१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्राध्यापक आरको वाइन बोतल

पुस्तक
अच्युत वाग्ले

काठमाडौँ — आफ्नो हात परेको वस्तु धेरै नाफा कमाउँदा पनि बेच्न वा साट्न नचाहने प्रोफेसर ‘आर’ को जस्तो व्यवहार अर्थशास्त्रको स्थापित सिद्धान्तविपरीत थियो । यस्तो व्यवहारलाई ‘इन्डाउमेन्ट इफेक्ट’ अर्थात् ‘प्राप्तिको प्रभाव’ नामकरण गरेका थेलरले सन् २०१७ को नोबेल पुरस्कार पाए । 

प्राध्यापक आरको वाइन बोतल

अचेल नेपाली जनजिब्रोमा झुन्डिएको, प्रचलित भनाइ हो, ‘नेताहरू कुर्सी पाएपछि मरिगए छोड्दैनन् ।’ यो आरोप त्यो अनागरिकले पनि चर्को स्वरले लगाइरहेको छ जो सार्वजनिक यातायातको सिटमा ढसमस्स बस्छ, अलि पर सर्न कसैले आग्रह गर्‍यो भने सकेसम्म अलिकति ढल्केर टार्छ, सर्नै परे पूरै नसरेर आधा सरी टोपल्छ । अनि, असन्तुष्टिको एउटा नमीठो प्रतिक्रिया मुर्मुराउँछ । मानौ, पाँच मिनेटपछि छोडेर जानुपर्ने त्यो सिट उसको आफ्नै निजी स्वामित्वको हो । साना केटाकेटीलाई कुनै सामान ‘यो तिम्रो हो’ भनेर कसैले दियो भने त्योभन्दा मूल्यवान् अर्को वस्तु दिए पनि उनीहरू साटिहाल्न मान्दैनन् । अनुसन्धानले के पत्ता लगायो भने, केटाकेटी मात्रै होइन, पाका मानिसहरूको पनि आफूले हासिल गरेको वस्तुमाथि स्वामित्व जताउने व्यवहार उत्तिकै व्याप्त छ । त्यहाँ आर्थिक तर्कसङ्गति वा विवेक (इकोनोमिक र्‍यासनालिटी) ले काम गरेको देखिँंदैन । फाइदा पाउने भए पनि मानिसहरू आफूसँग भएको कुनै पनि वस्तु हत्तपत्त छोड्न तयार हुँदैनन् । यो हात लागेको कुरा नछोड्ने ‘प्राप्तिको प्रभाव’ (इन्डाउमेन्ट इफेक्ट) हो । यही ‘इन्डाउमेन्ट इफेक्ट’ का अध्येता रिचर्ड एच थेलरले अर्थशास्त्रमा सन् २०१७ को नोबेल पुरस्कार पाए । उनले व्यवहारवादी अर्थशास्त्र (बिहेभिअरल इकोनोमिक्स) मा पुर्‍याएको योगदानका लागि नोबेल कमिटीले यो पुरस्कार दिएको हो ।


सन् १९७० को दशकमा थेलर रोचेस्टर विश्वविद्यालयको त्यतिबेला अत्यन्तै रुढीग्रस्त मानिने अर्थशास्त्र विभागमा ‘ग्रयाडुयट’ विद्यार्थी थिए । अर्थशास्त्रका मान्यताविपरीत, उनका अनेकौ विधर्मी चासो र जिज्ञासाहरू थिए । खासगरी उनलाई प्रोफेसर ‘आर’ को वाइन खरिद र संग्रह गर्ने रुचिले आश्चर्यचकित बनाएको थियो । मस्तिष्कभित्र कमिलाको गोलो दौडिएभैंm सगसगी सुरु गराएको थियो । प्रोफेसर ‘आर’ वाइनका पारखी थिए र अक्सर बोलकबोलमा पाँच डलर मूल्यदेखिका वाइन बोतल किन्थे । र, पैंतीस डलरभन्दा बढी कहिल्यै तिर्न तयार हुँदैनथे । तर उनी प्रतिबोतल एक सय डलर पाउँदा पनि आफ्नो संकलनबाट एउटा पनि बाइन बेच्न भने तयार हुँदैनथे । सन् १९७५ मा एक सय डलर ठूलै पैसा मानिन्थ्यो । अझ चाखलाग्दो के भने, उनी नाफाघाटाको निर्णय सिकाउने वित्तीय अर्थशास्त्र पढाउँथे र आफूलाई ‘र्‍यासनल इकोनोमिस्ट’ भन्न रुचाउँथे ।

