१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तिनाउ तीरको कथा 

समाज
यज्ञश

काठमाडौँ — बुटवलको तिनाउ तीरको सुविधासम्पन्न बस्तीको एउटै समस्या हो— लालपुर्जा । सरकारी कागज, पुर्जा नभए पनि यहाँ घरजग्गा कारोबारमा कुनै कमी छैन । घरजग्गाको मूल्य सुन्दा एकपटक विश्वास लाग्दैन । ठूला घरहरू करोडभन्दा माथि पर्छन् । 

तिनाउ तीरको कथा 

नदीको ठूलो भंगालो बल्लबल्ल पार गरेर झन् ठूलो भंगालोमा हेलिनुअघि सुस्ताएको कुनै यात्री जसरी देश पहिलो चरणको चुनाव सकेर दोस्रोको तयारीमा थियो । पहिलोपटक हुन लागेको प्रदेशसभाको ऐतिहासिक चुनावलाई प्रतिनिधिसभा चुनावले छपक्कै छोपेको थियो । काठमाडौंबाट पुग्नेका लागि मंसिर १३ गते बिहानको बुटवल चिसो थिएन । सहरको तातो बढाउन चुनावी सरगर्मीले पनि काम गरिरहेको थियो ।

कान्तिपुर सहकर्मीहरू दीपेन्द्र बडुवाल, अमृता अनमोल र किरण पाण्डेसँग म सहरको पश्चिमपट्टिको चर्चित ‘सुकुम्बासी बस्ती’ तिर जाँदै थिएँ । चुनाव उम्मेदवारभन्दा बढी मतदाताको अवसर हो भन्ने हामीलाई लागेको थियो । यसैले हामी चुनावमा मात्र नेताहरू पुग्ने मानिएको सुकुम्बासी बस्ती पुग्दै थियौं । बुटवल सहरको छेउमा थियो पानीबिनाको— तिनाउ । प्राण नभएको मानिसजस्तो सुकेको तिनाउ उत्तानो पल्टिएर घाम तापिरहेको थियो । खोलामा पानी नभएपछि पुल बनाउने लफडा पनि गर्नुपरेन । पछि थाहा भयो तिनाउ सुकेको होइन, पानी अर्कै भंगालोमा मोडिएकाले यहाँ खडेरी भएको रहेछ । र, त्यो भंगालोलाई भनिँदो रहेछ— दानव । मानवले राखेको खोलाको नाम— दानव ।

सधैं यो भंगालो यसरी सुक्दैन । पहाडको रगत मिसिएजसरी धमिलो भएर तिनाउ उर्लिंदा स्वस्थानीको कथामा देउताको आक्रमणले दानव गणमा त्राहीत्राही भएजस्तो वरपरका बासिन्दा त्राहीमाम् हुन्छन् । यतिबेला तिनाउ र दानवका दुवै भंगाला मिल्छन् । अनि बासिन्दा रातभर जाग्राम बस्छन् । २०७२ साउन ११ गते तिनाउ उग्र थियो । रातिदेखिको अविरल वर्षाले खोलालाई जिस्क्याएजस्तो लाग्थ्यो । आकाशमै छुन खोजेजसरी खोला बढेर माथिमाथि आउँदै थियो । बुटवल र पारिको ‘सुकुम्बासी सहर’ लाई जोड्ने तिनाउमाथिको झलुंगे पुल खतरामा परेको थियो । सधैं मानिस तर्ने पुलमा त्यस दिन खोलै तरिदियो । मान्छेहरूले हेर्दाहेर्दै पुल खोलामा हाम्फाल्यो ।

