कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आधुनिक हुलाक

सहर
इन्टरनेट र मोबाइलको प्रयोगका कारण हुलाकमार्फत व्यक्तिगत चिठीपत्र आदानप्रदान निकै घटेको छ ।  प्रशासनिक कार्यका लागि पत्र पठाउने चलन भने कायमै छ ।
शिल्पा कर्ण

काठमाडौँ — अचेल ‘घुम्ती हुलाक’ लेखिएको भ्यान उपत्यकाका तीनै जिल्लाका सडकमा देख्न सकिन्छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न कार्यालयसँग गरेको सम्झौताअनुरूप पत्रहरू दर्ता गर्नका लागि यिनीहरू गुडिरहन्छन् ।

आधुनिक हुलाक

२०७४ वैशाख मध्यदेखि सञ्चालनमा आएको यो सेवाले तीन महिनामा ४ लाख २७ हजार राजस्व उठाएको गोश्वारा हुलाक कार्यालयको तथ्यांक छ । ‘घुम्ती हुलाक प्रभावकारी देखिएको छ,’ गोश्वारा हुलाकका सूचना अधिकारी निर्मला थापाले भनिन्, ‘सम्झौता गर्न इच्छुक कार्यालय बढ्दै छन् । राजस्व पनि बिस्तारै उठ्दै छ ।’

हुलाकको अस्तित्वमाथि प्रश्न उठिरहेको बेला यो सेवाले भने छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ । तीनवटा भ्यानलाई तीन जिल्लामा चलाए पनि अब यसलाई अन्य जिल्लामा पनि विस्तार गर्नेबारे छलफल भइरहेको जानकारी उनले दिइन् ।

घुम्ती हुलाकले विभिन्न कार्यालयको चिठीपत्र ल्याउने गरी सम्झौता गरेको छ, जसमा अधिकांश सरकारी कार्यालय छन् । ‘हामी उधारोमा काम गर्छौं । महिनाको अन्त्यमा सेवाबापतको रकम बुझ्छौं,’ सूचना अधिकारी थापाले भनिन् । उक्त भ्यानले सम्झौता गरेका कार्यालयमै पुगी रजिस्ट्री र आन्तरिक दु्रत डाक सेवा (ईएमएस) सेवा दिन्छ ।

इन्टरनेट र फोनको युग आएसँगै चिठीपत्रको संख्या निकै कम भएकाले हुलाकको प्रयोग घटेको कर्मचारी बताउँछन् । यद्यपि यस अवधिमा केही नयाँ प्रयोग र योजनाको थालनी पनि भएको छ । थापाका अनुसार आफ्नो चिठी कहाँ पुग्यो भनी अब सफ्टवेयरबाटै थाहा पाउन सकिनेछ ।

पर्सनल इन्टरनल ट्रयाकिङ सिस्टम (पिट्स) अन्तर्गत हुलाकको वेबसाइटमा गई नेपालभित्र पठाएको पत्रको दर्ता नम्बर राखेर आफ्नो चिठी कहाँ पुग्यो हेर्न सकिन्छ । तर यो सुविधा त्यति व्यापक भने छैन । उपत्यकासहित पाल्पा, बुटवल, बाँकेजस्ता केही जिल्लाले मात्र पत्र पुगे/नपुगेको जानकारी अद्यावधिक गरि सफ्टवेयरमा राख्ने गरिएको छ । हुलाकको ईएमएस सेवाले पनि प्रगति गरिरहेको तथ्यांकले देखाउँछ । ईएमएस अर्थात् दु्रत डाक सेवाले पछिल्लो ५ वर्षमा आय बढाइरहेको छ । सन् २०१२ मा ३ करोड ३५ लाख ७० हजारभन्दा बढी राजस्व आन्तरिक ईएमएस सेवाबाट उठेको थियो । २०१३ सम्म आइपुग्दा ३ करोड ९० लाख ६३ हजार उठेको थियो ।

सन् २०१४ र २०१५ मा पनि ईएमएसबाट राजस्व उठ्ने क्रम बढिरह्यो । २०१६ सालमा ४ करोड ५६ लाख १७ हजार आय भएको हुलाक सेवा विभागको तथ्यांकले देखाउँछ ।

हुलाक कार्यालय सुन्धाराले अनलाइन पोस्ट बक्स सेवा सन् २००८ बाट सुरु गरेको हो । जसमा यो सेवाग्राहीले आफ्नो पोस्ट बक्समा कुनै सामग्री वा पत्र आए सोको जानकारी वेबसाइटमा ‘लग इन’ गरी पाउँछन् । पोस्ट बक्स सेवा काठमाडौं जिल्लामा १९ हजार ७ सय २५ ले लिए पनि १३ हजार ४ सय ५८ खाता सक्रिय छन् ।

हुलाक बचत बैंकबाट गत आर्थिक वर्षमा ८६ लाख आय भएको गोश्वारा हुलाक कार्यालय सुन्धाराको तथ्यांक छ । ३/४ प्रतिशत ब्याजदर दिने हुलाक बचत बैंकमा बचत गर्नेमा बढीजसो पुराना पुस्ताका छन् । अधिकांश नयाँ पुस्तालाई यसको जानकारी छैन । यस बैंकमा सर्वसाधारणले पनि खाता खोलेर बचत गर्न सक्छन् ।

पत्रपत्रिका दुर्गममा पठाउन पनि हुलाककै प्रयोग हुँदै आएको छ । निजी कम्पनीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय पार्सल सेवा दिए पनि ती हुलाकभन्दा निकै महँगा छन् ।

