२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एन्फा ब्वाइज

०५४ सालमा एन्फा एकेडेमीको पहिलो ब्याच सुरु गरिएको थियो, त्यो साँच्चै एसियाकै लागि नमुना थियो । 
हिमेश

काठमाडौँ — सन् २००५ डिसेम्बर ८ । कराँची, बिहानको समय । अवसर थियो, चौथो साफ च्याम्पिनसिप र त्यही दिन लिग चरणमा भारतविरुद्ध पहिलो खेल थियो, नेपालको । ब्रेकफास्टपछि टिम मिटिङ बोलाइएको थियो । भारतविरुद्धको त्यस खेलमा खेल्ने खेलाडीबारे बाक्लै चर्चा भयो । हुनु त नपर्ने, तर पत्रकारलाई पनि त्यस मिटिङमा निमन्त्रणा थियो ।

एन्फा ब्वाइज

मूल प्रश्न थियो, पोस्टको जिम्मा कसले पाउने त ? उपेन्द्रमान सिंह अथवा भर्खरका केटो विकास मल्ल ?

उपेन्द्रमान सन्न्यासको घोषणापछि पनि करकापमा टिममा फर्केका थिए । विकास भने नेपालका लागि खेलिहाल्न तयार थिएनन्, कम्तीमा मानसिक रूपमा । विकास पछि तयार भने भए । तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले त्यस मिटिङमा लामै बोले, उनी खेलाडीको हौसला बढाउन सक्दो प्रयास गरिरहेका थिए । उनको कार्यकालकै सबैभन्दा महत्त्वाकांक्षी कार्यक्रम एन्फा एकेडेमी पहिलोपल्ट औपचारिक रूपमा अन्तर्राष्ट्रिय परीक्षाबाट गुज्रिने क्रममा थियो ।

त्यति बेला टिमका प्रशिक्षक थिए, जापानी तोसिहिरो सिवाजावा । भारतविरुद्धको पहिलो खेलको नतिजा सुखद रहेन, नेपाल २–१ ले पराजित रह्यो । लगत्तै बंगलादेशविरुद्धको दोस्रो खेल पनि नेपालले २–० ले गुमायो । नतिजा समूहको अन्तिम खेलअगाडि नै प्रतियोगितामा नेपालको चुनौती समाप्त भयो । एन्फा अध्यक्ष थापालाई त्यति बेला लागेको थियो, सायद नेपालले उपाधि जित्नेछ । तर त्यस्तो केही भएन्, उनी मात्र होइन, पूरा टिम नै निराश थियो ।

तर यो प्रतियोगिताको नेपाली फुटबल इतिहासमा ठूलो अर्थ भने छ । यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीका खेलाडीहरूको प्रवेश भयो । र, यही प्रतियोगिताबाट नेपाली फुटबलमा स्पष्ट देखिने गरेर पहिलोपल्ट ठ्याक्कै पुस्ता पनि फेरियो । भारतविरुद्धको त्यो पहिलो खेलमा सात खेलाडीले डेब्युको अवसर पाएका थिए । त्यसमध्ये विकाससँगै एन्फा एकेडेमीका चार खेलाडीले पहिलोपल्ट खेल्ने अवसर पाए ।

ती थिए, प्रदीप महर्जन, विजय गुरुङ र लोकबन्धु गुरुङ । बंगलादेशविरुद्ध अञ्जन केसीले डेब्युको मौका पाए । भारतविरुद्धको खेल अगाडि नेपाली राष्ट्रिय टिमले दुई वर्षभन्दा बढी समय फुटबल नै खेलेन । यसको कारण थियो, एसियाकप छनोटमा नेपालको खराब प्रदर्शन । एसियाकप छनोट दोस्रो चरणको दोस्रो लेग ओमानको मस्कटमा भएको थियो । त्यसको अन्तिम खेल दक्षिण कोरियाविरुद्ध थियो र संयोगले त्यो खेल छ खेलाडीको अन्तिम खेल रह्यो, नेपालका लागि ।

