कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाली सभ्यताको नयाँ व्याख्याको प्रयास 

समीक्षा
श्यामल

काठमाडौँ — सुपरिचित वामपन्थी राजनीतिकर्मी लोककृष्ण भट्टराईले ‘आमाको दसधारा दूधको रिन’ तिर्ने हाम्रो नेपाली ग्रामीण वचनलाई साकार तुल्याउने विचारले हुनुपर्छ, नेपाली सभ्यताको प्रचलित व्याख्याबाट हटेर मातृभूमिको गौरवगान गर्ने प्रयास गरेका छन् एउटा ठूलै आकारको पुस्तक लेखेर ।

नेपाली सभ्यताको नयाँ व्याख्याको प्रयास 

पुस्तकको महत्त्वलाई रेखांकित गर्नका लागि होस् वा आफ्नो प्रयत्नको सफलता जाँच्न, उनले विभिन्न राजनीतिक वैचारिक ध्रुवका केही परिचित नेतागणका मन्तव्य पनि पुस्तकको आमुखमा समावेश गरेका छन् । प्राज्ञिक ढंगले पुस्तकको संरचना निर्माण गर्ने हो भने, लेखोटलाई विज्ञका हातबाट राम्ररी सम्पादन गर्ने हो र दोहोरावटजस्ता दोषहरूलाई सुरुमै हटाइदिने हो भने यस कृतिको मोटाइ आधैमा झर्नुपर्ने हो । यस्ता दोषहरूसहित यस पुस्तकमा प्रवेश गर्ने हो भने लेखकले पुस्तक लेख्नका लागि लिएको लक्ष्य र गरेको तपस्या भने खेर गएको छैन ।

‘नेपाली सभ्यता : विगत र वर्तमान, लोकतान्त्रिक आन्दोलन र विकास मोडल’ नाम दिइएको यो पुस्तक नेपालीहरूले पढ्नैपर्ने सूचीमा समावेश हुन सक्छ किनभने नेपाली समाजका विश्वासका बीजहरू अझै पनि किंवदन्ती, पुराण, कथा आदिको जमिनमा अडेको देखिन्छ । कतिपय गरिब मुलुकका बौद्धिक समुदाय आफ्नो अतीतका गौरवमा झुन्डिइरहेको पनि देखिन्छ र यसले उनीहरूलाई गहिरो हीनताबोधबाट जोगिने उपकरणको काम गरेको हुन्छ । ठीक दिशामा नजानाले त्यस्ता प्रयत्नहरूले प्राय:जसो सभ्यताको युद्धलाई, साम्प्रदायिक सोचहरूलाई सहयोग गर्दै अन्तत: समाजको विभाजन र द्वन्द्वबाट लाभ लिने निहित स्वार्थी जमातहरूलाई लाभ पुर्‍याइरहेका हुन्छन् । भारतमा बेला बेला हिन्दु सभ्यताको पुनर्जागरणको हल्ला मच्चाउने गरिन्छ र त्यसले साम्प्रदायिक शक्तिहरूलाई नै बढी ताकत दिएको देखिन्छ । तर भट्टराईले हिमाली पर्यावरणले मानव जगत्का लागि जीवनको आधार खडा गरेको तर्क गर्दै सकभर यस्तो सभ्यतालाई वैज्ञानिक बनाउने जमर्को गरेका छन् । उनका तर्कहरूलाई ठाडै खारेज गर्न मिल्ने देखिन्न किनभने, नवलपरासी र मुस्ताङमा भेटिएका प्रागैतिहासिक र पुरातात्त्विक अवशेषहरूले हिमाली सभ्यताको सर्वप्राचीनता सिद्ध गर्ने मार्ग प्रशस्त गरिदिएका छन् । सबै सभ्यता मध्यपूर्व वा मध्यएसिया वा पश्चिमबाट विकसित हुँदै गएका स्थापित मान्यतालाई चिर्न भट्टराईले लिएका आधारहरूलाई केवल कल्पनाका कुरा मानिराख्नु उचित हुँदैन तथापि यसमा थप वैज्ञानिक प्रयत्नहरू भइरहनेछन् ।