***


तिनाउ बुच्चो भए पनि पारिको सहर भरिपूर्ण थियो । भन्नेले ‘सुकुम्बासी सहर’ भने पनि यहाँका बासिन्दा आफूलाई सुकुम्बासी मान्दैनन् । उनीहरू यसलाई सुकुम्बासी बस्ती पनि भन्दैनन्— अव्यवस्थित वस्ती भन्छन् । हेर्दा यो बस्ती सुकुम्बासी बस्ती भन्न मिल्ने छैन । सहरबजारदेखि अलि पर, वन जंगलको छेउ, कुनै उपेक्षित सरकारी जग्गामा साना झुप्रा बनाएर बसेका मानिस मात्र सुकुम्बासी हुन् भन्ने मलाई पनि लाग्थ्यो । पत्रिकाका लागि रिर्पोटिङ गर्दा होस् वा किताबका लागि सुकुम्बासीहरू भेट्न म यस्तै बस्तीमा पुगेको थिएँ ।

तर, यहाँ त्यस्तो बस्ती होइन, सहर थियो । आफैंमा सहर भएकाले यो टाढा थिएन । बुटवल बजारबाट खाली पानी सुकेको एउटा खोला पारि थियो, बुटवल उमहानगरपालिकाको ११ नम्बर वडा । घरहरू पनि बजारका महललाई टक्कर दिने । पिलर ठड्याएर बनाएर दुई–तीन तलाका आधुनिक घर पनि थिए । आरसीसी गरेर बनाइएका एक तलाका थुप्रै घर बन्दै गरेका । घरैपिच्छे होटल, फेन्सी, किराना र स्टेसनरी । फराकिला पिच सडक र झलमल बिजुली बत्ती । घना बस्ती र पर्याप्त जनसंख्या । ४ दशमलव २ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो वडाबाटै तिनाउ बाँडिएर दानव बनेको छ । तिनाउसँगै दानवले बनाएको बगर र उकास क्षेत्र छ । पूरै क्षेत्रमा गरी ६ हजार घरधुरी, १३ हजार ७ सयजति मतदाता । जनसंख्या झन्डै १ लाख । त्यसमध्ये ७० हजार यही बस्तीमा । सहरको ठप्पा लाग्न चाहिने सबै योग्यता पूरा गरेर बसेको बस्ती । र, नाम पनि सहरमैत्री— बुद्धनगर † यस्ता नाम टोलैपिच्छे फरकफरक छन् । कतै सिर्जनाटोल त कतै सुविधाटोल ।

यो सुविधासम्पन्न बस्तीको एउटै समस्या छ, जसले यसको परिचयमा खोट लगाइदिएको छ । त्यो हो— लालपुर्जा । यहाँका घरजग्गाको लालपुर्जा छैन । ठूला घर बने पनि जग्गा सरकारी हो, सार्वजनिक । यसैले यी घरको नक्सापास भएको छैन । नगरपालिकाको लगतमा यिनको उल्लेख छैन । यसैले कानुनी भाषामा यो सहर अवैध हो, अतिक्रमित । ससाना झुपडीमा आगो लगाउने बानी परेकाले होला, सरकार र प्रहरीले यी ठूला घरतिर फर्किने हिम्मत गर्न सकेको छैन । यो बस्तीका मानिस र यिनको ठूलो संख्या पनि प्रशासनलाई गलाउन काफी छ । गत वर्ष जिविसले यहाँका घरहरूमा रातो लगाएको थियो । सार्वजनिक जग्गा भएकाले खाली गर्नुपर्ने उर्दी जारी भएको थियो । तर, त्यो धेरै समय टिक्न सकेन । यहाँका टोल समितिले यसको प्रतिरोध गरे, जिविसमा निवेदन दियो । अनि जिविसको रातो रंग अबीरजसरी फुङ्ग उड्यो ।