त्यसमा प्रमुख थिए, तिनै उपेन्द्रमानदेखि बालगोपाल महर्जन, सुनील तुलाधर र कुमार थापा । अहिले यी सबैको चर्चा किन त ? प्रसंगले कसरी मेल खान्छ त ? खासमा एन्फा एकेडेमीको स्थापना र त्यससँग आबद्ध पहिलो ब्याच निर्माणले २० वर्ष छोएको छ । दुई दशक ? धेरैलाई हिजोजस्तै लाग्छ, तर समय कति चाँडै बग्छ, पत्तै हुन्न । जति बेला एन्फा एकेडेमी सुरु भएको थियो, यसलाई दक्षिण एसिया मात्र होइन, एसियाकै उत्कृष्ट एकेडेमी मानिएको थियो ।

अहिले स्थिति कस्तो छ भने बहसको विषय बनेको छ, एकेडेमी स्थापना गरेर यसरी फुटबल चलाउनु ठीक हो कि होइन, विशेषत: नेपालमा । जति बेला ०५४ सालमा एन्फा एकेडेमीको पहिलो ब्याच सुरु गरिएको थियो, त्यो साँच्चै एसियाकै लागि नमुना थियो । किशोर खेलाडीले होस्टलमै बसेर पढ्ने, खाने र स्कुल जाने, अनि खालि फुटबल खेल्ने । वास्तवमै गज्जब थियो, यो । त्यति बेला एन्फा अध्यक्ष थापा यसको प्रशंसा गर्दै समय बिताउने गर्थे ।

पछिल्लो साता काठमाडौंमा त्यही एन्फाको पहिलो ब्याचका केही खेलाडी भेला भए र २० वर्ष मनाउने प्रयास गरे । एक आपसमा भेट्दाको खुसी अपार थियो । यसका लागि मिहिनेत गरेका थिए, राजीव श्रेष्ठले । अमेरिका छिरेर कम्प्युटरमा मास्टर्स सकिसकेका यी राजीव सुरुमा त्यो ब्याचको नम्बर १ गोलरक्षक थिए, पछि उनलाई विकासले उछिने । तर साथी र पत्रकारहरूसँग कसरी घुलमिल गर्नुपर्छ, त्यसमा विकासले राजीवलाई कहिल्यै उछिन्न सकेनन् । खुबै मस्त पाराका छन्, राजीव ।

अचेल त बोल्दा पनि नेपालीमा अमेरिकी पारा ल्याउने गर्छन्, तर उनको दृढ छन्, चाँडै नेपाल फर्कन । उनकै भनाइमा, अचेल सबै साथी सँगै भेट्न त असम्भव जस्तै भइसकेको छ, त्यो पहिलो ब्याचमा को को थिए, त्यो सूची तयार पार्न पनि गाह्रो भइसकेको छ । सबैभन्दा पहिले, २० वर्षअगाडि पहिलो ब्याच तयार हुँदा कति खेलाडी थिए त ? उत्तर हो, ४० । राजु शाक्य, उमेश प्रधान, किशोर केसी र सुनील श्रेष्ठले ती खेलाडीको छनोट गरेका थिए, पूरा देश घुमेर ।

खेलाडीको सूची आपैंmमा ऐतिहासिक रहेको छ, किनभने यो सूची एन्फा आपंैmसँग नहुन सक्छ । ती ४० खेलाडी थिए, विकास मल्ल, राजीव श्रेष्ठ, प्रकाश घिसिङ, मनीष हाडा, ध्रुव श्रेष्ठ, एकजन तुलाधर, गौरव थापा, सुरज जोशी, सुवास लामा, विक्रम महर्जन, सुनील लामा, सुसन भण्डारी, प्रकाश श्रेष्ठ, विजय गुरुङ, किङकङ गुरुङ, शेखर थापा, सोम थापा, महेश सरकार, मनिल बोहरा, सौगात सुब्बा, प्रशान्त गिरी, सौगात सिंह राठौर र विपिन श्रेष्ठ ।

