर–चाकरहरूमध्ये केही मात्र साथमा राखी अरू सम्पूर्ण भाइलगायत प्रतिनिधिमण्डललाई काठमाण्डू फर्किनू भनी एक वर्षका निम्ति नेपाल सरकारको राजदूतको हैसियतले लन्डनमै बस्ने इच्छा प्रकट गरे । तर सँगै गएकाहरूले लन्डनमा राज गरिबक्सनु मनासिब हुँदैन, नयाँ सिर्जना गरिबक्सेको राजकाजसम्बन्धी क्रियाकलाप सबै सम्हाल्न हजुरबाहेक हामी कसैको पनि आँट आउँदैन, तसर्थ यो पद्धति नै तहस–नहस हुन्छ भन्ने जोडबलमा जंगबहादुर फर्केका हुन् ।’


भाइ–भारदार र नोकर–चाकरको करबल नहुँदो हो त जंगबहादुर उतै रमाउने थिए, मुलुकको ढुुकुटी रित्याउँदै । नब्बे दिनमा लाउराका निम्ति महँगा उपहारसहित राणाले २ लाख ५० हजार पाउन्ड उडाएको तथ्य बेलायतीहरूले बाहिर ल्याए । बेलायतले जंगबहादुरलाई ४ लाख पाउन्ड ‘लाइन अफ क्रेडिट’ मा उपलब्ध गराएको तथ्यहरू बाहिर आयो ।


अर्थशास्त्रका अध्येता डा. विश्व पौडेलको हिसाब–किताबमा जंगबहादुरले तीन महिनामा लाउरामाथि खर्चेको साढे दुई लाख पाउन्ड यतिखेरको बजार–भाउमा २ करोड १० लाख पाउन्डभन्दा बढी हुन्छ । तर, पौडेल त्यो रकम बेलायतीको ‘बढाइँ–चढाइँ’ को तथ्यांक हुन सक्ने ठान्छन् । ‘हो, जंगबहादुरले लाउराका निम्ति ठूलै रकम खर्चे, त्यही परिमाणमा चाहिँ नहुन सक्छ’, पौडेल भन्छन्, ‘उनले फर्कंदा ठूलै परिमाणमा सामान किनेर फर्केका छन्, यहाँसम्म कि गिद्दे प्रेससमेत छ ।’


जंगबहादुरसँग जोडिएपछि स्वाभाविक रूपमा लाउरा बेलायतभर बहुचर्चित भइन् । जंगबहादुर फर्केको दुई वर्षपछि उनले त्यहीं विवाह गरिन् । बिस्तारै उनी धर्म–कर्मतिर मोहित हुन थालिन् । सँगै सहरका शक्तिसम्पन्न पात्रहरूसँग उठबसमा रहिन् । यहाँसम्म तत्कालीन बेलायती प्रधानमन्त्री विलियम इवार्ट ग्लाडस्टोनको समेत घनिष्ठ साथी बनिन् । उनका हकमा, बेश्यालयदेखि धार्मिक उपदेशकसम्म बनेको तथ्य भेटिन्छ ।

त्यति मात्र होइन, जंगबहादुरले नेपालमै पनि महारानी, रानी, नानी गरेर ४२ वटी पुर्‍याएका थिए । कतिपयका निम्ति छुट्टा–छुट्टै दरबार पनि । अर्थात्, गरिब मुलुकलाई गरिबीतिरै धकेल्दै भोगी–विलासी शासकमा दर्ज भए, जंगबहादुर राणा ।

***


जंगबहादुरले मोज–मस्तीमा ठूलो परिमाणमा राज्य–कोष उडाए पनि विदेशमा धन राख्ने र जन पुर्‍याउने मामलामा भने कठोर थिए । अर्थात् धनजन बिदेसिन वञ्चितको नीति उनको थियो । बरु लखनउ विद्रोह दमनका बेला ‘संकलित’ सुन–जुहारत र धन बेपत्ता मात्रामा भित्र्याएका थिए । जसलाई बोलीचालीमा ‘लखनउ लुट’ भन्ने गरिन्छ । त्यो विद्रोह दमन गरी बेलायती उपनिवेशकर्ता शासकलाई सघाएबापत नेपाललाई नयाँ मुलुक अर्थात्, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर प्राप्त भएको थियो ।


