कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फेसबुक : एक खराब सपना

फेसबुकको बदलिइरहने न्युजफिड नीतिले प्रभावित मिडिया कम्पनीहरू अब झनै प्रताडित बन्नेछन् । उनीहरूका लागि फेसबुक एक खराब सपना सावित हुनेछ ।
विजय तिमल्सिना

काठमाडौँ — गत अक्टोबरमा युरोपेली र दक्षिण अमेरिकी मुलुक ग्वाटेमाला, स्लोभाकिया, बोलिभिया र कम्बोडियाका सञ्चार संस्थाहरूमा तनाव छायो । आफ्नो वेबसाइटमा पाठकको संख्या घटेपछि उनीहरूको चिन्ता स्वाभाविक थियो ।

फेसबुक : एक खराब सपना

तर, यसमा उनीहरूको कुनै दोष थिएन । फेसबुकको एउटा प्रयोगका कारण धेरैभन्दा धेरै पाठक आकर्षित गर्ने उनीहरूको उद्देश्यमा धक्का पुगेको थियो । फेसबुकले आफ्नो वैकल्पिक न्युजफिडको रूपमा ‘एक्स्प्लोर’ नामक फिचर परीक्षणका लागि यी देशहरू चुनेको थियो । फेसबुक पेजको माध्यमबाट उल्लेख्य पाठकलाई आफ्नो वेबसाइटमा आकर्षित गरेका उनीहरूको चिन्ताको विषय थियो— पाठकले आफ्नो न्युजफिडमा समाचारहरू देख्न छाडेका थिए । ‘एक्स्प्लोर’ फिचर यिनै देशमा परीक्षणपश्चात् अहिले सबै प्रयोगकर्ताको लागि उपलब्ध भएको छ ।

फेसबुकले प्रयोगकर्तालाई समाचार, बिजनेस र ब्रान्ड पेजबारे जानकारी दिने र उनीहरूको रुचिका सामग्री छुट्टै उपलब्ध गराउने उद्देश्यले एक्स्प्लोर फिडको परीक्षण गरी सबै प्रयोगकर्तालाई उपलब्ध गराएको थियो । यसले माथि भनिएका देशबाहेकका सञ्चारमाध्यमलाई त कुनै असर गरेन तर भर्खरै फेसबुकले गरेको घोषणाले भने फेसबुकमा आधारित रहेर धेरै मानिससमक्ष पुगेका बिजनेस, ब्रान्ड र मिडिया कम्पनीलाई चिन्ताको बादलले घेरेको छ ।

अघिल्लो साता (जनवरी ११ मा) फेसबुक मालिक मार्क जुकरबर्गले एउटा लामो फेसबुक पोस्ट लेखे र त्यसको भोलिपल्ट फेसबुकले आफ्नो आधिकारीक ब्लगमार्फत घोषणा गर्‍यो— विभिन्न पृष्ठमा प्रकाशित सामग्रीहरूले भरिएको प्रयोगकर्ताको न्युजफिडमा अब उनीहरूकै आफन्त र साथीभाइको पोस्टले प्राथमिकता पाउनेछन् ।

फेसबुकले जारी गरेको पोस्टमा भनिएको छ— यसअघि प्रयोगकर्तालाई मन पर्न सक्ने सामग्रीलाई प्राथमिकतामा राखी न्युजफिडमा देखाइँदै आएकोमा अब भने उनीहरूका साथीभाइ र आफन्तले रुचाएका र अर्थपूर्ण संवाद गरिरहेका पोस्टहरू उनीहरूको न्युजफिडमा देखाइनेछ । यसअघि कुनै पेजमा पोस्ट गरिएको भिडियोको सट्टा आफ्नो साथीले राखेको फोटो प्रयोगकर्तालाई प्राथमिकतासाथ हेर्न पाउँनेछन् । झन्, आफ्नो फ्रेन्डलिस्टमा भएका धेरै साथीहरूले मन पराएका सामग्रीले उनीहरूको न्युजफिड भरिनेछ ।

