यसै छुट्ने फिल्महरू

फिल्म
यज्ञश

काठमाडौँ — एउटा पानीजहाजका सबै पार्टपुर्जा र सामान एकएक गर्दै झिकिन्छ । र, त्यही सामानलाई जोडेर अर्को पानीजहाज बनाउन थालिन्छ । पुरानोको सबै सामान झिकेर अर्कोमा जोडिसक्दा नयाँ पानीजहाज तयार हुन्छ । अब प्रश्न उठ्छ— पुरानाकै सबै सामान उसैगरी जोडेको यो नयाँ पानीजहाज पुरानै जहाज हो कि होइन ? हो भने कसरी हो, होइन भने के फरक हुन्छ यिनमा ?

यसै छुट्ने फिल्महरू

दर्शनको यो एउटा सिद्धान्त हो । ‘सिप अफ थिसियस’ को नामले चिनिने । तपाईं सोच्नुस्, कुनै मानिसका अंगहरूलाई पनि यसरी नै झिक्दै जोडेर नयाँ मानिस खडा गर्न सकिन्छ ? वा कुनै एउटा अंग मात्रै पनि अर्कोमा प्रत्यारोपण गरियो भने अंग लिने मान्छेको शरीर र सोचमा के फरक आउँछ ? तपाईंलाई आश्चर्य लाग्ला यो एउटा भारतीय फिल्मको विषय हो । आनन्द गान्धीले निर्देशन गरेको २०१२ को अंग्रेजी भाषाको फिल्म ‘सिप अफ थिसियस’ तपाईंले छुटाउनुभएको छ भने हेर्नुहोला ।

फिल्मको काम तपाईंलाई भुलाउने मात्रै होइन, कहिलेकाहीं जगाउने पनि हुन्छ । कलाले मानिसलाई अल्मल्याउने मात्रै होइन, जागृत बनाउने पनि काम गर्छ । बलिउडी फिल्ममा बानी परेकाले गर्दा दक्षीण एसियामा बन्ने सबै फिल्म बलिउडी मसला फिल्म नै हुन् भन्ने भ्रम फैलिएको भए पनि यसलाई प्रश्न गर्ने फिल्महरू पनि प्रशस्त बन्ने गर्छन् । ती फिल्महरू हाम्रो सिनेमाघरमा आइपुग्दैनन् । सायद हाम्रा सहर नामका मात्र महानगर हुन् ! तर, फिल्म हेर्न हलमै जानुपर्ने बाध्यता अब छैन । तपाईं डीभीडीमा वा युट्युबजस्ता इन्टरनेटका अनेक साइटहरूमा गएर पनि फिल्म हेर्न सक्नुहुन्छ । यदि राम्रा फिल्म हेर्ने रुचि छ भने त्यसका लागि केही मिहिनेत गर्नुस्, अन्यथा सलमान खान र शाहरूख खान त तपाईंको सेवामा हाजिरै छन् ।

सन् २००० देखि यता बलिउडको समानान्तर सानो बजेट, साना स्टारलाई लिएर बनाइने ‘इन्डिपेन्डेन्ट’ फिल्महरूको संख्या र बजार दुवै बढेको छ । बलिउडका ‘कर्पोरेट क्रयाप’ हरूलाई यिनले ठूलै चुनौती दिन थालेका छन् । केही वर्षपहिलेसम्म अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा मात्र यिनको चर्चा हुन्थ्यो । अनुराग कश्यपलगायतका केही फिल्ममेकरको प्रयासमा यिनको आफ्नै वितरण र प्रदर्शन व्यवस्था बनेको छ । यी वैकल्पिक फिल्मले व्यापारमा पनि ‘मेनस्ट्रिम’का फिल्मलाई चुनौती दिन थालेका छन् । बलिउडकै एउटा हिस्सा यस्ता विषयप्रधान फिल्मतिर आकर्षित भइरहेको छ । यसैले त शाहरूख खान, सलमान खानजस्ता स्टारले भरिएको बलिउडमा राजकुमार राव वर्ष कलाकारका रूपमा देखा परेका छन् । अभिनयको विविधता के हो भन्ने कुरा राव, नवाजुद्दिन सिद्दकी, भूमि पेडनेकर, स्वारा भाष्कर र रत्ना शाह पाठकजस्ता कलाकारले बलिउडलाई देखाइदिएका छन् ।

