तिनाउ तीरको कथा 

समाज
यज्ञश

काठमाडौँ — बुटवलको तिनाउ तीरको सुविधासम्पन्न बस्तीको एउटै समस्या हो— लालपुर्जा । सरकारी कागज, पुर्जा नभए पनि यहाँ घरजग्गा कारोबारमा कुनै कमी छैन । घरजग्गाको मूल्य सुन्दा एकपटक विश्वास लाग्दैन । ठूला घरहरू करोडभन्दा माथि पर्छन् । 

नदीको ठूलो भंगालो बल्लबल्ल पार गरेर झन् ठूलो भंगालोमा हेलिनुअघि सुस्ताएको कुनै यात्री जसरी देश पहिलो चरणको चुनाव सकेर दोस्रोको तयारीमा थियो । पहिलोपटक हुन लागेको प्रदेशसभाको ऐतिहासिक चुनावलाई प्रतिनिधिसभा चुनावले छपक्कै छोपेको थियो । काठमाडौंबाट पुग्नेका लागि मंसिर १३ गते बिहानको बुटवल चिसो थिएन । सहरको तातो बढाउन चुनावी सरगर्मीले पनि काम गरिरहेको थियो ।
कान्तिपुर सहकर्मीहरू दीपेन्द्र बडुवाल, अमृता अनमोल र किरण पाण्डेसँग म सहरको पश्चिमपट्टिको चर्चित ‘सुकुम्बासी बस्ती’ तिर जाँदै थिएँ । चुनाव उम्मेदवारभन्दा बढी मतदाताको अवसर हो भन्ने हामीलाई लागेको थियो । यसैले हामी चुनावमा मात्र नेताहरू पुग्ने मानिएको सुकुम्बासी बस्ती पुग्दै थियौं । बुटवल सहरको छेउमा थियो पानीबिनाको— तिनाउ । प्राण नभएको मानिसजस्तो सुकेको तिनाउ उत्तानो पल्टिएर घाम तापिरहेको थियो । खोलामा पानी नभएपछि पुल बनाउने लफडा पनि गर्नुपरेन । पछि थाहा भयो तिनाउ सुकेको होइन, पानी अर्कै भंगालोमा मोडिएकाले यहाँ खडेरी भएको रहेछ । र, त्यो भंगालोलाई भनिँदो रहेछ— दानव । मानवले राखेको खोलाको नाम— दानव ।
सधैं यो भंगालो यसरी सुक्दैन । पहाडको रगत मिसिएजसरी धमिलो भएर तिनाउ उर्लिंदा स्वस्थानीको कथामा देउताको आक्रमणले दानव गणमा त्राहीत्राही भएजस्तो वरपरका बासिन्दा त्राहीमाम् हुन्छन् । यतिबेला तिनाउ र दानवका दुवै भंगाला मिल्छन् । अनि बासिन्दा रातभर जाग्राम बस्छन् । २०७२ साउन ११ गते तिनाउ उग्र थियो । रातिदेखिको अविरल वर्षाले खोलालाई जिस्क्याएजस्तो लाग्थ्यो । आकाशमै छुन खोजेजसरी खोला बढेर माथिमाथि आउँदै थियो । बुटवल र पारिको ‘सुकुम्बासी सहर’ लाई जोड्ने तिनाउमाथिको झलुंगे पुल खतरामा परेको थियो । सधैं मानिस तर्ने पुलमा त्यस दिन खोलै तरिदियो । मान्छेहरूले हेर्दाहेर्दै पुल खोलामा हाम्फाल्यो ।
***

तिनाउ बुच्चो भए पनि पारिको सहर भरिपूर्ण थियो । भन्नेले ‘सुकुम्बासी सहर’ भने पनि यहाँका बासिन्दा आफूलाई सुकुम्बासी मान्दैनन् । उनीहरू यसलाई सुकुम्बासी बस्ती पनि भन्दैनन्— अव्यवस्थित वस्ती भन्छन् । हेर्दा यो बस्ती सुकुम्बासी बस्ती भन्न मिल्ने छैन । सहरबजारदेखि अलि पर, वन जंगलको छेउ, कुनै उपेक्षित सरकारी जग्गामा साना झुप्रा बनाएर बसेका मानिस मात्र सुकुम्बासी हुन् भन्ने मलाई पनि लाग्थ्यो । पत्रिकाका लागि रिर्पोटिङ गर्दा होस् वा किताबका लागि सुकुम्बासीहरू भेट्न म यस्तै बस्तीमा पुगेको थिएँ ।