सोही पोस्टमा बिजनेस, ब्रान्ड र मिडियाका पेजमार्फत आउने सामग्रीहरू कुनै प्रयोगकर्ताको सर्कलले रुचाएको भएमा मात्रै उनीहरूको न्युजफिडमा पठाइनेछ ।

यसको सोझो अर्थ हो— अब हामीले फेसबुक खोल्दा आफ्ना साथीभाइले गरेका पोस्ट र हाम्रा फेसबुकका साथीहरूले धेरै कमेन्ट, लाइक वा सेयर गरेको पोस्ट वा भिडियो बढी देख्नेछौं । हामीले लाइक गरेको पेजमा प्रकाशित भएका सामग्री कम देख्नेछौं ।

यही कारणले अब आफ्नो फेसबुक पेजमार्फत धेरै प्रयोगकर्तालाई जानकारी बाँडिरहेका ब्रान्ड, बिजनेस र मिडिया कम्पनी प्रभावित हुनेछन् । अर्थात्, अब पेजबाट धेरै मानिसहरूसमक्ष जानकारी बाँड्न गाह्रो हुनेछ जसको सोझो असर विश्वभरका सञ्चारमाध्यमलाई पर्नेछ किनकि उनीहरूले पछिल्ला वर्षहरूमा फेसबुकमार्फत धेरै प्रयोगकर्तासमक्ष समाचार पुर्‍याउने गरिरहेका छन् ।

फेसबुकको नयाँ घोषणाले सञ्चार माध्यम मात्रै नभई अन्य बिजनेस र ब्रान्डलाई असर गर्ने भए पनि यहाँ विशेषत: सञ्चार माध्यमको चर्चा गरिनेछ । सञ्चार माध्यमले फेसबुक प्रयोग गरी पाठक मात्र आकर्षित गरेका थिएनन्, यसबापत धेरैले फेसुबकबाट पैसासमेत कमाइरहेका थिए । यसले फेसबुकको नयाँ घोषणाबाट मिडिया कम्पनीले पाठक गुमाउने मात्र होइन, पैसा कमाउनसमेत गाह्रो पर्नेछ ।

उदाहरणका लागि : कुनै मिडिया कम्पनीको फेसबुक पेजमा १० लाइक छ । उसले

आफ्नो वेबसाइटमा प्रकाशित हरेक समाचार आफ्नो फेसबुक पेजमा सेयर गर्छ । मानौं कि ति पोस्टहरू लाइक गर्ने १० लाखमध्ये एक लाखको न्युजफिडमा पुग्थ्यो । उसले सेयर गर्ने सामग्री आकर्षक भएको खण्डमा प्रयोगकर्ताले त्यसलाई लाइक गर्ने, कमेन्ट गर्ने र सेयर गर्ने गरे भने त्यो सामग्री थप अन्य प्रयोगकर्तासमक्ष पुग्थ्यो ।

तर, अब भने १० लाख लाइक भएको कुनै पेजमा राखिएको सामग्री एक लाख प्रयोगकर्तासमक्ष पुग्न पनि गाह्रो हुन सक्छ । ती समाग्री त्यो पेजलाई अत्यधिक फलो गर्ने प्रयोगकर्तासमक्ष पुग्न त सक्ला तर ती सामग्रीमा प्रयोगकर्ताले कमेन्ट गरे, लाइक गरे वा सेयर गरे भने बल्ल अन्य प्रयोगकर्तासमक्ष पुग्नेछ । फेसबुक प्रयोगकर्ताको पछिल्लो ट्रेन्डले के देखाउँछ भने प्यासिभ कन्टेन्ट (समाचार, विचार, भिडियो) मा अर्थपूर्ण संवाद गर्ने संख्या घट्दो छ ।

यसरी हेर्दा, अब आफ्नो पेजमा पोस्ट गरिएको सामग्री धेरैभन्दा धेरै मानिससमक्ष पुर्‍याउन चाहनेले फेसबुकलाई पैसा तिरेर विज्ञापन गर्नुपर्नेछ । यसअघि फेसबुकमा सामग्री पोस्ट गरेर धेरै प्रयोगकर्ताले पढेको आधारमा पैसा कमाउने मिडिया कम्पनीहरूले अब उल्टै पैसा तिर्नुपर्ने अवस्था हुन सक्छ ।