अर्थशास्त्रको भाषामा तर्कसंगत व्यवहार गर्ने (र्‍यासनल एजेन्ट) त्यसलाई भनिन्छ जसका छनोट प्राथमिकताहरू प्रस्ट छन्, जो सस्तोमा धेरै पाउँदा लिइहाल्न वा मौका पाउनासाथ महँगोमा बेचेर सकेसम्म धेरै नाफा कमाउँदा बढी खुसी हुन्छ । र, त्यसरी नै व्यवहार गर्छ । सोझो भाषामा जो बढी लोभी छ त्यो अर्थशास्त्रले चिनेको सबभन्दा विवेकी उपभोक्ता वा उत्पादक हो । तर, आफ्नो हात परेको वस्तु ठूलो नाफा कमाउँदा पनि बेच्न वा साट्न नचाहने प्रोफेसर ‘आर’ को जस्तो व्यवहार अर्थशास्त्रको स्थापित सिद्धान्तविपरीत थियो । यो दृष्टिले प्रोफेसर ‘आर’ को अस्वाभाविक आर्थिक व्यवहार गरिरहेका थिए । यस्ता अस्वाभाविक अथवा असंगत आर्थिक व्यवहार समाजका प्राय: सबैले देखाइरहेका थिए, कुनै न कुनै रूपमा । यसलाई थेलरले ‘इन्डाउमेन्ट इफेक्ट’ नामकरण गरे । यसले नै बिहेभिअरल इकोनोमिक्सको जग बसाल्यो । सन् १९८० प्रकाशित जर्नल अफ इकोनोमिक बिहेभिअर एन्ड अर्गनाइजेसनमा प्रकाशित ‘टुवार्ड अ पोजिटिभ थ्योरी अफ कन्सुमर च्वाइस’ शीर्षकको अनुसन्धान आलेख (पृष्ठ ४३) मा थेलरले यी ‘मिस्टर आर’ को उदाहरण दिएका छन् ।

थेलरको मान्यता छ, ‘अर्थशास्त्रका स्थापित मानक सिद्धान्त (नर्मेटिभ थ्योरी) हरूमाथि मात्रै एकात्मक रूपले निर्भर हुँदा अर्थशास्त्रीहरू उपभोक्ताहरूको छनोटको व्याख्या वा पूर्वानुमान गर्नमा सहजै देखिने गल्तीतर्फ उन्मुख भइरहेका छन् । यसको विकल्पमा मानकभन्दा व्याख्यात्मक, व्यावहारिक, सांसारिक सिद्धान्त (पोजिटिभ थ्योरी) हरू समस्या आर्थिक निर्णयसम्बद्ध समस्या समाधानमा सहायक हुन्छन् ।’

अर्थशास्त्रीहरूले गर्ने तिनै गल्तीहरूका कारण उपभोक्तहरूको छनोट मनोविज्ञानको बेवास्ता हुन जान्छ । त्यसैले, वस्तु वा सेवा उत्पादन गरेर नाफा कमाउने उद्देश्यले स्थापित कम्पनीहरू त डुब्छन् नै, अर्बौं रकमका विकास आयोजनाहरूले पनि प्रतिफल दिंदैनन् । कच्ची झुपडीअगाडि बनाइएका पक्की चर्पीमा मानिसहरू दिसापिसाब गर्न जाँदैनन् । त्यहाँ अन्न थुपार्छन् वा बाख्रा बाँध्छन् । अफ्रिकामा औलो सार्ने लामखुट्टेको टोकाइबाट बचाउन वितरण गरिएका झुललाई मानिसहरूले माछा मार्ने जालीको रूपमा प्रयोग गरे । यी दृष्टान्तहरूमा मानिसहरूलाई विकास त दिइयो तर यसलाई प्रयोग गर्ने व्यवहार वा मनोविज्ञानको अभाव रह्यो । लगानीको अपेक्षित परिणाम आएन ।