बस्तीको विशेषता यतिमै सकिँदैन । सरकारी कागज, पुर्जा नभए पनि यहाँ घरजग्गा कारोबारमा कुनै कमी छैन । घरजग्गाको मूल्य सुन्दा एकपटक विश्वास लाग्दैन । ठूला घरहरू करोडभन्दा माथि पर्छन् । घडेरी पनि महँगा । ४ धुरको एउटा घडेरीको मूल्य बाटो र ठाउँ हेरी ६ लाखदेखि २५ लाखसम्म पर्छ । ५४ फुटे बाटोको मुख्य चोकमा ४५ लाखसम्म घडेरीको मूल्य छ । तपाईंलाई लाग्दो हो, सरकारी पुर्जा नभएको जग्गाको किनबेच कसरी हुन्छ ? वैधानिकता नभएको घरजग्गामा यत्रो ठूलो पैसा कसले लगानी गर्छ ? बजारले त्यसको पनि व्यवस्था गरेको छ ।

यो काम गर्छन्— टोल समितिले । पूरै बस्तीभरि ५३ वटा टोल विकास समिति छन् । बुद्धनगर क्षेत्रमा मात्रै ५ वटा । किनबेच र लेनदेनको साक्षी टोल विकास बस्छ । सबैको तथ्यांक पनि टोल विकासले नै राख्छ । टोल विकासले टोलको विकास र रक्षाका लागि काम गर्छ । यसैले सबैले टोल विकासलाई विश्वास गर्छन् । यसैले नक्सा पास नभएका घर र लालपुर्जा नभएका जग्गालाई यति पैसा हाल्न मानिसहरू अग्रसर हुन्छन् । ‘भूमिविद्’ हरूको जगजगी भएको देशमा नम्बरी जग्गाहरूको मोल योभन्दा निकै बढी भएकाले पनि यताको कारोबार सहज भएको छ ।

***


यो बस्तीमा बस्ने कतिका बुटवल बजारमै नम्बरी घरजग्गा छन् भने कतिका पहाड घरमा । नवलपरासी वा कपिलवस्तुजस्ता तराईका ठाउँबाट आएर यहाँ बस्ने पनि छन् । २०५९ सालमा तिनाउ किनारमा यो बस्ती बस्न सुरु हुँदा जग्गाको भाउ यति महँगो थिएन । यसैले कतिले त त्यही बेला किनिराखौं न भनेर थोरै पैसामा किने । ‘अहिले यही बजार बन्यो, यतै बस्न आए,’ बुद्धनगर टोलको खानेपानी समितिका सचिव आशिष राजवंशीले भने ।

नवलपरासीको विनयी त्रिवेणीबाट आएका राजवंशीले २०६३ सालमा यहाँ जग्गा किनेका थिए । ४ धुर घडेरीको ८० हजारमा । अहिले उनी बजारमा आफ्नै नामको एउटा पुस्तक र स्टेसनरी पसल चलाउँछन् । महिनाको ३ हजार भाडामा उनले सटर लिएका छन् । बजारको अर्कोपट्टि उनको कस्मेटिक र गिफ्ट पसल छ । यसको भाडा महिनाको ५ हजार ।

पाल्पाका यादव ज्ञवाली २०६४ सालमा यो बस्तीमा आएका थिए । ‘घरमा दाजुभाइ धेरै, जग्गाजमिन थोरै थियो,’ उनले यता आउनुको कारण बताए । विभिन्न काममा हात हालेपछि अन्त्यमा उनी अहिले फेन्सी पसलमा आएर थिग्रिएका छन् । तीन वर्षअघि सुरु गरेको फेन्सी पसलको अहिले उनी महिनाको ४५ सय भाडा तिर्छन् । तनहुँको किहुँका माधव अर्याल बुटवल बजारमा आफ्नै स्वामित्वको अटो चलाउँछन् । २०६६ सालमा यहाँ जग्गा किनेका उनले ७० मा घर बनाए । कपिलवस्तुका प्रेमबहादुर थापा २०६५ मा यहाँ आइपुगे ।