इतिहासविद् ज्ञानमणि नेपालका शब्दमा, ‘जंगबहादुर भारदार र दुनियाँदारलाई बाहिर लगेको धन विदेशीले जफत गरिदेला, अनि मान्छेका मुखमा न बाघका मुखमा होला भन्थे । जंगबहादुरले हात पारेको धन फिटिक्कै बाहिर लगेनन् ।’


वीरशमशेर स्वयं कोलकातामा नेपाली दूतावासका वकिल हुँदा त्यहाँको वस्तुस्थिति राम्रैसँग बुझेका थिए । त्यति बेलासम्म शमशेर खलकमा अंग्रेजी जान्ने उनी मात्रै थिए । उनलाई भारतको बैंकिङ पद्धतिदेखि विलासी जीवनको समेत भेउ थियो । अर्कातिर हत्याबाट बचेका जंगबहादुर सन्तान र विद्रोही भारदारले भारतमा दु:ख पाएको दृश्य पनि उनको आँखामा गढिरहेको थियो ।


भोलि आफू र आफ्नो परिवारको त्यस्तै अवस्था हुने आशंकासहित धन भारतीय बैंकमा राख्ने र त्यहाँका उद्योगधन्दामा सेयर गर्ने आपराधिक खेलको सुरुआत गरे उनले । अर्थशास्त्री पौडेलकै भनाइअनुसार, ‘वीरशमशेरको सम्पत्ति २४ करोड रुपैयाँ थियो, त्यो आजको मूल्यमा हिसाब गर्ने हो भने ५ अर्ब अमेरकी डलर हुन आउँछ ।’ उनी र उनको परिवारले त्यो धनको ठूलो परिमाण विदेश पुर्‍यायो । ‘पुँजी पलायनकर्ताको हिसाबले हेर्ने हो भने वीरशमशेर मुलुकका सबभन्दा ठूला आर्थिक आपराधिक मनोवृत्तिका शासक हुन्,’ पौडेल भन्छन्, ‘वीरशमशेरका सन्तानहरू धनी भइरहनुको कारण पनि त्यही सम्पत्ति हो ।’


वीरशमशेरबाट पाल्पा ‘लखेटिएका’ उनकै भाइ खड्गशमशेरले पछि ‘अथाह’ सम्पत्ति भारत पुर्‍याए । खड्गशमशेरका छोरा–छोरीले भारतको मध्यप्रदेशस्थित सागर सहरमा महल खडा गरी मस्तीको जीवन जिए । वीरशमशेरका उत्तराधिकारी देवशमशेर पनि भाइ–भतिजाको षड्यन्त्रमा परी विक्रम संवत् १९५८ मा शासनबाट बाहिरिए । धनकुटाका निम्ति ‘धपाइएका’ देवशमशेर पछि प्रशस्त सम्पत्तिसहित भारत पलायन भए ।


संकटका बेलाका निम्ति जंगबहादुरका पालामा जोहो गरिएको एघार करोड रुपैयाँ र सिंहदरबार सरकारलाई बेची आर्जित डेढ करोड रुपैयाँ चन्द्रशमशेरले ‘हजम’ गरे । त्यतिबेला राज्यको आम्दानीको मूल स्रोत जग्गाको तिरो रकम थियो । अर्थात्, मुलुकका गरिब नागरिकबाट असुलिएको तिरो रकम ।


त्यो कालखण्डमा चरम धनी त राणा शासकहरू मात्र हुन्थे । कुनै व्यापारी असाध्यै धनी भयो भने कुनै न कुनै अभियोग लगाउँदै सम्पत्ति हड्पिन्थ्यो र निर्वासित हुन बाध्य तुल्याइन्थ्यो । अझ त्यो कलामा चन्द्रशमशेर माहिर थिए । उनी धन भएकाहरूसँग हिमचिम र मिलोमतोमा कारोबार गाँस्दै कुनै अभियोगमा फसाउँथे । धन आफ्नो कब्जामा लिन्थे ।