पछिल्ला वर्षमा आएका ‘मसान’, ‘सिप अफ थिसियस’, ‘निल बट्टे सन्नाटा’, ‘मिस लब्ली’, ‘अग्ली’, ‘साहिद’, ‘अलिगड’जस्ता थुप्रै फिल्म छन् । यस्ता फिल्मको निर्माण २०१७ मा पनि जारी रह्यो । यस वर्षका केही यस्ता साना बजेटका राम्रा फिल्मबारे यहाँ चर्चा गरिन्छ । जुन वर्ष ठूला स्टारका फिल्महरू बक्स अफिसमा चुर्लुम्म डुबे त्यसै वर्ष यी साना फिल्मले राम्रो व्यापार पनि गरे र बलिउडलाई स्टारको चमकभन्दा फिल्मको गुणस्तर ठूलो कुरा हो भन्ने सन्देश दिए । यसै वर्ष सलमान खानको ‘ट्युबलाइट’, शाहरूख खानको ‘हयारी मेट सेजल’, अमिताभ बच्चनको ‘सरकार ३’, अर्जुन कपुरको ‘हाफ गर्लफ्रेन्ड’, सैफअली खानको ‘सेफ’ मात्र होइन, निकै ठूलो प्रचार र मिडिया हाइप गरिएका ‘रइस’, ‘राबता’, ‘ओके जानु’, ‘रंगुन’, ‘अ जेन्टलमेन’, ‘जग्गा जासुस’, ‘बेगम जान’, ‘मुन्ना माइकल’जस्ता फिल्म डुबे ।

यदि तपाईं हिन्दी फिल्मको पारखी हो भने बक्स अफिस फिगरका नाममा हल्ला गरिने फिल्मको मात्र पछि नलाग्नुस् । तपाईंको दिमागलाई चाहिने खुराक र उठ्ने प्रश्नहरूलाई यिनले मात्र शान्त पार्न सक्दैनन् । यसका लागि वास्तविक जीवनको धरातलमा उभिएर विश्ेलषण गरिएका फिल्म सहायक हुन सक्छन् ।


‘न्युटन’

‘अलिगढ’ र ‘साहिद’जस्ता फिल्मबाट स्थापित राजकुमार रावको अर्को उत्कृष्ट फिल्म हो ‘न्युटन’ । अमित भी मसुरकरले निर्देशन गरेको न्युटनले संसारको सबभन्दा ठूलो लोकतन्त्र मानिने भारतीय निर्वाचनको विद्रूप चित्र पेस गर्छ । माओवादी विद्रोहीको पकडमा रहेको दण्डकरण्डय (छत्तीसगढ) मा चुनाव गराउन खटिएको एउटा आदर्शवादी युवा कर्मचारीका माध्यमले यो फिल्मले भारतीय प्रशासन, प्रहरी र नागरिक अधिकार सबैको पर्दा खोलिदिन्छ । खासगरी सत्ता र विद्रोहीको दुईतर्फी हिंसाको मारमा परेका आदिवासीको दयनीय अवस्था यसले उजागर गर्छ ।