तर, यहाँ त्यस्तो बस्ती होइन, सहर थियो । आफैंमा सहर भएकाले यो टाढा थिएन । बुटवल बजारबाट खाली पानी सुकेको एउटा खोला पारि थियो, बुटवल उमहानगरपालिकाको ११ नम्बर वडा । घरहरू पनि बजारका महललाई टक्कर दिने । पिलर ठड्याएर बनाएर दुई–तीन तलाका आधुनिक घर पनि थिए । आरसीसी गरेर बनाइएका एक तलाका थुप्रै घर बन्दै गरेका । घरैपिच्छे होटल, फेन्सी, किराना र स्टेसनरी । फराकिला पिच सडक र झलमल बिजुली बत्ती । घना बस्ती र पर्याप्त जनसंख्या । ४ दशमलव २ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो वडाबाटै तिनाउ बाँडिएर दानव बनेको छ । तिनाउसँगै दानवले बनाएको बगर र उकास क्षेत्र छ । पूरै क्षेत्रमा गरी ६ हजार घरधुरी, १३ हजार ७ सयजति मतदाता । जनसंख्या झन्डै १ लाख । त्यसमध्ये ७० हजार यही बस्तीमा । सहरको ठप्पा लाग्न चाहिने सबै योग्यता पूरा गरेर बसेको बस्ती । र, नाम पनि सहरमैत्री— बुद्धनगर † यस्ता नाम टोलैपिच्छे फरकफरक छन् । कतै सिर्जनाटोल त कतै सुविधाटोल ।
यो सुविधासम्पन्न बस्तीको एउटै समस्या छ, जसले यसको परिचयमा खोट लगाइदिएको छ । त्यो हो— लालपुर्जा । यहाँका घरजग्गाको लालपुर्जा छैन । ठूला घर बने पनि जग्गा सरकारी हो, सार्वजनिक । यसैले यी घरको नक्सापास भएको छैन । नगरपालिकाको लगतमा यिनको उल्लेख छैन । यसैले कानुनी भाषामा यो सहर अवैध हो, अतिक्रमित । ससाना झुपडीमा आगो लगाउने बानी परेकाले होला, सरकार र प्रहरीले यी ठूला घरतिर फर्किने हिम्मत गर्न सकेको छैन । यो बस्तीका मानिस र यिनको ठूलो संख्या पनि प्रशासनलाई गलाउन काफी छ । गत वर्ष जिविसले यहाँका घरहरूमा रातो लगाएको थियो । सार्वजनिक जग्गा भएकाले खाली गर्नुपर्ने उर्दी जारी भएको थियो । तर, त्यो धेरै समय टिक्न सकेन । यहाँका टोल समितिले यसको प्रतिरोध गरे, जिविसमा निवेदन दियो । अनि जिविसको रातो रंग अबीरजसरी फुङ्ग उड्यो ।
बस्तीको विशेषता यतिमै सकिँदैन । सरकारी कागज, पुर्जा नभए पनि यहाँ घरजग्गा कारोबारमा कुनै कमी छैन । घरजग्गाको मूल्य सुन्दा एकपटक विश्वास लाग्दैन । ठूला घरहरू करोडभन्दा माथि पर्छन् । घडेरी पनि महँगा । ४ धुरको एउटा घडेरीको मूल्य बाटो र ठाउँ हेरी ६ लाखदेखि २५ लाखसम्म पर्छ । ५४ फुटे बाटोको मुख्य चोकमा ४५ लाखसम्म घडेरीको मूल्य छ । तपाईंलाई लाग्दो हो, सरकारी पुर्जा नभएको जग्गाको किनबेच कसरी हुन्छ ? वैधानिकता नभएको घरजग्गामा यत्रो ठूलो पैसा कसले लगानी गर्छ ? बजारले त्यसको पनि व्यवस्था गरेको छ ।
यो काम गर्छन्— टोल समितिले । पूरै बस्तीभरि ५३ वटा टोल विकास समिति छन् । बुद्धनगर क्षेत्रमा मात्रै ५ वटा । किनबेच र लेनदेनको साक्षी टोल विकास बस्छ । सबैको तथ्यांक पनि टोल विकासले नै राख्छ । टोल विकासले टोलको विकास र रक्षाका लागि काम गर्छ । यसैले सबैले टोल विकासलाई विश्वास गर्छन् । यसैले नक्सा पास नभएका घर र लालपुर्जा नभएका जग्गालाई यति पैसा हाल्न मानिसहरू अग्रसर हुन्छन् । ‘भूमिविद्’ हरूको जगजगी भएको देशमा नम्बरी जग्गाहरूको मोल योभन्दा निकै बढी भएकाले पनि यताको कारोबार सहज भएको छ ।
***

यो बस्तीमा बस्ने कतिका बुटवल बजारमै नम्बरी घरजग्गा छन् भने कतिका पहाड घरमा । नवलपरासी वा कपिलवस्तुजस्ता तराईका ठाउँबाट आएर यहाँ बस्ने पनि छन् । २०५९ सालमा तिनाउ किनारमा यो बस्ती बस्न सुरु हुँदा जग्गाको भाउ यति महँगो थिएन । यसैले कतिले त त्यही बेला किनिराखौं न भनेर थोरै पैसामा किने । ‘अहिले यही बजार बन्यो, यतै बस्न आए,’ बुद्धनगर टोलको खानेपानी समितिका सचिव आशिष राजवंशीले भने ।
