कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्याराभान टु क्यान्जिङ

यात्रा
स्मिता पौडेल

काठमाडौँ — भोटेकोसीमाथि तनक्क तन्किएको स्याफ्रुको पुलपारिको भीरमा गएर ठोक्किएको थियो । पुल पार गरेपछिको सानो गाउँ छोडेपछि लाङटाङ उक्लिने हिमाली बाटो सुरु भयो । 
हिमाली बाटोहरू कठोर हुन्छन्, अत्यासलाग्दो गरी अप्ठ्यारा हुन्छन् त्यसैले त ती चुनौतीपूर्ण र रमाइला पनि हुन्छन् ।

क्याराभान टु क्यान्जिङ

त्यसमाथि भूकम्पको कम्पनले झरेको पहिरोले कोतरिएका भीरहरूमा एउटा पाइला अट्ने धर्सोजत्रो बाटोमा हिँड्न प्रशस्त आँट चाहिन्छ । खुट्टाको सन्तुलन बिग्रिएमा तल सुसाइरहेको लाङटाङ खोला पुगेपछि मात्र वेग रोकिन्छ भन्ने ज्ञानलाई मूलमन्त्र बनाएर हिँड्ने बेला सजग नभए दुर्घटना हुन सक्छ ।

दाहिनेतिर गर्जनका साथ बगेको खोलातिर आँखा लाउँदा रिँगटा छुटेपछि मैले भुइँमा आफ्नो खुट्टाबाहेक कतै नहेर्ने निश्चय गरेँ । तर एक छिनपछि लाङटाङ खोलाबाट बाटो अलग्गियो । अलि पर पहाडको टुप्पोबाट झरेको बर्खे झरना गज्जब थियो । तर त्यो दृश्य धेरै बेर टिकेन । त्यसपछि फेरि सुरु भएको लाङटाङ खोला किनारको यात्रा निरन्तर रह्यो ।

विगत आधा वर्षदेखि रसुवाका भीरपाखा घुम्दा मैले बुझेको कुरा के हो भने हिमालतिर हिँड्दा क्यामरा सधैँ घाँटीमा झुन्ड्याउनुपर्छ किनकि बाटोमा राम्रा दृश्य र क्षणहरू प्रशस्तै भेटिन्छन् । र, प्रत्येकपटक ब्यागबाट क्यामरा झिक्न समय नष्ट गर्दा केही गज्जब दृश्य छुट्न सक्छन् । त्यसैले क्यान्जिङसम्मै मैले हरबखत घाँटीमा क्यामराको पासो लाएकै हुन्थेँ ।

‘मेमे खाना खान कता रोकिँदा ठीक होला ?’ मैले लाङटाङबाट भारी बोक्न झरेका बाजेलाई सोधेँ ।

‘तपाईंहरू ब्याम्बु पुग्छ होला ।’ हामीलाई शिरदेखि पाउसम्म नियालेर उनले हाम्रो हिँडाइको अड्कल काटे ।

अलि पर पहिरोको चियापसल पहिरोमाथि नै थियो ।

‘कस्तो डरलाग्दो ठाउँमा घर बनाउनुभएको ? फेरि भूकम्प आयो भने त त्यो ढुंगा खस्छ त’ घरको माथिपट्टि खस्न ठिक्क परेको अजंगको चट्टान डरलाग्दो थियो ।

‘अब आसी वर्ष भैंचालो आउँदैन, म मरिसक्छ त्यति बेलासम्म ।’ तामाङ दाइले निसंकोच उत्तर दिए ।

मनमनै सोचेँ, ‘साँच्चै २०७२ वैशाख १२ गते ५६ सेकेन्डका लागि मात्र चेतेका हौं हामी नेपालीले ।’

निंगालो घारीले घेरेको ब्याम्बुको होटलमा बिहानको खाना खाएर लामा होटलमा साँझ बास बस्न पुग्ने बेलासम्म हाम्रो टोली भोक र थकानले लखतरान भइसकेको थियो । बिहान १० बजेदेखिको हिँडाइ साँझ ६ बजे बल्ल विश्रामका लागि रोकिएको थियो । ४ जनाको हाम्रो टोलीको उत्साहमा भने थकाइले केही कमी आएको थिएन ।