यो फिल्मले खाली अवस्था मात्रै देखाउँदैन, केही चोटिला प्रश्न पनि गर्छ । जस्तै, संकटग्रस्त ठाउँमा सेना वा पुलिसले नै भोट हाल्छन् ? के भारतीय लोकतन्त्रको रक्षा यस्तै भोटले गरिरहेको छ ? प्रशासन र प्रहरीले आदिवासी र स्थानीयसँग गर्ने व्यवहार ठीक छ ? फिल्मले निर्वाचनको सम्पूर्ण प्रक्रियालाई नै एउटा ठट्टाजसरी कसरी प्रयोग गरिन्छ भन्ने पनि देखाउँछ ।फिल्मको हाइलाइट राजकुमार राव र पंकज त्रिपाठीको अभिनय पनि हो । एउटा साधारण चरित्रलाई कसरी रोचक बनाउने भन्ने रावलाई थाहा छ । निकै लामो संघर्षपछि बल्ल दर्शकले चिन्न थालेका त्रिपाठी शक्तिशाली भूमिकालाई पनि कसरी सामान्य दर्साउने भन्ने जान्दछन् । यसैले गलामा ‘देशको भार’ बोकेर हिँडेको गणप्रमुख भएर पनि ऊ चुनाव कर्मचारीलाई मानवीय नजरले हेर्छ । तर, जब आदिवासीको कुरा आउँछ, उसलाई लाग्छ— यिनलाई विश्वास गर्नु हुँदैन, यी माओवादीसँग मिलेका छन् । त्यसै आरोपले पुलिसले उनीहरूको घरलाई खरानी बनाइदिएको छ । तर, प्रहरी अधिकारीलाई न यसको ग्लानि छ न पश्चात्ताप । ग्लानि र पश्चात्ताप दुवै नहुने पेण्डुलम भावमा नै सायद संसारको सबभन्दा ठूलो लोकतन्त्रको भार झुन्डिइरहेको छ ।



‘लिपिस्टिक अन्डर माई बुर्का’

यौनिकतालाई केन्द्रमा राखेर बनाइएको यो फिल्मलाई विषयका हिसाबले बलिउडमा बनेको सबभन्दा क्रान्तिकारी फिल्मको कोटिमा राख्छ सकिन्छ । गत वर्ष आएको लिना यादवको ‘पार्चड’ र केही फिल्मबाहेक महिलाको यौनिकतालाई बलिउडले खासै छुँदैन । हिरोइनलाई सो पिसका रूपमा र हिरोको पार्टनरका रूपमा प्रस्तुत गर्नेबाहेक बलिउडले एउटा सम्पूर्ण व्यक्तिका रूपमा खासै हेर्दैन । यसैले ती पात्रलाई बहुआयामिक ढंगले पनि हेर्दैन । अलंकृता श्रीवास्तावले निर्देशन गरेको ‘लिपिस्टिक अन्डर माई बुर्खा’ अपवाद हो । जस्तो यसको नाम छ, त्यसले दर्साउँछ— लुकेका वा लुकाएर राखिएका इच्छाहरू ।

भारतको मध्यप्रदेशको भोपालका चार फरक उमेर, मनस्थिति र पेसाका महिलाको कथा हो यो । भोपाल पर्दा (बुर्खा) र जर्दा (पान सुपारीको जर्दा) का लागि प्रख्यात छ । बुर्काले महिलालाई ‘डिग्यालम’ मात्र बनाउँछ कि उसको अस्तित्वमाथि नै पर्दा लगाउँछ ? के यौनिकता उमेरको मात्र कुरा हो ? कुनै पचास वर्ष कटेकी महिलामा यौन तृष्णा वा कल्पना हुन सक्दैन ? समाजको नैतिकशास्त्रमा के त्यस्तो तृष्णा अपराध हो ? तर, त्यही समाजमा दिनहुँ आफ्नै पतिबाट हुने बलत्कारचाहिँ केमा पर्छ ? यस्ता प्रश्नमा फिल्म जेलिएको छ ।

सेन्सर बोर्डको लफडामा परेको यो फिल्म पनि ‘न्युटन’जस्तै अभिनयका लागि यादगार छ । खासगरी रत्ना पाठक शाह र कोनकोना सेन शर्मा । हिन्दी फिल्मका दुई उत्कृष्ट अभिनेत्रीहरूले यो फिल्ममा चरित्रलाई कलाकारले कसरी आफूभित्र प्रवेश गराउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । धार्मिक किताबमा लुकाएर ‘अश्लील’ उपन्यास पढ्ने र सत्संगको नाम गरी स्विमिङ पुलमा पुग्ने ‘बुवाजी’ को कथा एउटा कुण्ठा र दमनको कथा हो । यसलाई उजागर गर्न रत्नाले निकै मिहिनेत गरेकी छन् ।