नवलपरासीको विनयी त्रिवेणीबाट आएका राजवंशीले २०६३ सालमा यहाँ जग्गा किनेका थिए । ४ धुर घडेरीको ८० हजारमा । अहिले उनी बजारमा आफ्नै नामको एउटा पुस्तक र स्टेसनरी पसल चलाउँछन् । महिनाको ३ हजार भाडामा उनले सटर लिएका छन् । बजारको अर्कोपट्टि उनको कस्मेटिक र गिफ्ट पसल छ । यसको भाडा महिनाको ५ हजार ।
पाल्पाका यादव ज्ञवाली २०६४ सालमा यो बस्तीमा आएका थिए । ‘घरमा दाजुभाइ धेरै, जग्गाजमिन थोरै थियो,’ उनले यता आउनुको कारण बताए । विभिन्न काममा हात हालेपछि अन्त्यमा उनी अहिले फेन्सी पसलमा आएर थिग्रिएका छन् । तीन वर्षअघि सुरु गरेको फेन्सी पसलको अहिले उनी महिनाको ४५ सय भाडा तिर्छन् । तनहुँको किहुँका माधव अर्याल बुटवल बजारमा आफ्नै स्वामित्वको अटो चलाउँछन् । २०६६ सालमा यहाँ जग्गा किनेका उनले ७० मा घर बनाए । कपिलवस्तुका प्रेमबहादुर थापा २०६५ मा यहाँ आइपुगे ।
स्याङ्जाका कृष्णबहादुर केसी भारतीय सेनामा जागिरे थिए । कलिलै उमेरमा भर्ती हुन केसीको २०४९ सालमा पेन्सन पाक्दा उमेर थियो— ३२ वर्ष । ‘३२ वर्षदेखि फाल्टु बस्नु भएन भनेर काम खोज्दै बुटवल आइपुगें,’ उनले आफ्नो यात्रा सुनाए । लुम्बिनी चिनी कारखानामा काम पाएपछि उनी पनि तिनाउमै आइपुगे । उनका तीन छोराहरूमा तीनै जना विदेशमा छन् । एक जना बेलायतमा आईटी पढ्दै छन् भने अर्का कतार र साउदीमा छन् । ‘घरमा त हामी बूढाबूढी मात्रै छौं,’ उनी भन्छन् ।
***

प्रेमबहादुर थापा, कृष्णबहादुर केसी, यादव ज्ञवाली र आशिष राजवंशी ।

आशिष राजवंशी यो बस्तीलाई सुकुम्बासी बस्ती भन्न नमिल्ने बताउँछन् । ‘हामीले जग्गा किनेर बसेको हो, सरकारी जग्गा हडपेको होइन,’ उनले तर्क अघि सारे । साथै सरकारका सुझाव पनि, ‘यत्रो ठूलो बस्तीलाई सरकारले तुरुन्त दर्ता गर्नुपर्छ । यस्तो नगर्दा सरकारले पाउने कर गुमाइरहेको छ । १३ सयवटा घर त यही टोलमा मात्रै छन् । बर्सेनि सरकारले कति घरबहाल कर पाउँथ्यो, जग्गा दर्ता भए किनबेच हुँदाखेरी पनि सरकारी ढुकुटीमा कर आउँथ्यो,’ उनले सरकारी घाटा औंल्याए, ‘दर्ता नहुँदा त्यो गुमिरहेको छ ।’ बजारको स्वरूप लिइसकेको यति व्यवस्थित बस्ती हटाउनेभन्दा पनि कानुनी दायरामा ल्याएर थप व्यवस्थति बनाउनु बुद्धिमानी हुने यहाँका बासिन्दाको भनाइ छ । उनीहरूसँग केही उदाहरण पनि छन् ।
‘२०५२ सालमा बुटवलका ६५ सय सुकुम्बासीलाई सुकुम्बासी आयोगले लालपुर्जा दिएको थियो,’ आशिष भन्छन् । उनका अनुसार यो बस्तीको पनि नगरपालिकाले लगत संकलन गरिसकेको छ । बस्तीलाई करको दायरामा ल्याउने नगरपालिकाको योजना थियो । केपी ओली प्रधानमन्त्री रहेका बेला भूमिश्वर ढकालको संयोजकत्वमा भूमि आयोग बनाइएको थियो । ‘यो आयोगले छानबिनगरी लालपुर्जा दिन सक्थ्यो तर बीचैमा कसैले सर्वोच्चमा मुद्दा दर्ता दायर भएपछि रोकियो,’ उनले अफसोसजाहेर गरे ।
कृष्णबहादुर यो टोलदेखि अझै पश्चिमको श्री मजुवाटोलको उदाहरण दिन्छन् । श्री मजुवा पहिले नम्बरी थियो । २०३८ सालमा बाढी पसेपछि यहाँका बाढीपीडितलाई सरकारले बर्दघाटमा जग्गा थियो ।
‘हामीले अन्यत्र जग्गा देऊ भनेका छैनौं । आफूले पैसा हालेर किनेको, मिहिनेतले बनाएका घरको कागज देऊ भनेको हो । हामी कोही जागिर खान, कोही व्यापार गर्न, कोही बच्चा पढाउन यहाँ आएका हौं, हामीले आफ्नो काम गर्न नपाउने ?’ उनी प्रश्न गर्छन् । ‘हामी कर तिर्न र सरकारका सबै कानुन मान्न तयार छौं । कि त पहिले नै बस्ती बस्नु दिनु हुन्थेन,’ उनको अड्डी छ, ‘अब सबै सुविधा हामीलाई दिनुपर्छ ।’ १३ हजार ६ सय ८७ भोट भएको यो बस्तीको माग बेवास्ता गर्न भोटका भोकाहरूलाई गाह्रै छ ।