सन् २००८ मा प्रकाशित थेलर र कास सस्टेनको पुस्तक ‘नज : इम्प्रुभिङ डिसिजन्स एबाउट हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेस’ ले उपभोक्तालाई यस्ता निर्णय लिन मनोवैज्ञानिक उत्प्रेरणाको आवश्यकता भएको तर्क गरेको छ । र, यो पुस्तक विकासे कार्यकर्तादेखि कम्पनीहरूका मार्केटिङ एजेन्टसम्मलाई ‘नयाँ धर्मग्रन्थ’ सरह भएको छ । ‘नज’ लाई नेपालीमा ‘होस्टेमाथिको हैंसे’ भनेर बुझ्दा सायद सबभन्दा उपयुक्त हुन्छ । अलिकति थप धक्काले अपेक्षित परिणाम ल्याउँछ भन्ने नै ‘नज’ को सार हो । मानिसहरूलाई छनोटको स्वतन्त्रता त दिने तर के छान्ने भन्नेतर्फ प्रेरित गर्ने अभिभावकत्व पनि कायम राख्ने ‘लिबरटारियन पेटर्नालिजम’ को प्रस्ताव उनले गरेका छन् ।

सिङ्गापुरका ली क्वान यूहरू ‘लिबरटारियन पेटर्नालिस्ट’ का उदाहरण हुन् ।

‘नज’ पुस्तकमा समाविष्ट एउटा उदाहरण । एम्स्टरडमको स्किपल एयरपोर्टको पुरुष शौचालयमा मानिसहरूको जथाभावी पिसाब गर्ने बानीले सफाइ कर्मचारीहरू वाक्क थिए । एक जना डिजाइनरले अक्कल निकाले र युरिनलको ‘ठीक’ ठाउँमा एउटा भिंmगा बसेको दुरुस्तै आकृति बनाए । त्यसपछि पिसाब युरिनलबाहिर पर्ने क्रममा असी प्रतिशतसम्म कमी आयो । सामान्यत: के सोचिन्थ्यो भने मानिसहरू खासै कुनै कुरा वास्ता नगरी पिसाब छोड्छन् । तर वास्तविकता त्यस्तो होइन रहेछ । जब उनीहरूले पिसाबको धारो सोझ्याउने ‘लक्ष्य’ भेटे, उनीहरूले त्यसैलाई हान्ने प्रयास गरे । यस्तो लक्ष्यको अभावमा मात्रै उनीहरू लक्ष्य–निस्पृह रहेछन् । यसरी, विकास योजना डिजाइनमा समावेश गरिने मनोवैज्ञानिक अवयवले त्यसले दिने व्यावसायिक लाभ र आर्थिक परिणतिमा फरक पार्छ, लेखकद्वयले भने ।

नेपाली बुफेहरूमा खानाको लाममा मासु सबभन्दा पछाडि किन राखिएको होला ? तर्क जताबाट पनि गर्न सकिन्छ— मासु नखानेहरूलाई लाटलुट नहोस् भनेर अथवा सबै खाना लिएर भरिएको प्लेटमा मानिसहरूले मासु कम राख्छन् र खर्च कम लाग्छ भनेर । कारण जे भए पनि यो जुक्ति निकाल्ने मानिसले खाना राख्ने खास संरचनाले फरक पार्छ भन्ने मान्यतालई स्विकारेको छ । थेलरले पुस्तकमा खाना खान अल्छी गरेर पर्याप्त पोषण नपाउने केटाकेटीहरू र धेरै खाएर मोटोपन बढाएका केटाकेटीका विद्यलायहरूमा खाना राख्ने क्रमलाई फरक पारेर उनीहरूको स्वास्थ्यमा अपेक्षित परिणाम आउने उदाहरण प्रस्तुत गरेका छन् । यस्तै तर्क सामान बिक्रीका हकमा पनि लागू भइरहेका छन् । भारतमा घरअगाडि बनाइएका चर्पीमा मात्र बाख्रा पालेको भेटियो । घरपछाडि बनेका बहुसंख्यक चर्पीहरू उद्देश्यअनुरूप नै प्रयोगमा आए । यसरी उपभोक्ताले प्राथमिकता छान्ने संरचनामा ल्याइने मनोवैज्ञानिक परिवर्तनलले त्यसबाट आउने परिणाममा पनि फरक पर्ने तर्क थेलरले गरेका छन् । यो छनोट संरचना अथवा ‘च्वाइस आर्किटेक्चर’ को नयाँ अवधारणा उनले दिएको अर्को योगदान हो ।