त्यसो त, वीरशमशेरभन्दा अघि पनि नेपालको धन भारत पुर्‍याएर मस्तीको जीवन जिउने प्रचलन राजा रणबहादुर शाहबाटै सुरुआत भएको हो । रणबहादुर गद्दी त्यागी ‘स्वामी महाराज’ को रूप धारण गरी बनारसमा बस्दा ठूलो रकम खर्च भयो । उनको तीन वर्षे बनारस बासमा त्यहाँका साहु–महाजनसँग ऋण लिंदै ‘उडाएको’ रकम तिर्न ठूलो परिमाणमा पुँजी पलायन भयो । जंगबहादुरभन्दा अघि उनकै मामा माथवरसिंह थापा पनि चार लाख रुपैयाँसहित बेलायत यात्रामा निस्केका थिए । उनी बेलायत जान पाएनन् । कोलकातामै अड्किए, त्यहीं त्यो रकममा यश–आरामको जिन्दगी बिताए । त्यो विषयमा उनीसँग दरबार पनि निकै रिसाएको थियो ।

***


तिब्बतसँग लडाइँ निम्ति ढुकुटीमा अढाई करोड रुपैयाँ जम्मा थियो, चन्द्रशमशेरको मृत्यु हुँदाका बखत । तिब्बतसँग लडाइँ टर्‍यो । त्यो रकममा चन्द्रशमशेरका छोराहरूले आँखा गाडेका थिए । मृत्यु हुनु केही दिन छोराहरूसामु त्यो रकममा ‘दारा नगाड्न’ चन्द्रशमशेरको आग्रह रह्यो । इतिहासविद् पुरुषोत्तमशमशेर राणाले चन्द्रशमशेरको वाक्य उद्धृत गरी ‘श्री ३ को तथ्य वृत्तान्त’ मा लेखेका छन्, ‘मैले तिमीहरूका निम्ति प्रशस्त सम्पत्ति जम्मा गरिदिएको छु, अब मर्ने अवसरमा पनि तिमीहरू अढाई करोड रुपैयाँमा दाँत गाडी मलाई मुक्ति नदिलाउने प्रयासमा छौ ।’ चन्द्रशमशेर, जसले २८ वर्ष ५ महिना शासकीय बागडोर सम्हालेका थिए ।


सँगै त्यो रकम चन्द्रका उत्तराधिकारी भाइ भीमशमशेरको पोल्टामा पुग्यो । त्यति ठूलो रकम कता पुग्यो भनी कसैले खोजी गरेन । त्यो समयमा राणा शासकको सम्पत्तिमा ‘प्रश्न’ उठाउन सक्ने अवस्थै थिएन । जति बेला समाजमा प्रचलित थियो, ‘कालको औषधि छैन, हुकुमको जवाफ छैन ।’ भारतीय भूमिमै भीमशमशेरका नातिहरू ‘धनी’ पात्रमा गनिनुमा त्यही ‘रकम’ को करामत हुनुपर्छ । जुद्धशमशेरका पालामा ‘बागी’ मा परिणत भएका थिए, भीमशमशेरका छोरा–नातिहरू । भीमशमशेरकै नातिहरू सुवर्णशमशेर र महावीरशमशेरको आर्थिक–भूमिका रह्यो, २००७ को प्रजातान्त्रिक क्रान्तिमा ।


त्यसो त, चन्द्रशमशेरले आफ्नै छोरा विष्णुशमशेरलाई रोलक्रमबाट झिक्दै निर्वासनमा रहन बाध्य पारे तर उनको भागमा अंश सहजै उपलब्ध गराए । पुराना पत्रकार मदनमणि दीक्षितको स्मरणअनुसार, ‘कोलकातामा रहँदा विष्णुशमशेरलाई फ्रेन्च महिलासँग लसपस र गाईको मासु खाएको अभियोगमा देश प्रवेशमा बन्देज लगाइएको थियो । उनलाई अंशबापत एक करोड रुपैयाँ उपलब्ध गराइयो ।’ त्यो रकम त्यस कालखण्डमा अत्यधिक थियो । तिनले त्यो रकम भारत र युरोपेली मुलुकमा मोजमस्तीमा रहेर खर्चे ।