‘तीन महिना त यहाँ कसरी बस्नुजस्तो हुन्छ,’ कृष्णबहादुरले तिनाउ खोलातिर फर्किएर भने, ‘हरेक दिन खोलो पस्छ कि जस्तो हुन्छ ।’ यो बस्तीमा उभिएर पाल्पातिर फर्किने हो भने यस्तो लाग्छ, आजै राति तिनाउले बस्तीमाथि चढाइ गर्नेछ । खोलाको बहाब बाङ्गिएको र दुई भंगालामा विभाजित भएका कारण मात्र बस्ती जोगिएको छ । दुई भंगाला जोडिएको खण्डमा बीचको टापु जलमग्न हुनेछ । यसैले लालपुर्जापछि खोलामा तटबन्ध र पुल बस्तीको ठूलो एजेन्डा हो ।
खोलाले झलुंगेपुल बगाएकै ठाउँमा पक्की पुल बनाउने तयारी चलिरहेको छ । ‘ढलान बनाउन मात्रै एक वर्ष लाग्ने रहेछ,’ आशिषले भने, ‘यो वर्ष पुल बनेन भने हामीले ठूलो दु:ख पाइनेछ ।’
***
बस्तीको सिरानपट्टि पुरानो बटौली बजारको नजिकबाट फर्किंदा मेरो दिमागमा केहीअघिको यात्रामा भेटेका सुकुम्बासीहरू आइरहेका थिए । उनीहरूका घर र याचनाका शब्दहरू आइरहेका थिए । तत्कालै छोडेर हिँड्नुपर्‍यो भने कसैले एक हजार पनि नदिने हालतका घर बनाएर बसिरहेका बर्दिया खुरखुरेका मानिसहरू मेरो सम्झना अझै ताजै छन् । तिनका कथा मात्रै होइन, कथा सुनाउँदा उनीहरूको आँखाबाट खसेका आँसु पनि अझै तातै छन् ।
सिमेन्ट, काठ वा ढुंगाबिना बासका सिठा र पात पत्करमा माटो छापेर ठड्याइएका ५ फिट जति अग्ला ती झुप्रा मान्छेका घरभन्दा बढी चराका गुँडजस्ता लाग्थे । सरकार र समाजले धेकेलेर वनैमा पुर्‍याएका ती लोपोन्मुख राजी र दलितहरू पनि चराजस्तै लाग्थे, घना बस्तीबाट धपाइएका ।
तिनाउका मानिसहरूको बोलीमा झल्किएको आत्मविश्वाससँगै म मोरङ मृगौलियाका माझीका स्वरको कम्पन सम्झिइरहेको छु, जसले घर बनाएर बसेको जग्गा अरू नै कसैले आफ्नो नाममा दर्ता गरेको थियो ।
***
चुनावको दोस्रो भंगालो पनि तरेर देश नयाँ सरकारको पर्खाइमा छ । चुनावको जंघार तरेर सत्ताको किनारामा आइपुगेकाहरू मात्र होइन, तिनाउका दुई भंगालाबीचको बस्ती पनि नयाँ सरकारलाई पर्खिइरहेको छ । लालपुर्जा, पुल र तटबन्धको एजेन्डा बाँकी नै छ । पोहोर सालजसरी तिनाउ उर्लियो र दानवसँग यसको पुनर्मिलन भयो भने के गर्ने भन्ने एउटा विराट चिन्ता बाँकी नै छ ।
देशभरका २२ प्रतिशत भूमिहीनहरू पनि नयाँ सरकार, नयाँ नीति र नयाँ भविष्यको प्रतीक्षामा छन् । सत्ताको भंगालोले यिनको आशालाई सिञ्चित गर्छ कि बगाइदिन्छ, हेर्न बाँकी छ ।

प्रकाशित : पुस २९, २०७४ ०९:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रताप मल्लको ‘ठ्यासफु’

इतिहास
दामोदर न्यौपाने

काठमाडौँ — प्रताप मल्लले बनाएको रानीपोखरी कसरी पुनर्निर्माण गर्ने भनेर सुझाव माग्ने काम धमाधम भइरहेको छ । विज्ञले अध्ययन गरिरहेका छन् । मन्दिरका तस्बिर, स्केच यसअघि नै भेटिएका छन् । ती स्केचलाई प्रमाणित गर्ने केही आधार पनि भेटिएका छन् उत्खननका क्रममा ।

अबको चुनौती भनेको पानी भरेर पोखरीलाई सांस्कृतिक रूपले जीवित बनाउने हो । संस्कृतिकर्मी, इतिहासविद्ले पहिलेकै स्वरूपमा उही विधि प्रयोग गरेर बनाउनुपर्ने माग गर्दै आएका छन् ।