यस्तै, सुदीप श्रेष्ठ, मानसजन राजभण्डारी, प्रदीप महर्जन, अञ्जन केसी, प्रवीण मानन्धर, कविन साहुखल, अनिल कार्की, सुवास राई, लोकबन्धु गुरुङ, शेखर थापा, दीपक खवास, विराट थापा, प्रलय राजभण्डारी, उद्धव लामिछाने, रोजित केसी, रमेश अधिकारी र प्रज्वलप्रताप खाती । यसमध्ये अचेल पाँच अमेरिकामा छन्, तीन अस्ट्ेरलिया र चार इंग्ल्यान्ड । तर ती सुरुआती दिन पक्कै फरक थिए, अहिलेको जस्तो थिएन, न त फेसबुक, न ट्विटर ।

भर्खर एकेडेमी छिर्दा केही खेलाडी १२ वर्षको हाराहारीका थिए । उनीहरूले परिवारसँगको विछोड सहन सकेका थिएनन्, होस्टलमै रुन्थे । सबै फरकफरक परिवेशबाट आएका थिए, त्यसैले सुरुमा घुलमिल हुन सकेका थिएनन् । त्यसैले एक समूह काठमाडौंको थियो, त्यसमा दस खेलाडी थिए । अर्को समूह पूर्वेलीको थियो । पछि यो बिस्तारै हराएर गयो । उनीहरूले आठ वर्ष सँगै बिताए । सुरुमा ग्यालेक्सीमा पढे । पछि एलिट्स को–एडमा सारियो । झन् पछि नोबल एकेडेमीमा प्लस टु गरे । त्यति बेलासम्म १२ खेलाडीले मात्र पढाइलाई निरन्तर दिन सके ।

अहिले पनि यी खेलाडीलाई एन्फा ब्वाइज भनेर पुराना साथीहरूले बोलाउने गर्छन्, फेसबुकमा तस्बिर ट्याग गर्ने गर्छन् । सन् १९९९ मा एन्फा एकेडेमीले पहिलोपल्ट भारतमा गएर सुबर्तो मुखर्जी कप खेल्यो । त्यसको एक वर्षमा यही टिमले उपाधिसमेत चुम्यो । सन् २००३ मा यही टिमले यू–१९ एसियाली छनोटमा गज्जब खेल्यो, खेल बंगलादेशमा भएको थियो । छनोटमा पाकिस्तान पनि थियो र नेपाल अर्को चरण पनि पुग्यो । केही खेलाडीको राष्ट्रिय टिमसम्मको यात्रा अगाडि यो नै एन्फा एकेडेमी पहिलो ब्याचको सबैभन्दा सम्झनालायक क्षण रह्यो ।

यही टिमले ०६० सालको खुकुरी कपमा फाइनलसम्मको यात्रा पनि तय गरेको थियो । तर यसबीच यी खेलाडीले धेरै उतारचढाव बेहोरे । एकेडेमी बनेको केही समयमै एन्फा विवादले चर्को रूप लियो । दुई समानान्तर एन्फा बने, एउटाको अध्यक्ष थिए, उनै थापा । अर्कोको गीता राना । यी खेलाडी आफूमा ल्याउन तानानानको स्थिति बन्यो । खालि तीन खेलाडी मात्र राना पक्षमा गए । केही समय यी खेलाडी विजोग स्थितिबाट पनि गुज्रे । जति बेला एन्फा एकेडेमी भर्खर सुरु भएको थियो, स्थिति वास्तवमै सानदार थियो ।

उत्तिकै राम्रो खाना, अनि उत्तिकै राम्रो प्रशिक्षण । नियमित स्वास्थ्य परीक्षण पनि हुन्थ्यो । सुरुआती प्रशिक्षक थिए, उज्वेकिस्तानका रुस्टम अक्रमक । उनले दुई वर्ष टिम सम्हाले र त्यति बेला ती किशोर खेलाडीको प्रदर्शन युरोपेली पारा र स्तरको थियो भनिन्छ । एन्फा विवादपछि यो यस्तै रहेन । जति बेला एन्फा विवाद टुंगियो र थापा नै एक मात्र अध्यक्ष रहे, ०६० मा फेरि लिग सुरु भयो । त्यति बेला १० खेलाडी फ्रेन्ड्स क्लबलाई दिइयो, १० खेलाडी ब्वाइज स्पोर्टसलाई । बाँकी २० खेलाडी ?

