म ढुङ्गा
काठमाडौँ — पत्थरको सहरमा
पाइला टेकेदेखि
तिमीसँगको दूरी
घट्न थालेदेखि
म पनि तिमीजस्तै
ढुङ्गा बनेको छु ।
आवाजले नबिथोल्ने
शून्यताले नचिथोर्ने
प्रहार जति गर
प्रतिरोध नजनाउने
म पनि
तिमीजस्तै ढुङ्गा बनेको छु ।
कोही आउँछन्
घनले प्रहार गर्छन्
र फोड्न खोज्छन् मलाई
म विभाजित बनिदिन्छु
कसैले कुाद्छन,
खोप्छन्
र सुन्दर मूर्ति बनाउँछन्
म चोकर चोकमा उभिदिन्छु
पानीको वेगसँगै
हुत्तिन्छु कहिले
ठोक्किन्छु म ढुङ्गा
ढुङ्गासँगै
कहिले शालिग्राम बनिदिन्छु,
र मन्दिरमा
भगवान् बनेर पुजिन्छु
खापिएर आफैंमाथि तहतह
म महल पनि बनिदिन्छु
जहाा शासकहरु
सुरक्षाको मीठो निद्रा निदाउन सक्छन्
धेरै त,
मलाई छिनोले छिमल्छन्
छेउ र कुना मिलाएर
खात लगाउँछन्
सिँढी बनाउँछन्
त्यही सिंढीमा टेकेर
तिमी माथि पुग्छौ
म ढुङ्गा
हिजो जहाा थिएँ
त्यहीा छु आज पनि
उक्लिनेहरु फरक छन्
मात्रै झर्नेहरु अलग छन् ।
-विमल वैद्य
प्रकाशित : पुस २९, २०७४ ०८:५३