भोलिपल्ट बिहान कालो चियाको चुस्कीसँगै हाम्रो यात्रा लाङटाङतिर लाग्यो ।

मैले नेपालको कुनै कुनामा लाङटाङ भन्ने गाउँ छ भनेर थाहा पाउँदासम्ममा लाङटाङ गाउँ हिमपहिरोमुनि विलय भएर मात्र एउटा वियोगान्त कथा बनिसकेको थियो । वैशाख १२ को भूकम्पले ल्याएको हिमपहिरोले नामनिसाना मेटाएको लाङटाङ गाउँको त्यसपछि मैले जति पनि चर्चा पढेँ र सुनेँ त्यहाँको विनाश र वियोगको मात्र सुनेँ । त्यसपछिको समय मेरो मनमा लाङटाङ गाउँ त्यही वियोगान्त कथा मात्र बनेर बसिरह्यो ।

सरकारी कर्मचारीको रूपमा रसुवा आएपछि कार्यालयमा सेवा लिन आएका लाङटाङका बासिन्दाहरू मेरा लागि खास हुन थाले किनकि म उनीहरूसँग लाङटाङका कथाहरू खोतल्न पाउँथें । दाजुभाइको परिवारै हिमपहिरोमा परेकाले काठमाडौंमा बसेर पढ्ने नानीहरूका नागरिकतामा सनाखत गर्न आएका ३ पुस्ताभित्रका दाइसँग नागरिकता जारी गर्दा गरेको गफले रातभर निकैबेर छटपटी भयो । मानवीय पीडाको गहिराइ नाप्न सकिने कुरा त कहाँ हो र ? तर पनि मन सारै खिन्न भएको थियो ।

अझै केही समय मैले लाङटाङको कथामा नै चित्त बुझाउनुपर्ने थियो किनकि साउने झरीले मेरो लाङटाङको बाटो छेकेको थियो । लाङटाङ हेर्न हिउँद नै कुर्नुपर्ने भयो ।

त्यसैले हिउँदको सुरुआतसँगै मनभरि उजाडिएको लाङटाङको चित्र बोकेर भारी मनले भूकम्पको घाउले कोतरिएको बाटो पछ्याउन सुरु गर्दा मनभरि उदासी थियो । यात्राका हरेक मोडहरूमा विनाशकारी भूकम्पका अवशेषहरू असरल्ल थिए । तर ट्रेकिङ सिजन भएकाले स्वेदेशी र विदेशीको लर्को थियो । गन्तव्यमा पुग्ने अठोट लिएर हिँडेकाहरूलाई बाटोका अप्ठ्याराहरू किन तगारो बन्न सक्थे र ? यात्रा अनवरत थियो ।

दोस्रो दिन मध्याह्न गुम्बाडाँडाबाट देखिएको लाङटाङ गाउँ बालुवा र ढुङ्गाको मरुभूमि थियो । गुम्बाडाँडाको होटलका दाइसँग गफिँदै लाङटाङका कथाहरू सुनेपछि अब त्यही मरुभूमि हुँदै अगाडि बढ्नु थियो ।

लाङटाङ मरुभूमिजस्तो मात्र हैन मरुभूमिमै परिणत भएको थियो । डाँडाको कुनामा हिमपहिरोको आँखा छलेर बचेको ककारोमुनिको घरले बाहेक त्यहाँ कुनै समयमा गाउँ थियो भनेर जनाउ दिने केही अस्तित्व पनि वरिपरि थिएन । त्यो मरुभूमि अझै पनि धेरै मानिसको चिहान थियो । यावत् कथाले भरिएको भारी मनको वजनले थिचिएका मेरा पैतालाहरू हिँड्न नसकेर घिस्रिँदै थिए ।

मानिस कहाँ पुगेँ र के के न गरेँ भन्छ । संसारको सर्वश्रेष्ठ र शक्तिशाली आफूलाई ठान्छ तर प्रकृतिको शक्तिको अगाडि मानिस निरीह र कमजोर छ । हिमपहिरोले सर्लक्क सोहोरेर लगेको त्यो ठाउँको दृश्य प्रकृतिको क्रूरताको पराकाष्ठाको उदाहरण थियो भने हामी मानिसको निरीहताको ।