तिनीहरू सबै त्यति बेलै त्यत्तिकै हराएर गए । सुरुआती कप्तान थिए, विक्रम । उनी लामो समय टिकेनन । विक्रमपछि कप्तान बने, प्रशान्त । दुर्भाग्य, खेलकै क्रममा उनी पनि नराम्रोसँग घाइते भए, खेलमा फर्कनै सकेनन् भने हुन्छ । पछि यसरी नै प्रदीप पनि घाइते भए । बिस्तारै सबै हराएर गए । पछिल्लो समय अञ्जनमाथि आजीवन प्रतिबन्ध पनि लाग्यो, खेल मिलोमतोको घटनामा । लामो समयसम्म खेल्ने एकै खेलाडी मात्र रहे, विजय । उनी अहिले पनि लगभग सक्रियजस्तै छन्, मैदानमा ।

तर जति बेला एकेडेमी सुरु भएको थियो र सबै खेलाडीसँगै थिए, ती दिन कम्ती सम्झनालायक थिएन । विकास खुबै ख्याल गर्नुपर्नेमा पर्थे । यस्तै पारा राजीवको पनि थियो । सुरज त्यति बेला खुबै गीत गाउने गर्थे । राम्रै पनि थियो, उनको स्वर । सौगात वास्तवमै निकै राम्रो खेलाडी थियो । गौरव अध्यक्ष थापाका छोरा थिए, तर उनी आफ्नो नाम सकेसम्म बुबासँग नजोडियोस् भन्ने चाहन्थे । उनी त्यति बेला नै चलाख थिए, खेल पनि राम्रै थियो । होस्टलमा बाहिरबाट खाना ल्याउन पाइन्न थियो, तर काठमाडौंका केटाहरू लुकाएर म:म ल्याउँथे ।

त्यति बेला नै खेलाडीलाई केटी साथीको फोन आउने गथ्र्यो, एकपल्ट विकास लुकेर फोन गर्दै गर्दा समातिए पनि । त्यति बेला एफएमको जमाना थियो । खेल सकेर होस्टल फर्कर्ेयता आफ्नो नाम एफएममा बज्ने लोभले सबै रेडियोमा झुम्ने गर्थे । अनि सबै खेलाडी स्कुलमा मोमिला जोशी म्यामको क्लास छ भन्दा ज्ञानी बनेर मख्ख पर्दै बस्थे । यी खेलाडी सानोमै मोमिला म्यामका फ्यान थिए । अनि कसैले पनि होस्टल वार्डेन फरेन्द्र लिम्बूलाई बिर्सेका छैनन् । र, अबका दिन । साँच्चै यी एन्फा एकेडेमीको पहिलो ब्याच ती खेलाडी कताकता छन् त ?

केही निकै सफल पनि छन्, नेपाली आर्मीको राम्रै पोस्टमा पुगेका छन् । केही प्रशिक्षक बनेका छन्, विशेषत: प्रज्वलले ए लाइसेन्स पाइसके । केहीले गुमनाम गाह्रो जीवन पनि बिताइरहेका छन् । उनीहरूबारे वास्तवमै सिनेमा बन्छ अथवा डकुमेन्ट्री । यी खेलाडीसँग खुबै मीठा र तीता मानवीय भावना, व्यवहार, सम्झना, सुख, दु:ख जोडिएका छन् । र, साँच्चै यो पनि विश्वास गर्न सकिन्न, एन्फा एकेडेमी सुरु भएको पनि दुई दशक भयो त । अनि प्राय: खेलाडीलाई कसैले एन्फा ब्वाइज भन्दा गर्व भने लाग्छ ।

twitter : @himeshratn

प्रकाशित : पुस २९, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?