फेसबुकले आफ्नो पछिल्लो कदम विभिन्न अनुसन्धानमा आधारित रहेको दाबी गरेको छ । उसले विभिन्न विश्वविद्यालयका विज्ञहरूले गरेको अनुसन्धानको हवाला दिंदै भनेको छ— मानिसहरू विभिन्न पेजमार्फत आएका समाचार, पोस्ट वा भिडियो हेर्न वा पढ्नभन्दा आफ्ना साथीभाइ र आफन्तका पोस्टहरू हेरेर धेरै आनन्द मान्छन् । त्यसैले हामी, अर्थपूर्ण संवाद भएका पोस्ट र प्रयोगकर्ताको सर्कलमा भएका मानिसहरूले राखेका सामग्रीलाई महत्त्व दिनेछौं ।

फेसबुकका मालिक मार्क जुकरबवर्गले पनि आफ्नो पोस्टमा भनेका छन्— हाम्रो पछिल्लो कदमले प्रयोगकर्ताले फेसबुकमा बिताउने समय कमी हुन सक्छ । तर, उनीहरूले फेसबुकमा थोरै समय बिताए पनि त्यो मूल्यवान हुनेछ । र, यसले अल्पकालका लागि जेजस्तो असर परे पनि दीर्घकालको भने हाम्रो समुदायलाई सकारात्मक असर पार्नेछ ।

फेसबुकको कदमले मिडिया कम्पनीलाई चिन्तित बनाएको यो पहिलो घटना भने होइन । पटकपटक परिवर्तन हुने न्युजफिड नीतिले सोहीअनुसार कन्टेन्ट सेयर गर्नुपर्ने माध्यमबाट मिडिया कम्पनी पनि आजित छन् । फेसबुकले यसअघि पनि पोस्टको सट्टामा फोटो र फोटोको सट्टामा भिडियोलाई प्राथमिकता दिने नीति ल्याएको थियो ।

पछिल्लो समय उसले फेसबुकमै हुने लाइभ हुने भिडियोलाई प्राथमिकता दिने नीति बोकेको छ र त्यसलाई अझै कायम राख्ने बताएको छ ।

यसै कारणले संसारभरका मिडिया, ब्रान्ड वा ठूला कम्पनीहरूले फेसबुकमार्फत धेरै मानिससमक्ष पुग्न सोसल मिडिया रणनीति बनाउने, फेसबुकमा प्रयोगकर्तालाई आफ्नो पोस्टमा आकर्षित गराउन छुट्टै र फरक खालका सामग्री उत्पादन गर्नेजस्ता अभ्यास सुरु गरिसकेका थिए । तर, फेसबुकको पछिल्लो घोषणाले भने उनीहरू सबैलाई निराश पारेको छ । झन्, मिडिया कम्पनीका लागि त यो खराब सपनाझैं भएको छ ।

भनिन्छ, हरेक चुनौतीमा अवसर हुन्छन् । त्यसैले सबै कुरामा निराश भइहाल्नुपर्ने अवस्था पनि छैन । केही विज्ञहरू के पनि मान्छन् भने राम्रा सामग्री पोस्ट गर्ने पेजहरूलाई भने यसले केही असर गर्ने छैन । किनकि कुनै पेजको सामग्री नियमित फलो गर्ने फेसबुक प्रयोगकर्ताहरू

आफ्नो न्युजफिडमा कुनै पोस्ट नदेखिए पनि सोझैं ती पेज मगाएर पोस्ट भएका सामग्रीहरू हेर्नेछन् । र, यसले ती पेजका ‘सक्रिय’ प्रयोगकर्ताहरूको संख्या बढ्नेछ । यसका लागि भने फेसबुक पेजमार्फत धेरै मानिससमक्ष पुग्ने उद्देश्य लिएकाहरूले एउटा संकल्प गर्नैपर्छ, ‘अझ राम्रो सामग्री उत्पादन गर्ने ।’ यसैमा उनीहरूको भविष्य टिक्नेछ ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : माघ ६, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?