‘डेथ इन अ गञ्ज’

योचाहिँ अंग्रेजी भाषाको फिल्म हो । अभिनय र निर्देशन दुवैमा नाम कमाइरहेकी कोनकोना सेन शर्माले यसको निर्देशन गरेकी हुन् । यसमा उनले अभिनय भने गरेकी छैनन् । यो फिल्म पनि बेजोड अभिनयका लागि स्मरणीय छ । खासगरी नयाँ कलाकार विक्रम मेसीका लागि । रनवीर सोरी, गुल्सन देवैया, कल्की र जिम सार्बजस्ता कलाकारको उपस्थिति रहेको फिल्ममा विक्रमले एउटा काँतर युवाको भूमिकामा आफ्नो खुबी प्रदर्शन गरेका छन् । ‘लिपिस्टिक अन्डर माई बुर्का’ मा पनि एउटा सहायक भूमिकामा थिए उनी ।

छुट्टी मनाउन गाउँ गएको एउटा परिवारमा हुने ७ दिनका घटना र संवादको कथा यो फिल्मले भन्छ । मनोवैज्ञानिक थ्रिलर भन्नासाथ हत्या शृंखलाका कथा वा मानसिक रूपमा विक्षिप्त पात्रको कथा भन्ने बलिउडी परम्परालाई यो फिल्मले तोडेको छ । ‘सस्पेन्स’ वा ‘साइकोलोजिकल’ भनिने फिल्ममा प्रयोग गरिने दृश्य भाषा वा ‘अड एंगल’ हरूलाई पनि यसमा निषेध गरिएको छ । पाश्र्व संगीतको माध्यमबाट कथा भन्ने शैलीलाई पनि यसले अवलम्बन गरेको छैन ।



‘हिन्दी मिडियम’

यो चाहिँ बलिउडी मेलोड्रामा नै हो । बलिउडको अति प्रिय जनरा । करण जौहरदेखि राजकुमार हिरानीसम्मले लोकप्रिय बनाएको शैली । कहिले परिवार त कहिले परम्पराका संवेदनालाई सकेसम्म ठूलो स्वरले चिच्याएर भन्ने यो शैलीकै फिल्म भए पनि ‘हिन्दी मिडियम’ ले त्यसो मात्रालाई नियन्त्रण गरेको छ । छोरीलाई ठूलो अंग्रेजी स्कुलमा पढाउने लालसामा वशीभूत आमा । पत्नीको इच्छा पूरा गर्नका लागि गरिब कोटामा आवेदन गर्न तयार ‘धनी पति’ । छोरीले अंग्रेजी नजानेर पछि दु:ख पाउलिन् भन्ने पिरले गरिबै झुपडीमा गएर दु:ख भोग्न तयार बाबुआमाको कथा ।

जब यो धोकाधडी साँच्चिकै गरिबले थाहा पाउँछन्, जसको कोटा यो दम्पतीले हडपेको छ अनि के हुन्छ ? फिल्म यही कथामा छ । गम्भीर विषय भए पनि फिल्मले यसलाई केही ड्रामा र केही कमेडी शैलीमा लिएको छ । यसैले दर्शकलाई विषयको बोझ महसुस हुँदैन । मध्यम वर्गको आडम्बर र अंग्रेजी मोहका साथै यो फिल्मले गरिबीको पनि झलक दिन्छ ।

इरफान र दीपक डोबरियाल दुई निकै राम्रा अभिनेता यो फिल्ममा छन् । अधीर आमाका रूपमा शबा कमरले राम्रो अभिनय गरेकी छन् । ‘पिकु’ कै झलक आउने गरी इरफान यसमा निकै जीवन्त छन् । यसै वर्ष उनको अर्को फिल्म ‘करिब करिब सिंगल’ पनि आयो । तर, हिन्दी मिडियमको स्टारचाहिँ दीपक हुन् । ‘ओमकारा’ देखि अहिलेसम्म स–साना भूमिकामा जमिरहेका दीपक यसमा गरिब मजदुरको भूमिकामा छन्, जो बच्चालाई स्कुल भर्ना गर्ने पैसा जुटाउन एउटा गाडीअगाडि किचिन जान्छ । ताकि, क्षतिपूर्तिबापत आउने पैसाले भर्ना गर्न सकियोस् ।



