कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घुर जिन्दगी

निबन्ध
चन्द्रकिशोर

काठमाडौँ — यी हुन् भभिखनकी माई । नामले पनि वर्गको पहिचान दिन्छ । हुने खाने घरमा जन्मिएको भए ती बालक ‘विभीषण’ कहलिन्थे । तर उनलाई गाउँलेहरूले चिनाए भभिखन भनेर र तिनकी आमा चिनिइन् ‘भभिखनकी माई’ भनेर । मधेसमा अहिले पनि महिलालाई या त माइती गाउँको नाउँसँग जोडिएर बोलाइन्छ वा सन्तानको नामसँग गाँसिएर चिनाइन्छ ।

घुर जिन्दगी

यिनी अर्थात् भभिखनकी माई घुरको छेउमा बसेकी छन्, छेउमै एउटा बाख्रो बसेको छ तर घुरमा अब आगो जिउँदो छैन । त्यो त खरानीको थुप्रो भइसकेको छ । यही खरानीको थुप्रो न्यानो दिने माध्यम भएको छ भभिखनकी माईका खातिर । न्यानोको अनुभूति भरोसाबाट उत्पन्न हुन्छ । तिनलाई पनि थाहा छ आगो निभिसकेको छ, पातकसिङ्गरको आगो कतिवेर नै थेग्छ र † तैपनि उनी त्यही ठेहुनिया मारेर बसेकी छन् । सायद यस्तै विश्वासको साइनो जोडेर गाउँघरतिर बूढापाकाहरूले वीरबलको खिचडीको कथा सुनाउँछन् ।

शीतलहरको ऐनामा नियाल्ने हो भने पीडित गाउँको दुईथरीको अनुहार देखिन्छ । नव सम्पन्न गाउँलेको जाडो छल्ने तैयारी र कमजोर गाउँलेको दुरूह दैनिकीको भिन्नता प्रस्ट झल्किन्छ । यो सबै लेख्नु जरुरी पनि छ र लेख्नुको खतरा पनि । खतरा स्वयंलाई फेरि एकपटक दोहोर्‍याउनु पनि हो । अलगअलग बन्दै गरेको मधेसका गाउँको नवछविले नयाँ विकसित परिस्थितिको अवस्था देखाउँछ । जति सरल तरिकाले गाउँभित्र दुईथरीको गाउँ छ भनेर भन्न सकिन्छ त्योभन्दा कतै ज्यादा धनी गाउँलेले गरिब गाउँलेलाई उपनिवेशको जस्तै प्रयोग गरिराखेको अवस्थालाई सरलीकरण गरेर भन्न गार्‍हो छ । यदि यस देशमा कुनै समाजवादी आन्दोलनको अलिकति पनि आगो वा अलिकति पनि उष्मा जोगिएको भए त्यसले यस भिन्नतामाथि प्रतिरोधको घुर बाल्थ्यो ।

हिजोसम्म जुन गाउँ गर्मी र पानीले परेसान थियो । आज अचानक कुहिरोको झिनु बर्कोे ओढिरहेको भान हुन्छ । गाउँको साझ सार्‍है उदास र नरमाइलो हुन थालेको छ । सडक चाडै रित्तो र गाउँ बुच्चो देखिन थालिन्छ । यस्तो हविगत त्यत्तिकै भएको होइन । पहिला पहिला गाउँको साँझ र राति गुल्जार हुन्थ्यो । यो बदलावका पछाडि गाउँले

आफ्नो आर्थिक र सामाजिक तौरतरिका गुमाएको छ । यही गाउँ हो जहाँ साँझ पर्नासाथ मानिसहरू घुरका वरिपरि झुमिन्थे । त्यहाँ लोकगीत, लोककथा सुनाउनेहरूको

जमघट हुन्थ्यो । अल्हा गाइन्थ्यो, गोपीचन्द–राजा विक्रमादित्यको कथा कहिन्थ्यो, फकरा सुनाइन्थ्यो, समवेत संकीर्तन गरिन्थ्यो । धान काटेर घरमा भित्र्याइसकेपछि एक सन्तुष्टि देखिन्थ्यो । घुर जाडो छल्ने एउटा मेसो मात्र थिएन, लोक परम्परालाई निरन्तरता दिने साँघु पनि थियो । त्यसेले पो भनिन्थ्यो, ‘घुरे लेना, घुरे देना, घुरे भोजन, घुरे चबेना’ अर्थात् घुरकै वरिपरि घरगृहस्थी, लेनदेनको कुरादेखि खाजा र खानासम्म गरिन्थ्यो ।