स्याङ्जाका कृष्णबहादुर केसी भारतीय सेनामा जागिरे थिए । कलिलै उमेरमा भर्ती हुन केसीको २०४९ सालमा पेन्सन पाक्दा उमेर थियो— ३२ वर्ष । ‘३२ वर्षदेखि फाल्टु बस्नु भएन भनेर काम खोज्दै बुटवल आइपुगें,’ उनले आफ्नो यात्रा सुनाए । लुम्बिनी चिनी कारखानामा काम पाएपछि उनी पनि तिनाउमै आइपुगे । उनका तीन छोराहरूमा तीनै जना विदेशमा छन् । एक जना बेलायतमा आईटी पढ्दै छन् भने अर्का कतार र साउदीमा छन् । ‘घरमा त हामी बूढाबूढी मात्रै छौं,’ उनी भन्छन् ।

***


प्रेमबहादुर थापा, कृष्णबहादुर केसी, यादव ज्ञवाली र आशिष राजवंशी ।


आशिष राजवंशी यो बस्तीलाई सुकुम्बासी बस्ती भन्न नमिल्ने बताउँछन् । ‘हामीले जग्गा किनेर बसेको हो, सरकारी जग्गा हडपेको होइन,’ उनले तर्क अघि सारे । साथै सरकारका सुझाव पनि, ‘यत्रो ठूलो बस्तीलाई सरकारले तुरुन्त दर्ता गर्नुपर्छ । यस्तो नगर्दा सरकारले पाउने कर गुमाइरहेको छ । १३ सयवटा घर त यही टोलमा मात्रै छन् । बर्सेनि सरकारले कति घरबहाल कर पाउँथ्यो, जग्गा दर्ता भए किनबेच हुँदाखेरी पनि सरकारी ढुकुटीमा कर आउँथ्यो,’ उनले सरकारी घाटा औंल्याए, ‘दर्ता नहुँदा त्यो गुमिरहेको छ ।’ बजारको स्वरूप लिइसकेको यति व्यवस्थित बस्ती हटाउनेभन्दा पनि कानुनी दायरामा ल्याएर थप व्यवस्थति बनाउनु बुद्धिमानी हुने यहाँका बासिन्दाको भनाइ छ । उनीहरूसँग केही उदाहरण पनि छन् ।

‘२०५२ सालमा बुटवलका ६५ सय सुकुम्बासीलाई सुकुम्बासी आयोगले लालपुर्जा दिएको थियो,’ आशिष भन्छन् । उनका अनुसार यो बस्तीको पनि नगरपालिकाले लगत संकलन गरिसकेको छ । बस्तीलाई करको दायरामा ल्याउने नगरपालिकाको योजना थियो । केपी ओली प्रधानमन्त्री रहेका बेला भूमिश्वर ढकालको संयोजकत्वमा भूमि आयोग बनाइएको थियो । ‘यो आयोगले छानबिन गरी लालपुर्जा दिन सक्थ्यो तर बीचैमा कसैले सर्वोच्चमा मुद्दा दर्ता दायर भएपछि रोकियो,’ उनले अफसोस जाहेर गरे ।

कृष्णबहादुर यो टोलदेखि अझै पश्चिमको श्री मजुवाटोलको उदाहरण दिन्छन् । श्री मजुवा पहिले नम्बरी थियो । २०३८ सालमा बाढी पसेपछि यहाँका बाढीपीडितलाई सरकारले बर्दघाटमा जग्गा थियो ।

‘हामीले अन्यत्र जग्गा देऊ भनेका छैनौं । आफूले पैसा हालेर किनेको, मिहिनेतले बनाएका घरको कागज देऊ भनेको हो । हामी कोही जागिर खान, कोही व्यापार गर्न, कोही बच्चा पढाउन यहाँ आएका हौं, हामीले आफ्नो काम गर्न नपाउने ?’ उनी प्रश्न गर्छन् । ‘हामी कर तिर्न र सरकारका सबै कानुन मान्न तयार छौं । कि त पहिले नै बस्ती बस्नु दिनु हुन्थेन,’ उनको अड्डी छ, ‘अब सबै सुविधा हामीलाई दिनुपर्छ ।’ १३ हजार ६ सय ८७ भोट भएको यो बस्तीको माग बेवास्ता गर्न भोटका भोकाहरूलाई गाह्रै छ ।