एक समयमा पत्रमित्रताको चलन थियो । रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सञ्चारमाध्यममा प्रसारण हुने कार्यक्रमका लागि देशैभरिबाट चिठी आउँथ्यो । हुलाक कार्यालय काठमाडौंमा बोराका बोरा चिठी राख्ने ठाउँ पनि नभेटिने अवस्था थियो भन्दा पत्यार नलाग्न सक्छ ।

तर अहिले रेडियो टेलिभिजनले फोन र केहीले इन्टरनेटबाट श्रोता तथा दर्शकसँग जोडिन मन पराउँछन् । त्यसैले पनि पत्रको संख्या घटेको हो । व्यक्तिगत जीवनमा पनि हुलाकभन्दा फोन, इमेल, सामाजिक सञ्जाल नै प्रयोग भइरहेका छन् ।

व्यक्तिगत चिठीपत्र कम भएसँगै सार्वजनिक स्थलमा राखिने ‘पत्र मञ्जुषा’ पनि घट्दै गएका छन् । अधिकांश लेटर बक्स काठमाडौं जिल्लाका सार्वजनिक स्थानमा थिए । केही वर्षअघिसम्म रिंगरोडभित्र मात्रै ७० लेटर बक्स थिए भने अहिले जिल्लाभरिमा २१ वटा रहेको गोश्वारा हुलाक कार्यालयले जनाएको छ । लामो समयसम्म खासै चिठी नखस्ने भएपछि स्थानीय बासिन्दाको सहमतिमा लेटर बक्स बन्द गरिएका हुन् ।

इन्टरनेट र मोबाइलको प्रयोगका कारण हुलाकमार्फत व्यक्तिगत चिठीपत्र आदानप्रदान निकै घटेको छ । प्रशासनिक कार्यका लागि पत्र पठाउने चलन भने कायमै छ । विशेषगरी सरकारी कार्यालयले सबै काम पत्रमार्फत हुन्छ । पोस्टम्यान दिवाकर खनालले भने, ‘पहिलेभन्दा चिठीको संख्या कम भएकै हो । तर कार्यालयको चिठी बढेका छन् ।’ उनको अनुभवमा व्यक्तिगत चिठीका नाममा क्रिसमस, नववर्ष आदिमा पोस्ट कार्डको संख्या बढ्छ ।

उनले २० वर्षअघि काम सुरु गर्दाको भन्दा अहिले चिठी आउने क्रम आधा भएको छ । विदेशबाट आउने सामग्री भने त्यति धेरै नघटेको खनालले बताए । । बिदेसिनेको संख्या बढेसँगै बाहिरबाट नेपालमा सामान पठाउनेको संख्या बढ्दो छ ।

२२ वर्षदेखि हुलाकमा कार्यरत तेजबहादुर मल्लका अनुसार राजधानीमा स्थानअनुसार चिठी संख्या फरक हुने गर्छ । ‘ठमेलको लेटर बक्समा अन्य स्थानभन्दा धेरै पत्र हुन्छन्,’ मल्लले भने, ‘विदेशीहरूको चिठी पनि उत्तिकै आउने हुँदा औसतमा दिनहुँ सयवटा पत्र हुन्छन् ।’ स्वयम्भू, क्षेत्रपाटीजस्ता ठाउँमा भने पत्रको संख्या निकै कम हुन्छ ।

अब के गर्ने त ?

पृथ्वीनारायण शाहकै पालादेखि कागज बोक्ने ‘कागते’ र सेनाहरूका लागि रसदपानी बोक्ने ‘थाप्ले’ का रूपमा पत्र ओसारपसारको काम भएको इतिहास छ । विसं १९३५ मा नेपाल हुलाक घर स्थापना भयो, एउटै सञ्चारको माध्यम भएकाले हुलाकले विशिष्ट स्थान पाउनु स्वाभाविक थियो ।

अहिलेको हुलाक पार्सल र ईएमएसले धानेको हुलाक प्रशिक्षण केन्द्रका पूर्व प्रशिक्षक गोकर्णप्रसाद उपाध्यायले बताए । ‘मुख्य कुरा हुलाकको विश्वसनीयता घटेको छैन,’ उपाध्यायले भने, ‘थाइल्यान्ड, जापान आदि देशको हुलाक फस्टाइरहेको छ, किनकि त्यहाँ व्यावसायिकता छ । उनीहरू व्यापार केन्द्रित छन् ।’

प्रविधिको प्रयोग गरी समयानुकूल हुलाकको क्षेत्र व्यापक बनाए हुलाक फस्टाउँदै जाने उनी बताउँछन् । सिर्जनशील युवा कर्मचारीलाई मौका दिनु पनि उत्तिकै जरुरी रहेको उनको भनाइ छ ।

हुलाकको प्रयोग तथा राजस्व बढाउन नयाँ–नयाँ योजना ल्याउनुका साथै प्रविधिको प्रयोगलाई स्थान दिनु आवश्यक रहेको हुलाक सेवा विभागका शाखा अधिकृत घनश्याम सुवेदीले बताए । नेपालमा मात्र होइन, विश्वमै व्यक्तिगत चिठी घटेका छन् । हुलाकले चिठी मात्र बोक्ने हो भन्ने अवधारणाले यसो हुनु स्वाभाविक भएको सुवेदीको भनाइ छ ।

‘थाइल्यान्डको हुलाकले मोटरसाइकलसमेत डेलिभरी गर्छ,’ सुवेदीले उदाहरण दिए, ‘विदेशका सफल हुलाक हेर्दा उनीहरू पिज्जा डेलिभरीसमेत गर्छन् । तर नेपालमा यस्तो अवधारणा आइसकेको छैन ।’ नेपालमा यो कल्पनाभन्दा बाहिरको कुरा हो अहिले ।

प्रकाशित : पुस २९, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?