तर अलि पर डाँडामा फेरि बस्तीहरू ब्युँतिँदै थिए । छेवैको मानेमा त्यहाँ जीवन गुमाउने सबैको नाम लेखिएको थियो । पुरानो गाउँ र नयाँ गाउँको बीचमा उभिएको त्यो माने सांकेतिक थियो धेरै अर्थमा । पीडाको निश्चित चरण पार गरिसकेपछि फेरि नयाँ जीवनतिर उन्मुख हुनैपर्छ । त्यो माने त्यही दुईवटा चरणको बीचमा उभिएको थियो भित्ताभरि अतीतका वियोगान्त कथा कोरेर ।

केही अगाडि केही होटल र घरहरूको पुनर्निर्माण हुँदै थियो । आँखाअगाडिको त्यति ठूलो विनाश देखेका धेरै लाङटाङवासीले आफन्तसमेत गुमाएका थिए र पनि उनीहरू टुक्राटुक्रा बटुलेर फेरि अर्को जीवन सुरु गर्दै थिए आफ्नै थातथलोमा ।

लाङटाङबाट केही पर मुन्डुप पुगेपछि दृश्यहरू फेरिए ।

हिमाली खर्कहरू मलाई विशेष लाग्छन् । घाँटीमा झुन्डिएको घन्टी बजाउँदै खर्कमा चरिरहेका भेडा र चौँरीहरूले वरिपरिको वातावरण गुन्जायमान बनाउँछन् र आफू त्यतै कतै भएको सूचना दिन्छन् । भेडाको ऊनले बनेका बख्खु लगाएका गोठाला दाइहरू मलाई जीवनको जञ्जालबाट मुक्त साधुसन्तझैं लाग्छन् । एउटा सानो थर्पुमा भेडा चौंरीसँगै जीवन बिताउने उनीहरू मानौं संसारको सम्पूर्ण आसक्तिबाट मुक्त छन् ।

क्यान्जिङ उपत्यका पुग्नुभन्दा केही अगाडि खोलापारि चौरमा एकै ठाउँमा गुजमुज्ज गोठाला दाइहरूको थर्पु देखियो । थर्पु वरिपरि काला, सेता, टाटेपाटे रंगीबिरंगी चौंरीहरू चर्दै थिए । केही पानी खान खोलामा झरेका थिए । तिनीहरूका साथमा अजंगको भोटे कुकुर पहरेदारको काम गर्दै थियो ।

पदयात्राका लागि यो समय चयन गरेकै कारण हामी भाग्यमानी साबित भएका थियौं, यस अर्थमा कि हिउँद लागेपछि लेकतिरबाट भेडा र चौंरीहरू तलतिर उपत्यका झर्छन् । नत्र त चौंरी हेर्न लेकतिरकै खर्कमा पुग्नुपर्छ ।

म चौंरीको फोटो खिच्न अल्मलिन थालेपछि टोलीका साथीहरू छोडेर अगाडि पुगिसकेछन् । गोधूलि साँझमा बेतोडले सुसाएको हिमाली हावाको सुसेली र खोलाको गड्गडाहटसँग एक्लै हिँडिरहँदा अत्यास र आनन्दको अनौठो सम्मिश्रण पैदा हुन्छ मनमा । हिमाली यात्रामा धेरैपटक फोटोमोहले साथीसँग अलग हुँदा मलाई यस्ता अनुभव पटक–पटक भएका छन् ।

अलि परको क्यान्जिङ गाउँ कुनै हिउँ फुल्ने काल्पनिक देशको कथाको बस्तीभन्दा बिल्कुल अलग थिएन । आकाशमा झन्डै पूर्ण चन्द्रमाको मधुर प्रकाशको उज्यालोमा वरिपरि हिमालले घेरिएर बसेको क्यान्जिङ उपत्यकाको सुन्दरता मनमोहक थियो । हुन त पूर्णिमा छेको जूनको उज्यालोमा देखिएका हिमाल सधैं जादुमयी हुन्छन् । त्यो दिन पनि होटलको आँगनबाट देखिएका लाङटाङ लिरुङ र क्यान्जिङ हिमाल कम थिएनन् ।