पोखरीमा पानी भर्न धेरै विधि प्रयोग भएको देखिन्छ । देशदेशावर घुमेर ल्याइएको पानीबाट पोखरी बन्यो । पानी लिन प्रताप मल्ल आफैं गएछन् । यो कुरा प्रताप मल्लको ‘ठ्यासफु’ बाट थाहा पाइन्छ ।
यस आलेखमा प्रताप प्रताप मल्लले तयार पारेको त्यही ‘ठ्यासफु’ बारे चर्चा गरिएको छ । रानीपोखरी निर्माणका क्रममा जल ल्याउन देश देशान्तर गएको यात्रा वर्णन भएको यही ७२ पृष्ठको यो ठ्यासफु नै रानीपोखरी पुनर्निर्माण गर्न अपनाउनुपर्ने विधि सिकाउने प्रमाण हो ।
***

हालै पोखरी पुनर्निर्माण रोकिएको तीन दिनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रताप मल्लकै पालामा रानीपोखरी पुनर्निर्माण गर्न केही प्रमाण भए दिन आह्वान गरे । महानगरपालिकाले सार्वजनिक अपिलै पनि गर्‍यो । ५ दिनको समय दिएर इमेल, इन्टरनेट, टेलिफोन र महानगर कार्यलयमै आएर सुझाव दिन भन्यो ।
यसैका लागि सम्पदाप्रेमी इन्जिनियर अनन्तराम वैद्यले यस पंक्तिकारलाई सुनाए— प्रताप मल्लको ठ्यासफु भेट्न पाए थेरै जानकारी त्यहाँबाट पाइन्थ्यो ।
उक्त ठ्यासफु भक्तपुर कला संग्रहालयमा राखिएको थाहा भयो । त्यसपछि अभियन्ता आलोकसिद्धि तुलाधर र पंक्तिकार संग्रहालय पुग्यौं । दोस्रो तलामा ठूलो सोकेसमा जतनका साथ राखिएको रहेछ प्रताप मल्लको ठ्यासफु अर्थात् इतिहासको एउटा जीवन्त दस्तावेज ।
नेपाली कागजमा हातले लेखिएको छ । खिरिला अक्षर । सीधा डिक तानिएको । कालो मसीले लेखिएको । ठाउँठाउँमा विशेष शब्दमा रातो मसीको पनि प्रयोग भएको । कुनै ठाउँमा पहेंलो मसीले पनि लेखिएको । हेर्दै आकर्षक ठ्यासफु । यसको कभर छालाले मोहोरिएको छ । पानापाना छुट्याइएको छ । हरेक पेजको चारैतिर रातो रङ लगाइएको छ । पूरै भरिएका पानामा आठ हार छन् ।
सिसा र काठको सोकेसमा राखिएको ठ्यासफु पढ्न थाले आलोक ।
‘भाषा बुझ्नुहुन्छ ?’ मैले सोधें ।
‘मज्जाले बुझिन्छ,’ उनले भने, ‘रञ्जना लिपिमा छ । नेपाल भाषा हो ।’ मेरा लागि भने यो ‘कालो अक्षर भैंसी बराबर ।’ आलोकले पनि पूरै नबुझ्ने रहेछन् । त्यसपछि यसबारे जानेका इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई भेटेर जिज्ञासा राखियो ।
श्रेष्ठका अनुसार यो ठ्यासफु तीर्थयात्रा वर्णन हो । आफ्ना कान्छा छोरा चक्रवर्तर्ीन्द्र मल्लको मृत्यु भएपछि प्रताप मल्लले पोखरी बनाउने भए । पोखरीका लागि जल लिन विभिन्न तीर्थस्थल गए । तीर्थ यात्रा चार वर्षका लागि तय भएको थियो । तर एकै वर्षमा पूरा गरे । ‘त्यही तीर्थस्थलको वर्णन गरिएको छ यसमा,’ श्रेष्ठ भन्छन्, ‘उनी सबै ठाउँमा हिंडेरै गएका थिए ।’ श्रेष्ठका अनुसार त्यसमा ‘कहाँ गएँ, छोराको सहयोग कति पाएँ, रानीको सहयोग कति पाएँ’ भनेर लेखिएको छ । सबैको सहयोगले हौसला भयो भनेर
लेखिएको छ ।
यात्रा गरेको ठाउँको चित्र पनि छन् ठाउँठाउँमा । ठ्यासफुको पहिलो पानामै चित्र छ । त्यहाँ तीनथरी देवीको चित्र छ । यो चित्रको लगत्तै अर्काे पेजमा तीर्थ शक्तिको ध्यान दिइएको छ । त्यही तीर्थ शक्तिको विभिन्न रूप यो चित्रमा उतारिएको हुनुपर्ने