‘ट्रयाप्ड’

विक्रमादित्य मोटवानी पहिलो फिल्मबाटै दर्शकलाई आफ्नो बसमा पार्न सफल भएका निर्देशक हुन् । कडा र क्रूर पिताको किशोर छोराको बेग्लै ‘उडान’ को लिएर २०१० मा आएका मोटवानीले त्यसपछि ‘लुटेरा’ बनाउन ओ हेनरीको कथा ‘द लास्ट लिफ’ को सहारा लिएका थिए । यो वर्ष तिनै मोटवानीले बनाए— ‘ट्रयाप्ड’ ।

केही वर्षअघिको टम हयाङ्सको फिल्म ‘कास्ट अबे’ धेरैले हेरेको हुनुपर्छ । एउटा निर्जन समुद्री टापुमा फसेको मानिसले बाँच्नलाई गर्ने संघर्षको यो कथाले धेरैलाई जीवन दर्शन प्रदान गरेको थियो । मोटवानीको ‘ट्रयाप्ड’ पनि त्यस्तै एउटा मानिसको संघर्षको कथा हो । एकै ठाउँमा अड्किएर, थुनिएर वा च्यापिएर लामो समय फँसेको मानिसको संघर्षको कथा हो यो फिल्म । तपाईंले दुई वर्षअघि आएको डयानी बोयलको जेम्स फ्रयाङ्को अभिनीत फिल्म ‘१२७ आवर’ हेर्नुभएको भए यस्तो कथा तपाईंलाई नौलो होइन । तर, तपाईं शुद्ध हिन्दी फिल्मको मात्र दर्शक हो भने तपाईंलाई ‘ट्रयाप्ड’ ले साँच्चिकै उकुसमुकुस बनाइदिनेछ । यसको अर्थ अंग्रेजी हेरेकाका लागि यो फिल्म काम छैन भन्ने होइन ।

बनिरहेको एउटा २०–२२ तले अर्पाटमेन्टको माथिल्लो तलामा एक्लै थुनिएको युवाको कथा हो ‘ट्रयाप्ड’, जसले यहाँबाट निस्किन र बाहिर भएका मानिसलाई आफूबारे सूचना दिन अनेकौं प्रयास गर्छ । खाना र पानीबिना उसका दिनहरू कसरी बित्छन् ? मुसा, परेवा, साङ्लो र कमिलाजस्ता जीवसँग उसको विकसित हुने सम्बन्धले कथामा नयाँ तहको सिर्जना गर्छन् । यसका साथमा राजकुमार रावको सानदार अभिनयले पनि तपाईंलाई यो ‘सोफोकेसन’ मा रोकिराख्नेछ । फिल्ममा एउटा दृश्य छ, आफैं थुनिएको रावले एउटा मुसालाई ट्रयापमा पार्छन् । जो आफैं थुनिएको छ उसले अर्को प्राणीलाई थुन्न भने छोड्दैन । संसारमा शक्तिको संरचना सायद यसरी नै स्थापित छ ।



‘शुभ मंगल सावधान’

यस वर्षको अर्को बोल्ड हिन्दी फिल्म हो— ‘शुभ मंगल सावधान’ । यौनको विषय यसै पनि फिल्ममा चर्चा गर्ने कुरा होइन भन्ने मान्यता बलिउडमा छ । त्यसमाथि ‘इरेक्टोरल डिफङ्क्सन’ जस्तो विषय उठाउनु चानचुने हिम्मतको कुरा होइन । ‘दम लगा के हैसा’ कै जोडी आयुष्मान खुराना र भूमि पेडनेकरले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मको निर्देशन गरेका हुन् आरएस प्रसन्नले ।