प्रदीप गिरिले ठीकै भनेका छन् : भट्टराई राजनीतिक जोगी हुन् । भट्टराई पुष्पलालले सुरु गरेको नेपाली माक्र्सवादी पाठशालाका पुराना विद्यार्थी त हुन् नै, लोकतान्त्रिक आन्दोलनमा निष्ठापूर्वक लागी अनेक कष्ट झेलेका राजनीतिकर्मी पनि हुन् । अरू कसैले स्वेच्छावश, वा कर्तव्यबोधले उनको नाम त्यस आन्दोलनको इतिहासमा उल्लेख गरुन् वा नगरुन्, यसै पुस्तकका प्रासांगिक अंशमा यदाकदा उनले आफ्नो भूमिकालाई पनि उल्लेख गरेको देखिन्छ । तर, यस पुस्तक लेखनको मुख्य ध्येय नेपाली सभ्यताको सर्वप्राचीनता प्रमाणित गर्न पाश्चात्य वैज्ञानिक र पुराविद्याका आधारमा प्राज्ञिक विश्लेषण गर्नु नभएर प्रचलित किंवदन्तीहरू, जनश्रुति, पुराण कथनहरू र आफ्ना पर्यवेक्षण तथा तज्जन्य अनुभूतिहरूका आलोकमा हिमाली सभ्यताको उत्खनन गर्नु हो भन्ने स्पष्ट हुन्छ । उनका विचारमा मानव सभ्यता यही हिमवत्खण्डको केन्द्रभाग नेपालबाटै विश्वभर फैलिएको हो, हिमालयनिवासी शिव नै मानव सभ्यताका जननी हुन् अनि पशुपालन तथा कृषियुग पनि यहींबाट सुरु भएको हो र कतिसम्म भने वेद, उपनिषद् र पुराणहरू यसै नेपालभूमिमा रचना गरिएका हुन् । यस तर्कलाई स्थापित गर्न उनले सक्दो कोसिस गरेका छन् भलै कथित निर्दिष्ट वैज्ञानिक शोध उपकरणहरूले त्यसलाई इन्कार गरुन् । यस्तो सर्वप्राचीन सभ्यताको क्षेत्र आधुनिक राजनीतिक र भौतिक विकासमा किन यति पछि परेको हो भन्नेबारे लेखकले ठाउँ ठाउँमा चिन्ता व्यक्त गर्दै यति समृद्ध सभ्यता र धनी इतिहासको गहन अनुसन्धान गर्नुपर्ने आग्रह राखेको देखिन्छ ।

पुस्तकको अत्यन्त महत्त्वपूर्ण भाग हो नेपाल भूमिमा पन्पेका विभिन्न सभ्यताहरूमा लोकतान्त्रिक अभ्यासको अध्ययन । भट्टराईले शिव सभ्यता र संस्कृति नै पहिलो मानव संस्कृति रहेको, शिवले त्यस युगमै मानिसले गर्न हुने र नहुने काम भनेर नियमहरू बनाएको र नेपाल भारतवर्षको र अझ विश्वकै पहिलो राष्ट्रका रूपमा रहेको दलिल पेस गरेका छन् । उनले मिथिला, शाक्य, सिमरौनगढ, किराँत, लिच्छवी आदि सभ्यतामा लोकतान्त्रिक अभ्यास आजको भन्दा निकै उन्नत रहेको निस्कर्ष पनि निकालेका छन् जसमा मतभिन्नता राख्नुको खासै औचित्य देखिन्न ।

पुस्तकमा केही रोचक प्रसंगहरू छन् जो धेरै नेपालीजनलाई थाहा छैन । जस्तै पहिलोपल्ट सरकारको तर्फबाट सशस्त्र संघर्षरत माओवादीसँग वार्ताको वातावरण मिलाउने स्वयं यस पुस्तकका लेखक लोककृष्ण भट्टराई थिए र सरकारको पत्र माओवादीसम्म पुर्‍याउने काम, त्यतिबेला प्रेसमा आएझैं नारायणसिंह पुनले नभएर

स्याङ्जाका धनीराम लामिछानेले गरेका थिए । यस्ता ऐतिहासिक महत्त्वका तर जोखिमयुक्त कामको श्रेय लिन महत्त्वाकांक्षी मानिसहरूमा होडबाजी नै चल्छ त्यसैले धनीरामलाई सम्झने कोही भएन, दरबार, सेना र प्रधानमन्त्री गिरिजासँग बराबर हेलमेल भएका हेलिकोप्टर धनी पाइलट नारायणसिंह पुन मन्त्री मात्र भएनन्, माओवादीसँग भेटवार्ता गराउने मुख्य व्यक्तिका रूपमा चिनिन पुगे । नेपालको वाम आन्दोलनका एक महत्त्वपूर्ण नेता चित्रबहादुर गुरुङको सालिक पोखरामा स्थापना गर्न तथा गाणेशमान सिंहको हातबाट उद्घाटन गराउने काम लोककृष्णले नै गरेका थिए । जस्तै बलराम–सहाना समूह र मनमोहनलाई मिलाउनेदेखि लिएर माले–माक्र्सवादी एकीकरणमा पनि लेखकले गरेका प्रयास पनि धेरैका लागि नयाँ सूचना हुन् । यस्ता प्रसंग अनेकौं अध्यायमा भेटिन्छन् ।

झन्डै एक स्वतन्त्र पुस्तक बन्न सक्ने यस पुस्तकको एक अध्याय नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रका केही बढी नै परिचित र केही ओझेलमा पारिएका उन्नायकहरूको गाथाले भरिएको छ । तिनमा लखन थापादेखि सुरेश वाग्लेलगायतका सयौं शहादत प्राप्त गरेका वा जीवित व्यक्तित्वहरूका योगदानको चर्चा छ । तिनमा भानुभक्तदेखि गोपालप्रसाद रिमाल, रमेश विकल, भूपी शेरचन, नारायणगोपाल आदिको जीवनी र कृतिहरूको उल्लेख गरिएको छ । यस अर्थमा, नेपाली सभ्यताको निर्माणमा आम जनसमुदायका नेता कार्यकर्ता तथा संस्कृतिकर्मीबाट गरिएका प्रयत्नको उल्लेख गरिएको यसलाई एक फरक ढाँचाको पुस्तक भन्न सकिन्छ ।