इतिहासविद्को अनुमान छ । कुन तीर्थस्थलमा कहिले स्नान गर्ने भनेर पनि उल्लेख गरिएको छ यसमा । पशुपतिमा कहिले पूजा गर्ने, सप्तकौशिकीमा कहिले ? त्यहाँका देविका नाम पनि दिइएको छ । त्यसैगरी वाग्मती तीर्थको नाम, केहीको ठेगाना, रानीपोखरीमा स्नान गर्न तयार पारिएको संकल्पवाक्यलगायत उल्लेख छन् यसमा ।
यो ठ्यासफुबारे इतिहासविद् डा. महेशराज पन्तले इतिहासप्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’ मा लेखेका छन् । पन्तले यो ठ्यासफुलाई प्रताप मल्लको तीर्थजात्रा भनेका छन् ।
पन्तका अनुसार यसमा विभिन्न ४१ देशदेशावरका तीर्थका नाम छन् । कतिपय देशको नाम आफूले सुनेको, कतिपय नसुनेको र धेरैजसो अपभ्रंश भएर आएको बताएका छन् उनले । ‘सबैभन्दा पहिले कामुरदेशको तीर्थको नाउँ आउँछ । यो कामुरदेश कहाँ पर्छ भन्ने विचार गर्न नभ्याउँदै एक संख्या दिएपछि त्यहाँ आमसदेस्य लेखिएकाले कामरूपको अपभष्ट रूप कामुर देखिन्छ,’ पन्तले लेखेका छन् ।
प्रताप मल्लले दिएको तीर्थका नाम त्रिपुरादेश, हीकिरीदेश, उत्कलदेश, झारखण्डदेश, गोदवानदेश, माह्रस्तदेश, कर्णाटकदेश, तांमरदेश, चोलमंताद्रलपदियादेश, देवमल्यालदेश, भोगमल्यायारदेश, तलकोङकदेश, कोङकणदेश, गुर्जरखण्डदेश, सार्थदेश, उषामदलदेश, कच्छदेश, निवारदेश छन् ।
त्यसैगरी मरुखण्डदेश, सिन्धुदेश, पञ्चावदेश, काश्मीरदेश, कंधिदेश, कुलुदेश, बाह्ठकुराइदेश, केदारदेश, बदरीकाश्रमदेश, पूर्वदेश, मरुदेश, मेवाडदेश, मथुरामण्डलदेश, अत्रववदेदेश, अयोध्यादेश, मध्यदेश, विभीषणतप:सिद्धितीर्थ, प्रभाववीतप:सिद्धीतीर्थ, रावणतप:सिद्धितीर्थ, भोटान्देश, चीनदेश र नेपालदेश उल्लेख छन् यसमा ।
कुनकुन ठाउँको जल रानीपाखरीमा राखिएको भनेर पनि लेखिएको छ यसमा । यही कुरा उनले राखेको शिलालेखमा पनि उल्लेख भएको इतिहासविद् श्रेष्ठ बताउँछन् । रानीपोखरी बनाएपछि यसको चारै कुनामा शिलालेख राखिएको थियो । शिलालेख नेपाली र नेपाल भाषामा छ । श्रेष्ठका अनुसार नेपाल भाषा उपत्यकामा मात्रै बढी प्रचलित थियो । त्यही भएर देशभर फैलियोस् भनेर नेपाली भाषामा पनि शिलापत्र लेख्न लगाएका थिए प्रताप मल्लले । प्रताप मल्ल आफू पनि धेरै भाषाका ज्ञाता थिए । उनी १५ भाषाको ज्ञाता भएको मानिन्छ ।
उनले विभिन्न ५१ तीर्थस्थलको जल ल्याएको ठ्यासफु र शिलालेखमा उल्लेख छ । वाग्मतीको मात्रै १० हजार ६ सय ४१ भारी जल राखिएको उल्लेख छ । ‘आफू शास्त्र हेरिकन, असंख्यात पुण्य देखिकन, निकासिकन, गङगाआदि तीर्थको जल लेइकन..’ उल्लेख छ यसमा । उनको एउटा शिलालेख राष्ट्रिय नाचघर छेउमा अझै छ । शिलालेखमा नेपाली पाठ पनि छ । ४० देखि ४३ ठाउँको जल ल्याएको वर्णन छ । ५१ ठाउँको जलवारे यस्तो लेखिएको छ—
‘महाराजधिराज नेपालेश्वर विदग्ध चूडाम । राजराजेन्द्र श्रीश्री जयक्रवर्तन्द्रमल्लदेवको नामले बनायाको पोषरिमाहा राख्याको छ । श्रीवारानसिको गंगाजल ।। श्रीवैद्यनाथको गंगाजल ।। श्रीवाग्मतिको जल भारी १०६४१ ।। श्रींशंखमुलको जल ।। श्रीपनतितीर्थको संगमको जल ।। श्रीगण्डगीको जल ।। श्रीकौशीकीको जल ।। श्रीसुन्दरीनदीको जल बहाइकन पोषरी भर्‍या ।।
श्री नीलकंठको जल भारि ६३ ।। श्रीविशनुमतीको जल ।। श्रीविश्वनाथको जल बहाइकन् आफूले संकल्प गरिकन् पानी राख्यो ।। श्रीतेचायको जल ।। श्रीवागेश्वरको जल ।। श्रमनमतिको जल ।। श्रीशंखदहको जल ।। श्रीकागेश्वरीको जल ।। श्रीवाग्मतीनााभको जल ।। ....