‘तीन महिना त यहाँ कसरी बस्नुजस्तो हुन्छ,’ कृष्णबहादुरले तिनाउ खोलातिर फर्किएर भने, ‘हरेक दिन खोलो पस्छ कि जस्तो हुन्छ ।’ यो बस्तीमा उभिएर पाल्पातिर फर्किने हो भने यस्तो लाग्छ, आजै राति तिनाउले बस्तीमाथि चढाइ गर्नेछ । खोलाको बहाब बाङ्गिएको र दुई भंगालामा विभाजित भएका कारण मात्र बस्ती जोगिएको छ । दुई भंगाला जोडिएको खण्डमा बीचको टापु जलमग्न हुनेछ । यसैले लालपुर्जापछि खोलामा तटबन्ध र पुल बस्तीको ठूलो एजेन्डा हो ।

खोलाले झलुंगेपुल बगाएकै ठाउँमा पक्की पुल बनाउने तयारी चलिरहेको छ । ‘ढलान बनाउन मात्रै एक वर्ष लाग्ने रहेछ,’ आशिषले भने, ‘यो वर्ष पुल बनेन भने हामीले ठूलो दु:ख पाइनेछ ।’

***

बस्तीको सिरानपट्टि पुरानो बटौली बजारको नजिकबाट फर्किंदा मेरो दिमागमा केहीअघिको यात्रामा भेटेका सुकुम्बासीहरू आइरहेका थिए । उनीहरूका घर र याचनाका शब्दहरू आइरहेका थिए । तत्कालै छोडेर हिँड्नुपर्‍यो भने कसैले एक हजार पनि नदिने हालतका घर बनाएर बसिरहेका बर्दिया खुरखुरेका मानिसहरू मेरो सम्झना अझै ताजै छन् । तिनका कथा मात्रै होइन, कथा सुनाउँदा उनीहरूको आँखाबाट खसेका आँसु पनि अझै तातै छन् ।

सिमेन्ट, काठ वा ढुंगाबिना बासका सिठा र पात पत्करमा माटो छापेर ठड्याइएका ५ फिट जति अग्ला ती झुप्रा मान्छेका घरभन्दा बढी चराका गुँडजस्ता लाग्थे । सरकार र समाजले धेकेलेर वनैमा पुर्‍याएका ती लोपोन्मुख राजी र दलितहरू पनि चराजस्तै लाग्थे, घना बस्तीबाट धपाइएका ।

तिनाउका मानिसहरूको बोलीमा झल्किएको आत्मविश्वाससँगै म मोरङ मृगौलियाका माझीका स्वरको कम्पन सम्झिइरहेको छु, जसले घर बनाएर बसेको जग्गा अरू नै कसैले आफ्नो नाममा दर्ता गरेको थियो ।

***

चुनावको दोस्रो भंगालो पनि तरेर देश नयाँ सरकारको पर्खाइमा छ । चुनावको जंघार तरेर सत्ताको किनारामा आइपुगेकाहरू मात्र होइन, तिनाउका दुई भंगालाबीचको बस्ती पनि नयाँ सरकारलाई पर्खिइरहेको छ । लालपुर्जा, पुल र तटबन्धको एजेन्डा बाँकी नै छ । पोहोर सालजसरी तिनाउ उर्लियो र दानवसँग यसको पुनर्मिलन भयो भने के गर्ने भन्ने एउटा विराट चिन्ता बाँकी नै छ ।

देशभरका २२ प्रतिशत भूमिहीनहरू पनि नयाँ सरकार, नयाँ नीति र नयाँ भविष्यको प्रतीक्षामा छन् । सत्ताको भंगालोले यिनको आशालाई सिञ्चित गर्छ कि बगाइदिन्छ, हेर्न बाँकी छ ।

प्रकाशित : पुस २९, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?