मधेसमा घुर पारम्परिक रूपमा सामुदायिक संवादको थलो थियो । त्यसैले होला कतिपय ज्ञानीहरू ‘घुर संवाद’ को कुरा गर्छन् । हो पनि कुनै समय थियो घुरको वरिपरि तीन–चार पुस्ताका मानिसहरू बसेका हुन्थे । तिनीहरूका माझ घरगृहस्थी, छरछिमेक र टोलका बारेमा अनेकथरीका कुराहरू हुन्थे । कोठाबाट बाहिर व्यक्तिलाई ल्याउँथ्यो । र व्यक्तिले पनि समाजसँग जोडिने शेतुको रूपमा ‘घुर’ लाई ठान्थ्यो । अचेलको फेसबुकिया माहोलमा मान्छे घरभित्रै थुनिएका छन् । बरु यस्तै शीतलहरको मौका पारेर घुर ताप्दै गरेको अनेक मुद्राका तस्बिरहरू साझेदार गरिराखेका हुन्छन् । त्यसैले पनि होला जाडोको सन्दर्भसँगै घुर ताप्दै गरेको तस्बिर मानसमा आउँछ । यस्तै तस्बिरहरूले सम्मोहित भएका कतिपय सहरियाहरू भन्छन्, ‘यार घुर संवाद गर्न देहात छिर्नुपर्छ ।’

कुनै पनि क्षेत्रको लोकगीत भनेको त्यस क्षेत्रको जनताको उद्गार हो । त्यो उनीहरूको आन्तरिक जीवनको सच्चा प्रतीक पनि हो । मधेसीहरूको जीवन सधैंदेखि संगीतमय रहँदै आएको छ । प्रत्येक उत्सव, पर्व र तिहारको अवसरमा समयोचित गीत गाएर मनोविनोद गर्नु यहाँको दिनचर्याको एक अङ्ग नै हो । सुखको दिन होस्, कि दु:खको रात सबै प्रहरमा अभिव्यक्तिका माध्यम लोकगीत नै हुन्थ्यो । सस्र्यु फुल्ने मौसममा धनरजाइले जाडो छल्न नसकिँदा कोही नि:शब्द रातमा बारहमासा गाई रहेकी हुन्थिन्—पुस ऐ सखि फसे फुसारे गइले, हम धनि वानी अकेली

सुन मन्दिलबा, रतियो ना बिते, कब दों न होइहें बिहान

माघ ए सखि जाडा लगतु है, हरि बिनु जाडो न जाई

हरि मोरा रहिते त गोद मे सोबइत, असर न करिते जाड

अर्थात् पुसको महिनामा वर्षा भइदिएको छ । सुनसान घरमा म एक्लो छु । जाडोले रातिमा मलाई निद्रा लागिरहेको छैन । उता कहिले बिहान हुन्छ थाहा छैन । माघ महिनामा निकै जाडो लाग्छ, पतिसँग नसुत्दा जाडो जाँदैन । बिदेसिएका पति घरमा भइदिएको भए हामी सँगै हुन्थ्यौं र जाडोको असर पनि कम हुन्थ्यो होला ।

पुस मास घन परत टुसार

काँपत अङ्ग जोबन थहरात

काँपत गेडुआ काँपत सेज

बिनु सईयाँ काँपत गोरी के करेज

अर्थात् पुसको महिनामा तुसारो निकै जोडले पर्छ । जाडोले गर्दा अङ्गअङ्ग काप्न थालेको छ । लोटाको पानी पनि हल्लिन थालेको छ, मानौ जाडोले त्यो पनि काप्दै छ, ओछ्यान पनि कम्पित भइराखेको छ र पतिको बिना मेरो हृदय पनि चलायमान भइराखेको छ । तर अब यी यस्ता बारहमासा लोकभाका गुनगुनाउने बूढीआमाहरू मात्रै छन् । नयाँ पुस्ताकाहरू त परदेसिएका पतिसँग फोन संवादमै आफ्ना लय र ताल मिलाउनमा मस्त र व्यस्त देखिन्छन् ।

चिसो चिसो होइन, कसैका लागि दैनिकी पनि हो, दाउरा काटनेले पसिना बगाउँदै दाउरा काटिराखेका हुन्छन् । गाईवस्तुको बन्दोबस्ती गर्नेले आफ्नो काममा जोतिएकै हुन्छन्, नहर वा पोखरीबाट पानीमा भिज्दै गहुँमा पानी पटाउनेहरू पटाइराखेकै हुन्छन्, ग्रामीण सडकको मर्मतमा खटिएका मजदुरहरू कोदालो चलाएकै हुन्छन्, माछाका कारोबारीहरू जलाशयमा छिरेकै हुन्छन् । साइरन बज्नेबित्तिकै मध्यरातमा पनि कारखानातिर दौड्ने मजदुरहरू हुन् वा सुनसान सडकमा ठेला वा रिक्सा चलाउँदै पैताला खियाउनेहरू हुन् । यसरी शीतलहरमा पनि जाडोलाई हाँक दिनेहरू कम्ती छैनन् । अरू पनि छन् जो पेटको आगोलाई शान्त पार्न कुहिरोलाई चिर्दै कामको मैदानमा डटिएका हुन्छन् ।