आफ्नी छोरीको विवाह हुन लागेको केटाको यौनशक्तिमा समस्या छ भन्ने थाहा पाएपछि केटी पक्षको मनोदशा कस्तो होला ? वा विवाह हुन लागेकी युवतीसमक्ष आफ्नो यो कमजोरी प्रकट भएपछि त्यो युवाको अवस्था के होला ? यो समस्यालाई उनीहरूले मिलेर कसरी पार लगाउलान् ? यही ‘शुभ मंगल सावधान’ को कथा हो ।

अन्त्यतिर आइपुग्दा रजनीकान्त स्टाइलका स्टन्टसमेत समेटिएको भए पनि यो फिल्म ‘हटके’ नै हो । निम्न मध्यमवर्गीय परिवारमा विवाह र सम्बन्धहरूको परिभाषा कसरी परिवर्तित भइरहेको छ भन्ने कुरा यो फिल्मले राम्रोसँग दर्साउँछ । यसै वर्ष आएको अर्को विवाहवाला कथाको फिल्म ‘बद्रीनाथकी दुल्हानिया’ को तुलनामा यो फिल्म निकै ‘फ्रेस’ लाग्छ ।



‘मुक्ति भवन’

यूपी र विहारमा भएका राजनीतिक र आर्थिक सुधारको असर फिल्ममा देखिन थालेका छन् । हिन्दी फिल्ममा कथाको सेटिङ र पात्रको

उद्गमस्थल दिल्ली मुम्बईबाट बिस्तारै पटना, लखनउ वा बनारसतिर सरिरहेको भान हुन्छ । त्यसमा पनि अझै बढी बनारस । कुनै बेला शिक्षा, धर्मकर्म र राजनीतिको केन्द्र रहेको बनारसको पुनर्जागरण अहिले फिल्मी पर्दामा भइरहेको छ । ‘मुक्ति भवन’ चाहिँ बनारसको यो पाटोसँग सम्बन्ध नभएको दार्शनिक फिल्म हो ।

एउटा कामकाजी छोरालाई तब संकट आइपर्छ जब उसको वृद्धा पिताले भन्न थाल्छ— मेरो मृत्यु नजिकै आइसक्यो म घरमा मर्न चाहन्न, मलाई बनारस लगिदे । बनारसमा यसरी मृत्युको प्रतीक्षा आउनेहरूका लागि ‘गेस्टहाउस’ को व्यवस्था गरिएको छ, जहाँ १५ दिनका लागि मात्र कोठा पाइन्छ । तर, यस्तो मृत्यु–अतिथि १५ दिनसम्म मरेनन् भने उनले अर्को ठाउँमा कोठा खोज्नुपर्छ । यस्तै ‘मुक्ति भवन’ मा पुगेर मृत्यु कुरेर बसेका बाबु–छोराको कथा यो फिल्ममा छ ।

‘मुक्ति भवन’ कुनै घटनाको कथा होइन । यो भावना र भावको कथा हो । वृद्धावस्था, वृद्धहरूको दुनिया र युवाहरूको सोचको घर्षणको कथा हो । दया र करुणाको कथा हो । मानवीय भावना र संवेदनाको कथा हो । सुभाशिष भुटियानीले निर्देशन गरेको यो फिल्ममा ललित बेहल र अडिल हसन मुख्य भूमिकामा छन् । फिल्ममा न चर्को पाश्र्व संगीत छ न गाना बजाना, न हिरो हिरोइन । ठूलो घटना वा भव्य कथा पनि छैन । दर्शन र चिन्तनको बेग्लै तहमा यसले पुर्‍याउन सक्छ । मृत्युको प्रतीक्षा र उत्सवबारेको यो फिल्मले नयाँपन बोकेको छ ।


‘अनारकली अफ आरा’