थेलरको सन् २०१४ मा ‘मिसबिहेभिङ, दी मेकिङ अफ बिहेभिअरल इकोनोमिक्स’ पुस्तक प्रकाशित भयो । मानिसका कमजोरीजन्य व्यवहारलाई नै उनीहरूको हितमा प्रयोग गर्न यो अर्थशास्त्रीय सिद्धान्त उपयोगी मानिएको छ । सबैलाई थाहा छ, बुढेसकालमा कमाउन सकिंदैन । पेन्सन वा बचत चाहिन्छ । तर, तत्कालको मोजमज्जामा खर्चन छोडेर अलिअलि बचत गर्ने जाँगर कसैलाई छैन । त्यसका लागि अहिले नै बचत गर्न थोरै ‘नज’ र ‘च्वाइस आर्किटेक्चर’ चाहिन्छ । व्यवहारवादी अर्थशास्त्रले मानिसलाई वस्तु वा उपभोक्ताका रूपमा मात्र नहेरेर सिङ्गो मानवका रूपमा हेर्ने दाबी थेलरको छ । ऊ सधैं नाफा र लाभ मात्र हेर्दैन । दान, आत्मसन्तुष्टि, विश्वास र त्याग पनि उसका थप आर्थिक व्यवहार हुन्, जसलाई यो मनोविज्ञान सम्मिश्रित अर्थशास्त्रको नयाँ हाँगो, व्यवहारवादी अर्थशास्त्रीय अध्ययनले समेट्छ । (खै किन हो, थेलरले नोबेल पुरस्कार पाएर चर्चित हुनुअघि नै यो ‘मिसबिहेभिङ’ पुस्तकले पङ्क्तिकारलाई पनि अचम्मै आकर्षित गरेको थियो र अरू धेरैलाई पढ्ने सिफारिस पनि गरेको हो । ‘नज’ पढ्ने सल्लाह दिंदा एक जना विकासप्रेमी भनिन रुचाउने नेपाली नेताले बडो नमीठो मुखमुद्रा बनाएका थिए, मानौं उनी भन्न चाहन्थे, ‘हामी सर्वज्ञानीहरूलाई पनि तैंले पुस्तक पढ्ने सल्लाह दिने !’)

थेलरले विश्वप्रसिद्ध मनोवैज्ञानिकहरू ड्यानियल कहनेमन र अमोस ट्रवेस्कीसँग मिलेर खोज अनुसन्धान गर्ने अवसर पाए । अनोठो के भने यी दुईले मनोवैज्ञानिक भएर पनि सन् २००२ मा अर्थशास्त्रको नोबेल पुस्कार जिते । उनीहरूले अनिश्चितताबीच मानिसहरूले कुन मनोविज्ञानका आधारमा आर्थिक निर्णयहरू गर्छन् भन्ने विश्लेषण गरे । तर, यी दुवैले व्यवहारवादी अर्थशास्त्रको छुट्टै संभाग निर्माण गरेको श्रेय भने थेलरलाई नै दिएका छन् ।

थेलरको अध्ययनको विषय बनेका वाइनप्रेमी ती प्रोफेसर ‘आर’ को परिचय कालान्तरमा खुल्यो । उनको नाम प्राध्यापक रिचर्ड रोसेट रहेछ । उनी सिकागो ग्रयाडुयट स्कुल अफ बिजनेसका डिनसमेत भए । उनको वाइन बोतलमा ‘इन्डाउमेन्ट इफेक्ट’ परेको थियो, नेपाली नेताहरूलाई कुर्सीमाथि परेजस्तै ।

रोसेट नै नोबल पुरस्कार पाउने प्रारम्भिक प्रेरणा भएकाले उनीप्रतिको सम्मान झन् बढेको थेलरले बताएका छन् ।

twitter : @Beitwag

प्रकाशित : पुस २९, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?