राज्य, दलहरू र पाठकहरूसमक्ष यस पुस्तकको सबैभन्दा ठूलो प्रस्ताव हो ‘अष्ट ज’ अभियान को विकास मोडेल । यसमा जलस्रोत, जमिन, जंगल, जलवायु, जराजुरी, जडीबुटी, जनावर र जनशक्ति पारिएका छन् । डा. दुर्गादत्त पौडेलले यिनै आठवटा ‘ज’ को समुचित रणनीतिक व्यवस्थापन गरी त्यसबाट कसरी क्षमता अभिवृद्धि गर्ने भन्ने विषयमा दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा लेख प्रकाशित गरेर विकासको फ्रेमवर्क प्रस्ताव गरेको विषयलाई पनि लेखकले निकै महत्त्व दिएका छन् । तर त्यसतर्फ सम्बन्धित क्षेत्रका जिम्मेवार संस्था र नेतृत्वकर्ताहरूको ध्यान नगएकोमा उनले रोष प्रकट गरेका छन् । भट्टराईले दाबी गरेअनुसार, नेपालका राजनीतिक दलहरू र गैरआवासीय नेपालीले आठ ‘ज’ अभियानको महत्व बुझ्दै गएका छन् र सुस्त गतिमा भए पनि यस अभियानको विकास हुँदै छ । उनी भन्छन् : “अब दलहरू अष्ट ‘ज‘ मोडलमा एक भएर राष्ट्रिय सहमति गरी त्यस्तो नीति बनाउन र लागु गर्न तयार हुने हो भने नेपाललाई ५ देखि १० वर्ष (भित्र) मा फिनल्यान्डको आर्थिक स्तरमा ल्याउन सकिन्छ ।” तथापि यस्तो सुस्त गतिका लागि भट्टराई नेपालको ‘काम ढिलो गर्ने संस्कृति’ लाई जिम्मेवार ठहर्‍याउँछन् र त्यसलाई चिर्न ठूलै आँधीवेहरीको सृष्टि हुने संकेत पनि गर्छन् ।

कुनै पनि समाजको विकासको मोडललाई कसैले पनि सजिलै आत्मसात् गरी स्वीकार गरेको हुँदैन । त्यसका निमित्त कठोर श्रम र पर्याप्त गृहकार्यको आवश्यकता पर्दछ । जतिसुकै राम्रो र प्राप्य भए पनि नेपालका राजनीतिक दलहरू विकासको मोडेलको प्रस्ताव गर्ने व्यक्तिको स्वामित्वलाई स्वीकार गरिहाल्ने संस्कारमा हुर्के बढेका छैनन् भन्ने कुरा लेखकलाई राम्रै हेक्का हुनुपर्छ । बरु यो मोडेल राष्ट्रिय बहसमा आउन सक्छ भने त्यतातर्फ ध्यान केन्द्रित गर्नु उचित हुन्छ ।

पुस्तकमा पुष्पलालका वैधानिक उत्तराधिकारी दल र नेताहरूले पुष्पलालले अपनाएको मूल्यमा आधारित राजनीति, तदनुकूलका आदर्श नीति तथा व्यवहारलाई त्यागेर राजाको शासनकालका नेताहरूझैं सुविधाभोगी भएकोमा लेखकले चर्को आलोचना गरेका छन् । यिनकै कारणले देश रसातलमा पुगेको लेखकको ठम्याइ छ । ब्राजिलका पूर्व राष्ट्रपति लुला डी सिल्वाको दृष्टान्त दिँदै उनले कसरी ध्वस्त ब्राजिललाई अन्य विकासशील राष्ट्रको तहमा उकाले तर नेपाली नेताहरूले त्यसो किन गर्न सकेनन् भन्नेमा उनले ठूलो चिन्ता गरेका छन् ।

यो सामान्यतया नेपाली सभ्यताको उद्गम तथा विकास, ऐतिहासिक मोडहरू, लोकतन्त्र अभ्यासको नेपाली परम्परा र तिनका उन्नायकहरू तथा विशिष्टत: लेखकले प्रस्ताव गरेको आठ ‘ज’ अभियानको महत्त्व रेखांकित गरिएको उपयोगी पुस्तक हो । लामो जीवन राजनीतिक संघर्षमा होमेर अनेकौं समाजोपयोगी अनुभव सँगालेका भट्टराईलाई यस सार्थक कामका लागि साधुवाद त दिनैपर्छ सँगसँगै पुस्तक लेखनको प्राज्ञिक अभ्यास र उपयुक्त संरचनाको छनोट गर्न विज्ञहरूको सहयोग लिन सुझाव दिनु उचित हुनेछ ।

प्रकाशित : पुस २९, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?