सुधारक राणा शासकमा गनिने पद्मशमशेर पनि पारिवारिक षड्यन्त्रको जाल बुझी औषधि उपचारका बहानामा भारीका भारी सम्पत्ति बोकाउँदै लावा तस्करसहित भारत पुगे । त्यहीबाट उनको राजीनामा लिइयो । बडाहाकिम बनेर पूर्व पश्चिम पुगेका राणाहरूले त्यहाँ जनताबाट संकलित तिरो पनि भारत पुर्‍याए । सत्तावाल र विद्रोही दुवै राणा खलकको सम्पत्ति राख्ने थलो भारत र पछि बेलायत बन्यो ।

‘शासकीय धन पलायनको दृश्य’ मोहनशमशेरका पालामा सम्म यथावत् रह्यो ।


प्रजातन्त्रको उदयपछि ‘रैती’ को शासन देख्न नसकी अलिक धन सम्पत्ति भएका राणाहरू पनि बाहिरिए । मुलुकमा प्रजातन्त्र स्थापनाको दृश्य सहन नसकी धनसहित देश छाड्नेमा श्री ३ महाराज मोहनशमशेर र राणा परिवारसँग जोडिएका ‘फुच्चे महाराज’ हरूको संख्या पनि कम छैन । त्यति मात्र होइन, राणा शासकहरूले आफूलाई ‘ठूलो’ देखाउन आफ्ना छोरीहरू पनि भारतका राजा–महाराजा र रजौटाका सन्तानसँग विवाह गराए । सँगै रवाफमै अत्यधिक ठूलो परिणाममा दाइजो दिए ।


राणाकालभरि उद्योग–कारखाना र विकासमा रकम खर्चिइएन, त्यही कारण मुलुक गरिबीको भासमै रह्यो । कोसीको पानीसरह धन पनि भारत र बेलायततिरै बगिरह्यो ।


चन्द्रशमशेरकै पालामा जागिरे बनेका सरदार भीमबहादुर पाँडे राणाकालको उत्तराद्र्धताका बजेट बनाउनेमध्ये एक हुन् । पाँडेका अनुसार, ‘त्यति बेला वर्षमा ३ करोड जति राजस्व उठ्थ्यो । त्यसमा ४० लाख प्रधानमन्त्रीले सीधै राख्थे । बाँकी २ करोड ६० लाखको बजेट बन्थ्यो । जुद्धशमशेरले १३ वर्ष २ महिना केही दिन शासन गरे । छाड्ने बेलामा उनले भाषण गर्दै बडो गौरवसाथ भने, ‘यति सानो मेरो कार्यकालमा १ करोड रुपैयाँ विकास कार्यमा खर्च भएको छ । त्यसबेला विकास भनेको आमजनताको विकास हो भन्ने सोचाइ नै भएन ।’ (साप्ताहिक जनज्योति, २०४३ माघ २)

***


रूप र शैली मात्र फरक हुँदै गएका हुन्, राज्य–धन पलायन यथावत् छ । अर्थशास्त्री डा. पौडेलकै शब्दमा अझ ‘विकराल’ हुँदो छ । शासकीय वर्ग मात्र होइन, आमतहसम्मका ‘हुने–खाने’ हरू महँगिंदै गएको घर–जग्गाको भाउ लिंदै अमेरिका, अस्ट्रेलिया, क्यानाडा र युरोपेली मुलुकमा ‘बसाइँ’ सर्दै छन् । त्यस्ता सम्पन्न मुलुकमा धेरैजसो ‘सम्पन्न वर्ग’ कै पात्रहरू पुगेका छन्, अझ कतिपय भ्रष्टाचार गरी अकुत सम्पत्ति जोड्नेहरू नै पर्छन् । अझ अख्तियारले २०५९ साउन मसान्तमा कर्मचारीका घरमा छापा मारेपछि अवैध ढंगले कमाउने कर्मचारीहरूले आफ्नो विदेशमै ‘व्यवस्थापन’ गर्ने होड चलेको छ । तिनको विदेश मोहसँगै धनको ‘बसाइ–सराइ’ बाक्लिँदो छ । अर्कातिर नवधनाढ्य व्यापारीहरू पनि आफ्नो ‘कालो–धन’ को ओसार–पसारबाट ‘सेतो’ बनाउँदै छन् । राज्यसंयन्त्र र ढुकुटीको जिम्मा लिएकाहरू तिनकै औजार बनिरहेको दृश्य छताछुल्ल हुँदै छ ।