५७ वटा श्लोकमा लेखिएका छन् पानी ल्याइएको ठाउँ । इतिहासविद् पन्तका अनुसार यो तीर्थजात्रामा व्याकरण गल्ती छ । ख लाई ष लेखिएको छ । त राख्नुपर्ने ठाउँमा ट राखिएको छ । ट राख्नुपर्ने ठाउँमा त राखिएको छ । पन्तका अनुसार तीर्थयात्रा प्रताप मल्लले अरूलाई लेख्न लगाएका हुन् । प्रताप मल्लको हातले लेखिएको होइन यो । एउटै मान्छेले पनि लेखेका होइनन् । ‘तीर्थयात्राको रचना एउटै मानिसले गरेको नभई कमोवेश ल्याकत भएका फरकफरक मानिसहरूले तयार गरेजस्तो लाग्छ,’ पन्तले लेखेका छन् ।
तुलाधरका अनुसार नेपालभाषा पनि कति ठाउँमा अशुद्ध छ । यसले त्यतिबेला र अहिलेको भाषामा कति फरक थियो, के के सुधार आयो भन्ने थाहा हुन्छ । नेपाली भाषाको लवज पनि त्यतिबेलाको र अहिलेको मिल्दैन । समयअनुसार भाषामा पनि परिवर्तन हुँदै आएको छ । यहाँ लेखिएका श्लोक पनि नमिलेको पन्तले उल्लेख गरेका छन् । प्रताप मल्ल आफूलाई कवीन्द्र भन्थे । कवीन्द्र भनेको कविहरूमा पनि श्रेष्ठ भनिएको हो । ‘हुन त यसमा लेखिएअनुसार यो प्रताप मल्लकै रचना हो । उनले यो ठ्यासफु लेखेको हो मान्ने हो भने उनले गुतेको कवीन्द्रको पगरी उतार्नुपर्ने हुन्छ,’ पन्तले उल्लेख गरेका छन्, ‘उनको नाममा दरिएका लेख निकै आएका छन् । तिनको भाषा तीर्थावलीका निकै पृष्ठका भाषाभन्दा कता हो कता माथिल्लो छ । यसकारण मगजचुस परम्पराका प्रताप मल्लले तीर्थावली तयार गर्न बढी संस्कृत र कर्मकाण्ड जान्ने पण्डितको मद्दत नलिई आफूलाई घेरेर बसेका गुरु पुरोहितको नै भर पर्दा यस पुस्तकको गति यस्तो भएको हो जस्तो मलाई लाग्छ ।’
***

नेपालको इतिहासमा प्रताप मल्लको विशिष्ट स्थान छ । आफ्नो शासनकालमा उनले आर्थिक, सांस्कृतिक, कला र साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । साहित्य, कला र संगीतको ठूलो शोख थियो उनलाई । स्वयम्भू अनन्तपुरको अभिलेखमा यिनलाई दोषरहित, गद्य–पद्य इत्यादि अनेकथरी काव्य रचना गर्नमा सिपालु भनिएको छ । त्यसैगरी सधैं मीमांसा, त्याग, वेदान्त, व्रशेषिक व्याकरण, काव्य, कोष, अलंकारजस्ता शास्त्रको अध्ययन गरेको भनेर लेखिएको छ । उनले आफ्नो कवीन्द्रको उपाधिलाई सार्थक पार्न कवीन्द्रपुरसमेत बनाएका थिए । यिनले लेखेको ‘कालिकाष्टक’ छन्दोबद्ध काव्य हो । यो संस्कृत भाषामा छ । उनको रचनामा शृंगार रस र भक्तिरस पाइने इतिहासकार बताउँछन् ।
प्रताप मल्ल नृत्यकला, गीत रचनामा पनि पारंगत थिए । उनी रंगमञ्चमा उत्रिएर नृत्यकलामा भाग लिने इतिहासकारले बताएका छन् । हनुमानढोका दरबारको भित्तामा र जगन्नाथ देवलमा विभिन्न भाषाका लिपि राखिएका छन् । यिनले हातमा बाजा लिएका चित्र पनि छन् ।
रानीपोखरी निर्माणको क्रममा तीर्थयात्रा गर्दा लेखिएको ठ्यासफुमा पनि ठाउँठाउँमा चित्र छन् । यसबाट पनि उनको चित्रकलामा मोह देखिने श्रेष्ठ बताउँछन् । श्रेष्ठले ठ्यासफुको सुरुमै भएको चित्रको बयान गरे । यो चित्रमा झट्ट हेर्दा मदिराले उन्मत्त भएर नाच्न लागेको जस्तो देखिन्छ । कम्मरदेखि माथि नाङगै । तर बहुमूल्य आभूषण, जनै र जन्त्र धारण गरेका, कम्मरमा फूलबुट्टा भएको एकसरो रातो धोती मात्रै बेरेका । मुगल शैलीका दाह्री जुगा पालेका पुरुष उनै प्रताप मल्ल हुन् । ‘यथार्थमा उनी यहाँ मदिराले मातिएर नाच्न लागेका नभएर दिवंगत भइसकेका
आफ्ना एक प्रिय पुत्र चक्रवर्तेन्द्र मल्लको नाममा बनाउन लागेको पोखरीमा नाना देश, नाना तीर्थ, नाना देवजमा गई जल ल्याएर ल्याउने बेलामा स्नान गर्न गएका हुन् । यो नृतपाद मुद्रा हो । यो कुरा यसै ग्रन्थचित्रमा नाना देश, नाना, तीर्थ, नाना देवज शीर्षक दिएबाट प्रस्ट हुन्छ ।’
वंशावलीका अनुसार प्रताप मल्लले एक जना सन्न्यासीको सल्लाहमा आफ्ना चारै छोराले एक–एक वर्ष शासन गरून् भनेर चार वर्ष आफूले राज्य छाडे । ३ जना छोराले पालैपालो तीन वर्ष राज्य चलाए । पालो कान्छा छोरा चक्रवर्तीन्द्रको आयो । पालो आएको एकरातमै उनी बिते । प्रताप मल्लले तीनै सन्ज्यासीको सल्लाहमा रानीपोखरी बनाउन लगाए । चक्रवर्तीन्द्रको नाममा सिक्का छाप्न लगाए ।