यो पनि ‘सानो’ फिल्म हो । किनभने, स्वारा भाष्कर, सञ्जय मिश्रा र पंकज त्रिपाठी बलिउडका लागि साना कलाकार हुन् । तर, यिनको अभिनय क्षमता सानो छैन । विहारको एउटा सानो बजार आराकी नृत्यांगनाको कथा ‘फिल्मी’ छ । दुईअर्थी र अश्लील किसिमका भोजपुरी गीतमा नाच्ने युवतीलाई सहरका ठूला मान्छेले आफ्नै ‘बापका माल’ सम्झिन्छन् । हजारौं मानिसका अगाडि नाचिरहेकी युवतीलाई कुनै ठूलो मान्छेले मञ्चमै अभद्र व्यवहार गरेपछि के हुन्छ ? अझ युवतीले प्रतिवाद गरी भने वा थप्पड नै लगाइदिई भने के हुन्छ ? ‘अनारकली अफ आरा’ त्यही थप्पडको कथा हो ।

‘अनारकली अफ आरा’ कलाकारको आत्मसम्मानको मात्र होइन, आफ्नो शरीरमाथि महिलाको अधिकार हुने कि नहुने भन्ने प्रश्नमाथि पनि प्रवेश गर्छ । फिल्मको अन्तिम गीतमा यसको अभिव्यक्ति पाइन्छ । यो लोकगायिका र नर्तकीको कथा हो यसैले महत्त्वपूर्ण घटना र विचार उसको प्रस्तुतिमै आउँछ । महिलावादका अलावा यो फिल्म स्वारा भाष्करको संघर्षको पनि कथा हो ।

निकै राम्रो अध्ययन र बौद्धिक क्षमताकी भए पनि स्वारा भाष्करले बलिउडमा मुख्य भूमिका पाइनन् । धनुषको ‘राँझना’ र सलमानको ‘प्रेम रतन धन पायो’ मा सहायक भूमिका पाउनुबाहेक उनलाई हिरोइनका रूपमा स्वीकार गरिएन । यसले उनलाई फरकफरक भूमिकामा अभिनय गर्ने मौका पनि दियो ।

‘बलिउड हिरोइन’ भएकी भए सायद उनी सधैं एउटै भूमिकामा देखिन्थिन् होला । त्यो अवसर नपाएकाले उनले ‘निल बट्टे सन्नाटा’ मा छोरी पढाउन संघर्ष गरिरहेकी कामवाली बाईको भूमिका पाइन्, अनारकलीको भूमिका पाइन् । बलिउडमा कमेडियनका रूपमा चिनिने सञ्जय मिश्रा यसमा खलनायकका रूपमा छन् । विश्वविद्यालयको लम्पट भीसीका रूपमा सञ्जय मिश्रा जमेका छन् । तर, यो उनको ‘आँखो देखी’ जस्तो भूमिका भने होइन ।


र, अन्य उल्लेखनीय

२०१७ व्यापारका हिसाबले बलिउडको खराब वर्षमा पर्छ । ठूला बजेटका फिल्म चुर्लुम्म डुबेका बेला माथि उल्लिखितबाहेक अरू केही फिल्मले पनि आफ्नो चमक देखाए । यिनमा केही ठूला स्टार संलग्न फिल्म थिए (आमीर खानको ‘सिक्रेट सुपरस्टार’, अक्षय कुमारको ‘ट्वाइलेट : एक प्रेम कथा’, ‘जोली एलएलबी २’, विद्या बालनको ‘तुम्हारी सूलु’ र ऋत्विक रोशनको ‘काबिल’) भने केही सानो बजेटका सानै विषयका फिल्म थिए (हरामखोर, बरेली की बर्फी, करिब करिब सिंगल, इत्तेफाक) ।

तर, यदि तपाईं बलिउडका ग्लसी र सुपरहिट फिल्मको खोजीमा हुनुहुन्छ भने राष्ट्रवादको उग्रवादले भरिएको ‘टाइगर जिन्दा है’ तथा दिमाग घरमै छोडेर हलमा जानुपर्ने कमेडीहरू ‘गोलमाल अगेन’ र ‘जुडवा २’ सेवामा हाजिर छन् ।

प्रकाशित : माघ ६, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?