भूकम्पपछि क्यान्जिङका हरेक मानिससँग एउटा कथा छ । आँखाअगाडिको विध्वंस, मृत्युबोध, धैर्य र भविष्यको आशा उनीहरूका कथामा प्रशस्तै झल्किन्छन् । हामीलाई कथा सुनाउन थालेका दोर्जे दाइको कथा यस्तै थियो । भूकम्पपछि स्वयम्भूको यलो गुम्बा लगिएका लाङटाङवासीहरू भूकम्पको २ महिनामै लाङटाङ ब्युँताउन फर्किएका थिए । भूकम्पको दिनको लाङटाङ, त्यसपछिको काठमाडौं बसाइ र फेरि लाङटाङ फर्काईसम्मको कथा बुन्ने दोर्जे दाइले परिवारका अधिकांश सदस्य गुमाएका थिए । उनको आँखामा पीडाको गहिराइ थियो । कथाको सुरुआतमै रसाएका उनका आँखाबाट एकै छिनमा आँसुको भेल बग्न थाल्यो ।

भोलिपल्टको यात्रा ‘री’ अर्थात् चुचुरोतिरको थियो । हिमाली भेगका चुचुराहरू रूखा हुन्छन्, निर्दयी हुन्छन् । सानासाना हिमाली बुच्काहरू र लेकाली घाँसबाहेक चुचुराहरू उजाड पनि हुन्छन् तर हिमालको सुन्दरता हेर्न ती चुचुराहरूसँग लाप्पा खेल्नैपर्छ ।

४४ सय मिटरको उचाइमा रहेका तल्लो क्यान्जिङ रीले हाम्रो टोलीलाई राम्रै चुनौती दिएको थियो । बल्लतल्ल श्वास फुलाउँदै भए पनि जीवनमा पहिलोपटक सबैभन्दा नजिकबाट हिमाल हेर्ने अवसर गुमाउन हामीले चाहेनौं । री पुग्दा लाङटाङ लिरुङ हिमाल आँखामा यसरी ठोकियो कि त्यसको प्रतिक्रियास्वरूप सबैको मुखबाट एकैसाथ मात्र एउटै शब्द निस्कियो, वाह † भूकम्पले कोतरेका घाउहरू बाबजुद हिमाल दृढ थियो, अटल थियो र सुन्दर थियो ।

मान्छेको लोभी मन न हो चारैतिर फैलिएका हिमाल र हिमतालहरू अझ नजिकबाट हेर्न हामी यति लालायित भयौं कि करिब ४८ सय मिटरको माथिल्लो क्यान्जिङ री चढ्न हामीले हिम्मत बटुल्यौं । र अर्को कठोर उचाइसँग लाप्पा खेल्ने निधो गर्‍यौं । हिमालको कठ्याङ्ग्रिँदो चिसो हावाको झापड खाँदै उक्लेको उचाइबाट देखिएका दृश्यहरू स्वर्ग थिए । हिमालहरू, हिमतालहरू र परपरसम्म फैलिएका खर्कहरू एकै नजरमा यसरी देखिए मानौं हामी आकाश छोएर धर्तीतिर नजर ओरालिरहेका छौं ।

उचाइबाट तल झर्ने बेलासम्म हामीसँग मनभरि उचाइसँग पौंठेजोरी खेल्दै हिमाल छोएका टन्नै अनुभव थिए । तल क्यान्जिङ ओर्लेर चौंरीको लटक्क जमेको दही र भात खाएसँगै अवतरण गर्ने समय आएको थियो, हिमालहरूलाई आँखाभरि बोकेर, मनभरि अनुभव गरेर ।

हिमाल खास थियो तर त्योभन्दा खास हिमालजत्तिकै दृढ लाङटाङवासीको लाङटाङ ब्युँताउने अठोट थियो । लाग्यो हिमालका मान्छे हिमालजत्तिकै दृढ हुन्छन् र त उनीहरू हिमालसँग संघर्ष गरेर बाँचेका छन्, हिमालसँगै हाँसेका छन् ।

प्रकाशित : पुस २९, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?