बेलाबखत स्विस बैंक ‘स्क्यान्डल’ चल्दा नेपालीको कान ठाडो हुने गर्छ, किनभने पञ्चायतकालभरि दरबारिया पात्रहरूले त्यहाँ धन जम्मा गरेको ‘चर्चा’ चलिरह्यो । दुर्भाग्य नेपालका शासक–प्रशासकहरूले भ्रष्टाचारबाट आर्जित सम्पत्ति बाहिर पुर्‍याइरहँदा कहिले पनि कतैबाट छानबिन भएन । राज्यको तर्फबाट त्यसमा सामान्य चासोसमेत चासो प्रदर्शन गरेको पनि पाइँदैन ।


‘देशबाट लुटिएको धन फिर्ताका निम्ति राज्यले चाहने गर्न सक्छ’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय भन्छन्, ‘राज्य जाग्यो भने विदेशमा लुकाएका धन खोजतलासका निम्ति सहयोग माग्न सक्छ । तर दुर्भाग्य परापूर्वकालदेखि धन थुपार्ने प्रमुख थलो छिमेकी भारतसित समेत सूचना आदानप्रदान गर्ने संयन्त्र बन्न सकेको छैन । कम्तीमा भारतमा खाता खोल्ने नेपालीको सूची माग्ने हो भने पनि धेरै तथ्य खुल्छ ।’


भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिसँगै ‘शंकास्पद धन’ को विदेश ओहोर–दोहोर र बैंकिङ खाता अनुसन्धान निम्ति ‘ढोका’ खुला राख्नुपर्ने प्रावधान आएको छ । विश्वव्यापी रूपमा भ्रष्टाचारविरुद्ध लड्न तेह्र वर्षअघि संयुक्त राष्ट्रसंघीय महासन्धि हुँदा प्रारम्भिक दिनमै हस्ताक्षर गर्ने मुलुकभित्र पर्छ, नेपाल । जसमा उपाध्यायकै हस्ताक्षर दर्ज छ अख्तियार प्रमुखको हैसियतमा । महासन्धिमा अवैध सम्पत्तिका मामलामा बाहिरी मुलुकको अनुसन्धानकर्तालाई प्रवेश गर्न दिनुपर्नेदेखि भ्रष्टाचारको अभियोगमा जुनसुकै मुलुकका अदालतमा मुद्दा दायर गर्न सकिन्छ । कर छली, अवैध धन्दा र भ्रष्टाचार गरी सम्पत्ति लुकाएको ठहरिएमा विदेशी बैंकमा राखिएको सम्पत्तिसमेत जफत हुन्छ ।


त्यो महासन्धिसँगै कतिपय मुलुकमा शासक वर्गबाट ‘लुटिएका धन’ फिर्ताको अभियान चलिरहेको छ र फिर्ता पनि भइरहेको छ । उपाध्याय भन्छन्, ‘भ्रष्टाचार र अवैध कर्मबाट लुट्नेहरूको सम्पत्ति खोज्नु जरुरी छ, देशभित्र र बाहिर पनि । शासकीय वर्गमा देश प्रेम जाग्यो भने महासन्धिअनुरूप संयन्त्र निर्माण गर्न सकिन्छ र अन्तरदेशीय सूचनाको आदान–प्रदान हुन्छ । शासकहरूमा राणाकालीन मनस्थिति रहेसम्म गाह्रो छ ।’

प्रकाशित : पुस २२, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?