धर्म र भगवान्को अवधारणाले सबैभन्दा बढी महिलालाई नै नोक्सानी गरेको छ । यसको कारण यो मात्र छैन कि समाजमा पुरुषहरूको वर्चस्व छ, जसले उनीहरू प्रचलित नियमावलीलाई भत्काउन सकून् र आफ्नो अनुकूलको बनाउन सकून् । महिलाहरू परम्पराकै नाममा बुनिएको जालोमा यतिबिघ्न कैद हुन पुगेका छन् कि विपदहरूको असर पनि तिनीहरूमाथि नै बढी पर्छ । मेरा एक देहाती संगतिया भन्दै थिए, ‘मौगी सब के देह काठ के होखेला’ मतलव महिलाहरूको काया काठको हुन्छ रे † तिनीहरूलाई जाडो लाग्दैन रे † त्यसैले त उनी सूचना दिँदै थिए, ‘शीतलहरको एक बिहान म सिरकमा गुज्मुटिएर बसेको थिएँ उनी चिया बिछाउनामै खुवाई, खानाको जोरजाममा लागिन्, हद त त्यतिखेर भो जब उनी दुई बोझा कपडा पखाल्न धारातिर निस्किन् ।’ तिनको भनाइमा एक प्रकारको सहानुभूति थियो तर त्यसले उजागर गरिदिएको अर्को तथ्य के थियो भने मध्यमवर्गीय परिवारमा पनि चिसोको चपेटासँग महिलाहरू नै जुघ्नुपरेको छ । एकथरी सहरिया/देहतिया पुरुष त बसीबसी नै सामाजिक सञ्जालमा अपडेट गरिराखेका हुन्छन आज चिसो यति बढ्यो, यति घट्यो । महिला त चिसोलाई भोगिराखेकी हुन्छन् ।

जोसँग सम्पत्ति छ मधेसमा तिनको एउटा ठूलो हिस्सा अहिले पनि महिलालाई सम्पत्ति नै ठान्छन् र घरभित्र लुकाएर राख्न चाहन्छन् । जसले जति चौखटभित्र महिलाहरूलाई राख्न सक्यो, राख्यो उति सम्भ्रान्त कहलिन्छ रे । त्यसको विपरीत मजदुर वर्गका महिला खेतमा पुरुषसँग काँधमा काँध मिलाएर प्रत्येक प्रकारका श्रम गर्छन् । गाउँ देहातमा छोटाबडाको पहिचान महिलाहरूको जीवनसँग पनि गाँसिएर देखिन्छ । उच्च जाति भनिएका तर गरिब व्यक्तिहरू खेतमा निम्न वर्गका व्यक्तिसँगै काम गरिरहेको देखिन्छ, तर तिनको महिला खेतमा मजदुरी गर्न जाँदैन । गाउँ देहात वा सहरको जीवनमा शीतलहरसँग महिलाहरूको नै लडाइँ पर्छ । शीतलहरले वर्ग र जात दुइटैको रेखालाई मोटो देखाउँछ । कमजोर, पिछिडिएका, विपन्नहरू प्राय: तिनीहरू हुन् जो जातिमा कथित तल्लो छन्, छोटा जातिका छन् । त्यसैगरी यसले पछाडि पारिएका क्षेत्रको पनि कथाव्यथालाई बाहिर ल्याउँछ । लैङ्गिक असमानताको अँध्यारो पक्षलाई शीतलहरको कुहिरोले छोप्न सक्दैन ।

शीतलहरबाट जोगाउन जसरी न्यानो कपडाको वितरण चलेको छ त्यो देखेर लाग्छ अब सरकारले चाँडै नै एउटा ‘राष्ट्रिय ग्रामीण प्रधानमन्त्री सुनिश्चित वस्त्र योजना’ लागू गर्नुपर्ला । त्योभन्दा पनि पहिला गाउँ–गाउँमा तथ्यांक संकलनका लागि कर्मचारी खटिनुपर्‍यो । ती कर्मचारीहरूले घुर ताप्दै अन्त:वस्त्र र बाह्य वस्त्रको लागत तयार गर्नेछन् र त्यसका आधारमा कुनै दाताको खोजी गरिनेछ । तबसम्मका लागि सर्वेक्षण टोलीसमक्ष सरकारबाट खैरात पाउने लोभमा गरिब गाउँलेहरू आफूलाई नाङ्गो खडा भएको देखाउनुपर्नेछ, किनभने तथ्यांक संकलन जो हुँदै छ । जसरी घर गोठमा भएको फोहोरलाई थुपारेर घुर बालिन्छ, त्यसैगरी चारैतिर घुर बालेर शीतलहरको कहरको वास्तविक कारणलाई सरकारले ढाकछोप गर्दै छ । म हेर्दै छु, एक जना वृद्धा दसाें नह जोडेर (दसौं औंला जोडेर) प्रार्थना गर्दै थिई— ‘जय बजरंग बली धजाधारी / उठाइँ जाढ, ल्याई रउदा भारी / खिचडी के बा, दिन दु चारी/

खबर ली हमारी, सरन तिहारी’

प्रकाशित : पुस २९, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?