चक्रवर्तीन्दको नाममा माधवको मूर्ति
स्थापना गरिएको उल्लेख छ । पोखरी छेउको माधवमूर्तिको पादपीठमा लेखिएको छ, ‘थरीथरीका नागका मणिले चम्किएको यस पोखरीमा प्रसन्न भई वाग्मती नदी सधैं बस्न उत्कण्ठित हुनुहुन्छ, सबै देवताहरूसँग वैकुण्ठनाथले यहाँ आउन खोज्नुभयो, के भनौं, झ्वाट्ट काशी छाडेर विश्वनाथ खुसी भई यहाँ आउनुभयो ।’
रानीपोखरी बनाएर त्यहाँ नुहाउनका लागि शंकल्पवाक्य पनि तयार गरिएको छ । ठ्यासफुमा पापकर्मको प्रायश्चित्तका लागि नुहाउन रानीपोखरी तयार गरिएको उल्लेख छ । सुतेको बेलामा, जागेको बेलामा वा जानेर नजानेर गरिएका पापबाट मुक्ति पाउन पोखरी तयार गरिएको उल्लेख छ । संकल्पवाक्यमा महापातक, अनुपात र उपपातकमा पापलाई वर्गीकरण गरिएको छ ।
स्नान गर्न तयार पारिएको संकल्पवाक्य पृष्ठ ३३ देखि ३६ सम्म छ । थरीथरीका पर्वमा स्नान गर्न तयार गरिएको संकल्पवाक्य धेरै लामो भएको पन्तले जनाएका छन् । पन्तका अनुसार ब्राह्मण हनन् (ब्रह्महत्या), सुरापान (रक्सी पिउनु), सुवर्णस्तेय (सुन चोर्नु), गुरुतल्पगम (मान्नुपर्ने स्त्रीलाई सम्भोग गर्नु), गोवध (गोहत्या), इन्धनार्थद्रुमच्छेदन (दाउराका लागि रूख काट्नु), स्त्रीवध, जीवहिंसन (जीव मार्नु), भृताध्यापन (पैसा लिएर पढाउनु), संकरीकरण (गधा, घोडा, उट, हात्ती, बोका, माछा, सर्प वा राँगोलाई मार्नु), मालिनीकरण (साना ठूला कीरा, चरा मार्नु, रक्सीसँगै खानाखानु, धैर्य नगर्नु), जातिभ्रंश (ब्राह्मणलाई रोगी बनाइदिनु, सुँघ्न नहुने कुरा सुँघ्नु, बाङ्गो काम गर्नु, लोग्ने मान्छेले लोग्ने मान्छेसँग सम्भोग गर्नु, जातिभ्रंम हो भनिएको छ), विहिताकरण (गरिआएको नगर्नु), अविहिताकरण (नगरिआएको गर्नु), विधवास्त्रीदासीवेश्यागमन (विधवा, दासी वा वेश्यासँग सम्भोग गर्नु), अगम्यागमन (सम्भोग गर्न नहुनेलाई सम्भोग गर्नु), नारी लम्पट (स्वास्नीमान्छेमा लप्पट हुनु) लाई पाप कर्म भनिएको छ ।
त्यसैगरी स्मृतिनिन्दा (धर्मशास्त्रको निन्दा गर्नु), चाण्डालसेवा (चाण्डालको चाकडी गर्नु) अपात्रीकरण (निन्दित मान्छेबाट पैसा लिनु, झूटो बोल्नु), अस्थिरस्पर्शन (हाड छुनु), क्षुद्रकर्म (नीचकाम, द्यतादिना खेलन (जुवा खेल्नु), परस्त्री निरीक्षण (अर्काको स्वास्नीलाई हेर्नु), स्वप्ने इन्द्रिय स्खलन (स्वप्न दोष), सध्याहिन (सन्ध्या नगर्नु), शौचभ्रष्ट (शौच नगर्नु), मातापित्रादिज्येष्ठानां तिरस्कारकमृण्य पात्र भोजन (आमाबाबाु आदि मान्नुपर्नेहरूलाई हेपी माटोको भाँडोमा खान दिनु) लगायतलाई पाप मानिने पन्तले उल्लेख गरेका छन् । ‘यहाँ पापको लामो फेहरिस्ता छ,’ पन्तले लेखेका छन्, ‘यहाँ दरिएकामध्ये निकैलाई पाप भनेको देख्दा काशीको ब्राह्मण महासम्मेलनको शब्दमा भन्दा युरोपियन कुशिक्षाले कवलित अहिलेका मान्छेलाई अचम्म लाग्छ ।’
नेवार समुदायमा कुनै संरचना निर्माण भएपछि त्यसलाई संस्कृतीकरण गर्दै लैजाने चलन भएको इतिहासविद् श्रेष्ठ बताउँछन् । रानीपोखरी बनेपछि त्यससँग विभिन्न संस्कृति जोड्दै लगियो । कोही मर्दा पर्दा पिण्डदान गर्न थालियो । दाजुभाइ नहुनेका लागि वर्षमा एक दिन खोल्ने संस्कृति बसाइयो रानीपोखरीमा । पछि आएर छठ पनि मनाउन थालियो । ‘पोखरी निर्माण भएपछि यसलाई जीवनशैलीसँग जोड्दै लगियो,’ श्रेष्ठ भन्छन्, ‘त्यही भएर यो नेपालीको अभिन्न अंग हो । हाम्रा सम्पदा विश्वस्तरका छन् । यहाँ देवाली गरिन्छन् । देवाली मनाउन पोखरीमा सहरै खाली गरेर आइन्छ । सम्पदा निर्माण गरेपछि यिनको संस्कृतीकरण गरिएकैले यी जीवन्त छन् ।’
tweeter :@damdarneupane

प्रकाशित : पुस २९, २०७४ ०८:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT